मोफसलबाट उठेर राष्ट्रिय उद्योगपति

  २०७९ माघ ३ गते १०:४५     विकासन्युज

काठमाडौं । अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक राजेश अग्रवाल भैरहवा– बुटवल क्षेत्रबाट उदाएका राष्ट्रियस्तरको उद्योगी हुन् । उनको कर्मथलो भैरहवा बुटवल क्षेत्र नै हो । काठमाडौं उपत्यका नआई ठूला उद्योग चलाएर राजधानीमा बलियो उपस्थिति जनाउन सफल उद्यमी पनि हुन् उनी । व्यापार र सेवा क्षेत्रभन्दा उद्योग क्षेत्र बढी जोखिमपूर्ण मानिन्छ नेपालमा । तर, अग्रवाल यस्ता उद्योगी हुन् जसले उद्योगमा मात्र लगानी गरेका छन् । अर्घाखाँची सिमेन्ट, श्री स्टील, एशियन कंक्रिटो, मिलानो जुत्ता चप्पल उनको ठूला उद्योग हुन् । त्यस्तै, तेज ब्राण्डको तोरीको तेल, नमस्ते ब्राण्डको भटमासको तेल, सनफ्लावर तेल, पाम आयल उत्पादन गर्दै आएका छन् । मिनरल वाटर बोतल लगायत औद्योगिक प्याकेजिङ सामाग्रीको उद्योग पनि उनले चलाइरहेका छन् । ती उद्योगमा प्रत्यक्ष रुपमा करिब १८०० जनाले रोजगारी पाएका छन् । अप्रत्यक्ष रुपमा २५०० सयभन्दा बढीले रोजगारी पाएका छन् । ‘मलाई रोजगारी सिर्जना गर्न सक्ने क्षमता भगवानले दिएका छन्’ उनले गौरवका साथ सुनाए ।

नेपालका धेरै व्यवसायीले उद्योगलाई भन्दा व्यापार वा सेवा क्षेत्रलाई प्राथमिकतामा राखेको पाइन्छ । राजेश अग्रवालले उद्योग क्षेत्रमा मात्र लगानी गरेका छन् । ‘जानेको काम गर्ने हो । जुन क्षेत्रमा सफलता मिलेको छ, त्यसमा विस्तार गर्दै जाने हो,’ उनले भने । अग्रवालले फेरि पनि उद्योगलाई नै प्राथमिकतामा राखेका छन् । ‘नेपालको अर्थतन्त्र आयातमुखी छ । आयातलाई विस्तापित गर्न उद्योग स्थापित हुनुपर्छ । त्यसैले म उद्योग क्षेत्रको भविष्य पनि राम्रो देख्छु’ उनले भने– ‘नेपालीको लागि आवश्यक वस्तु उत्पादन गरेर आयातलाई विस्थापित गर्न सकियो भने त्यो पनि देशको लागि ठूलो सेवा हो, मेरो समर्पण यसैमा हुनेछ ।’

उद्योगमा मात्र लगानी किन गरेको, किन सेवा वा व्यापार क्षेत्रमा लगानी नगरेको भनेर राजेशका मित्रहरुले चासो चिन्ता पनि जाहेर गर्छन् । उद्योग क्षेत्रमा मात्र लगानी केन्द्रीत गर्दा जोखिम बढी हुन्छ भन्ने पनि छ । तरपनि उनले उद्योग क्षेत्रमा मात्र लगानी गरेका छन् होटल, हस्पिटल, टेलिकम जस्ता सेवामा पनि ठूलो बिजनेशको स्कोप छ, तर त्यसमा मेरो अनुभव छैन, विज्ञता नभएको क्षेत्रमा लगानी गर्नु जोखिमपूर्ण ठान्छु,’ उनले भने– ‘मैले उद्योग क्षेत्रमा नै विविधीकरण गरेको छु ।’

पुस्तान्तरणसँगै धेरै व्यावसायिक घरानाको व्यवसाय र प्रकृति पनि फेरिएको छ । हजुरबा उद्योगी थिए भने बढी नाफाको खोजीमा छोराछोरी व्यापार वा सेवा क्षेत्रमा लागेको पाइन्छ । नाति पुस्ता त सूचना प्रविधिको क्षेत्र हुँदै व्यापारको भूमण्डलिकरणतिर लम्किरहेको पाइन्छ । विदेशमा व्यापार गराउन छोरा छोरीलाई अर्को देशको नागरिक बनाउने र नेपाली नागरिकता नै त्याग्न लगाउने व्यापारी पनि छन् । तर राजेशको छोरा शोमेश अग्रवाल पनि उद्योगमा् जमिसकेका छन् । ‘मेरो हजूरबुवाले पनि उद्योग चलाउनु भयो, मेरो बुबाले पनि राइस मिल, मैदा मिल, सह–मिल चलाउनु भयो, मैले ठूला र राष्ट्रिय स्तरको उद्योगमा लगानी गरे, छोराले पनि श्री स्टीलको नेतृत्व गरिरहेको छ’ उनले भने ।

महामारीले बजार संकूचित भएको र अर्थतन्त्र सङ्कटमा रहेको अवस्थामा पनि राजेश अग्रवालका कम्पनीहरुले वार्षिक २० अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्दै आएका छन् । अर्घाखाँची सिमेन्ट उद्योग खोलेपछि उनी राष्ट्रियतरको व्यवसायी बने, जब क्लिङकर खानीसहितको उद्योग लगानी गरे । धेरै उद्योगमा उनी कार्यकारी भूमिकामा छन् । ‘सबै उद्योगमा प्रत्यक्ष निगरानी गर्दै आएको छु, सबै उद्योगमा आफै पुग्छु’ उनले भने– ‘अब कम्पनीको मोडल परिवर्तन गर्दैछु, पहिला एकल स्वामित्वका कम्पनी चलेका थिए, पछि पार्टरसिप मोडल फस्टायो, अब पब्लिक कम्पनी बनाउनुपर्छ, नाफा धेरैमा वितरण गर्ने अभ्यासले राम्रो हुन्छ, पब्लिक कम्पनी भएपछि कर्मचारी पनि बढी जिम्मेवार हुन्छन्, उनीहरुले पनि बढी लाभ पाउँछन् ।’

नयाँ योजना

राजेश अग्रवालले तत्कालका लागि नयाँ योजनाको तयारी त गरेका छैनन् तर अवस्था सामान्य हुने बित्तिकै ठूला परियोजनामा हात हाल्ने उनको सोच रहेको छ । ‘अहिले तत्काल नयाँ उद्योग खोलिँदैन, भएका उद्योग बचाउन कठिन भैरहेको छ,’ उनी भन्छन्– ‘हरेक देशमा दजनसंख्या बढिरहेको हुन्छ, प्रतिव्यक्ति आम्दानी बढिरहेको हुन्छ, देशको जीडीपी बढिरहेकोे हुन्छ, ४ प्रतिशतले जीडीपी बढेको छ भने ८ प्रतिशतले उपभोग बढिरहेको हुन्छ । त्यस्तै मूल्यवृद्धि जोडिएर आएको हुन्छ, यस हिसावले बजार विस्तार हुन्छ भन्ने विश्लेषणको आधारमा उद्योग ल्याएका हुन्छौं, नेपाल जस्तो देशमा हरेक वर्ष बिजनेशन ग्रोथ १८/२० प्रतिशत हुनुपर्छ भन्ने हाम्रो मान्यता हुन्छ, तर पछिल्लो समय कोडिभ महामारी, तरलताको अभाव, उच्च व्याजदर वृद्धिले गर्दा बजारमा मागको कमी आएको छ, निर्माण क्षेत्र नराम्ररी प्रभावित भएको छ, जुत्ता, कपडाको बजारमा मध्यम स्तरको प्रभाव रहेको छ, खाद्यान्यमा कम असर छ, यो अवस्थामा नयाँ उद्योग ल्याउन सकिँदैन ।’

मोफसलबाट उदाएका व्यवसायी राजेश अग्रवालले उत्पादनमूलक क्षेत्रमा मात्र लगानी गरेर पनि सफल हुन सकिन्छ भन्ने ट्रेण्ड सेट स्थापित गरेका छन् । अर्घाखा“ची सिमेन्ट, श्री स्टील, एशियन कंक्रिटोजस्ता ठूला उद्योग स्थापनापछि राष्ट्रिय स्तरको उद्योगपतिको छवि बनाएका अग्रवालले सिमेन्ट र स्टील भारतमा निर्यात थालेर नेपाली अर्थतन्त्रमा नयाँ आशाको ज्योति बालेका छन् ।

‘अवस्था राम्रो थियो भने पूर्वी नेपालमा नयाँ सिमेन्ट उद्योग लगानी गर्ने सोचमा थियौं, फलाम खानी खोजिरहेका छौं,’ उनले भने– ‘पहिला डण्डी आयात गर्दथ्यौ, पछि बिलेट आयात गरेर नेपालमा डण्डी बनाउन थाल्यौं, अहिले स्पञ्ज आइरन र स्क्र्याप आइरन आयात गरेर बिलेट नै नेपालमा उत्पादन थालेका छौं, भविष्यमा हामीले फलाम खानीको खोजी गर्ने, स्पञ्ज आइरन पनि नेपालमै बनाउने काम गर्न सक्छौं, त्यसले देशको परनिर्भरता कम गर्छ ।’

डण्डी आयात हुँदा १०० रुपैयाँ विदेश जान्थ्यो भने बिलेट आयात गर्दा ८५ रुपैयाँ विदेश जान्थ्यो, स्पञ्ज आइरन आयात गर्दा ७० रुपैयाँ विदेश जान्छ । अब नेपालमा नै खानी पायौं, नेपालमै स्पञ्ज आइरन उत्पादन गर्न सक्यौं भने कोइला मात्र आयात गरे पुग्छ, ७० रुपैयाँ मात्र आयातमा खर्च हुन्छ । हामी उद्यमीले देशलाई कसरी आत्मनिर्भर बनाउने भनेर सोच्नुपर्छ । घर घरमा बिजुलीबाट खाना पकाउन थाल्यौं भने एलपी ग्यास किन चाहियो, किन आयात गर्नुप¥यो ?

नेपाली उद्यमीहरुले पहिले आयातलाई कसरी प्रतिस्थापन गर्ने भनेर सोच्नु पर्ने र त्यसपछि निर्यात वृद्धिमा ध्यान दिनुपर्ने उनको विचार छ । ‘अहिले हामीले अर्घाखाची सिमेन्ट, श्री स्टील निर्यात गर्न थालेका छौं, यो शुरुवात मात्र हो, भारतमा हामीले हाम्रो ब्राण्ड स्थापित गर्न समय लाग्छ, त्यहाँका उपभोक्तामा ब्राण्ड कन्सस्नेश बढी छ । ब्राण्ड स्थापित भएपछि मात्र ठूलो मात्रामा निर्यात गर्न सकिन्छ । सरकारले पनि निर्यात प्रोत्साहनको लागि सकारात्मक सोच राखेको छ ।’

पछिल्लो आर्थिक सङ्कटले अरु व्यवसायीको जस्तै उनको पनि मनोबल भने गिरेको रहेछ । ‘सपना धेरै थिए, तर पछिल्ला वर्ष अर्थतन्त्र सङ्कटमा छ, आयात नै बढेको छ । निर्यात कम भएको छ, अर्थतन्त्रमा उत्पादनमूलक क्षेत्रको योगदानको हिस्सा घट्दै गएको छ, १ रुपैयाँको निर्यात गर्दा ११ रुपैयाँको आयात भैरहेको छ, बैङ्कले कर्जा दिँदा पनि उद्योग, व्यापार, सेवा क्षेत्रमा एउटै व्याजदर राखिएको छ, आयातमुखी अर्थनीतिलाई निर्यातमुखी बनाउने दिशामा काम भएको छैन’ उनले वर्तमान अवस्थाको वर्णन गरे ।

‘भारतमा १०० करोडमा खोल्न सकिने उद्योगको लागत नेपालमा १२५ करोड परिरहेको छ, भारतमा उद्योगले ८ प्रतिशत व्याजमा कर्जा पाइरहेको छ भने नेपालमा १४ प्रतिशत व्याज तिर्नुपरेको छ, भारत र चीनका उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकोले हाम्रो लागत कसरी कम गर्न सकिन्छ भनेर सोच्नुपर्नेछ,’ उनी भन्छन्– ‘भारत र चीनबाट आयत हुने सामानमा २५ प्रतिशत भन्सार कर लगाउँदा पनि नेपाली वस्तु भन्दा विदेशी वस्तु सस्तो पर्ने अवस्था रहेको छ ।

व्यवसायी र सरकारको भूमिका

उद्योग व्यापारमा जमेका व्यवसायीहरुमा राजनीतिक प्याँस जाग्दै गएको छ । संसदमा व्यावसायिक पृष्ठभूमि भएको सांसदहरुको संख्या बढ्दो छ । तर राजेश अग्रवाललाई राजनीतिमा जाने इच्छा छैन । ‘राष्ट्रसेवा गर्नको लागि राजनीति गर्नुपर्छ वा सरकारी पैसा खल्तीमा हाल्ने काम गर्नुपर्छ भन्ने छैन’ उनी भन्छन्– ‘तर व्यवसायी साथीहरु जो संसदमा पुग्नु भएको छ, उहाँहरुले आर्थिक विकासलाई बढवा दिने, उद्योग व्यवसायलाई प्रोत्साहित गर्ने नीति निर्माणमा सकारात्मक भूमिका खेल्नुहुनेछ, त्यसले देशमा व्यावसायिक वातावरण बनाउन मद्दत गर्नेछ ।’

सरकारको नीति र सरकारी सेवा कस्तो हुनुपर्छ भन्ने विषयमा उनले अर्को उदाहरण सुनाए । ‘सन २०१० मा म हङ्कङ् पुगेको थिए बहिनीकोमा, बिहान ६ बजे घरमा पुगेँ, ९ बजेतिर एउटा डाक्टर र एक जना नर्स घरमा आए, म झसङ्ग भए । यहाँ के भइरहेको छ ? कोही बिरामी छ कि भनेर मैले बहिनीलाई सोधेँ । बहिनीले भनि – ‘आज बच्चाको खोप लगाउने दिन हो, त्यसैले डाक्टर नर्स गाडी लिएर, खोप, औषधि लिएर घरमा आएका हुन् ।’ त्यहाँ के रहेछ भने बच्चा जन्मिएको हरेक घरमा सरकारले खोपसहित डाक्टर नर्स घरमा पठाउँदो रहेछ । जसको घरमा बच्चा जन्मिए पनि त्यो देशको बच्चा हो, भोलि देश बनाउने उसैले हो, ऊ स्वस्थ, बुद्धिमान, चतुर भयो भने देशलाई लाभ हुन्छ । पछि यो बच्चा रोगी भयो, लुलो–लंगडाे भयो भने देशलाई भार हुन्छ, देशको नोक्सान हुन्छ भन्ने सोचेको रहेछ सरकारले ।

हामीले जति उद्योग स्थापना गरिरहेका छौं, ठूला भवन, महल बनाइरहेका छौं, होटल बनाइरहेका छौं, त्यो सबै यही देशका लागि हो, समाजको लागि हो । हामी मरेर जान्छौं तर ती सम्पत्ति यही भूमिमा रहिरहनेछन् ।

‘हामीले जति उद्योग स्थापना गरिरहेका छौं, ठूला भवन, महल बनाइरहेका छौं, होटल बनाइरहेका छौं, त्यो सबै यहि भूमिमा रहिरहने छ, तपाईं हामी मरेर जान्छौं, सम्पत्ति सबै देशको लागि हो, समाजको लागि हो’ उनले भने । ‘हामी २००८ मा अमेरिकातिर घुम्न गएका थियौं । हर्षिस ब्राण्डको चकलेट उद्योगमा पुगेका थियौं । त्यो धेरै ठूलो उद्योग रहेछ । ५० हजारभन्दा बढीले रोजगारी पाएका रहेछन् । मैले सोधे– यो उद्योग कसको हो ? उहाँहरुले भन्नु भयो कि त्यो उद्योगका मालिक, उनको परिवारका सदस्यहरु सबै बिते, अब कोही पनि छैनन्, त्यो उद्योग ट्रष्टको रुपमा चलेको छ ।’

‘नयाँ नयाँ उद्योग खोल्दै आएका छौं, हामीले सम्पत्ति सिर्जना गर्ने हो, केयर गर्ने हो, राष्ट्र निर्माणमा सहयोग गर्ने हो, यो सबै सम्पत्ति राज्यको हो’ उनले भने– ‘उद्यमी भनेको सम्पत्तिको केयरटेकर मात्र हो, राष्ट्र निर्माणको अभियान हो ।’ प्रकृतिले असाध्यै धनी देश हो नेपाल । यो देश विकासको लागि आवश्यक पूर्वाधार निर्माण हुन सकेको छ । आधुनिक तरिकाको मोटरबाटो, पुल, सुरुङमार्ग लगायतका पूर्वाधार निर्माणमा ठूलो लगानी आवश्यक छ । अहिलेको भैरहवाबाट पोखरा जाँदा ६ घण्टा लाग्छ । अब तीन घण्टामा पुग्ने गरि सिधा सुरुङमार्ग कसरी बनाउने भनेर सोच्नुपर्छ ।

जसरी नागढुंगामा सुरुङ मार्ग बन्दैछ, हेटौडा–काठमाडौं सुरुङ मार्गको सोच आएको छ, यस्ता पूर्वाधार बने भने नेपाली उद्योगको उत्पादन लागत कम हुन्छ । बजारीकरण सजिलो हुन्छ । त्यसले उद्यमशीलताको विकासमा ठूलो योगदान गर्छ । ‘यस्तो परियोजना निर्माण सरकारबाट मात्र सम्भव छैन, सरकार र निजी क्षेत्र मिलेर यस्ता पूर्वाधार निर्माण गर्नुपर्दछ, जसले १००/२०० वर्ष पछिका पुस्ताले पनि लाभ लिन सकून्’ अग्रवालले भने ।

(देशविकास पत्रिकाको  वर्षअङ्क बाट)

सम्बन्धित सामग्री :

‘सक्रिय व्यवसायिक जीवनबाट बिश्राम लिन्छु, वास्तविक किसान बनेर देशलाई आत्मनिर्भर बनाउँछु’

नवीन शर्मा: १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म

जसले नेपालमा केबलकार क्रान्ति ल्याए

गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ

सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’

अर्बपति सन्यासी, पोल्ट्रीका फादर

चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा

हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X