विकासन्युज

स्मार्ट च्वाइसको स्मार्ट क्यूआर सेवा सञ्चालनमा, अनलाइन भुक्तानी थप सजिलाे हुने

काठमाडाैं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले कुइक रेस्पोन्स कोड (क्यूआरसी) भुक्तानी प्रणाली स्मार्ट क्यूआर सञ्चालनमा ल्याएको छ । विभिन्न प्रकारका भुक्तानी सेवा र सुविधाहरुको प्राप्तीमा अनलाइन भुक्तानीलाई अझ आधुनिक, सहज र एकिकृत गर्न सक्ने गरी यो स्मार्ट क्यूआर सञ्चालनमा ल्याइएको बताइएको छ । नेपाल राष्ट्र बैंकको नगदरहित कारोवारलाई बढावा दिँदै वित्तीय कारोबार अघि बढाउने नीति अनुरुप विभिन्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई विश्वस्तरीय, सुरक्षित सेवा प्रदान गर्न यो प्रणाली सक्षम रहेको स्मार्ट च्वाइस टेक्नोलोजिजका निमित प्रमुख कार्यकारी अधिकृत दिपेश मास्केले बताए । मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा योगदान गर्ने कम्पनीको नीति र प्रतिबद्वता अनुसार यो सेवा सञ्चालनमा ल्याईएको उनले बताए । परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवद्र्धन गर्ने कम्पनीको लक्ष्य रहेको बताइएको छ । स्मार्ट क्यूआरको प्रयोगबाट छिटो, मितव्ययी र सरल ढंगले क्युआर कोड स्क्यान गरी विविध आवश्यकता बमोजिम सेवा र सुविधाहरुको उपयोग गर्न सजिलो हुनेछ । विशेषतः यस क्यूआरसी भुक्तानी प्रणालीबाट आवद्ध भएका बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक संस्थाहरुले इएमभिको स्टान्डर स्ट्याटिक वा डाइनामिक क्यूआर कोड जेनेरेट गरी स्वदेशी तथा बिदेशी क्यूआर भुक्तानी सेवाहरुको बीचमा पनि सहजै कारोवार गराउन सक्नेछन । स्मार्ट क्यूआरको सञ्चालनमा आइएमई पे, प्रभु पे, क्यू पे जस्ता स्वदेशी भुक्तानी सेवा प्रदायक र अन्तर्राष्ट्रिय संस्था युनियन पे इन्टरनेशनलको समेत सहकार्य तथा साझेदारी रहेको कम्पनीले जनाएको छ । आगामी दिनमा यस प्रकारको सेवा प्रदान गर्ने स्वदेशी तथा बिदेशी संस्थाहरुको अधिक संलग्नता गराँउदै यसको पहुँचलाई अझै बिस्तार गर्दै लैजाने लक्ष्य लिईएको छ । राष्ट्रको भुक्तानी प्रणालीको डिजिटाइजेशन प्रक्रियामा आफ्ना ग्राहकलाई आधुनिक सेवा प्रदान गर्न कम्पनी सधैं अग्रसर रहने बताइएको छ ।

महालक्ष्मी लाइफ इन्सुरेन्सको प्रिमियम अनलाइनबाटै तिर्न सकिने, यस्ताे छ प्रकृया ?

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले महालक्ष्मी लाइफ इन्सुरेन्ससँग बीमा प्रिमियमको डिजीटल भुक्तानीको लागि सहकार्य गरेको छ । सहकार्य सम्झौतामा महालक्ष्मी लाइफ इन्सुरेन्सका उप प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र सेलकम प्रा. लि.का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् । यस सहकार्य अन्तर्गत, अब महालक्ष्मी लाइफ का ग्राहकहरुले आफ्नो बीमा प्रिमियम तिर्न बैंक वा कार्यालय नै पुग्न पर्ने बाध्यता हटेको छ र सजिलै सेलपे एप वा वेब एप्लीकेसन प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । बीमा प्रिमियम तिर्नका लागि सेल पे मा आफ्नो खाता लिंक गरि सजिलै बिना कुनै झन्झट, कुनै पनि समयमा रकम तिर्न सकिने छ । कसरी तिर्ने ? यसका लागि सेल पेमा लगइन गरि बीमा अप्सनमा क्लिक गरि महालक्ष्मी लाइफ छनौट गरि आफ्नो पोलिसि नम्बर र जन्म मिति राख्नु पर्ने हुन्छ । त्यस पश्चात आफ्नो बीमा विवरण चेक गरि देखाएको प्रिमियमको रकम पे बटन क्लिक गरी र आफ्नो बीमा प्रिमियम भुक्तानी गर्न सकिने छ । साथै, आफ्नो सम्पूर्ण भुक्तानीहरु ट्रान्सक्सोन हिस्त्री सेक्सोनबाट सजिलै हेर्न सकिने छ ।

दशैँ अगाडि त्रिविका सबै परीक्षा हुने

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । “हामीले सेमेष्टरको परीक्षाका बारेमा खुला पुस्तक हेरेर लेख्न सकिने, अनलाइन परीक्षा लिनेबारे सोच बनाएका थियौँ”, उनले भने, “तर त्यो सम्भव नहुने भएपछि परीक्षा नै लिने निर्णयमा पुगेका छौँ ।” यसअघि सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षा बारेमा निर्णय गर्न त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको संयोजकत्वमा कार्यदल गठन गरेर परीक्षा नलिने तयारी गरेको बनाएपनि सेमेष्टरको परीक्षा लिने भएको हो । उनले दशैँ अगाडि रोकिएका नै सेमेष्टर र वार्षिक परीक्षा गर्ने तयारी गरिएको जानकारी दिए । त्रिविले चाँडै नै परीक्षाका बारेमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ । यसपटक विद्यार्थीलाई पायकपर्ने नजिकका क्याम्पसमा परीक्षा केन्द्र राखिने छ । “पहिले हामीले १२–१३ किलोमिटरभित्रमा परीक्षा केन्द्र राख्ने गरेका थियौँ”, उनले भने, “यसपटक भने विद्यार्थीलाई पायक पर्ने नजिकका क्याम्पसमा परीक्षा केन्द्र राख्ने छौँ ।” त्रिविले गत चैत ७ गतेदेखि कोभिड–१९ को कारणले सेमेष्टर तथा वार्षिक सबै परीक्षा स्थगन गरेको थियो । स्नातकोत्तर तहको प्रथम, स्नातक तह दोस्रो र विभिन्न तहका सेमेष्टर प्रणालीका परीक्षा रोकिएका छन् । यसैगरी पनिकाले बन्दाबन्दीका कारणले रोकिएका परीक्षाफल धमाधम गरिरहेको छ । पनिकाले गत वैशाख २० गतेदेखि कार्यालयका कर्मचारीलाई ल्याएर परीक्षाफल प्रकाशित गरिएको छ । उनका अनुसार स्नातकोत्तर तहका १२ विषय, कानून सङ्काय, मानविकी र व्यवस्थापनको स्नातक तहको प्रथम वर्षको परीक्षाफल प्रकाशन गर्न बाँकी रहेको छ । पनिकाले सबै परीक्षाफल प्रकाशित गरेर परीक्षा गर्ने र ती परीक्षाको पनि तीन महिनाभित्र प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रक जोशीले जानकारी दिए । उनले वार्षिक क्यालेन्डर मिलाउने गरी परीक्षा र परीक्षाफल प्रकाशन गरिने तयारी गरिएको बताए । रासस

वर्षाका कारण सात राष्ट्रिय राजमार्गमा असर, चार राजमार्ग ठप्प

काठमाडाैं । अविरल वर्षासहित बाढीपहिरोका कारण देशभरका सात राष्ट्रिय राजमार्गमा सडक आवागमनमा असर पुगेको छ । तीमध्ये चार राजमार्गमा बढी क्षति पुगेको छ । वर्षा शुरु भएपछि यी सबै राजमार्गमा गरी १०० भन्दा बढी सडक बाढीपहिरोका कारण अवरुद्ध भएकामा अहिलेसम्म कतिपय स्थानमा खुल्न सकेको छैन । देशव्यापीरूपमा तीन दिनदेखि लगातार वर्षाले विभिन्न राजमार्गमा कटान र पहिरोको कारणबाट यातायात अवरुद्ध हुनपुगेको हो । पहिरो पन्छाएर थुप्रै सडकखण्ड सञ्चालनमा ल्याइए पनि कतिपय स्थानमा तत्काल शुरु गर्न सकिने अवस्था नरहेको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । विभागले लगातार प्रयास गरिरहे पनि पुल बगाएका र नदीले सडक नै कटान गरेका स्थानमा वर्षा र नदीको बहाव कम नहुँदासम्म सडक सञ्चालन गर्न नसकिने उनको भनाइ छ । उनले भने, “सम्बन्धित सडक डिभिजन कार्यालयले उपलब्ध उकरणबाट काम गरिहरेका छन् ।” पृथ्वी राजमार्गको जोगिमारा–मावाखोला खण्ड र नारायणघाट–मुग्लिन सडकको कालीखोला खण्डमा यातायात सञ्चालन गर्न अझै केही समय लाग्ने विभागले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की, सडक विभागका महानिर्देशक शर्मा, उपमहानिर्देशकलगायतको टोली सडक अनुगमनका लागि बुधबार मौवाखोला पुगेको थियो । उक्त सडकमा रहेको पहिरो खुलाउने काम भइरहेको छ । शुक्रबार साँझसम्म सडक खुलाउने लक्ष्यका साथ काम अघि बढिरहेको उनले जानकारी दिए । उनले भने, “कतिपय स्थानमा आंशिकरूपमा मात्रै सञ्चालन गराउने काम भइरहेको छ ।” देशभरका राष्ट्रिय राजमार्गमध्ये सात राजमार्गमा बाढीपहिरोको असर परेको छ । तीमध्ये पनि अरनिको राजमार्ग, बेनी–जोमसोम, साँफेबगर–मार्तडी र बेँसीशहर–चामे सडकमा बढी असार देखिएको विभागले जनाएको छ । यात्रु र सवारीसाधनको चापका हिसाबले पृथ्वी राजमार्ग र अरनिको राजमार्ग अवरुद्ध हुँदा धेरैलाई अप्ठ्यारो परेको छ । एउटै राजमार्गको पनि धेरै ठाउँमा पहिरो देखिएको महानिर्देशक शर्माले बताए । अरनिको राजमार्गमा बाह्रबिसेम्म र सीमाबाट भन्सार कार्यालयसम्म खुलिसकेको छ । त्यसको बीचमा झण्डै १७ किमी सडक अवरुद्ध रहेको छ । सोही राजमार्गमा ६० मिटर सडक नै वर्षाले बगाएको छ भने एउटा पुल पनि बगाएको छ । उनले भने, “अरनिको राजमार्गमा रहेका अवरोध हटाउने काम भइरहेको छ ।” अहिले पनि अवरुद्ध रहेका राजमार्गमा अवरोध खुलाउनका लागि सम्बन्धित सडक डिभिजन कार्यालय लागिपरेका छन् । कतिपय स्थानमा पुल नै बगाउँदा पनि सडक अवरुद्ध भएको छ । बेनी–जोमसोम सडक र साफेँबगर–मार्तडी सडकमा पनि पुल बगाएको छ । पुल बगाएका स्थानमा सडक सञ्चालन हुन समय लाग्नसक्ने महानिर्देशक शर्माले बताउनुभयो । उनले भने, “बेलिब्रिज राखेर सडक सञ्चालन गर्नुपर्ने हुनसक्छ ।” बेनी–जोमसोम सडकमा ८/१० ठाउँमा सडक अवरुद्ध रहेको छ । त्यस्तै निर्माणाधीन कान्ति लोकपथमा पनि विभिन्न स्थानमा पहिरोले रोक्ने र खुलाउने काम भइरहेको छ । कणार्ली राजमार्गमा सामान्य पहिरो गइरहे पनि सफा गरिएको छ । विभागअन्तर्गत देशभरमा ३३ सडक डिभिजन कार्यालयले वर्षा हुनुभन्दा पहिलेदेखि नै बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा खुलाउन आवश्यक तयारी गरेका थिए । विभागअन्तर्गत विभिन्न स्थानमा रहेका डिभिजनले राष्ट्रिय राजमार्ग खुलाउने गरेका छन् । प्रदेश राजमार्ग र स्थानीय सडक सम्बन्धित निकायले खुलाइरहेको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले जानकारी दिए । विभागले वर्षा शुरु हुनुपहिले नै १८० स्थानलाई सम्भावित जोखिमको सडकका रूपमा निर्धारण गरेको थियो । ती स्थानमा पहिले नै उपकरण राखिएको र आवश्यक पर्दा प्रयोग भइरहेको विभागले जनाएको छ । उपमहानिर्देशक अधिकारीले भने, “नियमित वर्षा भइरहँदा काम गर्न नसकिए पनि पानी बन्द हुनासाथ पहिरो हटाएर सडक खुलाइन्छ ।” विभागले सडक अवरुद्ध हुनासाथ सकेसम्म दुईतर्फ नै खुलाउन प्रयास गर्ने महानिर्देशक शर्माले बताए । तत्काल दुईतर्फ सञ्चालन गर्न नसकिने स्थानमा एकतर्फ पहिरो हटाएर पनि आवगमन खुला गरिन्छ । एकातर्फ वा आशिंकरूपमा सञ्चालनमा रहेका सडक मौसमले साथ दिनासाथ खुलाइने उनको भनाइ छ । उनले भने, “सकिन्छ भने दुईतर्फ र नसकिएका ठाउँमा मात्रै खुलाइन्छ ।” विगतका वर्षभन्दा पहिले नै वर्षा शुरु भएकाले सडक बढी अवरुद्ध भएको विभागले जनाएको छ । यो वर्ष साउनको शुरुबाट अहिलेसम्म दैनिक वर्षा भइरहेको छ । भदौको १५ गतेसम्म वर्षा हुने भएकाले अझै कति क्षति हुन्छ भन्ने यकिन छैन ।

काेभिड-१९ काे कारण वीरगञ्जकाे ७० वर्षिय वृद्धकाे मृत्यु

deathकाठमाडाैं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार मृत्यु हुनेमा वीरगञ्ज माइस्थानका ७० वर्षिय वृद्ध रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्वास प्रस्वासमा समस्या आएपनि उनी नारायणी अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनको साउन ७ गते मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

काठमाडाैं उपत्यकामा ९ जना कोरोना संक्रमित थपिए

काठमाडाैं । काठमाडौं उपत्यकामा ९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ९ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे ५ जना, ललितपुरकाे २ र भक्तपुरकाे २ जना रहेकाे गाैतमले बताए । याेसँगै उपत्यकामा काेराेना संक्रमण पुष्टि भएकाे स‌ंख्या ३ सय ९४ पुगेकाे छ जसमा काठमाडाैंकाे २ सय ६४, ललितपुरकाे ८१ र भक्तपुरकाे ४९ जना रहकाे छन् । काेराेनाकाे कारण हालसम्म काठमाडाैंमा ३ जना र ललितपुरका १ जनाकाे मृत्‍यु पुष्टि भएकाे छ ।

सिभिल मलले लकडाउन भरिको मासिक भाडामा ५० प्रतिशत छुट दिने

काठमाडौं । सिभिल मल व्यवस्थापनले लकडाउन अवधिको ४ महिना मासिक भाडादरमा ५० प्रतिशत छुट दिने भएको छ । विश्वमहामारीको रुपमा फैलिएको कोभिडका कारण सरकारले गरेको लकडाउन अवधिको ४ महिनाको मासिक भाडादरमा व्यवस्थापनले ५० प्रतिशत छुट दिने भएको हो । सिभिल मल व्यापार संघका अध्यक्ष रत्न बहादुर घिमिरेले चैत देखि असारसम्म ४ महिनामा ५० प्रतिशत छुट, साउन भदौ र असोज गरी ३ महिनाको भाडामा ४० प्रतिशत छुट दिने व्यवपस्थापन पक्षसँग सहमति भएको बताए । कार्तिकबाट एक वर्षसम्मको अवधिमा पसलहरुको प्रकृतिअनुसार ६ देखि १० प्रतिशतसम्म छुट दिने सहमति पनि व्यवस्थापनसँग बनेको उनले बताए । ‘सरकारले साउन ७ गतेसम्म लक डाउन जारी राख्ने निर्णय गरेपनि मलका व्यवसायीहरुले असार १ गतेबाट नै पसल सञ्चालन गरेका थिए । पसल सञ्चालन भएपनि व्यापार शून्य अवस्थामा रहेपछि उनीहरुले भाडादरमा सहुलियत दिन व्यवस्थापन पक्षसँग आग्रह गर्दै आएका थिए । सिभिल मल बचाउ अभियान नै सञ्चालन गरेर व्यवसायीहरुले असार २१ गतेबाट शान्तिपूर्ण कार्यक्रमसँगै साँचो समेत हस्तान्तरण गरेका थिए । मंगलबार मध्यरातिबाट लागु हुनेगरी सरकारले लक डाउन अन्त्यको घोषणा गरिसकेको छ । सरकारले लक डाउन खोलेपनि कोरोना संक्रमणको जोखिम भने कायमै रहेको छ ।’- सिभिल मल व्यापार संघका अध्यक्ष रत्न बहादुर घिमिरेले बताए ।

महासंघमा विज्ञप्ति विवादः यसरी आएछ ‘साधारणसभा अब रोकिदैन’ भन्ने विज्ञप्ति

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले साउन ७ गते जारी गरेको एउटा प्रेस विज्ञप्तिले अहिले बजारमा चर्चा पाएको छ । संचारमाध्यममा खासै चर्चा नपाएको एउटा विज्ञप्तिलाई ‘कोट’ गर्दै खण्डन गरिएको महासंघको विज्ञप्तिले चुनावी राजनीतिक सरगर्मी बढेको संकेत गरेको छ । साउन ६ गते बेलुका ९ बजेर ४३ मिनेटमा इमेल गरिएको ‘प्रेस रिलिज अफ एफएनसीसीआई’ लेखिएको एउटा विज्ञप्ति महासंघसँग सरोकार राख्ने धेरैबीच अहिले ‘भाइरल’ भएको छ । र, विज्ञप्ति जारी गर्नेको नाम, लोगो वा संस्था केही पनि प्रयोग गरिएको छैन । समाचार जस्तो देखिने सामग्रीलाई ‘प्रेस रिलिज अफ एफएनसीसीआई’ लेखिएको कारण बढी चर्चा भएको छ । ‘प्रेस रिलिज अफ एफएनसीसीआई’मा महासंघको साधारणसभा नसर्ने जानकारी गराएको छ । कसले र किन साधारणसभा नगर्ने जानकारी गरायो भन्ने केही उल्लेख छैन । र, इमेल गर्ने व्यक्तिको नाम मोनिका अधिकारी लेखिएको छ । के छ ‘प्रेस रिलिज अफ एफएनसीसीआई’मा ? लकडाउन हट्यो, उद्योग वाणिज्य महासंघको साधारणसभा नरोकिने काठमाडौं । नेपाल सरकारले आज मध्यरातिदेखि लकडाउन हटाएको छ । मन्त्रिपरिषदको बैठकको जानकारी दिँदै सञ्चार मन्त्री डा. युवराज खतिवडाले सरकारले गएको चैत ११ गतेदेखि लगाएको लकडाउन आजै मध्यरातिदेखि पूर्ण रुपमा हटाएको जानकारी दिए । सो निर्णयअनुसार निजी सवारी साधनहरुमा लगाइएको जोरबिजोर प्रणाली पनि अब भोलिदेखि हटाइएको छ । जसअनुसार भोलिदेखि सबै सवारी साधन चल्नेछन् । यसैगरी सरकारले यही साउन १५ गतेदेखि सबै होटलहरु पनि खुल्ला गर्ने निर्णय यसअघि नै गरिसकेको छ । त्यस्तै लामो दुरीका सवारीसाधनका साथै आन्तरिक र अन्तराष्ट्रिय उडानहरु पनि सोही दिनदेखि गर्ने निर्णय पनि सरकारले गरिसकेको छ । यसरी अव सबैतिर खुल्ला भएपछि नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा पनि सुचारु हुने भएको बताइएको छ । यही साउन २६ र २७ गते सो साधारण सभा काठमाडौंमा हुने तयारी भइरहेको छ । लकडाउन जारी नै रहेको र कोरोना भाइरसका संक्रमितहरु पनि बढ्नसक्ने भन्दै सो साधारणसभा नहुने हो कि भन्ने आशंका नेपालका उद्योगी, व्यवसायीहरुमा थियो । महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पनि आज ट्वीट गर्दै कोरोनाजन्य लकडाउनका कारण पूर्व निर्धारित समयमै साधारणसभा सम्पन्न गर्न चुनौतीहरु बढ्दै गएको बताएका थिए । तर आज साँझ सरकारले लकडाउन पूर्ण रुपमा हटेको र होटल रेष्टुरेन्टहरु पनि साउन १५ गतेदेखि निर्वाध रुपमा संचालन गर्न दिने निर्णय गरेपछि भने साधारण सभा निर्धारित समयमै हुने नेपाल उद्योग वाणिज्य महासंघका नेता तथा प्रतिनिधिहरुले जनाएका छन् । साधारणसभाको तायर िअन्तिम चरणमा पुगेको उक्त महासंघले जनाएको छ । आगामी हप्ता उम्मेदवारीदर्ताको कार्यतालिका छ । आगामी साधारण सभामा चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । उनीहरुले आआफ्नो प्यान पनि घोषणा गरेर निर्वाचनको प्रचार थालिसकेका छन् । देशैभरि व्यवसायिक नेटवर्क रहेको साथै नेपालका एकजना चर्चित सफल युवा उद्योगी भएकोले ढकालको पक्षमा मुलुकका बहुसंख्यक उद्योगी व्यवसायीहरुको जनमत रहेको महासंघका प्रतिनिधिहरु बताउँछन् । अनि यस्तो विज्ञप्ति जारी गर्यो महासंघले ‘प्रेस रिलिज अफ एफएनसीसीआई’ सार्वजनिक भएपछि नेपाल उद्योग वाणिज्य महासंघले आधिकारिक रुपमा आपत्ति जनाउँदै अर्काे विज्ञप्ति जारी गरेको छ । महासंघले जारी गरेको विज्ञप्तिमा ‘प्रेस रिलिज अफ एफएनसीसीआई’प्रति आपत्ति जनाइएको छ । यस्तो छ महासंघले जारी गरेको आधिकारिक विज्ञप्ति नेपाल उद्योग वाणिज्य महासंघको विज्ञप्ति (Press Realese of FNCCI) भनी मोनीका अधिकारीले २१ जुन २०२० तदनुरुप २०७७ असार ६ गते बेलुका ९ः४३ मा महासंघको ५४ औं वार्षिक साधारण सभा र निर्वाचनका सम्बन्धमा महासंघका वरिष्ठ उपाध्यक्षले गर्नु भएको ट्वीटको हवाला दिनुका साथै अन्य २ जना उपाध्यक्ष्ँ क्रमशः किशोर कुमार प्रधान र चन्द्र प्रसाद ढकालका उम्मेद्वारीका वारेमा प्रकाशित बिषयबस्तु एवं ५४औं वार्षिक साधारण सभाको तयारीको बिषयमा उल्लेखित प्रेस विज्ञप्तिप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त विज्ञप्ति महासंघबाट जारी भएको नभई महासंघसंग सम्बन्धित नभएका असम्बन्धित व्यक्तिबाट अनधिकृत रूपमा जारी गरिएको पाईएको र यो पत्रकारिताको सामान्य सिद्धान्तको विपरित मात्र नभई सर्वस्विकृत आचार संहिताको गम्भीर उल्लंघन समेत हो । महासंघ यस्ता सबै प्रकारका आधारहीन प्रेस विज्ञप्ति प्रकाशित गर्ने व्यक्तिको कार्य तथा प्रवृत्ति दुवैको निन्दा एवं भत्सर्ना गर्दछ । महासंघले सम्पन्न गर्ने ५४ औं वार्षिक साधारण सभा र निर्वाचनको वारेमा दिईने सूचना तथा जानकारीका अधिकारिक स्रोत महासंघको सचिवालय हो भन्ने कुरालाई पूर्ण रूपमा वेवास्ता गरी यस प्रकारका प्रेस विज्ञप्ति प्रकाशित गर्ने/गराउने कार्यले गलत सूचना प्रवाह गर्ने मात्र नभई नेपाल उद्योग वाणिज्य महासंघ जस्तो निजी क्षेत्रको प्रतिष्ठित संस्थाको संस्थागत मर्यादामा समेत चोट पु¥याउनुका साथै सम्बन्धित सबै सदस्यहरू बीच भ्रम पैदा गर्दछ । महासंघले वार्षिक साधारण सभा आयोजनाका लागि नेपाल सरकारबाट स्वीकृति लिने प्रक्रिया अघि बढाएको र सरकारबाट तदनुरुपको निर्देशन प्राप्त हुनासाथ वार्षिक साधारण सभा सम्पन्न गर्ने तयारीमा रहेको व्यहोरा स्पष्ट पार्दछ । अतः यस्ता अनधिकृत एवं भ्रमपूर्ण कपोलकल्पित विज्ञप्तिको उल्लेखित बिषयमा कुनै सत्यता नरहेको सो भ्रामक समाचारका पछि नपर्न सम्बन्धित सबैमा महासंघ हार्दिक अपिल गर्दछ । यसरी भ्रमपूर्ण प्रेस विज्ञप्ति जारी गर्ने व्यक्ति मोनीका अधिकारीलाई कारवाही गर्न सम्बन्धित निकायलाई महासंघ हार्दिक अनुरोध गर्दछ । साइबर ब्युरोसम्म पुग्यो विवाद ‘प्रेस रिलिज अफ एफएनसीसीआई’लाई उघृत गर्दै केही संचारमाध्यमले समाचार पनि बनाएका थिए । यसरी समाचार आएपछि महासंघको अर्काे विज्ञप्ति आएको थियो । महासंघले विज्ञप्ति जारी गर्नुका साथै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी नै गरेको छ । सो विज्ञप्ति प्रकरणमा विद्युतीय कारोबार ऐनले बर्जित गरेका गतिविधि गरिएको महासंघको भनाइ छ । महासंघबाट उजुरी प्राप्त भएपछि साइबर ब्युरोले ‘आवश्यक छानविन गरिरहेको’ छ । भएको के थियो ? यो विज्ञप्ति प्रकरणको उठान भने रमाइलो प्रकारले भएको तथ्य खुलेको छ । विकासन्युजलाई प्राप्त जानकारी अनुसार ‘प्रेस रिलिज अफ एफएनसीसीआई’मा इमेल गर्ने व्यक्ति भनेर देखिएको नाम एक चर्चित एड एजेन्सीमा काम गर्ने कर्मचारीको हो । सो एड एजेन्सीका संचालकले पनि आफ्ना कर्मचारीले ‘प्रेस रिलिज अफ एफएनसीसीआई’ एक पत्रकारलाई फरवार्ड गरेको जानकारी दिए । सो एड एजेन्सीले एउटा पत्रिका र एउटा अनलाइन पनि संचालन गर्ने गरेको छ । ‘हामीलाई कसैले इमेल गरेर सो सामग्री समाचारको रुपमा पठाएको थियो, हामीले हाल्यौं पनि, त्यही सामग्री एक आर्थिक पत्रकारले मागे, हाम्रा कर्मचारीले फरवार्ड गर्नुभयो, पछि त त्यही सामग्री प्रेस विज्ञप्ति जस्तो भएछ, कहाँ कहाँ पुगेछ र कत्रो ठूलो विषय बनेछ, हामीले समाचारको रुपमा आफ्नो अनलाइनमा हालेको सो सामग्री त्यति भरपर्दाे नदेखिएपछि आफैले पनि हटाएका छौं,’ सो एड एजेन्सीका संचालकले भने ।