नक्कली भ्याटबिल अनुसन्धानः करिब सकियो पहिलो ‘लेयर’, यसपछि के गर्लान् मैनालीले ?

<p>काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छल्ने पहिलो ‘लेयर’को अनुसन्धान करिब सकेको छ । विभागले २ वर्षअघिदेखि थालेको अनुसन्धानबाट १ सय ८५ वटा फर्म नक्कली भ्याट बिल विक्रीमा संलग्न भएको पाइएको छ । विभागले गरेको पछिल्लो अनुसन्धानबाट श्रमिक, मजदुर, आर्थिक अवस्था कमजोर भएका गरिब नेपालीको नाममा फर्म दर्ता गरेर कारोबारबिनै [&hellip;]</p>

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छल्ने पहिलो ‘लेयर’को अनुसन्धान करिब सकेको छ । विभागले २ वर्षअघिदेखि थालेको अनुसन्धानबाट १ सय ८५ वटा फर्म नक्कली भ्याट बिल विक्रीमा संलग्न भएको पाइएको छ ।

विभागले गरेको पछिल्लो अनुसन्धानबाट श्रमिक, मजदुर, आर्थिक अवस्था कमजोर भएका गरिब नेपालीको नाममा फर्म दर्ता गरेर कारोबारबिनै मूल्य अभिबृद्धि कर (भ्याट) बिल विक्री गरी राजस्व छलिएको पाइएको छ । यस्ता फर्मले भ्याट बिल विक्री गरी गरेको राजस्व छलिलाई विभागले ‘फष्ट लेयर’को नाम दिएको छ । नक्कली भ्याट बिल किन्नेहरुलाई ‘सेकेण्ड लेयर’ भनेर नामाकरण गरिएको छ ।

पहिलो तहका अर्थात नक्कली भ्याट बिल विक्री गर्नेमध्ये अहिलेसम्म १ सय २६ वटा फर्मको अनुसन्धान सकेर विभागले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । केही फर्मको अनुसन्धान सकेर रायका लागि महान्यायाधिवक्ताको कार्यालय पठाइएको छ । महान्यायाधिवक्ताको कार्यालयले केही फाइललाई मुद्दा दायरको लागि राय पठाउँदैछ ।

अहिलेसम्म विभागले नक्कली भ्याट बिल विक्री गर्ने १ सय २६ फर्मबाट १० अर्ब ६२ करोड रुपैयाँ राजस्व असुलीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभागले पहिलो लेयरसँगै दोस्रो लेयरमा रहेर राजस्व छलि गर्नेहरुको अनुसन्धान गरिरहेको भएपनि अहिलेसम्म विशेष ध्यान भने पहिलो लेयरमै दिइरहेको छ ।

तर, विभागका महानिर्देशक दीर्घराज मैनाली भने पहिलो लेयरसँगै दोस्रो लेयरको पनि अनुसन्धान भइरहेको बताउँछन् । विभागले अहिलेसम्म १५ सय फर्मले नक्कली भ्याट बिल किनेको फेला पारेपनि यसरी भ्याट बिल किन्ने ५२ वटा फर्ममाथि ४ अर्ब ६१ करोड रुपैयाँ राजस्व असुलीको माग गरेर अदालतमा मुद्दा दायर गरेको छ ।

अबको ध्यान सकेण्ड लेयरमा !

विभागका अधिकारीहरु अबको अनुसन्धान कता केन्द्रित हुन्छ भनेर स्पष्ट रुपमा बताइरहेका छैनन् । आफूहरुको अनुसन्धान कतै पुगेर ‘स्टप’ नभएकोले ‘ह्वाट नेक्स्ट’ भन्ने प्रश्नै नआउने उनीहरुको भनाई छ ।

‘यो त निरन्तर प्रक्रिया हो, हामी कहीं पुगेर रोकिएका छैनौं, अनुसन्धान गरिरहेका छौं, राजस्व छलि गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन न्यायिक प्रक्रियामा गइरहेका छौं, अनुसन्धान गर्दै जाँदा अरु कसैले राजस्व छलि गरेको फेला पर्यो भने उनीहरुमाथि पनि कानुनी कारबाहीको प्रक्रियामा जान्छौं, त्यसैले ‘ह्वाट नेक्स्ट’ भन्ने प्रश्नै आएन नि !’ महानिर्देशक मैनालीले भने ।

विभागले नक्कली भ्याट बिल किन्ने फर्महरुको संख्या १५ सयभन्दा बढी रहेको फेला पारिसकेको छ । ती सबै फर्महरुको अनुसन्धान भइसकेको छैन । केही फर्महरु भने ज्यादै साना पनि छन् । त्यसैले विभागले स्पष्ट रुपमा नभने पनि अबको मुख्य प्राथमिकता सेकेण्ड लेयरको अनुसन्धान नै हो भन्ने देखिन्छ ।

केही नहुनेलाई अर्बाैं राजस्व छलिको मुद्दा लगाएर के हुन्छ ?

विभागले गरेको अनुसन्धानबाट नक्कली भ्याट बिल विक्री गर्नेहरुमध्ये अधिकांश धन सम्पत्ति नै नभएका गरिब ग्रामीण जनता रहेको पाइएको छ । विहान बेलुका छाक टार्न नै हम्मे हम्मे पर्नेहरुले अर्बैंको नक्कली भ्याट बिल विक्री गरेर राजस्व छलि गरेको कानुनी रुपमा देखिएको छ ।

ग्रामीण क्षेत्रमा बस्ने, शहरी क्षेत्रमा ज्याला मजदुरी गरेर पेट पाल्नेहरुको नाममा फर्म खोलेर टाठाबाठाले उनीहरुलाई फसाएको भन्ने वास्तविकलमा विभागका अधिकारीहरु पनि सहमत छन् । तर, कानुनी रुपमा नक्कली भ्याट बिल विक्री गर्ने फर्मका संचालक देखिएका व्यक्तिहरुमाथि कारबाही प्रक्रिया अघि नबढाउने छुट विभागलाई छैन ।

सम्पत्ति नै नभएका र आफू त्यस्तो अपराधमा संलग्न भएँ भन्ने जानकारी नै नपाएका व्यक्तिहरुलाई पनि मुद्दा दायर गर्नै पर्ने वाध्यता रहेको महानिर्देक मैनाली बताउँछन् ।

‘कानुनी रुपमा संचालक रहेको व्यक्तिलाई मुद्दा दायर गर्नुपर्छ, उनीहरुलाई कानुनी कारबाहीको प्रक्रियामा सहभागी गराइएन भने मुद्दा कमजोर हुन्छ र वास्तविक रुपमा राजस्व छलि गर्ने व्यक्तिहरु उम्किन्छन्, आफ्नो कुनै संलग्नता नभएका व्यक्तिहरु सरकारी साक्षीको रुपमा प्रस्तुत भएर न्यायिक निरुपण प्रक्रियालाई सहयोग गरी कानुनी कारबाहीबाट जोगिन सक्ने अवस्था रहन्छ,’ महानिर्देशक मैनालीले भने ।

विभागले पहिलो लेयरबाट राजस्व छलि गर्नेहरुको पहिचान गर्दा सामान्य व्यक्तिको नाममा फर्म दर्ता गरी अरु कसैले कारोबार गरिराखेको भेटिएको छ । त्यसरी कारोबार गर्ने व्यक्ति तथा नक्कली भ्याट बिल खरिद गर्ने फर्मबाट राजस्व असुल हुने अपेक्षा विभागको छ ।

फर्म दर्तामै कमजोरी

विभागले गरेको अनुसन्धानले नक्कली भ्याट विल विक्री प्रकरणमा संलग्न केही फर्म एकै दिन प्रालि दर्ता भएर सोही दिन भ्याटमा पनि दर्ता भएको पाइएको छ । सामान्य ज्याला मजदुरी गरेर जिविकोपार्जन गरिरहेको व्यक्तिको नाममा दर्ता भएको प्रालिलाई भ्याटमा दर्ता गर्ने बेलामा कर प्रशासनले सामान्य ‘क्रसचेक’ गरिदिएको भए अहिले फेलापरे जस्तो भयावह अवस्था नआउने सम्भावना पनि थियो ।

सम्बन्धित समाचार

राजस्वले भेट्यो नक्कली भ्याटबिल प्रयोग गरी १ अर्ब ३२ करोड राजस्व छलि गरेको

नक्कली भ्याट विल विक्रीबाट २ सय फर्मले छले १५ अर्ब राजस्व, १०० फर्मको अनुसन्धान अन्तिम चरणमा

राजस्व अनुसन्धान नक्कली भ्याट बिल छानविनमा केन्द्रीत, अब छिट्टै ठूलो माछा हात पर्ने

नक्कली भ्याट बिल बेचेरै बीरगञ्ज र काठमाडौंमा घर, एउटा कोठा भाडामा लिएर वार्षिक अर्ब बढीको कारोबार

मनिष ट्रेडिङको भ्याट बिल धन्दा, किन्ने कुर्तासुरुवाल–बेच्ने डण्डी सिमेन्ट

दीर्घराज मैनाली अर्थात नक्कली भ्याट बिलका ‘मुख्य दुस्मन’

Share News