२०७७ जेठ २४ गते १९:१८ रमेश भट्टराई ‘सहृदयी’
“बाबा कोलोना भाइलच भनेको के हो ?”
सानी छोरीले आफ्नै लवजमा जिज्ञासा राखिन् ।
“जतासुकै बाहिर हिँड्यो भने, पसलको चकलेट, चाउचाउ खायो भने पेटमा ऐया बनाउने डरलाग्दो– लायन (सिंह) जस्तै हो ।” मैले उत्तर दिएँ ।
छोरीले बुझेको झै गरी टाउको हल्लाइन् । मानौँ समर्थनमा ।
“बाबा यो कचली (कसरी) आम्छ (आउँछ) ?”
“यो गाडी चढेर, हवाइजहाज चढेर आउँछ ।”
यो कुरा चाहिँ मैले सही नै भनेको भान भयो ।
केवल सानो विषाणु “कोरोना भाइरस” ले संसारमै यत्तिका धेरै मान्छेलाई कसरी भयभित तुल्याउन सकेको होला ? आखिर मानिस नै उसको सहयात्री बन्यो । हवाइजहाजमा सररर यात्रा गराउने पनि मानिस र उसँग डराउने पनि मानिस । चीनको वुहानमा गरिएको कठोर निर्णयलाई स्पेन, अमेरिका, भारतदेखि विश्वले नै किन हलुका रूपमा लियो ? आखिर भाइरसले सीमाको नियम देख्थ्यो र ! महामारीको विपद् व्यवस्थापनमा र सचेतनाको अभावले मान्छे भयभित भयो ।
“यो कोरोना त लिसोझैँ, ऐँझेरुझै या त भनौँ आफैँमा जरा नभएर पनि सीमालीकै आडमा फैलिने पहेँलो लहरोझैँ रहेछ, हजुरबा ।” मलाई मेरो हजुरबाको चित्त बुझाउन समर्थ भएकोमा खुशी लाग्यो ।
मानौँ म कोरोनाको विशेषज्ञ नै हुँ । मैले मेरा हजुरबादेखि मेरी साढे तीन वर्षे छोरीसम्मलाई कोरोनाको ज्ञात-अज्ञात विषयलाई बुझाउन पाउँदा त खुशी मान्नैपर्छ । नोेबेल कोरोना अर्थात् कोबिड १९ को विश्वयात्राको ताण्डवमा म कति जानकार हुँ कुन्नि । भनिन्छः साबुनपानीले मिचीमिची हात धुनुपर्छ, भिडभाडबाट जोगिनुपर्छ, सामाजिक दूरी कायम राख्नुपर्छ इत्यादि सचेतनाका सन्देश । म आफैँले आफैँलाई अपनाउन सक्छु । कमसेकम मेरै लागि । अर्गानिक विधिमा । तर, म उठ्दा, बस्दा, सुत्दा, फेरि उठ्दा, “प्रिय साथी इन्टरनेट” । सामाजिक सञ्जालका दस्तावेजभित्र उही कोरोनाका नामसँगै घोत्लिन्छु । मानौँ म पनि “घोप्टेयुग” को एकजना सक्रिय कार्यकर्ता ।
लेखक
मेरो हजुरबा भन्नुहुन्छ-“बाँच्नु नै ठूलो कुरा हो । सम्पत्ति त हातको मैलो हो ।” कोरोनाले पैसाका निम्ति नसुत्ने मान्छेलाई पहिलोपटक जीवन रक्षाका निम्ति घरमा सुत्न दियो । पैसाको तनाव भिर्नेले पहिलोपटक जीवनरक्षाको बारेमा सोच्यो । २१ औँ शताब्दीको युगमा सङ्कटको पहाडभित्र एकपटक प्राकृतिक जीवनको सन्देश प्रवाह भइरहेको छ । अलिकति प्रकृतिले रम्यता पस्कँदै छ, आत्मनिर्भर रहने वन्यजन्तु स्वच्छन्द विचरण गर्दै छन् । पूर्वीय “नमस्कार” संस्कृतिको विश्वव्यापीकरणको विषयले पनि विज्ञानसँग नातो गाँस्यो । अनि, प्रश्न तेर्सिन्छ– विज्ञान भनेको सर्वेसर्वा हो ? “हुलमुलमा जिउ जोगाउनु, अनिकालका बिउ जोगाउनु” हजुरबाको उक्ति आजकै सन्दर्भपरक । स्वर्ण अक्षरमा लेख्न योग्य । तब मैले भनेँ-“हजुरबा ! हुलमुलमा जिउ जोगाउनु भनेको ‘लकडाउन’ हो । अनिकालमा बिउ जोगाउनु भनेको चाहिँ ‘भोकमरीबाट बच्ने उपाय खोज्नु’ हो ।” छोरीका लागि उत्तर दिएँ– “छोरी लकडाउन भनेको ‘ज्ञ–ज्ञानी’ बन्ने हो । घरमै बसेर पढ्ने हो ।” छोरी विद्यालय जान नपाएकैमा खुशी छिन् । घरमै बसेर रमाएकी छिन् ।
हरेक मान्छे संसारमा नयाँ रहेछ अनि हरेक समस्या पुरानै हो । हरेक मान्छेले समस्यालाई भिर्छ, अनि संसारबाट जाने क्रममा यही धर्तीमा छोड्छ । म विनाशकारी कोरोनाको उक्ति परिवर्तित वंशजतिर घोत्लिन चाहेँ । डार्विनका विचारसँग । लुप्त गुण हुँदै फुत्त–फुत्त आवागमन गर्ने पुर्ख्याैली समानता बोकेका उस्तै सरुवाहरूको इतिहास । आततायी पीडाको इतिहास । १३–१४ औँ शताब्दीतिरै “प्लेग” नामक रोग आएछ । सायद सम्बन्धका हिसाबमा त्यो कोरोनाको जिजुबा पर्ने हुन सक्छ । उसले पनि बढी आवागमन हुने क्षेत्र र शहरतिरै अड्डा जमाएछ । सन् १३४७ देखि १३५२ को “ब्ल्याक डेथ” ले युरोप (इटाली) बाट कान उखेल्न थालेको रहेछ । यो कोरोनाको मावलीतिरको जस्तो लाग्यो । कंशको जस्तो स्वभाव भएकैले लगभग ४० प्रतिशत अर्थात् २० करोड युरोपका मानिसको प्राणलाई सर्लक्कै निलिदिएको रहेछ । मानिस नवीन उपचार प्रविधि, सुविधा, शिक्षा र रोजगारको केन्द्र भन्दै शहरमा भिड गर्छ । बसिखाने अपेक्षामा मनुष्य पिरो नयन बोकेर बाक्लो समाजमा एक्लो जीवन जिउँछ । अमेरिका, युरोप, अस्ट्रेलियातिर हुरिन पाए नाक फुलाउँछ । सन् १५२० मा एसिया, युरोप हुँदै मेक्सिको, अमेरिकासम्म यात्रा गरेको कोरोनाकै काका पर्ने “बिफर” ले लगभग ५ करोड ६० लाख मानिसको ज्यान लिएको रहेछ । सन् १८५५ मा चीन (युनान) बाट जन्मिएर भारतको भूमिमा ताण्डव मच्चाएको “तेस्रो प्लेग” पनि कोरोनाको नजिककै परिचित हुन सक्छ । यसले पनि १ करोड २० लाख मानिसको जीवनलीला समाप्त गरिदियो । १९१८ मा “स्पेनिस फ्लु” ले विश्वमा करिब ५ करोड मानिसको प्राण हरण गर्यो । यस विरुद्धको खोपको विकास पनि सन् १९४० मा मात्र भयो । कोरोना विरुद्धको औषधी वा खोप निर्माणका लागि सायद अहिलेको प्रविधि र मानिसको बुद्धिमता नै विपत्तिका सहायक बन्छ । यसको पाशविकता र कोरोनाको अनुहार मिल्छ । त्यतिखेरै प्रयोग भएको “क्वारेन्टाइन” शब्दको अर्थलाई म आज बल्ल बुझ्न–बुझ्न लागेको जस्तो हुँदै छु । त्यतिखेर नै सामाजिक दूरी कायम राख्न भनेर विद्यालय, मन्दिर, मस्जिद आदि भिडभाडलाई बन्द गरिएको रहेछ । तर, मैले मेरा हजुरबा र छोरीलाई “क्वारेन्टाइन, आइसुलेसन, लकडाउन” आदिको अर्थलाई अझै राम्रोसँग बुझाउन सकेकै छैन ।
हजुरबाले भन्नुभयो-“२०२८ सालमा घोर अनिकाल बिहोरियो ।” मैले सोचेँ– तबदेखि आजसम्म हाम्रो कृषिप्रधान देशले कसरी आफूलाई समृद्ध तुल्यायो र ! बरु खेतीयोग्य जमिनमा प्लटिङ भए । बरु आपसी राजनीतिक विद्रोहलाई प्राथमिकता दिइरहियो । आखिर राजनीतिक विषय मात्र ठूलो भयो । सामाजिक, सांस्कृतिक, पर्यावरणीय जीवनका विषय छायाँमै रहे । मुलुकमा ठूला–ठूला राजनैतिक क्रान्ति र परिवर्तनका कुरा आए । नेपाल बन्द भन्दै गरिएका काटाकाट र मारामारको ताण्डवले सिन्दुर पुछिए, काख र कोख रित्तिए । परिणामतः शान्ति, संवाद र सहकार्यकै बाटो निर्णायक रहेछ । २०४५ र २०७२ का भूकम्पले पनि मानवताको चेतना र आत्मनिर्भरता सिकाएन । वर्षेनी भयङ्कर बाढी आए, डुबान भए तर पनि सतर्कताका बारेमा सोच्न सकिएन । यी त आखिर प्राकृतिक विपत्ति थिए । “नाकाबन्दी” छिमेकीद्वारा गरिएको मानवनिर्मित विपत्तिले पनि हामीलाई स्वाभिमानी र आत्मनिर्भर हुन सिकाएन । हुन त त्यतिखेर दाउरा बालियो, ग्याँस खानीको सर्वेक्षण समेत भएका समाचार आए, विकल्पका थुप्रै तरिका बजारमा सुझावको झोला भिरेर आए अनि नाकाबन्दी खुल्दानखुल्दै विलय भए । आखिर-विकास, अवसर, अध्ययन, स्वास्थ्योपचारको अभिलासाले शहरीकृत गरायो । अझ बढी त द्वन्द्वकालले थुप्रै परिवारलाई नै शहरतिर लघार्यो । भूकम्पले समेत गाउँ फर्काउन सकेन । बरु राहतलाई तह लगाउनका लागि गाउँमा सानो टहरो बनाइयो । चाहे त्यो बिस्याहार होस् । राहतकै आहत भयो । नक्कली र सक्कली पीडित अनि सक्कली र नक्कली दाता ।
गाउँको जग्गा बाँझो राखेर भाडाको कोठामा बास्मतीको भुजा ज्यूनार गर्ने हामी पसलेसँग भन्छौँ– “यो सब्जी ताजा हो र ! बासी जस्तो छ ।” कोरोनाले मानिसको बुद्धिको बिर्को खोल्दिए महामारीरूपी अभिशाप पनि बाँच्नेको लागि वरदान हुनेथ्यो ।
गाउँको जग्गा बाँझो राखेर भाडाको कोठामा बास्मतीको भुजा ज्यूनार गर्ने हामी पसलेसँग भन्छौँ– “यो सब्जी ताजा हो र ! बासी जस्तो छ ।” कोरोनाले मानिसको बुद्धिको बिर्को खोल्दिए महामारीरूपी अभिशाप पनि बाँच्नेको लागि वरदान हुनेथ्यो । एकजना मलेसियामा कार्यरत दाइले भन्नुभयो– “मलाई घरको यादले दुःखाउँछ । घरमा आउन पनि मिल्दैन । पैसा सकियो । हामीलाई काम नगरेको दिनमा तलब पनि दिँदैन । एटियमसम्म जान सकिया छैन । खै कसरी बाँच्ने !” गरिबीले हृदयलाई गाँठो पारेर परदेशमा डन्डा मार्छ । आखिर बेरोजगारिताको पीडा र गरिबीले थिचेको छ । वास्तवमा कृषियोग्य जमिनमा महल ठड्याएर आयातित सामग्रीमा परनिर्भर हामी आफ्नै कोठेबारीलाई घृणा गर्दैछौँ । सङ्कटमा शहर त विरानो हुन्छ । एक्लो भीडमा विक्षिप्त छ मान्छे । गुणात्मक शिक्षा र स्वास्थ्यको भौतिक चाहनाको लालसमा कङ्क्रिट महलको घना बस्तीमा भूत जस्तो हुन्छ ।
पलायनवादी सोचभित्र परनिर्भरताको पराकाष्ठालाई झेल्दै छ । तनाव ओढ्छ अनि तनाव बिसाउँछ । कृत्रिमताभित्र टेकेर प्राकृतिक जीवनको आलापमा दुःखी हुन्छ । कौसीको गमलामा धनीया पत्तामा पर्यावरणीय सुख चाहन्छ । हजुरबा भन्नुहुन्छ– “शहरमा त महामारीको महासङ्कट आइपर्यो भने सबैभन्दा पहिला अत्यन्तै निम्न वर्गबाट पीडा सुरु हुन्छ ।” हो, हुनेलाई मस्ती नहुनेलाई सास्ती हुन्छ । तर, यदि सचेत जनता भएका स्थानमा महाविपत्ति आयो भने सबैभन्दा बढी पीडा धनाढ्यहरूमा हुन सक्छ । किसानहरूले आफ्ना लागि अन्नपात सङ्कलन गरेर राखेकै हुन्छन् ।
लास जलाउँदा त भीआइपीको दर्जा हुने स्थानमा अनि न्यायको भिख माग्दै गरेका मृतात्माहरू सायद चिहानमा कोटा पद्धतिलाई खोतल्दा हुन् । विडम्बना महामारीका लप्का सेलाउँदै जाँदा उही शहर व्यापार, लुट, ठग, घुसखोरीमा उसै गरी जाग्दै जान्छ । उसै गरी चलायमान हुन्छ । उसै गरी आत्महत्याका घटना बढ्लान् । त्यसपछि नवउदारवादले वरदान बनाइदिएको निजीकरणको मारमा गरिबले गरिबकै स्थानमा कोच्याइदिन्छ । सार्वजनिक सेवाको गुणस्तर वृद्धिमा अधिनायकवाद र नवअधिनायकवादको कालोधन बटुल्ने पासो थापिन्छ । च्याँखे दाउमा । दुहुनु गाई बनाएर । सरकारी काम र कार्यालयमा अविश्वासको बादलले ढाकिरहन्छ । हैरानी र बेचैनीले अड्डा जमाउँछ । मानवताको ठूलो तगारो । चुनावी नारामा, घोषणापत्रमा, नीति तथा योजनामा कोरिएका स्वप्नाभित्र स्वतन्त्रताको ऐठन हुन्छ ।
आधा शताब्दीकै अन्तरालमा प्रकृतिको प्रतिद्वन्द्वी बन्यो मानिस । आखिर प्रकृतिले आफ्नै अनुकूलताको अपेक्षा गरेको पनि त हुँदो हो । प्रविधिकै आडमा “कोरोना नियन्त्रण क्याम्पसुल” बनाउन प्रकृतिप्रदत्त जीवनको अपेक्षा मान्छेलाई हुन्छ । हजुरबाले भन्नुभयो– “आगामी पुस्ताका लागि पनि त योजना उन्नुपर्ने हो ! हामीले उनेका ‘बसुधैव कुटुम्बकम् र परोपकार नै धर्म हो’ भन्ने उक्तिको त ख्याल भएन नै ।” महामारी बाजा बजाएर पनि त आउने होइन । हाम्रा पुर्खाले प्रविधिसँग यति धेरै अन्तरसम्बन्ध गाँसेका हुँदा हुन् त आज मानिसको अस्तित्व नै सङ्कटको घेरामा पौडँदै हुन्थ्यो होला । महामारीको सहकर्मी पनि प्राविधिक दम्भ नै भयो ।
गरिब मान्छेले अप्ठ्यारोसँग जसरी सामना गर्न सक्छ त्यसरी विलासीले सक्दैन । पैसामा कमजोर भए पनि सङ्कटमा आत्मबल र शारीरिक दुवै बलमा सक्षम हुन्छ गरिब मानिस । समस्या ओढेर समस्या निल्दै समस्या ओकल्छ उसले । मानौँ ऊ समस्यामा विद्यावारिधि हो ।
सायद शताब्दीगत महामारीका आततायी दृश्यबाट लुछिएर मान्छे त्राहीत्राही भइरहन्थ्यो । कोरोनाले गरिब मार्ने महामारीको इतिहासलाई पल्टाएर सम्पन्नमै पीडाको मुसल प्रहार गरिदिएपछि फेरि प्राकृतिक, जैविक जीवन पद्धतिको मूल्यबोध हुनुपर्ने हो । अनि, पैसा ठूलो कि जीवन ? वैश्विक भविष्य कल्पनाको गहिराइ अचम्मको । गरिबी र खाद्यसङ्कटको डढेलोमा विश्व पिल्सिरहँदा मानवताको महल नढलोस् । मेरो हजुरबाले मलाई जीवन ठूलो भन्नुहुन्छ । मेरी सानी छोरी बिचरा अबोध छिन् त्यसैले “पैसा ठूलो” भन्छिन् तर तिनको भावनामा मानवता ठूलो छः वसुधैव कुटुम्बकम् ।
गरिब मान्छेले अप्ठ्यारोसँग जसरी सामना गर्न सक्छ त्यसरी विलासीले सक्दैन । पैसामा कमजोर भए पनि सङ्कटमा आत्मबल र शारीरिक दुवै बलमा सक्षम हुन्छ गरिब मानिस । समस्या ओढेर समस्या निल्दै समस्या ओकल्छ उसले । मानौँ ऊ समस्यामा विद्यावारिधि हो । मलाई समस्याका चाङभित्र घोत्लिन विवस बनायो । नेपालमा २०२० मा १५ प्रतिशत अर्थात् ४५ लाख मानिस अति गरिब मान्छे नै विश्वमा जसरी नै पीडामा पिरोलिने सम्भाव्यता रहने देखियो । केवल व्यवस्थाले किनभने गरिबी मान्छेको व्यवस्थामा बाँधिएको पासो हो । मानिस जन्मँदै गरिब जन्मँदैन । मरेर जाँदा धनीले धन लैजाँदैन । कामबाट बिदा नै नपाउनेको आलापमा सायद मेरी छोरीको जस्तो तोते लवजको जिज्ञासामूलक वचन सुन्ने रहर हुँदो हो । “एकान्तवास” को नियमलाई तोड्छ । कल्पनै नगरेको विश्वव्यापी जटिलताले तल्लो दर्जा दिइने महत्वपूर्ण कर्मवादी व्यक्तित्वमा गाँस र सासको समस्याले पिरोल्छ । जनताले कसरी बुझ्ने ? “लकडाउन” भनेको गाडी, पसल, सामाजिक सम्बन्धलाई बन्द गर्नुपर्ने अवस्था हो ! सरकार स्पष्ट सूचना नदिएकोमा गल्ति सम्झँदैन । अनि शिक्षाको उज्यालोबाट बञ्चित रहर बुझ्न नसक्ने, बुझ्न चाहेर पनि बुझ्न नजान्नेको मनोविज्ञानसम्म सोच्न सक्दैन तब निरीह मान्छे दण्डित हुन्छ ।
मानिस समस्या रहुन्जेल सचेतनाको ढोल पिट्छ अनि उही छेपारे । युद्ध विभीषीकाभित्र आफैँले निम्त्याएको मृत संवेदनामा जीवनको मूल्यलाई क्षणभरमा समाप्त गराउने मानिस नै हो । प्रकृति खुशी हुँदा गरिबलाई यसले दुःखी बनायो । आफ्नो जीवनरक्षाको आलापमा मानिस कोठाभित्र किन बन्दी बन्यो ! भलै पशुप्राणीबाट आयातित रोग हो तर मानिस बुद्धिमताको सदुपयोग नगरेरै पीडाको सिकार हुन्छ । संसारको मुखमा माक्सको मखुन्डो लगाइदियो अनि दम्भको मखुन्डो अलिकति उतारिदियो । लाखौँको प्राण लिएर ताण्डव मच्चाएको कोरोनाले धरावासीमा रक्तबीज बनेर भयभित तुल्याउँदा डाक्टरले भगवान् बन्नु छ । विना हतिहारको युद्धमा विजयको ध्वजा कसरी फहराउने ? विज्ञानले क्याप्सुल रच्नु छ ।
संसारको मुखमा माक्सको मखुन्डो लगाइदियो अनि दम्भको मखुन्डो अलिकति उतारिदियो । लाखौँको प्राण लिएर ताण्डव मच्चाएको कोरोनाले धरावासीमा रक्तबीज बनेर भयभित तुल्याउँदा डाक्टरले भगवान् बन्नु छ । विना हतिहारको युद्धमा विजयको ध्वजा कसरी फहराउने ? विज्ञानले क्याप्सुल रच्नु छ ।
देहान्तभन्दा एकान्त अवश्य ठूलो हो । हजुरबा भन्नुहुन्छ– “यो विज्ञानको हार हो ?” म भन्छु-“पुँजीवादको पतन हुनुपर्छ ।” तर म दोधारमा छु । दानवीरहरूलाई देख्दा– मानवतावादको प्रारम्भ हो कि अन्त्य ? मानवताभन्दा ठूलो जात हुँदैन अनि दया र प्रेमभन्दा ठूलो धर्म छैन । सबै शास्त्रका कुरा धर्मसँग तोलेर ज्ञान बिर्सन पारङ्गत मान्छे हामी । विज्ञान जान्दा शास्त्र बिर्सनुपर्छ भन्न जान्ने अनि सियो पनि अर्काकै भरमा परेर किन्ने हामी । पुर्खाको सीप र कलालाई पुनर्विकास नगर्ने, बरु छोड्ने अनि पुर्खालाई रुढीवादी भन्न जान्ने हामी । पुर्खाको नैतिक शिक्षाले आज व्यावहारिक चित्र देखाउँदा हामी शङ्काको घेरामा निर्लज्ज छौँ । अल्पज्ञान भिरेर । दिव्योपदेशभन्दा मार्क्सवाद ठूलो हुनुको अर्थ नवसामन्तको जन्म हो ? दम्भले उन्मत्त हुँदा मान्छे स्वार्थ कुइरोमा हराएको छ ।
प्रविधिले मान्छेलाई जन्माएको होइन, मान्छेले प्रविधिलाई जन्माएको हो । मेरो हजुरबुवा युट्युबमा महाभारत हेर्नमा व्यस्त हुनुहुन्छ । अनि भन्नुहुन्छ– “महत्वाकाङ्क्षी नेतृत्वका उत्तराधिकारी र आसेपासे दुर्योधन र दुस्सासन बनेपछि, अवसरवादी मामा शकुनीले अत्याचारको पासा फ्याँकेपछि पाण्डुपुत्रजस्ता असल, सत्यवादी, कर्मवादी, बलशालीले आँखाअघि धर्मपत्नीको वस्त्रहरण भएको देखेर पनि चुप बस्नुपर्छ ?! उल्टो वनवास, गुप्तवास, लाक्षगृहजस्ता विनागल्तीको सजाय भोग्नुपर्छ । काण्डैकाण्डमा फसाइएपछि त भिष्मपितामह, द्रोणाचार्य, कृपाचार्यजस्ता महारथी पनि द्रौपदीजस्ती रजश्वला भएकी नारीको वस्त्रहरणमा अन्धो बनेर सहन गर्छन् । प्रतिकार गर्दैनन् । अनि भिषण युद्धको पीडामा छिया–छिया भएका कुन्ती र गान्धारीको पीडालाई कसले बुझ्छ ?”
प्रकृति, जीवन र समाजको संरचनामा भोकको पीडाले थिचेपछि अहिलेको मान्छे अराजक बन्छ । प्रकृतिका हरेक सजीव तथा निर्जीवको अस्तित्व आवश्यक र अनिवार्य छ । मानिस एक्लै यो धर्तीमा बाँच्न चाहने निहित स्वार्थले अन्य प्राणीको जीवन समाप्त पारिरहन्छ भने त्यसको सजाय मान्छेले नै भोग्नुपर्छ ।
जैविक विकासको सारमा मानिस प्रकृतिप्रदत्त हुन सक्नुपर्छ नत्र विनासको डङ्का बजिरहनेछ । शक्ति, सम्पत्ति र सम्मानको घुम ओढेर । खाद्य सङ्कटको स्वीकारोक्तिमा त्रसित मनहरूले आर्थिक मन्दी, बेरोजगारिताको चुनौती क्षितिजमा पहाड बनेर ठडिँदै छ । मान्छेले स्वअहम् र महत्वाकाङ्क्षाले निम्त्याएका विपत्तिसँगका प्रतिविपत्तिका माझमा जुध्नु पर्ने सम्भाव्यतामा जकडिन्छ । तर, चिन्ता होइन चिन्तनको खुबी मानिसभित्र छ । आयातित चुनौतीको भारीमा थिचिएर राजनीतिक र सामाजिक सङ्कटको दायराभित्र हामी विछिप्त छौँ । समृद्धिको स्वप्नाभरि ऐठनले सताइरहँदा ग्रामीणीकरणको विकासमा नेपाल अघि बढ्न सक्छ । पेटपूजाको चुनौतीलाई उघारेर प्रवेश गरेपछि राजनीति तथा घरेलु जीवनको प्रताडना हुन्छ । भूकम्पीय समस्याबाट तङ्ग्रिन नपाउँदै बाढी, डुवान अनि कोरोनाको पीडा एकपछि अर्को लामबद्ध आइरहे । दातृ निकायसँग भिख मागेरै जीवन कतिसम्म चल्ला ? हजुरबा भन्नुहुन्छ-“मागेर धनी र दिएर गरिब होइँदैन ।” कोरोनाभन्दा कडा भ्रष्टचारको भाइरसले गरिब मुलुक आक्रान्त हुन्छ भने तिल पहाड बन्छ । ऋणको बोझमा थिचिएर देश कसरी तङ्ग्रेला ? तर, भित्री चाहनाले मानिसलाई विकेन्द्रीकृत पद्धतिसँग ग्रामीण जीवनशैलीको माग गर्दैछ । अनि आत्मस्वाभिमानी माटो सुहाउँदो आत्मनिर्भरताको ।
हामी साना र मझौला उद्योग र रोजगारीको अपेक्षामा छौँ । अनि आर्थिक स्रोत व्यवस्थापन र परिचालनमा विश्वसनीयता र पारदर्शिता नहुँदा, अनुशासनहीनताको मुसल बोकेर धमिलो पानीमा माछा मार्नेको लर्को लाग्छ । श्रमजीवीहरू रोगका लागि भनेर घरभित्र बसेर शोक र भोकको प्रतिशोध साँध्न सडकमा उत्रिए भने विश्व जोखिम प्रतिवेदनका पानाले अर्थतन्त्रको जोखिमसँग भूराजनीतिको सामाजिक र प्राविधिक खतरा मडारिन सक्छ । सङ्क्रामक रोगसँग उपरोग र जोखिमसँग उपजोखिमका सिँढीहरूमा भोक संस्कृति, भोक पीडाले लघार्छ तर त्यसपूर्व पुर्ख्याैली पेसा कृषि र आत्मनिर्भर बन्ने संस्कारसँग नातो गाँस्नुपर्छ । युरोपियन युनियनतिरका सबल र सम्पन्न राष्ट्रमा बजेको कोरोनाको ढोलसँग हामीले गरिब हुनुको पीडामा मन किन कुँड्याउने ? देश–विदेशको आवागमनको घनचक्करबाट जोगिनुको मजा नै बेग्लै छ । आत्मबलमा कमजोर नहोइयोस् पनि । तब त सङ्कटको पूर्वाभास हुँदा, दिगो समाधानमा बाँच्ने आधार रहला । सोच र संरचनाको कसीभित्र लघारिएको मानिस जैविक अस्तित्वको विश्वव्यापी खोजीमा लुटपुटियोस् । जोखिमको कालो सुरुङमा नफसोस् । अधिनायककै कुहिरोभित्र काग नबनोस् ।
मलाई विज्ञका विचार र सिद्धान्तले घच्घच्यायो । सबैले अर्थतन्त्रका जोखिमका प्राक्कल्पनाका ठेली हाम्रा लागि पस्किए पनि हामी नेपालीपनाबाट सयौँ कोश टाढा पुग्यौँ । हाम्रो पनाभित्रको विज्ञानभित्रको जादुमा हिरा फल्छ अनि हामी अर्काको सुनको बोटतिर लम्कियौँ । नीति बनायौँ, कार्यान्वयन गर्न जानेनौँ । इतिहासलाई गाली गरेर पनि त समाधान हुँदैन । भौतिकवादका लामा सूत्रभित्र प्रकृति, विज्ञान र अर्थशास्त्रको सामीप्यताले समाज मनोविज्ञानको गाडी चल्नुपर्छ । स्वास्थ्यविज्ञानको पोल्टामा शिक्षाको निःशुल्क व्यवस्थालाई हालिदिने हो भने सायद गरिबले खानका लागि मर्नु पर्दैन । सामाजिक सोच परिवर्तन (प्याराडाइम सिफ्ट) को एउटा विश्वव्यापी लर्को चल्ला । अझ ईश्वरीय सत्तासँग लडेको भौतिकवादी सोचभन्दा माथि मानवतावादले श्रमजीवीका आवाजलाई किन बाँधिन्छ ? त्यो कुण्ठा नेपाली धर्तीमा बेमौसमी बाजा हो, नबजोस् । अभावले चोरी, डकैती, लुटपाट हुन्छ तब मान्छेले जीवनमा पैसालाई सर्वेसर्वा मानिदिन्छ । मान्छेले नै छापेको पैसाको अभावमा मान्छे गरिब बन्छ । पेट भोकै रहेर बाँच्नुभन्दा मर्नु निको भन्ने भएकैले नियम विपरीत कार्यकलापमा मान्छे निर्लज्ज बन्छ । नेपाल आमा भोकको राजनीतिबाट भन्दा व्यवस्थापकीय अप्ठ्यारोको गुमराहमा चिन्तित छिन् । आगो लागेपछि कुवा खन्ने शैलीले घाटा पनि हुन्छ र दुःख पनि पाइन्छ । एउटाको गल्तिलाई धेरैले भोग्नुपर्छ । जैविक वास्तविकता बिर्सन्छ अनि प्रकृतिले बाँचेर उभ्रिने लाखौँ, करोडौँ टन खाद्यान्नलाई दुरुपयोग गरिदिन्छ । कँज्याएर राख्छ । दोस्रो विश्वयुद्धको मोहोडामा संसार चलायमान होला तर नेपाल पेट्रोल, डिजेल, ग्याँसको महङ्गीको विकल्पमा पूर्वतयारी गर्ने आधारलाई आन्तरिक विद्युतको विकास सुन्दर बाटो बन्छ । आर्थिक मन्दीले कैयौँ उद्योग डुब्नाले नेपालीहरू स्वदेशमै आउँछन् र आऊन् पनि । ४० प्रतिशत युवाशक्ति भएको सक्षम देशले माटो सुहाउँदो कर्मका मार्गलाई चालोस् ।
देश तब व्यवस्थापकीय सक्षमताको अभावको रडाकोभित्र फस्छ जब भद्रगोल राजनीतिक कार्यशैलीको गोलघरमा घुम्छ । राजनीतिभन्दा अझै ठूलो कुरा त बाँच्नु नै रहेछ । राजनीतिमा असन्तुष्टि नै असन्तुष्टिको मुस्लो हुन्छ । समाज विकासभित्र समाधान र आगामी विकासको खुशी नै खुशी हुन्छ । तब राजनीतिलाई समाजलाई कँज्याउन सक्दैन, समाजले राजनीतिक नेतृत्वलाई खबरदारी गर्छ । बफादार र भागिदारको निःस्वार्थ सोचमा । सोचको गुलामी बोकेर काण्डैकाण्डमा फस्ने लालची स्वभावको खबरदारीमा । स्वास्थ्यमन्त्रीका च्याम्बरमा लामा आदर्शमुखी आशावादका बहस रबरझैँ तन्किरहनुको के तुक ? किनकि, भीडमा मान्छे धेरै भएकाले समस्या धेरै हुन्छन् भने “गाउँ फर्कौँ” न त !
शहरिया अस्थायी जिन्दगी होइन, महङ्गो घडेरी किनेर घर बनाउने दीवास्वप्ना पनि होइन बरु गाउँकै घरलाई महल बनाउने “गाउँ फर्क अभियान बोकेर ।” स्वाभिमानी जिन्दगीमा । पैसा तिरे पनि घरबेटीको टोकसो सहनुपर्ने काठमाडौँका अँध्यारा कोठाका पीडामा के आनन्द छ ! अप्ठ्यारोको अन्तिम आधार गाउँ ।
“कोरोना राजनीति” को अर्को चर्को लर्कोले झर्को नलगाओस् । राहत वितरणभित्र पनि राजनीतिको दुर्गन्धमा चुनावी स्वार्थको दुर्गन्ध नआओस् । लिएर खाने र दिएर नाम कमाउने अर्को चर्को बजार । भोकै पर्दैन र भोकै मर्दैनः कहिलेसम्म ? अनि राहत मापदण्डको पोको ? कतै “हाइटी गीत” रच्नुपर्ने त होइन ? सामाजिक अराजकता र जसको शक्ति उसको भक्तिले सत्यतामै भ्वाङ पर्न थालेपछि बिब्ल्याँटो राजनीति चलिरहन्छ ।
गौँडा-गौँडामा छेकिएकाहरूको आलापले स्वदेशमा पनि त स्वाभिमानी बन्ने हक खोसिएपछि मान्छे दुख्छ ! गरिबीको मनोदशाभित्र, बाध्यताभित्र । परदेशमा रेमिट्यान्सको घ्याम्पा भर्नेलाई ? रोजगार कटौती र स्वदेश फिरौती भएपछिको चापका लागि ग्रामीण विकासका योजना बनून् । “कोरोना राजनीति” को अर्को चर्को लर्कोले झर्को नलगाओस् । राहत वितरणभित्र पनि राजनीतिको दुर्गन्धमा चुनावी स्वार्थको दुर्गन्ध नआओस् । लिएर खाने र दिएर नाम कमाउने अर्को चर्को बजार । भोकै पर्दैन र भोकै मर्दैनः कहिलेसम्म ? अनि राहत मापदण्डको पोको ? कतै “हाइटी गीत” रच्नुपर्ने त होइन ? सामाजिक अराजकता र जसको शक्ति उसको भक्तिले सत्यतामै भ्वाङ पर्न थालेपछि बिब्ल्याँटो राजनीति चलिरहन्छ । आखिर मुटुरोग, क्यान्सर लगायतका दीर्घरोगीलाई नै कोरोनाको पीडाबाट ग्रसित हुनुपर्ने स्वास्थ्यकर्मीको मत छ । सबै सङ्क्रमितले मृत्युवरण गर्नुपरेको मात्रै पनि त छैन आखिर मृत्युलाई जित्ने क्षमता पनि त हुने रहेछ । ग्रामीण अर्थतन्त्रको विकासतिर लम्कने बाटोबाट नेपालले आफ्नो महामारीको ढाल र तरबारलाई सजिलै व्यवस्थापन गर्न सक्छ । यो तिललाई पहाड बनाउने धृष्टता होइन । हामी त स्वदेशमा ३ महिना काम गर्ने १२ महिना खाने र २४ घण्टा गाली गर्ने आदतका पार्टी न हौँ । अनि, अर्काको देशमा गाडीभित्र एकहातले गाडी चलाउँदै अर्को हातले पाउरोटी चपाउने बेफुर्सदिला हौँ । पैसाको चाहना ।
हैकमवादी सोचले मान्छेलाई कँज्याउँदा अनैतिकताको ढाड सेक्ने दुर्शक्तिले नेपाल आमाका आँशु पिउन बाँकी राखेका छैनन् । राजनैतिक विद्रोहका स्थानमा जैविक अस्तित्वको विद्रोहले पाइलो सार्न थाल्दा तब ग्रामीण विकासमुखी समाजवाद सङ्कटको सारथी हुन सक्छ । विनासपछिको विकासको बुद्धि नहुने धक्कुबाजले कोरोनासँग मानवतालाई बोध गर्दैन । धर्मशास्त्रलाई गाली गर्ने तर विश्लेषणीय व्यावहारिकता नखोतल्नेहरू बठ्याइँ छाँटिरहनेछन् । दोस्रो विश्वयुद्धपछिकै घातक नरसंहारको घटनाले विश्व व्यवस्थामा हलचल आउला, विश्व अर्थ-राजनीतिले नेपाली घरेलु राजनीतिमा प्रहार होला । कथित समाजवादीले उदारतावादको आडमा शासकीय महत्वाकाङ्क्षाको मुख्याइँ लाद्न सक्छन् । तब प्रकृति र सम्पदाको निजीकरण गरिँदाको पीडाबोध मानिसमा हुन्छ । अनि “साम्यवाद” सिद्धान्त किन भिरिरहनुपर्छ ? रामराज्य खोज्न वा बुद्धत्वको अहिंसाभित्रै मानवताको “राजर्षि जनकवाद” जन्मेला । के फरक पर्छ विकास र आनन्दको नवीन शिल्पचित्र कोरिए ! विपद्मा सहयोगी बन्नेभन्दा ठूलो राजनीति के हुन सक्ला ? चाहे कोरोनारूपी महामारी नआएको होओस् तर पनि नेपालीपनाको मौलिक विकास नै हाम्रो भविष्य हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.