करिब १५ प्रतिशतले घट्यो नेपालको अन्तराष्ट्रिय व्यापार, भन्सार राजस्व लक्ष्यको ६४.४ प्रतिशत मात्रै
काठमाडौं । गत आर्थिक वर्षमा नेपालको अन्तराष्ट्रिय व्यापार करिब १५ प्रतिशतले घटेको छ । केही वर्षयता आयात घट्दै गएको तथा गत आर्थिक वर्षमा कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वव्यापी रुपमै समस्या आएको कारण नेपालको अन्तराष्ट्रिय व्यापार घटेको हो । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ को तुलनामा आर्थिक वर्ष २०७६/७७ मा नेपालको कुल अन्तराष्ट्रिय व्यापार १४.६९ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा १५ खर्ब १५ अर्ब ६४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएकोमा गत आर्थिक वर्षमा १२ खर्ब ९२ अर्ब ९५ लाख रुपैयाँ बराबरको मात्रै व्यापार भएको हो । केही वर्षयता नेपालको आयात कम हुदै गएको र गत आर्थिक वर्षमा कोभिड–१९ का कारण निर्यात व्यापार पनि प्रभावित भएर कुल बैदेशिक व्यापार नै कम भएको विभागका सुचना अधिकारी शिशिर घिमिरेले जानकारी दिए । व्यापार नै घटेका कारण भन्सार राजस्व पनि कम उठेको उनको भनाइ छ । ‘गत आर्थिक वर्षमा कुल वैदेशिक व्यापार अघिल्लो आर्थिक वर्षको तुलनामा १४.६९ प्रतिशतले घटेको छ, व्यापार घटेपछि भन्सार राजस्व पनि कम भएको छ,’ सुचना अधिकारी घिमिरेले भने । उनका अनुसार गत आर्थिक वर्षमा भन्सार राजस्व लक्ष्यको ६४.४ प्रतिशत मात्रै उठेको छ । अर्थमन्त्रालयले गत आर्थिक वर्षमा ४ खर्ब ७३ अर्ब ५० करोड रुपैयाँ भन्सार राजस्व उठाउने लक्ष्य राखेको थियो । तर, गत आर्थिक वर्षमा ३ खर्ब ५ अर्ब रुपैयाँ मात्रै राजस्व उठेको छ । गत आर्थिक वर्षमा कुल आयात व्यापार १५.६३ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा १४ खर्ब १८ अर्ब ५३ लाख रुपैयाँ बराबरको आयात भएकोमा गत आर्थिक वर्ष २०७६/७७ मा ११ खर्ब ९६ अर्ब ७९ करोड रुपैयाँ बराबरको भएको छ । गत आर्थिक वर्षमा निर्यात व्यापार ०.९८ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा ९७ अर्ब १० करोड रुपैयाँ बराबरको निर्यात भएकोमा गत आर्थिक वर्षमा ९६ अर्ब १५ करोड रुपैयाँ बराबरको मात्रै भएको छ । निर्यातको तुलनामा आयात बढी घटेका कारण नेपालको व्यापार घाटा पनि कम भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा व्यापार घाटा १६.७१ प्रतिशतले कम भएको छ । विभागका अनुसार अघिल्लो आर्थिक वर्षमा १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँ व्यापार घाटा भएकोमा गत आर्थिक वर्षमा ११ खर्ब ६४ करोड रुपैयाँ मात्रै भएको छ । नेपालको वैदेशिक व्यापारमा निर्यातको हिस्सा बढ्न थालेको छ । अघिल्लो आर्थिक वर्षमा कुल वैदेशिक व्यापारमा निर्यातको अंश ६.४१ प्रतिशत र आयातको हिस्सा ९३.५९ प्रतिशत थियो । गत आर्थिक वर्षमा आयातको हिस्सा ९२.५६ प्रतिशत र निर्यातको हिस्सा ७.४४ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा निर्यातको अंश १६.०७ प्रतिशत बढेको र आयातको हिस्सा १.१ प्रतिशतले घटेको विभागको भनाइ छ ।
बाउन्स चेक काट्ने राजेन्द्र महर्जनलाई १० दिन कैद, पौने १६ लाख जरिवाना
काठमाडाैं । बाउन्स चेक काट्ने ललितपुरका ४७ वर्षीय राजेन्द्र कुमार महर्जनलाई १० दिन कैद र १५ लाख ७५ हजार रुपैयाँ जरिवाना गरिएको छ । इन्भेष्टमेन्ट बैंकमा खाता रहेका उनले बैंककाे खातामा पैसा नहुँदा नहुँदै पनि चेक काटेपछि उनलाई सो गरे वाफत बैंकिङ कसुर अन्तर्गत सजाय दिएको हो । उच्च अदालत पाटनको उनलाई गत वर्ष माघ २० गते १० दिन कैद र पन्ध्र लाख पच्चहत्तर हजार रुपैंया जरिवाना हुने ठहर गरेको थियो । तर उनी हालसम्म फरार रहेका थिए । उनलाई आज केन्द्रिय अनुसन्धान ब्युरोले काठमाडौंको कलंकीबाट पक्राउ गरी आजै ललितपुर जिल्ला अदालतमा पेश गरेकाे छ ।
सनराइज बैंकले ल्यायाे घर कर्जा र सेयर धितो कर्जा याेजना
काठमाडौं । सनराइज बैंकले सहज तथा सरल किस्ताबन्दीमा घर निर्माण, घर तथा जग्गा खरिद र सेयरको धितोमा कर्जा दिने व्यवस्था गरेको छ । बैंकले आफ्ना ग्राहकलाई आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना सहित उक्त व्यवस्था ल्याएकाे हाे । सनराइज घर कर्जा (सनराइज होम लोन) अन्तर्गत सेवाग्राहीले ४० वर्षसम्मको अवधिका लागि ८.९५ प्रतिशत व्याजदरमा घर जग्गा कर्जा लिन पाउनेछन् । यसैगरी बैंकले सेयर धितो कर्जामा (लोन एगेनिष्ट सेयर) ९.९५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ । कोभिड १९ ले अर्थ व्यवस्थामा परिरहेको असहज परिस्थितिका बावजुत पनि कर्जा सुबिधालाई सहजीकरण गर्ने उद्देश्यले बैंकले यो योजना ल्याएको हो । कर्जा लिन चाहने ग्राहकहरुले विना झन्झट छिटो छरितो कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहकले देशका १३४ स्थानमा फैलिएको सनराइज बैंकका शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्नेछन् । सिमित अवधिको लागि ल्याइएको यस योजनाबाट लाभ लिन सकिने बैंककाे अपेक्षा रहेकाे छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु भविष्यमा पनि ल्याउँदै जाने जनाएको छ ।
अब गायक सुगम पोखरेल कामना सेवाको आवाज
काठमाडौ । कामना सेवा विकास बैंक र नेपालको साङ्गितिक क्षेत्रका प्रख्यात पप गायक, गीतकार तथा सङ्गीतकार सुगम पोखरेलबीच बैंकको आधिकारिक आवाज बन्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । यो सम्झौता पश्चात बैंकको आधिकारिक आवाजको रुपमा गायक पोखरेलको आवाज रहनेछन् । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको गतिविधिहरुमा आफ्नो सुमधुर अवाज दिई बैंकको सारथीको भूमिका निर्वाह गर्ने स्वीकृति दिएकाेमा गायक पोखरेलप्रति हार्दिक आभार प्रकट गरेका थिए । यस्तै गायक पोखरेलले आफूलाई यो अवसर प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिँदै आफ्नो तर्फबाट बैंकको ख्याती एवं श्रीवृद्धिमा जस्तो सुकै सहयोग गर्ने बचनबद्धता समेत व्यक्त गरेका थिए ।
प्रहरी प्रधान कार्यालयका चार जनालाई कोरोना संक्रमण
काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी शाखामा कार्यरत ४ जना प्रहरीमा काेराेनम संक्रमण पुष्टि भएकाे छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले प्रहरी अस्पतालमा गरिएको परीक्षणमा चार जनालाई संक्रमण देखिएकाे बताएका हुन् । उनीहरुकाे संक्रमण थप पुष्टि गर्नेकाे लागि टेकु अस्पताल पठाईएकाे उनले बताए । देशभरि अहिलेसम्म १२० जना प्रहरीलाई कोरोना संक्रमण भएको छ भने तीमध्ये १०० जना निको भएका छन्।
हाम्रो फोकस सुन कर्जामा हुन्छ, १ प्रतिशत प्रिमियममा दिन्छौं: अजय मिश्र
अजय मिश्र वित्तीय क्षेत्रमा परिचित नाम हो । बैकिङ मात्र होइन, सञ्चार र शिक्षण पेशाको समेत अनुभव भएका मिश्र प्रष्ट बोल्नुहुन्छ सटिक विश्लेषण गर्नुहुन्छ । माछापुच्छ्रे बैंक, प्रुडेन्सियल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत, सिद्धार्थ डेभपलमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत, जनता बैंक नेपालको नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्दै पछिल्लो समय यूनाईटेड फाइनान्सको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । विगतमा उहाँले नेतृत्व लिनु भएका सबै संस्थाले व्यवसाय र नाफा विस्तार गरेका थिए । यूनाइटेडमा त्यो देख्न पाएइको छैन, कारण के रह्यो ? मौद्रिक नीतिले वाणिज्य बैंकहरुलाई साना कर्जामा केन्द्रीत हुने दवाव दिएको छ, यसले फाइनान्स कम्पनीलाई कस्तो असर गर्ला ? यहि विषयमा केन्द्रीत भई विकासन्युजका लागि मिश्रसँग गरिएको विकास वहस । यूनाईटेड फाइनान्सको असार मसान्तमा कर्जा असुली कस्तो रह्यो ? असार मसान्तसम्ममा ८८ प्रतिशत व्याज उठेको छ । राष्ट्र बैंकले असोज मसान्तसम्म व्याज उठाउन समय दिएको छ । त्यो बेलासम्म हामी ९८ देखि ९९ प्रतिशत व्याज उठाउन सक्छौं । कोभिडको असरले केही कर्जा नउठ्ने र प्रोभिजन गर्नुपर्ने अवस्था आउला । नाफा नि ? नाफा ठ्याक्कै अहिले भन्ने अवस्था छैन । तर गत वर्षको हाराहारीमा रहने अनुमान छ । व्यवसाय विस्तार कति भयो ? छैन । भारतको मुथुट फाइनान्सले लगानी गरेपछिको यूनाइटेड फाइनान्स । त्यसमा पनि तपाईले नेतृत्व गरेको कम्पनीले व्यवसाय विस्तार गर्न सकेन भन्दा केही नमिले जस्तो देखियो नि ? दुई तीन वटा एक्स्टर्नल फ्याक्टरले हामीलाई असर गर्यो । बाणिज्य बैंकहरुले माइक्रो फाइनान्समा जोड दिए, साना साना कर्जामा जोड दिए । त्यसमा पहिलो प्राथमिकतामा फाइनान्स कम्पनीहरुको ऋणि लक्षित भए । फाइनान्स कम्पनी वा विकास बैंकहरुको कर्जा तान्ने कार्यमा उनीहरुले जोड दिए । गत आर्थिक वर्षमा हामीले साढे दुई अर्ब रुपैयाँ नयाँ कर्जा प्रवाह गर्यौं । साढे दुई अर्ब भनेको हाम्रो पोर्टफोलियोमा करिव ४० प्रतिशत विस्तार हो । त्यो पनि साढे आठ महिनामा । तर कुल कर्जाको रकम हेर्नु भयो भने २०७६ असार मसान्तमा भन्दा २०७७ असार मसान्तमा केही कमी नै भएको देख्नुहुन्छ । यसको मतलब हामीले साढे ८ महिनामा साढे दुई अर्ब नयाँ कर्जा लगानी गर्यौं, वाणिज्य बैंकहरुले त्यो भन्दा बढी कर्जा स्वाव गरिदिए । कोरोनाले गर्दा चैत दोस्रो सातादेखि हामीले नयाँ कर्जा स्वीकृत पनि गरेनौं, स्वीकृत भईसकेका पुराना कर्जा पनि निकासा हुन सकेन । साढे ८ महिनाको आर्थिक वर्ष रह्यो । यस अवधिमा ४० प्रतिशत नयाँ बिजनेस गरेका हौं । तर हामीले जति नयाँ कर्जा लगानी गर्यौं, त्यो भन्दा बढी कर्जा बाहिरिए । चालु आर्थिक वर्षमा पनि समस्या छ । साउन २ गतेदेखि ८ गतेसम्ममा पनि यस फाइनान्सको धेरै कर्जा बैंकहरुले तानिसके । अहिले पनि हाम्रो बेसरेट ११ प्रतिशत छ । मैले दिने कर्जाको व्याज स्वभाविक रुपमा १३ प्रतिशत हुने भए । वाणिज्य बैंकहरुले ८ देखि ९ प्रतिशत व्याजमा कर्जा दिने विज्ञापन सञ्चार माध्यमहरुमा आईरहेका छन् । उनीहरुको पनि फोकस साना कर्जामा छ । ग्राहकले पनि जहाँ सस्तो छ, त्यहाँ जाने प्रयास गर्नु स्वभाविक हो । त्यसैले एउटा पकेटमा हामीले थप्दै गएका छौं, अर्को पकेटबाट चुहिँदै गएको अवस्था हो । निक्षेप फालाफाल छ । आएको पैसा हामीले लिनैपर्छ । व्याज घटाएर निक्षेपकर्तालाई डिस्करेज गरिरहेका छन् सबै बैंक तथा वित्तीय संस्थाले । साउनदेखि वाणिज्य बैंकहरुले कल एकाउन्टको व्याजदर शून्यमा झारेका छन् । हामी फाइनान्स कम्पनीले कल एकाउन्टमा १ प्रतिशत व्याज दिएका छौं, तैपनि पैसा र्यालछ्याल छ । वित्तीय बजारमा कर्जा लगानी योग्य रकम ३ खर्ब छ । तपाईले भनेको एउटा कुरा साँचो हो कि विगतमा मैले समालेका संस्थाहरुको ग्रोथ राम्रो थियो । ग्रोथ देखाउन नसकेको, नदेखिएको यो पहिलो पटक हो । आफूले नेतृत्व गरेको संस्थाको व्यवसाय विस्तार गर्न नसक्दाको अनुभव कस्तो भईरहेको छ ? चित्त दुख्दो रहेछ । असन्तोष बढ्दो रहेछ । मैले गर्न सकिन कि भन्ने फिलिङ आउदो रहेछ । यसले मलाई पनि केही अन्यौल महशुस भएको छ । तर इन्ड अफ द डे, हामीले इमान्दारीपूर्वक प्रयास गर्यौं कि गरेनौं भनेर समिक्षा गर्नुपर्छ । समिक्षा गर्दा पूर्ण सन्तुष्ट हुने ठाउँ छ । साढे आठ महिनामा ४० प्रतिशत नयाँ कर्जा प्रवाह हुनु भनेको आफैमा ठूलो काम हो । तर बाह्य कारणले त्यसको रिफ्लेक्ट आएन । व्यवसाय विस्तार भएन भनेर सञ्चालक समितिको दवाव कत्तिको आएको छ ? असन्तुष्टि कत्तिको आएको छ ? अहिलेसम्म ठ्याम्मै छैन । असार मसान्तको अवस्था के भयो भनेर मैले सञ्चालक समितिलाई जानकारी गराईसकेको छु । आउने योजना के छ ? बोर्डलाई जानकारी गराएको छु । हाम्रो बोर्डमा सबैजना प्रोफेसनल्ली व्यवसायी हुनुहुन्छ । व्यवसायको इिन्टीग्रिटी राम्ररी बुझ्नुहुन्छ । कर्मचारीले प्रयास गरेका छन्, नयाँ ऋण प्रवाह भएको छ, नयाँ ग्राहक थपिएका छन् । तर एक्स्टर्नल फोर्सले गर्दा समग्रमा नतिजा राम्रो आएन । कोरोनाका कारण पछिल्लो ४ महिना व्यापार ठ्याम्मै भएको छैन, त्यो पनि उहाँहरुले बुझ्नु भएको छ । ऋणिहरु समस्यामा छन्, त्यो पनि बोर्डले बुझेको छ । बरु उहाँहरुले के निर्देशन दिनु भएको छ भने कठिन अवस्था भएकोले ऋणिहरुलाई जतिसक्दो राहत दिनु । राष्ट्र बैंकले २ प्रतिशत व्याज छुट दिनु भनेकोमा सञ्चालक समितिले हायरपर्चेजका ऋणिहरुलाई १ प्रतिशत थपेर ३ प्रतिशत छुट दिनु भन्नु भएको छ । तपाईलाई जानकारी गराउँ, हामीले कोभिड-१९ पछि २ करोड १८ लाख रुपैयाँ व्याज छुट दिएका छौं । धेरै बैंकले छुट दिन बाँकी छ, हामीले दिईसक्यौं । आफ्ना ग्राहकलाई बाणिज्य बैंकहरुले तानिरहेको समस्याको समाधान के हो ? हामीले बेसरेट घटाउनेतर्फ मिहेनत गर्नुुपर्छ । फाइनान्स कम्पनीको ११ प्रतिशत बेसरेट खराब होइन । १० प्रतिशतभन्दा बढी बेसरेट भएको बाणिज्य बैंकहरु पनि छन् । उनीहरुलाई पनि हाम्रो जस्तो समस्या होला । जुनदिन हाम्रो बेसरेट ८/९ प्रतिशत हुन्छ, हामीले लिएको कर्जाको व्याज बाणिज्य बैंकको भन्दा एक/डेढ प्रतिशत मात्र फरक पर्छ, त्यो दिन हाम्रा ग्राहक बाणिज्य बैंकमा जाँदै जादैनन् । किनकी ग्राहकले ठूलो संस्थामा भन्दा सानो संस्थामा सहज राम्रो सुविधा पाएका हुन्छन् । यस परिवेशमा फाइनान्स कम्पनीहरु कसरी टिक्न सक्छन् त बजारमा ? चाहे विकास बैंक हुन्, चाहे फाइनान्स कम्पनी हुन्, साना संस्था क्रमशः सकसमा पर्दै जान्छन् । ठूला बैंकहरु रिटेल कर्जामा आए । ५० हजारको ल्यापटप वा मोवाइल किन्न पनि बैंकहरुले फाइनान्स सुविधा दिन थाले । किनकी यहाँ इल्ड बढी छ । साना संस्थाको कष्ट बढी भएकोले इल्ड कम भयो । नीतिगत संरक्षण छैन । जसरी पूर्वाधार विकास बैंकको लागि निश्चित रकम भन्दा कमको कर्जा लगानी गर्न नपाइने, निश्चित रकम भन्दा कम निक्षेप लिन नपाउने भनेर वाणिज्य बैंकहरुको बजार संरक्षण गरियो, त्यसरी नै वाणिज्य बैंकहरुलाई १५ लाख रुपैयाँ भन्दा कम कर्जा लगानी गर्न रोक लगाएको भए जिल्ला स्तरीय विकास बैंक तथा वित्त कम्पनीहरुको बजार संरक्षित हुने थियो । यस्तो संरक्षण जरुरी पनि छ । किनकी वित्तीय समावेशिताको लागि, वित्तीय साक्षरता र पहुँच वृद्धिका लागि साना वित्तीय संस्थाले खेलेको भूमिका हामीले बिर्सेका छैनौं । पूर्वाधार विकास बैंकबाट वाणिज्य बैंक जोगाउने राष्ट्र बैंकले वाणिज्य बैंकबाट फाइनान्स कम्पनीलाई जोगाउने नीति लिइदिएको भए एक लाख रुपैयाँको कर्जा प्रवाहको लागि वाणिज्य बैंक र फाइनान्स कम्पनीबीच प्रतिस्पर्धा हुने थिएन । अहिले नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति मार्फत १ करोड रुपैयाँ भन्दा सानो रकमको कर्जा कुल कर्जाको १५ प्रतिशत हुनैपर्छ भनेको छ । अब बैंकहरुले फेरी पनि विकास बैंक र फाइनान्स कम्पनीको ग्राहक तान्ने भए । हामीले स्क्रीनिङ गरेर, ट्रेन एण्ड टेष्ट गरेका र हुर्काएका ग्राहक बैंकहरुले तान्ने भए । बैंक ८ प्रतिशतको अफर लिएर जान्छ, हामी १३ प्रतिशतको अफर लिएर जान्छौं । यो अवस्थामा ग्राहकले त वाणिज्य बैंक रोज्ने नै भयो । फाइनान्स कम्पनीहरु कसरी टिक्ने ? साना संस्था, जसको बेसरेट बढी छ, उनीहरुको लागि आगामी दिन थप चुनौतिपूर्ण बन्दै जानेछन् । यूनाइटेड फाइनान्सको नयाँ योजना के छन् ? अब हामी नयाँ शाखा खोल्दैनौं । यो वर्ष ६ महिना विजनेश ग्रोथ हुने सम्भावना छैन । ठूलो कर्जा वाणिज्य बैंकले ताने । हामी रिटेल कर्जामा जान्छौं । हाम्रो फोकस सुन कर्जामा हुन्छ । मुथुट फाइनान्स हामीसँग भएकोले यसतर्फ अरु एक्पर्टीज छ । हामी सुन कर्जालाई सहज बनाउछौं । व्याज कम गर्छौ । बेसरेटमा एक प्रतिशत मात्र प्रिमियम लिन्छौं । लगानीकर्ताले के पाउँछन् ? २५ वर्षको इतिहासमा यूनाईटेड फाइनान्सले हरेक वर्ष लाभांश दिएको छ । यस वर्षपनि लगानीकर्ताको हात खाली राख्दैनौं । यस फाइनान्सको सेयर मूल्य पनि स्थीर छ, कारोबार पनि कम छ । यसको अर्थ लगानीकर्ता कम्पनीको पर्फमेन्सबाट सन्तुष्ट छन् नै भन्ने देखाउँछ । समग्रमा कोडिभको असरले बैंक फाइनान्सको लाभांशमा कस्तो असर पर्ला ? करिब २० प्रतिशतले घट्छ । हिजो २० प्रतिशत लाभांश दिनेले अहिले १५ प्रतिशत लाभांश दिन सक्छ । विगतमा ३० प्रतिशत दिनेले अहिले २२/२४ प्रतिशत देलान् । मौद्रिक नीतिलाई कसरी हेर्नु भएको छ ? मौद्रिक नीतिको आफ्नै सीमा छन् । त्यो सीमाभित्र रहेर यो भन्दा उत्कृष्ट मौद्रिक नीति आउन सक्दैन थियो । वाणिज्य बैंकहरुलाई साना कर्जा लगानी गर्न राष्ट्र बैंकले दिएको नीतिगत दवावले फाइनान्स कम्पनीहरुको स्कोप झन प्रतिस्पर्धी बनाएको छ । यसले फाइनान्स कम्पनीहरुलाई गाह्रो बनाएको छ । तर कोडिभ-१९ को प्रभाव, समग्र वित्तीय क्षेत्र र व्यवासायी सबैलाई मिलाएर हेर्दा यो भन्दा उत्कृष्ट मौद्रिक नीति आउन सक्दैन थियो । यसले सबैलाई छुट दिएको छ । ऋणिलाई सावा व्याज तिर्न ९० दिनदेखि २ वर्ष समय छुट दिएको छ । व्याज छुट दिइएको छ । कर्जा पुर्नसंरचना, पुर्नतालिकीकरण गर्ने सुविधा दिइएको छ । ३ देखि ५ प्रतिशत व्याजमा ठूलो मात्रामा कर्जा दिने सुविधा दिइएको छ । बैंकहरुको व्यालेन्ससिटमा नेगेटिभ असर नपरोस् भनेर थप ९० दिन कर्जा उठाउने समय दिएको छ । प्रोभिजनको व्यवस्था पनि कम गरिएको छ । बैंकको नाफा पनि हुने भयो । सरकारले कर पनि पाउने भयो । तर एउटा चिज भएन । आम निक्षेपकर्ताले पाउने व्याजमा नकारात्मक असर पारेको छ । मौद्रिक नीतिले एक अंकमा कर्जाको व्याजदर झार्ने नीति लियो । अब मुद्रास्फितिदर भन्दा निक्षेपको व्याजदर कम हुन्छ । निक्षेपकर्तालाई मार पर्छ । अब मुद्दतिको व्याज ७ प्रतिशतभन्दा कम हुन्छ । बचतमा ४ प्रतिशत हुन्छ । औषतमा निक्षेपकर्ताले ५ वा साढे ५ प्रतिशत पाउँछन् । जबकी मुद्रास्फिति ७ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । निक्षेपकर्तासँग अबको विकल्प के छन् ? विकल्प छैनन् । केही पैसा सेयर बजारमा जाला । सेयर बजारलाई केही सकारात्मक असर पर्ने नीति आयो । मार्जिन ल्याण्डिङको सीमा ७० प्रतिशत पुर्याइएको छ । औषत मूल्य गणना १८० बाट १२० दिनमा झारिएको छ । बजारमा पैसा फालाफाल छ । व्याज घटेको छ । यसले सेयर बजारमा सकारात्मक असर पर्न सक्छ । बैंकबाट निक्षेप झिक्नेको लागि सेयरबजार बाहेक अर्को विकल्प छैन । रियलस्टेट क्षेत्रलाई मौद्रिक नीतिले केही पनि दिएन । अहिले पनि बैंकहरुले सबैभन्दा बढी व्याज लगाइने कर्जा हो रियलस्टेट कर्जा । त्यसैले घरजग्गामा पैसा कम जान्छ । कर्जाको माग कस्तो होला ? कात्तिकसम्म कर्जाको माग नबढ्ला । कोरोना प्रकोप, भर्खरै लकडाउन खुलेको, पुरानो स्टक बाँकी रहेको, नयाँ माग कम भएको अवस्था, सीमापारीको व्यापार सहज नभएको अवस्था, विश्वभर मन्दीको अवस्था, मनसुनको कारण विकास निर्माण रोकिएको अवस्था, विकास निर्माणमा सरकारी बजेटको विनियोजन नै कम हुनु जस्ता कारणले चालु आर्थिक वर्षको प्रथम ६ महिना आर्थिक गतिविधि बढ्नेवाला छैन । कोरोनाको प्रभाव कम हुँदै गयो, खोप वा औषधिको विकास भयो भने तेस्रो क्वाटरमा गएर कर्जाको माग धेरै बढ्नेछ ।
गाईजात्रासँग सम्बन्धित पर्व स्थगन गर्न अनुरोध
ललितपुर । गोदावरी नगरपालिकाले यही साउन २० गते श्रावण प्रतिपदाका दिन मनाइने गाईजात्रासँग सम्बन्धित अन्य पर्व पूर्णरुपमा स्थगन गर्न अनुरोध गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीले सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई ध्यानमा राखेर नगरवासीको सुरक्षाका लागि नगरपालिकाले उक्त अनुरोध गरेको हो । गोदावरीभित्र गाईजात्रा पर्वमा मनाइने मत्या, रोपाइँ, लाखे, कृष्ण र जुग जात्रा सञ्चालन नगर्न आग्रह गरिएको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, “दिवङ्गत आत्माको शान्त्तिका लागि भीडभाडजन्य कार्य नगरी सरोकारवालालाई मात्र गाईजात्रामा समावेश हुन अपिल गर्दछाैँ ।” यस वर्ष सामाजिक दूरी कायम गरी सांस्कृतिक परम्परालाई मात्र सञ्चालन गर्न प्रमुख महर्जनले नगरवासीसमक्ष अपिल गरे ।
हिमालयन बैंकले ल्यायो ११ प्रकारका विशेष कर्जा योजना, सेयर धित्तो कर्जा ९.८९ प्रतिशतमै
काठमाडौं । हिमालयन बैंकले मुलुकको वर्तमान परिस्थितिलाई ध्यानमा राखी ११ प्रकारका विशेष कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ८.४९ प्रतिशत व्याज दरमा विभिन्न छ प्रकारका र ९.८९ प्रतिशत व्याज दरमा पाँच प्रकारका सहज-सरल विशेष कर्जा योजना सार्वजनिक गरेको हाे । बैंकले सार्वजनिक गरेका ८.४९ प्रतिशत व्याज दरको कर्जा योजनामा एसएमई कर्जा, घर कर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा र साना तथा मझौला व्यवसायिक कम्प्लेक्स निर्माण कर्जाहरु रहेका छन् । त्यसैगरी, ९.८९ प्रतिशत व्याजको कर्जा योजनामा सेयर धित्तो कर्जा, शिक्षण संस्थाका लागि दिइने कर्जा, व्यक्तिगत साना व्यवसायिक कर्जा, सुबिधा कर्जा र व्यक्तिगत कर्जा रहेका छन् । त्यस्तै, बैंकले १०.३९ प्रतिशत व्याज दरमा व्यवसायिक सवारी साधन कर्जा पनि ल्याएको छ । दश वर्षको अवधि सम्मका लागि पाइने एसएमई कर्जा ग्राहकहरुले न्युनतम पाँच लाख देखि छ करोड रुपैयाँसम्म प्राप्त गर्न सक्दछन् । बैंकले घर कर्जाको सीमा एक करोड रुपैयाँ तोकेको छ । ग्राहकहरुले घर निर्माण वा घर-जग्गा खरिदका लागि सो कर्जा उपयोग गर्न सक्नेछन् । शैक्षिक कर्जा योजना स्वदेश वा विदेशमा पढ्न चाहना राख्ने विद्यार्थीहरुका लागि निकै उपयोगी हुने विश्वास बैंकले लिएको छ । विशेष आर्कषणको रुपमा उपरोक्त बिशेष सहज, सरल कर्जा योजनामा लागु हुने व्याज दरको प्रिमियम न्युनतम एक वर्षको लागि स्थिर रहने व्यवस्था गरेको छ भने यी सम्पुर्ण कर्जाहरुको सेवा शुल्क पनि हालसम्मको न्युन रहने छ र यी कर्जाका ग्राहकहरुले क्रेडिट कार्डको सुबिधा पनि एक वर्ष निःशुल्क पाउनु हुनेछ । ग्राहकहरुले यस बैंकको कुनै पनि शाखा कार्यालयहरु मार्फत यी कर्जा सुबिधा उपयोग गर्न सक्नेछन् । हिमालयन बैंकले देशभरिका ६८ शाखा कार्यलयहरुबाट बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ ।