पाचौँ  युग

  २०७७ जेठ २६ गते १५:३९     मन्दिरा मधुश्री

पटक-पटक कलियुग अट्टहास गर्दै थियो, “अब पृथ्वीमा एकछ्त्र मेरो मात्रै राज रह्यो हा ..हा..हा ..हा ..।”

वसन्त ऋतुको आगमन भएको थियो । न त उष्ण ताप, न त कठ्याङग्रिने चिसो नै ।  उन्मुक्त भै  फक्रिएका  फूलहरुको सौन्दर्य र सुगन्धले मनमोहक बनाएको थियो वातावरण । प्रकृतिमा पनि कौमार्य सौन्दर्य पल्लवित भएर छताछुल्ल हुँदैथियो । चराचुरुङ्गी, कीट-पतङ्ग र प्राणीहरुमा त्यसको प्रत्यक्ष प्रभाव थियो । आल्हादित भएर सम्पूर्ण उर्जा प्रणयमा उत्सर्ग  हुँदै थियो सबैबाट। साँच्चिकै अलौकिक आनन्ददायी थियो वसन्त ऋतु ।

तपोभूमि कैलासको पवित्र र शान्त मनोरम वातावरणमा  ध्यानमा बसिरहेका महेश्वरको ध्यान अनायास पृथ्वीतिर गयो ।

सत्य , द्वापर, त्रेता युगले आफ्नो छुट्टै प्रभाव पारेर गैसकेका थिए पृथ्वीबाट  । अब कलि युगको पालो आएको थियो । हुनपनि कलि व्याप्त थियो पृथ्वीमा । कलियुगको पनि अब अन्तिम  चरण भएको थियो । समाप्तितर्फ उन्मुख ।

“अहो !  पृथ्वीमा त मानिसले मात्रै  पो एकछ्त्र अधिपत्य जमाएको रैछ त । जुनसुकै कुरामा पनि मान्छेकै उपस्थिति ?
ल हेर ! भीमकाय जन्तुहरु पनि उसकै अधिनमा छन्  । विषैला जन्तु पनि उसैले नचाइरहेको छ । निहत्था छ मान्छे भनेको त एक सेकेन्डमा पृथ्वी नै ध्वस्त पार्ने हातहतियार पनि पो बनाएको रैछ त  उसले त । समुन्द्रलाई पनि मुठिमा बाँधेर राखेको छ । टाकुराहरू मरुभूमिजस्तो  मैदान बनाएको छ ।”

जताततै मानिसका अचाक्ली देखेर तीन छ्क्कै परे महेश्वर । सत्य यो पनि बुझे कि यी मान्छे अहिले पृथ्वीको सबैभन्दा कुरुप प्राणी बनेको रहेछ र यसको कारक रहेछ कलीयुग  ।

लेखक

धेरैबेर पृथ्वीको त्यो बिभत्स रूप हेर्न सकेनन् महेश्वरले । उनलाई  अत्यन्तै  चिन्ता लाग्यो । अब के गर्ने छट्पटी  भयो । मान्छेलाई चेतनाको पुनर्स्थापना र कलियुगको सम्हार कसरी गर्ने होला ? हुटहुटी चल्न थाल्यो ।

नेपथ्यमा कलीयुगको अट्टहास धुमिल रूपमा गुन्जिरहन्थ्यो बेलाबेला  हा …हा …….हा……….हा …………।

ध्यानबाटै सृष्टिकर्ता ब्रम्हा र पालनकर्ता नारायणलाई पनि “आकस्मिक  भेलाको आयोजना गर्नुपर्ने भयो” भनेर कैलाशमा आमन्त्रण गरे ।

“नारद ! वायु वेगले तिमी उपस्थिति होउ त कैलासमा।”  आदेश दिए महेश्वरले ।

“सामान्य कुरा हुँदा त ध्यानबाटै छलफल हुन्थ्यो र निश्कर्ष निस्कन्थ्यो । तर आज कुरा गम्भीर नै छ  जस्तो छ प्रभु !” नारायणले पनि ध्यानबाटै  ब्रम्हाजीलाई मस्तिष्क  सन्देश पठाए  ।

“मलाई पनि कुरो गम्भीर नै भएजस्तै लागेको छ प्रभु । बरु निस्कौँ अब।”  ब्रम्हाजी पनि उठे ध्यानबाट ।

नारदले महेश्वरको आदेशमा यमराज र चित्रगुप्तलाई पनि बोलाए । पार्वती सहित सात सदस्यीय आकस्मिक बैठक बस्यो कैलाशमा ।

“तपाईंहरू सबैको मनमा कौतुहल होला, किन आकस्मिक  बैठक बस्नुपर्‍यो भनेर । कुरो अलिक गम्भीर नै भएर हो ।”  महेश्वरले सभाध्यक्षको भूमिकामा सभा शुरु गरे ।

सबैमा साँच्चिकै उत्सुकता थियो  । कुरा बुझिएन। सबैले एक अर्काको मुखामुख गरे।

लामो श्वास फेर्दै महेश्वरले भने, “अब पृथ्वीमा कलि युगको अन्त्य र अर्को नयाँ युगको प्रादुर्भाव हुनुपर्ने अवस्था आएको छ । अब कसरी कलियुगलाई समाप्त गर्ने र नयाँ युगको प्रवेश गराउने मुख्य चुनौती यही हो । नयाँ युग कुन युग शुरूवात गर्ने  ? त्यो पनि अन्यौल छ।”

अब ‘लाठी पनि नभाँचिने सर्प पनि मर्ने’ उपाय लगाउनुपर्ने भएको छ  । थाहै नपाई कलियुगको अन्त्य र अर्को युगको शुरूवात कसरी गर्ने ? यही विषयमा छलफल गर्न आकस्मिक आमन्त्रण गर्नुपरेको हो यहाँहरूलाई ।

“म पनि मान्छेको गतिविधि त पच्छ्याइरहेकै थिएँ । तर निर्दयी र  क्रुर बन्दै गएको मान्छेलाई आत्मबोध गराउने उपाय  केही निस्कन्छ कि सोच्दैथिएँ केही दिन अघिदेखि ।” नारायणले पनि आफ्नो मनको  कुरो सुनाए ।

“सँधै नारदले सामान्य जानकारी त दिइरहन्थे । तर त्यति वास्तै गरेको थिइनँ । एक्कासि  आज बिहान् ध्यानमा हेरेको त पृथ्वीमा कलियुग मान्छेको माध्यमबाट ब्याप्त पो हुन लागेछ अब त ।”

जलचर, थलचर, उभयचर, कीट, पतङ्ग सम्पूर्ण प्राणीहरूको साझा वासस्थान पृथ्वी । तर पृथ्वीमा त मान्छे भनाउँदो जन्तुले  कोहराम नै पो मच्चाएको रैछ त । सबै कुरामा एकछ्त्र आधिपत्य ।” पुनः महेश्वरले आफ्नो तितो अवलोकन सभामा  राखे।

“प्रभु  ………! मैले  सृष्टि गर्दा सबै प्राणीमा एउटा एउटा शक्ति  राखिदिएको थिएँ शस्त्रको रूपमा । आफ्नो आफ्नो जातिगत विशेषतालाई ध्यानमा राखेर । कसैलाई तीखा नङ्ग्रा दिएँ । कसैलाई दाँत । कसैलाई प्वाँख । कसैलाई विष  त, कसैलाई बल । कसैलाई सौन्दर्य र कसैलाई गन्ध । तर मान्छेलाई त त्यस्तो जन्मजात विशेष अस्त्र केही दिएको थिइनँ । सबैभन्दा सोझो, ज्ञानी, दयालु जन्तु मान्छे बनाएको थिएँ । कसरी सबैमा आधिपत्य जमाउन सक्यो होला त उसले ?  कसरी ती अरु प्राणीभन्दा शक्तिशाली हुनसक्यो त मान्छे  ? ”  ब्रम्हा विश्मित भावमा बोले ।

“अँ ! अलिकता धेरै बुद्धि भने मान्छे नामको जन्तुलाई हालिदिएको थिएँ।” ब्रहाजीले अब कुरोको चुरो खुस्काए ।

” हो ..प्रभु ! जे गर्नु गरेको छ मान्छेले त्यही अलिकति बुद्धिले त गरेको छ नि ।” नारदले ब्रह्माको तर्कलाई पछ्याए।

नारदले पृथ्वी र पृथ्वीवासीको सूक्ष्म रूपमा अध्ययन गरेर आउँथे र गतिविधि सुनाउँथे सधैं  शिवलोक, ब्रम्हलोक र वैकुण्ठलोक तीनै लोकमा  ।

“कलियुग मानिसको माध्यमबाट व्याप्त हुन लागेको छ भने अब मानिसकै माध्यमबाट कलिको पनि अन्त्य गर्नुपर्नेछ र नयाँ युगको शुरूवात पनि।” यमराजले आफ्नो राय दिए ।

“अब कुन नयाँ युगको शुरूवात गर्ने त?  कि सत्य युग नै पो दोहोर्‍याउने हो कि ?” पार्वतीले जिज्ञासा राखिन् ।

“सकेसम्म नयाँ युगको शुरूवात गर्न पाए राम्रो होला कि, प्रभु …? यी चारै युगमा काम गरिसकेको छु मैले । अब  फेरि पूरानै युग दोहोर्‍याएर पुरानै ढाँचाले पुरानै काम गर्ने कि नयाँ ढाँचाले ? सकस र अन्यौलमा त म हुन्छु, प्रभु । बरु नयाँ युग, नयाँ काम, नयाँ अनुभव हाँसिल गर्न पो मजा हुन्थ्यो कि, प्रभु ।” चित्रगुप्तले मध्यमार्गी तर्क प्रस्तुत गरे।

चित्रगुप्तको कुरो सहि लाग्यो सबैलाई । तर अब पाचौँ  युग कुन युग शुरूवात गर्ने त ? सबै अन्योलग्रस्त देखिन्थे, विचारबिहिन । कसैको दिमागमा त्यस्तो युगबारे केही कुरा नै जन्मेन।

“प्रभु पृथ्वीमा के कस्तो गतिविधि भैरहेको छ ? कली युगले कसरी आफ्नो वसमा पारेको छ मान्छेलाई र मान्छे भनाउँदो  जन्तुले के कस्तो क्रियाकलाप गर्दैछ ? त्यो सूक्ष्म रूपमा अनुगमन र मूल्यांकनका गरेर त्यही आधारमा तय गर्दा पो  राम्रो होला कि ? कुन युग शुरूवात गर्ने भनेर ।”  यमराजले थप राय चढाए।

“के छ त नारद पृथ्वीतिरको सत्यतथ्य विवरण ? मान्छेले के कसो गर्दैछ ? उनीहरू आफ्नै जातीय समुदायमा  के, कसरी बाँचिरहेका छन् ? उनीहरूको गतिविधि र क्रियाकलाप के कस्तो छ ? सबै खुलस्त बताउ त।” नारायणले निर्देश गरे।

” नारायण, नारायण ! खै के बताउँ प्रभु । हजुरहरू आफैँ नै सृष्टि,पालन र सम्हारकर्ता हुनुहुन्छ । हजुरहरू नै तीन त्रिलोक चौध भूवनका द्रष्टा हुनुहुन्छ । म जाबोले के अवगत गराउनु र प्रभु हजुरहरूलाई नै ज्ञात भएको कुरा । यो त ‘सूर्यनारायणको अघिल्तिर  बत्ती देखाउनु’ जस्तो हुँदैन र, प्रभू ?”

पितुर्के भावमा सत्य कुरा गरे नारदले ।

“त्यसो होइन नि नारद ! हामी सतही वा त मोटामोटी  रूपमा मात्रै हेर्छौँ  । धेरै तिरको जिम्मेवारी हुनेहुँदा  कतिपय कुरा बिर्सन्छौँ  पनि । तिमी पो घर परिवार नभएको फुक्का छौ । केहिले रोक्ने छेक्ने छैन । फुर्सद छौ । युवा छौ । जिज्ञासु छौ । त्यही भएर त तिमीलाई सुक्ष्म रूपमा अध्ययन र अनुगमन गरेर  सत्यतथ्य विवरण ल्याउने जिम्मेवारी  दिएको त।” ब्रम्हाले सम्झाए नारदलाई ।

लामो खुइ काढे नारदले एकपटक । “खै के भनौ र, प्रभु ! कलिले खर्लप्पै निलेको छ मान्छेलाई त कलिको प्रभावले नै त होला नि मान्छेमा नकारात्मकता मात्रै छ ।  सोचमा, भावमा, विचारमा, क्रियाकलापमा । सबैमा नकारात्मकता ।”

पृथ्वीमा सबै मान्छे  यन्त्रमानव जस्ता हुँदै गएका छन् । कार्य छ तर भाव र चेतना शून्य । माया, प्रेम, स्नेहको अभाव छ ।  दया, माया, करुणा खिइँदै गएको छ । अन्य प्राणीभन्दा सरल र कोमल मुटु हुने मान्छेको हृदय पाषाण हुँदै गएको छ । कठोर र समवेदनाहीन  । म र मेरोमा मात्रै सिमित हुँदैछ । शक्तिको अहंकारले उन्मत्त बन्दैछ ।

पृथ्वीमा सबै मान्छे  यन्त्रमानव जस्ता हुँदै गएका छन् । कार्य छ तर भाव र चेतना शून्य । माया, प्रेम, स्नेहको अभाव छ ।  दया, माया, करुणा खिइँदै गएको छ । अन्य प्राणीभन्दा सरल र कोमल मुटु हुने मान्छेको हृदय पाषाण हुँदै गएको छ । कठोर र समवेदनाहीन  । म र मेरोमा मात्रै सिमित हुँदैछ । शक्तिको अहंकारले उन्मत्त बन्दैछ ।

“उफ ! अरु त अरु  हत्या, हिंशा, बलात्कार जस्तो जघन्य कार्य गर्दासमेत उसको मुटु काप्न छोडेको छ प्रभु !  सत्यता इमानदारिता अनि नैतिकता हराएको छ मान्छेबाट ।”-भक्कानिएर भने नारदले ।

“अब यो मान्छेलाई तहमा लगाएन र यस्तै उदण्ड छोडिदियो भने न त कलियुगको अन्त्य नै हुन्छ न त पृथ्वी लोकमा शान्ति र अमनचैन नै ।” पार्वतीले आशङ्का बोलिन् ।

“यिनीहरु स्व नियन्त्रणमा छैनन नि त पार्वती !  कलियुगले नै यिनीहरूको मस्तिष्क नियन्त्रणमा राखेर परिचालित गरिरहेको  छ परोक्षमा । त्यसैले त उदण्ड बनेका छन् मान्छे।”  महेश्वरले आफ्ना कुरा सुनाए।

“मान्छेको उदण्डताको कारण कहिलेकाहीँ त मलाई पनि क्रुर र हिंस्रक बन्न बाध्य बनाउँछ, प्रभु ! कतिपय निरपराध र निर्दोष अतृप्त आत्मालाई  जबर्जस्ती उठाउनुपर्छ।” यमराजले थपे, “निर्मम तरिकाले सामूहिक  बलात्कार गरेर कठोरतापूर्वक घाँटी निमोठेका  हुन्छ्न्  कति । अझै अपहरण पछि  हत्या गरेर क्षतविक्षत पारेका हेरिनसक्नुको विभत्सता । अहो !  निर्दोष र निरपराध चिचीलाको आत्मा बटुलेर ल्याउनुपर्दा त  यो कस्तो चैँ कामको जिम्मेवारी लिइएछ भनेर ग्लानीबोध पनि हुन्छ । यस्तो कामबाट राजीनामा दिएर  वैरागी भएर हिमालयतिर तपस्या गरेर बस्नु जस्तो लाग्छ।”  यति बिन्ती बिसाउँदा यमराज भावुक देखिन्थे।

“मैले पनि ज्यादै अप्ठ्यारोमा काम गर्नुपर्छ कहिलेकाहीँ त प्रभु ! मान्छेले गरेका कस्ता कस्ता सुन्न पनि कहालिलाग्दो घटनाको र क्रियाकलापको लगत लेखेर राख्नुपर्छ यिनै हातले । कहिलेकाही त यस्तो झ्याउ काम छोडेर पाताल लोकतिर भासिनुजस्तै  लाग्छ प्रभु मलाई पनि  ।” चित्रगुप्तले पनि आफ्नो पीडा पोखे।

“निर्मम तरिकाले सामूहिक  बलात्कार गरेर कठोरतापूर्वक घाँटी निमोठेका  हुन्छ्न्  कति । अझै अपहरण पछि  हत्या गरेर क्षतविक्षत पारेका हेरिनसक्नुको विभत्सता । अहो !  निर्दोष र निरपराध चिचीलाको आत्मा बटुलेर ल्याउनुपर्दा त  यो कस्तो चैँ कामको जिम्मेवारी लिइएछ भनेर ग्लानीबोध पनि हुन्छ । यस्तो कामबाट राजीनामा दिएर  वैरागी भएर हिमालयतिर तपस्या गरेर बस्नु जस्तो लाग्छ।”  यति बिन्ती बिसाउँदा यमराज भावुक देखिन्थे।

“धत ! यसरी  मान्छेजस्तो पिन्चे र एकलकाँटे कुरा गर्ने हैन नि यहाँहरू जस्तोले त । सबैले आफ्नो जिम्मेवारीबाट बिमुख भएर छोडेर हिँड्ने हो भने त कसरी  चल्छ र यो सृष्टिको क्रम ? सबैले स्व-स्थानमा रहेर स्व कर्म गरेको छ र पो त सृष्टि छ । पृथ्वी र प्रकृतिको स्व-अस्तित्व छ त । बरु अब कसरी मान्छेको  परिमार्जित व्यवहार र नयाँ युगको प्रार्दुभाव गर्ने सोचौं न सबैले।”  महेश्वरले चित्रगुप्त र यमराजलाई सम्बोधन गर्दै राय मागे ।

” नारायण, नारायण ! सानो प्राणीका ठूला कुरा जस्तो होला, प्रभु ! अब मान्छेलाई ठूल्ठूला कुराले तह लगाउन सकिँदैन  ..पहिलाको जस्तो त । पहिले पनि त हामीले विभिन्न रोग र प्रक्रियाबाट तर्साउन त खोजेकै हो नि । बाढी, पहिरो, सुनामी , ज्वालामुखी, भूकम्प । खुरुखुरु पचाएन त …?  अहँ, अब केहीले तर्सन्न मान्छे ।

महामारीको रूपमा फैलाएका सुकेनास, ठेउला, दादुरा, बिफर, औलो, टीबी, एड्स, क्यान्सर, सार्स,  इबोला, वर्ड्फ्लु  सबैलाई पनि पचायो मान्छेले । मान्छे त ज्यादै ज्याद्रो प्राणी छ त प्रभु । एउटा न एउटा उपाय र विधि पत्तो लाएर जितेरै छोड्छ  सबैलाई । हैन, त्यो एक डल्लो गिदीको पनि कत्रो तागत, लौ !” नारदले विस्तृत विवरण दिए।

अब मान्छेले नदेख्ने र सूक्ष्म कुराले तह लाउनुपर्छ मान्छेलाई । मान्छेलाई उसले निर्माण गरेका कुनैपनि पद्धति, हातहतियार, विधि, शुत्र र ज्ञानले परास्त गर्न नसक्ने तत्वका माध्यमबाट पराजित गराउनु पर्छ  । दम्भी र महत्वाकांक्षी मान्छेलाई जीवनबोध गराउनुपर्छ । सबै कुराको स्वअस्तित्व बोध गराउनु नै हाम्रो प्रमुख उद्देश्य हो । यसको लागि कस्तो तत्व निर्माण गर्न सकिन्छ होला त ?”  ब्रम्हाजीले  तर्कसहित अपेक्षा राखे ।

“सबैभन्दा अत्याचार त मान्छेले अरू प्राणीलाई गरेको छ, प्रभु । अनावश्यक प्रयोग र परीक्षणको बहानामा निरपराध निमुखा प्राणीहरूलाई हतियार बनाउँछ ।  आफ्नो स्वार्थ, स्वाद र इच्छा भोग गर्छ । सबै प्राणी आफ्नो अस्तित्व विलय हुने अवस्थाले त्राहिमाम् छन् । अब तिनै प्राणीलाई अस्त्र (मोहरा) बनाएर मान्छेलाई परास्त गरि  जीव अस्तित्व वा स्वअस्तित्व बोध गराउनुपर्छ ।” नारदले पुनः आफ्नो राय बुलन्द गरे।

“अब पृथ्वीमा त्यहीँ भएका जीवाशंहरुको प्रयोग गरेर नयाँ सुक्ष्म विषाणुको उत्पत्ति गराउनु पर्छ र मानवमाझ छोडिदिनुपर्छ । त्यसो गरे कसो होला प्रभु ?”  चित्रगुप्तले मत पेश गरे ।

“उत्तम ! अति उत्तम विचार !!  एक पन्थ दो काज हुने देखिन्छ यसो गर्दा त झन्। कलियुगले आफ्नो अन्त्य भएको पनि  थाहै पाउँदैन । स्वतःस्फूर्त अर्को युगको प्रार्दुभाव भैसकेको हुन्छ । उता मान्छेको पनि भाव र चेतनाको परिमार्जन  हुनसक्छ । यसमा अरुको राय के छ?” महेश्वरले याचना गरे ।

“मलाई पनि उत्तम लाग्यो यो तरिका । यही प्रक्रिया लागू गर्दा प्रभावकारी हुन्छ  नै होला।” नारायणले पनि सहमति जनाए । अरुले पनि नारायणसँगै होमा हो मिलाए ।

“स्वअस्तित्व विलय हुने अवस्थाले त्राहिमाम् रहेका पृथ्वीमै भएका जीवात्माहरूका जीवाम्सहरूको उपयोग  गरेरै भएपनि नयाँ विषाणुको सृष्टि त मैले गर्नुपर्ने भो । तर पृथ्वीको कून भागमा सृष्टि गर्दा बढी प्रभावकारी होला त ?” ब्रम्हाले राय मागे सबैसँग ।

हुन त पृथ्वीभरि मान्छे नै मान्छेको उपस्थिति छ जहाँ सृष्टि गरे पनि हुन्छ । जहाँका मान्छेले पनि नजानेको र नगरेको कुरा केही छैन । अब  जीवनको सृष्टि नै  रोकेर  नयाँ प्रयोग र अनुसन्धानमा मात्रै समर्पित हुने गर्छन् ।

अनुसन्धान र निर्माणका यति धेरै निर्माणशालाहरू छन् कि मान्छे आफैँ नै यन्त्र जस्ता भएका छन् ।

तैपनि जहाँका मान्छेहरु अझै बढी महत्वाकांक्षी र पाषाण हृदयका देखिएका छन् , त्यहीँ नयाँ विषाणु सृष्टि गरेर छोडिदिँदा अझै  प्रभावकारी हुन्थ्यो कि त, प्रभु ।” नारदले नै उपाय बताए ।

ब्रम्हाको  चित्त नारदको कुराले बुझ्यो। सबैले सहमतिको मुन्टो हल्लाए।

भेलाको निर्णय प्रभावकारी नै देखियो । सबैमा एकप्रकारको सन्तुष्टि देखियो । सामूहिक छलफल पछि साच्चिकै राम्रो र ठोस निश्कर्ष निस्कन्छ भन्ने प्रमाण देखिएको थियो, कैलाशमा बसेको आकस्मिक  भेलामा ।

भेला विसर्जन हुनै लागेको थियो ।

“ओहो! मुख्य कुरो त भुसुक्कै भएछ त,” झल्याँस्स झस्के महेश्वर । सबैले नबुझेको भावमा  सोधे  “के रह्यो र,  प्रभु?“

“नयाँ विषाणुको नाम नि त ?”

सबैले मस्तिष्क मन्थन गरे । तर उपयुक्त  नाम कसैले  सोच्न सकेनन्  । सबैलाई चित्तबुझ्दो भएन एक अर्काले सोचेको नाम ।

धेरै जीवको सृष्टि गरेर नामाकरण गरेका ब्रम्हालाई नै जिम्मा दिए सबैले । ब्रम्हाले पृथ्वीमै भएका जीवहरुको जीवांश लिएर नयाँ विषाणुको सृष्टि गरे । रुप, गुण, मात्रृ अंश मिल्दोजुल्दो  नामाकरण गरे -“कोरोना” ।

ज्यादै  सूक्ष्म विषाणुलाई सब कोहीले देख्न सक्दैनथे त्यसैले ।  विषेश यन्त्रबाट सबैलाई कोरोनाको दर्शन गराइदिए ब्रम्हाजीले ।

“मेरो काम चैँ  के रहनेछ, प्रभु ?” नवजात सुक्ष्म विषाणु कोरोनाले  अन्यौल भएर सोध्यो ब्रम्हाजी समक्ष ।

“तिम्रो मुख्य काम भनेको पृथ्वीमा गएर मानव जातिमा आतङक मच्चाउनु हो । तर्साउनु हो । भौतिक शक्तिको होडबाजीमा मान्छेले आफ्नो नैतिकता, कर्तव्य र स्व अस्तित्वलाई बिर्सिएको छ । स्वार्थ र सामर्थ्य अनि  शक्तिको होडबाजीले यान्त्रिकण हुँदै गएको छ मान्छे। उसलाई  थर्काएर धम्क्याएर तिमीले यथार्थ रूपमा ल्याउनुपर्नेछ। जीवन र जीवात्माको सत्यता देखाइदिनुपर्नेछ । अहम या त म भनेर प्रकृतिलाई जित्न दौडेको मान्छेलाई  स्व अस्तित्व र सह अस्तित्वको बोध गराइदिनुपर्नेछ ।” बस ! यतिमात्र त हो तिम्रो काम  । तर याद रहे,  तिमीलाई सकेसम्म मान्छेले नभेटोस् नि । उसको नियन्त्रणमा  नपर्नु भरसक तिमी ।
शक्तिशाली छु  भनेर घमण्ड गरेको मान्छेसङ्ग तिम्रो युद्द हुनेछ अब । बिना शस्त्र अस्त्रको  युद्ध । अनि अर्को कुरा पनि याद राखेस, “अरु कुनै   प्राणीलाई चाहिँ तिमीले नछुनु नि मान्छे बाहेक ।”

“ल विजयी भव:।” कैलाशमा कोरोनालाई  आशीर्वाद दिए सबैले ।

अन्ततः  सूक्ष्म विषाणु कोरोनालाई पृथ्वीमा छोडियो ।

कोरोनाले पृथ्वीभर कोहराम मच्चाउन थाल्यो ।

मानवसङ्ग भएका कुनै पनि अणु , परमाणु, बम , क्षेप्यास्त्र, बन्दुक,  औषधि, हातहतियार केहीले पनि रोक्न सकेन कोरोनाको कहरलाई ।

कोरोना आतङ्क  पृथ्वीको एकठाउँबाट  शुरूवात भएता पनि विस्तारै पृथ्वीभरी नै प्रभाव फैलिँदै गयो । सबैलाई जितेर मुठ्ठी भित्र  राखेको गर्व गर्ने मान्छे तुच्छ विषाणुदेखि हार्दै गयो । सारा संसारका  मानिस भयभित देखिए ।  धेरैले सदाहत प्राप्त गरे । सबै त्राही त्राही भए । धन, सम्पत्ति, वैभव केहीको मोह भएन । ” मात्रै ज्यान जोगाउन पाए हुन्थ्यो” भन्ने एउटा मात्र उद्देश्य रह्यो मानव मात्रको ।

पृथ्वीभरी एकछत्र आधिपत्य जमाएको मान्छे एकाएक शून्यता तिर गयो ।  सबैथोक शून्य हुँदै गयो ।  मान्छेमा बाँच्ने जिजिविषा  बाहेक अन्य कुनै लोभ रहेन । विस्तारै मान्छेमा हत्या,  हिंशा , बलात्कार, चोरी, डकैतीको भावना गायब हुँदै गयो ।  सबैमा बन्धुत्व प्रेम जागृत हुदैगयो । मबाट मान्छेमा हामी भन्ने भावनाको विकास भयो ।  धनी, गरीब,जात, धर्ममा भएको  विभेद हटेर  बन्धुत्व र समानताको भाव निशृत भयो  । माया प्रेम भाइचाराको विकास भयो ।  बाँच र बचाउ, मानव मानव एक हौँ   भन्ने भावनाले  स्वतस्फूर्त मानवीय मूल्य र मान्यताको बोध  हुँदैगयो मान्छेमा । लोभ र तृष्णा मुक्त हुँदै गयो मान्छे ।

कोरोनाको त्रासले एकान्तवास बस्दा प्रकृतिमा मान्छेको  पहुँच पुगेन । फूलबारीमा फूलहरु उन्मुक्त भएर फूले । पशुपन्छि स्वतन्त्र र निर्भय भएर  विचरण गर्न थाले ।

फूलको मनमोहक सुगन्ध बोकेर प्रदूषण मुक्त स्वच्छन्द हावा बहन थाल्यो । कतै मानवनिर्मित फोहोर देखिएन । सफा र स्निग्ध  देखियो वातावरण ।

एकान्तवासमा बसेर मान्छेले सादा सात्विक भोजन मात्रै खान थाल्यो । मान्छेहरुले  मद, मदिरा मांश सेवन गर्न छोडे । प्राणी हत्या हुन छोड्यो । सम्पूर्ण प्राणीले भयमुक्त भएर  उन्मुक्त र पूरा  जीवन बाच्न पाए । जीव हत्या गर्नुहुन्न । मान्छे लगायत सबै जीव र प्राणीहरुको एउटै जीवात्मा हो भन्ने बोध हुँदै गयो मान्छेमा ।

सात्विक भोजन अनुसारको सत्व गुणको विकास भयो । सत्व गुण भएपछि मान्छेको रजोगुण वा तमोगुण हट्दै गयो । सधै तनावग्रस्त र उग्र चंचल रहने मान्छे शान्त हुदैगयो । मान्छेले शान्ति, आनन्द र करुणाको बोध गर्दै गयो। अझै गहिराईमा पुग्न  योग ध्यानमा बस्न थाल्यो ।  झगडा द्वन्द बिस्तार हट्दै गयो । द्वन्द्व नभए पछि  माया स्नेह र प्रेम अनि करुणाको भावले मान्छे ओतप्रोत भयो ।

सात्विक भोजन अनुसारको सत्व गुणको विकास भयो । सत्व गुण भएपछि मान्छेको रजोगुण वा तमोगुण हट्दै गयो । सधै तनावग्रस्त र उग्र चंचल रहने मान्छे शान्त हुदैगयो । मान्छेले शान्ति, आनन्द र करुणाको बोध गर्दै गयो। अझै गहिराईमा पुग्न  योग ध्यानमा बस्न थाल्यो ।  झगडा द्वन्द बिस्तार हट्दै गयो । द्वन्द्व नभए पछि  माया स्नेह र प्रेम अनि करुणाको भावले मान्छे ओतप्रोत भयो ।

कोमल हुदैगए मान्छे  । स्वमूल्यांकन गऱ्यो मान्छेले  । आसुरी प्रवृत्तिमा पुगिसकेको मान्छे कोरोनाको एकान्तवासमा क्रमशः बुद्धत्व प्राप्त गर्दै गयो र देवत्वमा रूपान्तरित हुँदै गयो ।

कोरोना कहर अघि सबैभन्दा कुरुप बनेको प्राणी मान्छे अहिले अत्यन्तै सुन्दर देखिएको थियो।  उसको मन मस्तिष्क विचार र क्रियाकलापले ।

कोरोनाको त्रासबाट ऊ कहिल्यै ग्रसित र त्रसित भएन ।

ओहो ! कस्तो अलौकिक परिवर्तन हुँदै गयो एकाएक पृथ्वीमा ।  आनन्दै आनन्द । शान्ति नै  शान्ति ।  प्रेम नै प्रेम । करुणै करुणा ।  यस्तो परिवर्तन देखेर कलि युगको प्रभाव पनि विस्तारै सकिँदै गयो । र अन्त्य  नै भयो ।

पृथ्वीमा यस्तो प्रेमको शक्ति फैलियो कि त्यहाँ कोरोनाको विषाणुले हमला गर्न आँट नै गर्न सकेन । सहनशीलता मौनता र प्रेममा ।
“प्रेम नै युद्द जित्ने एकमात्र सबैभन्दा ठूलो अस्त्र रहेछ” भन्ने बुझ्यो उसले पनि । अन्तत ऊ प्रेमको अगाडि  नतमस्तक भएर स्वर्ग फर्कियो र ब्रम्हाजीलाई  सम्पूर्ण यथार्थता बतायो ।

मेरो हार भयो प्रभु ! दुहाई !!

उसको उत्पती गर्नुपर्ने खास कारण थाहा नपाएको  विषाणुलाई सत्य कुरा बताउँदै  भने ब्रम्हाजीले ” तिम्रो बिजय नै भएको छ कोरोना ! खासमा मान्छे  पूर्ण रूपमा विनासको हेतु तिम्रो उत्पत्ति गरेको होइन मैले । कर्तव्य च्युत र अस्तित्व बोध नभएको मान्छेलाई बोध गरादिइनु, सहि दिशातिर मोड्नु मात्रै थियो तिम्रो सृष्टिको उद्देश्य  । र मोडिएको छ मान्छेको दिशा पनि हामीले चाहेजस्तै मार्गमा ।

स्यावास !  कोरोनालाई धाप मारे ब्रम्हाजीले ।

यता पृथ्वीमा पनि  सत्य युग, द्वापरयुग, त्रेता युग  जस्तै गरि चौथो  कलि युग पनि समाप्त भयो र पाचौं युगको। शुरूवात भयो – प्रेम युग अर्थात करुणा युग ।।। अस्तु ।

मन्दिरा कोइराला
भोजपुर. हाल काठमाडौ ।

8 comments on "पाचौँ  युग"

  • Gita niraula bhandari says:

    सुन्दर कथा सुन्दर भाव ।

  • Suman Dahal says:

    ऊत्कृष्ट युग “ करूणा युग” को परिकल्पनाकार मन्दिरा बहिनीको यो ऊत्कृष्ट कथा पढेर ममा समेत करूणा जागृत भयो। आजैदेखि करूणा युग सुरूभयो। धन्य कोरोना !

  • Ravi Pranjal says:

    समसामयिक विषयमा लेखिएको सकारात्मक सुन्दर कथा ।
    कथाको शीर्षक पनि उत्तिकै सार्थक छ ।

  • Aruna hingmang says:

    सुन्दर कथा प्रस्तुत गर्ने सैली गज्जबको बधाई छ इन्दिरा।

  • धनप्रसाद सुवेदी says:

    गज्जब कथा

  • Deepesh ghimire says:

    Wow ekdm ramro kura jannna paiyo

  • DrDeen Bandhu Sharma says:

    Nice story

  • राजेशराज गड्तौला says:

    आह्हा, समय परिस्थिति अनुकूलको कति मीठो कथा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X