चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा

  २०७९ पुष २५ गते १४:१४     सन्तोष रोकाया

काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल अबको तीन महिनापछि अध्यक्ष हुँदैछन् । यो त उनले पछिल्लो समय पाउँदै गरेको जिम्मेवारी हो, नयाँ पहिचान हो । त्यसभन्दा पनि उनको छुट्टै पहिचान छ – ट्रेन्ड सेटर उद्यमी । नेपालको सबैभन्दा पहिलो र अग्रणी रेमिट्यान्स कम्पनी आइएमई रेमिटका संस्थापक अध्यक्ष । नेपालको सबैभन्दा ठूलो बैङ्क ग्लोबल आइएमई बैङ्कका अध्यक्ष । नेपाल स्टक एक्स्चेन्जमा सूचिकृत आधा दर्जन बढी कम्पनीका संस्थापक । दुर्गम पहाडमा जन्मेको एउटा निम्नमध्यम वर्गीय किसानको छोरो । त्यो भन्दा पनि १६ वर्षको उमेरमा आफ्नो बुबा गुमाएको व्यक्तिले आफ्नो व्यक्तिगत पहल र मिहिनेतबाट कसरी सबैलाई लोभ्याउने नतिजा निकालिरहेको छ ? यो प्रोफाइल, पर्सनालिटी र पोर्टफोलियो बनाउन कति समय लाग्यो होला ? उनले कसरी यति ठूलो सफलता प्राप्त गरे ? एकपछि अर्को सफलता चुम्दै गरेका व्यक्तिको बारेमा चासो, जिज्ञासा र कौतुहलता रहनु स्वभाविक नै हो ।

वि.सं. २०२२ सालमा बाग्लुङको अमलाचौरमा जन्मिएका ढकाल आर्थिक रुपमा एक निम्न मध्यम वर्गीय परिवारमा हुर्किए । विडम्वना, उनी १६ वर्षको हुँदा नै बुबाको निधन भयो । जेठो छोरा भएकोले पनि अब उनको काँधमा सम्पूर्ण परिवारको जिम्मेवारी आयो । पढाइसँगै उनले घरायसी काममा पनि ध्यान दिनुपर्ने भयो । मैले गाउँघरमा नगरेको कुनै काम छैन । डोको, नाम्लो, डोरी आफै बनाउनेदेखि खेतीपातीका सबै काम गर्दथे, मलाई अहिले पनि सबै काम गर्न आउँछ’ उनले विगत स्मरण गर्दैै भने जसरी भए पनि आमा र भाइबहिनीको हेरचाह गर्नु थियो, घरको अभाव टार्नकै लागि काठमाडौं आएँ ।’

पढाइ पनि गर्ने र कमाइ पनि गर्ने भन्ने उद्देश्यका साथ उनी काठमाडौं आए । सुरुमा पेप्सीकोला वितरक कम्पनी स्वस्तिक हेरिटेजमा काम गरे । पढ्दै अगाडि बढ्दै गए । पछि राष्ट्रिय वाणिज्य बैङ्कमा नाम निकाले । राष्ट्रिय वाणिज्य बैङ्कमा सहायक लेखापालको जागिर सुरु गरे । त्यहाँ करिब चार वर्ष काम गरेपछि व्यवसाय गर्ने उनमा चाहना आयो । वि.स २०४८ सालतिर कोल्ड स्टोर स्थापना गरे । त्यसपछि कार्गो व्यवसायमा हात हाले । व्यवसाय विस्तार गर्ने सोचका साथ बैङ्कबाट ऋण लिन खोजे । तर, आफू काम गर्ने बैङ्कले पत्याएन । उल्टै बैङ्कले उनलाई ऋण चाहिएमा जागिर छोड्नु पर्ने बतायो ।

व्यवसाय गर्ने उनमा हुटहुटी जन्मिसकेको थियो । व्यावसायिक जोशका साथ उनले जागिर छोडे । ‘साथमा भाइ हेमराज ढकाल छन्, उमेरले म भन्दा १० वर्ष कान्छो तर ऊ मेरो बिजनेसको सारथी हो, सानैदेखि सँगै काम ग¥यौं, धेरै मिहिनेत ग¥यौं, अहिले ठूलो टिम बनेको छ, मभन्दा बढी मिहिनेत मेरो टीमले गर्छ,’ उनी भन्छन्, ‘मेरो सफलतामा मेरो टीमको भूमिका महत्वपूर्ण छ ।’

उनले पछि कार्गो व्यवसाय पनि गरे । कार्गो व्यवसायकै सिलसिलामा विभिन्न देश पनि गए । उनले विस्तारै व्यावसायिक सफलता पाउन थाले । मान्छेहरुले पनि चिन्न थाले ।

त्यसपछि जन्मियो आइएमई

अहिले धेरैले रेमिट्यान्स पठाउनुलाई आइएमई गर्नु भन्छन् । उनै चन्द्र ढकालले सुरु गरेका हुन् आइएमई रेमिट । त्यतिबेला नेपालीहरुले विदेशमा कमाएको पैसा पठाउने औपचारिक माध्यम थिएन । अनौपचारिक माध्यमबाट पैसा आइरहेको थियो । जसलाई हुण्डी भनिन्छ । ढकालले यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्नेतर्फ सोचे । व्यावसायिक योजना बनाए । उनीसँग करिब एक वर्ष मनी ट्रान्सफर कम्पनी ‘एक्सप्रेस’को एजेन्ट बनेको अनुभव थियो । त्यही अनुभवलाई सदुपयोग गर्दै उनी इन्टरनेसनल मनी एक्सप्रेस (आइएमई) खोल्ने निर्णयमा पुगे ।

तर, सहज भने थिएन । त्यतिखेर रेमिट्यान्स गर्न धेरै गाह्रो थियोे । तर, सरकार र आम सर्वसाधारणका लागि अति आवश्यक थियो । ‘मिहिनेत गरेर आर्जन गरेको पैसा आफ्नो घरपरिवारसम्म पु¥याउने माध्यम थिएन, व्यवसाय गर्न खोजेका उद्यमीका लागि राम्रो अवसर थियो, सरकारले औपचारिक रुपमा रेमिट्यान्स आइदिए हुन्थ्यो भन्ने सोचेको थियो तर काम गर्न समस्या थियो, सुरु गर्दा धेरै सकस भोगियो,’ अध्यक्ष ढकाल भन्छन्, अहिले रेमिट्यान्सको पर्यावाची आइएमई बन्दा खुसी लाग्छ ।’

रेमिट्यान्स बैङ्क र पर्यटनको विकासमा ट्रेण्ड सेटर बनेका चन्द्र ढकालले नयाँ र उदीयमान उद्यमीको रुपमा आफूलाई चिनाएका मात्र छैनन्, इमान्दार र मिहिनेतले एकै पुस्तामा पनि व्यावसायिक पहिचान निर्माण गर्न सम्भव छ भन्ने पुष्टि गरिदिएका छन् ।

त्यतिखेर नेपाल राष्ट्र बैङ्कको गभर्नरका रुपमा डा. तिलक रावल थिए । डा. रावलले उनको प्रस्ताव सहर्ष स्वीकार गरे । आइएमईले सञ्चालनको अनुमति पायो । सेवाको गुणस्तरले बिस्तारै कम्पनीको ब्रान्डिङ’ ग¥यो । अहिले आइएमई नेपाली कामदार पुगेका सबै देशमा रेमिट्यान्स कारोबार गर्ने कम्पनी बनेको छ । आईएमई नेपालमा ‘मनी ट्रान्सफर’को पर्यायबाची नै बनेको छ, कुनै बैङ्क या अन्य मनी ट्रान्सफर कम्पनी पुगेका सेवाग्राहीले पैसा आईएमई गरिदिनुस’ भन्छन्, मनी ट्रान्सफरको अनुमतिपत्र माग्न राष्ट्र बैङ्क पुग्नेले समेत । आइएमईको लाइसेन्स पाउ’ भन्छन्, आइएमई अहिले ब्राण्ड बनेको छ,’ कुनै व्यावसायिक पृष्ठभूमि नभएको व्यक्तिले यो किसिमको उपलब्धि हासिल गर्दा खुसी पनि लाग्छ,’ ढकालले आफ्नो अनुभवहरु सुनाउँदै भने ।

सुरुमा स्थापना गर्दा अनौपचारिक माध्यमबाट कारोबार गर्नेहरुबाट पनि धेरै धम्की आएको उनी सुनाउँछन् । तर, धेरै मिहिनत गरेर अनुशासित भएर काम गरेकै कारण आइएमई रेमिट सफल कम्पनीका रुपमा चिनिएको उनी सुनाउँछन् । वैदेशिक मुद्रालाई औपचारिक रुपबाट भित्र्याउनका लागि आइएमई एउटा कोशेढुङ्गा नै बनेको उनी बताउँछन् । अहिले कुल रेमिट्यान्सको ३० प्रतिशतको हाराहारीमा आइएमई रेमिटबाट नै रेमिट्यान्स भित्रिने गरेको छ । आइएमई रेमिटले ‘ट्रेण्ड–सेट’ गरेकै आधारमा अहिले देशमा धेरै मनि ट्रान्सफर कम्पनीहरु सञ्चालनमा छन् । धेरैले रोजगारी पाएका छन् । रेमिट्यान्स पनि औपचारिक माध्यमबाट आउन थालेको छ ।

मर्जरमा पनि बसाले ट्रेण्ड

आइएमईको सफलतापछि ढकालको प्रवेश बैंकिङ्ग क्षेत्रमा भयो । उनकै अगुवाईमा आइएमई फाइनान्सियल इन्स्टीच्यूट स्थापना भए । राष्ट्र बैङ्कले वित्तीय क्षेत्र सुधारको नीति ल्यायो । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरु स्वःस्फूर्त रूपमा मर्ज होउन् भन्ने उद्देश्यले बैङ्क तथा वित्तीय संस्था गाभ्ने–गाभिने तथा प्राप्ति गर्ने नीति ल्यायो । क्रस होडिल्ङ भएका कम्पनी मर्जमा जोड पनि दियो । राष्ट्र बैङ्कको उक्त नीति अबलम्बन गर्दै ढकालले दुई संस्था मर्जमा लगे ।

ग्लोबल बैङ्क र आइएमई फाइनान्सियल इन्स्टीच्यूट मर्ज भएर ग्लोबल आईएमई बैङ्क बन्यो २०६९ सालमा । ग्लोबल आइएमई बैङ्कले आफुमा बैङ्क तथा वित्तीय संस्था गाभ्ने क्रम त्यतिमै रोकेन । ग्लोबल आइएमई बैङ्कमा हालसम्म २१ वटा बैंक तथा वित्तीय संस्था गाभिसकेका छन् । सोमबार मात्रै बैङ्क अफ काठमाण्डूसँग एकीकृत कारोबार गरेको छ । जसमा ५ वटा वाणिज्य बैङ्क, १० वटा विकास बैङ्क र ६ वटा फाइनान्स कम्पनी गाभिएका छन् । ग्लोबल बैङ्क स्थापनादेखि अहिलेसम्म अध्यक्षको हैसियतमा उनले निरन्तर नेतृत्व गर्दै आएका छन् ।

अहिले उनलाई धेरैले मर्जर किङ्ग’का उपमाले पनि चिन्छन् । राष्ट्र बैङ्कले मर्जरको नीति ल्याएपछि त्यसको प्रभावकारी कार्यान्वयन गर्नेमा हामी अगाडि छौं, धेरै बैङ्क तथा वित्तीय संस्थालाई गाभेर बैङ्कलाई पुँजीमा ठूलो बनायौं, सेवाग्राहीलाई पनि विश्वास गर्न लायक बैङ्क बनाएका छौं, ठूलो नेटवर्क भएको छ, गुणस्तरीय सेवा र दक्ष जनशक्ति छन्,’ उनी भन्छन्, ‘बैङ्क मर्जर तथा एक्विजिसनमा हामी ट्रेण्ड सेटर नै हौं ।’

उनले राज्य स्तरबाट पनि राम्रो सहयोग पाइरहेका छन् । यसअघि विभिन्न बैंकहरुको बिग मर्जर हुँदा सरकारीस्तर वा राष्ट्र बैंकका अधिकारीहरुको पनि सहभागिता हुन्थेन । तर, सोमबार ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डौंको एकीकृत कारोबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुख्य सचिव शंरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायतको सहभागीले पनि उनलाई सरकारी स्तरबाट राम्रो सहयोग मिलेको बुझ्न सकिन्छ ।

दर्जनौं कम्पनीमा अर्बौं लगानी

ढकाल अहिले देशको एक सफल र अग्रणी व्यवसायीको सूचीमा पर्छन् । उनले रेमिटेन्स, बैङ्क, बीमा, जलविद्युत, उद्योग, होटल, अटो, पर्यटन, सूचना प्रविधिलगायतका क्षेत्रमा लगानी गरेका छन् । जुन कम्पनीमा लगानी ग¥यो त्यसमा उनी सफल बनिरहेका छन् । आफ्नो व्यवसायप्रतिको लगाव–झुकाव, इमान्दारिता र सहकर्मीहरुको सहयोगले नै आफू यो अवस्थामा आइपुगेको उनी बताउँछन् । ढकालले आफैले स्थापना गरेका दुई दर्जनभन्दा बढी कम्पनी छन् । तीमध्ये आधा दर्जन कम्पनी सेयर बजारमा सूचिकृत भइसकेका छन् ।

आइएमई समूह संलग्न जलविद्युत क्षेत्रतर्फ दुइवटा कम्पनी हिमालयन पावर पाटर्नर र माउन्टेन इनर्जी कम्पनी सञ्चालनमा छन् । हिमालयनले लमजुङमा २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजना निर्माण गरेर बिजुली उत्पादन गरिरहेको छ भने माउन्टेन इनर्जीले पनि म्याग्दीमा ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजना सञ्चालनमा ल्याइसकेको छ । वित्तीय क्षेत्रतर्फ ८ वटा कम्पनी छन् । आइएमई रेमिट, ग्लोबल आइएमई बैङ्क, आइएमई पे, आइएमई जनरल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्यारेन्स हाथवे इन्भेष्टमेन्ट र ग्लोबल आइएमई क्यापिटलमा आइएमई समूहको लगानी भएका कम्पनी मात्रै होइनन्, ढकालले आफै संस्थापक रहेका कम्पनीहरु हुन् ।

यस्तै, हस्पिटालिटीतर्फ चन्द्रागिरि हिल्स, बेस्ट रिसोर्ट प्रा. लि. र आइएमई ट्राभल, प्रविधि क्षेत्रतर्फ स्वीफ्ट टेक्नोलोजी, अटोमोबाइल्स क्षेत्रमा आइएमई अटोमोबाइल्स र आईएमई मोटर्स, रिटेल्समा माई मार्ट नेपाल र सिएम ट्रेडिङ इन्टरप्राइजेज र सूचना तथा मनोरञ्जन क्षेत्रतर्फ यो समूहको डिसहोममा पनि संलग्नता रहेको छ । अन्य धेरै कम्पनीमा यो समूहको लगानी छ । यी कम्पनीहरुमा आइएमईले अर्बौंको लगानी गरेको छ । कम्पनीले नेपाल पूर्वाधार बैङ्कमा पनि लगानी गरेको छ । जसको पुँजी मात्रै साढे २१ अर्बको छ । सेयर बजारमा सूचिकृत भएका आधा दर्जन कम्पनीहरुको पुँजी ३० अर्ब बढीको छ ।

आइएमई समूहले सुरु गरेको अर्को नयाँ प्रोजेक्ट चन्द्रागिरि हिल्स हो । अहिले चन्द्रागिरि काठमाडौं उपत्यका नजिकैको सबैभन्दा उत्कृष्ट गन्तव्यका रुपमा चिनिन्छ । ढकाललाई नचिन्ने मान्छेले पनि चन्द्रागिरि चिन्छन् । काठमाडौं बसेर चन्द्रागिरिमा एक पटक नगएको मानिस सायद बिरलै भेटिएला । त्यसबेला काठमाडौंमा एकदमै ठूलो प्रदुषण थियो, आन्तरिक र विदेशी पर्यटकलाई पनि पर्यटकीय गन्तव्यको खाँचो थियो, सरकार र सर्वसाधारणले पनि त्यस्तो ठाउँ चाहिरहेका थिए, पछि हामीले चन्द्रागिरि बनायौं, त्यो गन्तव्य सबैको रोजाइमा प¥यो, अब सातै प्रदेशमा चन्द्रागिरि जस्तै पूर्वाधार बनाउनु पर्छ भन्ने योजना छ,’ ढकालले भने ।

अहिले उनलाई धेरैले ‘मर्जर किङ्ग’का उपमाले पनि चिन्छन् । राष्ट्र बैङकले मर्जरको नीति ल्याएपछि त्यसको प्रभावकारी कार्यान्वयन गर्नेमा आफूहरु अगाडि रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘बैङ्क मर्जर तथा एक्विजिसनमा हामी ट्रेण्ड सेटर नै हौं ।’

यस्तै, उनी आयात प्रतिस्थापन गर्ने नीतिका साथ आइएमई समूहले नेपालमा पहिलो पटक उच्च गुणस्तरको पेपर उत्पादन गर्ने तयारी गरिरहेको बताउँछन् । ६ महिनापछि पेपरको उत्पादन सुरु हुने उनले बताए । आयात प्रतिस्थापनका साथै निर्यातको लक्ष्य लिएर हामीले उद्योग तयार गर्दैछौं । यसले अर्थतन्त्रमा राम्रो योगदान गर्नेछ’ उनले भने । आइएमई समूहले जति कम्पनीमा काम गरिरहेको छ ती सबै कम्पनीलाई सूचिकृत गराउनेछ । आफ्नो सबै कम्पनीहरुमा सर्वसाधारणलाई पनि समेट्ने योजना ढकालको छ । कुनै पनि काम गर्दा मिहिनेत र प्राथमिकता राखेर गर्छु, कामलाई सर्वोपरी ठान्छु, मभन्दा बढी काम गर्ने मेरो टीम छ, सर्वसाधारणहरुको सहयोग छ, मेरो प्रत्येक बिजेनसमा म सर्वसाधारणहरुलाई जोड्न चाहन्छु, ढकाल भन्छन्, मेरो कम्पनीहरुको मालिक उनीहरुलाई पनि बनाउन चाहन्छु ।’

हामी आम मानिसको आवश्यकता पूरा हुने, सरकारको नीति र प्राथमिकतामा सहयोग पु¥याउने र लगानीबाट प्रतिफल पनि आउने व्यवसायलाई हामी छनौट गर्दछौं’ ढकालले भने– म जे गर्दछु, इमान्दारिपूर्वक गर्दछु । त्यसैले हामीलाई विश्वास गरेर धेरै लगानीकर्ताले लगानी गर्नुभएको छ । सबै कर्मचारीहरुले विश्वास र भरोसा गर्नुभएको छ ।’ उनको सफलताको आधार पनि यहि हो ।

(देशविकास पत्रिकाको  वर्षअङ्क बाट)

सम्बन्धित सामग्री : 

 सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’

अर्बपति सन्यासी, पोल्ट्रीका फादर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.