काँग्रेसमा अनुशासन उल्लङ्घन गर्नेलाई धमाधम कारवाही गरिँदै
काठमाडौं । नेपाली काँग्रेसले पार्टी विधानको अनुशासन उल्लङ्घन गर्नेलाई कारवाही प्रक्रिया तीव्र बनाएको छ । काँग्रेसको केन्द्रीय अनुशासन समितिले गत तीन तहका निर्वाचनमा पार्टीको उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिने, असहयोग गर्ने र पार्टीको अनुशासन उल्लङ्गन गर्ने अधिकांशलाई कारवाही गरेको छ । समितिमा स्थानीय, प्रदेश एवं सङ्घीय निर्वाचनको क्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्तालाई आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भनी नगर वडासमिति, साविकको गाविस वा गाउँपालिका कार्यसमिति, नगर कार्यसमिति तथा साविकको क्षेत्रीय कार्यसमितिबाट सिफारिस भई आएका र सम्बन्धित उम्मेदवारको समेत गरी एक हजार २५० उजूरी परेका थिए । सो उजूरीमध्ये छानबिन गरी अधिकांशलाई विधानअनुसार कारवाही गरिएको समिति सदस्य धनराज गुरुङले जानकारी दिए । शनिबार बसेको समिति बैठकले तनहुँ निवासी पूर्व सहमहामन्त्री एवं पूर्वमन्त्री गोविन्दराज जोशी र कैलाली निवासी पूर्व राज्यमन्त्री एवं महासमिति सदस्य पुष्करनाथ ओझालाई पार्टीको विधानअनुसार अनुशासन उल्लङ्घन गरेको आरोपमा पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ । जोशीलाई पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएको र ओझालाई पार्टीका आधिकारिक उम्मेदवार आरजु राणा देउवालाई असहयोग गरेको आरोपमा कारवाहीको माग गर्दे उजूरी परेको थियो । यसैगरी बैठकले डडेल्धुराका जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीको विधानअनुसार अनुशासन उल्लङ्घन गरेको आरोपमा तीन वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको समितिले जनाएको छ । उनीहरु तीनै जनालाई समितिको गत फागुन १९ गतेको बैठकले कारवाही किन नगर्ने भनी तीन दिनको म्याद राखी अन्तिम स्पष्टिकरण सोधेका थियो । निजहरुले दिएको स्पष्टिकरण चित्तबुझ्दोे नभएको र केन्द्रीय अनुशासन समितिलाई प्राप्त सबुद प्रमाण अडियो भिडियोको आधारमा तीनै जनाले विधानअनुसार अनुशासन उल्लङ्घन गरेको आरोपमा पार्टीबाट निष्काशन गर्ने निर्णय गरिएको हो । समितिले यसअघि पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने, निजका प्रस्तावक र समर्थक गरी जम्मा २७९ जनालाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको नेता गुरुङले जानकारी दिए । समितिले बाँकेका महासमिति सदस्य महेन्द्र मल्ललाई विधानबमोजिम अनुशासन उल्लङ्न गरेको भन्दै गत असार २४ गते पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो । यसैगरी समितिले उजूरीसँग सम्बन्धित बाँकी आरोपीलाई पार्टीको वृहत्तर हितमा कार्य गर्न सचेत गराउँदै आगामी दिनमा निजहरुले पार्टीमा खेल्ने भूमिका एवं गतिविधिअनुसार मूल्याङ्कन गर्दै जाने कुरा सूचित गर्ने निर्णय गरेको छ । समितिले उजूरीसँग सम्बन्धित आरोपीलाई स्पष्टिकरणको पत्राचार गरिएकामा कतिपय जिल्लाबाट आरोपितहरुलाई पत्र नबुझाएको भन्ने गुनासो आरोपितबाट आएको हुँदा पार्टीका सम्बन्धित जिल्ला सभापतिलाई समेत सचेत गराएको छ । काँग्रेस केन्द्रीय सदस्य भीष्मराज आङदेम्बे संयोजकत्वको केन्द्रीय अनुशासन समितिमा पार्टीका केन्द्रीय सदस्यहरु उमाकान्त चौधरी, धनराज गुरुङ, किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल सदस्य छन् ।
बुद्द एयरले मात्र ५ हजारमा पाेखरा र ७ हजारमा चितवन घुमाउने
काठमाडौं । बन्दाबन्दीले करिब चार महिना शून्य स्थितिजस्तै भएको मुलुकको पर्यटन क्षेत्र बन्दाबन्दी खुलेसँगै पूर्ववत् अवस्थामा फर्कने आशाका सङ्केत देखिन थालेका छन् । कोभिड–१९ महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीले शिथिल बनेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन व्यावसायिक सक्रियता र गतिविधि पनि बढेको छ । आगामी भदौ १५ गतेदेखि होटल, ट्राभल, ट्रेकिङलगायत पर्यटकीय क्षेत्र खुल्दैछन् । सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । वायुसेवा प्रदायक कम्पनीले उत्साहपूर्वक उडानको तयारी गरिरहेका छन् । स्वास्थ्य प्रोटोकल बनाएर सुरक्षित उडानको पूर्वअभ्यासका साथै बुकिङ खुलाएर आकर्षक प्याकेजसमेत बनाइरहेका छन् । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले अहिलेको स्थितिलाई चलायमान बनाउन सस्तो आकर्षक होलिडे प्याकेज सार्वजनिक गरेको छ । बुद्ध होलिडेजले नाफारहित आकर्षक पोखरा र रमाइलो चितवन प्याकेज ल्याएको कम्पनीले जनाएको हो । बुद्ध एयर, पोखरा तथा चितवनका होटलको सहकार्यमा प्याकेज ल्याएको छ । बुद्ध होलिडेज बुद्ध एयरको भगिनी संस्था हो । दुई दिन तीन रातको प्याकेजमा पोखरा रु पाँच हजार ९९९ र चितवनका लागि रु सात हजार ९९९ तोकिएको छ । यसमा दुईतर्फी हवाई टिकट, तारे होटेलको बसाइ, बिहानको खाजा, पोखरा विमानस्थलबाट होटेल र फर्किंदा विमानस्थलको गाडी सुविधा समावेश गरिएको छ । यसैगरी चितवनको पनि दुईतर्फी हवाई टिकट, तीनतारे होटेलको बसाइ, बिहानको खाजा, चितवन विमानस्थलबाट सौरहा होटेल र फर्किंदा विमानस्थलको गाडी सुविधा समावेश गरिएको कम्पनीले उल्लेख गरेको छ । यो योजना सीमित अवधिभरका लागि हो । प्याकेजको मुख्य उद्देश्य शुरुमा आन्तरिक पर्यटनलाई चलायमान तथा प्रवद्र्धन गरी हाम्रा सेवा सुरक्षित छन् भनी विदेशी पर्यटकलाई समेत भित्र्याउनु रहेको होलिडेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) आस्था बस्नेतले बताए । सङ्क्रमणरहित यात्रा तथा पर्यटकीय प्याकेजका लागि बुद्ध होलिडेजले कोभिडविरुद्धका सुरक्षा निर्देशिका पनि तयार गरेको छ । यसलाई अक्षरशः पालना गर्दै यात्रु तथा पर्यटकलाई सङक्रमणरहित घुमफिरका लागि पनि बुद्ध होलिडेजले अनुरोध गरेको छ । निर्देशिकाले जहाजदेखि, पर्यटक गाडी तथा होटेल, रेस्टुराँ तथा त्यहाँ रहेका कामदारलाई पनि समेटेको सिइओ बस्नेतले भने, “सुरक्षा निर्देशिकाको पालना गर्न गराउन हामी संवेदनशील रहेका छौँ र यसको नियमित अन्तरालमा हामी स्वयंले अनुगमन गर्नेछौँ ।” बुद्ध एयरले ११ एटिआर जहाजसहित १३ जहाजमार्फत आन्तरिक उडान भर्दै आएको छ । निजी क्षेत्रका यती एयरलाइन्स, श्री एयरलाइन्सलगायत कम्पनीले पनि उडान तथा सहुलियतका प्याकेज घोषणा गर्ने जनाइएको छ ।
सनराईज बैंकका सञ्चालकलाई कानुन पढाउँदै राष्ट्र बैंकले भन्यो-‘टेकओभर गर्नु नपरोस्’
काठमाडौं । नेपाल राष्ट्र बैंकले सनराईज बैंकका सञ्चालकहरुलाई बोलाएर बैंक संचालक समितिको अधिकार, जिम्मेवारी, काम, कर्तव्यबारे लामो पाठ पढाएको छ । सनराईज बैंकमा सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतबीच विवाद भएपछि राष्ट्र बैंकले आइतबार सञ्चालक समितिलाई छलफलमा बोलाएको थियो । राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालसहितको टोलीले बैंकका सातै जना सञ्चालकलाई राष्ट्र बैंक ऐनले केन्द्रीय बैंकलाई दिएको अधिकार, बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनले बैंकका अध्यक्ष तथा सञ्चालकहरुलाई दिएको अधिकार र ताेकेका जिम्मेवारीका बारेमा समेत जानकारी गराएको छ । राष्ट्र बैंकले सनराइज बैंकका सञ्चालकसँग मर्जरकाे विषयमा पनि साेधखाेज गरेकाे छ । बैठकमा बैंकका तर्फबाट सातै जना सञ्चालकहरूले आफ्ना विचारहरु राखेका छन् । स्रोतको अनुसार अध्यक्ष मोतिलाल दुगडले सञ्चालक र प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालबीच केही समझदारी रहेको तर ठूलो विवाद नभएको बताएका छन् । उनले सीईओको स्वभावजन्य कमजाेरीहरु पनि कार्यसम्पादनमा समस्या नभएको बताएका छन् । अन्य सञ्चालकहरुले सीइओ पौड्यालले बैंकका सञ्चालकको मानमर्दन हुने गरि गतिविधि गरेको, उद्योगी व्यापारी समूदायको भावनामा चोट पुग्ने खालको विचारहरु सञ्चार माध्ययमा व्यक्त गरेको, सञ्चालक समिति र व्यवस्थापन समूहबीच सहि सञ्चारमा चुकेको आरोप लगाएका छन् । छलफलमा एक जना सञ्चालकले सीईओ पौड्यालको तर्फबाट केही गल्ती भएको तर उनले गल्ती स्वीकार गरि गल्तीप्रति सम्बन्धित सञ्चालकहरुको घर घरमा गएर माफी मागेको कुरा पनि उठाएका थिए । सनराइज बैंकका एक सञ्चालकका अनुसार राष्ट्र बैंकका अधिकारीहरुले टेकओभर गर्न चेतावनी दिएका छन् । तर छलफलमा सहभागी राष्ट्र बैंकका अधिकारीले टेकओभर गर्ने कुरा नभएको बताए । ‘कस्तो कस्तो अवस्थामा राष्ट्र बैंकले टेकओभर गर्न सक्ने व्यवस्था छ भनेर हामीले जानकारी दिएका छौं । तर टेकओभर गर्ने चेतावनी दिएको भन्ने कुरा सत्य होइन’ ती अधिकारीले भने । ‘आज हामीले उहाँहरुको कुरा सुन्यौं, बैंकमा राजनीति नगर्नु, निक्षेपको सुरक्षामा ध्यान दिनु भन्यौं । बैंकको स्थायीत्वमा ध्यान दिनु भन्यौं’ राष्ट्र बैंकका ती अधिकारीले भने । सञ्चालक समितिले सीईओ पौड्यालसँग ६ बुँदे स्पष्टीकरण माग गरेको छ । त्यसको जवाफ दिने समय साउन १२ गते सोमबारसम्म छ । ‘सोमबार सीईओको स्पष्टीकरण आउँछ । त्यसबारे मंगलबार सञ्चालक समितिमा छलफल हुन्छ । त्यसपछि निर्णय के हुन्छ, अहिले भन्न गाह्रो छ’- बैंकका एक सञ्चालकले नाम उल्लेख नगर्ने सर्तमा भने । राजीनामा नदिएपछि सनराईज बैंकका सीईओसँग स्पष्टीकरण माग, बर्खास्त गर्ने बोर्डको तयारी
काठमाडाैं उपत्यकामा ८ जना कोरोना संक्रमित थपिए
काठमाडाैं । काठमाडौं उपत्यकामा ८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ८ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे ८ जना रहेकाे गाैतमले बताए । याेसँगै उपत्यकामा काेराेना संक्रमण पुष्टि भएकाे संख्या ४ सय १५ पुगेकाे छ जसमा काठमाडाैंकाे २ सय ८४, ललितपुरकाे ८२ र भक्तपुरकाे ४९ जना रहकाे छन् । काेराेनाकाे कारण हालसम्म काठमाडाैंमा ३ जना र ललितपुरका १ जनाकाे मृत्यु पुष्टि भएकाे छ । आज नेपालमा १ सय ३० जना काेराेना संक्रमित थपिएका छन् भने ७५ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे संख्या १८ हजार ६ सय १३ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या १३ हजार १ सय २८ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ४५ जको मृत्यु भइसकेकाे छ ।
नेपालमा थप १ सय ३० जनामा कोरोना पुष्टि, ७५ निकाे भए
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय ३० जनामा कोराेना भाइरस देखिएको बताए । हाल क्वारेन्टिनमा १७ हजार ९ सय ३ जना रहेका छन् भने आजसम्म ३ लाख ४२ हजार ४ सय ५७ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । मंगलबार विभिन्न अस्पतालबाट ७५ जना निको भएर घर फर्किएका छन् । आजसम्म कोरोना मुक्त हुनेको संख्या १३ हजार १ सय २८ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।
महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशत व्याजमै घर र एसएमई कर्जा दिने
काठमाडौं । महालक्ष्मी विकास बैंकले घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुक र उद्यम गर्न इच्छुकलाई विशेष कर्जा सुविधा योजना ल्याएको छ । बैंकले उद्यमशील कर्जा अन्तर्गत उक्त योजना ल्याएको हो । बंैकले दुवै कर्जा योजनामा ऋणिका लागि ९.९९ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्नुका साथै कर्जा शुल्कमा विशेष छुट प्रदान गर्ने छ । आवास कर्जा योजना अन्तर्गत ऋणिका लागि निर्माण लागतको शत प्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, दुई बर्षसम्म व्याज मात्र भुक्तानी गर्न सकिने, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा निःशुल्क दुर्घटना वीमा जस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ । उद्यमशील कर्जा योजना अन्तर्गत ऋणिका लागि धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय सुरु गर्न अग्रिम कर्जा प्रवाह गर्ने जस्ता सुविधाहरु प्रदान गर्ने बंैकले जनाएको छ । घर खरिद गर्न अथवा घर निर्माण गर्न र उद्यम गर्न चाहनेहरुका लागि लाभदायक महालक्ष्मी आवास कर्जा र महालक्ष्मी उद्यमशील कर्जा बैंकका सम्पुर्ण शाखाहरुबाट उपलब्ध हुनेछन् । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या करिब पाँच लाख रहेको छ ।
तेजाब प्रहारबाट घाइते युवतीलाई उपचारमा सरकारले सहयोग गर्ने
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले तेजाब प्रहारबाट घाइते युवतीको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिएका छन् । मन्त्री ढकालले आज कीर्तिपुर अस्पताल पुगी उपचाररत पीडित युवतीलाई भेटेर उनको उपचारमा सरकारले सक्दो सहयोग गर्ने बताए । “तपाईँ को उपचारमा सरकारका तर्फबाट सक्दो सहयोग हुन्छ”, पीडितसित कुरा गर्दै उनले भने,” “घटनामा संलग्नलाई हदैसम्मको कारवाही हुन्छ ।” सो अवसरमा मन्त्री ढकालले पीडितका आफन्त तथा चिकित्सकसित उपचारबारे जानकारी लिएका थिए । उनीसँगै सांसद यज्ञराज सुनुवार पनि पीडितलाई भेट्न अस्पताल पुगेका थिए । सो अवसरमा मन्त्री ढकालले कीर्तिपुर अस्पतालको अवस्थाबारे त्यहाँका पदाधिकारी तथा चिकित्सकसित जानकारी लिएका थिए । स्थानीय सीतापाइलामा बस्दै आएकी ओखलढुङ्गाकी २२ वर्षीया युवतीलाई बिहीबार साँझ भारतको विहार घर भई डल्लु बस्दै आएका फैयाज आलमले तेजाब प्रहार गरेका थिए । फैयाजलाई उनीसँगै बस्दै आएका रौतहट लक्ष्मीपुर–४ का मोहम्मद आलमले युवतीमाथि तेजाब छ्याप्न लगाएका थिए । दुवै अभियुक्तलाई प्रहरीले बिहीबार राति नै डल्लुबाट पक्राउ गरेको थियो । प्रहरी कल डिटेल र सिसी क्यामराको सहायताले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । मोहम्मद काठमाडौँको एक कपडा कारखानाका मालिक तथा फैयाज कामदार भएको खुलेको छ । पीडित युवती र उहाँकी दिदी पहिला मोहम्मदकै गार्मेन्टमा काम गर्थिन् । पछि पीडित युवतीले उक्त कारखनामा काम गर्न छाडेका थिए । पीडित युवतीको उपचारमा संलग्न चिकित्सक डा सुरेन्द्र बस्नेतले उहाँको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गएको बताए । “पहिलाभन्दा अहिले घाउ ठीक हुँदै गएको छ”, उनले भने । उपचारमा केही समय लाग्ने बस्नेतको भनाइ थियो । तेजाबा प्रहारबाट युवतीको अनुहारको दायाँपट्टिको भाग जलेको छ ।
करिब १५ प्रतिशतले घट्यो नेपालको अन्तराष्ट्रिय व्यापार, भन्सार राजस्व लक्ष्यको ६४.४ प्रतिशत मात्रै
काठमाडौं । गत आर्थिक वर्षमा नेपालको अन्तराष्ट्रिय व्यापार करिब १५ प्रतिशतले घटेको छ । केही वर्षयता आयात घट्दै गएको तथा गत आर्थिक वर्षमा कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वव्यापी रुपमै समस्या आएको कारण नेपालको अन्तराष्ट्रिय व्यापार घटेको हो । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ को तुलनामा आर्थिक वर्ष २०७६/७७ मा नेपालको कुल अन्तराष्ट्रिय व्यापार १४.६९ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा १५ खर्ब १५ अर्ब ६४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएकोमा गत आर्थिक वर्षमा १२ खर्ब ९२ अर्ब ९५ लाख रुपैयाँ बराबरको मात्रै व्यापार भएको हो । केही वर्षयता नेपालको आयात कम हुदै गएको र गत आर्थिक वर्षमा कोभिड–१९ का कारण निर्यात व्यापार पनि प्रभावित भएर कुल बैदेशिक व्यापार नै कम भएको विभागका सुचना अधिकारी शिशिर घिमिरेले जानकारी दिए । व्यापार नै घटेका कारण भन्सार राजस्व पनि कम उठेको उनको भनाइ छ । ‘गत आर्थिक वर्षमा कुल वैदेशिक व्यापार अघिल्लो आर्थिक वर्षको तुलनामा १४.६९ प्रतिशतले घटेको छ, व्यापार घटेपछि भन्सार राजस्व पनि कम भएको छ,’ सुचना अधिकारी घिमिरेले भने । उनका अनुसार गत आर्थिक वर्षमा भन्सार राजस्व लक्ष्यको ६४.४ प्रतिशत मात्रै उठेको छ । अर्थमन्त्रालयले गत आर्थिक वर्षमा ४ खर्ब ७३ अर्ब ५० करोड रुपैयाँ भन्सार राजस्व उठाउने लक्ष्य राखेको थियो । तर, गत आर्थिक वर्षमा ३ खर्ब ५ अर्ब रुपैयाँ मात्रै राजस्व उठेको छ । गत आर्थिक वर्षमा कुल आयात व्यापार १५.६३ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा १४ खर्ब १८ अर्ब ५३ लाख रुपैयाँ बराबरको आयात भएकोमा गत आर्थिक वर्ष २०७६/७७ मा ११ खर्ब ९६ अर्ब ७९ करोड रुपैयाँ बराबरको भएको छ । गत आर्थिक वर्षमा निर्यात व्यापार ०.९८ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा ९७ अर्ब १० करोड रुपैयाँ बराबरको निर्यात भएकोमा गत आर्थिक वर्षमा ९६ अर्ब १५ करोड रुपैयाँ बराबरको मात्रै भएको छ । निर्यातको तुलनामा आयात बढी घटेका कारण नेपालको व्यापार घाटा पनि कम भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा व्यापार घाटा १६.७१ प्रतिशतले कम भएको छ । विभागका अनुसार अघिल्लो आर्थिक वर्षमा १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँ व्यापार घाटा भएकोमा गत आर्थिक वर्षमा ११ खर्ब ६४ करोड रुपैयाँ मात्रै भएको छ । नेपालको वैदेशिक व्यापारमा निर्यातको हिस्सा बढ्न थालेको छ । अघिल्लो आर्थिक वर्षमा कुल वैदेशिक व्यापारमा निर्यातको अंश ६.४१ प्रतिशत र आयातको हिस्सा ९३.५९ प्रतिशत थियो । गत आर्थिक वर्षमा आयातको हिस्सा ९२.५६ प्रतिशत र निर्यातको हिस्सा ७.४४ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा निर्यातको अंश १६.०७ प्रतिशत बढेको र आयातको हिस्सा १.१ प्रतिशतले घटेको विभागको भनाइ छ ।