विकासन्युज

नैतिक प्रश्नले पिरोलेको कुरा गर्दा अर्कै रंग दिन खोजियोः शेखर गोल्छा

काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ । साउन २६ र २७ गते ललितपुरको एक रिसोर्टमा हुन लागेको चुनावलाई लिएर विभिन्न गतिविधि हुन थालेका छन् । चुनावको मिति नजिकिदै गर्दा चुनावी प्रतिस्पर्धामा उत्रिएका दुई पक्ष एक अर्कालाई कमजोर देखाएर चुनावी दाउपेचमा लागेका छन् । महासंघ निर्वाचनको केन्द्रमा रहेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा (जो साउन २६ र २७ गतेको साधारणसभाबाट स्वतः अध्यक्ष बन्दैछन्) देखिएका छन् । महासंघ निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । प्रधानलाई गोल्छाले खुलेरै सहयोग गरेका छन् । यसैकारण ढकाल समुहले गोल्छाप्रति विभिन्न प्रश्न उठाएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरेको थियो । लकडाउनकै कारण चैत २८ र २९ गतेका लागि तोकिएको महासंघको निर्वाचन रोकिएको थियो । यस्तैमा सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो बनाउँदै लगेको छ । लकडाउन खुकुलो बन्दै गएपछि महासंघ नेतृत्वले साउन २६ र २७ गतेका लागि निर्वाचन तोकेको छ । सरकारले साउन ६ गतेदेखि लकडाउन पूर्णरुपमा हटाएको छ । लकडाउन हटाएपनि सार्वजनिक सवारी साधन, विद्यालय तथा विश्वविद्यालयको अध्ययन अध्यापन, सिनेमा घर तथा सबै प्रकार भेला तथा सम्मेलन खुल्ला गरिएको छैन । जनस्वास्थ्यविदहरुले लकडाउन हटेपनि कोरोना संक्रमण नहटेको भन्दै सजग रहन सचेत गराउँदै आएका छन् । यही सन्दर्भमा वरिष्ठ उपाध्यक्ष गोल्छाले हिजो (साउन ६ गते) सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै तोकिएकै समयमा महासंघको निर्वाचनको गर्न चुनौतिपूर्ण रहेको बताएका थिए । गोल्छाको यही जानकारीलाई अर्काे पक्षले ‘चुनाव सार्ने प्रपन्च’का रुपमा व्याख्या गरेको थियो । आफ्नो अभिव्यक्तिलाई गतल अर्थ लगाइएको भन्दै गोल्छाले आज (साउन ७ गते) अर्काे ट्वीट गर्दै आफ्नो नैतिक प्रश्नलाई गलत रंग दिएको र त्यसले आफूलाई दुःख लागेको बताएका छन् । ‘पदभार ग्रहण गर्ने इच्छाभन्दा बढी सदस्य साथीहरु प्रतिको सुरक्षा दायित्वले घच्घच्याइ रहेछ । लकडाउन खुल्दै गर्दा देशैभरिका १००० व्यवसायीलाई एकै स्थानमा जम्मा गर्दा कतै सुरक्षा जोखिम होला कि भन्ने नैतिक प्रश्नले पिरोलेको छ मलाई तर यसलाई अर्कै रंग दिन खोजिएको देख्दा दुःख लाग्छ,’ गोल्छाले ट्वीट गर्दै भनेका छन् । सम्बन्धित सामग्री शेखर र चण्डिराजबीच फेरि घोचपेच, हार्ने त्रासले चुनाव सार्न खोजेको आरोप अध्यक्ष भएकाे छ महिनामा हटाउने याेजना बनेपछि म चुनावमा सक्रिय भएकाे हुँ-शेखर गोल्छा एफएनसीसीआई निर्वाचन फेरि अन्योलमा, वरिष्ठ उपाध्यक्ष गोल्छा भन्छन्ः चुनौति थपियो महासंघका दुई किङ मेकर, काे बढी प्रभावशाली ?

कामना सेवाद्वारा यातायात व्यवसायीलाई श्रावण महिनाको ब्याजमा ५० प्रतिशत छुट

काठमाडौं । कोभिड–१९ को कारण विशेष गरी यातायात व्यवसाय सबैभन्दा बढि प्रभावित भएको भन्दै कामना सेवा विकास बैकले ब्याजमा भारी छुट दिने योजना ल्याएको छ । उक्त योजना अन्र्तरगत हायर पर्चेज कर्जा लिएका ग्राहकहरुले २०७७ साल आषाढ मसान्तसम्मको चुक्ता भुक्तान गर्न बाँकी साँवा र ब्याज २०७७ साल श्रावण २० गते सम्म भुक्तानी गरेको खण्डमा श्रावण महिनाको ब्याज रकममा ५० प्रतिशतले छुट दिने बैंकले योजना सार्वजनिक गरेको छ । साथै, आषाढ महिनासम्मको साँवा तथा ब्याज आषाढ महिना भित्रै भुक्तानी गरेका ऋणीहरुले समेत यो योजनाबाट लाभ उठाउन सक्ने बैंकले जनाएकाे छ । यो योजनाले यातायात व्यवसायीहरुलाई  अधिकतम लाभ पुराउने बैकले विश्वास लिएको जनाएकाे छ ।  

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले दैनिक १५ उडान गर्ने

काठमाडौं ।  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले भदौ १ गते देखि दैनिक १५ वटासम्म अन्तराष्ट्रिय उडान गर्ने तयारी सुरु गरेको छ । विमानस्थलका प्रमुख देवेन्द्र केसीले कोभिड १९ संक्रमणको जोखिमलाई हेरेर दैनिक १५ वटा सम्म उडान गर्न सक्ने अवस्थामा विमानस्थल रहेको बताए । उनले विमानस्थलमा डिपार्चर र एराइभलका लागि सामान्य अवस्थामा भन्दा केही बढी समय लाग्ने भएकाले सिमित उडानबाट विमानस्थललाई सूचारु गरिने बताए । सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई भदौ १ गते देखि आन्तरिक र बाह्य उडान सुचारु गर्ने निर्णय गरेको छ । तर विमानस्थलले भदौ १ पछि दैनिक कति उडान गर्ने भन्ने औपचारिक निर्णय भने गरिसकेको छैन। तरपनि संक्रमणको जोखिमलाई ध्यान दिएर दैनिक १५ वटा भन्दा बढी उडान गर्न सम्भव नदेखिएको केसीले बताए । त्यस्तै आन्तरिक उडान तर्फ दैनिक ३० देखि ४० वटा सम्म उडान गर्न सम्भव हुने उनले बताए । अन्तर्राष्ट्रिय यात्रुका लागि विमान उडान हुने समय भन्दा कम्तिमा चार घण्टा अघि विमानस्थल प्रस्थान हुनुपर्ने व्यवस्था गरिने उनले बताए । समान्य अवस्थामा आफ्नो उडान समय भन्दा तीन घण्टा अघि विमानस्थल पुग्नुपर्ने व्यवस्था रहेको थियो । यस्तै देश भित्र रहेका अन्य आन्तरिक विमानस्थलहरु पनि उडानका लागि तयारी अवस्थामा रहेको उनले बताए ।  

काेराेनाकाे कारण नेपालमा थप २ जनाकाे मृत्‍यु

काठमाडाैं ।  काेराेनाकाे कारण नेपालमा थप २ जनाकाे मृत्‍यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नेपालमा थप २ जनाकाे मृत्‍यु भएकाे बताएका हुन् । मृत्‍यु हुनेमा धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका घर भएका ६० वर्षिय पुरुष रहेकाे गाैतमले बताए । उनलाई साउन २ गते विपि काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भेन्टिलेटरमा राखेर उपचार गरिएकाे थियाे । उपचारकाे क्रममा उनकाे हिजाे अर्थात साउन ६ गते मृत्‍यु भएकाे हाे । यस्तै अर्काे व्यक्ति पाेखरामा काम गरिरहेकाे ४९ वर्षिय चिनियाँ महिला रहेकाे गाैतमले बताए । मणिपाल अस्पताल पाेखरामा उपचार गराईरहेकाे उनलाई हेलिकप्टरबाट साउन २ गते काठमाडाैं ल्याईएकाे थियाे । उनमा परीक्षण गर्दा काेराेना पुष्टि भएकाे र आज उनकाे मृत्‍यु भएकाे हाे । याेसँगै नेपालमा काेराेनाकाे कारण मृत्‍यु हुनेकाे संख्या ४२ पुगेकाे छ । हाल नेपालमा कुल १८ हजार ९४ जनामा काेराेना पुष्टि भएकाे छ ।

काठमाडाैं उपत्यकामा ३ जना कोरोना संक्रमित थपिए

काठमाडाैं ।  काठमाडौं उपत्यकामा ३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमित काठमाडाैंकाे ३ जना रहेकाे गाैतमले बताए । याेसँगै उपत्यकामा काेराेना संक्रमण पुष्टि भएकाे स‌ंख्या ३ सय ८५ पुगेकाे छ जसमा काठमाडाैंकाे २ सय ५९, ललितपुरकाे ७९ र भक्तपुरकाे ४७ जना रहकाे छन् । काेराेनाकाे कारण हालसम्म काठमाडाैंमा ३ जना र ललितपुरका १ जनाकाे मृत्‍यु पुष्टि भएकाे छ ।

नेपालमा थप १ सय जनामा कोरोना पुष्टि, २१६ जना निकाे भए

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय जनामा कोराेना भाइरस देखिएको बताए । हाल क्वारेन्टिनमा २१ हजार ८ सय ४२ जना रहेका छन् भने पीसीआर विधिबाट मंगलबार ३ हजार ९ सय ६३ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म ३ लाख २७ हजार ६ सय १४ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । मंगलबार विभिन्न अस्पतालबाट २ सय १६ जना निको भएर घर फर्किएका छन् । आजसम्म कोरोना मुक्त हुनेको संख्या १२ हजार ६ सय ८४ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

किन गए बीमा समितिका कर्मचारीहरु २० वटै जीवन बीमा कम्पनीमा ?

काठमाडौं । आर्थिक वर्ष सकिएको ७ दिनपछि नै बीमा समितिका कर्मचारीहरु २० वटै बीमा कम्पनीमा पुगेका छन् । समितिले कम्पनीहरुको स्थलगत अनुगमन (अनसाइड इन्स्पेक्सन) का लागि आफ्ना कर्मचारीहरु खटाएको हो । बीमा समिति स्रोतले दिएको जानकारी अनुुसार कम्पनीहरुको विजनेशन अवस्था बुझ्न आफ्नो कर्मचारी कम्पनीमा पठाएको हो । बीमा समिति बीमा क्षेत्रको नियामक निकाय हो । समितिले कम्पनीहरुको अन साइट तथा अफ साइट निरीक्षण पनि गर्ने गर्छ । सोही निरीक्षणको आधारमा समितिले बीमा कम्पनीका गतिविधीलाई मूल्याङ्कन गर्छ । बीमा उद्योगमा स्वस्थ्य प्रतिस्पर्धाको वातावरण हुनु पर्ने बीमा समितिले बताउदै आएको छ । यस्तै, कहिले काही कुनै घटनाक्रमले गर्दा समग्र उद्योगमा समेत दाग लाग्ने गरेको कारण बजारलाई स्वच्छ बनाउन समितिले आफ्ना कर्मचारीलाई कम्पनीमा पठाएको स्रोतको भनाइ छ । बीमा कम्पनीहरुको संख्या बढेसँगै स्वच्छ प्रतिस्पर्धालाई प्राथमिकता दिएको समिति बताउँछ । यस्तै, कहिकतै बीमा बजारमा विकृती आउने छिद्रहरु भेटिएमा त्यसलाई रोक्न समितिले आफ्नो तर्फबाट कदम चाल्ने गरेको छ । बीमा समितिले निर्देशनहरु जारी गर्ने, आफ्ना योजना बनाउने, बिमकहरुसँग मौखिक तथा लिखित छलफल समेत गर्दै आएको छ । साथै, बीमा बजारमा बीमाशूल्क दर सम्बन्धि बीमा समितिले गाईड लाइन नै तोकेको छ । समितिले अस्वस्थ वातावरणको अन्त्य हुनुपर्ने भन्दै यस्तो व्यवस्था अपनाउदै आएको छ । निर्जीवन बीमा क्षेत्रमा कहिकतै समस्या रहेकोमा समतिले सहमति समेत जनाउदै आएको छ । बीमाशुल्क निर्धारण गर्दा बीमा कम्पनीहरुले सल्भेन्सि मार्जिनको पूर्ण पालना गर्नुपर्छ । उक्त मार्जिन अनुसार बीमाशुल्क मार्जिन भन्दा धेरै वा थोरै हुनु हुदैन । समितिले १ः३ को अनुपातमा गरिने बीमा कारोबारलाई हेल्दी मान्दै आएको छ । यसको मतलब २० रुपैयाँ पर्ने चाउचाउलाई बजारमा जसरी २५ रुपैयाँमा बेच्न मिल्दैन, त्यसरी नै सोही चाउचाउ १५ रुपैयाँमा समेत नबेचौ भने जस्तै हो । बीमा समितिले दिएको जानकारी अनुसार बीमा कम्पनीहरुमा आफ्ना कर्मचारी पठाएर एउटा फिगर जम्मा गर्नेछ । सोही तथ्यांक तथा खोजीबाटै आगामी दिनमा समितिले बीमा कम्पनीहरुलाई सहजिकरण गर्नेछ । अनसाइड इन्स्पेक्सनमा गएका समितिका कर्मचारीहरुले बीमा कम्पनीको लेजर तथा सफ्टवयर अध्ययन गरी सोही अनुसारको तथ्यांक टिपोट गरेर आउने छन् । बीमा कम्पनीहरुले कमीकमजोरी गरेको पाएमा समतिका कारबाही समेत गर्ने जनाएको छ । आर्थिक वर्ष २०७६/७७ को अत्यसँगै सुरु भएको चालु आर्थिक बर्षमा कम्पनीले आफ्नो कर्मचारीहरु कम्पनीमा खटाएर बीमा बजारको अवस्थामा थप सुधार ल्याउने जनाएको छ । समितिले चालु आर्थिक वर्षमा आफ्नो सुपरिवेक्षण, निरीक्षण थप प्रभावकारी ढंगले अघि बढाउने जानकारी दिएको थियो ।

सुनकोशी र तामाकोशी आसपासकाे बस्तीलाई सुरक्षित रहन आग्रह

रामेछाप । लगातारको वर्षाका कारण चीनको केरुङ छ्यो ताल फुट्न सक्ने सम्भावना बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालय रामेछापले सुनकोशी र तामाकोशी आसपासका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको सूचनानुसार अविरल वर्षासँगै ताल फुट्न सक्ने सम्भावना रहेको जानकारी गराउँदै जिप्रकाले सुनकोशी तथा तामाकोशी नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको हो । नदी किनारका बासिन्दालाई सुरक्षित रहन र स्थानीय सरकारलाई पनि आवश्यक समन्वय गर्न जिप्रकाले आग्रह गरेको छ । जिप्रकाले ताल फुट्दा भोटेकोशी नदीमा पानीको वहाव बढेसँगै तामाकोशी र सुनकोशी नदीमा पनि वहाव बढ्न सक्ने जनाएको छ । जोखिममा रहेको ताल फुटेका अवस्थामा रामेछापका नवुघाट, बिर्ताघाट, चुकियाघाट, हर्दिनीघाट, कोरमाना, नवलपुरघाट, तल्लो खैरेनीटार, लुभुघाट, सिख्ता डप्खा, पुच्छीघाट, राकाथुमको बेलघारी नजिकको घरधुरी, सुनापति गाउँपालिकाको दोभानटार, सिन्धुरेटार र च्याडीटार बस्ती जोखिमा पर्ने पूर्व अनुमान गरिएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले तामाकोशी र सुनकोशी आसपासका बस्ती उच्च जोखिममा रहेकाले ती क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन विशेष आग्रह गरिएको जानकारी दिए । जिल्ला विपद् व्यवस्थापन समिति रामेछापका संयोजकसमेत रहेका प्रजिअ शर्माले स्थानीय सरकारसँग आवश्यक समन्वय गरेर सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको जानकारी दिए ।