विकासन्युज

सार्वजनिक गाडीले बढी भाडा लिएमा १०३ मा फोन गर्न आग्रह

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्येनजर गर्दै काठमाडौ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनको अनुगमनलाई आजदेखि तीव्र पारेको छ । सिट क्षमताभन्दा बढी यात्रु राखे नराखेको, भिडभाड गरे नगरेको, यात्रुहरूले मास्क लगाएको नलगाएको, बढी भाडा लिए नलिएको, भाईरस संक्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर मात्रै सञ्चालन गरे नगरेको जस्ता स्वास्थ्य मापडण्ड पालना नगर्ने ४०० भन्दा बढी भाडाका सवारी साधनलाई सम्झाईबुझाई पनि गरेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका अनुसार कोरोना भाईरसबाट यात्रुमाथि हुने जोखिमलाई मध्येनजर गरी उपत्यकाका मुख्य मुख्य बसपार्क एवम् भिडभाड हुने क्षेत्रमा चेकप्वाईन्ट राखि सवारी साधनहरुले स्वास्थ्य मापडण्ड पालना गरे नगरेको अनुगमनलाई तीव्रता पारेको जानकारी दिए । ढकालले यदि भाडाका सवारी साधनले स्वास्थ्य पोर्टोकल पालना नगरेको वा तोकिएको भन्दा बढी भाडा लिएमा नजिकको ट्राफिक प्रहरी वा ट्राफिक प्रहरीको हटलाईन १०३ मा फोन गर्न आग्रह गरे । महाशाखाले यातायात व्यवसायी तथा सञ्चालकहरूलाई बोलाएर सवारी साधनमा यात्रुको सुरक्षामा ध्यान दिन, स्यानिटाईजेसनको व्यवस्था गर्ने, नियमित सरसफाई गर्न, यात्रुहरूको सुविधाको लागि प्रर्याप्त सवारी साधनहरू चलाउन, सवारीमा यात्रुहरू कोचिएर नराख्न वा सिट क्षमताअनुसार मात्र यात्रु राख्नलगायत स्वास्थ्य मापडण्ड पालना गराउन सहमति गराईसकेको महाशाखाले जनाएको छ ।

कामना सेवा विकासको संस्थागत परामर्शदाताको रुपमा नबिल इन्भेष्टमेन्ट

काठमाडौं । कामना सेवा विकास बैंकको संस्थागत परामर्शदाताको रुपमा नबिल इन्भेष्टमेण्ट बैकिंग नियुक्त भएको छ । सो सम्बन्धी दुई संस्थाबीच असोज ५ गते सम्झौता भएको हो । सो सम्झौता पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत तथा नबिल इन्भेष्टमेण्ट बैंकिंगको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सबिर वादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । यो सम्झौताबाट कामना सेवा विकास बैंकले संस्थागत परामर्श सेवा सम्बन्धि सेवाहरु यस कम्पनीबाट प्राप्त गर्न सक्नेछ ।

नेपाल इन्स्योरेन्सको ७३औं वार्षिकोत्सव सम्पन्न, थप उत्कृष्ट सेवा दिने प्रतिवद्धता

काठमाडौं । नेपालको इतिहासकै पहिलो इन्स्योरेन्स कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी स्थापनाको ७३ वर्ष पुगेको छ । कम्पनीको ७३ औं वार्षिकोत्सव समारोह आश्विन ८ गते बिहीबार कम्पनीको, प्रधान कार्यालय कमलादीमा कम्पनीको सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेलको आतिथ्यमा सम्पन्न भएको हो । सो अवसरमा कम्पनीले आगामी दिनमा थप उत्कृष्ट सेवा दिन तत्पर रहने प्रतिवद्धता जनाएको छ । इन्स्योरेन्सको ७३औं वार्षिकोत्सव समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले नेपालको पहिलो बीमा कम्पनीको रुपमा स्थापित यस कम्पनीको स्थापनाकालदेखि नै ग्राहकहरुको भरपर्दो र विश्वासिलो बीमा कम्पनीको रुपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बताए । साथै, नविनतम प्रविधिको प्रयोग गरी कम्पनीको शाखा संजाललाई विस्तार गर्दै आएको र कम्पनीको यस अनवरत यात्रामा सम्पूर्ण बीमित, कर्मचारीहरु, लगानीकर्ता, बीमा समिति तथा अन्य नियामक निकाय, बैंक तथा वित्तिय संस्थाहरु, पुनर्बीमा कम्पनीहरु, सर्भेयरहरु, अभिकर्ताहरु, ब्रोकर तथा आम नागरिकहरुबाट आगामी दिनहरुमा अझ बढी सहयोग, विश्वास र प्रेरणा प्राप्त हुने कुरामा विश्वस्त रही हालसम्म प्राप्त सहयोगका लागि सम्बन्धित सबैमा आभार प्रकट गरेका छन् । कम्पनीले हाल प्रधान कार्यालय तथा देशका प्रमुख स्थानहरुमा रहेका ५० वटा शाखा कार्यालयहरु र इटहरी, कावासोती र एकान्तकुना सहित ३ वटा तेश्रो पक्ष बीमा सेवा केन्द्र समेत गरी जम्मा ५४ स्थानहरु बाट बीमा सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष ०७६/०७७ मा कम्पनीले एक अर्ब १७ करोड ७८ लाख रुपैयाँ बीमा प्रिमियम संकलन गर्नुका साथै २३ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यसै अवसरमा इन्स्योरेन्सले आफ्नो जिवनको अमुल्य समय कम्पनीको सेवामा समर्पित गरि २५वर्ष सेवा अवधि पुगेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक र २० वर्ष सेवा अवधि पुगेका कर्मचारीहरुलाई प्रशंसा पत्र वितरण गरेको छ ।

एटीएमको पिन सेट तथा रिसेट गर्न बैंक धाउनै नपर्ने, नबिल बैंकले शुरु गर्यो ‘ग्रिन पिन’ सेवा

काठमाडौं । नबिल बैंकले ‘नबिल ग्रिन पिन सेवा’को सुरुवात गरेको छ । बैंकले आफ्ना डेबिट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटिएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुबिधा प्रधान गर्न उक्त सेवाको शुरु गरेको हो । बैंकले ग्रिन पिन सेवा मार्फत आफ्ना नयाँ ग्राहकलाई नयाँ पिन सेट गर्न र पूराना ग्राहकलाई बिर्सिएको पिन स्वयमले रिसेट गर्ने सुबिधा प्रधान गरेको छ । ‘अब हाम्रा ग्राहक महानुभावहरुले बैंकद्वारा जारी गरिएको कुनै पनि कार्डको पिन सेट गर्नु परेमा वा पिन बिर्सनुभए बैंक शाखामा आएर पिन रिसेटका निम्ति आवेदन दिईरहनु पर्दैन । अब ग्राहक महानुभावहरुले नजिकैको नबिल बैंकको एटिएमबाट सहजै आफैले पिन रिसेट गर्न सक्नुहुनेछ ।’, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने । कसरी गर्ने ? ग्रिन पिन मार्फत पिन सेट अथवा रिसेट गर्न ग्राहकले नजिकैको नबिल बैंकको एटिएममा गई कार्ड मसिनमा राखेर जेनरेट ओटीपी फर पीन मेनु छान्नु पर्नेछ । त्यस पश्चात ग्राहकले बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा २४ घण्टाको म्याद रहेको ओटीपी प्राप्त हुनेछ । त्यस पश्चात ग्राहकले ‘इन्टर ओटीपी टु चेञ्ज योर पिन’ मेनु छनौट गरि प्राप्त भएको ओटीपी राखेर पिन सेट अथवा रिसेट गर्न सक्नेछन् । बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले ग्रिन पिन सेवा मार्फत बैंकले पिन प्रिन्ट गर्न प्रयोग हुने कागजको र पिनलाई प्याक गर्न प्रयोग हुने प्लास्टिकको उपभोग घटाउँदै वातावरण मैत्री सेवाको सुभारम्भ गरेको बताएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा यसरी जुनसुकै स्थान र समयमा पिन सेट तथा रिसेट गर्न सकिने सुविधाले ग्राहकलाई सुरक्षित र सहज सेवा प्राप्त हुने भन्ने बैंकको अपेक्षा छ ।

नेशनल माइक्रोफाइनान्सद्धारा मृतकको परिवारलाई आर्थिक सहयोग

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले मृतकको परिवारलाई आर्थिक सहयोग गरेको छ । संस्थाले मृतक सदस्य भविसरा थापा क्षेत्रीको छोरा विमल थापा क्षेत्रीलाई काजक्रिया अन्तर्गत ५ हजार रुपैयाँ नगद हस्तान्तरण गरेको हो । संस्थाले निजकै घरमा पुगेर समुहका सदस्य तथा संस्थाका प्रतिनिधिको उपस्थितिमा असोज ८ गते समुह अध्यक्ष माया कुमारी पुनको हातबाट हस्तान्तरण गरिएको हो । सदस्य भविसरा थापा क्षेत्रीको गत भदौ १५ गते बिरामी परि मृत्यु भएसँगै निजको नाममा संस्थामा रहेको ५३ हजार रुपैयाँ मिनाहा तथा सामाजिक सुरक्षा कोष अन्तर्गत सदस्यको मृत्युमा काजक्रिया अन्र्तगत सो मात्राको सहयोग गरेको हो । मृतक थापा क्षेत्री संस्थाको शाखा कार्यालय सुडा कञ्चनपुर अन्तर्गत सेवाकेन्द्र दोधारा चांदनीद्धारा कञ्चनपुर जिल्ला महाकाली नगरपालिका पालिका वडा न. ७ मा गठित प्रगतीटोल बावाथान महिला समुहमा आवद्ध रहेका थिए । नेशनल माइक्रोफाइनान्सले विगतमा सामाजिक सुरक्षा कोष हाल ग्राहक संरक्षण कोष अन्तर्गत सस्थामा आवद्ध ऋणी सदस्यहरुलाई संस्थाले काजक्रिया खर्च, श्रीमानकाे मृत्युमा काजक्रिया खर्च, सुत्केरी आमाहरुलाई पोषण खर्च तथा ऋणी सदस्यको घरमा हुने प्राकृतिक घटनामा समेत सहयोग तथा सुविधा दिँदै आएको छ । हाल देखापरेको विश्वव्यापी महामारी कोभिड १९ मा विपन्न तथा दैनिक ज्यालादारी गरी दैनिक एक छाक टार्ने संस्थामा आवद्ध सदस्यहरुलाई २०७७ असार महिनामा ५० घरधुरीमा अति विपन्न सदस्यहरुलाई छनौट गरी राहत सहयोग गरीएको र बेला बेलामा समेत राहत वितरण गरी आफ्नो विपन्न सदस्यहरुलाई सहयोग गरेको संस्थाले जनाएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले ऋणीलाई ब्याज रकममा १२ प्रतिशत छुट दिने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ऋणी ग्राहकलाई व्याज रकममा १२ प्रतिशत छुट दिने भएको छ । कोभिड १९ को असरको मूल्यांकन गर्दै बैंकले आफ्ना ऋणी ग्राहकहरुका लागि बुझाउन बाँकी असोज मसान्तसम्मको ब्याज रकममा १२ प्रतिशत आकर्षक छुटको योजना ल्याएको हो । बैंकका ऋणी ग्राहकले २०७७ आश्विन मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम आश्विन मसान्तसम्म भुक्तानी गरेमा भुक्तानी गरिएको ब्याज रकममा १२ प्रतिशत सहुलियत स्वरुप छुट हुने कम्पनीले जनाएको छ । यसरी ग्राहकलाई व्याज रकममा छुट गरिँदा २०७७ असार मसान्तसम्मको यस डेभलपमेन्ट बैंकको आधार दरभन्दा कम नहुने गरी छुट दिईने बैंकले जानकारी गराएको छ । उक्त माथि उल्लेखित व्याज रकममा दिइएको छुट सेयर कर्जा, मुद्दती निक्षेप धितोमा दिइएको कर्जा, तथा लघुवित्त बित्तीय संस्थाको नाममा दिइएको थोक कर्जामा लागु नहुने समेत बैंकले जनाएको छ । बैंकले ब्याज रकममा प्रदान गर्ने यस छुटले ऋणी ग्राहकलाई हालको यस्तो विषम परिस्थितिमा केही सहयोग पुग्ने बैंकको विश्वास रहेको छ ।

भेस्पा र अप्रिलियाको दशैं अफरः ५० हजार रुपैयाँसम्म छुट पाइने

काठमाडौं । नेपालमा भेस्पा र अप्रिलिया स्कूटरको अधिकारिक बिक्रेता दुगर ब्रदर्स एंड सन्स प्रा लि ले बडा दशैँ तिहारलाई लक्षित गरि बडा दशैँ तिहार योजना सार्बजनिक गरेको छ । यस योजना अन्तर्गत भेस्पा र अप्रिला किन्न इच्छुक ग्राहकहरुले स्क्रयाच कार्ड मार्फत ५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मको नगद छुट पाउने छन् । साथै, शुन्य प्रतिशत ब्याजदरमा पनि खरिद गर्न सक्नेछन् । साथै, भेस्पा र अप्रिलियाको अफिसियल हेल्मेट, फुटम्याट, स्कूटर कभर र किरिङ्ग को साथै १ आर्थिक वर्षको फ्री रोड ट्याक्स र १५० सीसी भेस्पाको खरिदमा १० हजार रुपैयाँबराबरको फ्री पेरिमीटर किट पनि उपलब्ध गराएको छ । ग्राहकको सुबिधालाई मध्येनजर गर्दै कम्पनीले अनलाइनबाट नै स्कूटर बुकिङ गर्न सकिने र ग्राहकले चाहेको स्थानमा फ्री डेलिभरी समेत गराउने गरेको छ । कोभिड-१९ को यस महामारीले गर्दा नेपाली अर्थव्यवस्था तथा उपभोक्तामा ठुलो असर गरिरहेको अवस्थामा सुरक्षित यात्रा लाई प्राथमिकता दिदै उपभोक्तालाई खरिदमा सहज बनाउनको लागि यो योजना सार्बजनिक गरिएको यस दुगर ब्रदस एंड सन्स प्रा लि का उपादक्ष्य विजय महतो बताउँछन् ।

होटल व्यवसायी महासंघसंग आवद्ध व्यवसायीलाई ग्लोबल आईएमई बैंकले सहयोग गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक र होटल व्यवसायी महासंघ नेपालबीच सम्झौता भएको छ । महासंघसंग आवद्ध नेपाल भरमा रहेका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई जनचेतना बढाएर सहुलियतपूर्ण व्याजदरमा कर्जा प्रवाह गर्ने एवं सरलताका साथ बैकिङ्ग कारोबारको पहुंच भित्र ल्याउने उद्देश्यले बैंकले उक्त सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले हस्ताक्षर गरेका छन् । होटल व्यवसायी महासंघसंग आवद्ध व्यवसायीहरुलाई आर्थिक कारोबारमा सघाउ पुर्याउन तथा हाल कोभिड-१९ बाट प्रभावित भएको अवस्था समेतलाई दृष्टिगत गरी परियोजना सञ्चालनमा ल्याउन सहयोग पुर्याउने हेतुले बैंक नियमानुसार कर्जा सुविधा प्रदान गर्ने सहमति भएको छ । यसका साथै महासंघसंग आबद्ध व्यवसायीहरुको लागि बैंकले आवश्यकता अनुसार बैंकिङ्ग एवं वित्तीय साक्षारता सम्बन्धी तालिम समेत प्रदान गर्ने व्यवस्था मिलाइने भएको छ । यस्तो सुविधा लिनको लागि महासंघसंग आबद्ध सम्पूर्ण व्यवसायीहरुले आफूलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ/संस्थाहरुसँग समन्वय गरी यस्ता योजनाहरु ल्याउने गरेको छ ।