मल्लले जिते एक लाखको स्वतन्त्र लेखन प्रतियोगिता

  २०७७ असार २९ गते १८:१५     विकासन्युज

काठमाडाैं । विकासन्युज डटकमले आयोजना गरेको स्वतन्त्र लेखन प्रतियोगिताको विजेता सुवास मल्ल बनेका छन् । कोरोना महामारी र हाम्रो भविष्य विषयक शिर्षकमा आयोजना गरिएको स्वतन्त्र लेखन प्रतियोगितामा प्रतिस्पर्धाका लागि प्राप्त भएका १ सय ११ लेखमध्ये  ९६ लेख प्रकाशित भएका थिए । त्यस मध्ये मल्लले लेखेकाे अवसरहरुले ढकढक्याउँदै हाम्रो ढोका शिर्षकको लेख प्रथम भएकाे हाे ।

यस्तै, स्वतन्त्र लेखन प्रतियोगितामा अविन ओझा दाेस्राे भएका छन् भने तृतिय धनप्रसाद पौडेल भएका छन् । ओझाले पृथक तरिकाले उदाउँदै विश्व र पौडेलले निरर्थक मानव निर्मित सीमाना र सुरक्षा घेरा शिर्षकको लेख लेखेका थिए ।

यस्तै, प्रतिस्पर्धामा लेख समूहमा सञ्जिव पौडेलको आत्मर्निभरताको बाटोमाको शिर्षकको लेख उत्कृष्ठ भएकाे छ भने सम्पादकीय समूहबाट छनोट लेख दिपेश घिमिरेको समृद्धि र वर्वादीको दोबाटोमा उभिएको नेपाल शिर्षकको लेख छनोट गरिएको छ ।

सामाजिक सञ्जालमा सबैभन्दा बढी कमेन्ट भएको रमेश भट्टराईको हजुर बा म र छोरी शिर्षकको लेख छनोट भएकाे छ भने सबैभन्दा बढी सेयर भएको सन्तोष तिमिल्सिनाको विश्वबन्धुत्वको भावनामा आगामी यात्रा शिर्षकको लेख लाेकप्रियबाट विजयी भएकाे छ ।

यस्तै, मन्दिरा मधुश्रीको पाँचौ युग उत्कृष्ट कथा, तारा भट्टराईको आँखा आजै खुल्न सके जीवन बाँकी रला  उत्कृष्ट कविता र गोपाल खनालको प्रकृतिमाथि न्याय गराैं जित मान्छेकै हुनेछ नामको निवन्ध विधागत रूपमा उत्कृष्ट भएका छन् ।

विकासन्युजले सोमबार एक कार्यक्रमको आयोजना गरी विजेताहरुको नाम घोषणा गरेको हो । यसभन्दा अघि भानुजयन्ती अर्थात आजैको दिनमा भब्यताका साथ कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गर्ने भनिए पनि विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण १५ जनाभन्दा बढी भेला हुन नपाइने सरकारको नियमलाई पालना गरी सम्पादन मण्डल र निर्णायकहरु बसेर विजेताहरुको घोषणा गरिएको विकास मिडियाका प्रबन्ध निर्देशक रामकृष्ण पौडेलले बताए ।

निर्धारित समयभित्र १०५ जना लेखकले १ सय ११ वटा लेखर रचना पठाएर प्रतिस्पर्धामा भाग लिएका थिए । प्राप्त लेख रचनाहरु इमेलमा प्राप्त मिति र समयका आधारमा क्रमागत रुपमा सूचिकरण गरिएको थियो । पहिला प्राप्त रचनालाई पहिला नै प्रकाशन गर्ने विधिमा गएकोले कुनै पनि लेखकले दुई वा सोभन्दा बढी रचना पठाएको अवस्थामा पहिलो प्रकाशनलाई प्रतिस्पर्धामा सहभागी गराइएको थियो ।

प्रतिस्पर्धाको लागि १ सय ११ वटा लेखररचनाहरु प्राप्त भएकोमा ९६ वटा प्रतिस्पर्धीका रुपमा प्रकाशित भएका थिए । पौडेलले कपीमा लेखेर फोटो खिचेर वा स्क्यान गरी इमेल गरेका वा पुनः टाइप गर्नु पर्ने, विदेशी लेखक वा अन्य संस्थाको वेवसाइटबाट पुरै अनुच्छेद नै नेपालीमा उल्था गरिएको भेटिएका लेख र रचनाहरुलाई प्रतिस्पर्धामा सहभागी नगराएको बताए । एउटै लेखकले पठाएका एक भन्दा बढी चरना मध्ये पहिले पठाएकाे लेख/रचना प्रकाशित गरिएकाे थियाे ।

‘प्राप्त लेख र रचनालाई पहिलो चरणमा हामीले प्रकाशनयोग्य छ कि छैन भनेर मात्र मूल्याङ्कन गरेका थियौं, दोस्रो चरणमा पाठक मूल्याङ्कनलाई निश्चित अंक दिँदै प्रकाशित लेख र रचनाको गुणस्तर मूल्याङ्कन गर्यौं, असार १५ गतेसम्म विकासन्युजको वेबसाइट, फेसबुक र ट्वीटर पेजमा आएका प्रतिक्रिया तथा सेयर संख्यालाई मूल्याङकनको रुपमा हेरेर उत्कृष्ट लेख रचनालाई छनोट गरिएको हौं,’ उनले भने ।

यस्तै, विकासन्युजका सम्पादक शिव प्रसाद सत्यालले प्रतिस्पर्धामा भाग लिई सर्वाधिक सेयर भएको लेख रचना र र सर्वाधिक प्रतिक्रिया प्राप्त लेखनलाई पनि पुरस्कृत गर्ने योजना रहेको बताए । उनले कोरोना भाइरसको कारण उत्पन्न लकडाउनले विजेताहरुलाई विजेता घोषणा कार्यक्रममा सहभागी गराउन नपाएको बताउँदै अब अगष्ट १५ मा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरी पुरस्कार हस्तान्तरण गर्ने बताए ।

यस्तै स्वतन्त्र लेखन प्रतियोगिताका निर्णायक अर्थविद् डा. अच्युत वाग्लेले आफूले लकडाउनको समयमा प्रतिस्पर्धाका लागि प्राप्त भएका लेख/रचनाहरु पढ्न र मूल्याकंन गर्न पाउँदा धेरै खुसी महसुस भएको बताए । मैले युवाहरुमा यति धेरै सिर्जनासिलता छैन भन्ने महसुस गरेको थिएँ, यी लेख/रचनाहरु पढेपछि यति सिर्जनसिल र परिपक्क युवाहरु पनि देशमा रहेछन् भन्ने ठाने, उनले भने ।

अर्का निर्यायक साहित्यकार बासुदेव अधिकारीले लकडाउनको समयमा यस्तो किसिमको लेखन कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद दिए । उनले सिर्जनशील युवाहरुलाई लेखनमा प्रोत्साहन गर्नको लागि यस्ता खालका कार्यक्रमको आवश्यकता रहेको बताए ।

यस्तै लेखन प्रतियोगिताको अर्का निर्णायकमा प्रध्यापक डा.भगवान कोइराला थिए । तर कार्यव्यस्तताका कारणा उनी कार्यक्रम विजेता घाेषणा कार्यक्रममा सहभागी हुन नपाएकाे जानकारी दिए ।

विकास न्युजडटकमले चैत २० गते सार्वजनिक सूचना प्रकाशित गरी ‘कोरोना महामारी र हाम्रो भविष्य’ विषयमा लेख र रचना प्रतियोगिता गर्ने जानकारी गराएको थियो । प्रतियोगितामा प्रथम हुने लेख/रचनाले १ लाख रुपैयाँ नगदसहित सम्मान दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ नगद र सम्मान प्राप्त गर्नेछ । यस्तै, विभिन्न विधामामा उत्कृष्ठ हुने लेखलाई पनि पुरस्कृत गरिने छ । पुरस्कार वितरणको कार्यक्रम भने अगष्ट १५ लाई तोकिएको विकास मिडिया प्रालिले जनाएको छ ।

One comment on "मल्लले जिते एक लाखको स्वतन्त्र लेखन प्रतियोगिता"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.