इच्छाराजको सिभिल सहकारीको ‘ठगी’ प्रहरीलाई किन संगठित अपराध लाग्यो ?

  २०७८ कार्तिक ६ गते १४:४५     शिव सत्याल

काठमाडौं । सिभिल सहकारी संस्थाका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको कन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले प्रक्राउ गरेका इच्छाराज तामाङलाई प्रहरीले संगठित अपराध ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाउन अदालतबाट अनुमति पाएको छ ।

सहकारी क्षेत्रको नियामकको पनि जिम्मेवारी पाएको सहकारी विभागले गत असोज १७ गते सीआईबीलाई पत्र लेख्दै तामाङ सहितका उनको समुहका व्यक्तिलाई पक्राउ गरी कारबाही अघि बढाउन भनेको अनुरोध गरेको थियो । विभागको सोही आग्रह अनुसार सीआईबीले तामाङ सहित १२ जनालाई असोज १८ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।

सीआईबीले तामाङ सहितका १२ जना व्यक्तिहरुले सहकारी ऐन २०७४ को दफा १२२ विरुद्धको कसुर गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको थियो । (सहकारी ऐनको सो दफामा के कस्तो कार्यलाई सो ऐन विरुद्धको कसुरको रुपमा किटान गरेको छ भन्ने जानकारी यो समाचारको पुछारमा उल्लेख गरिएको छ ।)

सहकारी विभागले सहकारी ऐन २०७४ को दफा १२९ अनुसार पत्र पठाएपछि सीआईबी आफूलाई अनुसन्धान गर्न अनुकुल हुने ऐनको खोजीमा लाग्यो । किनभने सीआईबीले सहकारी ऐन २०७४ अनुसार अनुसन्धान गरी तामाङ सहित पक्राउ गरेकाहरुलाई कारबाही अघि बढाउन सक्ने अवस्था थिएन ।

अनुसन्धान गर्न सहज हुने ऐन खोज्दै गर्दा सीआईबी मुलुकी अपराध संहिता ऐनको दफा २४९ मा पुग्यो । सो दफामा ठगी सम्बन्धी व्यवस्था छ । सीआईबीले असोज १९ गते जारी गरेको विज्ञप्तिमा पनि तामाङ र उनको समुहले सहकारी ऐन २०७४ को दफा १२२ अनुसार कसुर गरेको भने उल्लेख त गरेको छ, सँगै ‘सहकारी ठगी गरेको’ पनि भनेको थियो ।

सहकारी ठगीको अनुसन्धान गर्दै जाँदा सीआईबी तामाङ सहित पक्राउ परेका १२ जनामाथि संगठित अपराध गरेको कसुरमा अनुसन्धान गर्ने निक्र्योलमा पुग्यो । र, अहिले सीआईबीले तामाङ र उनीसँग पक्राउ परेका थप ११ जनामाथि संगठित अपराध ऐन अनुसार अनुसन्धान गर्ने अनुमति अदालतबाट लिइसकेको छ ।

प्रहरीले यसअघि पनि सहकारी ठगीका धेरै मुद्दाको अनुसन्धान गरिसकेको छ । सहकारी संस्थामा भएको रकम हिनामिनालाई प्रहरीले ठगी अन्तरगत नै कारबाही गर्ने गरेको थियो । तामाङको सन्दर्भमा भने सीआईबी सहकारी ऐनको दफा १२२ बाट पसेर मुलुकी अपराध संहिता ऐनका दफा २४९ हुँदै संगठित अपराध निवारण ऐन २०७० मा पुगेको छ ।

प्रहरीलाई किन लाग्यो संगठित अपराध ?

हामीले सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोलाई तामाङको कसुर बैंकिङ कसुर, सहकारी ऐन विरुद्धको कसुर या ठगी नभई किन संगठित अपराध ऐन विरुद्धको कसुर हो भन्ने तपाईंहरुलाई लाग्यो भनेर सोधेका थियौं ।

‘अहिलेसम्म नै ४ अर्ब ६१ करोड २५ लाख रुपैयाँभन्दा बढीको ठगी गरेको जाहेरी परिसकेको छ, ११ सय २६ जनभन्दा बढीले हामी ठगियौं भन्दै जाहेरी दिइसक्नु भएको छ, तामाङमाथि लागेको आरोप, आरोपको प्रकृति, हामीले अनुसन्धानका क्रममा अहिलेसम्म फेला पारेका तथ्य र प्रमाण तथा विषयको संवेदनशीलता जस्ता कुराले यो कसुर संगठित अपराध निवारण ऐन २०७० विरुद्ध हो भन्ने हामीलाई लाग्यो, हामीले सरकारी वकिलको कार्यालयलाई विषयको गम्भीरताको वारेमा जानकारी गरायौं, उहाँहरु (सरकारी वकिलको कार्यालय) सहमत हुनुभयो, अदालतले पनि हामीलाई संगठित अपराध ऐन विरुद्धको कसुरमा अनुसन्धान गर्न अनुमति दिएको छ,’ प्रवक्ता महतोले विकासन्युजसँग भने ।

अन्य अपराधको अनुसन्धान गर्नको लागि प्रहरीले बढीमा ३० दिनसम्म आरोपीलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ भने िसंगठित अपराध गरेको आरोप लाग्नेहरुलाई प्रहरी ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । यद्यपि, प्रहरीले यसरी हिरासतमा राख्नको लागि अदालते अनुमति भने दिनुपर्ने हुन्छ ।

के हो संगठित अपराध ?

संगठित अपराध निवारण ऐन २०७० को दफा ३ मा के कस्तो कार्य संगठित अपराध हुने भनेर उल्लेख गरिएको छ । ‘कसैले आपराधिक समूहको लाभको लागि, आपराधिक समूहको निर्देशनमा, आपराधिक समूहको तर्फबाट, आपराधिक समूहसँग मिलेर वा आपराधिक समूहको संस्थापक सदस्य वा सदस्य भई जानी जानी कुनै गम्भीर अपराध गरेमा निजले संगठित अपराध गरेको मानिनेछ,’ भनिएको छ ।

यस दफाको प्रयोजनको लागि (क) प्रचलित कानून बमोजिम तीन वर्षभन्दा बढी कैद सजाय हुने कसू्र तथा (ख) परिच्छेद–३ बमोजिमको कुनै कसूर, र (ग) प्रचलित कानून बमोजिम भ्रष्टाचार वा सम्पत्ति शुद्धीकरण वा आतड्ढकारी क्रियाकलापमा वित्तीय लगानी मानिने कसूरलाई गम्भीर अपराध मानिने उल्लेख गरिएको छ ।

तामाङ विरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा परेको उजुरीमाथि अनुसन्धान पनि भइरहेको छ । यस्तै, सहकारी ऐन २०७४ को दफा १२२ अनुसारको कसुर वा मुलुकी अपराध संहित ऐनको दफा २४९ विरुद्धको कसुर गरेको अभियोग तामाङमाथि लागेमा उनको कसुर गम्भीर अपराध गरेको र संगठित अपराध निवारण ऐन अनुसार कारवाहीको माग सीआईबीले गर्न सक्नेछ ।

अनुसन्धानमा दैनिक ५० जना सहभागी, कति पेजको बन्ला फाइल ?

तामाङले कति जना बचतकर्ताको कति रकम अपचलन गरे भन्ने यकिन तथ्यांक आइसकेको छैन । अहिलेसम्म ११ सय २६ जनाले आफूहरुको रकम हिनामिना भयो भन्दै सीआईबीमा जाहेरी दिइसकेका छन् । जाहेरी दिनेहरुको विगो नै ४ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी छ ।

तामाङले स्थापना गरेका विभिन्न २२ कम्पनीमा सिभिल सहकारीको रकम लगेर लगानी गरेको सीआईबीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यी २२ वटै कम्पनीको अधिकांश सेयर हिस्ता तामाङ र उनको परिवारको भएको पनि खुलेको छ ।

नखुलेको अर्काे पाटो पनि छ । तामाङले सहकारीमा जम्मा भएको रकम सिभिल होम्स लगायतका कम्पनीका लगेको देखिन्छ । तर, सिभिल होम्सका घरहरु विक्री गरेर आएको पैसा कहाँ गयो भन्ने देखिदैन । त्यसैले उनले सम्पत्ति विदेश पुर्याएका हुन कि भन्ने शंका सीआईबीमा देखिन्छ । यद्यपि, यसको कुनै सुराक प्रहरीले पाउन सकिरहेको छैन ।

तामाङ विरुद्ध अनुसन्धान गरिरहेका सीआईबीका एक अधिकारी भने यो असाध्यै जटिल र ठूलो अपराधको मुद्दा भएको बताउँछन् ।

‘यो केस तपाईंले अनुमान गरेभन्दा धेरै नै ठूलो र धेरै नै गम्भीर प्रकृतिको छ, तामाङलाई पक्राउ गरेर ल्याएकै दिनदेखि दैनिक ५० जना यो मुद्दाको अनुसन्धानमा खटिरहेका छौं, जाहेरीकर्ताले दिएको निवेदन लगायतका कागजात फोटोकपि गर्न मात्रै दैनिक ५ देखि ६ जना जनशक्ति परिचालन भएको छ, यो केसको फाइल तयार भइसक्दा कति हजारको पेजको बन्ला भन्ने उत्सुकता मेरो मनमा पनि छ, इतिहासमा विरलै आउँनेमध्येमा यो केस पर्छ,’ सीआईबीका एक अनुसन्धान अधिकृतले विकासन्युजसँग भने ।

सजाय थपिने

तामाङले गरेको कसुर संगठित अपराध निवारण ऐन विरुद्धको भएको अभियोग लागेपछि उनीमाथि हुने सजाय पनि बढ्ने भएको छ । सहकारी ऐन २०७४ को दफा १२२ विरुद्धको कसुरमा उनीमाथि कारवाही भएमा विगो भराई विगो बराबरको जरिवाना र बढीमा १० वर्षसम्म कैद सजाय हुन सक्छ ।

यस्तै, मुलुकी अपराध संहिता ऐनको दफा २४९ अनुसार ठगी अभियोगमा सजाय हुने हो भने तामाङलाई ७० हजार रुपैयाँसम्म जरिवाना र ७ वर्षसम्म कैद सजाय हुन सक्छ ।

तर, प्रहरीले तामाङ विरुद्ध गम्भीर संगठित अपराध गरेको अभियोग लगाउने गरी अनुसन्धान गरिरहेको छ । संगठित अपराध निवारण ऐनको दफा ९ मा ‘प्रचलित कानुन बमोजिम (सहकारी ऐन २०७४ को दफा १२२ विरुद्धको कसुर वा मुलुकी अपराध संहिता ऐनको दफा २४९ विरुद्धको कसुर) हुने सयाजको अतिरिक्ति ५० प्रतिशत सजाय हुनेछ’ भन्ने व्यवस्था छ ।

सहकारी ऐनको दफा १२२

१२२. कसूर गरेको मानिने : कसैले देहायको कुनै कार्य गरेमा यस ऐन अन्तर्गतको कसूर गरेको मानिनेछ :–

(क)  दर्ता नगरी वा खारेज भएको सहकारी संस्था सञ्चालन गरेमा वा कुनै व्यक्ति, फर्म वा कम्पनीले आफ्नो नाममा सहकारी शब्द वा सो शब्दको अङग्रेजी रुपान्तरण राखी कुनै कारोबार, व्यवसाय, सेवा प्रवाह वा अन्य कुनै कार्य गरेमा,

(ख)  सदस्यको बचत यस ऐन र यस ऐन अन्तर्गत बनेको नियम, विनियम बमोजिम बाहेक अन्य कुनै पनि प्रयोजनको लागि प्रयोग गरेमा,

(ग)  तोकिएको भन्दा बढी रकम ऋण प्रदान गर्दा जमानत वा सुरक्षण नराखी ऋण प्रदान गरेमा,

(घ)  समितिको सदस्य, व्यवस्थापक वा कर्मचारीले सहकारी संस्थाको सम्पत्ति, बचत वा शेयर रकम हिनामिना गरेमा,

(ङ)  ऋण असुल हुन नसक्ने गरी समितिका कुनै सदस्य, निजको नातेदार वा अन्य व्यक्ति वा कर्मचारीलाई ऋण दिई रकम हिनामिना गरेमा,

(च)  समितिका कुनै सदस्यले एक्लै वा अन्य सदस्यको मिलेमतोमा सहकारी संस्थाको शेयर वा बचत रकम आफू खुसी परिचालन गरी सहकारी संस्थालाई हानि नोक्सानी पुर्‍याएमा,

(छ)  झुट्टा वा गलत विवरण पेश गरी कर्जा लिएमा, राखेको धितो कच्चा भएमा वा ऋण हिनामिना गरेमा,

(ज)  सहकारी संस्थाले यस ऐन र यस ऐन अन्तर्गत बनेका नियम विनियम विपरीत लगानी गरेमा वा लगानी गर्ने उद्देश्यले रकम उठाएमा,

(झ)  कृत्रिम व्यवसाय खडा गरी वा गराई ऋण लिएमा वा दिएमा,

(ञ)  धितोको अस्वाभाविक रूपमा बढी मूल्याङ्कन गरी ऋण लिएमा वा दिएमा,

(ट)  झुट्टा विवरणको आधारमा परियोजनाको लागत अस्वाभाविक रूपमा बढाई बढी ऋण लिएमा वा दिएमा,

(ठ)  कुनै व्यक्ति वा सहकारी संस्थालाई एक पटक दिइसकेको सुरक्षण रीतपूर्वक फुकुवा नभई वा सो सुरक्षणले खामेको मूल्यभन्दा बढी हुने गरी सोही सुरक्षण अन्य संस्थामा राखी पुनःऋण लिए वा दिएमा,

(ड)  सहकारी संस्थाबाट जुन प्रयोजनको लागि ऋण सुविधा लिएको हो सोही प्रयोजनमा नलगाई अन्यत्र प्रयोग गरे वा गराएमा,

(ढ)  सहकारी संस्थाको कुनै कागजात वा खातामा लेखिएको कुनै कुरा कुनै तरिकाले हटार्इ वा उडार्इ अर्कै अर्थ निस्कने व्यहोरा पारी मिलाई लेख्ने वा अर्को भिन्नै श्रेस्ता राख्ने जस्ता काम गरेबाट आफूलाई वा अरु कसैलाई फाइदा वा हानि नोक्सानी गर्ने उद्देश्यले कीर्ते गर्न वा अर्काको हानि नोक्सानी गर्ने उद्देश्यले नगरे वा नभएको झुट्टा कुरा गरे वा भएको हो भनी वा मिति, अङ्क वा व्यहोरा फरक पारी सहीछाप गरी गराई कागजात बनाई वा बनाउन लगाई जालसाजी गरे वा गराएमा,

(ण)  ऋणको धितो स्वरुप राखिने चल अचल सम्पत्ति लिलाम बिक्री वा अन्य प्रयोजनको लागि मूल्याङ्कन गर्दा मूल्याङ्कनकर्ताले बढी, कम वा गलत मूल्याङ्कन गरी सहकारी संस्थालाई हानी नोक्सानी पुर्‍याउने कार्य गरे वा गराएमा,

(त)  सहकारी सस्थालाई हानी नोक्सानी पुर्‍याउने उद्देश्यले कसैले कुनै काम गराउन वा नगराउन, मोलाहिजा गर्न वा गराउन, कुनै किसिमको रकम लिन वा दिन, बिना मूल्य वा कम मूल्यमा कुनै माल, वस्तु वा सेवा लिन वा दिन, दान, दातव्य, उपहार वा चन्दा लिन वा दिन, गलत लिखत तयार गर्न वा गराउन, अनुवाद गर्न वा गराउन वा गैर कानूनी लाभ वा हानि पुर्‍याउने बदनियतले कुनै कार्य गरे वा गराएमा,

(थ)  कुनै सहकारी संस्था वा सो को सदस्य वा बचतकर्ता वा तीमध्ये कसैलाई हानि नोक्सानी पुग्ने गरी लेखा परीक्षण गरे गराएमा वा लेखापरीक्षण गरेको झुट्टो प्रतिवेदन तयार पारेमा वा पार्न लगाएमा।

सम्बन्धित समाचार

इच्छाराजको वयानः सहकारीको पैसाले घर बनाए, घर बेच्दा घाटा लागेर पैसा सकियो

सिभिल बैंकको अध्यक्ष बन्न सञ्चालकबीच प्रतिस्पर्धा, राष्ट्र बैंकले भन्यो- छिटो गर्नुस्

कमल, राजेन्द्र, सुधिरपछि इच्छाराजको नजिरः रातारात अर्बपति बनाउँदै जेल पठाउँदै घरजग्गा व्यवसाय

४६ करोड ठगी अभियोगमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ

तामाङसहित पक्राउ पर्ने १२ जनाकाे विवरण सार्वजनिक, बचतकर्ताकाे ७१ करोड हिनामिना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.