‘सक्रिय व्यवसायिक जीवनबाट विश्राम लिन्छु, वास्तविक किसान बनेर देशलाई आत्मनिर्भर बनाउँछु’

  २०७९ माघ २ गते १०:४९     सन्तोष रोकाया

काठमाडौं । नेपालमा कृषिको अथाह सम्भावना छ ।’ यो वाक्य नीति–निर्माता, उद्योगी व्यवसायी र बैङ्कहरुको मुखबाट पनि बारम्बार निस्किन्छ । तर, न नीति निर्माताले कृषिमा सहज नीति बनाउँछन् । न उद्योगी व्यवसायी लगानी गर्न चाहन्छन् न त बैङ्करहरुले कृषि क्षेत्रमा कर्जा प्रवाह गर्न नै रुची राख्छन् । सबैको बोली फुटछ् तर कदम चल्दैन । भएका नीति नियम तथा व्यवस्थाहरु पनि प्रभावकारी रुपमा कार्यान्वयन हुँदैनन् । नेपाल राष्ट्र बैङ्कले कृषिलाई प्राथमिकता प्राप्त क्षेत्रका रुपमा तोकेको छ । निश्चित प्रतिशत कर्जा कृषिमा लगानी गर्नै पर्ने व्यवस्था गर्छ । तर, बैङ्कहरु कृषिमा लगानी गर्न कन्जुस्याईं गर्छन् । कृषिका लागि भनेर प्रवाह भएको ऋण पनि व्यवसायीहरुले अन्तै लगानी गर्छन् । कृषि क्षेत्र बोलीमा प्राथमिकता पाउँछ तर कार्यान्वयनमा जहिल्यै पछाडी ।

देशमा कृषिमा उदाहरणीय काम गरेको भनेर चिन्न सकिने व्यक्ति औंलामा गन्न मिल्ने पनि छैनन् । तर, गोल्यान समूहले भने पछिल्लो समय कृषिमा एग्रेसिभ रुपमा काम गरिरहेको छ । धागो उद्योग, जलविद्ययुत्, बैंकिङ, होटल, रियलस्टेट क्षेत्रमा सक्रिय रुपमा लागेको गोल्यान समूहले अहिले कृषिमा लगानी बढाइरहेको छ । केही आफैले त केही किसानसँग मिलेर यो समूहले ‘माटो’ ब्राण्डमार्फत् आफ्ना कृषि उत्पादनलाई देशभर फैलाउने योजनाका साथ काम गरिरहेको छ । गोल्यान समूहले झापामा २ सय बिघा जग्गा खरिद गरेर काम गरिरहेको छ । त्यहाँका किसानसँग सहकार्य गरी अर्गानिक कृषि वस्तु उत्पादन गरेर देशसँगै विदेशमा पनि निर्यात गर्ने उद्देश्यका साथ काम भइरहेको गोल्यान समूहका अध्यक्ष पवन गोल्यान बताउँछन् ।

‘हाइड्रोपावरमा काम सुरु गर्दा पहिले नै लाग्नु पर्ने रहेछ भन्ने महशुस भयो, पर्यटन क्षेत्रमा लाग्दा पनि यसमा त झन् २० वर्ष अघि नै लाग्नु पर्ने रहेछ भन्ने लाग्यो, अहिले कृषिमा सुरु गरेको छु, कृषिमा त झन् धेरै पहिले लाग्नु पर्ने, अहिले ढिला भयो जस्तो लाग्दैछ, पहिले कृषिमा लगानी नगरेर गल्ती गरेको महशुस भएको छ, मेरो करियरको सुरुवात नै यसबाट गरेको भए राम्रो हुन्थ्यो भन्ने लागिरहेको छ, जुन क्षेत्रमा गयो त्यसमा धेरै सम्भावना देखिरहेको छु, अब गोल्यान समूह कृषिमा जम्छ,’ अध्यक्ष गोल्यानले भने ।

गोल्यान गु्रपले नेपालको सबैभन्दा ठूलो धागो उद्योग रिलायन्स स्पिनिङ मिल्स सञ्चालन गरेर एक किसिमको सफलता पाइसकेको छ । नेपाली व्यवसायिक घरानामा गोल्यान समूह पनि परिचित नाम हो । उत्पादन मुलक उद्योग, बैंकिङ, बीमा, होटल, जलविद्युत्, आवास विकास क्षेत्रमा सफलता चुम्दै आफूलाई एक सफल व्यावसायिक घरानाका रुपमा स्थापित गोल्यान समूहले कृषिमा क्रान्ति ल्याउने लक्ष्यका साथ काम गरिरहेको अध्यक्ष गोल्यान बताउँछन् । लक्ष्यअनुसार गोल्यान समूहले कृषिमा लगानी बढाउँदै लगेको छ । गोल्यान समूहले ३ अर्ब पुँजीको जनता एग्रो एण्ड फोरेष्ट्री पब्लिक कम्पनी दर्ता गरिसकेको उनले बताए, जहाँ गोल्यान समूहको २ अर्ब रुपैयाँ पुँजी हुनेछ भने उत्पादन र बजारीकरणमा साझेदार गर्ने कम्पनीहरुबाट एक अर्ब पुँजी जुटाउने उनको तयारी छ । ‘हामीले पब्लिक कम्पनी दर्ता गर्नुको कारण यसलाई पुँजीबजारमा पनि लैजाने योजना हो, सर्वसाधारणको लागि सेयर निष्काशन गर्ने बेलामा कम्पनीको पुँजी फेरी बढ्छ’ उनले भने ।

कृषि व्यवसायबाट पनि राम्रो आम्दानी हुन्छ, कृषि कम्पनीले पनि उद्योगले झैं ठूलो व्यवसाय गर्न सक्छ, कृषि कम्पनीले पनि पुँजी बजारमा राम्रो स्थान लिन सक्ने भनेर देखाउने उनको चाहाना छ । अहिले भने कम्पनीले नाफा लिन नसकेको उनले बताए । ‘हामी लगानी थपिरहेका छौं, चालु आर्थिक वर्षमा यसबाट प्रतिफल नआउन सक्छ, दुई/तीन वर्ष कोरोनाका कारण केही नोक्सान भयो, अब आगामी वर्षदेखि बैङ्कको व्याज उठाउन सक्छ, त्यसपछि कम्पनी नाफामा जान्छ,’ उनले भने । ‘जब बिजनेशम्यान भएर नयाँ–नयाँ काम गरिन्छ, त्यो बेलामा जसरी पनि पैसा कमाउने भन्ने नै हुन्छ, बिजनेशम्यानको पहिलो चरण भनेको पैसा कमाउने हो तर म बिजनेशम्यान वा व्यापारी नभएर उद्योगी भएको हुनाले उद्योगमा नै लागेँ, त्यो बेलामा मेरो सपना एउटा ठूलो धागो उद्योग बनाउने थियो, ३० वर्षअघि त्यो काम गरियो, त्यसले मलाई धेरै खुसी दियो, म जुन ठाउँमा हात हाल्छु त्यसमा सफल हुन्छु भन्ने कन्फिडेन्ट छ, अहिले कृषिमा लागेको छु, असल कृषक भएर काम गरिरहेको छु, यसले मलाई आनन्दको अनुभूति दिइरहेको छ,’ उनी भन्छन्, ‘समय अनुसार बिजनेस पनि विविधीकरण गरिरहनु पर्छ ।’

म असल कृषक भएर काम गरिरहेको छु । यसले मलाई आनन्दको अनुभूति दिइरहेको छ । कृषि कम्पनीले पनि ठूलो उद्योगले झैं ठूलो व्यवसाय गर्न सक्छ, उच्च नाफा दिन सक्छ, कृषि कम्पनीले पनि पुँजी बजारमा राम्रो स्थान लिन सक्ने भनेर देखाउने मेरो चाहना छ । विविधीकरण गरिरहनु पर्छ ।’

आधुनिक कृषिमा व्यावसायिक रुपमा अघि बढ्न गोल्यान समूह तयार रहेको उनी बताउँछन् । कृषिमा बिचौलियाको बिगबिगी छ । असली कृषकले सरकारको सहुलियत पाउँदैनन् । बैङ्कबाट ऋण निकाल्ने ल्याकत राख्दैनन् । अब पवन गोल्यान त्यो दूरी हटाउन चाहन्छन् । कृषकलाई सहुलियत कर्जा दिलाउन भूमिका खेल्न चाहन्छन् । उनीहरुले उत्पादन गरेको वस्तु आफैले किनेर बजार खोज्ने प्रयत्न गर्नेछन् । ‘समुन्द्रमा हाम नफाली गहिराई कति छ भनेर थाहा पाँइदैन, सानो पोखरीमा पौडी खेल्न गयो भने पनि च्याम्पियन बनिँदैन, त्यसैले पनि मैले ठूलै लगानीमा ठूलै स्पेसमा कृषि सुरु गरेको छु, मलाई समाजले धेरै दियो, मैले पैसा पनि कमाएँ, अब म समाजलाई दिन चाहन्छु, यो देशलाई दिन चाहन्छु,’ नेपाल बैङ्क तथा वित्तीय संस्था परिसङ्घका अध्यक्ष समेत रहेका उनी भन्छन्, ‘स्थानीय कृषकलाई सिकाउँछु, दक्ष बनाउँछु, म मेरो कम्पनीको हित मात्र हेर्दिन, किसानलाई व्यावसायिक हुन सिकाउँछु, उत्पादनसँग प्याकेजिङ सिकाउँछु, कृषि उपजलाई कसरी हाइजनिक बनाउन सकिन्छ ? कसरी बढी समय टिकाउन सकिन्छ ? सबै सिकाउँछु । कृषि उद्यममा नयाँ ट्रेण्ड सेट गर्दैछु ।’

अब सेयर बजारमा पनि सबैभन्दा बढी सेयर मूल्य कृषिसँग सम्बन्धित कम्पनीहरुको हुने किसिमले आफूले काम गर्न लागेको उनी बताउँछन् । ‘कुनै दिन बैङ्कको सेयरमा आकर्षण थियो, त्यसपछि बीमामा आकर्षण बढ्यो, पछि बीमा लगायत अन्य क्षेत्रको क्रेज आयो, अब कृषिसँग सम्बन्धित कम्पनीहरुको सेयरमा लगानीकर्ताकोआकर्षण हुन्छ,’ उनले भने । उनी अब आफ्नो उत्पादनलाई देशसँग जोड्न चाहन्छन् । अब कृषिमा सरकारको नीति पनि प्रभावकारी हुनु पर्ने उनको भनाइ छ । कृषकले पाउने अनुदानको प्रणाली पनि प्रभावकारी हुनु पर्ने उनी बताउँछन् । यसमा पालिकाहरुलाई अगाडि ल्याउनु पर्ने धारणा उनको छ । ‘कृषिमा फड्को मार्न सङ्घ र प्रदेश सरकारले सक्दैनन्, स्थानीय सरकारले नै सक्छ, सबैभन्दा धेरै जिम्मेवार स्थानीय सरकारलाई बनाउनुपर्छ,’ उनी भन्छन्,’ मैले पनि धेरै स्थानीय सरकारसँग उत्पादनको बजारीकरण, कृषकको तालिम तथा सीप विकासका लागि छलफल गरेको छु ।’

उनका अनुसार अहिले गोल्यान समूहले १४० बिघा जग्गामा केरा, अम्बा, कागती ड्रागन फ्रुट, तुलसी र सुपारी लगायतका फलफूल तथा तरकारी लगाएको छ । यो वर्ष धेरै उत्पादन बिक्री भइसकेको उनी बताउँछन् । ‘हामी नेपालभर बजार बनाउन चाहन्छौं, निर्यात पनि गर्छौं, विदेशमा बस्ने नेपालीहरु पनि हाम्रो लक्षित ग्राहकहरु हुन्, बजारको खासै समस्या हुँदैन ।’ उनले भने । ‘अब कमाउनका लागि पुगिसकेको छ, धेरै कमाउने रहर पनि छैन, एउटा धर्मको हिसावले पनि आफ्नो कर्म दीगो भएन भने त्यो अगाडि जान सक्दैन, म रहुञ्जेलसम्म मात्रै चल्छ, त्यसैले बिजनेश दीगो हुनु पर्छ, त्यसका लागि म लागिरहेको छु, नेपालमा कृषिलाई दीगो व्यवसायको रुपमा लिन सकिन्छ,’ उनी भन्छन् ।

पब्लिकमा जाने योजना

गोल्यान समूहले हरेक कम्पनीलाई सेयर बजारमा सूचीकृत गराउने योजना बनाएको छ । त्यसका लागि तयारी पनि भइरहेको उनको भनाइ छ । कृषि कम्पनीसँगै रिलायन्सलाई पनि सेयर बजारमा सूचीकृत गराउनका लागि प्रक्रिया भइरहेको उनले बताए । त्यसका लागि कम्पनीले आवदेन पनि दिइसकेको छ । रिलायन्सले बुक बिल्डिङ्गमा आईपीओ निष्कासन गर्नेछ । उनले हायात प्यालेस होटलको पनि आईपीओ ल्याउने योजना रहेको सुनाए । वार्षिक ६० हजार टन धागो उत्पादन हुने रिलायन्सको वार्षिक १२ अर्ब रुपैयाँ बराबरको कारोबार हुन्छ । अहिले पनि कम्पनी विस्तार गर्ने काम भइरहेको उनले बताए । रिलायन्सले पाँच हजारलाई रोजगारी दिएको छ । दुव्र्यमा रियल स्टेटको सफल व्यवसाय गरिसकेका गोल्यान विश्वका विभिन्न देशमा धागो निर्यात गर्छन् ।

गोल्यान समूहले ३ अर्ब पुँजीको जनता एग्रो एण्ड फोरेष्ट्री पब्लिक कम्पनी दर्ता गरिसकेको छ, जहा“ गोल्यान समूहको २ अर्ब रुपैयाँ पुँजी हुनेछ भने उत्पादन र बजारीकरणमा साझेदार गर्ने कम्पनीहरुबाट एक अर्ब पुँजी जुटाउने तयारी छ । उद्योग, बैङ्क, होटल, जलविद्युत्, रियलस्टेटमा झैं कृषि व्यवसायमा पनि सफल हुनेमा पवन गोल्यान विश्वस्त छन् ।

१६ वर्षको उमेरमै आफ्नै व्यवसायमा होमिएका पवन गोल्यान अब रिटायर्ड हुन चाहन्छन् । अहिले उनको छोरा र भतिजले व्यवसाय सम्हाल्न सुरु गरिसकेका छन् । उनका भतिज दुव्र्यमा रियल इस्टेटको व्यवसाय गर्छन् । छोरा अक्षयले नेपालको व्यवसायमा कार्यकारी भूमिका खेल्न थालेका छन् । ‘अब म सक्रिय बिजनेशमा सहभागी हुँदिन, आफ्नो अनुभव मात्रै सेयर गर्ने हो, अब प्रत्येक युवाहरुलाई मसँग भएको अनुभव ज्ञान र सीप बाँड्न चाहन्छु, अहिले पनि विभिन्न विद्यालय तथा कलेजमा गएर उनीहरुलाई मोटिभेट गरिरहेको छु, गर्न चाहनेलाई लगानी जुटाउन पनि मद्दत गर्छु, मलाई त्यो पैसाको नाफा/व्याज चाहिँदैन, मात्रै दिएको पैसा फिर्ता गरे हुन्छ, अब म समाज सेवा गर्न चाहन्छु, कृषिमै रम्न चाहन्छु,’ उनले भने ।

 (देशविकास पत्रिकाको  वर्षअङ्क बाट)

सम्बन्धित सामग्री :

नवीन शर्मा: १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म

जसले नेपालमा केबलकार क्रान्ति ल्याए

गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ

सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’

अर्बपति सन्यासी, पोल्ट्रीका फादर

चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा

हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.