विश्वबन्धुत्वको भावनामा आगामी यात्रा

  २०७७ वैशाख २२ गते ९:४०     सन्तोष तिमल्सिना

महामारी भन्ने वित्तिकै हामीलाई विपद्को आभाष हुन्छ । जब कुनै पनि रोगको प्रकोप लामो समयसम्म फैलिन्छ, त्यसलाई महामारी भनिन्छ । महामारीले जनजीवनमा एक किसिमको संकट उत्पन्न गर्दछ । स्वास्थ्य क्षेत्रमा जोखिम पैदा गरी मानविय क्षति समेत गर्ने भएकाले महामारीले मानिसको भविष्यलाई प्रत्यक्ष असर पर्दछ । कोरोना भाइरस आर्थात कोभिड १९ हरेकको जनजिब्रोमा झुण्डिएको शब्द हो । कोरोना भाइरसको नाम सुन्ने वित्तिकै सबैको मनमा एक किसिमको त्रास उत्पन्न हुन्छ, किनकी यो भाइरसले मानव सभ्यतालाई नै चुनौती दिंदै भयावह अवस्थाको सिर्जना गरिदिएको छ ।

महामारीको रुप लिएर विश्वलाई नै आतंकित पार्ने कोरोना भाइरस चीनको वुहान शहरको माछाबजारमा नोभेम्बर १७ मा पहिलो पटक देखा परको भनाई छ । मानव शरीरको श्वासनलीको माथिल्लो भागबाट संक्रमण हुन सुरु भई नाकदेखि घाँटी हुँदै फोक्सोमा प्रवेश गर्दछ । कोरोना संक्रमण पछि शरीरको प्रतिरोध प्रणालीले भाइरससंग संघर्ष गर्न थाल्दछ, जसका कारण ज्वरो आउने, सुख्खा खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र निमोनिया जस्ता लक्षणहरु देखा पर्दछन । शरीरमा संक्रमण फैलिन थालेपछि भाइरस विरुद्ध प्रतिरोधात्मक प्रणाली अति सक्रिय हुने गर्दछ । प्रतिरक्षा प्रणाली सक्रिय हुँदा शरीरमा फैलिने रसायनले जलन (पीडा) हुन थाल्दछ र जलनका कारण शरीरमा निकै धेरै हानि पुग्दछ । श्वासप्रश्वासमा हुने समस्यका कारण प्रर्यात अक्सिजन प्राप्त हुँदैन । यो अवस्थामा श्वासप्रश्वासमा सहजता ल्याउन भेन्टिलेटरको सहायता लिनु पर्ने विशेषज्ञहरुको भनाई छ । गम्भिर संक्रमणबाट मानिसको मृत्यु समेत हुन सक्दछ । कोरोना भाइरसको संक्रमणबाट ५ जनवरी २०२० मा चीनमा पहिलो व्यक्तिको मृत्यु भयोे । चीनको ठूलो शहर अर्थात हुवेइ प्रान्तको राजधानी वुहानमा देखा परेको कोरोना भइरसले विश्वव्यापी महामारीको रुप लिएको छ । यसलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” नामाकरण गरेको छ ।

श्वाशप्रश्वाशको माध्यमबाट सर्ने नयाँ प्रजातिको भाइरस भएकाले संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सम्भावना उच्च रहन्छ । अन्य भाइरस जस्तै सामान्य मान्दा नोवेल कोराना भाइरसको संक्रमणले पूरै विश्वलाई नै आक्रान्त बानाएको छ । यसको संक्रमणबाट विश्वका कुनै पनि देश अछुतो रहन सकेन । विकाशोन्मुखदेखी अति विकसित राष्ट्रहरु समेत कोरोना भाइरसको शिकार बन्न पुगे । पछिल्लो समय सिङ्गो विश्वलाई नै तरंगित बनाइरहेको कोभिड १९ विरुद्धको खोप तथा औषधीको खोज तथा अनुसन्धान भई रहेता पनि हालसम्म आधिकारीक रुपमा पत्ता लागि रकेको छैन ।

लेखक

कोरोना भाइरस संक्रमण मानव शरीरमा प्रवेश गरिसकेपछि भाइरस फैलिन र स्थापित हुन केही समय लाग्दछ । संक्रमण फैलिन थालेपछि विस्तारै मानव शरीरको कोषभित्र प्रवेश गरीे नियन्त्रणमा लिने गर्दछ । कुनै पनि रोग लाग्ना साथ मानिसको मृत्यु हुन्छ भन्ने छैन । हामीले रोगलाई लुकाउने प्रयास गर्यौं भने यो अवस्थामा मृत्यु बाहेक अन्य विकल्प नहुन सक्छ । यसर्थ रोग लाग्नु भन्दा रोग लाग्न नै नदिनु बुद्धिमानी हुन्छ । कोरोना विरुद्ध कुनै खोपको आविस्कार भैनसकेको अवस्थामा सावधानीपूर्वक यसको संक्रमणलाई फैलन नदिनु नै प्रभावकारी हुन्छ । जनावरहरूको धेरै सम्पर्कमा नबस्ने, खोक्दा वा हाछ्युँ गर्दा नाक मुख टिस्यू पेपर वा कुहिनाले छोप्ने र प्रयोग गरेको टिस्यू पेपरलाई बिर्को भएको डस्विनमा फाल्ने, नियमित रुपमा साबुन पानीले राम्रोसँग हात धुने वा सेनिटाईजनको प्रयोग गर्ने, रुघाखोकी लागेको व्यक्तिबाट टाढा रहँदा पनि कोरोना भाइरसको संक्रमणबाट केही हदसम जोगिन सकिन्छ । कोरोना भाइरस हावाको माध्यमबाट श्वासप्रश्वास नली हुँदै फोक्सोमा प्रवेश गर्ने भएकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कने, निस्किनै भरेमा माक्सको प्रयोग गर्ने, भिडभाडमा नजाने, अन्जान व्यक्तिहरुसँग धेरै घुलमिल नहुने, साथीभाईहरुसंग हात नमिलाउनुका साथ टाढैबाट नमस्कार गर्ने बानीको विकासले पनि कोरोना भाइरसको संक्रमणलाई फैलिनबाट रोक्न सकिन्छ । कोरोना प्रभावित देशबाट आएको व्यक्तिहरूमा संक्रमणको लक्षणहरू देखिएमा तुरुन्त चिकित्सकहरुसंग परामर्श लिने, यदी घरमै बस्नु पर्ने अवस्थामा परिवारका सदस्यहरूबाट छुट्टै आईसोलेसनमा बस्नु पर्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार उमेर ढल्केका, हृदय रोग, मधुमेह, दीर्घकालीन श्वास रोग र क्यान्सर जस्ता रोग लागि औषधीमा निहित हुनु पर्ने बिरामीहरुमा कोरोनाको संक्रमण सम्भावना उच्च रहन्छ । त्यसैले वृद्धवृद्धा, बालबच्चा तथा रोगीहरुलाई विशेष ध्यान दिने, यस्तै पौष्टिक आहारहरुको सेवन गर्ने, माछामासु राम्रोसँग पकाएर मात्र खाने, हातले जथाभावि नाक, मुख, आंँखामा नछुदा नै उचित हुने देखिन्छ ।

कोभिड–१९ को महामारीले विश्वको स्वास्थ्य क्षेत्रलाई धरासायी बनाई दिएको छ । विश्वव्यापी महामारीको बेलामा हरेक देशहरुले सम्पूर्ण शक्ति कोरोना भाइरसको विरुद्धमा प्रयोग गरेका छन । विश्वका सम्पन्न देशहरु समेत यसबाट अति प्रभावित भएका छन् । महामारीका कारण संयुक्त राज्य अमेरिकाले सबैभन्दा बढी मानवीय क्षती सहनु परेको छ । याे लेख तयार गर्दासम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै ३६ हजार भेट्न खोजेको छ भने संक्रमितको संख्या ६ लाख ७८ हजार नाघिसकेको छ । यस्तै इटालीमा पनि १ लाख ६९ हजार व्यक्तिहरुमा संक्रमण देखिएको छ । २२ हजार भन्दा बढीले ज्यान गुमाई सकेका छन । युरोपेली मुलुक स्पेनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १९ हजार ३ सय नाघेको छ, भने १ लाख ८५ हजार मानिसहरु संक्रमित छन । फ्रान्सले पनि झन्डै १८ हजार नागरीक गुमाएको छ । १ लाख ६५ हजार मानिसमा संक्रमण देखिएको छ । सबै देशमा संक्रमण उच्चदरमा फैलिरहेकाे छ ।

महामारीबाट अति प्रभावित देशहरुको पाँचौ नम्बरमा बेलायत देखिएको छ । बेलायतमा १४ हजार मानिसले ज्यान गुमाएका छन । यसपछि इरान, बेल्जियम, चीन, जर्मनी, नेदरल्यान्ड्स, ब्राजिल, टर्की, स्विट्जरल्यान्ड, क्यानडा लगायतका देशहरुले पनि हजारौंको आफ्ना नागरीकहरु गुमाएको छ । विश्वका २१२ वटा देशहरुमा कोरोना भाइरसको संक्रमण देखा परेको छ । विश्वका २१ लाख ८५ हजार मानिसमा कोरोनाको संक्रमण देखिएको छ, भने १ लाख ४७ हजारले ज्यान गुमाएका छन । ५ लाख ५३ हजार मानिसको उपचार सफल भएको छ भने १४ लाख ८४ हजार मानिसहरु अस्पतालमा उपचारत रहेका छन । (यो लेख तयार पर्दासम्मको वल्डमिटरको तथ्याङ्क अनुसार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ७७०२ जनाको संक्रमण परिक्षण गरिएकोमा जम्मा ३० जनामा संक्रमण देखा परेको छ । यो अवधिमा ९० जना आइसोलेसनमा रहेका छन । संयोगवश कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस संक्रमणको उच्च जोखिमको सूचिमा सूचिकरण गरेको छ । विश्वका अन्य देशहरुमा जस्तै नेपालमा कोरोनाको संक्रमण देखा परेको छ । नेपालको सन्दर्शमा वि.स २०७६ फाल्गुण २६ गते संयुक्त अरब इमिरेट्स (युएइ) बाट फर्केको एक नेपालीमा पहिलो पटक संक्रमण देखा पर्यो भने उपचार सफल भई उनी घर फर्केकी थिईन । संक्रमणको रोकथाम, ब्यवस्थापन र न्यूनिकरणका लागि नेपाल सरकारले देश भर लकडाउनको घोषणा गरेको छ । विश्वभर व्यापक रुपमा फैलिएको कोरोना महामारीलाई रोक्नका लागि नेपालका प्रधानमन्त्रीबाट २०७६ चैत ७ गते बिशेष सम्बोधन गर्दै अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु बन्दको घोषणा गरे । त्यसको केही दिन पछि फ्रान्सबाट कतार हुँदै नेपाल भित्रिएकी १९ बर्षिय नेपाली विद्यार्थीलाई चैत्र १० कोरोना भाइरसको संक्रमण भएको पुष्टी भयोे । नेपालका लागि यो दोस्रो केश थियो । ती महिलामा कोरोना संक्रमण भएको पुष्टी भएसंगै नेपाल सरकारले लकडाउनमा कडि कडाउ थाल्यो । बन्दाबन्दी (लकडाउन)को पूर्ण कार्यान्वयनका लागि सिमा क्षेत्र, हवाई उडान, सडक मार्ग, उद्योग कारखानाहरु समेत बन्द गरिएको छ ।

यसअघि चीनको वुहान शहरमा कोरोना भाईरसको संक्रमण तिव्र रुप लिन थाले पछि विभिन्न उद्देश्यले चीनको वुहान शहर पुगेका नेपालीहरुलाई नेपाल सरकारले फिर्ता ल्याई भत्तपुरको खरीपाटीमा क्वारनटाइन स्थापना गरी राखिएको थियोे । क्वारनटाइनमा राखि स्वास्थ्य परिक्षण गर्दा सबैको रिर्पोटमा नकरात्मक अर्थात कोरोना भइरसको संक्रमण देखिएन । पहिलाे चरणमा नेपालमा विदेशबाट नेपाल फर्किएका व्यक्तिहरुमा मात्र संक्रममण देखिएको छ । पछिल्लाे समय संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सरेको केसहरू देखिन थालेका छन् ।

महामारी विरुद्ध सरकार एक्लैले लडेर सफल हुँदैन, जसका लागि हरेक नागरिकको साथ र सहयोगको खाँचो पर्दछ । ‘नेपालका लागि कोरोना भाइरसको एन्टिडोज नै लकडाउन हो’ भन्ने भावनाका साथ आम नेपालीहरुले महामारीलाई फैलिन नदिने प्रण गर्ने हो भने महामारी विरुद्धको अभियानमा विश्वलाई नेपालले राम्रो सन्देश दिन सक्छ ।

कोरोना भाइरस संक्रमणको सामना गर्न सरकारले उच्चस्तरीय समिति नै बनाएको छ । केन्द्रिय, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारले आफ्ना नगरीकहरुको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखी विभिन्न सचेतनामूलक गतिविधिहरु संचालन गरेका छन, भने विदेशबाट आउने मानिसहरुको पहिचान, उनीहरुको स्वास्थ्य परिक्षण, क्वारेनटाईनको निर्माण, प्रभावित नागरीकहरुलाई राहत वितरण जस्ता कार्यहरु संचालन गर्दै आई रहेका छन । यसै गरी राजनैतिक दल, स्वास्थ संघ संगठन, नेपाली सेना, प्रहरी, सञ्चार माध्यम लगायत आम नागरीकहरुले कोरोना विरुद्ध ऐक्यवद्धता जनाई सरकारलाई सहयोग गरिरहेका छन । कोरोनाको संक्रमणले महामारीको रूप लियो भने नेपालका अस्पतालहरूले धान्न सक्दैनन् । प्रयाप्त मात्रामा स्वास्थ्य परिक्षण गर्न कठिनाई हुन सक्छ । कोरोना औषधी वा खोपको आविस्कार भइ नसकेको अवस्थामा महामारी तिव्र फैलिएको खण्डमा नेपालले ठूलो चुनौतीको सामना गर्नु पर्दछ । विश्वको विज्ञान र चिकित्सक क्षेत्रलाई नै चुनौती बनेको कोरोना भाइरसको समाधान गर्न नेपाललाई धेरै ठूलो कठिनाई आईपर्ने सहजै अनुमान गर्न सकिन्छ । कोरोना नियन्त्रणका लागि सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) को पूण पालना गर्ने, सामाजिक दूरी कायम राख्नुका साथै विश्व स्वास्थ्य संगठनले जारी गरेका समाधानका उपायहरुलाई अबलम्बन गर्नु नै उचित हुन्छ । महामारी विरुद्ध सरकार एक्लैले लडेर सफल हुँदैन, जसका लागि हरेक नागरिकको साथ र सहयोगको खाँचो पर्दछ । ‘नेपालका लागि कोरोना भाइरसको एन्टिडोज नै लकडाउन हो’ भन्ने भावनाका साथ आम नेपालीहरुले महामारीलाई फैलिन नदिने प्रण गर्ने हो भने महामारी विरुद्धको अभियानमा विश्वलाई नेपालले राम्रो सन्देश दिन सक्छ ।

एउटा विकासोन्मुख देश त्यस माथि पनि १० वर्ष लामो सशस्त्र द्वन्द्व, २०७२ सालको विनाशकारी भूकम्प र त्यसका पराकम्पनबाट भएको भौतिक विनाशबाट विस्तारै उठ्दै गरेको नेपालमा विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको महामारीलाई सामना गर्ने सक्षम प्रणालीको विकास भइसकेको छैन । कोरोना भाइरसले नेपालमा महामारीको रुप लिएको खण्डमा नेपालका अगाडी धेरै चुनौतीहरु देखापरेका छन् । नेपालका सबै जिल्ला र स्थानीय तहमा कोरोना परिक्षण केन्द्र, दक्षजनशक्तिका अभावका कारण संक्रमितको उपचार र महामारी नियन्त्रण गर्न कठिनाई आउनसक्छ । संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनको समय लम्बिदै जाँदा नेपालको उद्योग, व्यवसाय, पर्यटन, शिक्षा लगायत उत्पादनका क्षेत्रहरु प्रभावित भएका छन । जसको कारण नेपालको अर्थतन्त्र प्रभावित हुँदै गएको छ । ग्रामिण भेगमा उत्पादित कृषि उपजहरुले बजार पाउन सकेको छैन । मजदूरहरु बेरोजगार हुनु परेको छ । जसका कारण भविष्यमा अनिकाल, भोकमारी ननिम्तेला भन्न सकिदैन । वर्तमान अवस्थामा विश्वको शक्तिशाली देशको अवस्था, नियन्त्रणका लागि अवलम्बन गरेका रणनीति, स्वास्थ्य संवेदनशिलता र मुलुकले भोगेको दुर्गतिबाट पाठ सिकेर नेपालको स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री र पर्याप्त लगानी गर्न जरुरी छ ।

महामारीले बिनाशको बाटो अबलम्बन गर्दछ । जसका कारण मानविय, भौतिक र अर्थतन्त्रमा क्षति पुग्दछ । कोरोना भाइरसको महामारीले स्वास्थ्य क्षेत्रलाई मात्र हैन, मुलुकको समग्र आर्थिक, सामाजिक, साँस्कृतिक पक्ष, जीवात्मा र पर्यावरणमा समेत ठूलो प्रभाव पारेको छ । महामारीको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्दछ । कोभिड–१९ को महामारीका कारण विकाशील एसियाली अर्थतन्त्रलाई उल्लेख्य रूपमा प्रभाव पार्ने एसियाली विकास बैंक (एडिवि)ले बताएको छ । आन्तरिक मागमा कमी, पर्यटन, व्यावसायिक ट्राभल, व्यापार तथा उत्पादन, आपूर्ति प्रणालीमा अवरोध र स्वास्थ्यमा प्रभावले विश्व अर्थतन्त्रमा तीन खर्ब ४७ अर्ब अमेरिकी डलरसम्म क्षति हुनसक्ने एडीवीले आँकलन गरेको छ । जसले गर्दा विश्व अर्थतन्त्रको आकारको शून्य दशमलव चार प्रतिशत र कुल गार्हस्थ्य उत्पादनको शून्य दशमलव १३ प्रतिशत क्षति हुने एडिविको विश्लेषण रहेको छ । त्यसैगरी विश्वभर तिव्र गतिमा फैलिरहेको कोरोना भाइरसको महामारीका कारण विश्व अर्थतन्त्रको वृद्धिदर शून्य दशमलव प्रतिशत बिन्दुले खुम्चिने अन्तर्राष्ट्रिय मुद्राकोषले (आईएमएफ)ले जनाएको छ । यसर्थ महामारीले विश्वको अर्थतन्त्रमा ठूलो उत्तरचाडाव ल्याउने अनुमान गर्न सकिन्छ ।

बन्दाबन्दीमा बाहिर निष्कनेमाथि निगरानी गर्दै सुरक्षाकर्मी

महामारीका कारण नेपालको ठूला साना सबै उद्योग बन्द भएकाले उत्पादन शून्य रहेको छ, भने कुल गार्हस्थ्य उत्पादनमा २५.६ प्रतिशत हिस्सा ओगटेको रेमिट्यान्समा भारी गिरावट आएको छ । देशको पुरै शक्ति महामारीको विरुद्धमा प्रयोग भएको छ । लम्बिदै जाँदा देशको अर्थतन्त्र कहिलेसम्म धान्न सक्छ, यो सरोकारवालाहरुको प्रमुख चिन्ताको विषय बनेको छ । नेपालको चालू आर्थिक वर्ष २०७६/७७ को बजेटमा सरकारले यस वर्ष ८.५ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ । महामारीका कारण लक्ष्य प्राप्ती हुन कठिनाइ हुने सरोकारवालाहरुले स्वीकारेका छन ।
छिमेकी मुलुक चीन र भारतको अर्थतन्त्रमा गिरावट आउनासाथ त्यसको असर नेपालमा पनि देखा पर्दछ । नेपालको पर्यटन क्षेत्रमा १६ प्रतिशत योगदान चीनको रहेको छ भने धेरै खर्च गर्ने सूचिमा चिनियाँ पर्यटकहरु नै पर्दछन । महामारीको कारण नेपालको पर्यटन क्षेत्र समेत धरापमा परेको छ । बैंक तथा वित्तिय क्षेत्रमा तरलता अभाव हुने संकेत देखिएको छ । हजारौ मजदुरहरु बेरोजार भएका छन् । कृषि, ब्यावसाय, सेवा लगायतका सबै क्षेत्रहरु थप्प भएका कारण नेपालको अर्थतन्त्र पूर्ण रुपमा प्रभावित भएको छ ।

महामारीले विश्वका मानव समुदायमा ठूलो क्षति पुर्याउनुका केही पाठ पनि सिकाएको छ । चीन, अमेरिका, इटली, दक्षिण कोरिया, बेलायत जस्ता विकसित देशहरु पनि महामारीको चटारोमा परेका छन् । विश्वका शक्तिशाली भनिएका देशहरु नै महामारीका कारण थला परेका छन् । कोरोना संक्रमणको पूर्वतयारी, सावधानी, नागरिकहरु सचेत नहुँदा इटली ठूलो दुर्दशा भोग्नु पर्यो । नागरिकहरुलाई ब्यवस्थित हुन र समाजिक दुरी कायम गर्न सरकारले जारी गरेको सूचनालाई बेवास्था गर्दा इटलीले ठूलो क्षति बेहोरिरहेको छ । कोरोना भाइरसको लक्षणलाई देखिएपछि ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसन समेत उपचारका लागि अस्पताल भर्ना हुनु पर्यो, भने अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई महामारी नियन्त्रण गर्न राष्ट्रिय संकटकाल घोषणा  गर्न बाध्य बनायो । नेदरल्याण्डका दुई तिहाई सरकारका प्रधानमन्त्रीले वहालवाला स्वास्थ्य मन्त्रीलाई हटाई विपक्षी दलका संसदलाई स्वास्थ्य मन्त्री बनाएर महामारी नियन्त्रणमा अघि बढेका छन । यसबाट संकटको घडीमा आफ्नो र पराई हुँदैन । सहि पदका सक्षम व्यक्तित्वको आवश्यकता पर्छ भन्ने सन्देश दिएको छ । विश्व इतिहासमा अग्रपंक्तिमा शक्तिशाली मुलुकको महामारीको अवस्थालाई विश्लेषण गर्ने हो भने रोगले सम्पन्न, विपन्न, शक्तिशाली, दुर्बलता, सानो, ठूलो कसैलाई विभेद गर्दैन भन्ने पाठ सिकाएको छ ।

केही देशहरुले रातरात अस्पतालहरुको निर्माण गर्न थाले, स्वास्थ्य सामाग्री र औषधीको उत्पादन गर्न थाले र संक्रमण रोकथाम, न्यूनिकरण र ब्यवस्थापनका लागि पूर्वतयारी गर्न थाले । भौतिक विकास, आर्थिक समृद्धि र प्रविधिले मात्र शक्तिशाली भएर हुन्न, स्वस्थ्य क्षेत्रलाई पनि प्राथामिकता दिई नविन विधि र पद्धतिलाई अवलम्बन गर्नु पर्ने महामारीले विश्वलाई सन्देश दिएको छ ।

पछिल्लो समय सिङ्गो विश्व नै मानवजातीको अस्तित्वको लडाँई लडिरहेको छ । मानव सभ्यता, संस्कृति, वातावरण र जीवात्माको रक्षार्थ विश्वका हरेक मुलुकहरु कोरोना विरुद्ध संघर्षरत छन् । हरेक देशहरु आफ्ना नागरिकहरुको स्वास्थ्य सुरक्षाका खातिर सबै कार्यहरु थाती राखेर महामारी नियन्त्रणका लागि प्रयत्नरत छन् । कोरोना विरुद्धको अभियानमा विश्वका गोलबद्ध हुन थालेका छन् । कोरोना भाइरसको सुरुवाती चरणलाई विश्वका प्राय मुलुकहरुले सामान्य फ्लुका रुपमा लिए । विश्व स्वास्थ्य संगठनले यो भाइरसबाट विश्व नै संक्रमित हुने सम्भावनाबारे जानकारी गराउँदा समेत गम्भिरताका रुपमा नलिदाँ महामारीले डरलाग्दो रुप लिन पुग्यो । जब भाइरसले महामारीको रुप लिन थाल्यो, तब स्वास्थ्य संवेदनशिलताको बारेमा सबैलाई सोच्न बाध्य बनायो । केही देशहरुले रातरात अस्पतालहरुको निर्माण गर्न थाले, स्वास्थ्य सामाग्री र औषधीको उत्पादन गर्न थाले र संक्रमण रोकथाम, न्यूनिकरण र ब्यवस्थापनका लागि पूर्वतयारी गर्न थाले । भौतिक विकास, आर्थिक समृद्धि र प्रविधिले मात्र शक्तिशाली भएर हुन्न, स्वस्थ्य क्षेत्रलाई पनि प्राथामिकता दिई नविन विधि र पद्धतिलाई अवलम्बन गर्नु पर्ने महामारीले विश्वलाई सन्देश दिएको छ ।

मानिस सामाजिक प्राणी भएकाले समाजसंग निकट रहन्छ । मानिसको जन्मदेखि मृत्युसम्मका संस्कारहरु सामाजिक, धार्मिक र साँस्कृतिक परम्परा अनुसार हुने गर्दछ । ठाउँ अनुसार भिन्नभिन्न संस्कृति हुने गर्दछ । संस्कृति नै मानिसको पहिचान हो भन्दा फरक नपर्ला । विभिन्न समयमा देखिएका भाइरसहरुले मानव सभ्यता र संस्कृति माथि चुनौती दिंदै आएको छ । कतिपय भाइरसका कारण धेरै मानिसहरुले ज्यान गुमाउनु परेको छ । वर्तमान अवस्थामा विश्वलाई नै आतंकित पारेको कोरोना भाइरसले त झनै मानव सभ्यता र संस्कृतिलाई संकटमा पारेको छ ।

दुःख वा सुखलाई एकअर्कामा साटासाट गर्नु मानवजातिको गुण नै हो । सुखदुःखमा साथ र सहयोग गर्नु मानवीय धर्म हो । महामारीले यसको दूरीलाई टाढा बनाई दिएको छ । यतिसम्म कि मृतक शव बोक्न, दाहसंस्कार गर्न, काजक्रिया गर्न समेत समस्या देखिन थालेको छ । नेपाल साँस्कृतिक विविधताले भरिपूर्ण देश हो । यहाँ धेरै धर्म, संस्कृति र रहनसहन, रितिरिवाजहरु रहेका छन । अरु बेलामा टाढा भएका साथीभाइ, आफन्तहरुलाई हाम्रा संस्कृति तथा पर्वहरुले एक ठाँउमा जुटाउने गर्दछ । महामारीले मानवजातीको भविष्य, धर्म, संस्कृति माथि नै चुनौती थपिदिएको छ ।

महामारीले ल्याएको समस्या, आगामी चुनौती, अर्थतन्त्रमा पारेको प्रभाव, जोखिम न्यूनिकरण तथा दिगो ब्यवस्थापन, मानव सभ्यता र पर्यावरणमा पारेको असर लगायतका बिषयहरू माथी सम्बोधन हुने खालको योजनाहरुको बारेमा बेलैमा सोचेर अघि बढ्न अत्यान्त जरुरी छ । महामारीको रोकथाम, न्यूनिकरण र व्यवस्थापनका लागि सिंगो विश्वले नै ऐक्यवद्धता जनाई कोरोना विरुद्धको अभियानमा हातेमालो गरी विश्वबन्धुत्वको भावनाले आगामी यात्रा तय गरे मात्र हाम्रो भविष्य सुनिश्चित छ ।

विपद्को बेला मानविय धर्म निर्वाह गरौं । महामारीबारे सचेत रहौं, आफू बाँचौं, अरुलाई बचाऔं ।

 

बेथानचोक गाँऊपालिका–२, ढुंखर्क, काभ्रे
मिति २०७७/०१/०५ गते शुक्रबार
santosh32952@gmail.com