काठमाडाैं उपत्यकामा एकैदिन ५१ जनामा देखियाे कोरोना
काठमाडाैं । काठमाडौं उपत्यकामा ५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ५१ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् । संक्रमितहरु काठमाडाैंकाे ४३, ललितपुरकाे ३ र भक्तपुरकाे ५ जना रहेकाे गाैतमले बताए ।योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४९३ ललितपुरमा १०८ र भक्तपुरमा ६४ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ६६७ पुगेको छ। साेमबार देशभर ४१८ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २० हजार ७ सय ५० पुगेको छ।
नेपालमा थप ४ सय १८ जनामा कोरोना पुष्टि, ३५९ जना निको भए
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ४ सय १८ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २० हजार ७ सय ५० जना पुगेकाे छ । हाल क्वारेन्टिनमा १० हजार ४ सय ५२ जना रहेका छन् भने आजसम्म ३ लाख ९८ हजार ९ सय ७ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । मंगलबार विभिन्न अस्पतालबाट ३५९ जना निको भएर घर फर्किएका छन् । आजसम्म कोरोना मुक्त हुनेको संख्या १४ हजार ९ सय ६१ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।
आज मन्त्रिपरिषद् बैठक बस्दै, के हाेला निर्णय ?
काठमाडाैं । आज बेलुका पाँच बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । आजको बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने सम्भावना रहेको बताइएको छ । बोर्डको सिइओका लागि अर्थमन्त्री डा. युवराज खतिवडा नेतृत्वको समितिले डा. सरोज कोइराला, रामकृष्ण खतिवडा र सुशील भट्टको नाम सिफारीस गरेको छ । सिफरिस भएका ३ जना बाट सिइओ छनौट हुनेछन् । यी तीनमध्ये एकजनालाई ४ वर्षे कार्यकालका लागि सीईओ नियुक्त गरिनेछ।
मेलम्ची खानेपानी आयोजना- भित्रबाट हुनुपर्ने ढोका बाहिरबाट राख्दा दुर्घटना
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको पाइएको छ । खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले गेट भित्रबाट हुनुपर्नेमा बाहिरबाट राखिएकाले दुर्घटना भएको निष्कर्ष निकालेको छ । समितिले पछिल्लो समयमा प्राविधिक ‘डिजाइन रिभ्यु’ नभएको पनि जनाएको छ । समितिले सुरुङमा रहेका चारवटै गेटमा पुनःअवलोकन (रिभ्यू) गर्न पनि सुझाव दिएको छ । गेटमा नटबोल्ट राम्रो नकसिएको पाइएको छ । सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–१ स्थित आयोजना निर्माणस्थलमा दुई साता पहिले सुरुङको गेट खुल्दा त्यहाँ एक सातासम्म जम्मा गरिएको पानी बाहिर निस्केको थियो । सो दुर्घनाका कारण कन्सलट्यान्ट दोर्जे पेम्बा र इञ्जिनीयर शेखर खनाल घाइते भएका थिए । दुर्घटनाका कारण इञ्जिनीयर सतीश गोहित र सवारीचालक राधाकृष्ण थापामगर बेपत्ता भएका थिए । तीमध्ये इञ्जिनीयर गोहित घटनाको भोलिपल्ट मृत फेला परेका थिए भने चालक थापामगर अझै बेपत्ता छन् । सुरुङ परीक्षणका लागि पानी भर्न झण्डै १५ दिन लाग्नेमा एक सातामा पानी बाहिर निस्केको हो । असार २१ मा पानी पथान्तरण गरिएकामा ३० असारमा दुर्घटना भएको थियो । सो दुर्घटनाको जिम्मेवारी परामर्शदाता कम्पनी र गेट निर्माण गर्ने कम्पनी दुवैको भएको मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । उनका अनुसार इटास कम्पनी परामर्शदाताका रुपमा रहेको थियो भने भारतीय कम्पनी पिआइएलले गेट निर्माण गरेको हो । आयोजनामा यस पहिले काम गरेको इटालियन कम्पनी सिएमसीले नै गेट निर्माण गर्न सो कम्पनीलाई लगाएको थियो । नेपाल सरकारसँग सिएमसीको ठेक्का रद्द भए पनि सोही कम्पनीले गेट निर्माणको बाँकी काम सम्पन्न गरेको थियो । समितिले गेटको फ्रेम नयाँ राख्नुपर्ने सुझाव दिएको छ । उनले भने, “त्यो सुधार गरेपछि मात्रै सुरुङमा पानी पठाउन सकिन्छ ।” सुरुङमा रहेका त्रुटि हटाउनका लागि अझै झण्डै दुई महिना लाग्ने मन्त्रालयले जनाएको छ । यो अवधिमा निर्माण कम्पनीले ‘हेडबक्स’ काम गरिरहेको छ । चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँगको सम्झौतानुसार ‘हेडबक्स’ निर्माणको अवधि अझै तीन महिना छ । सरकारले यसअघि अस्थायी बाँधबाट पानी पथान्तरण शुरु गरेको थियो । त्रुटि सच्याउदासम्म ‘हेडबक्स’ को निर्माण सकिएमा त्यसैबाट पानी पथान्तरण हुनेछ । मेलम्चीको सुरुङमा दुर्घटना भएपछि पनि अरु निर्माणका काम रोकिएको छैन । उनले भने, “पानी वितरणका लागि आवश्यक संरचना निर्माण र आवश्यक व्यवस्थापकीय तयारीको काम अघि बढेको छ ।” आयोजनाअन्तर्गत सुरुङ, हेडबक्स र दुई पानी प्रशोधन केन्द्र निर्माण भएको हो । दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने गरी सुन्दरीजलमा दुई वटा ट्याङ्की निर्माण भइसकेको छ । यहाँको प्रशोधन केन्द्र दुवैको क्षमता साढे आठ करोड लिटर रहेको छ । तीमध्ये एउटाको निर्माण जापानी अन्तरराष्ट्रिय सहयोग नियोग(जाइका) र अर्काे एशियन विकास बैंक(एडिबी) को आर्थिक सहयोगमा निर्माण भएकोे थियो । बन्दाबन्दीको अवधिमा पनि यस आयोजनामा निर्माणको काम भइरहेको थियो । सरकारले निर्माण सम्पन्न हुने क्रममा रहेका राष्ट्रिय गौरवका आयोजना तामाकोशी जलविद्युत् आयोजना र यो आयोजनामा निर्माणको काम सञ्चालन गर्ने निर्णय गरेको थियो । बन्दाबन्दीका कारण घर फर्किएका कतिपय कामदार आउन नसकेको र निर्माण सामग्री ल्याउन कठिनाइका कारण सामान्य अवस्था जसरी काम हुन सकेको थिएन । निर्माण कम्पनीले उपलब्ध जनशक्ति र सामग्रीबाट निर्माण गरिरहेको हो । स्थानीयवासी र स्थानीय तहले आयोजनाका कारण कोभिड–१९ को जोखिम भएको भन्दै बन्द गर्न भनिरहँदा पनि आयोजना सुचारु थियो । लामो समयसम्म पनि सम्पन्न नभएको राष्ट्रिय गौरवका आयोजनामा यो आयोजना पर्छ । काठमाडौँ उपत्यकामा रहेको खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी काठमाडौँ ल्याउन संस्थागत पहल शुरु भएको दुईदशक भयो । विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एशियाली विकास बैंकले सन् २००१ मा सम्झौता भएको थियो । पछिल्लोपटक काम गरेको इटालियन कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिकरुपमा टाट पल्टेर कम्पनी फिर्ता भयो । केही महिनाको अन्योलपछि चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग बाँकी निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । खानेपानी मन्त्रालयले पटकपटक असारसम्म काठमाडौँ उपत्यकामा मेलम्चीको पानी झारिने प्रतिबद्धता जनाएको थियो । यो दुर्घटनाले त्यो समय धकेलिएको छ ।
१ सय ५१ स्थानीय तहले अझै बजेटको विवरण उपलब्ध गराएनन्
काठमाडौं । एक सय ५१ स्थानीय तहले अझै पनि पेश गरेको बजेट विवरण पठाएका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई आर्थिक वर्ष २०७७/७८ को पेश गरेको बजेट विवरण पठाउन पटकपटक निर्देशन दिए पनि अझै पनि १५१ स्थानीय तहले बजेट विवरण नपठाएका हुन् । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार अहिलेसम्म ६०२ स्थानीय तहले मात्र आफूले पेश गरेको बजेटको विवरण मन्त्रालयमा पठाएका छन् । पेश नगर्ने स्थानीय तहमा प्रदेश नं १ का २२, प्रदेश नं २ का ६६, वाग्मती प्रदेशका २०, गण्डकी प्रदेशका १०, प्रदेश नं ५ का छ, कर्णाली प्रदेशका ५ र सुदूरपश्चिम प्रदेशका २२ वटा रहेका छन् । मन्त्रालयका प्रवक्ता अधिकारीले पुनःविवरण पठाउन निर्देशन दिएको बताए । गत असार १० गतेभित्र सबै स्थानीय तहले आव २०७७÷७८ को बजेट पेश गरेका थिए । स्थानीय तहले पेश गरेको बजेट मन्त्रालयमा बुझाउनुपर्ने हुन्छ । रासस
ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो थप २ नयाँ शाखारहित बैंकिङ्ग सेवा
काठमाडौं । ग्लोबल आइएमई बैंकले झापाको साधुटार र खोटाङको जल्पामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं. १, साधुटार र खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी गाँउपालिका वडा नं. १२, जल्पामा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो । यी दुई शाखारहित बैंकिङ्ग सेवा सहित बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २०३ पुगेको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिशहोम/सीडीएमए/यूटीएल/एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् । कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले नेपालभर ७० वटा जिल्लामा फैलिएको २५७ शाखा, ३९ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २०३ शाखा रहित बैंकिङ्ग सेवा, २३४ एटिएम र देश बाहिर ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/ सम्पर्क कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
कस्ताे लेख्ने हाे गाडीकाे नम्बर प्लेट ?
काठमाडौं । बजारमा सवारी साधनका नम्बर प्लेटहरु धेरै किसिमका देखिन्छन् । कोही राता कोही सेता त कोही पहेँला । यस्ता धेरै रङ्गका नम्बर प्लेटहरु हुँदा सर्वसाधारणमा यो कुन संस्थाको सवारी हो भन्ने यकिन गर्न पनि गाह्रो छ । यसका साथै आम सर्वसाधरणहरुमा सवारी साधन नम्बर प्लेट वितरण तथा नामाङ्कनको प्रक्रिया के हो ? कस्ताे लेख्ने हाे ? भन्ने कुरा बुझ्न गाह्रो नै पर्छ । किनकि अहिले बजारमा सवारी साधनमा आफुखसी नम्बर प्लेट राख्ने होडवाजी व्याप्त छ । यी धेरै किसिमका आफुखुसीले बनाएका नम्बरप्लेटले मानिसममा एक प्रकारको दुविधा उत्पन्न गराएको छ । हाल बजारमा सवारी साधनहरुमा १४ किसिमका नम्बर प्लेट जडान भएको यातायात व्यवस्था विभाग बताउँछ । तर, ती सबै नम्बर प्लेटहरु सवारी धनीले आफुखुसी बनाएको स्वयमं विभागका महानिर्देशक गाेगन बहादुर हमाल स्वीर्काछन् । हालसम्म सवारी साधनको नम्बर प्लेटका लागि सवारी धनीले सम्बन्धित अञ्चलको यातायात कार्यालयमा आवेदन दिई सवारी साधनको नम्बर पाउँदै आएका थिए । अब भने सम्बन्धित प्रदेशको यातायात कार्यालयलयबाट सवारी साधनका लागि नम्बर प्लेट पाउने व्यवस्था गरेकाे यातायात व्यवस्था विभागले जनाएको छ । पुराना नम्बर प्लेटहरुमा भद्रगोलको अवस्था देखा परेको र धेरै प्रदेशको नम्बर प्लेटको अंक पनि बढी भइसकोले अब नयाँ नम्बर प्लेटलाई सिस्टमेटिक र प्रादेशिक नामांकन हुने किसिमले सवारी साधनको नम्बर प्लेट वितरण गर्न लागिएको हमालले बताए । देश प्रादेशिक संरचनामा गइसकेपछि सवारीका नम्बर प्लेट पनि प्रदेशकै नाम अगाडि आउने हिसावले वितरण गरिने उनले बताए । अहिले पनि एउटा सवारी साधनमा एक र अर्को सवारी साधनमा भिन्नै किसिमको नम्बर प्लेट नामाङ्कन गरेको भेटिन्छ । यस्तो किसिमको दुविधा हटाउन अब एकै प्रकारको नम्बरप्लेट वितरण सुरु हुने उनको भनाई छ । हालसम्म सम्बन्धित अञ्चलको यातायात कार्यालयबाट अञ्चलको नाम आउने गरी नम्बर प्लेट लेखिन्थे भने अब प्रदेशको पहिचान हुने गरी नम्बर प्लेट वितरण हुने उनको भनाई छ । के हो इम्बोस्ड नम्बर प्लेट ? धातुको प्लेटमा बाहिर उठ्ने गरी ‘पन्चिङ’ गरी प्लेटमा नम्बर राखिनेछ । यस्तो नम्बर चाँही अहिले प्रयोगमा आएको जस्तै बाहिरबाट हेर्नका लागि हो । तर यो केरमेट गर्न नमिल्ने र १० वर्ष भन्दा बढी टिक्ने हुन्छ । विभागका महानिर्देक गोगन बहादुर हमालका अनुसार प्लेटमा सात अंक भएको गोप्य नम्बरसहितको ‘चीप’ पनि प्लेटमा जडान गरिएको हुन्छ । यसमा बार कोड पनि हुन्छ । चीपमा सवारीको चेसिस, दर्ता, इन्जिन नम्बर देखि कहिले बनेको हो भन्ने पनि रेकर्ड रहेको हुन्छ । प्लेटमा सात अंक भएको गोप्य नम्बरसहितको ‘चीप’ पनि प्लेटमा जडान गरिएको हुन्छ । यसमा बार कोड पनि हुन्छ । चीपमा सवारीको चेसिस, दर्ता, इन्जिन नम्बर देखि कहिले बनेको हो भन्ने पनि रेकर्ड रहेको हुन्छ । चीपमा सवारी धनिको विवरण, कर तिरे नतिरेको रेकर्ड पनि राखिन्छ । नयाँ व्यवस्था अनुसार अगाडि र पछाडि दुबै नम्बर प्लेटको माथिल्लो लाइनको सुरूमा सवारी दर्ता गर्ने कार्यालयको प्रदेश संकेत र त्यसपछि उक्त प्रदेश भित्रको यातायात व्यवस्था कार्यालयको क्रम संख्या जनाउने अंक उल्लेख गर्नुपर्नेछ। प्रदेशभित्र रहेका यातायात व्यवस्था कार्यालयको क्रम संख्या जनाउने अंक यातायात व्यवस्था विभागले तोके बमोजिम हुनेछ। अगाडिको नम्बर प्लेटको तल्लो लाइनमा सवारी समूह जनाउने अंक, सवारीको किसिम जनाउने संकेत र सवारी दर्ता नम्बर लेख्नु पर्नेछ । पछाडिको नम्बर प्लेटको दोस्रो लाइनमा सवारी समूह जनाउने अंक, सवारीको किसिम जनाउने संकेत र तेस्रो लाइनमा सवारीको दर्ता नम्बर लेख्नु पर्नेछ। त्यस्तो सवारी समूह जनाउने अंक आवश्यकता अनुसार ००१ देखि ९९९ सम्म हुनेछ । त्यस्तै सवारी दर्ता नम्बर बढीमा ४ अंकको ९०००१ देखि ९९९९० सम्म हुनेछ। प्रयोगअनुसार दर्ता नम्बर ४ अंक कटेपछि अर्को समूह संकेतको संख्या दिई त्यसमा पनि ०००१ देखि ९९९९ सम्म दिँदै जानु पर्ने छ । उदाहरणका लागि पहिलेको बागमती अञ्चल, प्रदेश ३ र अहिलेको बागमती प्रदेश गरेर तीन किसिमका नम्बर प्लेट छन् । त्यसमा एकरुपता दिन यस्तो गर्न लागिएको हमालले बताए । पुरानो नम्बर प्लेटमा अञ्चल संकेत, लट नम्बर र सवारी साधनको किसिम र प्रकार संकेत उल्लेख हुने गरी दुई लाइनको दर्ता नम्बर हुन्थ्यो। अहिले भने तीन लाइनमा दर्ता नम्बर हुनेछ । पहिलो लाइनमा प्रदेश संकेत र प्रदेशमा रहेका यातायात कार्यालयको संकेत नम्बर हुनेछ । दोस्रो लाइनमा लट नम्बर र सवारी साधनको किसिम र प्रकार संकेत हुनेछ । तेस्रो लाइनमा दर्ता नम्बर उल्लेख हुनेछ। दुई पाङ्ग्रे सवारी साधनको हकमा भने अगाडि पट्टीको नम्बर प्लेट दुई लाइनमा र पछाडिको तीन लाइन हुनेछ। दुई लाइनमा हुने नम्बर प्लेटको पहिलो लाइनमा प्रदेश संकेत र प्रदेशमा रहेका यातायात कार्यालयको संकेत नम्बर हुनेछ भने दोस्रो लाइनमा लट नम्बर र सवारी साधनको किसिम र प्रकार संकेत तथा दर्ता नम्बर पनि उल्लेख हुनेछ। हाल दुई पाङ्ग्रेको अगाडि एक लाइन र पछाडि दुई लाइन नम्बर प्लेट रहेको छ । हालसम्म ५ हजार इम्बाेस्ड नम्बर प्लेट वितरण भइसकेकाे उनकाे भनाई छ । अब ४ थरिका नम्बर प्लेट मात्र नयाँ नम्बर प्लेट भएका सवारी साधन सडकमा गुड्न थालेपछि अब नेपालका सडकमा चार थरिका नम्बर प्लेटका सवारी साधन हुनेछन् । हाल केही चार पाङ्ग्रे सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान भइसकेका छन्। सर्वोच्च अदालतमा परेको मुद्दाका कारण इम्बोस्ड नम्बर प्लेटको वितरण राकिएको थियो । तर अब निरन्तर नयाँ नम्बर प्लेट वितरण हुुने उनको भनाई छ । सार्वजनिक सवारी साधन व्यावसायिक प्रयोजनमा पहेंलो प्लेटमा कालो, निजी सवारीमा सेतो प्लेटमा कालो, सरकारीमा सेतो प्लेटमा रातो, कूटनीतिको सवारीमा सेतो प्लेटमा निलो अक्षरले लेखिनेछ । ट्रयाकिङ गर्न पनि सहज हमालका अनुसार राजमार्गका विभिन्न स्थानमा विभाग र ट्राफिक प्रहरीले ट्राकिङ स्टेसन राख्ने छन् । ती स्टेसनबाट आवतजावत गर्ने सवारी साधनको विवरण रेडियो फ्रिक्वेन्सट्ठ मार्फत संकलन र व्यबस्थापन हुने उनले बताए । यसबाट चोरी डकैती तथा तस्करी पनि कम हुने उनको विश्वास छ । प्रहरीलाई पनि नम्बर प्लेट थाहा पाउन सहज हुने उनको भनाई छ । विभागको डेटाबेसमा हुने विवरण र नम्बर प्लेटको विवरण मेसिनले नै तुलना गर्ने छ । यसैका लागि दूरसञ्चार प्राधिकरणले छुट्टै रेडियो फ्रिकेन्सी उपलब्ध गराउने छ । यस सम्बन्धमा विभागको वेबसाइटमा गएर ‘इम्बोस्ड नम्बर प्लेट अनलाइन’ फारममा सीधै आफ्नो विवरण भरेर निवेदन दिन सकिन्छ । इम्बोस्ड नम्बर प्लेट जडान गरेपछि सवारीसँग सम्बन्धित अपराध नियन्त्रण गर्न, चोरी गाडी दर्ता गर्न, निजी, सरकारी, कूटनीतिकलगायतका सवारी साधनका धनी र साधनको विवरण तथा राजस्व असुलीको अवस्थाबारे बुझन सहज हुनेछ । साथै कुन सवारी साधन कुन नाकाबाट कतिपटक आवतजावत र्गयो भन्ने कुरा पनि सजिलै पत्ता लगाउन सकिने छ । नम्बर प्लेट परिवर्तन गर्न खर्च कति लाग्छ ? अहिलेसम्म देशभर २२ लाखको हाराहारीमा सवारी दर्ता भएको विभागको तथ्याङ्क छ । सबै नम्बरलाई डिजिटलाइज्ड गर्न ४ अर्ब ९१ करोड सात लाख रुपैया खर्च हुने विभागको अनुमान छ । डिजिटल नम्बर प्लेट लिनका लागि सवारी धनीले आफै शूल्क तिर्नुपर्ने हमालले बताए । सवारी साधन अनुसार मूल्य फरक पर्ने उनको भनाई छ । अहिले नयाँ नम्बर प्लेट फेर्न २५ सयदेखि ३ हजारसम्म शुल्क लाग्ने गरको छ । पुरानो नम्बर प्लेट के हुन्छ ? विभागका अनुसार नयाँ नम्बर प्लेट आएपछि पुराना अञ्चल नामका नम्बर प्लेटहरु आफै विस्थापित भएर जानेछन् । कतिपयमा सरकारले सवारी साधन दर्ताका लागि नयाँ व्यवस्था लागू गरेसँगै पुरानो नम्बर के गर्ने भन्ने अन्यौल कायमै छ तर ती पुराना नम्बर प्लेटहरु नयाँ आएपछि विस्थापित भएर जानेछन् । यसअघि बागमती अञ्चलमा ९९ लटका सबै नम्बर सकिएको र तीन अंकको लट नम्बर दिन सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ संशोधन गर्नुपर्ने भएकाले नयाँ मोटरसाइकल र स्कुटरको दर्ता रोकिएको थियो ।
निगमले पाँच गन्तव्यमा उडान गर्दै
काठमाडाैं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भदौ १ गतेबाट शुरु हुने अन्तर्राष्ट्रिय उडानका लागि पाँच वटा गन्तव्यमा उडान गर्ने भएको छ । यूएईको दुबई, कतारको दोहा, मलेसियाको क्वालालम्पुर, जापानको नारिता र हङकङमा नियमित उडान गर्ने निगमले जनाएको छ । उडान हुने गन्तव्य निश्चित भए पनि उडान तालिका टुङ्गिन नसकेको निगमका प्रवक्ता अर्चना खड्काले बताए । निगमले उडान गन्तव्य किटान गरी प्राधिकरणबाट अनुमति लिनेछ । यता प्राधिकरणले जनाएअनुसार निगमले भारतको नयाँ दिल्लीमा १४, बैङ्लोरमा तीन, मुम्बईमा सात तथा चीनको ग्वाङ्जाओमा तीन, दुबईमा सात, दोहामा सात, क्वालालम्पुरमा सात, बैङ्कक हङ्कङ र नारितामा समान तीन उडान गर्नेगरी प्रस्ताव आएको छ । हिमालय एयरलाइन्सले पनि पाँच वटा गन्तव्यमा सातामा २१ उडान गर्ने तयारी गरेको छ । हिमालयले चीनको चोङचिङ, यूएईको अबुधावी, साउदी अरबको दमाम, कतारको दोहा र मलेसियाको क्वालालम्पुरमा उडान गर्ने गरी प्राधिकरणबाट उडान अनुमति लिएको छ । कम्पनीले चोङचिङमा एक, दोहामा पाँच, अबुधाबीमा चार, दमाममा सात, क्वालालम्पुरमा सात उडान गर्नेछन् । बन्दाबन्दीपछि स्वास्थ्य प्रोटोकल पालना गर्दै उडान सञ्चालनका लागि सरकारले स्वीकृति दिएपछि मात्रै विदेशी एयरलाइन्सले व्यावसायिक उडान गर्न पाउछन् । विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्ड, अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मार्गनिर्देशनलगायत आधारमा नेपालको नियामक प्राधिकरणले स्वास्थ्य प्रोटोकल बनाएको छ । नेपालमा उडान गर्न चाहने सबै एयरलाइन्सले उक्त मापदण्डमा रहेको उडान सञ्चालन गर्नुपर्ने हुन्छ । यद्यपि, अन्तर्राष्ट्रिय उडानका लागि कुन एयरलाइन्सको गन्तव्य अनुसार कति उडान गर्ने भन्ने विषय अझै छलफलमै रहेको प्राधिकरणले जनाएको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका थिए । सामान्य अवस्थामा अन्तर्राष्ट्रियतर्फ उडान र अवतरण गरी सरदर १०० उडान हुने गरेको थियो । सरकारले कोभिड–१९ रोकथामका लागि गत चैत ११ गतेदेखि साउन ६ गतेसम्म नेपालभर बन्दाबन्दी लागू गरेको थियो । उक्त अवधिमा नेपालमा आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फ व्यावसायिक हवाई उडान १ भदौदेखि खोल्ने निर्णय गरिसकेको छ । उक्त निर्णय अनुसार गएको ९ चैतदेखि बन्द गरिएको अन्तर्राष्ट्रिय उडान र ११ चैतदेखि रोकिएको आन्तरिक हवाई सेवा सञ्चालनको तयारीमा वायुसेवा कम्पनी जुटेका छन् । आन्तरिकतर्फ पनि विभिन्न एयरलाइन्सका ४८ उडान स्वीकृति भएको बताइएको छ । बुद्ध एयरको १८, यती एअरलाइन्सको ११, श्री एयरलाइन्सको आठ तथा समान तीन उडान पाएको सीता, समिट र सीम्रिक एयरले २ वटा उडान गर्ने अनुमति पाएका छन् । आन्तरिक उडानको पनि औपचारिक निर्णय भइनसकेको प्राधिकरणले जनाएको छ ।