विकासन्युज

गत वर्ष एक जना नेपालीले नै खाए २७६ रुपैयाँको विदेशी आलु, लकडाउनमा मात्रै २ अर्बको आयात

काठमाडौं । सबैसँग मिल्ने स्वभावलाई ‘आलु बानी’को उपमा दिने गरिन्छ । जुनसुकै तरकारीमा मिसाए पनि हुने र उसिनेर, काटेर वा अन्य विभिन्न प्रकार बनाएर खान मिल्ने भएकोले नेपाली भान्साको अभिन्न अंगको रुपमा आलु स्थापित भएको छ । आलु अब नेपालमा धेरै आयात हुने बस्तु पनि बन्न लागेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा ८ खर्ब २९ करोड रुपैयाँभन्दा बढीको आलु आयात भएको छ । आर्थिक वर्ष २०७५÷७६ मा ७ अर्ब ३३ करोड रुपैयाँ बराबरको आलु आयात भएको थियो । गत आर्थिक वर्षमा आयात भएको आलु ३ करोड जनतालाई भाग लगाउँदा प्रतिव्यक्ति २ सय ७६ रुपैयाँ बराबरको आयातित आलु पर्ने देखिएको छ । र, नेपालीको औसत परिवार संख्या ५ जना मान्दा प्रतिपरिवार १३ सय ८१ रुपैयाँ पर्छ । नेपालमा गत आर्थिक वर्षमा आयात भएको कुल आलुमध्ये लकडाउनको अवधि (चैतदेखि असारसम्म) मा २ अर्ब २ करोड रुपैयाँ बराबरको आलु आयात भएको छ । यसमध्ये असारमा ५४ करोड, जेठमा ४८ करोड, बैशाखमा ५४ करोड र चैतमा ४७ करोड रुपैयाँ बराबरको आलु आयात भएको छ । पछिल्लो एक दशकमा आलुको आयात उच्च अंकले बढेको छ । १२ वर्ष अघि वार्षिक ४३ करोड रुपैयाँ बराबरको आलु आयात भएको थियो ।

बाढी पहिराका कारण तनहुँकाे १ सय ५६ घरपरिवार विस्थापित

सांकेतिक तस्वीर तनहुँ । बाढी पहिराका कारण तनहुँमा एकसय ५६ घरपरिवार विस्थापित भएका छन् । घर भत्किएका र उच्च जोखिममा रहेका घरपरिवार विस्थापित भएका हुन् । त्यस्ता परिवारलाई छिमेकीको घर, सामुदायिक भवन र विद्यालयमा स्थानान्तरण गरिएको पालिका कार्यालयले जनाएका छन् । असारको अन्तिम र साउनको पहिलो साता परेको अविरल वर्षापछि गएको पहिराका कारण ती घरपरिवार विस्थापित भएका हुन् । सयौ घरमा क्षति पुगेको छ । तनहुँमा चार नगरपालिका र छ गाउँपालिकामध्ये ऋषिङ गाउँपालिका, व्यासनगरपालिका र म्याग्दे गाउँपालिमा मानवीयसहितको क्षति भएको छ । म्याग्दे गाउँपालिकामा ८० घरपरिवार विस्थापित भएका छन् । उनीहरु मध्ये केहीलाई छिमेकी र सामुदायिक भवनमा व्यवस्थापन गरिएको छ । गाउँपालिका–६ का १५ वर्षीया लक्ष्मी विकको पहिराले पुरिएर ज्यान गएको थियो । पानी परिरहेकोले उच्च जोखिममा रहेका घरका मानिस दिउँसो बस्ने र रातको समयमा छिमेकी कहाँ गएर सुत्ने गरेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए । त्यसैगरी बन्दिपुर गाउँपालिकामा १६ घरपरिवार विस्थापित भएका छन् । पहिराले ३० घरमा आँशिक क्षति पुगेकोे गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले बताए । पूर्ण क्षति भएका परिवार छिमेकीको घरमा आश्रय लिन बाध्य भएका छन् । उनले भने, “पुर्ण रुपमा घर क्षति भएकालाई रु.३० हजार र राहत दिइएको छ ।” पहिराले उच्च जोखिम र आँशिक क्षति पुगेकालाई रु.दश हजार र बाढीले कटान र बगर बनाएको खेतलाई प्रतिरोपनी दुई हजार प्रदान गरिएको छ । यसैगरी देवघाट गाउँपालिकामा १५ परिवार छिमेकीको घरमा सुरक्षित बस्दै आएका छन् । मानवीय क्षति नभएपनि फलफूल र खेतीबालीमा धेरै क्षति भएको अध्यक्ष दुर्गबहादुर थापाले बताए । त्यसैगरी शुक्लागण्डकी नगरपालिकामा १३ परिवार छिमेकीको घर र सामुदायिक भवनमा शरण लिएर बस्दै आएका छन् । शुक्लागण्डकीको बाह्र मध्ये २,४,५ र ८ वडामा पहिराले क्षति नभएको र अन्य आठ वडामा क्षति पुगेको शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिए । नगरपालिकामा मानवीय क्षति नभएपनि सबै वडामा चार वटा टोली बनाएर बाढी पहिराले पु¥याएको क्षतिको विवरण सङ्कलन गरिएको छ । त्यसैगरी भानुनगरपालिकाको वडा नं २ र ३ मा गरी १० घरपरिवार पहिराको उच्च जोखिममा रहेकोले स्थानीय छिमेकीको घरमा बस्दै आएका छन् । आँबुखैरेनी गाउँपालिमा सात घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । वडा नं १, २ र ६ का ७ घरपरिवार कोही छिमेकीको घरमा र कोही सामुदायिक भवनमा बस्दै आएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए । त्यसैगरी व्यासनगरपालिकामा ६ घरपरिवार विस्थापित भएका छन् । करिब ५० घर उच्च जोखिममा रहेको नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन प्रमुख विमल गिरीले जानकारी दिए । उनले भने, “यस नगरपालिकामा पहिरामा परेर पाँच जनाले ज्यान गुमाएका छन् ।”ऋषिङ गाउँपालिकामा– ६ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । उक्त वडाको ऋषिङ—८ भैसीकिली निवासी अम्बरबहादुर थापाको पाँच जनाको पहिरामा परेर मृत्यु भएको थियो । त्यसैगरी भिमाद नगरपालिकाका नगरप्रमुख मेखबहादुर थापाले ती घर परिवार विस्थापित भएको बताए । रासस

महामारीकै बीच पनि प्राधिकरणका आयोेजनाको प्रगति उत्साहजनक, वित्तीय ८१, भौतिक ८२ प्रतिशत

नेपाल विद्युत प्राधिकरणद्वारा सञ्चालित विद्युत उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुले गत आर्थिक वर्ष (आव) २०७६/०७७मा ८१.२३ प्रतिशत वित्तीय प्रगति हासिल गरेका छन् । ती आयोजनाहरुको समग्र भौतिक प्रगति ८२.२९ प्रतिशत छ । नेपाल सरकार, वैदेसिक र प्राधिकरणको स्रोतबाट संचालित आयोजनाहरुमा गत आवका लागि ५८ अर्ब ४ करोड विनियोजन गरिएकोमा ४७ अर्ब १४ करोड रुपैयाँ खर्च भएको हो । विद्युत् पहुँच बढाउन र उपभोक्तालाई भरपर्दो तथा गुणस्तरीय सेवा आपूर्तिका लागि वितरण लाइन विस्तार, सुदृढीकरण र स्तरोन्नतिमा छुट्टयाइएको बजेटको खर्च ९२ प्रतिशत छ । भौतिक प्रगति शत्प्रतिशत छ । विश्वव्यापी महामारी कोभिड–१९ का कारण निर्माणाधीन आयोजनाको काम प्रभावित हुँदासमेत समग्र वित्तीय र भौतिक प्रगति उत्साहजनक नै रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताऐ । ‘वन क्षेत्रको जग्गा प्रयोगमा रहेको प्रक्रियागत झन्जटका कारण सिर्जित समस्या, जग्गा अधिग्रहणको समस्या, प्रसारण तथा वितरण लाइनमा भइरहेको अवरोध सबै आयोजनाले व्यहोरिरहेका साझा समस्या हुन्, गत आवका ४ महिना कोभिड–१९का कारण आयोजनाहरुको निर्माणमा चाैतर्फी प्रभाव पर्यो’, कार्यकारी निर्देशक घिसिङले भने । ‘लकडाउनमा पनि स्वास्थ्य सम्बन्धी सुरक्षात्मक मापदण्ड अपनाएर आयोजनाहरुको निर्माण सुचारु गर्ने सरकारको निर्णयपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, सचिव दिनेश कुमार घिमिरेको सहजिकरण एवं सक्रियता र गृह मन्त्रालयको सहयोगले अप्ठ्यारो परिस्थितिमा पनि आयोजनाहरुको काम अगाडि बढाउन सकियो, यसबाट केही आयोजनाहरु निर्माण सम्पन्न भएका छन् भने केही निर्माणको अन्तिम चरणमा पुगेका छन्,’ उनले भने । कोभिड–१९को महामारी नआएको भए आयोजनाहरुको वित्तीय र भौतिक प्रगति अझै बढ्ने अवस्था रहेको उल्लेख गर्दै उनले अझै पनि आयोजनाहरुको काम पूर्ण रुपमा हुन नसकेको बताए । गत आवमा विद्युत् आयोजनाहरुको उत्पादनतर्फ ७ अर्ब ८० करोड विनियोजन भएकोमा ५ अर्ब ५३ करोड रुपैयाँ खर्च भएको छ । उत्पादनतर्फका आयोजनाहरुको खर्च र भौतिक प्रगति क्रमशस् ७०.८२ र ७६.८३ प्रतिशत छ । उत्पादनतर्फ जलविद्युत् आयोजनाको निर्माण, मर्मतसम्भार लगायतका कार्य पर्दछन् । गत आवमा निजी क्षेत्रका १५ आयोजना निर्माण सम्पन्न भई १ सय ३५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । प्राधिकरणले १०६१ मेगावाटको माथिल्लो अरुण, ६३५ मेगावाटको दूधकोसी, माथिल्लो मोदी ए, तामाकोसी पाँचौ जलविद्युत्लगायतका आयोजनाको विस्तृत अध्ययन गरिरहेको छ । अध्ययनका लागि १ अर्ब ९५ करोड विनियोजन गरिएकोमा २६.४८ प्रतिशत मात्रै खर्च भएको छ । ती आयोजनाहरुको भौतिक प्रगति ३३.३९ प्रतिशत छ । कोभिड–१९का कारण आयोजनाहरुको अध्ययन प्रभावित भएको घिसिङले बताए । प्राधिकरणको सहायक कम्पनीमार्फत ४५६ मेगावाटको माथिल्लो तामाकोसी र १४० मेगावाटको तनहुँ जलविद्युत आयोजना निर्माणाधीन छन् । माथिल्लो तामाकोसीको निर्माण यस वर्ष सक्ने लक्ष्य राखिएको छ । २८५ सर्किट किलोमिटर प्रसारण लाइन थपियो प्रसारण लाइनतर्फ २६ अर्ब ४८ करोड विनियोजन गरिएकोमा १९ अर्ब ५२ करोड रुपैयाँ खर्च भएको छ । प्रसारण लाइनतर्फ ६ आयोजनाबाट २ सय ८५ सर्किट किलोमिटर प्रसारण लाइन थपिएको छ । प्रसारण लाइनतर्फको वित्तीय र भौतिक प्रगति क्रमश स् ७३.७४ र ७४.९२ प्रतिशत छ । प्रसारण लाइनतर्फ कोसी, सोलु, कालीण्डकी, मस्र्याङदी करिडोर, सिंगटी लामोसाँघु, चिलिमे–त्रिसूली ३ बी हब, हेटौडा–ढल्कबर–इनरुवा,मस्र्याङदी–काठमाडौं,तामाकोसी–काठमाडौं लगायतका आयोजनाहरु निर्माणाधीन छन् । सबै आयोजनाले प्रसारण लाइन रुटको दायाँबायाँमा पर्ने वन क्षेत्रको जग्गा प्रयोग र निजी जग्गाको क्षतिपूर्तिको समस्या, रुट परिवर्तन गर्न माग गर्दै स्थानीयको अवरोध, ऐलानी जग्गाको उपयोग गर्दा मुआब्जा दिने/नदिने नीतिगत अन्यौलता जस्ता समस्या सबै आयोजनाहरुले झेलिरहेको घिसिङले बताए । सबस्टेसनमा ८४० एमभीए क्षमता थपियो विद्युतको पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनीय विद्युत् आपूर्तिका लागि मुलुकभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको प्राधिकरणले गत आवमा सबस्टेसनमा ८४०.४० एमभीए क्षमता थपेको छ । १३८.६ एमभीएका ४ वटा नयाँ सबस्टेसन संचालनमा आएका छन् भने ३७ वटा प्रसारणतर्फका सबस्टेसनको स्तरोन्नति गरिएको छ । जसको क्षमता ५७९.८० एमभीए छ । यसैगरी वितरणतर्फका २४ सबस्ेटसनको निर्माण सम्पन्न भएको छ । ती सबस्टेसनको क्षमता १५२ एमभीए छ । गत आवमा विद्युत् वितरणतर्फ २५० किलोमिटर ३३ केभी लाइन विस्तार गर्ने लक्ष्य राखिएकोमा ४०५ किलोमिटर निर्माण गरिएको छ । वितरण लाइनतर्फको खर्च पनि उत्साहजनक छ । वितरण लाइनतर्फ १९ अर्ब ८ करोड बिनियोजन गरिएकोमा ९२.०६ प्रतिशत अर्थात १७ अर्ब ५७ करोड रुपैर्या खर्च भएको छ । आयोजनाहरुको भौतिक प्रगति शतप्रतिशत छ । सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ । यसका लागि प्राधिकरणले सबस्टेसनको क्षमता स्तरोन्नती तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सबस्टेसन बनाउने लगायतका काम गरिरहेको छ । १५ जिल्ला पूर्ण विद्युतीकरण मुलुकभरका ७७ जिल्लामध्ये १५मा पूर्ण विद्युतीकरण भएको छ । गत आवमा ११ जिल्लालाई पूर्ण विद्युतीकरण गरिएको हो । यसअघि पर्वत, स्याङजा, काठमाडौं र भक्तपुरलाई पूर्ण विद्युतीकरण गरिएको थियो । गत आवमा धनकुटा, सुनसरी, सिराहा, धनुषा, महोत्तरी, बारा, पर्सा, नुवाकोट, कपिलवस्तु, गुल्मी र वर्दियालाई पूर्ण विद्युतीकरण गरिएको हो । प्राधिकरणले गत आवमा ४० जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्य राखेको थियो । कोभिड–१९का कारण विद्युतीकरण पनि प्रभावित भएको हो । सरकारले २०७९ ९सन् २०२२०भित्रमा प्रत्येक घरधुरीमा विद्युत् सेवा पुर्याउने र वार्षिक प्रतिव्यक्ति विद्युत खपतलाई ७०० युनिट पु¥याउने लक्ष्य राखेको छ । हरेक नेपाली जनताको पहुँचमा विद्युत पु¥याउने सरकारको लक्ष्य पूरा गर्न र उपभोक्तालाई पर्याप्त, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्न हरसम्भव प्रयास गरिएको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

सगरमाथा इन्स्योरेन्सको साउन २८ गतेदेखि बुक क्लोज

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको आगामी साउन २८ गतेदेखि बुक क्लोज हुने भएको छ । कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि भदौ १३ गतेसम्म बुक क्लोज गर्ने भएको हो । कम्पनी भदौ १३ गते शनिबार २३औं वार्षिक साधारण सभा बस्दै छ । कम्पनी सञ्चालक समितिले यो पटक सेयरधनीलाई नगद लाभांश, हकप्रद र बोनस सेयर दिने कुनै पनि प्रस्ताव गरेको छैन । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब १२ लाख रुपैयाँ रहेको छ । सम्बन्धित समाचारः सगरमाथा इन्स्योरेन्सको वार्षिक साधारण सभा भदौ १३ गते, के के छन् विशेष प्रस्ताव ?  

विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ६ लाख ९२ हजार नाघ्यो

काठमाडाैं । विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ९२ हजार ७९४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ । सो संगठनकाअनुसार सोमबारसम्म विश्वभरीमा १ करोड ८२ लाख ३४ हजार ९३६ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये हालसम्म १ करोड १४ लाख ४४ हजार ८२१ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६० लाख ९७ हजार ३२१ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ६५ हजार ७५४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४८ लाख १३ हजार ६४७ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ५८ हजार ३६५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा ४२ लाख ४५ हजार ५४२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४७ हजार ८९२ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५६ लाख ५७ हजार ५५२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ दुई लाख २२ हजार १८६ जनाको मृत्यु भएको छ । युरोपमा २८ लाख ९८ हजार ९४४ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ३ हजार ७९४ को मृत्यु भएको छ । एसिया ४४ लाख ५१ हजार ६५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ९९ हजार ३२४ जनाको मृत्यु भएको छ । अफ्रिकामा ९ लाख ६१ हजार ३८८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २० हजार ३५० जनाको मृत्यु भएको छ । ओसियानामा १९ हजार ७२४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २३३ जनाको मृत्यु भएको छ ।

अपडेटः एनआरएन इन्फ्राइन्स्टक्चरको आईपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । एनआरएन इन्फ्राइन्स्टक्चर एण्ड डेभलपमेन्टको साधारण सेयर(आईपीओ)मा हालसम्म ८९ लाख २४ हजार ५ सय ९० कित्ता आवेदन परेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार साेमबार साढे १० बजेसम्ममा संस्थाकाे सेयरमा सो मात्राको आवेदन परेको हो । सो अवधिसम्ममा २ लाख ३० हजार ६ सय ७१ जना आवेदकले ८९ करोड २४ लाख ५९ हजार रुपैयाँ बराबरको सेयर माग गरेको छन् । जुन संस्थाले माग गरेको भन्द २.८२ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा ३१ लाख ६० हजार १ सय ८३ कित्ता सेयर माग गरेकाे हाे । संस्थाले कूल ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको एक सय अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता सेयर बिक्रीमा राखेको हो । जसमध्ये ६७ हजार ९ सय ६१ कित्ता अर्थात २ प्रतिशत सेयर कर्मचारीहरुको लागि सुरक्षित गरिएको र १ लाख ६९ हजार ९ सय २ कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको छ । र, बाँकी रहने ३१ लाख ६० हजार १ सय ८३ कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गरेकाे हाे । इच्छुक सर्वसाधारणले साउन २१ गते बैंकिङ समयसम्ममा न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्मकाे लागि आवेदन दिन पाउने छन् । अन्य समूह अन्तर्गतको रहेको यस कम्पनीको आईपीओ अन्य क्षेत्रमा नितान्त पहिलो प्राथमिक निष्काशन रहेको कम्पनीले जनाएको छ । साधारण सेयरको सार्वजनिक निष्काशन गर्नका लागि केयर रेटिङ्गस् नेपालले ‘केयर-एनपी आईपीओ ग्रेड ४’ प्रमाणपत्र प्रदान गरेको छ । जसले कम्पनीको आधारहरु औषत भन्दा तल रहको बुझाउँछ । सम्बन्धित समाचारः एनआरएन इन्फ्रास्ट्रक्चरकाे आईपीओमा लगानी गर्नु कत्तिकाे उचित ? यस्ताे छ तथ्य र तर्क

ग्लोबल आइएमई बैंकको एटिएम सेवा उदयपुरको अदालत कार्यालय परिसरमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले उदयपुर जिल्ला अदालत परिसरमा एटिएम सेवा सुरु गरेको छ । बैंकले बोक्से स्थित सरकारी कार्यालयका कर्मचारीहरुका साथै अन्य सर्वसाधारण ग्राहकहरुलाई लक्षित गरी उक्त एटिएम सेवा सञ्चालनमा ल्याएको हो । उक्त एटिएम सेवाको उद्घाटन उदयपुर जिल्ला अदालतका न्यायधीश दिपक खनाल र मनोज के.सी.ले संयुक्त रुपमा गरेका हुन् । यस नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २३६ पुगेको छ । बैंकले हाल देशैभरि ७० वटा जिल्लामा २५७ वटा शाखा, ३९ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २३६ वटा एटिएम, २०१ वटा शाखारहित बैंकिङ्ग सेवा र विदेशस्थित ३ सम्पर्क/प्रतिनिधि कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ । कोरोना (कोभिड-१९)ले त्रसित बनाइरहेको अवस्थामा पनि ग्राहकलाई निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्न ग्लोबल आइएमई बैंक सदा तत्पर रहेको छ ।

मेलम्चीमा पहिरोबाट आठ बेपत्ता

सांकेतिक तस्वीर सिन्धुपाल्चोक । गए रातिको अविरल वर्षाले पहिरो जाँदा मेलम्ची–११ मेलम्ची बजारमा आठ जना बेपत्ता भएका छन् । कभर्डहल निर्माण गर्ने कामदार बसेको घर पहिरोले पुरिँदा आठ जना बेपत्ता भएका र एक जनाको उद्घार जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ताको खोजी जारी राखेका छन् । पहिरो आज विहान २ बजे गएको थियो । निर्माणाधीन कभर्डहल प्रदेश सरकारको सहयोगमा बन्न लागेको हो ।