
काठमाडौं । प्रायः सबै प्रमुख अटो निर्माता कम्पनीहरूको प्रतिनिधित्व गर्ने एक व्यापार समूहले क्यानडा र मेक्सिकोबाट आयातमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएको नयाँ २५ प्रतिशत ट्यारिफले सवारीसाधनको मूल्यमा अत्यधिक वृद्धि गर्ने चेतावनी दिएको छ ।
‘क्यानडा र मेक्सिकोमा लगाइने यी ट्यारिफले सबै अटो निर्माता कम्पनीहरूलाई असर गर्नेछ,’ अमेरिकी प्रमुख अटो निर्माता कम्पनीहरू (टेस्लाबाहेक) को प्रतिनिधित्व गर्ने ‘अलायन्स फर अटोमोटिभ इनोभेसन’ का प्रमुख जोन बोजेलाले मंगलबार भने ।
यस समूहका सदस्यहरूमा जनरल मोटर्स, फर्ड, टोयोटा, फक्सवागन, हुन्डाई र स्टेलान्टिस रहेका छन् ।
‘धेरै कम्पनीहरूले केही सवारीसाधन मोडेलहरूको मूल्य २५ प्रतिशतसम्म बढ्ने अपेक्षा गरेका छन् र सवारीसाधनको मूल्य तथा उपलब्धतामा पर्ने नकारात्मक असर तुरुन्तै महसुस गरिनेछ,’ बोजेलाले थपे ।
अटो निर्माता कम्पनीहरूले चेतावनी दिएका छन् कि यी ट्यारिफहरूले २५ वर्षभन्दा बढी समयदेखि कायम रहेको उत्तर अमेरिकी आपूर्ति श्रृंखलामा अवरोध सिर्जना गर्नेछन् । केही अटो पाट्र्स अन्तिम असेम्ब्ली हुनुअघि छ वा सोभन्दा बढी पटक सीमाना पार गर्छन् ।
‘अटोमोबाइल उत्पादन र आपूर्ति श्रृंखलालाई रातारात सार्न सकिँदैन । यही नै चुनौती र दुविधा हो । उत्तर अमेरिकामा अटो ट्यारिफले उपभोक्ताहरूका लागि लागत बढाउन सक्छ,’ बोजेलाले भने ।
स्टेलान्टिसले मंगलबार डिलरहरूलाई कम्पनी ट्रम्प प्रशासनसँग निरन्तर छलफल गरिरहेको सूचना दिएको थियो । किनभने यी ट्यारिफले ग्राहकहरूलाई थप ‘लागतको बोझ पार्नेछ ।
‘यी ट्यारिफले स्टेलान्टिसको प्रमुख क्रिसलर, डोज, जीप र राम ब्रान्डहरूलाई कोरियन, जापानी र युरोपेली आयातकर्ताहरूको तुलनामा प्रतिस्पर्धात्मक रूपमा कमजोर बनाउन सक्छ,’ कम्पनीले रोयटर्सले देखेको इमेलमा उल्लेख गरेको छ ।
वाणिज्य सचिव हावर्ड लुटनिकसँग गत हप्ता धेरै अटो निर्माता कम्पनीहरूले भेट गरे र व्यापक ट्यारिफ वृद्धिलाई अगाडि नबढाउन प्रशासनलाई आग्रह गरेका थिए ।
गत महिना फर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जिम फार्लीले मेक्सिको र क्यानडामा २५ प्रतिशत ट्यारिफले अमेरिकी अटो उद्योगलाई ‘ठूलो घाटा’ पुर्याउने चेतावनी दिएका थिए ।
‘हामीले अहिले धेरै लागत, धेरै अव्यवस्था देखिरहेका छौं,’ उनले भनेका थिए ।
यता युनाइटेड अटो वर्कर्स (यूएडब्ल्यू) संघले ट्रम्पको समर्थन गर्दै अप्रिलमा प्रस्तावित थप ट्यारिफ योजनालाई स्वागत गरेको छ ।
‘हामी अमेरिकी राष्ट्रपतिद्वारा गरिएको आक्रामक कारवाहीलाई देखेर खुसी छौं । हामी ह्वाइट हाउससँग मिलेर अप्रिलको अटो ट्यारिफ योजनालाई श्रमिक वर्गको हितमा विकास गर्न तत्पर छौं,’ संघले भनेको छ ।
अमेरिकी अन्तर्राष्ट्रिय अटोमोबाइल डिलर्स एसोसिएसनले पनि टिप्पणी गर्दै डिलरहरू पहिले नै बढ्दो सवारीसाधन तथा पाट्र्स मूल्यहरू र उच्च ब्याज दरहरूको सामना गरिरहेको बताएको छ ।
‘ट्यारिफहरूले सिधै सवारीसाधनको मूल्यमा हजारौं डलरको वृद्धि गराउन सक्छ,’ समूहले जनाएको छ । (एजेन्सीहरूको सहयोगमा)
निसानका सीईओ उचिडाको भविष्य चर्चामा, व्यवस्थापनमा ठूलो परिवर्तन आउँदै
मस्कको दशक लामो ‘स्वचालित टेस्ला’ ल्याउने वाचा पूरा होला ? विज्ञ भन्छन्- जोखिम धेरै