सार्वजनिक यातायात भोलीबाटै सञ्चालन हुने
काठमाडौं । सरकारको निर्णयअनुसार भोली (सोमबार) बाट सवारीसधान सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् । सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु भोलीबाट यातायात सञ्चालन गर्न तयार भएका हुन् । आज(साउन ४ गते) यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरुले भोलीबाट यातायात सञ्चालन गर्ने बताएका छन् । विभागका महानिर्देशक गोगन बहादुर हमालले भोली (सोमबार) बिहानबाट यातायात सञ्चालन गर्ने बताए । सरकारी निर्णय अनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि उनीहरु सञ्चालन गर्न तयार भएको उनले बताए । कोभिड संक्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाईका साथ पालना गर्न पनि उनले आग्रह गरे । सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरण कुमार रिजालले व्यवसायीहरुले उठाउँदै आएका मागहरु मौद्रिक नीति मार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताए । नेपाल राष्ट्र बैंकले ल्याएको नीतिमा व्यवसायीहरुका अधिकांश मागहरु सम्बोधन भएको उनले बताए । ‘अहिले अन्तरजिल्लामा मात्रै यातायात सञ्चालन हुनेछन् । उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालन हुनेछन् । अहिले पनि साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायात लगायत माइक्रो र टेम्पुहरु सञ्चालनमा रहेका छन् । व्यवसायीहरुले लामो दुरीको सवारी सञ्चालनका लागि समेत तयारी भइरहेको बताएका छन् ।’- उनले भने । सम्बन्धित समाचारः लामो दुरीका गाडी केही दिनमै सञ्चालन हुने
बजार खुलेकाे आधा घण्टामै १३ कम्पनीको सेयर मूल्यमा उछाल, अधिकांश वाणिज्य बैंक
काठमाडौं । आइतबार कारोबार खुलेको आधा घण्टा नबित्दै १३ कम्पनीको मूल्यमा सर्किट ब्रेक लागेको छ । जसमध्ये अधिकांश वाणिज्य बैंक रहेका छन् । सो अवधिमा ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । गुराँस लघुवित्त वित्तीय संस्था, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर र एनआईसी एशिया बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य ९.९८ अंकले बढेको छ । ज्योति विकास बैंकको ९.९४, एनएमबि बैंकको ९.९३, नेपाल क्रेडिट एण्ड कमर्शियल(एनसीसी) बैंकको ९.९० र सेञ्चुरी कमर्शियल बैंकको सेयर मूल्य ९.८८ प्रतिशतले बढेको छ । नेपाल बैंकको ९.७३, लुम्बिनी विकास बैंकको ९.५८ र नेपाल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.४० अंकले बढेको छ । याे अवधिमा सेयर बजार दुई पटक सकारात्मक सर्किट लागिसकेकाे छ । र, काराेबार ४० मिनेटकाे लागि स्थगित भएकाे छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको सकारात्मक असर सेयर बजारमा परेसँगै आइतबार अधिकांश कम्पनीको सेयर मूल्यमा उछाल आएको हो । सम्बन्धित समाचारः सेयर बजारमा पुनः सर्किट, ६९ अंकले बढ्यो नेप्से
इन्टर्न र करारका हटाएर दक्ष कर्मचारी खोज्न थाले बीमा कम्पनी
काठमाडौ । बीमा कम्पनीहरुले करारका कर्मचारी हटाएर दक्ष जनशक्ति भर्नाको प्रक्रिया थालेका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासको कारण व्यवसाय कम भएपछि बीमा कम्पनीहरुले कर्मचारी कटौति गर्न लागेका हुन् । कोरोना भाइरस संक्रमण अघिसम्म एक कम्पनीमा आवद्ध कर्मचारीको अर्को कम्पनीमा माग हुन्थ्यो । तर अहिले भने करारका कर्मचारी हटाएर बजारबाट दक्ष जनशक्ति लिन लागेका छन् । जेठ मसान्तसम्मको तथ्याङ्क हेर्ने हो भने बीमा क्षेत्रमा १० हजार २ सय ४७ जनाले रोजगारी पाएका छन् । यस्तै, अभिकर्तातर्फ ५ लाख जना कार्यरत छन् । सर्भेयरको संख्या ४ सय दर्तामा छ भने सय-डेढ सय सक्रिय रहदै आएका छन् । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कर्मचारी राख्नु र हट्नु स्वभाविक प्रक्रिया भएको बताए । तर, कोरोना भाइरसलाई नै कारण देखाएर कसैलाई पनि जागिरबाट हटाउन नहुने समितिको भनाइ छ । ‘कुनैपनि कम्पनीमा कर्मचारी थप्ने र घट्ने सामान्य प्रकृया हो, तर, कोरोना भाइरस संक्रमणको असर परिरहेको अहिलेको समयमा कसैलाई जागिरबाट ननिकाल्न बीमा कम्पनीहरुलाई हामीले निर्देशन नै दिएका छौं,’ समितिका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक पौडेलले भने । पछिल्लो समय कोरोना महामारीकै कारण बीमा क्षेत्रमा रोजगारी गुमाउनेहरुको संख्या वृद्धि भएको छ । अभिकर्ताहरु पनि बेरोजगार भए । बीमा व्यवसायमा फ्रन्टलाइनमा बसेर काम गर्दै आएका अभिकर्ताहरु बिमितको घर दैलोसम्म पुग्न सकेनन् । कोरोना महामारीका कारण अभिकर्ताहरुले दैनिक रुपमा गर्दै आएको बीमा पनि ठप्पै रोकियो । बीमा कम्पनीहरुले पनि आफ्ना शाखा कार्यालय संचालन गर्न पाएनन् । कम्पनीहरुले सेवा सुविधामा कमी नआओस् भनेर हरसम्मत प्रयास गरे । सोही कारण बीमा कम्पनीहरुले आफ्नो प्रधान् कार्यालयबाटै बीमा सेवा तथा दाबी भुक्तानी जारी राखेका थिए । कोरोना महामारीकै प्रभावका कारण वैदेशिक रोजगारसँग सम्बन्धित उद्योग धन्दादेखि पर्यटन, होटल व्यवसायमा ठुलो प्रभाव पर्न गयो । हालसम्मपनि होटल व्यवसाय र अधिकांश उद्योग धन्दा सामान्य रुपमा चल्न सकेका छैनन् । त्यस्ता उद्योग धन्दाहरुसँग बीमा व्यवसाय पनि प्रत्यक्ष, अप्रत्यक्ष रुपमा जोडिने गर्छ । जसले गर्दा हरेक क्षेत्रमा आर्थिक लाभ माथि ठेस लागेको छ । यस्तै यावत कारणहरुले गर्दा बीमा क्षेत्रमा कार्यरत केही कर्मचारीहरुले रोजगारी गुमाउने अवस्था सिर्जना भयो । तर अहिले कोरोनाको कहर नसक्किदै केही बीमा कम्पनीहरुले कर्मचारीको आवश्यकता पर्यो भन्दै आवेदन माग गर्न थालेका छन् । प्रायजसो करारमा राखिएका कर्मचारीहरु बीमा कम्पनीबाट बाहिरिएको बीमा समितिले जानकारी दिएको छ । यस्तै, सिक्ने प्रयोजनका लागि मात्र बीमा क्षेत्रमा प्रवेश गरेका कतिपय कर्मचारीहरुले कोरोना महामारीको कारण केही समयको लागि बाहिरिनु परेको छ । कतिपय कर्मचारी बेतलबी बिदा दिएर बसेका, कतिको रोजगारी गुमेको छ भने कतिपयले नयाँ काममा समेत हात हालेका छन् । यसैकारण पनि बीमा कम्पनीहरुमा कर्मचारीको अभाव देखिन थालेको छ । कर्मचारी खोज्दै केही बीमा कम्पनी ज्योति लाइफले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनी आफ्नो आवश्यकता अनुसार विभिन्न पदका लागि कर्मचारीहरु माग गरेको हो । ज्योति लाइफले एरिया सेल्स म्यानेजर, शाखा प्रमुख, उप–शाखा प्रमुख, बजार प्रतिनिधि र कनिष्ठ सहायक, सहायक, वरिष्ठ सहायक पदका लागि कर्मचारी माग गरेको छ । केही निर्जीवन बीमा कम्पनीहरुले कोरोनाको कहरकै समयमा आफ्नो कार्यालयमा कार्यरत कर्मचारीहरुलाई कामबाट बिदा समेत गरेका थिए । एभरेष्ट इन्स्योरेन्सबाट २६ जना तथा सिद्धार्थ इन्स्योरेन्स कम्पनीबाट २२ जनाले कामबाट बिदा दिएका थिए । यसरी बाहिरिने कर्मचारीहरु अधिकांश प्रशिक्षार्थी छन् । बीमा समितिले बीमा कम्पनीहरुले आफ्नो नजिकको २ शाखा मर्ज गरेर एउटै बनाउन मिल्ने तर कर्मचारी हटाउन नमिल्ने बताउँदै आएको छ ।
लामो दूरीका गाडी केही दिनमै सञ्चालन हुने
काठमाडौं । यातायात व्यवसायीहरुले केही दिनमै सवारी साधनहरु खोल्ने तयारी गरिरहेका छन् । विगत ३ महिनादेखि ग्यारेजमै थन्किएका सवारी साधनहरु यस हप्ताभित्रै सञ्चालन गर्ने तयारी भइरहेको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । महासंघले लामो दूरीका सवारीहरु पनि साधनहरु सञ्चालन गर्नका लागि आवश्यक स्वास्थ्य मापदण्डहरु पुरा गरेर गाडी सञ्चालनका लागि गृहकार्य भइरहेको बताइएको छ । महासंघका महासचिव सरोज सिटौलाले केही दिनभित्रै गाडी सञ्चालन गर्ने बारे गृहकार्य भइरहेको बताए । उनले आवश्यक स्वास्थ्य मापदण्डहरु पुरा गरी सवारी साधन सञ्चालन गर्ने सम्बन्धि छलफल भइरहेको उनको भनाई छ । ‘गाडी सञ्चालन बारे गठित कार्यदलले लामो दुरीका र छोटो दुरीका गाडीहरु सञ्चालन गर्ने बारे तयारी गरिहेको छ, केही दिनमै त्यसको बारेमा निश्कर्ष हुन्छ,’ उनले भने । ‘हामीले विभागले तयार पारिरहेको स्वास्थ्य कार्यविधि बारे हाम्रो दुई पटक छलफल भइसकेको छ, विभागले कार्यविधिको कुरा टुङ्ग्याएपछि गाडि चल्छन्,’ उनले भने । आफुहरुको प्रमुख माग चालक सहचालकको स्वास्थ्य बीमा रहेको सिटौलाको भनाई छ । अहिले त्यसकै बारेमा व्यापक छलफल भइहरेको उनले बताए । आफुहरु पनि गाडी सञ्चालन गर्न सकारात्मक भएको उनले बताए । यातायात व्यवसायीहरुले कोरोना भाइरसको कारण उत्पन्न लकडाउनमा ग्यारेजमै थन्किएका सवारी साधनहरुलाई सडकमा निकाल्नको लागि मौद्रिक नीति मार्फत पनि केही राहतको माग गरेका थिए । मौद्रिक नीति मार्फत किस्ता र कर्जाको ब्याज तिर्ने समयावधि पनि सारिसकेको छ । सरकारले सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरिसेकेको छ । तर, यातायात व्यवसायीहरुले आफुहरुका माग पुरा नहुँदासम्म गाडी नचलाउने बताउँदै आएका छन् । यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले लामो दुरीका गाडी सञ्चालन बारे सरकारले निर्णयष् गर्ने भएपनि जिल्ला भित्रैका कतिपय गाडी सञ्चालन भइरहेको बताए । ‘अझै पनि हामी छलफलमै छौं, छिट्टै निश्कर्ष हुन्छ, चालक र सहचालकको बीमा सम्बन्धि कार्यविधिमा आउँदैन, त्यसको लागि सरकारले नै निर्णय गर्नुपर्छ,’ उनले भने । अहिले उपत्यकामा केही छुटपुट रुपमा मात्र गाडी चलिरहेका देखिन्छन् । अहिले यातायात व्यवसायीहरु सार्वजनिक यातायात कसरी चलाउने भनेर दैनिक छलफलमै व्यस्त छन । सरकारको निर्णयपछि यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार बैठक गरी तत्काल सवारी सञ्चालन गर्न सक्ने अवस्था नरहेको निर्णय गरेको थियो । लकडाउन अवधिको बैंकको कर्जा तिर्ने समय सार्नुपर्ने, ग्यारेजबाट गाडी निकाल्न पुनर्कर्जाको व्यवस्था गर्नुपर्ने, चालक र सहचालकको कोरोना बीमा गरिदिनु पर्नेलगायत व्यवसायीका माग राखेका थिए । मौद्रिक नीति मार्फत पुर्नकर्जा र कर्जा तिर्ने समयावधि सानेए माग समाधान भइसकेका छन् भने अब चालक र सहचालकको कोरोना बीमा गरिदिनु पर्ने माग पुरा हुन बाँकी छ । त्यो माग पनि सरकारले बनाइरहेको कार्यविधि मार्फत समाधान हुने विश्वास उनीहरुको छ । सरकारले अविलम्ब छलफल गरेर अन्योलको वातावरण हटाउनुपर्ने यातायात उनीहरुको माग छ ।
सेयर बजारमा पुनः सर्किट, ६९ अंकले बढ्यो नेप्से
काठमाडौं । सेयर बजारमा पुनः सकारात्मक सर्किट लागेको छ । पहिलाे सर्किट लागेर बजार खुलेकाे एक मिनेट नबित्दै दाेश्राे सर्किट लागेको हो । ११ बजेर २७ मिनेट जाँदा नेप्से परिसूचक ५.०१ प्रतिशतले बढेर एक हजार ४ सय ६४ अंकमा पुगेकाे छ । जुन पछिल्लाे काराेबारकाे तुलनामा ६९.९१ अंकले बढेकाे छ । आइतबार कारोबार खुलेको ६ मिनेट नबित्दै पहिलाे सर्किट लागेर काराेबार २० मिनेटकाे लागि बन्द भएकाे थियाे । त्यसपछि पुनः सर्किट लागेर अब ४० मिनेटकाे लागि सेयर काराेबार स्थगित भएकाे छ । यो अवधिमा सबैभन्दा बढी जीवन बीमा समूहमा उछाल आएको छ । जीवन बीमा ३४० अंकले बढेको छ । त्यस्तै, निर्जीवन बीमा १३३, उत्पादनमूलक १२३, माइक्रोफाइनान्स ८० र बैंकिङ ७९ अंकले बढेको छ । सो दिन कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । सम्बन्धित समाचारः मौद्रिक नीतिको असरः बजार खुलेको ६ मिनेटमै लाग्यो सर्किट ब्रेक
मौद्रिक नीतिको असरः बजार खुलेको ६ मिनेटमै लाग्यो सर्किट ब्रेक
काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिले लगानीकर्ता उत्साहित भएका छन् । आइतबार बजार खुलेको ६ मिनेट निबत्दै नेप्से परिसूचकमा सकारात्मक सर्किट लागेको छ । परिसूचक ४ प्रतिशतबढीले बढेसँगै बजारमा पहिलो सकारात्मक सर्किट लागेको हो । यससँगै बजार २० मिनेटको लागि बन्द भएको छ । साे अवधिमा नेप्से परिसूचक ५६.४४ अंकले बढेर एक हजार ४ सय ५१ अंकमा पुगेकाे छ । त्यस्तै, क वर्गकाे काराेबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १० अंकले बढेर ३ सय ५ अंकमा पुगेकाे छ । जुन अघिल्लाे काराेबारकाे तुलनामा ३.६६ प्रतिशतले बढी हाे । बजारमा कूल ८१ कम्पनीकाे ३ कराेड ६९ लाख रूपैयाँ बराबरकाे सेयर काराेबार भएकाे छ ।
गोरखा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध
गोरखा । गए राति खसेको पहिराका कारण गोरखा– आबुँखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका–१२ स्थित अबुवा नजीकै माथिबाट खसेको ठूलो पहिराले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मित्रलाल ढकालले जानकारी दिए । “सडकदेखि करीब ७०/८० मिटर माथिदेखि पहिरो खसेको छ”, उहाँले भन्नुभयो, “पहिरोले सडक पूरै पुरिएकाले पूर्ण रुपमा आवातजावत रोकिएको छ ।” अवरुद्ध सडक खुलाउन डोजरको सहायताले पहिरो हटाउने काम शुरु भइसकेको प्रमुख ढकालको भनाइ छ । केही दिनदेखि लगातार परेको ठूलो वर्षाका कारण नजीकै रहेको इँटाभट्टा छेवैमा रहेको खोल्सीबाट पहिरो सडकमा खसेको हो । “अहिले छिटो पहिरो हटाउन दुवैतर्फबाट सफा गर्ने काम भइरहेको छ”, प्रमुख ढकालले भने, “आँबुखैरनीतर्फबाट सडक डिभिजन कार्यालयको मेसिनले काम शुरु गरेको छ भने गोरखा सदरमुकामपट्टिको खण्डबाट पनि अर्को मेसिन लगाएर पहिरो हटाउने प्रयास भइरहेको छ ।” ठूलो पहिरो खसेकाले हटाउन करीब तीनदेखि चार घण्टासम्म समय लाग्ने जनाइएको छ ।
ट्रयाक्टर दुर्घटना हुँदा सातको मृत्यु (नामसहित)
झिमरुक । प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु२च ४२३४ नंको ट्र्याक्टर दुर्घटना भएको थियो । स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए । उनका अनुसार दुर्घटनामा मृत्यु हुनेमा रोल्पा रुम्टगढी गाउँपालिका वडा नं. ५ निवासी १९ वर्षीय बिरेन्द्र बाठा मगर, १९ वर्षकै थमन बाठा मगर, २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, २५ वर्षीय कबिराम बस्नेत, गोर्बधन बुढा मगर र त्रिवेणी गाउँपालिकाका निवासी २५ वर्षीय कमल कुँवर रहेको छन् ।