प्रकृतिमाथि न्याय गराैं, जित मान्छेकै हुनेछ

  २०७७ वैशाख ८ गते १३:४५     गोपाल खनाल

कास्कीकाे सराङकाेटबाट देखिएकाे दृष्य

विश्व समुदायलाई आतङ्कित पार्न बेला बेलामा अनेक सङ्कटहरु देखिने गरेका छन् । जीवन गति जति सहज ढङ्गले चलाउनका निम्ति मानिसले प्रयत्न गरिरहेको हुन्छ ठिक त्यसका विपरीत मानव समुदायलाई आतङ्कित पार्न अनेक महामारीहरु आइलाग्छन् । कहिले प्राकृतिक त कहिले मानव सिर्जित समस्याहरु महामारीका रुपमा देखिने गरेका छन् । समय कालखण्डमा देखिएका अनेकौ रोगका महामारी मध्ये कोरोना भाइरस पनि एक हो । “ ‘कोभिड–१९’ एउटा सङ्क्रमित र सरुवा रोग हो जुन कोरोना भाइरस भन्ने नयाँ जीवाणुका कारणले लाग्दछ” भनेर विश्व स्वास्थ्य सङ्गठनले यसलाई परिभाषित गरेको छ । डब्लु.एच.ओ.ले ‘कोभिड–१९’ नाम दिएको यसलाई विश्वव्यापी महामारीका रुपमा घोषणा समेत गरिसकिएको छ । जब कुनै पनि समस्याले विकराल रुप लिन्छ त्यो नै महामारी हो । विश्वलाई आतङ्कित बनाएको नोभेल कोरोना भाइरसले पनि यतिबेला महामारीको रुप लिएको छ जसले मानव जातिको भविष्यलाई अन्यौलग्रस्त र त्रस्त बनाएको छ ।

चीनको उहानबाट सन् २०१९ डिसेम्बर अन्त्यमा सर्वप्रथम देखा परेको भाइरस आज विश्वव्यापी महामारीका रूपमा हावाको गतिमा विश्वका २०९ मुलुकका लाखौँ मानिस सङ्क्रमित भएका छन् भने हजारौँले ज्यान गुमाइसकेका छन् । युरोप र अमेरिकामा भयावह रूपमा सङ्क्रमण फैलिएको छ । उच्च ज्वरो, सुख्खा खोकीसँगै श्वासप्रश्वासमा समस्या देखिनु यस रोगका लक्षणहरु हुन् । मानव बीचमा सीमित तबरले सर्ने सम्भावना रहेको अनुमान गरिएको यो रोगको हालसम्म कुनै औषधि पत्ता लागि नसकेको अवस्थामा ज्वरो र खोकी लागेको व्यक्तिबाट टाढा रहनु वा आफूलाई उच्च ज्वरो र खोकी लागेको छ भने पनि अरु व्यक्तिबाट टाढा रहनुका साथै मास्कको प्रयोग गर्नु उपयुक्त हुन्छ । खोक्दा वा हाछ्युँ गर्दा नाक, मुख टिस्यु पेपर वा कुहिनाले छोप्ने र प्रयोग गरेको टिस्यु पेपरलाई जथाभावि नफाली बिर्काे भएको फोहोर फाल्ने भाँडोमा फाल्ने अनि साबुन पानीले कम्तिमा २० सेकेन्ड मिचिमिचि हात धुने वा अल्कोहलयुक्त स्यानिटाइजरले हात सफा गर्ने गर्नुपर्दछ । भिडभाडमा नजाने र अरुलाई पनि नजान सुझाव दिने साथै हात मिलाउनुको सट्टा नमस्कार गर्नु समेत उपयुक्त मानिएको छ । सामाजिक दुरी कायम गरेर वा एकान्तबास बसेर पनि यसको सङ्क्रमणबाट बच्न सकिन्छ । सामान्य रुघाखोकीदेखि गम्भीर श्वासप्रश्वास Severe Acute Respiratory Syndrome (SARS) सम्म गराउन सक्दछ । नोभल कोरोना भाइरसले गर्दा हुने रोगका लागि कुनै खास उपचार छैन यद्यपि यो भाइरसले निम्त्याएका धेरै लक्षणहरुको उपचार भने हुन्छ । लक्षणका आधारमा बिरामीको उपचार हुने हुनाले आफूलाई सङ्क्रमणको शङका लागेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु बुद्धिमानी हुन्छ ।

मानब जीवनलाई चुनौति दिने मार्गबुर्ग, इबोला, रेविज, एचआइभी, स्मलपक्स, हान्ता, इन्फ्लुएन्जा, डिङ्गो, रोटा, सार्सक्रोनो, सार्स क्रोनो–२ र नोबेल क्रोनो भाइरसहरुको संक्रमण बेलाबेलामा संसारव्यापी रुपमा फैलिने गरेको छ । कुनै समस्या पूर्व स्वार्थमा लिप्त भई मस्त रहने र सङ्कट निम्तिएपछि हतास र उदास बन्ने मानवीय चरित्र देखिन्छ । समस्याका पहाडहरु चुलिएपछि मानिस ब्युँतिएको अवस्था हो यो । हुन त भविष्य निश्चित होइन र छैन पनि । तर, यो महामारी बीचको विषम परिस्थितिले हाम्रो भविष्यबारे थप अन्यौल सिर्जना गरेको छ । हरेक समस्याले आफ्नो साथमा ठूलो अवसर पनि लिएर आएको हुन्छ । ओ हेनरीले भने झै हरेक समस्या नै अवसरको अर्को रुप हो । समस्या निन्तिएपछि आत्तिनु र पछुपाउनु भन्दा पहिले नै सचेत बनेर मानवले कदम चाल्ने हो भने कतिपय सङ्कट नै नआउने र कतिलाई सजिलै टार्न सकिने कुरालाई नकार्न सकिँदैन । प्राणी जगतको चक्रिय प्रणाली नबिगारीकन मान्छेले उन्नति गर्न सक्थ्यो तर मान्छे अति स्वार्थी भयो । उसले सम्पूर्ण प्राणी जगतको स्वार्थलाई त ख्याल गरेन, स्वयम् आफ्नै प्रजातिको स्वार्थलाई पनि ख्याल गरेन । यो धर्तिमा मानव अन्य प्रजाति मध्ये एक हो र उसको अधिकार अन्य प्रजाति सरह मात्र हो भन्ने कुरा मानवले बिर्सदै गएको देखिन्छ ।

कोरोना यस्तो व्याधी हो जसले प्रियजनहरुबीच स्नेहमय स्पर्शलाई निषेध मात्र गरेको छैन ममतामय चुम्बनलाई वर्जित गरी ऐक्यबद्धताकारी अङ्कमाललाई मनाही गरेको छ । यसले मानिसलाई लाचार मुद्रामा ‘हात धोऊ, दूरीमा रहू’ भन्ने मन्त्र जप्न विवश तुल्याएको छ । मानिसको निकटता मन नपराउने कोरोना जनको असमायिक काल बनिरहेको छ । मृत्यु प्राकृतिक सत्य हो र पनि मानिसले यसलाई सहजै स्वीकार्न सक्दैन । मृत्यु वा कालको नाम लिने, सुन्ने बित्तिक्कै पनि ऊ तर्सन्छ । मानिस न चाहेर जन्मेको हो न चाहेर नै ऊ मृत्यु वरण गर्दछ । यही सत्यबोध भएपनि मृत्यु मानिसका लागि असहज र अप्रिय विषय हो । मानिस मरेपछि लास जलाएर फर्कदासम्म मानिसले जे जस्ता कुरा सोचिरहेको हुन्छ त्यसपछि ऊ ती सबै कुरा बिर्सेर पुनः ईर्ष्या र अहङ्कारतर्फ नै केन्द्रित हुन पुग्छ । मानिस कतिसम्म स्वार्थी र अहङ्कारी छ भने ऊ अरु पशुप्राणीको प्राण रमाइरमाइ सहजै चुस्न लालायित देखिन्छ । वर्तमान समयमा मानव गतिविधिले पृथ्वीको सतहलाई नर्क बनाउदै लागेको छ । जमिनको सतहको एक तिहाई भन्दा बढी सम्पूर्ण जीवको साझा बासस्थानमा मानवले बलपूर्वक एकछत्र राज गरेको छ । यो धर्तिमा मानव अन्य प्रजाति मध्ये एक हो र उसको अधिकार अन्य प्रजाति सरह मात्र हो भन्ने कुरा मानवले बिर्सदै गएको देखिन्छ । विषाक्त बायुमण्डलको खतरनाक बिष सोस्ने सर्प, खतरनाक कार्बन र धातुजन्य बिष सोस्ने जङ्गल तथा खतरनाक किटाणु पचाइदिने जङ्गली जनावरहरुको मानिसले बिनास गरिरहेको छ । त्यसपछिको परिणाम भनेको यस्तै यस्तै महामारी र अन्त्यमा आफ्नै प्रजातिको बिनास हो । मानिस यो पृथ्वी सबै पशुपन्छीको साझा घर हो भन्ने भुलेर ‘मै बाँचु मै हाँसुँ’को लयमा केन्द्रित हुन पुगेको पाइन्छ । आफूलाई सानो चोट लागेपनि दुख्ने ऊ अरुको चोट र पीडामा रमाइरहेको कारण नै यी र यस्ता विपत्ति निम्तिएको देखिन्छ । यदि मानिसले यस्ता विपत्तिबाट पाठ सिकेर आफूलाई हिंसाबाट टाढै नराख्ने हो भने भविष्यमा पनि यस्ता महामारी निम्तिइ मानव अस्तित्व नै सङ्कटमा नपर्ला भन्न सकिँदैन ।

प्राणी जगतको चक्रिय प्रणाली नबिगारीकन मान्छेले उन्नति गर्न सक्थ्यो तर मान्छे अति स्वार्थी भयो । उसले सम्पूर्ण प्राणी जगतको स्वार्थलाई त ख्याल गरेन, स्वयम् आफ्नै प्रजातिको स्वार्थलाई पनि ख्याल गरेन । यो धर्तिमा मानव अन्य प्रजाति मध्ये एक हो र उसको अधिकार अन्य प्रजाति सरह मात्र हो भन्ने कुरा मानवले बिर्सदै गएको देखिन्छ ।

विपत्तिमा हो कि झै गर्ने र विपत्ति टरेपछि पुनः मत्त हुने अनि अरुको अस्तित्व नस्वीकार्ने मानवीय प्रवृत्तिकै कारण मानिस अनेक विपत्ति सहन विवश मात्र छैन आफ्ना प्रियजनलाई असमयमै गुमाउन समेत ऊ बाध्य बनेको छ । विपत्ति पनि मानव समुदायमा अनेक रुप लिएर देखापर्ने गरेका छन् । कहिले आँधिहुरी, बाढी पहिरो, भूकम्प जस्ता विपत्ति आइलाग्छन् त कहिले रोगका महामारी उसका लागि चुनौति बनेर देखापर्छ । भूकम्पले घरभित्रका मानिसहरुलाई लखेट्दै बाहिर निकालेर खुला डबलीमा भेट मात्र गराएन तिनका मनमन नजिकिए अनि बाँचेसँगै, मरेसँगै भन्ने भावना तिनका भयाक्रान्त चित्तमा पैदा भयो । तर विशाल हिमाल नाघेर जब कोरोना आतङ्क आइलाग्यो, यसले मानिसहरुलाई लखेट्दै घरभित्र हुल्यो । निरीह मानिस आफ्नै घरमा वा अस्पतालमा थुनियो । नरम थुनाको नाम भयो क्वारेन्टाइन अनि अलि कडा थुनाको नाम भयो आइसोलेसन उर्फ एकान्तवास । भूकम्पले मानिसहरुमाझ समभाव, प्रेम र सहयोगको भावना सञ्चारसँगै निकटताको सिर्जना गरेको भएपनि कोरोनाजन्य प्रकोपले मानिसहरु बिच दूरीको सिर्जना गरेको अवस्था छ । कोरोना कै कारण मानिस मानिसबाटै टाढिनु पर्ने स्थिति पैदा भएको छ तर त्यो दुरी तनको होस् मनको नहोस् ।
कोरोना भाइरस (कोभिड–१९)को माहामारीले विश्वका शक्तिशाली मुलुकको अवस्था पनि हायल–कायल छ । यसको रोकथाम र नियन्त्रणका लागि कोरोना संक्रमित अधिकांश मुलुकले ‘लकडाउन’ विधि अपनाइरहेका छन् । यसलाई नै कोरोना रोकथामको उत्तम तरिका मानिएको छ ।

इरानमा बालककाे ज्वाेराे नापिदै

कोरोना महाव्याधिकै सिलसिलामा हिजो आफूलाई शत्रुतापूर्ण व्यवहार गरेर खुइल्याउन लागि परेको शक्तिसम्पन्न राष्ट्र समेत सहयोगको प्याकेज पुर्याएर उसले त्यहाँ कोरोना नियन्त्रणका लागि भूमिका निर्वाह गर्ने काम गरेको छ । लामो समयदेखि समाजवादको अभ्यास गर्ने बाटोमा अग्रसर भएकै कारण अमेरिकाको कठोर नाकाबन्दी भोगिरहेका क्युबाले यसबेला निर्वाह गरेको भूमिका पनि उल्लेखनीय छ । खासगरी, क्युबाले आफू कहाँ कोरोना हुँदा हुँदै पनि ‘रिभोल्युसनरी फाइटर’ भनेर इटाली, स्पेनलगायतका मुलुकहरुमा स्वास्थ्यकर्मी र स्वयसेवक पठाए । आपतको यो बेलामा क्युबाले आफूविरुद्धको अमेरिकी नाकाबन्दीमा सहयोगी राष्ट्रहरुमा समेत सहयोग पठाएर एउटा उदाहरणीय नमूना पेश गरेको छ । यसले भावी दिनहरुमा विश्व राजनीतिमा नयाँ आयाम सुरुवात हुने सङ्केत समेत देखापरेको विश्लेषण हुन थालेको छ । यसले शस्त्रअस्त्रका बिच शक्तिको होड देखाउने मुलुकका लागि गतिलो पाठ सिकाएको मात्र छैन पद, प्रतिष्ठा र पैसाले सबथोक होइन भन्ने सन्देश प्रवाहमा पनि यसले सहयोग पुर्याएको छ । सुख र सुविधाको पछि लागेर सहर छिरेकालाई पुनः आफ्नै थात थलो फर्काएको छ कोरोनाले । पिढी कुरेर परदेशिएका सन्तानको पर्खाइमा रहेका वृद्ध बाबु आमासँग सन्तानको अकस्मात भेट गराएको छ । आफ्नै गाउँपाखा पखेरा भुलेर,उर्वर भूमि बाँझै राखेर सहरमा हराइरहेकालाई त्यो बाँझो जमिनलाई उर्वर बनाउने मौका प्रदान गरेको छ । टाढिएकालाई नजिक बनाएर सधैँ हतारमा रहने जनलाई परिवारसँग नजिक हुने अवसर अनि आत्मनिर्भरताको पाठ समेत यसले सिकाएको छ । वातावरणीय प्रदूषण न्यूनीकरण भई सुन्दर प्राकृतिक परिदृश्यको नियाल्न पाइएको छ यतिबेला । ‘बशुधैव कुटुम्बकम्’ भन्ने हाम्रो मूल मन्त्रले सार्थकता पाओस् ।

मानिस कतिसम्म स्वार्थी र अहङ्कारी छ भने ऊ अरु पशुप्राणीको प्राण रमाइरमाइ सहजै चुस्न लालायित देखिन्छ । वर्तमान समयमा मानव गतिविधिले पृथ्वीको सतहलाई नर्क बनाउदै लागेको छ ।

पृथ्वीमा रहेका साढे सात अर्ब मानिसलाई बचाउन अहिले संसारभर रहेका राज्य र नागरिकहरुले के गर्न सक्छन् ? त्यसको लागि उनीहरुले गर्दै आएका गल्ति र महाभूलहरुको समीक्षा गर्नु जरुरी हुन्छ । कोरोना जस्ता महामारी लगातार के कारणले आइरहेका छन् ? यो बहसले नै हामीलाई हाम्रा गल्तिहरुबाट बचाउन मद्दत गर्ने छ र मानव प्रजातिको अस्तित्व लम्ब्याउन गहन भूमिका खेल्ने छ । मानव जनसङ्ख्याले पृथ्वीको चक्रिय प्रणाली (इकाेसिस्टम) लाई चुनौति दिंदै आएको छ । जसको परिणाम स्वरूप वर्तमान भूगर्भीय समय क्रममा जीव जगतका अन्य प्रजातिहरूको व्यापक र निरन्तर लोप हुँदै गएको छ किनकि जल र स्थलमा रहेका जीवात्माका वासस्थान हामीले विनाश गर्दै गएका छौँ , दुर्लभ जनावरका प्रजातिहरूको व्यापक रुपमा तस्करी गरेका छौँ , शिकार गरेका छौँ र वातावरण प्रदूषण मार्फत भएको जलवायु परिवर्तनको परिणामले धेरै थरिका जीव प्रजातिहरूको लोप हुने अबस्था आएको छ जसको जिम्मेवार केवल हामी हौँ । वाताबरण विद्हरुको एक अन्वेषणले बताउछ कि औद्योगिक क्रान्ति सुरु भएदेखि वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा ३०५ प्रतिशतसम्म बढेको छ । त्यो स्वयम् मानव स्वास्थ्यका लागि कति घातक छ भन्नु नपर्ला । धर्तिको स्वास्थ्य बिग्रदै गएकोले त्यसले अन्य जीव सहित मानब स्वास्थ्यमा पनि अत्यान्त खतरनाक प्रभाव पार्न थाल्छ । कोरोना जस्ता महामारी पनि अस्वास्थ्य धर्तीका नै उपज हुन् भनेर पुष्टि गर्ने प्रसस्त आधारहरु देखिन्छन् । यस किसिमले हेर्दा अब मानिसले आफू र आफ्ना आचरण सुधार्न ढिला गर्नु हँदैन ।

कोरोनाको प्रकोप नियन्त्रणमा आएपछि विश्व राजनीति, विश्व सामाजिक सम्बन्ध र अन्तर्र्रािष्ट्रय सम्बन्धमा नयाँ बहसको बाटो पैदा हुन्छ भन्ने लाग्छ । कोरोनाको संक्रमण हुँदैमा मानिस मरिहाल्ने होइन । त्यसको लागि उपयुक्त सावधानीहरु र उपचारमा संलग्न हुनेहरुले आवश्यक प्रतिरक्षात्मक सामग्रीको प्रयोग गर्दा त्यो सरिहाल्दैन भन्ने कुरा विश्वका विज्ञहरुले बारम्बार भन्दै आइरहेका छन् । तर यो कुरा बुझाउन कमी नै भएजस्तो लाग्छ मलाई । कोरोनाको संक्रमणलाई एकछिन बिर्सेर हेर्ने हो भने, निमोनियाबाट मात्र वर्षमा लाखौँ मान्छे मरिरहेको हुन्छन्, क्यान्सरबाट गत वर्ष करिब १४ लाख मान्छे मरेका थिए, डेंगुबाट लाखौँ मान्छे मर्छन्, मलेरियाबाट वार्षिक ८ लाख मान्छे मर्छन् । अरु त अरु सामान्य रुघाखोकीबाट पनि वर्षेनी लाखौं मानिसहरु विश्वभरिमा मर्ने गर्छन् । ती रोगहरुले मानिसलाई आतङ्कित बनाएको छैन । कोरोनाले निम्त्याएको सन्त्रास डरलाग्दो छ । यसको संक्रमणको विस्तार रकेटको गतिमा छ । अहिलेसम्म यसको खोप–औषधिहरु पत्ता नलागिसकेको हुनाले र आफ्नो रक्षा आफै गर्ने भन्ने कुरामा पनि ध्यान नदिँदा यो अत्यन्तै डरलाग्दो ढङ्गले विश्वभरि नै फैलिन पुग्यो ।

हुन त मानव समुदायले थुप्रै महामारीको सामना गर्दै आएको छ । एक शताब्दी अघि स्पेनिस् फ्लुले करिब पाँच करोड मानिसको ज्यान लिएको थियो । मानव समुदायमा समय समयमा देखा पर्ने यस्ता विपत्तिको कारण केलाएर शान्ति कायम गर्न सबै प्रकारका हिंसामुक्त राष्ट्र निर्माणमा केन्द्रित हुन जरुरी भइसकेको छ । आफ्नो स्वार्थका लागि अरुलाई प्रयोग गर्नुु मुर्खता शिवाय केही हुनै सक्दैन भन्ने बुझेर आत्मानुशासनको पालना गर्नुपर्छ । कोरोना महामारी यति बेला विश्व समुदाय आतङ्कित बनेको मात्र छैन यसले व्यापार,व्यावसाय,उद्योग,पर्यटन चौपट बनेको स्थिति छ । विश्व अर्थतन्त्र धरासायी हुने आँकलन विज्ञहरुले गरेका छन् । विश्वका पौने दुई करोड मजदुरहरुले आफ्नो रोजगारी गुमाउने अवस्था पैदा भएको तथ्याङ्कहरु सार्वजनिक भइरहेका छन् यसले मजदुर वर्गको रोजिरोटी खोसिने देखिन्छ । बेरोजगारी अर्को जटिल समस्या बनेर आउन सक्ने कुरालाई नकार्न सकिँदैन । यसकारण अब राज्यले आम नागरिकका साझा समस्यालाई चाँडो उचित सम्बोधन गर्न आवश्यक छ । लकडाउनका कारण निम्नवर्गको अवस्था ज्यादै दयनीय बन्न पुगेको छ । यदि यसको सम्बोधन नभए र उचित राहत पुर्याउन नसके भोक युद्ध हुनसक्ने खतरा पनि उत्तिकै दखिन्छ । एकातिर कोरोना महामारी रोक्न घरभित्रै बसेर यसका विरुद्ध लड्नु त छँदै छ अर्कोतिर आम मानिसमा यसले पारेको मानसिक त्रास हटाउँदै सरकारले सबै हिसाबले नागरिकको सुरक्षा गर्नुपर्ने स्थिति पैदा भएको छ । यस अवस्थामा सरकारले विगतका सङ्कटको अवस्थाबाट पाठ सिक्दै बुद्धिमतापूर्वक आवश्यक कदम चाल्नुपर्ने कुरामा दुई मत छैन । नेपालमा त झन् सङ्कटको घडीमा समेत भ्रष्टाचार मौलाउने गरेको कुरा घाम जत्तिकै छर्लङ्ग छ । यस्ता भ्रष्ट व्यक्ति पहिचान गरी कडा कारर्वाही नगरे विदेशी सहयोग र जनताले गाँस कटाएर गरेको सहयोग पनि बालुवामा पानी बन्न पुग्ने देखिन्छ । यस घडीमा सबै प्रकारका शत्रुता भुलेर,घमण्ड तोडेर ईर्ष्या छोडेर मानव उद्दार र सेवामा लाग्नु पर्ने तथ्य भुल्नु हुँदैन । सत्य,तथ्यपूर्ण समाचार मात्र सम्प्रेषण गरी आम जनमानसलाई सुसुचित गर्न सञ्चार माध्यमहरु पनि लाग्नुपर्छ ।

हामीलाई पुर्खाले नासोका रुपमा छाडेर गएको यो सुरम्य प्रकृति,साझा धर्ति नबिगारिकन सुम्पनैपर्छ । हाम्रो भविष्य हामीले नै कोर्नु छ, सजाउनु छ । अँध्यारो पछि पक्कै हुनेछ सुनौलो विहानी । अन्ततः हार्ने छ कोरोना भाइरसले ।

विपत्ति पर्दा मात्र हारगुहार गर्ने, ईश्वर पुकार्ने नगरी यो धर्तिलाई सिँगार्न सबै मानिस एकजुट भएर उठ्नु छ । महामारीका विरुद्ध लड्नु छ र बढ्नु छ अगाडि । धर्तिलाई फलाम र कंक्रिडले ढाकेर भौतिक सुविधामा लिप्त बनिरहे मानिसले अरु यस्ता थुप्र विपत्तिको सामना गर्ने दिन झन् नजिकिँदै छ । हामीले प्रकृति माथिको दोहन नरोकेर धर्तिलाई उजाड बनाइरह्यौ भने हामी भोक र प्यासले तड्पितड्पि मर्नुपर्ने दिन नआउला भन्न सकिन्न । साथै हामीलाई हाम्रा भावी सन्ततीले समेत धिक्कार्ने छन् । हामीलाई पुर्खाले नासोका रुपमा छाडेर गएको यो सुरम्य प्रकृति,साझा धर्ति नबिगारिकन सुम्पनैपर्छ । हाम्रो भविष्य हामीले नै कोर्नु छ, सजाउनु छ । अँध्यारो पछि पक्कै हुनेछ सुनौलो विहानी । अन्ततः हार्ने छ कोरोना भाइरसले । धैर्य गरौँ धैर्यताको फल मिठो हुनेछ । गुकाएका आफन्तको अनुहार सम्झेर जागाउन लागौँ पालुवा । वर्तमानको सदुपयोग गरौँ भविष्यत् आफैं उज्ज्वल बन्ने छ । यो विपत्ति यो चुनौतिले अर्को एउटा सुनौलो अवसर पनि त लिएर आएको हुन सक्छ । परोपकार नै हाम्रो धर्म हो । जसरी सूर्य अरुकै लागि उदाउँछ त्यसरी नै हामी पनि अरुका लागि बाँचौँ । यो महामारीको समयमा अहोरात्र खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, सञ्चारकर्मी सबैप्रति नमन । सूर्य,चन्द्रमा,पृथ्वी, वायु, नदी पहाड सबैले आफ्नो कर्तव्य पूरा गरेजस्तै हामी पनि आफ्नो कर्तव्यबाट टाढा नभागौँ । बस् सबै ठिक हुनेछ ।

(तस्वीरहरू गुगलबाट लिइएका हुन्)

दाङसिङ–८, नुवाकोट (हालः पोखरा–११)
gkfriend8@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.