सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’

  २०७९ पुष २४ गते १५:५२     सन्तोष रोकाया

आरनमा फलामलाई जति पिट्यो, त्यति नै झन् बलियो बन्छ नि । हो, सेयर बजार पनि लगानीकर्ताहरुका लागि त्यस्तै हो । जति पैसा गुमायो, जति घाटा खायो, जति बढी समय दियो त्यति अनुभव, त्यति नै क्षमता र त्यति नै बढी आदती बनाउँदो रहेछ सेयर बजारले । त्यो नशा सेयर बजारमा लाग्ने जो कोहीलाई पनि लाग्छ । सेयर बजारमा अधिकांशले घाटा नखाएर नाफा मात्र गरेका उदाहरण बिरलै होलान् । लगानीकर्ताहरु असफल नभएर सफल भएको बिरलै होलान् । सेयर बजारका वादशाहको उपमाले परिचित वारेन वफटले सन् १९७० ताका मरेतुल्य गरि घाटा बेहोरेका थिए । घाटाको पीडाले बफेट सिकिस्त बिरामी भएको समाचार पनि बनेको थिए । उनी अहिले विश्वका चर्चित मात्रै होइनन्, सफल लगानीकर्ताको रुपमा पनि परिचित छन् । सुरुमै ठूलो नोक्सानी व्यहोरेँ भनेर उनी सेयर बजारबाट बाहिरिएका थिए भने अहिले उनको नाम विश्व चर्चित बन्थ्यो होला त ?

नेपाली सेयर बजारका एक परिचित नाम अम्बिका प्रसाद पौडेल जवाफ दिन्छन्, ‘बन्थेनन्, जोसँग धैर्यता छ, जोसँग परिस्थितिसँग जुध्न सक्ने क्षमता छ, उसैले कमाउँछ, एकदिन त्यही व्यक्ति सफल हुन्छ ।’ अम्बिका पौडेल पनि सेयर बजारमा बारम्बार बजारिएका छन् । थिचिएका छन् । करोडौंको सम्पत्ति शुन्यमा झारेका छन् । पीडा भोगेका छन् । पसिना बगाएका छन् । कति रातहरु वित्तीय विश्लेषणकै नाममा अनिदो बसेका छन् । त्यसैले त उनी पनि अहिले नेपाली सेयर बजारमा एक सफल र अनुभवी लगानीकर्ताका रुपले परिचित छन् । कतिपयले त उनलाई ‘भेट्रान’ लगानीकर्ताको संज्ञा पनि दिन्छन् ।

सेयर लगानीकर्ताहरुको संस्था नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष पौडेल निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य तथा पुँजीबजार फोरमका सभापति समेत हुन् । पौडेल वि.सं २०२८ सालमा स्याङ्जाको एउटा सामान्य परिवारमा जन्मिए । एसएलसीसम्मको अध्ययन गाउँकै विद्यालयमा पूरा गरेर उनी उच्च शिक्षाका लागि काठमाडौं आए ।

काठमाडौंको शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकोत्तर गरे । स्नातकोत्तर पढ्दै गर्दा उनले पुँजी बजारको विषयमा सिके । २०४९ मा पुँजी बजारमा प्रवेश गरेका उनले सुरुमा त नोक्सानै व्यहोरे । त्यतिखेर उनले पनि सेयर बजार मेरो लागि होइन भन्ने नसोचेका होइनन् । तर, मनको बाघ न हो, कसले पो रोक्न सक्छ र ? सेयर बजारको उनको प्यासन थियो ।

२०६५ सालमा सरकारी जागिर छोडेर सेयरमा होमिएका अम्बिका पौडेल अहिले नेपाल टेलिकम, हिमालयन पावर पाटर्नर, एनआरएन इन्भेष्टमेन्ट, चन्द्रागिरि र आईजीआईको सञ्चालक समितिमा छन् भने सूचीकृत नभएका २० बढी कम्पनीको पनि बोर्डमा छन् ।

‘हिमालयन, नेपाल एसबिआई र नेपाल बंगलादेश बैंकको आईपीओमा लगानी गरेर सेयर बजारमा प्रवेश गरेको हुँ, बैंक अफ काठमाण्डू र नबिल बैंकको सेयर खरिद गरेर २०५१ सालमा दोस्रो बजारमा प्रवेश गरेँ,’ उनी विगतलाई स्मरण गर्दै भन्छन्, ‘सुरुमा ३ लाख लगानी गरेको थिएँ तर घटेर २ लाख मात्रै बाँकी रह्यो,’ उनी थप्छन्, त्योभन्दा नमिठो अनुभव मलाई कहिल्यै भएन ।’

सुरुमै १ लाख घाटा भएपछि उनले दोस्रो बजारमा लगानी नगर्ने योजना पनि बुने । केही समय आईपीओ मात्रै भरे । दोस्रो बजारमा सेयर खरिदबिक्री केही समयका लागि रोके । केही समयपछि पुनः लगानी गर्नु पर्छ भन्ने मानसिकता आएको उनी सुनाउँछन् । तर, उनको नोक्सान व्यहोर्ने शिलसिला भने त्यतिमै रोकिएन ।

‘आज कमाएको जस्तो देखिन्थ्यो, फेरि भोलि बियरिस सुरु हुँदा सबै सकिन्थ्यो, सम्पत्ति बच्दैनथ्यो, पीडा मात्रै बच्थ्यो, धेरै निराश भइयो, तर धैर्यता राखियो, २०५२ देखि २०६९ सालसम्म गुमाउने मात्रै काम गरियो, मैले राम्रो कमाएको भनेको पछिल्लो ८/९ वर्ष मात्रै हो, उनी भन्छन्, ‘सेयरमा गुमाए पनि त्यो बिचमा अनेकौं सम्बन्धहरु, अनुभव, विज्ञता र ज्ञान धेरै कमाएँ ।’

सरकारी जागिरे, सेयरमा कारोबार

पौडेल कुनै बेला निजामति कर्मचारी पनि थिए । वि.सं २०५५ सालमा लेखा अधिकृतको रुपमा निजामती सेवामा प्रवेश गरेका उनले जागिरसँगै सेयर बजारमा पनि कारोबार गरिरहे । महालेखा परीक्षकको कार्यालयमा लेखा अधिकृत भएर काम गरेका उनले २०६५ सालमै सरकारी जागिर छाडे । सेयर बजारमा पूर्ण रुपले सक्रिय हुुने उद्देश्यका साथ सरकारी जागिर छाडेको उनी बताउँछन् ।

‘स्नातकोत्तर पास गरेपछि निजामति सेवामा प्रवेश गरेको हुँ, सामाजिक सुरक्षाका हिसाबले पनि सरकारी जागिर गर्नु पर्छ भन्ने मानसिकता सानैदेखि थियो तर पछि पुँजी बजारमै काम गर्न मन लाग्यो, सरकारी जागिर गर्दैगर्दा अलिकति पैसा कमाइसकेको थिएँ, दुइटा डुङ्गामा खुट्टा राख्नु हुन्न भन्ने महशुस भएपछि मैले जागिर छोडेँ,’ उनले भने, ‘घरको कसैलाई थाहै नदिई जागिर छोडेको त्यो पल सम्झेर अहिले पनि अचम्म लाग्छ ।’

हुन त मान्छेले श्रमभन्दा सन्तुष्टि खोज्छ । पेशाभन्दा प्यासन खोज्छ । पौडेलले पनि त्यही रोजे । हुँदाखाँदाको सरकारी जागिर छोडेर नाफा/घाटाको भर नहुने सेयर बजारलाई आफ्नो दैनिकी बनाए । उनले सेयर बजारमा पक्कै पनि चुनौति देखेका थिए । तर, आफुलाई चुनौति मोल्न सक्ने क्षमता भएकै कारण सेयर बजार राजेको तर्क दिन्छन् ।

‘मेरो आधारबिन्दु भनेकै पुँजी बजार हो, अहिले जति व्यापार व्यवसायमा विविधीकरण गरेको छु, त्यसको आधार पुँजीबजार नै हो, हिजो मेरो पोर्टफोलियो सानो थियो, अहिले ठूलो भयो होला, अम्बिका पौडेल सेयर बजारको लगानीकर्ता हो भनेर सुन्दा पनि आनन्द आउँछ, किनकी सेयर बजारसँगको मेरो सामिप्यता गहिरो छ,’ उनी भन्छन्, ‘अब पनि जे गर्छु जति काम गर्छु, सेयर बजारमै गर्छु ।’

ठूलो पोर्टफोलियोलाई एउटै ठाउँमा केन्द्रिकृत नगरेर लगानीलाई विविधीकरण गर्ने योजनाका साथ आफूले अन्य धेरै कम्पनीमा लगानी गरेको उनी बताउँछन् । अहिले सेयर बजारको कारोबारमा दिनप्रतिदिन सक्रिय नभए पनि पुँजी बजारको गतिविधिमा भने सक्रिय रहेको उनी सुनाउँछन् । उनी आफ्नो लगानी फेरि पनि पुँजी बजारमै आउने धारणा राख्छन् ।

कमाउँदा र गुमाउँदाका ती पलहरु

सेयर बजारमा कमाउनु र गुमाउनु सामान्य नै हो । एउटाले कमाउँछ त अर्कोले गुमाउँछ । आज बजार घट्छ त भोलि बढ्छ । यो स्वभाविक नै हो । तर, अधिकांशले सेयर बजारमा गुमाएँ भन्ने सुनिन्छ । मान्छे कमाउँदा खुसी हुन्छ । गुमाउँदा दुःखी हुन्छ । त्यो हर्ष र त्यो रोदन अम्बिका पौडेलले पनि अनगिन्ती भोगे । धेरै पटक महशुस गरे । र, कयौंलाई नजिकबाट नियाले पनि ।

‘बियरिस ट्रेण्डमा पुगेको लगानीकर्ताले बुल मार्केटमा पुग्दासम्म राम्रै कमाएको हुन्छ, राम्रो कमाउँदा उसलाई एक किसिमको घमण्ड हुन्छ, अन्यसँग त्यही किसिमको ट्रिट गर्छ, जब बजार घट्छ, त्यसपछि उसले आफूलाई चिन्छ, महशुस गर्छ, यो समयले दिएको प्रतिफल हो, मेरो विवेकले पाएको प्रतिफल हो भनेर आफूलाई सम्हाल्ने प्रयास गर्छ, आफू सक्किएको महशुस हुन्छ,’ उनले देशविकाससँग आफ्नो अनुभव सुनाउँदै भने, ‘यस्ता अनुभव त कति भोगियो, कति देखियो ।’

सेयर बजारमा कमाउने र गुमाउने विषय व्यक्तिमा भएको अनुभव, ज्ञान र विश्लेषण गर्न सक्ने क्षमताले निर्धारण गर्ने उनी बताउँछन् । ‘क्षमता भएकाहरुका लागि सेयर बजार लगानीको सबैभन्दा उपयुक्त र सजिलो क्षेत्र भएको उनको धारणा छ । ‘सेयर बजारमा दलालहरु लाग्दैनन्, शत्रुहरु लाग्दैनन्, आफूले विश्लेषण गरेको आधारमा लगानी गर्ने हो, कम्पनीको विषयमा ज्ञान लिएपछि विगतका ट्रेण्डहरुको विषय विश्लेषण गरेर कारोबार गर्‍यो भने त्यसले अवश्य नै प्रतिफल दिन्छ,’ उनले भने, ‘क्षमता नभएकाहरुका लागि सबैभन्दा कठिन क्षेत्र पनि सेयर बजार हो, सबैका लागि होइन यो क्षेत्र ।’

लगानीकर्ताले बजारको चरित्रलाई नियाल्न सक्नुपर्छ । बजारको ट्रेण्ड र अर्थतन्त्रको हाउभाउ केलाउन सक्नुपर्छ । लगानी गरेको कम्पनीको वित्तीय सूचकहरुको विश्लेषण गर्न सक्नुपर्छ । तब मात्रै सेयर बजारबाट कमाउन सक्ने सम्भावना रहने उनी बताउँछन् । सरकारले पनि लगानीका सुरक्षित उपकरणहरु ल्याएर सबैलाई त्यसमा सहभागी गराउनु पर्ने उनको राय छ ।

‘मैले शतप्रतिशत सफल हुन्छु भेनर लगानी गर्दिन, लगानी गरेपछि २०० प्रतिशत नेटवर्थ बनाउनु पर्छ भन्ने मेरो लक्ष्य हुन्छ, मैले असफल भएका कम्पनीलाई सफलतातर्फ लिनको लागि धेरै भूमिका खेलेको छु, अरुले गरेका गल्तीहरु पहिचान गरेर ती गल्ती नदोहोर्‍याउने हो भने पनि कम्पनीलाई सजिलै सफलतामा पुर्याउन सकिन्छ,’ पौडेलले भने ।

सेयर बजारमा कारोबार गर्दै गर्दाका पौडेलसँग नमिठा अनुभवहरु छन् । ‘कतिपयले लगानीको विषयमा सोध्नुभयो भने म भनिहाल्छु, तर, सेयर मूल्य घट्यो भने दोष मलाई थुपार्नु हुन्छ, कतिपयले मप्रति त्यसैले पनि गलत धारणा राख्नुहुन्छ, कतिपयले बाटोमा भेट्यो भने पिट्छु पनि भने । तर, पछि उहाँहरुले बुझ्नुहुन्छ, महशुस गर्नु हुन्छ, म नै गलत रहेछु भनेर मलाई नै भन्न आउनुहुन्छ,’ उनले थप्दै भने, ‘कतिपय अम्बिकाले बजार तलमाथि पार्न सक्छ भन्छन्, मैले पानी पर्‍यो भने छाता दिन सक्छु, पानी रोक्न सक्दिन ।’

चार दर्जन बढी कम्पनीमा लगानी

सेयर बजारमा लागेको करिब तीन दशक भएपनि सेयर बजारबाट पौडेलले कमाएको भने ८/९ वर्ष मात्रै भयो । यो अवधिमा उनी चार दर्जन बढी कम्पनीको सेयरधनीको रुपमा स्थापित भइसकेका छन् । उनी ५ वटा सूचीकृत कम्पनी नेपाल टेलिकम, हिमालयन पावर पाटर्नर, एनआरएन इन्भेष्टमेन्ट, चन्द्रागिरि र आईजीआईको सञ्चालक समितिमा छन् भने सूचीकृत नभएका २० बढी कम्पनीको पनि बोर्डमा छन् ।
हाल उनी स्काई टच इन्भेष्टमेन्ट एण्ड कन्सलटेण्ट तथा ए एण्ड ए बिल्डर, काञ्जिरोवा हायेर सेकेण्डरी स्कूल लगायतका संस्थामा अध्यक्ष छन् । बिग इन्ड्रस्टीज, हाइलाइफ, हाथवे इन्भेष्टमेन्ट, बूढानीलकण्ठ हेरिटेज, न्यूलिंक कपी उद्योग, ग्रेट हाइड्रोपावर कम्पनी लगायतमा सञ्चालक रहेका छन् भने उनी निर्माण क्षेत्रमा पनि संलग्न छन् ।

अहिले जति नेटवर्थ छ, त्यो सबै पुँजी बजारबाट कमाइ गरेको पौडेल बताउँछन् । ‘२० करोडको पार्टफोलियो शून्य र एक अर्बको नेटवर्थ ५ करोडमा झरेको छ, पाइला-पाइलामा ठक्कर खाइयो, म अहिले जहाँ छु, त्यो पछिल्लो ८/९ वर्षको कमाइले हो,’ उनले भने ।

अब उनी अरुको कम्पनीमा होइन आफ्नै कम्पनीमा सेयर कारोबार गर्न चाहन्छन् । आफूले लगानी गरेर स्थापना गरेका कम्पनीहरुलाई सूचीकृत गराएर त्यसमै कारोबार गर्ने योजना पौडेलको छ । ‘मैले आफूलाई फरक स्थापित गर्न चाहन्छु, हिजो ८ हजारमा खरिद गरेको एउटा कम्पनीको सेयर मूल्य आज ४ सय छ, मैले त्यसमै लागेको भए आज के हुन्थ्यो, मैले त्यसबाट आएको प्रतिफलले आफ्नै कम्पनी खोलेर त्यो कम्पनीलाई नै सूचीकृत गराउने तयारी गरिरहेको छु, हरेक विषयमा विकल्प खोज्नु पर्छ,’ उनी भन्छन्, ‘म नेपाली सेयर बजारमा एउटा ट्रेण्डसेट गर्न चाहन्छु, धेरै काम त गरिसकेको छु ।’

नेपाली पुँजी बजारको विकास, विस्तार र सुदृढीकरणका लागि जति काम भएको छ, त्यति काम कसैले नगरेको उनी दावी गर्छन् । आफ्नो काम आवाज उठाउने भएको भन्दै सेयर बजारमा सही नीति निर्माणका लागि आफुले ठूलो भूमिका खेलेको उनी बताउँछन् । ‘स्टक एक्सचेञ्जको निजीकरण, पुँजीगत लाभकर घटाउन, पुँजीबजारमा लाग्ने दोहोरो कर हटाउन, धितोपत्र बोर्डको संरचनागत सुधार, हकप्रद सेयर, सेयरधितो कर्जा लगायतका विषयमा मैले धेरै काम गरेको छु, सेयर बजारमा भएका ८० प्रतिशत विषय मैले उठान गरेको छु, महासंघमा गएपछि पनि धेरै सुझाव दिएको छु,’ उनले भने, ‘कहिले अगाडि नै गएर त कहिले ब्याकमै बसेर काम गरिरहेको हुन्छु ।’

१० वर्षपछि अम्बिका अर्कै हुन्छ

हामीले अम्बिका पौडेललाई सोध्यौं- भाग्य ठूलो कि कर्म ? उनले जवाफमा भने, ‘कर्मबिनाको भाग्य हुँदैन, कर्मबिनाको भाग्यमा म विश्वास गर्दिन, आफूले गरेका कर्मले सफलता पाउन सकिन्छ तर कहिलेकाहीँ भाग्य पनि चाहिन्छ, नेता कर्मले बन्न सकिन्छ, प्रधानमन्त्री बन्नका लागि भाग्य पनि चाहिन्छ, भाग्य र कर्मको संयोजनले उत्कृष्ट र सफल बन्न सकिन्छ ।’

उनी आफूले धेरै मिहेनत गरेर यो अवस्थासम्म आइपुगेको बताउँछन् । ‘म अब क्षमता, ज्ञान, अनुभव, सम्बन्ध र नामको हिसावले पूर्ण भएको छु, अब सक्रिय भएर २५ वर्ष काम गर्छु, हिजोको दिनमा सबै कुराको अभाव थियो, यहाँसम्म आइपुगेँ, आज मसँग यी सबै चिज छ, यो चिजको सदुपयोग गरेर साँच्चिकै देखिने काम गर्छु भन्ने कन्फिडेन्ट छ, अहिले सुरु मात्रै गरेको छु, अब परिणाम आउँछ,’ उनले भने, ‘अम्बिका अबको १० वर्षपछि फरक क्यारेक्टर र फरक क्षेत्रमा स्थापित हुन्छ ।’

पुँजीबजारबाट उठेका पौडेलले पछिल्लो समय कृषि, उद्योग, पर्यटन, शिक्षा, निर्माण क्षेत्रमा लगानी गर्दै नयाँ कम्पनी अगाडि बढाईरहेका छन् । उनले सबै कम्पनीहरुलाई नेप्सेमा सूचीकृत गर्ने गरी प्रक्रिया अगाडि बढाउँदै छन् ।

उनी आफूले गरेको कामले सबैलाई सेवा दिन चाहन्छन् । आफूले उत्पादन गरेको वस्तु सबैको जीवनशैली बनेको हेर्न चाहन्छन् । उनी सकेसम्म धेरैलाई रोजगारी दिने चाहना राख्छन् । आफ्नो कामले आफूलाई मात्रै होइन सिंगो देशलाई लाभ हुने काम गर्न चाहन्छन् अम्बिका ।

‘अहिले जुन-जुन क्षेत्रमा लगानी गरेको छु, यसलाई विस्तार गर्छु, मैले गरेको व्यवसायका उत्पादन नेपालको प्रत्येक घरमा पुगोस्, त्यो उत्पादन प्रत्येक मानिसको जीवनशैली बनोस्, त्यो वस्तु प्रयोग गर्दा धेरैले मलाई सम्झिउन्, सबैले भनुन् वा अम्बिका,’ उनी भन्छन्- ‘अब मेरो सम्पूर्ण ध्यान त्यसमै केन्द्रित हुन्छ, सकेसम्म धेरैलाई रोजगारी दिन सक्ने काम गर्छु ।’

अबको १०/१५ वर्षमा आफूले सोचेको काम गर्न सक्ने आँट रहेको उनी सुनाउँछन् । आफ्नो निणर्यमा घरपरिवारको पनि धेरै साथ रहेकोले पनि आफु यो अवस्थामा पुगेको उनी बताउँछन् । ‘करोडौं रुपैयाँ गुमाउँदा घरपरिवारले साथ दियो, कमाउँदा पनि साथ दियो, राम्रो गर्दा गर्दै नराम्रो भए पनि एकदिन राम्रो भैहाल्छ भन्ने सान्त्वना मैले घर परिवारबाट पाउँछु,’ अम्बिका भन्छन्, ‘मेरो कामको उर्जा नै मेरो परिवार हो ।’

(देशविकास साप्ताहिक पत्रिकाकाे वर्षअंकबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.