आत्मनिर्भरताको बाटोमा

  २०७७ जेठ १९ गते १०:१७     सञ्जीव पौडेल

संसारमा भीमकाय ह्वेलदेखि सूक्ष्मातिसूक्ष्म जीवहरू अस्तित्वमा छन् । स्वजीवी र परजीवी अनेक जीव अस्तित्वमा छन् । कति सूक्ष्म जीव हाम्रै शरीरभित्र छन् कति बाहिर । जीवको सम्बन्ध कुनैसँग अति मित्रवत् छ भने कतिपयसँग शत्रुवत् । आफ्नो मस्तिष्कको प्रयोग गरी अन्य जीवलाई वशमा राखी आफूअनुकूल प्रयोग गर्न मानिस सक्षम छ । मानिसको विश्वविजयको यो यात्रामा समयसमयमा मानव जातिकै अस्तित्वमाथि धावा बोल्ने गरी अनेक सङ्कट आउँदै गएका छन् । प्रकृति र जीवनमा सन्तुलन कायम राख्ने जीवनशैलीलाई निरन्तरता नदिँदा विभिन्न कालखण्डमा ठूलो जनसङ्ख्या अकाल मृत्युको चपेटामा पर्दै आएको छ । प्रत्येक १०० वर्षमा मानव अस्तित्वमा ठूलो चुनौती दिँदै विभिन्न महामारी हुने गरेको ऐतिहासिक तथ्यले देखाउँछ । मानवीय आविष्कारलाई नै असफल सिद्ध गर्दै चुनौतीका रूपमा यस प्रकारका महामारी फैलिने गरेका छन् ।

संसारका अन्य प्राणीलाई आफ्नो वशमा पार्दै संसारमा शासन गरिरहेको मानिसलाई अहिले नाङ्गो आँखाले देख्न नसकिने सूक्ष्म भाइरसले हायलकायल तुल्याएको छ । यो कुनै अमुक राष्ट्र वा भौगोलिक क्षेत्रको नभई सिङ्गो मानव जाति र समग्र भूगोलकै चुनौतीका रूपमा आएको छ । यसको नियन्त्रणमा त अवश्य नै मानव जाति सफल रहला । समय कति लाग्ने भन्ने मात्रै हो । महामारीपछिको विश्वको स्थिति कस्तो बन्छ भन्ने कुरा यतिबेला सबैको चिन्ता र चासोको विषय बन्न पुगेको छ । स्वयं महामारी कुन स्तरसम्म फैलन्छ भन्ने टुङ्गो नभएको अवस्थामा त्यसपछाडिको स्थितिको आँकलन गर्न सहज छैन । यद्यपि कोरोना भाइरससँगै विश्वमा देखिएका घटना परिघटनाले समग्र विश्वस्थितिमा आमूल परिवर्तन आउने कुराको स्पष्ट सङ्केत भने गरेका छन् ।

कोरोना सङ्क्रमण र यसको विस्तार

सन् २०१९ डिसेम्बर महिनाको अन्तिम हप्ता चीनको वुहान प्रान्तमा देखिएको कोरोना भाइरसले अहिले सारा विश्व आफ्नो कब्जामा लिएको छ । दिनहुँ मृत्युको आँकडा बढ्दै गइरहेको छ । यसबाट हुने सम्भावित मानवीय क्षतिको पूर्वानुमान अहिल्यै गर्न सकिने स्थिति छैन । पछिल्लो समय विश्वको महाशक्ति राष्ट्र अमेरिकामा यसको सङ्क्रमण तीव्र छ । थालनीका दिनमा चीनप्रति पेचिलो बन्नु, विश्व स्वास्थ्य सङ्गठनले गरेको आग्रह नटेर्नु र रोकथामका आवश्यक तयारीमा ढिलाइ गर्नु आदि कारणले अमेरिकाले ठूलो क्षति व्यहोर्नुपरेको हो । अहिले अमेरिका मर्माहत छ । युरोप थला परेको छ । कोभिड–१९ भाइरसको अकल्पनीय सङ्क्रमणले विश्वलाई ध्रुवीकरण गर्ने सङ्केत देखिएको छ ।

लेखक

कोरोनाको सङ्क्रमण के कारणले भयो भन्ने तथ्य पत्ता लागिसकेको छैन । यद्यपि यसको प्रमुख कारण मासुजन्य खाद्यपदार्थको उपभोग नै हो भन्ने प्रारम्भिक अध्ययनको निष्कर्ष छ । यसको सङ्क्रमण ज्यामितीय आकारमा वृद्धि हुँदै गएको छ । अन्य भाइरसहरू कुनै एक हावापानीमा बढी सक्रिय भएको पाइन्थ्यो भने यो भाइरस जुनसुकै हावापानीमा पनि सक्रिय भएको पाइएको छ । लण्डनको चिसोदेखि अरब राष्ट्रको तातोसम्म यसको फैलावट उत्तिकै तीव्र छ । कोभिड–१९ ले फोक्सोमा सङ्क्रमण हुने र श्वासप्रश्वासमा कठिनाइ भई बिरामीको मृत्यु हुन्छ । खासगरी रुघा (सिँगान) तथा खोकी (खकार)का माध्यमले यसको सङ्क्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलन्छ । त्यसैले यसको सङ्क्रमण पहिचान गर्न र्याल र खकारजन्य पदार्थको परीक्षण गरिन्छ । यसकारण सिँगान र खकारजन्य पदार्थबाट टाढा रहेर नै यसबाट बच्न सकिन्छ ।

यसको सङ्क्रमणबाट बच्नका लागि विश्व स्वास्थ्य सङ्गठनले केही विशिष्ट उपायहरू (आधारभूत सुरक्षाका उपायहरू) सुझाएको छ । ती उपायहरूमा नियमित रूपमा हात धुने, सामाजिक दूरी कायम राख्ने, नाक, मुख, आँखा नछुने, आदि छन् । अन्यत्रबाट आएका मानिससँग टाढै बस्ने, शारीरिक सक्रियता र सामाजिक सक्रियता(भौतिक) नगर्नु नै यसबाट बच्ने प्रमुख उपाय हुन् । विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्यकर्मी र सरकारले दिएका सूचना तथा निर्देशनको पूर्ण पालना गरी यसको जोखिमबाट बच्न सकिन्छ ।
विश्वव्यापीकरणको यो समयमा आत्मनियन्त्रण अत्यन्त कठिन कुरा हो, चाहे त्यो व्यक्तिका हकमा होस् वा राष्ट्रका हकमा । त्यसैले त चीनको वुहान प्रान्तमा पत्ता लाग्नासाथ सचेतना अपनाउँदा अपनाउँदै पनि यो विश्वभर डढेलोकै गतिमा फैलियो । अहिले विश्वभर विनाशको ताण्डब देखाएको छ । डढेलोलाई सानै आकारमा नियन्त्रण गरेमा त्यो फैलन नपाएझैँ कोरोनालाई पनि प्रारम्भिक चरणमै रोक्न सकेमा व्यापक क्षति हुन पाउँदैन । यो तथ्यलाई अझै पनि प्रारम्भिक अवस्थामा रहेका विश्वका दर्जनौँ राष्ट्रले ध्यान दिँदै कार्यान्वयन गर्नु आवश्यक छ ।

चीनको वुहान क्षेत्रको मृत्युको आँकडा अझै पनि बढिरहेको छ । चीनलगत्तै सङ्क्रमण देखा परेपछि सुरुमै नियन्त्रणमा राख्न सकेको दक्षिण कोरियामा निको भएका ९१ जनामा फेरि सङ्क्रमण देखिएको छ । यसले एकपटकको सङ्क्रमणलाई जित्दैमा कोरोनामाथिको विजय सम्भव नभएको नयाँ तथ्य फेला परेको छ । विश्वका २३२ राष्ट्रमध्ये २२६ राष्ट्रमा यसको सङ्क्रमण फैलिसकेको छ । विश्वको कुनै कुनो यसको सङ्क्रमणबाट जोगिन सकेको देखिँदैन । मानिसको शरीरमा बसेर भ्रमण गर्ने भएका कारण यो भाइरस अति छिटो विश्वव्यापी बन्यो । यसका लागि पासपोर्ट भिसा केही नचाहिने भएकाले पनि यसले निर्वाध विश्वभ्रमण गरिरहेको छ ।

ठोस औषधी पत्ता नलागिसकेको अवस्थामा पूर्वसावधानीसहितको सङ्क्रमण रोकथाम नै एक मात्र उपाय हो । स्वास्थ्य वैज्ञानिकहरू यसकोे औषधी पत्ता लगाउन अहोरात्र खटिरहेका छन् । स्वास्थ्यकर्मीहरू बिरामीको उपचारका लागि सक्रिय छन् भने सामाजिक अभियन्ताहरू रोकथामका लागि दिनरात खटिरहेका छन् । उपचारकै क्रममा सयौँ स्वास्थ्यकर्मीले ज्यान गुमाइसके भने हजारौँ आफैँ सङ्क्रमित बने ।

जर्मनी, नेदरल्यान्ड, अष्ट्रेलिया लगायतका केही देशले यसको सङ्क्रमणलाई नियन्त्रण गर्दै मृत्युदर न्युन राख्ने कार्यमा सफलता हासिल गरेका छन् । यसभन्दा बढी हालसम्म अन्य कुनै प्रयास सार्थक बन्न सकेका छैनन् ।

चीनले कोरोना नियन्त्रणका क्रममा प्राप्त अनुभवबाट विश्वका विभिन्न देशमा स्वास्थ्यकर्मी एवम् स्वास्थ्य उपकरण पठाएर सहयोग गरिरहेको छ । अमेरिकामा सङ्क्रमण फैलिन थाल्दा रुसले अमेरिकालाई र अहिले रुसमा सङ्क्रमण फैलिरहँदा अमेरिकाले एकअर्कालाई उपकरण सहयोग गरिरहेका छन् । मानवीय सङ्कटसँग विश्व एक भएर मात्र जुध्न सम्भव भन्ने सन्देश यो र यस्ता आपसी सहयोगले प्रमाणित गरेका छन् । विश्वबन्धुत्वको भावना फेरि एकपटक विश्वव्यापी बनेर आएको छ । यो समग्र मानव जातिको अस्तित्वसँग जोडिएर गरिएको सबैभन्दा सार्थक पहल हो ।

कोरोनाको विश्वव्यापी प्रभाव र नेपाल
कोरोना भाइरसको उद्गम थलोका रूपमा रहेको चीन र हाल सबैभन्दा बढी असर परेको मुलुकका रूपमा अमेरिका दुवैको अर्थतन्त्रमा यसले गम्भीर असर पार्ने प्रारम्भिक अध्ययन र प्रतिवेदनले देखाएका छन् । चीनमा यसको प्रभाव केही मत्थर भइसकेकाले चीनको अर्थतन्त्रमा ठूलो गिरावट नआउने प्रक्षेपण गरिएको छ ।

विश्व बैँकले मार्च २ मा गरेको आर्थिक प्रक्षेपणले विश्वको कुल ग्राहस्थ उत्पादन सन् २०१९ मा २.९ रहेकोमा सन् २०२० मा २.४ मा झर्ने देखाएको छ । चीन, भारत, जापान, दक्षिण कोरिया, अष्ट्रेलियालगायतका अत्यन्त सीमित राष्ट्रको ग्राहस्थ उत्पादनमा केही गिरावट आउने बताएको छ । यसबाहेक विश्वका अन्य राष्ट्रमा भने भारी गिरावट आउने बैँकको प्रक्षेपण छ । अमेरिकाको कुल ग्राहस्थ उत्पादन २.३ बाट १.९ मा झर्ने प्रक्षेपण बैँकको छ । विश्व बैङ्कले दक्षिण एसियाली क्षेत्रको आर्थिक गिरावट विगत ४० वर्षयताकै सर्वाधिक न्यून हुने जनाएको छ ।

पसिना र परिश्रमलाई घृणा गर्ने गलत संस्कार नेपालीमा बसेको छ । जनताको जीवनशैली र सरकारको योजना दुवै उत्पादनमुखी छैनन् । जनतादेखि नेतासम्म सबैले निष्क्रिय र सुविधाभोगी जीवनशैली रोजेपछि परनिर्भरताको केन्द्रका रूपमा देश परिणत भएको छ । नेपालीको जीवनशैलीको कोल्टेफेराइ सम्पूर्णतः परनिर्भर, निष्क्रिय र भ्रष्ट आचरणयुक्त बन्दै गएको छ । सामाजिकता हराउँदै गएको छ । यी सबै यथार्थले नेपाल कोरोनासँग जुध्न पनि अन्य राष्ट्रकै सहयोग कुर्नुको विकल्प छैन ।

विश्व बैँकको प्रक्षेपणको यो आँकडाले पनि कोरोना भाइरसको महामारीले विश्वको अर्थतन्त्र थला पर्ने देखाएको छ । चलायमान अर्थतन्त्र सीमिततातर्फ उन्मुख हुने सम्भावना प्रबल छ । उत्पादनमुखी अर्थतन्त्र रहेका राष्ट्रमा यसले त्यति धेरै असर नपारे पनि वितरणमुखी, सेवामुखी र व्यापारमुखी अर्थतन्त्र भएका राष्ट्रमा भने यसको अत्यन्त नकारात्मक असर पर्ने देखिन्छ ।

नेपालको भूराजनीतिक अवस्थिति अत्यन्त संवेदनशील छ । नेपालका दुई छिमेकी राष्ट्रको जनसङ्ख्या साढे दुई अरबभन्दा बढी छ । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हुनु र भारत पनि आर्थिक विकासमा उदीयमान रहनु नेपालका लागि अवसर र चुनौती दुवै हो । नेपालको अर्थतन्त्र रेमिट्यान्स र आयातीत वस्तुमा लगाउने भन्सारमा निर्भर छ । कृषि उत्पादन निरन्तर ओरालो लागिरहेको छ । औद्योगिक विकासको क्रम दयनीय छ । सेवा क्षेत्रको उचित विकास छैन । जलस्रोत र पर्यटनबाट अपेक्षाकृत आम्दानी गर्न सकेको छैन । देशका सम्भावनालाई यथार्थमा बदल्नका लागि वैज्ञानिक नीति तथा योजना आवश्यक हुन्छ । नेपालका अधिकांश योजना कागजमै सीमित छन् । वैदेशिक सहायता प्राप्त गर्नका लागि मात्रै योजना बनाउने गरेको जस्तो देखिन्छ ।

मनसुनी हावापानीका कारण नेपालको सबैभन्दा ठूलो सम्भावनाको क्षेत्र कृषि हो । सरकारी योजनामा भने कृषि कहिल्यै पहिलो प्राथमिकतामा परेन । नेपालले प्रत्येक वर्ष चालीस अर्बभन्दा बढी रुपैयाँको कृषिजन्य वस्तु आयात गर्छ । यही एउटा उदाहरणले नेपालका सम्भावना र योजनाबीचको बेमेल प्रष्ट पार्छ । जलस्रोतको विकास, कृषिजन्य उद्योग, पर्यटन, जडीबुटी खेती (औषधी उद्योग), पशुपालन आदि नेपालको आर्थिक विकासको सम्भावना बोकेका क्षेत्र हुन् । सरकारी तथ्याङ्कअनुसार हाल ५० लाख युवा विदेशमा छन् । सरकारी तथ्याङ्कमा नरहेकाहरूसमेतको यो सङ्ख्या करिब ७० लाख रहेको अनुमान छ । देश विकासका लागि उपलब्ध स्रोत र साधनको समुचित परिचालनका लागि युवा जनशक्ति आवश्यक छ । देशनिर्माणको आधार युवाको ठूलो सङ्ख्या विदेश हुनुले हाम्रो परनिर्भरताको हद प्रष्ट्याउँछ ।

सरदरमा नेपालका प्रत्येक घरको कम्तीमा एक जना विदेशमा छ । विदेशिनेको सङ्ख्या बढ्नासाथ सुखको लोभमा सहरतिर बसाइँसराइँ तीव्र छ । अनावश्यक उपकरणको उपभोगले आकाश छोएको छ । उर्बर भूमि बस्तीमा परिणत भएको छ । पसिना र परिश्रमलाई घृणा गर्ने गलत संस्कार नेपालीमा बसेको छ । जीवनशैली नै निष्क्रिय भएपछि शारीरिक र मानसिक रोगको शिकार बन्छ मान्छे । वैदेशिक अनुदान सरकारले सदुपयोग गरेको पाइँदैन । भ्रष्टाचारले राज्यसंरचना थिलथिलो छ । जनताको जीवनशैली र सरकारको योजना दुवै उत्पादनमुखी छैनन् । जनतादेखि नेतासम्म सबैले निष्क्रिय र सुविधाभोगी जीवनशैली रोजेपछि परनिर्भरताको केन्द्रका रूपमा देश परिणत भएको छ । नेपालीको जीवनशैलीको कोल्टेफेराइ सम्पूर्णतः परनिर्भर, निष्क्रिय र भ्रष्ट आचरणयुक्त बन्दै गएको छ । सामाजिकता हराउँदै गएको छ । यी सबै यथार्थले नेपाल कोरोनासँग जुध्न पनि अन्य राष्ट्रकै सहयोग कुर्नुको विकल्प छैन ।

कोरोनापछिको विश्व

कोरोनाले विज्ञानलाई ठाडो चुनौती दिएको छ । तत्कालीन आवश्यकता पूर्ति गर्दै जाने र यथासम्भव अवसरलाई छोपिहाल्ने मनोवृत्तिमा मानव जाति लाग्दै गयो । पृथ्वी आँखाले देख्न सकिने र नसकिने सबै प्रकारका जीवको साझा घर हो । मानवीय गतिविधिले पृथ्वी उसकै लागि मात्र सिर्जित भएको ठान्दै यहाँका स्रोतसाधनको चरम दोहन गरिरह्यो । यसले प्राकृतिक असन्तुलन बढायो । अर्कातिर राष्ट्र राष्ट्रका बीचको अस्वस्थ प्रतिस्पर्धाले मानवीय अस्तित्व नै सङ्कटग्रस्त छ ।

खाद्यन्य सहायता लिन लाममा बसेका बंगलादेशका महिला र बालबालिका

‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेत्’ यो मन्त्रले संसारका सबै प्राणीको सुख र अमनचैनको कामना गरेको छ । यो कामना भनेकै मानवजातिलाई सबै प्राणीको हितमा आफ्नो तन र मन समर्पण गर भनेको हो । ‘कर्मेषु फल मापेषु’ को भावनाअनुसार कर्म (जगत्का प्रति आफ्ना कर्तव्य निर्वाह) गर्दै जाने तर फलको आशा नगर्ने हो । मानिस भने उल्टै फलकेन्द्रित हुँदै गएकाले तन र मनभन्दा धनलाई प्राथमिकता दियो । संसारभर सम्पत्ति र शक्तिको होडबाजी चल्दै गयो । दया, करुणा, सहयोग, मेलमिलाप जस्ता मानवीय र सामाजिक भावना हराउँदै गए । यी भावनाको साटो घमण्ड, ईर्ष्या, रिस, वैमनस्य आदि अमानवीय भावना विकास भए । विश्वबन्धुत्व र सहअस्तित्व लत्याइए । फलस्वरूप विश्वमा प्रकारप्रकारका महामारी फैलिरहेका छन् ।

मान्छेको हेलचर्क्याइँले विश्वको हावापानीमा परिवर्तन भयो । यसले पृथ्वी नै सङ्कटमा पर्ने सम्भावना नजिकिँदै छ । मानिसले आफ्नो सुखका लागि पृथ्वीका कति प्राणीहरूको अस्तित्व नै नामेट पारिदियो । यसले पारिस्थितिक प्रणाली बिगार्यो । हिजो फैलिएका हैजा, औलो, मलेरिया, प्लेग लगायतका महामारीहरू यसै शृङ्खलाका एक एक उदाहरण हुन् ।

आध्यात्मिक दृष्टिले हेर्ने हो भने पनि महाभारतमा अर्जुनलाई श्रीकृष्णले भनेका छन् –“परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्, धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।” जबजब धर्म र प्रकृतिमाथि सङ्कट आइपर्छ तब तब धर्म (अधिकार र कर्तव्यको तालमेल) रक्षा गरी दुष्टलाई दण्ड दिन म आइपुग्नेछु । डार्बिनको विकासवादले प्राकृतिक छनोटको सिद्धान्त अगि सारेको छ । पृथ्वीमा प्राणी सङ्कटमा पर्दा त्यसको रक्षार्थ विविध अवतारमा ईश्वर आई रक्षा गर्ने कुरा वेद–पुराण, कुरान, त्रिपिटक र बाइबलमा समेत उल्लेख छ ।

कोरोना महामारीले विश्वको अर्थतन्त्र, सामाजिकता, व्यापार, राजनीति, विकास निर्माण आदि विविध क्षेत्रमा ठूलै उथलपुथल ल्याउने देखिन्छ । यो महामारीले चलायमान विश्व ठप्प छ । दगुरिरहेका मान्छेका भीड पक्षाघातले थला पारिदिएको छ । मानव सभ्यता एउटा बिन्दुमा आएर अडिएको छ । अब कता जान्छ, सहजै आँकलन गर्न सकिँदैन । कोरोना आतङ्क साम्य भएपछि विश्वको विकासले कोल्टे फेर्ने निश्चित छ ।

आत्मकेन्द्रित बन्दै गएको मानिसका गतिविधि प्रकृति केन्द्रित हुँदै जाने, धमिला नदीहरू सङ्लिने, सहअस्तित्वको भावना विकसित बन्दै जाने सम्भावना छ । विश्वव्यापीकरणमा भन्दा स्थानीयकरणमा जोड दिने क्रम बढ्ने देखिन्छ । आत्मनिर्भरताको परिभाषा फेरिँदै जानेछ । सेवामुखी अर्थतन्त्र केही समय शिथिल बन्नेछ भने उत्पादनमुखी अर्थतन्त्रले विश्वको नेतृत्व गर्दै जानेछ । उदारवाद र लोकतन्त्रका मान्यताहरू केही मत्थर बन्दै राष्ट्रवादी विचार राजनीतिमा हाबी बन्ने देखिन्छ ।

यसले मानिसको सोच्ने शैलीमा पनि परिवर्तन ल्याउने छ । आत्मकेन्द्रित बन्दै गएको मानिसका गतिविधि प्रकृति केन्द्रित हुँदै जाने, धमिला नदीहरू सङ्लिने, सहअस्तित्वको भावना विकसित बन्दै जाने सम्भावना छ । विश्वव्यापीकरणमा भन्दा स्थानीयकरणमा जोड दिने क्रम बढ्ने देखिन्छ । आत्मनिर्भरताको परिभाषा फेरिँदै जानेछ । सेवामुखी अर्थतन्त्र केही समय शिथिल बन्नेछ भने उत्पादनमुखी अर्थतन्त्रले विश्वको नेतृत्व गर्दै जानेछ । उदारवाद र लोकतन्त्रका मान्यताहरू केही मत्थर बन्दै राष्ट्रवादी विचार राजनीतिमा हाबी बन्ने देखिन्छ । बहुलवादको साटो एकतन्त्रीय शासन लोकप्रिय बन्दै जानेछ । टाढा हेर्न छोडेर नजिक ध्यान दिने क्रम विकास हुनेछ ।

संयुक्त राष्ट्रसंघ जस्ता संस्थाको कार्यशैली र योजना सम्पूर्णतः फेरिँदै जानेछ । सार्कजस्ता क्षेत्रीय सङ्गठनहरू थप प्रभावकारी बनेर देखिनेछन् । महाशक्ति राष्ट्र हराएर क्षेत्रीय शक्ति राष्ट्र बलिया हुँदै जानेछन् । विश्व एक वा दुई ध्रुवीय नरही बहुध्रुवीयता कायम हुनेछ । राष्ट्रहरू देशभित्रका सम्भावनाको खोजीमा केन्द्रित हुनेछन् । यसले स्थानीय प्रविधिको विकासमा तेस्रो विश्व केन्द्रित हुनेछ । परम्परागत जीवनशैलीको वैज्ञानिक व्याख्या हुनेछ र परिमार्जन गर्दै लगिनेछ ।

अर्थतन्त्र साटो स्वास्थ्यलाई केन्द्रमा राखेर राज्य सञ्चालित हुनेछन् । धेरै देशमा शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रहरूमा राज्यको स्वामित्व कायम हुँदै जानेछ । स्वास्थ्य विषयलाई पाठ्यक्रममा उच्च महत्वकासाथ राखिनेछ । आयुर्वेद विज्ञानको महत्ता बढ्दै जानेछ । जडीबुटी खेती र यससँग सम्बन्धित उद्योगधन्दाहरू विश्वव्यापी रूपमा फस्टाउनेछन् । विश्वलाई गाउँ ठानिएको वर्तमान जीवनशैली गाउँलाई नै विश्व ठान्नेतर्फ उन्मुख हुने सम्भावना बलियो छ ।

तात्क्षणिक नकारात्मक असर
कोरोनाको महामारीले मानवीय क्षति ठूलो नभए पनि नेपालमा यसको गम्भीर असर पर्नेछ । वैदेशिक रोजगारमा गएका अधिकांश नेपालीहरू फर्कनेछन् । वैदेशिक अनुदानमा ठूलो गिरावट आउनेछ । फलस्वरूप राज्यकोषले साधारण खर्चसमेत धान्न नसक्ने अवस्था सिर्जना हुनेछ । कर्मचारीको ठूलो सङ्ख्या कटौती गर्न स्वयं सरकार र निजी क्षेत्र बाध्य हुनेछन् । बेरोजगारीको वृद्धिले समाजमा आपराधिक क्रियाकलाप नबढाउला भन्न सकिँदैन । यसको रोकथाम गर्न नसकेको खण्डमा नेपालमा यस महामारीबाट मर्नेको सङ्ख्या धेरै हुनेछ । सहरकेन्द्रित जनसङ्ख्या गाउँकेन्द्रित हुने सम्भावना प्रबल छ ।

विश्व निशस्त्रीकरणतर्फ मोडिने सम्भावना छ । हिटलर शैलीले मुन्टो निहुर्याएर बुद्ध, गान्धी र मण्डेला शैलीले शिर ठाडो पार्नेछ । मानव जातिले प्रकृति र अन्य प्राकृतिक जीवलाई माया गर्न थाल्नेछ । प्राकृतिक सन्तुलनका लागि वृक्षारोपण कार्यले तीव्रता पाउनेछ । केही समयका लागि मात्रै भए पनि मानिसका सुविधाभोगको चाहना साँघुरिनेछन् । राष्ट्र प्रतिरक्षात्मक अर्थतन्त्रमा केन्द्रित हुनेछन् । कृषिकेन्द्रित अर्थतन्त्र र स्वास्थ्यकेन्द्रित जीवनशैली मूल परिवर्तनका रूपमा देखा परेका हुनेछन् । नेपालीहरू आफ्ना स्रोत र साधन खेर फालेर समुद्रपारि हामफाल्ने क्रम घट्दै जानेछ । पर्यटनमा ठूलो गिरावट आउनेछ । होटल तथा रेष्टुरेन्टको व्यापार पनि कम्तीमा एक वर्ष शिथिल हुने छ ।

नेपालको भविष्य

हरेक राष्ट्रका लोपोन्मुख कला र संस्कृति मुर्झाएर आउनेछन् । पुर्ख्याैली जीवनशैली फेरि एकपटक सर्वप्रिय बन्नेछ । इतिहासको अध्ययन नयाँ शिराबाट थालनी हुनेछ । पारिवारिक र राष्ट्रिय एकता कायम हुनेछ ।

कोरोना महामारी सिङ्गो मानव जातिका लागि अभिशाप त अवश्यै हो । यद्यपि हरेक सङ्कटले नयाँ अवसर पनि बोकेर आएको हुन्छ । सम्भावना पहिचान गरी राष्ट्रनिर्माणमा लागु गर्न भने सक्नुपर्छ । स्वतन्त्रताको अधिक उपयोगले कोरोना सङ्क्रमण फैलिएको स्वतः सिद्ध छ । स्वतन्त्रताका सीमा निर्धारण हुनेछन् । प्रकृतिप्रेम नै शान्ति र दीर्घकालीन समृद्धिको मुख्य आधार बन्नेछ । दिगो विकासका अवधारणाले विकास निर्माणका कार्यमा दह्रो उपस्थिति जनाउनेछन् ।

हरेक राष्ट्रका लोपोन्मुख कला र संस्कृति मुर्झाएर आउनेछन् । पुर्ख्याैली जीवनशैली फेरि एकपटक सर्वप्रिय बन्नेछ । इतिहासको अध्ययन नयाँ शिराबाट थालनी हुनेछ । पारिवारिक र राष्ट्रिय एकता कायम हुनेछ ।

नेपालका परम्परागत जीवनशैली, खानपान, पहिरन, चाडबाड, ओखतीमुलो आदि विविध विषयको ज्ञान प्रवाहमा उल्लेख्य वृद्धि हुनेछ । सनातन रीतिरिवाजका सबल पक्ष केलाउँदै हावापानीअनुकूल जीवनशैलीकोे निरन्तरतामा भावी पुस्तालाई लगाउने अवसर प्राप्त हुनेछ । स्वास्थ्य नै धन हो भन्ने कुरा मानव जीवनशैलीको मूल आधार बन्न सक्छ ।
दैनिक उपभोग्य वस्तुको स्थानीय उत्पादनबारे व्यापक अध्ययन, अनुसन्धान गरी कार्य प्रारम्भ हुनेछ । शिक्षा क्षेत्रमा पनि कृषिकेन्द्रित विभिन्न जनशक्ति उत्पादन गर्ने गरी पाठ्यक्रम परिमार्जन गर्न सकिन्छ । कृषि क्षेत्रको दक्ष जनशक्तिलाई राज्यले खास महत्व दिएर राष्ट्रिय उत्पादन बढाउनेतर्फ जोड दिँदै जानेछ । यसो गरेमा हामी कृषिमा परनिर्भर बन्नु पर्दैन । गाँसको आवश्यकता परिपूर्ति गर्न अरूसँग हात फैलाउनु नपरेपछि अन्य आवश्यकता परिपूर्तिमा आत्मनिर्भर बन्ने योजना र अवसरको खोजी स्वतः बढ्न थाल्छ ।

वैदेशिक रोजगारप्रतिको आकर्षणमा कमीले युवा जनशक्ति आफ्नै देशको विकासमा केन्द्रित गर्ने अवसर सरकारलाई प्राप्त हुनेछ । उनीहरूको श्रम, सीप र पसिना राष्ट्रनिर्माणमा लगाउने उपयुक्त अवसर यही हो । कोरोना महामारीपछिका दस वर्ष नै नेपालले राष्ट्रनिर्माणको स्वर्णयुगका रूपमा प्रयोग गर्न सक्नेछ ।

यतिबेला विश्व फुट्ने नभई जुट्ने समय हो । विश्व एक भएर मानवताको रक्षा गर्ने र विश्व भ्रातृत्व कायम गर्नेतिर लाग्ने समय हो । संयुक्त राष्ट्र संघमार्फत सबै राष्ट्रले सामूहिक निर्णय गरी सशस्त्रीकरणमा गर्दै आएको खर्च प्रकृति र मानव स्वास्थ्य संरक्षणमा लगाउने सामूहिक अभियानको थालनी गरिहाल्नुपर्छ ।

जनसहभागिता नै विकासको प्रमुख आधार हो । स्थानीय सरकारले जनताको वर्ग निर्धारण गरी रोजगारीका अवसरको प्राथमिकीकरण सहजै गर्न सक्छ । जनसहभागितामा आधारित योजना तर्जुमा गर्दै साना तथा मझौला उद्योगको प्रवद्र्धनमा स्थानीय सरकार केन्द्रित बन्नुपर्छ । सरकार मेरो/हाम्रो हो भन्ने आभास जनतालाई दिलाएर स्थानीय सरकारका योजना तथा कार्यक्रममा जनसहभागिताको सुनिश्चितता कायम गर्न सक्छ । यो समयलाई आन्तरिक सुदृढीकरण र भावी समृद्धिका वस्तुपरक एवम् वैज्ञानिक योजना निर्माणमा समावेशीता अपनाउँदै सर्वपक्षीय विकासको दरिलो जग खन्ने उपयुक्त अवसरका रूपमा परिणत गर्नुपर्दछ । यसले संघीयता सबल बनाउनेछ ।

कोरोना महामारीपछि नेपाल सभ्यताको स्वर्णयुगमा प्रवेश गर्न सक्ने प्रशस्त आधारहरू छन् । नेपालको जनसाङ्ख्यिक संरचनामा युवाको आधिक्य छ । अबको दश वर्षपछि नेपालमा युवाहरूको भन्दा वृद्धहरूको सङ्ख्या बढी हुँदै जाने जनसाङ्ख्यिक संरचना तयार हुनेछ । तसर्थ यही समयमा देशको सर्वाङ्गीण विकासको दह्रो जग बसाल्न सकिन्छ । विश्वको विकास देखेर लोभिने सम्पूर्ण नेपालीलाई विकास आफैँले गरेमा सम्भव छ भन्ने दृष्टान्त प्रस्तुत गर्ने अवसरको रूपमा कोरोना महामारी उपस्थित छ । हालसम्मका राजनीतिक उपलब्धिलाई सामाजिक, सांस्कृतिक, आर्थिक, प्राविधिक एवम् सर्वाङ्गीण विकासमा उपयोग गर्ने बेला यही हो । तसर्थ मैलिएको राजनीति सङ्ल्याएर सभ्यतानिर्माणको थालनी गर्न युवाहरूले सशक्त राजनीतिक हस्तक्षेप गर्ने बेला पनि यही हो ।

विकास, राजनीति र संस्कृति जगेर्नामा युवाहरूको सशक्त हस्तक्षेप गरी आफ्नो देश आफैँ बनाउने कार्यको थालनी हुनेछ । दोस्रो विश्वयुद्धपछि ध्वस्त जापान कुनै विदेशीले गएर बनाएको होइन । नेपाल पनि नेपालीहरू मिलेर विकास गर्न सकिन्छ र सक्नुपर्छ । यसो गर्न सकेमा अहिले हुर्कँदै गरेको पुस्तामा स्वदेशका सम्भावना यथार्थमा बदल्ने सङ्कल्प विकास हुन्छ । यसले आत्मनिर्भरता सुनिश्चित हुन्छ भने पछिल्लो पुस्तामा देशप्रेमको भावना प्रगाढ बन्दछ । हाम्रोलाई नभई राम्रोलाई प्राथमिकतामा राखी विधिको शासनलाई जोड दिने गरी राजनीतिक संस्कारको काँचुली फेर्न जरुरी छ । कोरोना महामारीले नेपालका लागि यो अवसरको ढोका पनि पूर्ण रूपमा खोलिदिएको छ ।

7 comments on "आत्मनिर्भरताको बाटोमा"

  • Dhirendra Raj Subedi says:

    Best article.

  • Jhalak Raj Poudel says:

    अति राम्रो बिचार। हार्दिक शुभकामना सर

  • Sisam Shrestha says:

    Everyone should read this article at least once. It is well written as well as accurate. Great work, sir.

  • भूमिराज बस्ताकाेटी says:

    राम्रो लेख । अाशावादी विचारकाे प्रक्षेपणका लागि हार्दिक अाभार तर अमेरिका, चिन, भारत अािदकाे अवस्था हेर्दा समय झन् जटिल अाउने हाे कि भन्ने शङ्का गर्नुपर्ने देखिन्छ ।

  • Amrit Poudel says:

    Very nice and readable article.

  • Swostika Sharma says:

    उत्कृष्ट लेख । हार्दिक शुभकामना सर!!

  • Suraj Upadhya says:

    राम्रो बिचारले ओतपोर्त लेख ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X