विजय राजभण्डारी अर्थात् निर्माण क्षेत्रका पायोनियर

  २०७९ माघ ५ गते १२:३३     सन्तोष रोकाया

 काठमाडौं । न्यूरोडकोे एउटा साँघुरो गल्ली । त्यो गल्लीभित्र एउटा सानो कोठा । कोठाभित्र तीन वटा कुर्सी र एउटा टेबल । यो दृश्य विजय राजभण्डारीको मानसपटलमा अझैँ ताजै छ । ३० वर्ष अगाडि यसरी स्थापना भएको सीई कन्स्ट्रक्सनको अहिले काठमाडौंको मुख्य क्षेत्र त्रिपुरेश्वरमै आफ्नै भव्य भवन । मासिक करोडौंको कारोबार । डोरम्यानदेखि चेयरम्यानसम्म आ–आफ्नै काममा व्यस्त । काम गर्न भ्याइनभ्याई । ‘अरु काम भएन भन्छन्, काम लिन बजारमा प्रतिस्पर्धा गरिरहेका हुन्छन्, हाम्रोमा भने यो प्रोजेक्ट तपाईंहरुले नै बनाइदिनु प¥यो भनेर आउने धेरै हुन्छन्’ राजभण्डारी भने । ठिक एक वर्षअघि २०७८ पुसमा विकासन्युजमा प्रकाशित अन्तरवार्तामा उनले भनेका थिए– ‘अरुहरु बैङ्कले कर्जा दिएनन् भन्छन्, हामीलाई बैङ्कले बोलाएर कर्जा लैजानुहोस् भन्छन् ।’

कम्पनीका अध्यक्ष राजभण्डारी भन्छन्, ‘दिनहरु फेरिए, समय फेरियो, कम्पनीमा काम गर्ने कर्मचारीहरु फेरिए तर कर्मचारीहरुको मिहिनेत फेरिएन, सबैले आफ्नै कम्पनी भएको महसुस गर्दै काम गर्नुभयो, हामी झन् सशक्त भएर लागि रह्यौं, सबैको मिहिनेत, लगाव र झुकावले सीई कन्स्ट्रक्सन आज देशकै गर्व गर्न लायक कम्पनीका रुपमा स्थापित छ, मलाई पनि यसमै गर्व छ ।’ ६ जना मिलेर ५०/५० हजार रुपैयाँ गरेर ३ लाख रुपैयाँ जम्मा गरी स्थापना भएको यो कम्पनी अहिले दैनिक करोडौंको कारोबार गर्छ । सबैले पत्याउने मात्रै होइन, सबैले अनुसरण गर्ने काम गरेर निर्माण क्षेत्रमा आफ्नो हिस्सा फैलाउँदै गएको छ । नेपाली निर्माण क्षेत्र, हाउजिङ क्षेत्र र जलविद्युत् क्षेत्रमा एक ‘ट्रेण्ड सेटर’ कम्पनीका रुपमा सीई कन्स्ट्रक्सन परिचित छ । जसको नेतृत्व गरिरहेका छन् उनै विजय राजभण्डारी ।

काठमाडौंको बसन्तुपरमा वि.सं.२०१६ सालमा जन्मिएका राजभण्डारी पढाई र पेशाले इञ्जिनियर हुन् । प्लसटुमा विज्ञान विषय पढेका उनले भारतको जबलपुर विश्वविद्यालयबाट सिभिल इञ्जिनियरिङ गरे । उनले पुल्चोक इञ्जिनियरिङ कलेजमा लेक्चरका रुपमा पनि काम गरे । पछि अमेरिका गए । त्यहाँ पनि एउटा कम्पनीमा कन्स्ट्रक्सन म्यानेजरका रुपमा काम गरे । निर्माण क्षेत्रका विषयमा धेरै कुरा सिकेपछि उनी नेपाल फर्किए । अनि सन् १९९२ मा खोले सीई कन्स्ट्रक्सन । ‘म त्यतिखेर नेपालमा जस्तोसुकै राम्रो जागिर पाउन सक्थेँ तर आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने मानसिकता ममा थियो, सुरुमा ५ लाख रुपैयाँमा एउटा कामको ठेक्का लियौं, निर्माण सम्पन्न हुँदा ७ लाख रुपैयाँ लाग्यो, काम तोकिएको समयभन्दा अगाडि नै सकायौं तर कम्पनीलाई २ लाख रुपैयाँ घाटा भयो,’ सीई कन्स्ट्रक्सनले सुरुमा गरेको प्रोजेक्टको कामलाई स्मरण गर्दै उनी भन्छन्– ‘तर, हामीले हरेश खाएनौं, काम गर्न सकिन्छ भन्ने आत्मबल थियो, धैर्यतापूर्वक अगाडि बढ्यौं ।’

हुन त त्यतिखेर पनि देशमा हजारौं कन्ट्याक्टर थिए । त्यो भीडमा पृथक काम गर्ने योजनाका साथ ‘डी क्लास’को कम्पनी स्थापना गएर निर्माण क्षेत्रमा प्रवेश गरेका थिए विजयले । जुन प्रोजेक्टमा हात हाल्यो त्यसलाई समयमै सक्ने र गुणस्तरीय बनाउनुपर्छ भन्ने योजनाका साथ उनी लागे । विदेशी प्रविधिलाई भित्र्याएर समयमै काम सम्पन्न गरी क्लाइन्टलाई खुसी बनाउन सके बजार आफै बन्छ भन्ने सोच उनमा थियो । ‘देश विकासको लागि निर्माण क्षेत्रको भूमिका ठूलो हुन्छ, विकास निर्माणको कामले आर्थिक गतिविधि बढ्छ, त्यसले आर्थिक वृद्धिदर बढाउन मद्दत गर्छ, नेपालमा निर्माण क्षेत्रको सम्भावना पनि धेरै छ, त्यसैले पनि मैले निर्माण क्षेत्रलाई रोजेँ, उनले कन्ट्रक्सन क्षेत्र रोज्नुको कारण प्रष्ट्याउँदै भने ।

उनी निर्माण क्षेत्र विकासको मेरुदण्ड भएको बताउँछन् । ‘निर्माण क्षेत्रले सबै क्षेत्रलाई जोड्छ, हाइड्रोपावरमा कन्ट्याक्टरले समयमा काम नगरेर परियोजना निर्माण ढिलाई हुन्छ, ढिला भयो भने धेरै घाटा हुन्छ, आफैले लगानी गरेको परियोजना छिटो सकिन्छ, समयमै सकेपछि त्यसको सेयर मूल्यमा पनि एक किसिमको आकर्षण हुन्छ, डेभलपर र कन्ट्याक्टर आफै भएपछि धेरै फाइदा हुन्छ, उनी भन्छन्–‘डेभलपर र कन्ट्याक्टर आफै भएकोले पनि हामीलाई काम गर्न धेरै सहज भयो ।’

सीई कन्स्ट्रक्सन एक ‘टेण्डसेटर’

तीन दशक अगाडि नेपालको निर्माण क्षेत्र खासै विश्वास गर्न लायक थिएन, क्षमता र कामको गुणस्तरिताको हिसावले । प्राइभेट क्षेत्रको ठूलो भवन बनाउनु प¥यो भने विदेशी कन्ट्याक्टरले काम पाउँथे । तर, सोही समय निर्माण क्षेत्रमा प्रवेश ग¥यो सीई कन्स्ट्रक्सन । सुरुमा राजभण्डारीले आफ्नै चार तले घरको निर्माण ६ महिनाभित्रै सम्पन्न गरेर देखाइदिए ।

समयभित्रै गुणस्तरीय निर्माण कार्यका लागि परियोजनाका लगानीकर्ताहरु सीई कन्स्ट्रक्सनलाई नै काम दिन चाहन्छन् । धेरै निर्माण व्यवसायी नयाँ काम पाउनका लागि बजारमा प्रतिस्पर्धा गर्दै गर्दा सीई ग्रुपलाई भने काम भ्याई–नभ्याई छ । बैंकले कर्जा दिएन भनेर अरु व्यवसायी छट्पटाइरहँदा सीई ग्रुपलाई बैंकले बोलाएर कर्जा दिन्छन् । बजारले यसरी पत्याउनु नै उद्यमीको ठूलो उपलब्धि ठान्छन् विजयराज भण्डारी ।

सीई कन्स्ट्रक्सनले विदेशबाट नयाँ प्रविधि भित्र्यायो । त्यो प्रविधिको विषयमा क्लाइन्टलाई बुझाउन सक्यो । अहिले धेरै निर्माण कम्पनीलाई काम पाउन सकस छ तर सीई कन्स्ट्रक्सनलाई भने काम गर्न भ्याइनभ्याई छ । रोजेर मात्रै काम लिन्छ । ‘नेपाली कन्ट्याक्टरले पनि गुणस्तर काम दिन सक्छ र समयमै सकाउन सक्छ भन्ने सन्देश दिन सफल भयौं, सुरुमा विदेशी प्रविधि ल्यायौं, अन्यले पनि त्यसको सिको गर्दै गए, आज ठूल्ठूला निजी भवन निर्माणमा नेपाली कन्ट्याक्टर मात्रै छन्, यसमा हामी गर्व गर्छौं,’ राजभण्डारी भन्छन् ।

नेपालका सबैभन्दा ठूला अपार्टमेन्ट सीई कन्स्ट्रक्सनले नै निर्माण गरेको छ । ग्राण्डी टावर, थापाथली हाइट लगायत एक दर्जन ठूला अपार्टमेन्टहरु सीई समूहले बनाएको छ । केही वर्षअघि नेपाली कम्पनीहरुले ठूला हाइड्रोपावर निर्माणको जिम्मा पाउँदैनथे । तर, सीई कन्स्ट्रक्सनले प्रयोग गर्ने प्रविधि, समयमै सक्ने क्षमता र गुणस्तरीय कामकै कारण धेरैले पत्याउन थाले । सीई कन्स्ट्रक्सन नै पहिलो नेपाली कम्पनी हो जसले ८६ मेगावाटको जलविद्युत आयोजना तोकिएका समयभित्रै निर्माण सम्पन्न ग¥यो । त्यो पनि विदेशी कन्ट्याक्टरको संलग्नताविनै । नेपालीले मात्र बनाएको यो नै सबैभन्दा ठूलो जलविद्युत् योजना थियो ।

‘सुन्नेलाई शब्द जस्तो मात्रै लाग्छ, त्यसको पछाडि कति ठूलो मिहिनेत छ, कति ठूलो सङ्घर्ष छ, त्यो काम गर्नेलाई मात्रै थाहा हुन्छ, नेपाली निर्माण क्षेत्र, रियलस्टेट र जलविद्युतमा हामी ट्रेण्ड सेटर नै हो,’ अध्यक्ष राजभण्डारीले दावीका साथ भने । हाइड्रोपावरमा ५०० मेगावाट भन्दा बढीका परियोजना नेपालीले नै गर्न सक्छ भनेर अब सीई समूहले काम गरेर देखाउने उनी बताउँछन् । सन् २०३० सम्म १ हजार मेगावाट उत्पादन गर्ने कम्पनीको लक्ष्य रहेको उनी सुनाउँछन् । त्यसका साथै स्याटेलाइट सिटीको अवधारणासँगै विदेशी लगानी बढी ल्याउने कम्पनीका रुपमा आफूलाई स्थापित गर्ने योजना सीई समूहको छ । यस विषयमा अहिले उनले धेरै निकाय तथा व्यक्तिसँग छलफल गरिरहेका छन् ।

लुम्बिनी र नगरकोट हब बनाउँदै

सीई ग्रुपको अर्को पायोनियर प्रोजेक्ट हो लुम्बिनी र नगरकोट हब । यो आफैमा अर्को नयाँ ‘ट्रेण्डसेट’ हो । जुन नेपालका लागि नौलो अभ्यास
पनि हो । एउटै ठाउँमा बच्चालाई मनोरञ्जन गर्न सकिने मनोरञ्जन स्थलदेखि स्वीमिङ्ग पुल, रेष्टुराँ, सपिङ कम्प्लेक्स र इभेन्टका लागि मेगा हलहरु लगायतका सेवा सुविधाहरु ती हबभित्र हुनेछन् । पर्यटकहरुलाई चार/पाँच दिनसम्म नेपालमै बस्न सक्ने पूर्वाधार र सेवा सुविधाहरु सीई ग्रुपले निर्माण गर्दैछ । त्यसका लागि कम्पनीले तयारी थालिसकेको छ । ‘अहिले पर्यटकहरु लुम्बिनीमा आउँछन्, एकदिन ध्यान गरेर फर्किहाल्छन्, अब हामी लुम्बिनी हब निर्माण गरेर कम्तिमा चार/पाँच दिन यतै बस्ने सेवा सुविधासहितको हब निर्माण गर्दैछौं, जहाँ पर्यटकले सबै सुविधाहरु एउटै छानाभित्र पाउन्,’ अध्यक्ष राजभण्डारीले योजना सुनाए ।

जसलाई सीई समूहले पाइलट प्रोजेक्टको रुपमा काम गर्न खाजेको छ, यसमा ५ अर्ब लगानी लाग्ने अनुमान गरिएको छ । जुन ७ बिघा जग्गामा बन्दैछ । अर्को यस्तै प्रोजेक्ट कम्पनीले नगरकोटमा पनि निर्माण गर्दैछ । ‘हामी रणनीतिक साझेदारहरुको सहयोगमा काम गर्दैछौं, जुन क्षेत्रमा जसको विज्ञता छ, तिनीहरुसँग साझेदारी गरेर काम गरिरहेका छौं, यसले हामीलाई सफलता हासिल गर्न सहयोग मिलिरहेको छ ।’ सफता चुम्नेहरुलाई अझ धेरै गर्न मन लाग्छ, जोश पनि हुन्छ विजय राजभण्डारीमा पनि त्यो जोश (प्यासन) छ । ‘मैले आफ्नो पढाइको १० प्रतिशत मात्रै व्यवहारमा उतारेको छु, धेरै काम गर्न अझै बाँकी नै छ’ उनले भने ।

सीई समूह सातै प्रदेशमा सीई कन्स्ट्रक्सन खोल्ने योजनामा छ । ती सबै प्रदेशलाई कसरी ‘सेल्फ सस्टेन’ गराउने भन्ने योजना राजभण्डारीले बुनिरहेका छन् । अहिले सीई समूहले सम्झौता गरेअनुसार समयमै काम सकेकोले सबैको रोजाइमा आफ्नो कम्पनी परेको उनी बताउँछन् । ‘मास पार्टिसिपेन्ट मोडेल’ र ‘रणनीतिक साझेदार’को मोडेलले काम गर्दा सीई समूह सफल भएको पनि उनको धारणा छ ।

पब्लिकमा जाने तयारी

पछिल्लो समय राम्रो नाफा गरेका कम्पनीहरु सेयर बजारमा सूचीकृत हुने अभ्यास बढ्दो छ । सरकारले पनि वार्षिक ५ अर्बभन्दा बढी कारोबार गर्ने कम्पनीले सेयर बजारमा सूचीकृत हुनु पर्ने नीतिगत व्यवस्था गरेको छ । सीई समूहले पनि पहिलेदेखि नै पब्लिकमा जाने योजना नबनाएको होइन । तर, विभिन्न प्राविधिक कारणले जान नसकेको राजभण्डारी बताउँछन् । आगामी चैतसम्म सिई कन्स्ट्रक्सलाई पब्लिक कम्पनी बनाउने गरी प्रक्रियागत काम थालिएको छ । पहिला कर्मचारीलाई सेयर दिने र त्यसपछि पब्लिकको लागि सेयर निष्काशन गर्ने उनको तयारी छ ।

‘कम्पनी स्थापना हुँदा नै सेयरधनी र कर्मचारी दुवै यस कम्पनीकोे मालिक हौं भन्ने अवधारणाका साथ काम ग¥यौं, हामी पनि सुरुवातदेखि नै तलब नै खाएर आयौं, कर्मचारीले आफ्नै कम्पनी ठानेर काम गरिरहनु भएको छ, कर्मचारीलाई पनि सेयर दिनुपर्छ भन्ने हाम्रो योजना छ र काम पनि अगाडि बढेको छ ।’

१० प्रतिशत सेयर कर्मचारीलाई दिने किसिमले तयारी भइरहेको उनले बताए । कम्पनीको १ अर्ब १० करोड पुँजी रहने छ । अध्यक्ष राजभण्डारी भन्छन्, ‘डोरम्यानदेखि चेयरम्यानसम्म यस कम्पनीको मालिक हो, कम्पनीको हिस्सेदार सबै कर्मचारीहरु हुन्, हाम्रो काम गर्ने वातावरण पनि सहज छ ।’ ६३ वर्षीय राजभण्डारीलाई आफ्नो टीमप्रति भरोसा छ । टीम वर्कले नै सीई कन्स्ट्रक्सन सफल भएको उनको भनाइ छ । सक्षम र काम गर्न सक्ने व्यक्तिलाई सधैं स्वागत गर्न सीई तयार रहेको उनको धारणा छ ।

सफल उद्यमी बन्न के गर्ने ?

नयाँ उद्यम गर्न धेरै चाहन्छन् । तर, चाहनाले मात्रै मूर्त रुप कहाँ लिन्छ र ? सफल बन्नका लागि कडा मिहिनेत, कुशल जिम्मेवारी, लगाव, झुकाव चाहिने राजभण्डारीको तर्क छ । ‘हुन त नपढेको मान्छले पनि राम्रै पैसा कमाउँछ, पैसा कमाउनु र सफल बन्नु फरक विषय हो, मान्छे सफल बन्नका लागि एजुकेशन, एक्सपोजर र एक्सपेरियन्स चाहिन्छ,’ उनी भन्छन् । व्यापार छनोट सफल उद्यमी बन्ने पहिलो खुड्किला रहेको उनको धारणा छ । व्यक्तिले बिजनेस सेलेक्सन गर्दा ध्यान दिनुपर्ने उनी बताउँछन् ।

निर्माण, आवास विकास, जलविद्युत् परियोजना निर्माणको क्षेत्रमा उदाहरणीय पदचिह्न छोड्नै गएको सीई कन्स्ट्रक्सनले पर्यटन क्षेत्रमा पनि ‘टुरिजम हब’को विकास गरी नयाँ ट्रेण्ड सेट गर्दैछ । यसको शुरुवात लुम्बिनी र नगरकोटबाट हुनेछ ।

पैसा भएर मात्रै बिजनेस हुँदैन, सबैभन्दा महत्वपूर्ण बिजनेस सेलेक्सन हो, जति बढी नाफा हुने बिजनेस हे¥यो, त्यति बढी रिक्स (जोखिम) मोल्न सक्ने क्षमता हुनुपर्छ, क्षमता नहुँदा धेरैको लगानी डुब्छ,’ उनले एउटा उदाहरण दिँदै भने– ‘अहिले रेष्टुरेन्टको मालिकहरु परिवर्तन भइरहन्छन् किनकी उनीहरुसँग बिजनेस गर्ने योजना नै छैन, त्यसका चुनौतीहरु के–के छन् त्यो पनि बुझ्नु पर्छ, जुन बिजनेस पछिसम्म रहिरहन्छ त्यस्तो बिजनेस छनोट गर्नुपर्छ, हामीले निर्माणको क्षेत्र रोज्यौं किनकी यो कहिले पनि अन्त्य हुँदैन ।’

बिजनेसमा चार वटा क्याट्यागोरी हुन्छ । वर्कर, सुपरभाइजर, म्यानेजर र लिडर । एउटा उद्यमीमा यी चारवटै क्याट्यागोरी हुनु पर्ने उनको राय छ । तब मात्रै एउटा उद्यमी सफल हुन्छ जब उ एउटा कामदारदेखि कम्पनीको अध्यक्ष हुनेसम्मको ल्याकत राख्न सक्छ । एउटा उद्यमीले आफ्नो संस्थामा प्रफर्मेन्स, विश्वसनियता, ओनरसिप र जिम्मेवारीको विषयमा थाहा पाउनु पर्ने पनि उनी बताउँछन् । ‘कम्पनी मेरो हो भन्ने महशुस सबैमा हुनुपर्छ, साँच्चिकै उद्यमी बन्ने चाहना छ भने बाटो बदल्नु हुँदैन, एउटा उद्यमीले उद्यमी नै बन्नुपर्छ, अहिलेको भन्दा धेरै राम्रो अवसर पनि आउन सक्छ तर बाटो बदल्नु हुन्न, त्यसले दुर्घटना निम्त्याउँछ, सफलता दिन सक्दैन, बीचमै बाटो मोडेको भए सीई कन्स्ट्रक्सन अहिले एक पायोनियर कम्पनीका रुपमा परिचित हुन्थ्यो र ? उनी प्रश्न गर्छन् ।

(देशविकास पत्रिकाको  वर्षअङ्क बाट)

सम्बन्धित सामग्री :

म अघिअघि पैसा पछिपछि, ‘दुई वर्षभित्रै उत्कृष्ट करदाता बन्छु’

मोफसलबाट उठेर राष्ट्रिय उद्योगपति

‘सक्रिय व्यवसायिक जीवनबाट विश्राम लिन्छु, वास्तविक किसान बनेर देशलाई आत्मनिर्भर बनाउँछु’

नवीन शर्मा: १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म

जसले नेपालमा केबलकार क्रान्ति ल्याए

गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ

सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’

अर्बपति सन्यासी, पोल्ट्रीका फादर

चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा

हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.