निरर्थक मानव निर्मित सीमाना र सुरक्षा घेरा

  २०७७ वैशाख २३ गते १३:३१     धनप्रसाद पौडेल


राजधानीको सुनसान सडक, यदाकदा मानिसहरुको ओहोरदोहोर, आफ्नै मौलिक सौन्दर्यतामा खुलेको आकाश, बसन्त ऋतुमा भर्खर पालुवा भरेका बोटविरुवा, नवबर्षलाई जुगल हिमालले गरेको स्वागत, बिहान–बिहानै मेरो कोठाको झ्यालबाट देखिएको दृष्य । अचानक मेरा आँखा बिहानीमा घाम ताप्दै बार्दलीमा बसेर चियाको सुर्कीसँगै घरबेटी बाले पढेको पत्रिकाको हेडलाईनमा पुग्छ । ‘विश्वभर कोरोना कहर’, ‘आफ्नो अस्तित्व रक्षावरण गर्दै विश्व मानव समुदाय’ यी इत्यादि समाचार पल्टाउँदै गरेका प्रत्येक पाना भित्र छन् । म एक्कासी निःशब्द हुन्छु । शरीरमा रक्तसंचार टुटेको भान हुन्छ । एकछिन सोचमग्न हुन्छु । हो, मृत्युले मानवलाई बेमौसम गिज्याईरहेको छ, पछ्याईरहेको छ । त्यही मृत्युको भयमा उकुसमुकुस भएको मेरो मलिनो अनुहारलाई केवल आफ्नै कोठाको चौघेरा भित्रको स्वः बन्दाबन्दीले एक्लै नियालिरहेको छ ।

सम्भवतः एक्काईसौ शताब्दीको मानव जाति माथिको सबैभन्दा ठूलो प्रहार हो यो । विश्व आक्रान्त भएको यस युगको यो नै पहिलो संगीन घटना हो । इतिहासमा सायदै व्यहोर्न परेको कष्ट आज मानव सभ्यताले भोगिरहेको छ । चाहे विश्वका गरिब देश हुन चाहे समृद्ध देश किन नहोस् ? विश्व नाटकिय ढङ्गले एउटै मुद्धामा सोच्न बाध्य भएको छ, त्यो हो–‘कोरोना भाइरस’ ।

आज सिङ्गो मानव समुदाय सबै सँग छोईछिटो बारी बसेका किरीयापुत्री झैं झोक्राईरहेको छ । नयाँ वर्षको आरम्भ घडीमा हामी मनलाई भारी तुल्याउँदै आफैंले अप्रियतापूर्वक ‘बन्दाबन्दी’ का ताल्चाहरु लगाएको देखेर एकजना कवि यसो भन्छन् –

आयो संकट विश्वमा दिनदिनै झुक्दैछ मान्छे किन ।
खायो विश्व सखाप पार्छकी कतै हाम्रै घुस्यो आँगन ।।

परिचय र सन्दर्भ

सन् २०१९ बिदाई हुने क्रममा थियो र सन् २०२० को आगमनमा केही घण्टा बाँकी थिए । चीनको बुहान प्रान्तमा सन् २०१९ को अन्तिम दिन अर्थात डिसेम्बर ३१ मा पहिलो पटक देखापर्यो ‘कोरोना भाइरस ’ । ग्रीक शब्द कोरोनाबाट आफ्नो नाम कोभिड–१९ पाएको यसको शाब्दिक अर्थ हुन्छ क्राउन अर्थात काँडा आकारको । यहि भाइरसको तापले विश्व आज जलिरहेछ । जसले मानव जीवनको रक्षावरण गर्ने चुनौति तेर्स्याई दिएको छ । विश्व कोरोनाको कहरसँगै पौठेजोरी खेल्दै मानवीय रहरलाई जतन गर्न लागि परेको छ ।

लेखक

यो नयाँ प्रजातीको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन । कोरोना भाइरसले मानिस र पशुमा संक्रमण गर्दछ । यो स्वासप्रश्वासको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिटाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । यस भाइरसले सामान्य रुघाखोकी देखि गम्भिर प्रकारको तीव्र श्वासप्रश्वास ‘सार्स’ सम्म गराउन सक्छ ।

महामारी डरलाग्दो हुन्छ, इतिहासले हामीलाई यहि बताएको छ । इतिहासका कैर्यौ कालखण्डमा घातक सरुवा रोग आए । औषधिमूलोको खासै जानकारी नभएका बेलापनि यस्ता संकटसँग मानवले जुध्यो । तर मानव सभ्यता समूल नाश भने भएन । मानव सहनशिलताको परीक्षा लिएर यिनले विश्राम लिए । झण्डै १० हजार वर्ष पहिलेदेखि सरुवा रोगसँग मानिसको बेला बेलामा जम्काभेट भईरहेको छ । फ्रान्समा फैलिएको सन् १७२०–२२ सम्मको प्लेग महामारी, एसिया र युरोपमा पहिलो पटक सन् १८१६–२६ मा देखिएको हैजा, विश्वभरका झण्डै १५ लाख जीवन लिला समाप्त भएको सन् १९१५–२६ को इन्सेफ्लाइटिस महामारी र त्यस्तै सन् १९१८–२० भित्र करिब पाँच करोड मानिसको ज्यान लिएको स्पेनिस ईन्फ्लुएन्जा आदि यस्तै दृष्टान्तहरु हुन् ।

प्रथम र दृतिय विश्वयुद्ध हुँदा अर्बौको सम्पत्ति र करौडौंको मानवीय क्षति पुगेपनि सबै देश यसरी समान रुपमा विक्षिप्त भएका थिएनन् । युद्धमा सीमित देश सहभागी बने, सीमित मान्छे लडे तर अहिलेको जस्तो कहर विश्वमा सायदै भएन । पछिल्लो समयमा मानिसले सामूहिक रुपमा भोगिरहेका इबोला, सार्स, स्वाइन फ्लु, बर्ड फ्लु ईन्सेफ्लाईटिस, डेंगू, एड्स जस्ता महामारीको पार्दुभाव वास्तवमा मानिसका आफ्नै जीवनशैली र व्यवहारले कमजोर बनाउँदै लगेको रोग प्रतिरोधात्मक क्षमता अनि प्रकृति विरुद्ध अविवेकी आचरणका प्रतिफल हुन् । हालको कोरोना भाइरसको आतंक पनि त्यस्तै श्रृखंलाको नयाँ स्वरुप हो ।

कोरोनाको विश्वव्यापी अवस्था
चीनको बुहानबाट आगोको झिल्को झैं सल्किएको यो महामारी हाल औंलामा गन्न सक्ने राष्ट्रबाहेक सबैमा झोसिएको छ । विश्वका २१३ भन्दा बढि देश एवं भूभाग प्रभावित भएका छन् । तथापि थर्मोमिटरमा हेर्नै हो भने अमेरिका, इटाली, स्पेन, फ्रान्स, बेलायत लगायतका देशमा चिन्ताको तापक्रम शीर्ष अकंमा पुगेको देखिन्छ ।

यतिखेर कोरोना भाइरस विश्वव्यापी भएको छ । यो लेख तयार पार्दासम्म यसबाट संक्रमित हुने संख्या २० लाख ७५ हजार पुगिसकेको छ । मृत्यु हुनेको संख्या १ लाख ४० हजार नाघिसकेको छ र यो निरन्तर बढिरहेको छ । गम्भिर अवस्थाका बिरामी उपचारमा रहेका संक्रमित संख्याको करिब चार प्रतिशत छन् । निको भई सामान्य अवस्थामा फर्केका ५ लाख त्रिपन्न हजार नाघेका छन् । एसियाको चीनसहित इरान, टर्की, इजरायल, दक्षिण कोरिया बढि प्रभावित छन् भने दक्षिण एसियाली देशमा भारत, पाकिस्तान बढि आक्रान्त छन् र संक्रमणको वेग सुस्त हुने कुनै संकेत अहिलेसम्म देखिएको छैन । फ्रान्स र इटाली जस्तो स्वास्थ्य उपचारको दृष्टिले विश्वको पहिलो र दोस्रो उत्कृष्ट देशलाई समेत हम्मे हम्मे परिरहेको सन्दर्भ एकातिर छ भने अमेरिका, बेलायत, चीन जस्ता शक्तिशाली राज्यलाई समेत झुकाएको छ । परमाणु हतियारदेखि ग्रहमा बस्ती बसाउने समेतका आविष्कार गर्ने देशहरु यो भाइरस सामु घुँडा टेक्दै असुरक्षित महसुस गरी प्रताडित भइरहेका छन् ।

जुन तीव्र गतिमा भाइरसले मानिसलाई गाँज्दै लगिरहेको छ । जसरी हजारौंको संख्यामा जीवनलीला समाप्त भइरहेका छन् । पृथ्वी प्रलय हुने, डायनासोर विलय भए जस्तै मानव जाति पनि विलय हुने अड्कलबाजीहरु चर्किरहेका छन् । विज्ञान र प्रकृतिको लडाईको भूमरीमा मानवजाती परेको अवस्था छ । आजको समय सन्दर्भले माल्थसको ‘जनसङ्ख्या सिद्धान्त’ र डार्विनको ‘बाँच्नका लागि संघर्ष’ र ‘सक्षमनै बाँच्छन्’ भन्ने सिद्धान्तको महत्व थप चुलिएको पाईन्छ ।

कोभिड–१९ को वर्तमान महामारी कहाँ गएर सुस्ताउने हो ? यसले कुन हदसम्म मानव जीवनको क्षति गर्ने हो ? विश्व अर्थतन्त्रलाई कति नकारात्मक प्रभाव पार्ने हो ? अहिले नै यथार्थ आंकलन गर्न सकिन्न । यति हुँदाहँदै पनि भौतिक दूरी, क्वारेन्टाइन, आइसोलेसन, अस्पताल भित्रको उपचार देखि चिकित्सा जगतको सोधखोज, नयाँ प्रतिरोधात्मक खोपको विकासको प्रयास जल्दोबल्दो कोरोना महामारीको विश्वव्यापी परिदृष्य हुन् भन्न सकिन्छ ।

नेपालको अवस्था

कोरोना महामारी विश्वमै विज्ञान र चिकित्सा क्षेत्रका लागि चुनौति बनेको छ । यसको सामना थोरै संसाधन भएको हाम्रो जस्तो देशलाई कति कठिन होला, सहजै अनुमान लगाउन सकिन्छ तर संकट नेपालीको पर्यायवाची जस्तै हो । संकट टार्ने नेपालीको सहनशिलता उच्चकोटीको छ ।

नआओस् भन्दाभन्दै कोरोना घर आँगनमै आइपुग्यो । विश्व बन्दाबन्दी हुँदाको समाचारले अत्तालिएका हामी आज आफैं बन्दाबन्दीमा भएका छौं । नेपाल अहिलेसम्म कोभिड–१९ बाट सिर्जित मानवीय क्षतिबाट जोगिन सकिरहेको छ । संक्रमित संख्या पनि उल्लेख्य छैन । हालसम्म संक्रमित संख्या ३० (यो लेख तयार पार्दा सम्म ) पुगेको छ । सबैको अवस्था सामान्य छ । केही आइसोलेसनमा छन् भने हजारौं क्वारेन्टाइनमा बसिरहेका छन् । १ जना निको भएर घर फर्केका छन् । पिसीआर र आरडिटिबाट हजारौंमा परिक्षण गरिएको छ । उता हाम्रो छिमेकी देश भारतमा संक्रमितको संख्या दिन प्रतिदिन बृद्धि भईरहेको छ । यो हाम्रो लागि खतराको सूचक हो । सीमित स्रोतसाधन र खुल्ला सिमानाका कारण हामी सुरक्षित छौं भन्न सकिरहेका छैनौं । जतिखेर पनि अवस्था भयावह हुन सक्छ ।

कोरोना महामारी विश्वमै विज्ञान र चिकित्सा क्षेत्रका लागि चुनौति बनेको छ । यसको सामना थोरै संसाधन भएको हाम्रो जस्तो देशलाई कति कठिन होला, सहजै अनुमान लगाउन सकिन्छ तर संकट नेपालीको पर्यायवाची जस्तै हो । संकट टार्ने नेपालीको सहनशिलता उच्चकोटीको छ । अभाव प्रभाव र दबाबसँग सधैं लडेका नेपालीको प्रतिरोधी क्षमता त्यसैपनि बलियो छ ।

विश्व अर्थतन्त्रमा प्रभाव

विश्व बजार ठप्प छ । गतिशिल बनेको विश्वको अर्थतन्त्र एकाएक लगाम लागेको छ । विश्वको अर्थतन्त्र नयाँ परिभाषको पर्खाइमा रुमल्लिएको प्रतीत हुन्छ । कोरोनाले व्यापार अर्थतन्त्र यस्तो बनाईदियो कि शक्तिशाली देशको ‘ट्रेडवार’ पनि सुस्तायो । चीनको वुहानबाट फैलिएको कोभिड–१९ ले अनुमान विपरित ठूलो मानवीय क्षतिसँगै विश्व अर्थतन्त्रलाई पनि ओरालो ग्राफमा झारिरहेको छ । थिंक ट्याकं ओइसिडीको प्रक्षेपण अनुसार सन् २०२० मा विश्वको आर्थिक वृद्धिदर जम्मा २.४ प्रतिशत मात्र रहनेछ । यो त्रास गम्भिर र लामो समयसम्म रहिरहने हो भने केवल १.५ प्रतिशत सीमित रहने अनुमान छ ।

संसारभरीका ठूला सेयर बजारमा गिरावट आएको छ । औद्योगिक उत्पादनको फ्क्याट्रि भनि चिनिएको चीनको अर्थतन्त्र शिथिल हुँदा ‘ग्लोबल भ्यालु’ चेन नै विचलनमा परेको विश्लेषण छ । त्यो भन्दा पनि आज विश्व अर्थतन्त्रमा ठूलो देश अमेरिका लगायत व्यापारिक इन्जिनका रुपमा चिनिने युरोपका देश भाइरसको चरम संकटमा छन् । आज यी देशले आफ्नो आर्थिक वृद्धिदर कायम राख्न नसक्दा आफू मात्र होइन पुरै विश्वनै खलबलिन्छ । सारा मुलुकको आन्तरिक अर्थतन्त्र र दुई देशीय साथै बहुराष्ट्रिय अर्थतन्त्रलाई नराम्रो झट्का लाग्ने देखिन्छ तर यी देशहरु अहिले आफ्नो साख जोगाउन संघर्षरत छन् ।

दक्षिण एसियाली मुलुकमा ४० वर्ष यताकै सबैभन्दा कमजोर आर्थिक स्थिति उत्पन्न हुन लागेको छ । विश्व बैकले यस वर्षको यस क्षेत्रको आर्थिक विकासको पूर्वानुमान घटाएर १.८  देखि २.८ प्रतिशत बनाएको छ । बन्दाबन्दीका कारण पश्चिमा मुलुकबाट हुने सामानको मागमा कमि आएको छ भने ठूलो संख्याका कामदारहरु बेरोजगार भएका छन् । पर्यटन क्षेत्रमा सुख्खा लागेको छ । यस क्षेत्रका कम्तिमा आधा देशहरु ‘गहिरो आर्थिक मन्दि’मा फस्ने देखिएको छ । समग्र दक्षिण एसियामा नकारात्मक असरको आँधी नै अनुभव गर्न थालिएको छ ।

नेपालको अर्थतन्त्रमा प्रभाव

वि.सं. २०७२ सालको विनाशकारी महाभूकम्प र भारतले गरेको नाकाबन्दी थेगेर बल्लतल्ल उकालो लाग्दै गरेको नेपालको अर्थतन्त्रलाई कोरोना महामारीले नराम्रो धक्का दिएको छ । विप्रेषणमा आइरहेको तीव्र गिरावट, दैनिक ज्यालादारीमा निर्भर मजदूरहरुको बेरोजगारी, आयात र निर्यात दुवैमा आएको कमी, कृषि, पर्यटन र औद्योगिक क्षेत्रको घट्दो उत्पादन आदिका कारण अहिले देशको अर्थतन्त्र ठप्प छ । वैदेशिक रोजगारीका नयाँ अवसर सिर्जना हुन पनि निकै लामो समय लाग्ने देखिन्छ । कुल गार्हस्थ उत्पादनमा २५.६ प्रतिशत योगदान दिँदै आएको विप्रेषणमा भएको कमीले कालान्तरमा समग्र आर्थिक बृद्धिदरलाई असर पार्ने निश्चित नै छ । बेरोजगारी दर ११.४ प्रतिशतबाट बढेर निकै माथि पुग्ने विज्ञहरुको अनुमान छ ।
महामारीले सिर्जना गरेको महामन्दिलाई दृष्टिगत गर्दै विश्व बैंकले यस वर्ष नेपालको आर्थिक बृद्धिदर १.५ प्रतिशत देखि २.८ प्रतिशतको बीचमा रहने अनुमान गरेको छ । ६ महिना अघि नेपाली अर्थतन्त्र ६.५ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको थियो । साथै सेवा क्षेत्रमा परेको मारले समग्र मागमा धक्का (डिमाण्ड शक ) सँगै वित्तीय क्षेत्रमाथि सबैभन्दा ठूलो दबाब उत्पन्न हुने आकँलन गरको छ । महामारी लम्बिदै गए सेवा र औधोगिक क्षेत्रमा थप संकुचन आउन सक्ने औल्याइएको छ ।

यो भाइरसको त्रासदीको असर विदेशी कम्पनीले निर्माण गरिरहेका राष्ट्रिय गौरवका योजना लगायत कयौं परियोजनाहरुमा समेत पर्न गई निर्माण कार्यमा ढिलाइ हुन थालिसकेको छ । निर्माणका चरण रोकिएका कारणले विनियोजन बजेट पनि खर्च गर्न नसकिएको अवस्था छ । अस्पताल, मेडिकल र खाद्य सामाग्री बाहेकका सबै संस्थाहरु प्रायः बन्द छन् । पर्यटकीय सिजनमै धक्का लागेको छ । बीस लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई नेपाल भ्रमण बर्षका रुपमा मनाउने र देशको आर्थिक अवस्थालाई पर्यटनको माध्यमबाट विकास गर्ने नेपालको सपना चकनाचुर भएको छ । विश्वभर नै कोरोनाको कहर र आर्थिक क्षति भएको कारणले दाता राष्ट्र र साझेदारहरुबाट आएको सहयोगमा समेत कमी हुने देखिन्छ ।
कोरोनाको सन्त्रास लामो समय नदेखिए तत्काल रिभाइभ हुने र त्यसको ठूलो असर नदेखिने संभावना पनि उत्तिकै छ । आर्थिक मन्दीको खाडलबाट उम्कन सरकारले ल्याउने नीति र कार्यक्रमले पनि दिशाबोध गर्दछ । त्यो प्रतिक्षाको विषय हो । तर वर्तमान अवस्था नियाल्दा महामारी सहजै मत्थर हुने अवस्था छैन । यसो हुँदा नेपाली अर्थतन्त्रमा बहुआयमिक असर पुग्ने नै देखिन्छ ।

अर्थतन्त्रलाई चलायमान राख्ने मुख्य स्रोत भनेको मानिसहरु हुन । तर आज तिनै मानिसहरु स्व कारागारमा बस्न बाध्य छन् अर्थात भन्न सकिन्छ हाम्राे अर्थतन्त्र अहिले चक्रव्युहमा प्रवेश गरिसकेको छ र यसको निकास महाभारतको अभिमन्यू जस्तो मृत हुन्छ वा जीवितै हुन्छ त्यो भविष्यको गर्भमै छ ।

मानव सभ्यता र संस्कृतिमा प्रभाव

जीवन संस्कारमा प्राचिन पूर्वीय दर्शनको विराट् महत्व अब आएर विश्वभर उजागर भयो । अल्पज्ञानी आधुनिक समाजले रुढीवाद महसुस गर्ने गाला अथवा हात मिलाउनु सट्टा नमस्ते गर्नु, निश्चित दूरीमा आवास बनाएर बस्नु, बाहिर गएर आएपछि अर्को लुगा लगाउनु, खान बस्दा लुगा फेरेर बस्नु भन्ने जस्ता व्यवहारको उज्यालोपना अब चित्रित भयो । निर्मल कञ्चन नदिमा थुक्ने, खकार तथा पिसाब मिसिएका स्विमिङ पुलमा नुहाउने, शौचालयमा गएपछि कागजले पुछ्ने,  तुलसीको मठमा बत्ती बाल्ने सट्टा प्लाष्टिकको रुखमा बिजुलीको बल्ब झुन्डाउने,  घरभित्र चर्पी बनाउने कुरा वैज्ञानिक दरिद्रताका स्वरुप रहेछन् भन्ने प्रमाणित गरिदियो ।

रुघाखोकी, हैजा र महामारी भनेका एसियाली र अफ्रिकीहरुका पेवा हुन् भन्ने आडम्बरपूर्ण पश्चिमा दम्भलाई कोरोना महामारीले पूर्वाग्रही ज्ञान उत्पादन मार्फत हिंसा प्रवर्द्धन गर्नेहरुलाई कठोर प्रत्युत्तर समेत दिएको छ । आधुनिक मानव सभ्यतालाई अलिकति शाकाहारी जीवन र स्वच्छ विचारमा बाँच्न, ग्रामीण समाजमा रम्न र पारिवारिक एकत्वमा जम्न सिकाउँदैछ । यो बाध्यता भित्रको सुन्दर पक्ष पनि हो ।

वातावरण र जीवजन्तुमा प्रभाव

बन्दाबन्दीका कारण हरितग्याँस उत्सर्जनगर्ने उद्योग कलकारखाना प्रायः बन्द छन् भने सवारी साधन समेत गुडेका छैनन् । यसबाट प्रदुषणमा ह्रास आईसहरी क्षेत्रमा धैरैपछि आकाश सफा देखिएको छ । वातावरण स्वच्छ र सुन्दर हुन पाएको छ । सहरबासीको फोक्सोलाई केहि राहत मिलेको छ । कृषि सबैभन्दा प्रधान आधार एवं आवश्यकता हो भन्ने सत्य एकपटक पुन प्रमाणित हुँदैछ । चराचुरुङ्गी र जगंली जनावर विस्तारै शहरी क्षेत्रमा विचरण गर्न थालेका छन् । जीवजन्तु र मानिस बीच द्वन्द्व केही हदसम्म कमी भएको छ ।

वैदिक दर्शनमा व्याख्या गरिएका अहिसां तथा आरोग्यताले मान्यता पाएका छन् । स्वास्थ्य बहुमूल्य धन हो । प्रकृति माथि प्रभाव र विजय सम्भव छैन । प्रकृति, जीवदेखि लिएर खोलानाला, वनस्पति र जनावर सम्मलाई पूजा गर्ने पूर्वीय सनातन चिन्तन तथा व्यवहारको वैज्ञानिक आधार अहिले संसार सामू स्थापित हुँदैछ ।

भाइरससँग लड्न शरिरमा प्रतिरोधी क्षमता बलियो हुन आवश्यक छ । यसका लागि आफू वरपरको वातावरण र खानपान पनि स्वस्थ हुनुपर्छ । भाइरसका लागि एन्टीबडि उत्पादन नहुँदासम्मका लागि आफू वरपरको वातावरण सफा हुनुपर्छ भन्ने सन्देशको महत्व झन् विचारणीय बन्दैछ । यो आधुनिक मानव सभ्यताको व्यवहारिक दर्शनका रुपमा विकसित हुने प्रष्ट छ ।

कोरोना महामारीले विश्वलाई दिएको सन्देश

अहिले आएर विश्वले बुझ्दैछ कि प्राकृतिक प्रकोप र महामारीको बलात् अतिक्रमका अगाडी मानव निर्मित सीमाना र सुरक्षा घेरा निरर्थक हुन भनेर साबित भईरहेको छ । सैन्यबल, आर्थिक सम्पन्नता, वैज्ञानिक प्रगतिका राष्ट्रिय दम्भमा अलमलिएर सहकार्य, पारस्परिक सहयोगका मामिलामा अनुदार बन्न खोज्नुको परिणाम कति दुखदः हुँदो रहेछ अहिले भुक्तभोगी भइरहेका छन् ।

अहिले आएर विश्वले बुझ्दैछ कि प्राकृतिक प्रकोप र महामारीको बलात् अतिक्रमका अगाडी मानव निर्मित सीमाना र सुरक्षा घेरा निरर्थक हुन भनेर साबित भईरहेको छ । सैन्यबल, आर्थिक सम्पन्नता, वैज्ञानिक प्रगतिका राष्ट्रिय दम्भमा अलमलिएर सहकार्य, पारस्परिक सहयोगका मामिलामा अनुदार बन्न खोज्नुको परिणाम कति दुखदः हुँदो रहेछ अहिले भुक्तभोगी भइरहेका छन् ।

आधुनिक विज्ञानबाट निर्माण भएका जैविक र भौतिक हतियारले न भाइरस मार्न सके न सिध्याउन । युद्ध नभएपनि युद्ध हारेको भान सबैमा हुँदैछ । मानव अस्तित्व सक्ने आणविक हतियार बनाउने मस्तिष्क यस्ता भाइरस बिरुद्ध प्रयोग नगरेकोमा वैज्ञानिकहरु पनि चुकचुकाइरहेको हुनुपर्छ । सायद एक्काइसौं शताब्दीको यहि बिन्दुबाट विज्ञानको धार पनि परिवर्तन हुनेछ र विनाशका निम्ति सिर्जना होईन विकासका निम्ति सिर्जना हुनेछ ।
विश्व अर्थतन्त्रमा, राजनीतिमा परिमार्जनको चेत खोलिदिनेछ । नवउदारवादको पीडाबाट मुक्ति दिँदै समाजवादका लागि अघि बढ्ने हेक्का दिलाउनेछ । व्यक्तिवादले गाँजेको समाज सामूहिकताका साथै सहकारिता,सहअस्तित्व र समन्वयको नयाँ संस्कारको थालनी गर्नेछ । यतिमात्र होईन सुतुरमुर्गले जस्तै टाउको जमिनमुनि लुकाएर आफू सुरक्षित छौं भन्ने मुर्खता पूर्ण व्यवहारमा कति महँगो हुँदो रहेछ भन्ने कुरा अहिलेको कोरोना भाइरस विभीषिकाले पुष्टि गरिरहेको छ ।

कोरोना भाइरसले आज विश्व मानव समाजलाई मानवता रुपी साझा सोचको झण्डामुनी रहने सन्देश दिइरहेको छ । प्राकृतिक जीवन र पृथ्वीरुपी घरमा वन्धुत्वलाई वोध पनि गराइरहेको छ । विश्वव्यापीकरण माथी नै थुप्रै प्रश्न सिर्जना गरिदिएको छ । ‘बाँच अनि बचाऊ’को सचेतताका स्वरमा एकत्रित गर्दैछ, अनि डराएर होइन सचेत भएर जुध्न सिकाइरहेको छ ।

कोरोना महामारीबाट बच्ने उपाय

‘हुलमुलमा जीउ जोगाउनु ,अनिकालमा बीउ जोगाउनु’ हाम्रा पुर्खाले यस्तै सम्भावित संकटलाई ध्यानमा राखेर आव्हान चलाएका हुन सक्छन् । यस सम्बन्धमा चाणक्य नीतिको एक अंश उदाहरणीय छ ।

अनागत विधाता च प्रत्युत्पन्नमतिस्तया ।
द्धवितौ सुखमेवैते यद्धविष्यो विनश्यति ।।

अर्थात जो मान्छे भविष्यमा हुने विपत्ती प्रति जागरुक हुन्छ र जसको वुद्धि तेज हुन्छ, यस्ता व्यक्ति नै सुखि रहन्छन् । यस विपरित भाग्य माथि विश्वास गर्ने व्यक्ति चाँही नष्ट हुन पुग्छन् । अतः कुनै विपत्तिसित बहादुरी साथ सङ्घर्ष गर्नु नै मानव सभ्यताको परिचायक हो ।

हामी बन्दाबन्दीमा छौ । यो समय जथाभावी हिँड्दा आफू संक्रमित हुने कुरा मात्र होइन, अरुलाई समेत संक्रमित बनाईने डर रहन्छ । यस अर्थमा आज विश्व नै बन्दाबन्दीमा छ । आफ्नो अस्तित्वका लागि समाजका हरेक व्यक्तिमा यो सामूहिक बोध हुनैपर्छ । त्यसैले अहिलेको घडी भनेको आत्म अनुशासनको हो ।

जनतामा फैलिएको मनोवैज्ञानिक त्रास अन्त्य गर्न जनचेतनाको अभियान चलाऔं । संचारमाध्यम र संजालहरु एकसाथ प्रयोग गरौं । बालबालिकाहरुले ‘फ्रि फायर’ खेल्दा ‘इनमी’ सिद्याएझैं कोरोनाको मनोवैज्ञानिक आतकंको समाधान खोजौं । चुनावमा भोट माग्न खटिएझैं जनचेतना फैलाउन होडबाजी गरौं । हाम्रो चिकित्सा प्रणालीको क्षमता बृद्धि गरौं । चिकित्सकहरुमा विश्वास गरौं र उत्साह थपौं ।

घरबाट बाहिर निस्कन सहज नभएपनि संचारका माध्यमबाट धेरै काम गर्न सकिन्छ । अहिलेको समयमा सुन्दा सजिलो लाग्ने तर बानी नपरेकाले गर्न कठीन भइरहेको हात धुने, सामाजिक दुरी कायम गर्ने, ज्वरो खोकी लागेको अवस्थामा आइसोलेसनमा बस्ने र शंकितहरुलाई जाँच गराउन उत्प्रेरित गर्ने काम इमान्दारीपुर्वक गरौं । सरकार तथा स्वास्थ्य विज्ञहरुले औंल्याएका सामान्य नियम पालना गरौं । अहिलेसम्म संक्रमण फैलिएका मुलुकबाट जति नेपाल भित्रिएका छन्, उनीहरुको खोजी गरी स्वास्थ्य निगरानीमा राखौं । नजानेकोलाई सिकाऔं, जानेकोले सुनाऔं । हामीलाई यसैले बचाउँछ ।

भावी चुनौति र हाम्रो भविष्य

मानव जातिले भोगीरहेको पीडाले कोरोना भाइरस नियन्त्रणमा आइसक्दा यसले विश्वव्यवस्थामा परिवर्तन ल्याउनेछ । यसो हुँदा आर्थिक मन्दी पहिलो र तत्काल आईपर्ने समस्या हो । आर्थिकमन्दीका कारणले कैयौं वित्तीय संस्थाहरु टाट पल्टनेछन् । बेरोजगारीको समस्या विकराल बन्नेछ जसले विभिन्न खाले अपराधको बढोत्तरी सँगै अर्कैखाले अराजकताको सिर्जना गर्नेछ । अकल्पनीय महामारीका कारणले मानिसमा मानसिक रोगको समस्या धान्न मुस्कील हुने गरी देखापर्नेछ । अभावले मानिसका बीचमा घृणा, द्धेष र वैमनस्य पैदा गर्नेछ ।

अब खुल्ला सीमाना नयाँ चुनौति हुनेछन् । सीमाना बन्दको माग बढ्नेछ । रेमिट्यान्स अर्थतन्त्र करिब करिब समाप्त हुने देखिँदैछ । पर्यटन व्यवसाय र सो सम्बद्ध उद्योगहरु केही समय धरासयी हुनेछन् । युद्ध र सेनामा लगानी हैन जनस्वास्थ्यमा लगानी बढाउनुपर्ने महसुस राज्यले गर्नेछन् । कमजोर मानिस, समाज र मुलुक झन् कमजोर हुँदै जाने र बलियाहरु झन् बलवान हुँदै जादाँ धनी र गरिब, निर्धा र बलिया, सक्षम र असक्षमहरुको खाडल अकल्पनीय ढंगले बढ्नेछ ।

कृत्रिम बौद्धिकताको विकास गर्दै सम्पन्न बन्ने होडबाजी चलिरहेको विश्वको ध्यानलाई यो संक्रमणले बिषयान्तर गरिदिएको छ । विश्वभरका समस्त मानव जाति नै यस महामारीबाट काँपेका छन् र आफ्नो जीवनचर्यालाई कोठाभित्र सीमित गरेका छन्, त्यो पनि महिनौसम्म । सायद यही हो मृत्युको डर र मानिसको जीजीविषा । यद्यपी सम्पूर्ण मानव क्षमता मस्तिष्क र सामर्थ्य यस प्रलयकारी भाइरससँगको लडाईंमा छ । जीत पक्कै मानवकै हुन्छ तर यसले बनाएको घाउ निको हुन भने समय लाग्नेछ ।

युभाल नोहा हरारीले आफ्नो चर्चित पुस्तक ‘सेपियन्स’ मा चित्रण गरेजस्तै मानव र विषाणु बीचको संघर्ष नै मानव जातिको विकास र विस्तार प्रकृया हो । कोभिड–१९ बाट पनि मानिसले आफूलाई अझ अगाडी बढाउने निश्चित छ । त्यसैले कोरोना भाइरस सँग धेरै डराउनु पर्दैन । यो मानवजातिका लागि एउटा परीक्षा मात्र हो । अहिलेसम्म जुनसुकै समस्या आइपरेपनि मानव जातिले समाधानको उपाय निकालेको छ । कठिनाईले नै मानव समाजको निरन्तरतालाई सकारात्मक दिशानिर्देश गर्नेछ ।

उपसंहार

कोरोना महामारीसँगको संघर्ष आफैमा साध्य होइन । वर्तमानमा सिर्जित सम्पूर्ण समस्या हल गर्ने अन्ध प्रयास पनि होइन । यो त बढि प्रभावकारी मानव सभ्यता सिर्जना गरी निरन्तरता दिने वृहत उद्देश्यको एक प्रयत्न हो । मानव विनाको विश्व हुँदैन । मानवीय मूल्य,मान्यता र विश्वासमा नै विश्व अटेको छ । अहिलेको संकट मानवताको हो । हामी आपसी अविश्वास र अनेकतामा जेलिने हो भने निश्चत छ, यो युद्धमा भाइरसको जित हुनेछ । जब मानिस लरखराउँछ, भाइरस बौरिन्छ । सिंगो मानव जाति माथिको यो संकट विरुद्ध मोर्चाको तयारीमा पनि मानव समुदायको सामूहिक प्रयासको आवश्यकता छ तर विडम्बना यो महामारीलाई तह लगाउने सन्दर्भमा हामी चुरो कुरोमा पुगेर समाधान गर्न खोजिरहेका छैनौं । रुख र बोट विरुवा होइन झरेका पात गन्नमा समय खेर फालिरहेका छौं ।

प्रकृतिको लीलाले सबैलाई समान रुपमा व्यवहार गर्दछ । परिहाल्यो भने एक बच्ने र अर्को मर्ने हुन सक्दैन । त्यसैले विश्वलाई यस विषम् परिस्थितिबाट मुक्त गर्न हातेमालो बाहेक अर्को अचुक अस्त्र भेटिएन ।

 

तुलीबजार –८ स्याङ्जा

सन्दर्भसामाग्रीः
डब्लु.एच.ओ. र नेपालसरकार स्वास्थ्यमन्त्रालयको वेवसाइट
विभिन्न पत्रपत्रिकामा प्रकाशित लेखरचना
जीवनहरी शर्माको कविता ‘विज्ञानको दुर्दिन’