अजोड इन्स्योरेन्सको सेयर कारोबार किन भएन ? यसो भन्छ नेप्से
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको अजोड इन्स्योरेन्सको हालसम्म सेयर कारोबार भएको छैन । साउन १३ गते कारोबार हुन सक्ने गरी सूचीकृत भएको इन्स्योरेन्सको सेयर दुई दिन अर्थात साउन १४ गतेसम्म पनि सेयर किनबेच भएन । नेप्सेका अनुसार कम्पनीको पहिलो कारोबारको लागि ९७ रुपैयाँदेखि २ सय ९१ रुपैयाँसम्मको सिमा प्रदान गरिएको थियो । सोहि सिमा भित्र पहिलो दिन (साउन १३) मा ५ सय ६९ वटा र दोश्रो दिन(साउन १४) मा ५ सय ६७ वटा खरिद आदेश आएको थियो । तर सो अवधिसम्म कुनै पनि बिक्री आदेश प्राप्त नभएकाले कारोबार हुन नसकेको नेप्सेले जनाएको छ । यससँगै, कम्पनीको कारोबार अर्को कारोबार दिनको स्पेसियल प्रि-ओपन सेसन भए पश्चात मात्र निरन्तर कारोबार सत्रमा कारोबार गर्न सक्ने नेप्सेले जानकारी गराएको छ । नेप्सेमा सूचीकृत कुनै पनि नयाँ धितोपत्रको पहिलो कारोबार स्पेसियल प्रि-ओपन सेसन मार्फत मात्र हुने व्यवस्था रहेको छ । उक्त सेसनमा कारोबार भई ओपनिङ प्राइस तय भएपछि मात्र उक्त धितोपत्रको निरन्तर कारोबार सत्रमा कारोबार हुने व्यवस्था रहेको छ ।
राष्ट्र बैंकले निक्षेपकर्ताको हित हेर्दा सेयरधनीलाई झट्का, यो वर्ष ६ प्रतिशतभन्दा बढी नगद लाभांश नपाइने
काठमाडौं । चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुका सेयरधनीले औसतमा ६ प्रतिशतभन्दा बढी नगद लाभांश नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थि वर्षको मौद्रिक नीतिमार्फत नगद लाभांशमा कडाइ गरेका कारण सोभन्दा बढी पाइने अवस्था नरहेको हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुले दिने नगद लाभांशमा सीमा तोकिएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासका कारण अर्थतन्त्रमा गम्भीर असर परेकोले बैंक वित्तीय संस्था समस्या नआओस भनेर राष्ट्र बैंकले नगद लाभांशमा सीमा तोकेको हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले ३० प्रतिशतभन्दा बढी लाभांश बाड्न नपाइने व्यवस्था गरेको छ । तर, नगद लाभांशमा लगाइएको सीमाका कारण चालु आर्थिक वर्षमा सेयरधनीले ५ देखि ६ प्रतिशतसम्म मात्रै नगद लाभांश पाउने अवस्था छ । ‘नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त सबै बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७६/७७ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म (उक्त संस्थाको २०७७ असार मसान्तमा कायम निक्षेपको भारित औसत व्याजदर भन्दा बढी नहुनेगरी) मात्र नगद लाभांस घोषणा तथा वितरण गर्न पाउने व्यवस्था गरिनेछ । तर कुल चुक्ता पुँजीको ५ प्रतिशत भन्दा कम खुद वितरणयोग्य मुनाफा भएका इजाजतपत्र प्राप्त संस्थाको नगद लाभांस वितरणमा रोक लगाइने छ,’ चालु आर्थिक वर्षको मौद्रिक नीतिको बुदा नम्बर १२२ मा उल्लेख छ । सो बुँदामा भएको कोष्ट (ब्राकेट) भित्रको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाहरुले वितरण गर्ने नगद लाभांशमा कडाइ गरिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई गत आर्थिक वर्षको निक्षेप व्याजको भारित औसतभन्दा बढी नहुने गरी नगद लाभांश दिन भनेको छ । राष्ट्र बैंकले नै प्रकाशित गरेको गत आर्थिक वर्षको ११ महिना (जेठ मसान्त) सम्मको देशको देशको आर्थिक अवस्था अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेपको भारित औसत व्याजदर ६.१७ प्रतिशत छ । यस्तै, मौद्रिक नीतिले ५ प्रतिशतभन्दा कम वितरणयोग्य नाफा भएका बैंक वित्तीय संस्थाहरुलाई नगद लाभांश दिन रोक लगाएको छ । त्यसैकारण बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने सेयरधनीले चालु आर्थिक वर्षमा ५ देखि ६ प्रतिशतसम्म मात्रै नगद लाभांश पाउने देखिएको हो । बैंक तथा वित्तीय संस्था निक्षेपकर्तालाई व्याज कम दिन थालेपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । निक्षेपको व्याज कम हुने वित्तिकै बैंकका सेयरधनीले कम नगद लाभांश पाउने अवस्था रहन्छ । संस्थापक सेयरधनीले नगद लाभांशमा जोड दिने भएकोले राष्ट्र बैंकले निक्षेपकर्ताको हित संरक्षण गर्न निक्षेपको व्याज र नगद लाभांशलाई परिपुरकको रुपमा व्यवहार गर्न लागेको हो ।
सरकारले कोरोना संक्रमितकाे उपचार गर्ने अस्पताललाई अनुदान दिने
काठमाडौं । सरकारले कोरोना संक्रमितकाे उपचार गर्न अस्पताललाई अनुदान दिने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले सरकारले कोरोना संक्रमितकाे उपचार गर्न अस्पताललाई अनुदान दिने भएकाे बताएका हुन् । सरकारकाे असार १५ गते बसेकाे बैठकले कोरोना भाईरसको संक्रमितको उपचार गरे बापत अस्पताललाई अनुदान दिने विषय स्विकृत भएसँगै अनुदान दिने भएकाे हाे । यस अनुदान अन्तर्गत सरकारले ६० वर्षभन्दा माथिका सामान्य लक्षण भएका वृद्ध तथा दिर्घ रोगीलाई उपचार गर्ने अस्पताललाई प्रति व्यक्ति प्रति दिन ३५ सय र मध्यम जटिल अवस्थाका व्यक्तिहरुलाई उपचार गर्ने अस्पताललाई ७ हजार दिने निर्णय गरेकाे गौतमले बताए । यस्तै सामान्य लक्षण भएका र क्वारेन्टिनमा राखेर उपचार गर्ने अस्पताललाई प्रति व्यक्ति २ हजार र घरमै उपचार गर्न जानुपर्ने सामान्य लक्षण वा लक्षण नभएका व्यक्तिको हकमा भने प्रति दिन २ सय दिने उनले बताए ।
भारतमा काेराेना संङ्क्रमितको संख्या १५ लाख नाघ्यो
भारत । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १५ लाख नाघेको छ । गत २४ घण्टामा भारतका ४८ हजार ५१३ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १५ लाख ३१ हजार ६६९ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७६८ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ३४ हजार १९३ जना पुगेको छ । सरकारी अधिकारीहरुका भारतमा कोरोना भाइरस सङ्क्रमित मध्ये ९ लाख ८८ हजार २९ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा ५ लाख ९ हजार ४४७ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् । रासस
प्रभु क्यापिटलले ल्यायो ३ वर्षे निःशुल्क डिम्याट योजना, अनलाइनबाटै खाेल्न सकिने
काठमाडौं । पुँजी बजारमा मर्चेन्ट बैंकरको रुपमा कार्यरत प्रभु क्यापिटलले ३ वर्षे निःशुल्क डिम्याट खाता योजना सञ्चालन गरेको छ । क्यापिटलले साउन महिनाभरी डिम्याट खाता खोल्ने ग्राहकका लागि उक्त योजना ल्याएको हो । “प्रभु क्यापिटलसँग जोडौं नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता” भन्ने नाराका साथ सञ्चालित यस योजना अन्तर्गतको निःशुल्क डिम्याट खाता सुविधा काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल तथा प्रभु बैंकको नेपाल भरी रहेका २१० वटै शाखाबाट लिन सकिने व्यवस्था मिलाइएको छ । लगानीकर्तालाई खाता खोल्ने प्रक्रियालाई छिटो, छरितो र कम झण्झटिलो बनाउने अभिप्रायले यस क्यापिटलले अनलाइनबाटै डिम्याट तथा मेरो सेयर खाता खोल्न सकिने सुविधा समेत सञ्चालन गरेको छ । क्यापिटलकाे डोमेनबाट अनलाइन फारम खोली ग्राहकहरुले आवश्यक सबै विवरणहरु राखेर फारम सबमिट गरेपछि पाउने रिफरेन्स कोड राखेर नजिकैको प्रभु बैंकको शाखा वा प्रभु क्यापिटलको कार्यालय कमलादीमा आफ्नो सक्कली नागरिकताका साथ आफैं उपस्थित भई खाता भेरिफाई गर्नुपर्नेछ । यसरी अनलाइनबाट बुझाएको डिम्याट खाताको आवेदन भेरिफाई भएको २ घण्टा भित्रै ग्राहकले डिम्याट नम्बर पाइसक्ने व्यवस्था क्यापिटलले मिलाएको छ ।
सिन्धुपाल्चोकका बाढी तथा पहिरो पीडितलाई नेपाल बङ्गलादेश बैंकको सहयोग
काठमाडौं । नेपाल बङ्गलादेश बैंकको बाह्रविसे शाखाले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिकाका बाढी तथा पहिरो पीडितलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत उक्त स्थानका पीडितलाई आर्थिक सहयोग स्वरुप एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । बैंकले आषाढ महिनादेखि परिरहेको लगातारको वर्षाले उक्त बाह्रविसे नगरपालिका अन्तर्गतका विभिन्न वडाहरुमा बाढी–पहिरोको कारणले प्रभावित स्थानियवासीहरुलाई आर्थिक सहायता उपलब्ध गराएको छ ।
काठमाडाैं उपत्यकामा १५ जनामा देखियाे कोरोना
काठमाडाैं । काठमाडौं उपत्यकामा १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १५ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे १४ र भक्तपुरकाे १ जना रहेकाे गाैतमले बताए । याेसँगै उपत्यकामा काेराेना संक्रमण पुष्टि भएकाे संख्या ४ सय ८७ पुगेकाे छ जसमा काठमाडाैंकाे ३ सय ४९, ललितपुरकाे ८९ र भक्तपुरकाे ५१ जना रहकाे छन् । काेराेनाकाे कारण हालसम्म काठमाडाैंमा ३ जना र ललितपुरका १ जनाकाे मृत्यु पुष्टि भएकाे छ ।
नेपालमा थप २ सय १० जनामा कोरोना पुष्टि, १४६ जना निको भए
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप २ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा २ सय १० जनामा कोराेना भाइरस देखिएको बताए । हाल क्वारेन्टिनमा १४ हजार ४ सय ७१ जना रहेका छन् भने आजसम्म ३ लाख ५८ हजार ३ सय ४४ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । मंगलबार विभिन्न अस्पतालबाट १४६ जना निको भएर घर फर्किएका छन् । आजसम्म कोरोना मुक्त हुनेको संख्या १४ हजार २१ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।