हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल

  २०७९ पुष २६ गते १२:४७     विकासन्युज

काठमाडौैं । झापाका शिवप्रसाद शिवाकोटीलाई वि.सं. २०२८ सालमा राजद्रोह मुद्दा लाग्यो । एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वमन्त्री सीपी मैनाली, राधाकृष्ण मैनालीसँगै शिवाकोटी पनि एउटै पार्टीका सहयात्री थिए । राजद्रोहको मुद्दा लागेपछि उनी स–परिवार भारत हानिए । सरकारले उनको सबै सम्पत्ति राष्ट्रियकरण गरिदियो ।

उनको परिवारको १८ वर्ष भारतमै बित्यो । वि.स २०४६ सालको आन्दोलनपछि देशमा परिवर्तन आयो । त्यसपछि उनको परिवार नेपाल फर्कियो । सरकारले शिवाकोटीविरुद्धको मुद्दा फिर्ता लियो । उनको परिवार स्वतन्त्र बन्यो । त्यसपछि वि.सं. २०४८ सालमा सुरु भयो अल्फाबिटा । त्यतिबेला खासै कन्सल्टेन्सी थिएनन् । कोचिङ, ट्युसन, ट्राभल्स् एण्ड टुर गाईड, टिकेटिङ, कम्प्यूटर ट्रेनिङ हुन्थ्यो ।

अल्फाबिटाका अध्यक्ष द्विराज शर्माका दाई (युवराज शर्मा)ले अल्फाबिटाको स्थापना गरेका हुन् । जतिबेला द्विराज अध्ययनको लागि सिंगापुरमा थिए । शर्माले सिंगापुरमा रहँदै नेपालमा कन्सल्टेन्सी व्यवसायको सम्भावना भएको अनुमान गरिसकेका थिए । ‘सिंगापुरमा अध्ययन गरेर फर्किएँ, त्यतिबेलासम्म नेपालबाट अध्ययनको लागि विदेश जाने सिलसिलामा व्यावसायिक परामर्श दिने संस्थाहरु खुलिसकेका थिएनन,’, स्थापनाका दिनहरु स्मरण गर्दै उनी भन्छन्, ‘मैले नेपालमा यो व्यवसायको सम्भावना छ भन्ने अनुमान गरेको थिएँ, भोलि नेपालको विकास हुन्छ, नेपालीहरु पनि धनी हुँदै जान्छन्, त्यो अवस्थामा अन्तर्राष्ट्रिय स्तरको शिक्षामा नेपालीहरु पनि विदेश जान्छन्, दाईसँग सल्लाह गरेर अल्फाबिटा कन्सल्टेन्सी खोलेका हौं ।’

उनले सिंगापुरमा रहँदा धेरै चिनियाँ र अरु देशका नागरिकहरु पनि विश्वका विभिन्न विश्वविद्यालयमा ठूलो संख्यामा अध्ययनको लागि गएको देखेका थिए । आफ्नो अनुभव र अनुमान अनुसार नै शर्मा सन् २००० तिरबाट दाईले शुरु गरेको इन्स्टिच्युटबाट नै कन्सल्टेन्सी
सेवाको शुरुवात गर्नतर्फ लागे ।

उनी पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले समेत अल्फाबिटामा नै कम्प्यूटर सिकेको स्मरण गर्छन् । अल्फाबिटाको नामकरणको विषय पनि गज्जबको छ । विज्ञानका विद्यार्थीलाई कोचिङ पढाउने  अल्फाबिटा योजना थियो । विज्ञानमा बढी जस्तो अल्फाबिटा लगायतका शब्दहरुको प्रयोग हुन्छ । त्यसपछि कन्सल्टेन्सीको नाम नै अल्फाबिटा राखेको अध्यक्ष शर्मा बताउँछन् । अल्फाबिटाको नाम जुराउने व्यक्ति हुन् पुरुषोत्तम विष्ट । जो त्यतिखेरका सोही कम्पनीका लगानीकर्ता थिए । अहिले शर्मा एक्लै छन् ।

पछिल्लो २ दशक यता नेपालको शिक्षा क्षेत्रमा शैक्षिक परामर्श व्यवसायले आफ्नो उपस्थितिलाई जर्बजस्त बढाउँदै लगेको छ । शैक्षिक परामर्श व्यवसायीहरुको सहजीकरणबाट लाखौंको संख्यामा नेपालीहरु विश्वको विभिन्न विश्वविद्यालयहरुमा अध्ययनको लागि पुगेका छन् । जसमध्ये अधिकांशको शैक्षिकस्तर र जीवनस्तर पनि बदलिएको छ, अर्थात सम्पन्नतातर्फ उन्मुख भएका छन् । त्यतिमात्रै भएको छैन राज्यको अर्थतन्त्र विकासमा पनि उनीहरुले निकै महत्वपूर्ण योगदान पुर्याएका छन् ।

अध्यक्ष शर्मा अल्फाबिटा एजुकेसन कन्सल्टेन्सी पछिल्लो समयमा नेपाली विद्यार्थीहरुमाझ थप स्थापित र विश्वासिलो बन्दै गएका बताउँछन् । नेपालमा कन्सल्टेन्सी क्षेत्र व्यवसायको रुपमा स्थापित भई नसकेको अवस्थामा शुरु भएको कन्सल्टेन्सीले ठूलो आरोह अवरोह भोगेको उनको भनाई छ ।

नेपाली विद्यार्थी विदेश पढ्न जान लागेको लामो इतिहास भएको छैन । शर्माले यो सेवाको शुरुवात गर्दा नेपालमा यस्तो सेवा सञ्चालन गर्ने धेरै व्यवसाय थिएनन् । उनका अनुसार एउटा इन्टरफेस भन्ने अस्ट्रेलियन कम्पनी थियो, नोवेल इन्स्टिच्युट, युनिभर्सल, लगायत थोरै मात्रै थिए । त्यस्तै भाषा शिक्षा दिने संस्थाहरु १र२ वटा मात्रै थिए । तर, धेरै नेपाली कन्सल्टेन्सीभन्दा बाहिरबाट पनि अमेरिका गइराखेका हुन्थे ।

शर्मा भन्छन्, ‘अमेरिकामा खासगरी उच्च घरानियाका छोराछोरी पढ्न गइराखेका हुन्थे, युएसइएफ भन्ने छ, उनीहरुले पनि परामर्श दिने काम गर्दथे’, उनले भने, ‘अमेरिकाका विश्वविद्यालयहरुले कमर्सियल एजेन्ट राख्दैनथे, खासगरी अमेरिकामा साइलेन्टली ५/६ हजार विद्यार्थी गइराखेका हुन्थे ।’ पहिलेदेखि नै बुढानिलकण्ठ, सेन्ट जेभियर्स र भारतमा राम्रो स्कुलमा पढेर आएकाहरु अमेरिका अध्ययन गर्न जाने गरेको अन्य धेरै व्यक्तिहरुले पनि बताउँछन् । नेपालमा परामर्श सेवाको व्यावसायिक सेवा शुरु भएको भने अस्ट्रेलिया, युके र क्यानडाको भिसाको कारणले भएको शर्माको भनाइ छ ।

उनीहरुले जुन संख्यामा विद्यार्थीको माग गर्न थाले त्यसले सो क्षेत्रमा व्यवसायको शुरुवात गर्ने वातावरण नै निर्माण भएको उनी बताउँछन् । वातावरण बनेपछि भने विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्यामा विस्तारै वृद्धि हुन थाल्यो । ‘हामीले इन्स्टिच्युटको शुरुवात गर्दा अध्ययनको लागि अहिले जस्तै आम मानिसहरु विदेश जान्थेनन्, प्रायः उच्च वर्गका मानिसहरु मात्रै अध्ययनको लागि विदेश जान्थे, अहिले धेरै विद्यार्थीहरु जान थालेका छन्, सबै वर्गका मानिसलाई विदेश पठाउने, उच्च शिक्षा हासिल गर्न मद्दत गर्न हामीले धेरै भूमिका खेलेका छौं’, शर्माले भने । विदेशी विश्वविद्यालयहरुसँग सम्बन्ध विस्तार गर्ने विषय सामान्य होइन । त्यसमा विशेष प्रकारको क्षमताको आवश्यकता पर्छ ।

भाषाको विषय त झनै महत्वपूर्ण हुन्छ । भारत र सिंगापुरमा अध्ययन गरेको र अंग्रेजी भाषामा राम्रो क्षमता भएकाले शर्मालाई विश्वविद्यालयहरुसँग सम्बन्ध विस्तार गर्न समस्या भएन । अर्को त उनले सिंगापुरमा अध्ययनकै क्रममा धेरै अन्तर्राष्ट्रिय स्तरका मानिसहरुसँग डिल गर्न सिकिसकेका थिए । उनी भन्छन्, ‘कामको शुरुवात गरेको वर्षबाट नै सफलता प्राप्त गर्न शुरु गर्यौं, मैले सिंगापुरमा पढेर आएको त्यहाँ मैले सम्बन्ध बनाएको थिएँ, त्यसैले पनि शुरुवातको वर्षमा थोरै मात्रै संख्यामा विद्यार्थी सिंगापुर, केही साइप्रस र थोरै विद्यार्थी युके पठाउन सफल भयौं ।’

शुरुवातदेखि अहिलेसम्म व्यावसायिक सम्बन्ध विस्तार गर्दै जाँदा शर्माले विश्वका ५० वटा भन्दा धेरै देशको भ्रमण गरिसकेका छन् । पछिल्लो २० वर्षमा ३० पटक अमेरिका मात्रै पुगेको उनी सुनाउँछन् ।

व्यवसायको शुरुवात गरिसकेपछि सम्बन्धित क्षेत्रसँग सम्बन्ध विस्तार हुँदै जाने उनको बुझाइ छ । ‘विदेशी विश्वविद्यालयहरुलाई पनि विद्यार्थीको आवश्यकता पर्छ, सोही अनुसार उनीहरुले पनि एक प्रकारको मार्केटिङ गर्छन्, मैले पनि धेरै देशहरुमा यसकै लागि यात्रा गरें,’ उनी भन्छन्, ‘अल्फाबिटाको अर्को उपलब्धि भनेको हामीलाई सबैलाई समेट्न सक्यौं ।’

अहिलेको जस्तो सन् २००० तिर सूचना प्रविधिको विकास भइसकेको अवस्था थिएन । जसले गर्दा आम सूचनाको पहुँच सबै विद्यार्थीहरुमा थिएन । विदेशी विश्वविद्यालयहरुमा पढ्न जान सकिन्छ भन्ने कतिपयमा ज्ञानको समेत अभाव थियो । त्यसैले शुरुवातको अवस्थामा
विद्यार्थी खोज्ने विषय पनि असहज भएको शर्माको अनुभव छ । सूचना प्रविधिको विकासको कारणले भने पछिल्लो समयमा काम गर्न सजिलो हुँदै गएको छ ।

‘विद्यार्थी खोज्नको लागि विज्ञापन गर्थ्यौं, अहिलेको जस्तो इमेल इन्टरनेटको अवस्था थिएन, विश्वविद्यालयमा डकुमेन्ट पठाउनको लागि फ्याक्स कुरियरको सहायता लिनुपर्दथ्यो, प्रकृया शुरु गरेर सम्पन्न गर्न नै महिनौं समय लाग्थ्यो’, शर्माले आफ्नो अनुभव सुनाए । थोरै विद्यार्थीलाई विदेशी विश्वविद्यालयमा पठाउनेबाट शुरु भएको शर्माको अल्फाबिटा अहिले देशकै स्थापित कन्सल्टेन्सी बनेको छ । अहिलेसम्म कन्सल्टेन्सीले १० हजारभन्दा धेरै विद्यार्थीलाई विदेश अध्ययन गर्न जानको लागि सहजिकरण गरिसकेको उनी बताउँछन् ।

‘औसतमा हाम्रो सहजिकरणबाट वार्षिक रुपमा ४/५ सय विद्यार्थी अध्ययनको लागि जाने गरेको उनी बताउँछन् । यसरी हेर्दा अहिलेसम्म १० हजार भन्दा धेरै विद्यार्थी गएको उनी सुनाउँछन् । ‘नेपालको भन्दा बढी बजेट एउटा विश्वविद्यालयको हुन्छ, विश्वमा सबैभन्दा राम्रो अनुसन्धान उनीहरुले गर्ने गर्छन्, शिक्षा र ज्ञान पाइने ठाउँमा स्वाभाविक रुपमा सबैको आकर्षण हुन्छ’, शर्मा भन्छन्, ‘नपढीकन राम्रो युनिभर्सिटी नगईकन सिक्न सकिँदैन, त्यसैले राम्रो शिक्षा र सुन्दर भविष्यको लागि धेरैले राम्रो विश्वविद्यालय रोज्ने गर्छन् ।’

आफूहरुको इमान्दारिता र मिहिनेतले नै सो क्षेत्रमा सफल हुन सकेको उनी बताउँछन् । मिहिनेत गरेर पैसा कमाउने आदर्श आफूहरुलाई आमाबुवाले नै दिएको उनको तर्क छ । ‘हामीले यसको शुरुवातदेखि निरन्तर मिहिनेत ग¥यौं, नतिजालाई पछ्याउने भन्दापनि निरन्तर मिहिनेत गर्ने कामलाई छोडेनौं, यो पेशामा हामीले रमाएर पनि काम ग¥यौं, जीवनमा आफुले गरेको कामलाई सफल बनाउनु पर्छ भनेर लाग्यौं, ‘क्लिन मनी’ कमाउनको लागि मिहिनेत नै गर्नुपर्छ, यसको आदर्श हामीलाई आमाबुवाले नै दिनुभएको हो’, शर्माले भने ।

अल्फाबिटाले परामर्श व्यवसायको क्षेत्रमा सकारात्मक प्रभाव पारेको उनको दाबी छ । आफूहरुले सोही क्षेत्रबाट आर्जन गरेको पुँजी देशभित्र नै विभिन्न क्षेत्रमा लगानी गरेर कर्पोरेटको विकास गरेको र जसको अन्य लगानीकर्ताहरुमा पनि सकारात्मक प्रभाव परेको उनले बताए । ‘धेरै परामर्श व्यवसायीको लागि सायद अल्फाबिटाले सकारात्मक प्रभाव पारेको छ, ‘मानिसहरुले पैसा आर्जन गरिसकेपछि जग्गामा लगानी गर्छन् भने हामीले यो क्षेत्रमा पैसा आर्जन गरेर कर्पोरेटको रुपमा विकास गर्यौं, कम्प्लेक्स बनायौं, यो सँगै जोडेर  यहीँ अन्य व्यवसायको विस्तार गर्यौं’, उनले भने, ‘यसको प्रभावको कारणले हुनसक्छ अरुले पनि अहिले आफूलाई कर्पोरेट ढंगले विकास गर्न थालेका छन् ।’

अल्फाबिटाले परामर्श व्यवसायको क्षेत्रमा सकारात्मक प्रभाव पारेको उनको दाबी छ । आफूहरुले सोही क्षेत्रबाट आर्जन गरेको पुँजीभित्र नै विभिन्न क्षेत्रमा लगानी गरेर कर्पोरेटको विकास गरेको र जसको अन्य लगानीकर्ताहरुमा पनि सकारात्मक प्रभाव परेको उनले बताए । ‘धेरै परामर्श व्यवसायीको लागि सायद अल्फाबिटाले सकारात्मक प्रभाव पारेको छ, ‘मानिसहरुले पैसा आर्जन गरिसकेपछि जग्गामा लगानी गर्छन् भने हामीले यो क्षेत्रमा पैसा आर्जन गरेर कर्पोरेटको रुपमा विकास गर्यौं, कम्प्लेक्स बनायौं, यो सँगै जोडेर निजी शैक्षिक क्षेत्रको विकासमा आफूहरुको पनि राम्रो योगदान रहेको उनी बताउँछन् ।

‘हामीले स्कुल कलेजको क्षेत्रमा डनबस्को र ह्वाइट हाउस कलेज लगायतको क्षेत्रमा लगानी गर्यौं, जसले शिक्षामा निजी क्षेत्रको लगानीलाई पनि शुरुवात गर्ने वातावरणको लागि सकारात्मक प्रभाव छाड्ने काम गरेको छ,’ शर्माले भने, ‘स्कुल कलेजहरुलाई आधुनिकीकरण र गुणस्तरीय बनाउनको लागि हामीले शुरुवाती योगदान गरेका छौं, अहिले एउटा सफल व्यावसायिक ग्रुपको रुपमा परिचित छौं ।’

अल्फाबिटासँग काम गरेका र साझेदारी गरेका धेरै व्यवसायीहरुले पछिल्लो समयसम्म व्यावसायिक क्षेत्रमा निकै विकास गरेका छन् । शर्माका अनुसार अल्फाबिटामा सिकेर व्यवसाय शुरुवात गर्नेहरुले अहिले विश्वस्तरको कम्पनी सञ्चालन गर्न सफल भएका छन् । आफू पनि नेपालभन्दा बाहिर बसेर काम गरेको भए यहाँको तुलनामा धेरै विकास गर्न सकिने शर्माको भनाइ छ ।

‘मुलुकभित्रको अस्थीर राजनीतिक अवस्थाको कारणले सबै उद्यमीहरुलाई काम गर्न सहज भइरहेको छैन, अल्फाबिटाले पनि धेरै प्रकारको संघर्ष गर्नुपर्यो’, उनी भन्छन्, ‘यही मिहिनेत विदेशमा रहेर गरेको भए धेरै ठूलो स्तरको विकास हुन सक्थ्यो भन्ने कुरा आज अरु व्यवसायीहरुको उदाहरणले देखाएको छ ।’

नेपालमा शैक्षिक परामर्श क्षेत्रमा सकारात्मक वातावरण सिर्जना गर्नको लागि सक्दो प्रयास गरेको उनको भनाई छ । उनका अनुसार  अल्फाबिटाले इथिकल परामर्श, विश्वस्तरको संरचना, गुणस्तरीय शिक्षक, विश्वविद्यालयसँग विश्वसनियता र सेवाको गुणस्तरलाई विशेषताको रुपमा स्थापित गरेको छ ।

मुलुकको अर्थतन्त्रमा रेमिट्यान्सले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । वैदेशिक रोजगारीमा जानेभन्दा अध्ययनको लागि जानेहरुको मुलुकमा ठूलो योगदान हुन लागेको परामर्श व्यवसायीहरुले बताउँदै आएका छन् । सरकारले विदेशमा अध्ययन गर्न गएका नेपालीहरुको अवस्था र तिनले नेपालको अर्थतन्त्रमा पुर्याएको योगदानबारे सरकारले आधिकारिक रुपमा लेखाजोखा गर्नुपर्ने शर्मा बताउँछन् । नेपालको राजनीतिक परिवर्तन र आर्थिक विकासमा विदेशमा रहेका शिक्षित नेपालीहरुले महत्वपूर्ण भुमिका खेल्ने गरेको उनको दाबी छ ।

शर्मा भन्छन्, ‘विदेशमा गएका नेपालीमध्ये ठूलो संख्यामा मजदुरीमा खाडी मुलुक गएकाहरु भन्दा विद्यार्थी भिसामा अन्य विकसित मुलुकमा गएका नेपालीहरुको आम्दानी पनि धेरै छ, नेपाल राष्ट्र बैंकले यो विषयमा लेखाजोखा के कति गरेको छ, तर यसको लेखाजोखा गर्न जरुरी छ ।’ शर्मा थप्छन्, ‘उनीहरुले मुलुकलाई आर्थिक, सामाजिक र सोचको हिसाबले कति योगदान पुर्याइरहेका छन भन्ने विषयको लेखाजोखा हुनुपर्छ, विदेश पढ्न गएका नेपालीले राज्यको अर्थतन्त्रको विकासमा कस्तो भूमिका निर्वाह गरिरहेका छन्, राजनीतिक परिवर्तनका लागि कस्तो भूमिका निर्वाह गरेका छन् भन्ने हेर्ने हो भने निकै राम्रो गरिरहेका छन् ।’

शर्माले अध्ययनको क्षेत्रमा गरिने लगानीलाई खर्च हिसाबले हेर्न नहुने बताउँछन् । विदेश अध्ययन गर्न जाने विद्यार्थीले अध्ययन, सीप र पैसा सबै ल्याउन सफल भएको उनको भनाइ छ । उनका अनुसार विदेशमा गएका विद्यार्थीहरु पछिल्लो समयमा हजारौं नेपालीलाई रोजगारी सिर्जना गर्ने तहमा पुगेका छन्, जसमा सूचना प्रविधि व्यवसाय थप सम्भावित भएर गएको छ । विदेश अध्ययन गर्न जाने नेपालीको लगानी सुरक्षित गर्नको लागि इन्स्योरेन्स सुरु गर्नुपर्ने जसले गर्दा भोलिको दिनमा कुनैपनि विद्यार्थीको लगानी डुब्ने अवस्था सिर्जना नहुने उनले बताए ।

‘विदेश अध्ययनको लागि जाने विद्यार्थीले निश्चित शुल्क लिएर जान्छ, त्यसको लागि इन्स्योरेन्स गर्नुपर्ने आवश्यकता छ, त्यसो गर्न सकियो भने भोलिको दिनमा यदि कुनै विद्यार्थीको लगानी डुव्यो भने उसले राहत पाउने अवस्था सिर्जना हुनसक्छ’, उनले भने, ‘गलत डकुमेन्ट बनाएर काम गर्नेहरुको हकमा भने राज्यसँग कानूनी व्यवस्था छँदैछ ।’

कन्सल्टेन्सीहरुलाई शिक्षा मन्त्रालय मातहतमा राखेर गरिएको नियमन पनि स्वभाविक नभएको उनको भनाइ छ । ‘वास्तवमा यो सेवामूलक पेसालाई शिक्षा मन्त्रालय अन्तर्गत राख्न जरुरी होइन’, उनले भने, ‘किनकी हामीले विश्वविद्यालयको सूचना विद्यार्थीलाई दिने काम मात्रै गर्ने हो, त्यो पनि विश्वविद्यालयले काम दिन बन्द गर्दाको दिनबाट हाम्रो व्यवसाय बन्द हुन्छ ।’

‘म काठमाडौं फर्कदा खल्तीमा ५०० डलर थियो, ५ सयमा लगानी सुरु गरेका हौं, केही समय सुरु गरेपछि पाँच लाखमा पनि नबिक्ने अवस्थामा थियो तर अहिले १० अंकभन्दा बढी भ्यालूको कम्पनी बनिसकेको छ, अझै विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दैछौं,’ उनी भन्छन्, ‘अल्फाबिटालाई यस क्षेत्रको अग्रणी र नमूना संस्था बनाउन चाहन्छौं, अहिलेसम्मको उपलब्धिमा हामी सन्तुष्ट छौं ।’

(देशविकास पत्रिकाको  वर्षअङ्क बाट)

सम्बन्धित सामग्री : 

सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’

अर्बपति सन्यासी, पोल्ट्रीका फादर

चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.