बुबाको जग गोल्डस्टारलाई ‘विश्व ब्राण्ड’ बनाउन तम्सिएको जोडी

  २०७९ माघ ८ गते १३:४७     विकासन्युज

काठमाडौं । ‘यो जुत्तालाई सन् २०२२ जुनमा उत्पादन गरेका हौं, जतिखेर देशलाई कोेरोनाले हायलकायल बनाइरहेको थियो, कोरोनाकै कारण समयमा एलसी खोल्न पाइएन, सेप्टेम्बरमा बजारमा लानु पर्ने जुत्ता अहिलेसम्म लैजान सकेका छैनौं, अब भन्नुस् हामीले कति हण्डर÷ठक्करहरु खाएर काम गरिरहेका छौं,’ कुराकानीको सुरुमै एउटा बुट देखाउँदै नैराश्यता व्यक्त गरे गोल्डस्टार जुत्ता उत्पादन गर्ने कम्पनी किरण शुज म्यानुफ्याक्चर्स प्रा.लि.का अध्यक्ष अमिर प्रताप जंगबहादुर राणाले । उनी रोकिएनन् । ‘म धेरै सार्वजनिक हुन चाहँदिन, पत्रकारहरुसँग पनि कुराकानी गर्न खासै चाहना राख्दिनँ तर बोलेपछि भने मनका सबै बहहरु पोखिहाल्छु, यस्ता अनगिन्ती ठक्करहरु त किरण शुजले कति भोगेको छ कति,’ उनले मुस्कुराउँदै थपे– ‘त्यसैले त हामी अहिले यो अवस्थामा आइपुगेका छौं, र देशकै ठूलो फुटवेयर उद्योग भनेर परिचित छौं ।’

नेपाली फुटवेयर उद्योगमा किरण शुज म्यानुफ्याक्चर एक अग्रणी र ट्रेण्ड सेटर कम्पनीको रुपमा स्थापित भएको छ । आजभन्दा तीन दशक अगाडि अर्थात् सन् १९९० तिर नेपालमा जुत्ता चप्पलको प्रयोग कमैले गर्थे । बजारमा विदेशबाट आयातित जुत्ता चप्पल थिए । नेपालको त्यो अवस्थालाई बुझेर विवेक लगाए पाल्पाका नुरप्रताप जंगबहादुर राणाले । उनले दुई जना अन्य साथीहरुको सहयोगमा हेटौंडामा हात्तीछाप चप्पल कारखाना खोले । राणालाई सुरुमै सन्तोष राठीले साथ दिए, पछि विरेन्द्र शाहले पनि लगानी गरे । अमिरका पिता स्वर्गीय नुरप्रताप जंगबहादुर राणाका लागि सुरुवाती दिनहरु निकै सकसपूर्ण रहे । चप्पल उद्योग तयार भयो, उत्पादन शुरु भयो तर चप्पलको फिनिसिङ्ग राम्रो आएन । चिटिक्क परेका विदेशी चप्पल लगाउने बानी परेका नेपालीहरुका सामू उनको हात्तीछाप चप्पलले बजार पाएन । तर, राणाले हरेश खाएनन् ।

बरु झन् सशक्त बन्दै अझै बढी मिहिनेत गर्न थाले । भारतबाट विकसित प्रविधि भित्र्याए । त्यसपछि चप्पलले राम्रो फिनिसिङ्ग पायो । हात्तीछाप चप्पल किन्नेहरुको उद्योगमै लाइन लाग्न थाल्यो । हरेक नेपालीको खुट्टामा हात्तीछाप चप्पल पुग्न थाले । ‘हात्ती बलियो कि हात्तीछाप चप्पल ?’ ‘उस्तै हो नानु’ बोलको रेडियो विज्ञापन हरेक नेपालीको मुखबाट सुनिन थाल्यो । यो परिवारले सन् १९७० देखि नै हो यस्तै हण्डर/ठक्कर र विविध झमेलाहरु झेल्नु परेको । त्यो सिलसिलाा अझैं रोकिएको छैन । अध्यक्ष राणा भन्छन्– ‘यस्तै अल्झनहरुले मलाई थप सशक्त बनाउँछ, बुबाले कर्मठ, लगनशीलता, जुझारुपन र मिहिनेत सिकाउनु भयो, आमाले संस्कार र अनुशासन सिकाउनुभयो, फुटवेयर मेरो प्यासन हो, म यो क्षेत्रमा काम गरेर कहिल्यै थाक्दिनँ ।’

गोल्डस्टार नेपालको ‘नम्बर वान’ फुटवेयर ब्राण्ड हो । गोल्डस्टार उत्पादक कम्पनी किरण शुज म्यानुफ्याक्चर्स प्रा.लि.लाई नेपाल सरकारले सबैभन्दा बढी निर्यात गर्ने कम्पनीको रुपमा र सबैभन्दा बढी रोजगारी दिने कम्पनीको सम्मान गरिसकेको छ । अहिले ९ वटा देशमा गोल्डस्टार निर्यात भइरहेको छ । कम्पनीका अध्यक्ष अमिरप्रताप राणा सरकारसँग अनुमति लिएर विभिन्न देशमा गोल्डस्टारका फ्याक्ट्रीहरु खोल्ने, गोल्डस्टारलाई ग्लोबल ब्राण्ड बनाउने र देशको डलर आम्दानी वृद्धिमा सहयोग पु¥याउने लक्ष्यका साथ अघि बढिरहेका छन् ।

राणाको हात्तीछाप चप्पल कारखाना आज देशको सबैभन्दा ठूलो फुटवेयर उद्योगका रुपमा परिचित भएको छ । फुटवेयर उद्योग अमिरप्रताप राणाको परिवारका लागि एक आदत बनिसकेको थियो । ‘कर्म गर फलको आशा नगर’ भन्ने सिद्धान्तमा उनको परिवार झुमिसकेको छ । हात्तीछाप चप्पलपछि किरण उद्योगले वि.सं. २०५० सालबाट गोल्डस्टारको उत्पादन सुरु ग¥यो । गोल्डस्टारको हालत पनि सुरुमा हात्तीछापको जस्तै भएको अध्यक्ष राणा सुनाउँछन् । तर, पछि फिनिसिङ्ग राम्रो बनेपछि सबैको रोजाइमा गोल्डस्टार जुत्ता परेको उनी बताउँछन् । ग्राहकको रोजाइमा गोल्डस्टार परे पनि विभिन्न समयमा किरण शुजले भोग्नु परेका समस्या र सकसहरु अमिरप्रताप राणाको दिमागमा अहिले पनि ताजै छन् ।

नेपाली व्यवसायीहरुले चीनबाट गोल्डस्टार जस्तै जुत्ता ल्याएर गोल्डस्टारको लोगो हालेर बिक्री गर्नेदेखि सस्तो र टिकाउ भएकाले माओवादी लडाकुले यो जुत्ता लगाएकै कारण तत्कालीन शाही सरकारले गोल्डस्टार जुत्ता बिक्रीमा बन्देज लगाउनेसम्मका दुःखद दिनहरु अमिरप्रतापको दिमागमा नमिठो छापका रुपमा बसेका छन् । ‘सुरुवातमा ग्राहकले जुत्ता/चप्पल मन नपराएर दुःख पाइयो, पछि बढी बिक्री भएपछि दुःख पाइयो, कति रातहरु बुबा घरमा आएर आमासँग रुनु हुन्थ्यो, बुबाले त्यतिबेला हरेश नखाएकै कारण आज गोल्डस्टार ग्लोबल ब्राण्ड बन्ने प्रयास गरिरहेको छ,’ अध्यक्ष राणाले विगत स्मरण गर्दै र भावी योजनाहरु सुनाउँदै भने ।

ग्लोबल ब्राण्ड बन्ने दौडमा

अहिले नेपाली सीमित वस्तु मात्रै विदेश निर्यात हुन्छन् । निर्यात भएर विदेशी बजार पनि कब्जा गर्ने तागत गोल्डस्टारले राखेको छ । कोरोनाअघिको समयमा गोल्डस्टारले भारतमा एक किसिमको बजार स्थापित गरेको थियो । अहिले पनि ‘रि–स्टाब्लिस’ हुने प्रयासमा
गोल्डस्टार छ । कुल उत्पादनको ५० प्रतिशत भारत निर्यात हुने अध्यक्ष राणा बताउँछन् । यो नै सबैभन्दा बढी जुत्ता चप्पल निर्यात गर्ने उद्योग बनेको छ । सन् २०१५ मा नेपालबाट सबैभन्दा बढी निर्यातबापत् सरकारले गोल्डस्टार उत्पादक किरण शुज म्यानुफ्याक्चर्स प्रा.लि.लाई उत्कृष्ट करदाताको रुपमा सरकारले सम्मानित गरेको थियो ।

सन् २०१५ मा उद्योगले करिब ७ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको थियो । जुन हालसम्मकै उच्च कारोबार हो । सोही वर्ष यो उद्योगले ३ अर्ब रुपैयाँको निर्यात गरेको थियो । उद्योगमा हालसम्म ४ अर्बको हाराहारीमा लगानी भएको उनको अनुमान छ । उद्योगले
दैनिक एक लाख जोर जुत्ता उत्पादन गर्दै आएको छ । करिब ३ हजारले रोजगारी दिएको किरण शुज उद्योग गत वर्ष सबैभन्दा बढीलाई रोजगारी दिने कम्पनीका रुपमा सम्मानित पनि भएको थियो । हाल भारतसँगै अष्ट्रेलिया, ओमान, कतार, जापान, अमेरिका, मलेसिया, साउदी र मोरक्कोमा गोल्डस्टार जुत्ता निर्यात हुन्छ ।

‘हामी अझै धेरै देशमा निर्यात गर्ने तयारी गरिरहेका छौं, कोभिडपछि धेरै व्यवसायलाई ‘रि–स्टाब्लिस’ हुन गाह्रो छ, धेरै देशको नीति परिवर्तन पनि भएको छ, हामीलाई अब सरकारको पनि साथ चाहिन्छ,’ राणा भन्छन्– ‘म सबैभन्दा बढी मानिसलाई रोजगारी दिने, उच्च करदाता बन्ने र गोल्डस्टारलाई ग्लोबल ब्राण्ड बनाउने प्रयासमा छु ।’ ग्लोबल ब्राण्ड बनाउनका लागि यसमा सरकारको महत्वपूर्ण साथ चाहिने उनी बताउँछन् । नेपाली जुत्ताका लागि अमेरिकाले ३७.५ प्रतिशत ‘ड्युटी ट्याक्स’ लगाउँछ । कर अवरोध हटाउन धेरै व्यक्ति तथा निकायसँग छलफल भइरहेको उनी सुनाउँछन् ।

नेपाली उद्यमीले विदेशमा लगानी गर्न, उद्योग खोल्न, उत्पादन गर्न पाउने नीति सरकारले बनाउनु पर्ने उनको भनाइ छ । ‘सरकारले अनुमति दियो भने म भोलि नै भारतमा उद्योग खोल्न जान्छु, भारतमा जुत्ताको धेरै ठूलो बजार छ’ उनले भने– ‘नाफा नेपालमै आउने हो,
अब नीति परिवर्तन हुनुपर्छ, हामीले हाम्रो नीति मात्रै हेरेर हुँदैन, विदेशी अर्थात् हामी जस्तै देशले अवलम्बन गरेको नीति हेरेर पनि हाम्रो नीति बनाउन सक्छौं, लगानी बाँधेर हुँदैन ।’ उद्यमी जस्तै नीति निर्माता पनि समयअनुसार चल्नु पर्नेमा उनले जोड दिए । ‘समयअनुसार चल्न नसक्नेहरु पछि पर्छन्, हराउँदै जान्छन्’ उनले भने ।

सबैको एउटै रोजाइ ‘गोल्डस्टार’

समयक्रमसँगै सहज, सस्तो र टिकाउ यसको अर्को महत्वपूर्ण विशेषता हो । त्यसैले पनि अहिले गोल्डस्टार जुत्ता सबैको मन मस्तिष्कमा बस्न सफल भएको छ । गोल्डस्टारले समयलाई बुझ्छ । मान्छेहरुको रोजाइलाई बुझ्छ । र, यसले मार्केटिङ्ग गर्न जान्दछ । अध्यक्ष राणा भन्छन्– ‘यो उद्योग एउटा इनोभेसन हो, तीन/तीन महिनामा फेसन परिवर्तन हुन सक्छ, वस्तुको ब्राण्डिङ र मार्केटिङ्ग गर्न सक्नुपर्छ, त्यससँगै एउटा जुत्ताले मान्छेको चाहना, इच्छा र आकांक्षा पुरा गर्न सक्नुपर्छ ।’

त्यसैले त अहिले गोल्डस्टार बच्चादेखि वृद्धहरुको रोजाइ बनेको छ । उद्योगपतिहरु यसको खुलेर प्रशंसा गर्न रुचाउँछन् । ट्वाइलेट जाँदा लगाउने चप्पलदेखि पार्टीमा जाने जुत्तासम्म गोल्डस्टार नै हुन्छ । ‘बिहान उठेर ओछ्यान छोड्दा लगाउनेदेखि राती सुत्न जानुभन्दा अगाडि लगाउने सबै जुत्ता चप्पल गोल्डस्टारले नै उत्पादन गर्छ, गोल्डस्टार मानिसको जीवनशैलीसँग जोडिएको छ,’ उनले भने । ‘मान्छे आफ्नो लक्ष्य भेटाउनका लागि लाग्नु पर्छ, लगाव झुकाव हुनुपर्छ ।

धेरै उद्यमीहरु लगानीको विविधीकरणमा जोड दिन्छन् । तर, अमिरले लगानीलाई एकीकृत गर्दै लगेका छन् । औषधि उद्योग, ग्यास उद्योग, सिनेमा हललगायत धेरै कम्पनीमा गरिएको लगानी उनले झिकेका छन् । र, गोल्डस्टार कम्पनीको १०० प्रतिशत सेयर आफ्नो स्वामित्वमा लिएका छन् ।

‘हुन त मैले धेरै गर्न सकिरहेको छैन तर पनि अझै गोल्डस्टारको प्रतिस्पर्धी नेपालमा छैनन्, म फुटवेयरको व्यवसाय गर्ने साथीहरुलाई मिहिनेत गर्नुस्, लागि रहनुस् भन्छु, उहाँहरुको मिहिनेत भएन भने मेरो पनि उर्जा घट्छ, उहाँहरुले राम्रो ग¥नुभयो भने प्रतिस्पर्धी आयो भनेर म पनि राम्रो गर्छु, बजार आफै राम्रो हुन्छ,’ उनी भन्छन्, ‘तर, अझै पनि प्रतिस्पर्धी देख्दिँन, चाइनाबाट जुत्ता ल्याएर नेपालमा प्रदर्शनी गरेर देश बन्दैन ।’ उनी नेपाली फुटवेयर उद्योगमा धेरै सम्भावना भएको सुनाउँछन् । फुटवेयर उद्योगमा धेरै सम्भावना भएकै कारण धेरैले रोजगारी पाउन सक्ने उनी बताउँछन् । कुमारी बैङ्कका अध्यक्ष समेत रहेका राणा अहिले सबै व्यवसायबाट व्याक भएर फुटवेयर र बैङ्कमा मात्रै लागेका छन् ।

कुमारी बैङ्कमै ६ वर्ष काम गरेकी राणाकी श्रीमती विदुषी राणा उद्योगको म्यानेजिङ्ग डाइरेक्टरका रुपमा काम गरिरहेकी छिन् । अहिले यही दम्पत्ति गोल्डस्टारलाई ग्लोबल ब्राण्ड बनाउन तम्सिएको छ । अध्यक्ष राणा भन्छन्, ‘फुटवेयर मेरो आदत बनिसकेको छ, म यो क्षेत्र छोडेर बाहिर जान सक्दिन, बाहिर हुँदा टाउको दुख्यो भने म अफिस आउँछु, अफिस आएपछि आफै ठीक हुन्छ, औषधि नै खानु पर्दैन, यो क्षेत्र मेरो लागि प्यासन भइसक्यो, अब जे गर्छु यही क्षेत्रमा गर्छु ।’ धेरै उद्यमीहरु लगानीको विविधिकरणको कुरा गर्छन् । तर, अमिरले लगानीलाई एकीकृत गर्दै लगेका छन् ।

औषधि उद्योग, ग्यास उद्योग, सिनेमा हल लगायत धेरै कम्पनीमा गरिएको लगानी उनले झिकेका छन् । र, गोल्डस्टार कम्पनीको १०० प्रतिशत सेयर आफू र आफ्ना परिवारको स्वामित्वमा लिएका छन् । कुमारी बैङ्कका अध्यक्ष समेत रहेका राणा पछिल्लो मर्जसँग कुमारी बैङ्कलाई टप फाइभमा पु¥याउन सफल भएकोमा खुसी छन् । उनको प्यासन, उनको फोकस ‘गोल्डस्टारलाई ग्लोबल ब्राण्ड बनाउने’ मा केन्द्रीत छ ।

(देशविकास पत्रिकाको  वर्षअङ्क बाट)

सम्बन्धित सामग्री :

विजय राजभण्डारी अर्थात् निर्माण क्षेत्रका पायोनियर

म अघिअघि पैसा पछिपछि, ‘दुई वर्षभित्रै उत्कृष्ट करदाता बन्छु’

मोफसलबाट उठेर राष्ट्रिय उद्योगपति

‘सक्रिय व्यवसायिक जीवनबाट विश्राम लिन्छु, वास्तविक किसान बनेर देशलाई आत्मनिर्भर बनाउँछु’

नवीन शर्मा: १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म

जसले नेपालमा केबलकार क्रान्ति ल्याए

गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ

सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’

अर्बपति सन्यासी, पोल्ट्रीका फादर

चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा

हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X