२०७७ जेठ २५ गते २०:०४ सुवास मल्ल
चीनको वुहान सहरबाट सन् २०१९ को अन्त्यतिर शुरु भएको श्वासप्रश्वासको मध्यमबाट सर्ने कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण विश्व समुदाय नै आतंकित छ । तर कोरोनाको कहर गहिरिँदै जाँदा भने मानव समुदायले अब नयाँ बाटो तय गर्ने पक्कापक्की भइरहेको छ ।
विश्वभर काेराना संक्रमण दिनदिनै बढेकाे छ । युरोप, अमेरिका र बेलायत जस्ता विश्व महाशक्ति तथा स्वास्थ्य क्षेत्रका हस्ती मुलुकहरुसमेत यो महामारीका अगाडि बेचैन भइरहेको अवस्थामा यसले दक्षिण एसिया र अफ्रिकालाई समेत बिस्तारै प्रभावित पारिरहेको छ ।
यो विश्वव्यापी संकटलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यवापी महामारी (पेन्डामिक) को रुपमा व्याख्या गरिसकेको छ भने विश्व नै अहिले बन्दाबन्दी (लकडाउन) को अवस्थामा विगत एक महिनादेखि गुज्रिरहेको छ । कोरोना भाइरसकै कारण विगतमा सार्स र मार्स जस्ता रोगहरुले पनि संसारलाइ केही समय आक्रान्त बनाएकै थियो । तर त्यसको फैलावट, गति र क्षति भने उत्परिवर्तन (म्युटेसन) भएर आएको यो नयाँ (नोबेल) कोरोना भाइरस (त्यसैले नाम नोबेल कोरोना भाइरस भएको) को भन्दा कम थियो । यसका विरुद्ध हालसम्म कुनै पनि खोप वा औषधि पत्ता लागेको छैन । जसका कारण यसको संक्रमण रोक्नु र यसको चेन तोड्नु नै यसबाट बच्ने एउटै उपायका रुपमा हाम्रो सामु रहेका छन् ।
कोरोना संक्रमणको विश्वव्यवापी प्रभाव
विश्वभरको अर्थतन्त्र विशेषतः पर्यटन उद्योग र यसका सहयोगी व्यवसायहरु जस्तै ट्राभल कम्पनी, हवाई क्षेत्र, रेष्टुरेन्ट, डिस्को, क्यासिनो, पव, सार्वजनिक यातायात आदि क्षेत्रहरुमा यसको प्रत्यक्ष प्रभाव परिरहेको छ । साथै महामारी सकिएको केही समयसम्म शेयर बजार, रियल स्टेट, अटोमोवाइल, फर्निचर तथा फर्निसिङ्ग, निर्माण, बैंक, प्रकाशन तथा छापाखाना, पार्टि प्यालेस तथा इभेन्ट हाउस, सिनेमा हल, जिम हाउस, स्विमिङ्ग पुल, फुटसल जस्ता विविध क्षेत्रमा यसले प्रभाव पारिरहने विभिन्न आर्थिक विश्लेषकहरुले अनुमान लगाएका छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले समेत यो परिस्थितीलाइ ‘द ग्रेट लकडाउन’ को संज्ञा दिँदै विश्वव्यापी अर्थतन्त्रमा गम्भिर प्रभाव पर्ने जनाएको छ । कोषले प्रकाशन गर्ने ‘वल्र्ड इकोनमिक आउटलुक’ मा २०२० मा विश्वको आर्थिक वृद्धि दर ३.३ प्रतिशत हुने आंकलन गरेकोमा त्यसलाई पुनर्मुल्याङ्गन गर्दै पछिल्लो संकटका कारण विश्वले आर्थिक वृद्धि माइनस ३ प्रतिशतले उधों लाग्ने जनाएको छ । सन् २०१९ मा २.९ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको संसारको अर्थतन्त्र यसरी ओरालो लाग्दा सन् २००८–०९ को आर्थिक संकटभन्दा पनि दयानिय अवस्था आउने प्रक्षेपण पनि कोषले गरेको छ । यसको प्रभाव २०२० को मध्यभन्दा पछाडीसम्म पनि पुगेको खण्डमा यो आंकडा झनै तल झर्ने समेत कोषको दावी छ ।
यसरी ओरालो लाग्दा त्यसको गम्भिर भार भने विकसित देशहरुको अर्थतन्त्रले व्यहोर्नु पर्ने आइएमएफले सोही रिपोर्टमा जनाएको छ । सन् २०१९ मा १.७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेका र सन् २०२० मा १.६ प्रतिशतमा स्थिर रहने मानिएको विकसित देशहरुको अर्थतन्त्रमा यो संकटका कारण ६.१ प्रतिशतको गिरावट आउने पनि कोषले जनाएको छ ।
नेपालको सन्दर्भमा पनि यही रिपोर्टले नेपालको आर्थिक वृद्धिदर २ प्रतिशतमा सिमित रहने जनाएको छ । जव कि यो वर्षको शुरुवातमा सो आर्थिक वृद्धिदर ६ प्रतिशत रहने प्रक्षेपण गरिएको थियो भने नेपाल सरकारले ८.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको थियो । यिनै आंकडाहरुले पनि नेपालको अर्थतन्त्रमा गम्भिर धक्का लाग्नेछ भन्ने सहजै बुझ्न सकिन्छ ।
आर्थिक सर्वेक्षण सन् २०१७/१८ अनुसार नेपालको कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा ठूलो हिस्सा विप्रेषण (रेमिन्टान्स) र कृषि क्षेत्रले क्रमशः २९.९ प्रतिशत र २९.३७ प्रतिशत ओगटेको थियो । कोरोना संक्रमणका कारण विश्वव्यापी आर्थिक मन्दी सृजना भएमा त्यसबाट साँढे २ करोड रोजगारीहरु गुम्ने चेतावनी अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले दिइसकेको छ । यसको प्रभाव विभिन्न देशहरुमा काम तथा अध्ययन गरिरहेका नेपालीहरुलाई पक्कै पनि पर्नेछ । फलतः एकातिर त्यसले विप्रेषण घटाउने छ भने अर्काे तर्फ उनीहरु नेपाल फर्के पछि देशमा बेरोजगारीको दर बढ्नेछ ।
‘आफैं त महादेव…., कसले देला बर’ भने जस्तो विकसित अर्थतन्त्रहरु नै गम्भिर आर्थिक संकटमा परिरहँदा ति देशहरुले वैदेशिक सहायताका कार्यक्रमहरुमा भारी कटौति गर्नेछन् । विश्व स्वास्थ्य संगठनलाई प्रदान गर्दै आएका सबै प्रकारका आर्थिक दायित्वबाट अमेरिका पछाडी हट्नु यसैको शुरुवात मान्न सकिन्छ । फलतः नेपाल जस्ता देशहरुको अर्थतन्त्रमा वैदेशिक अनुदान, सहयोग वा सहुलियतहरुको पनि कटौति हुनेछ ।
नेपालले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ को रुपमा मनाउन गरेको ठूलो लगानी ‘बालुवामा पानी’ बराबर भएको छ । नेपालको पर्यटनको मुख्य बजार भारत, चीन र युरोप नै आज यो महामारीको विभिन्न चरणहरुको इपिसेन्टरका रुपमा परिणत हुनुले नेपाली पर्यटनलाई पक्कै लामो समयसम्म धक्का दिने नै छ ।
यी सबैको बुई चढेर अन्य विविध मनोसामाजिक समस्याहरु आउनेछन् । यसको प्रतिफल स्वरुप संघर्ष, हड्ताल, राजनैतिक प्रदर्शन, विरोध तथा हिंसाका घटनाहरु बढ्न सक्छन् । देशमा भ्रष्टाचार, कालोबजारी, चेक बाउन्स, चोरी, ठगी, लुटपाट, डकौति, घरेलु हिंसा, साइबर अपराध जस्ता विभिन्न अपराधहरुको श्रृङ्खलामा वृद्धि हुनेछ । अर्काे तर्फ विभिन्न मानसिक समस्याहरुमा वृद्धि भई मानसिक चिन्ता, तनाव, मानसिक रोग तथा आत्महत्याहरु पनि बढेर जानेछन् ।
इतिहासको सन्देश
तर यो महामारीले यसरी विविध क्षेत्रमा प्रभाव पारिरहँदा के हामी महासंकटको सम्मुख नै आइसकेका हौं त ? के लकडाउनले सिर्जना गरेको मौन वातावरण ‘आँधी अघिको सन्नाटा’ नै हो त ? सन् २०१८ का नोबेल पुरस्कार विजेता न्युर्योक विश्वविद्यालयका प्राध्यापक पाउल रोमरको भनाइ सम्झन मनासिव हुन्छ । “संकटलाई खेर फाल्ने भयानक गल्ती कसैले पनि गर्नुहुदैँन”, अर्थशास्त्री प्राध्यापक रोमर भन्छन्, “सम्भावनाहरु जोडिएर होइन गुणन भएर आउँछन् ।”
सन् २०१८ का नोबेल पुरस्कार विजेता न्युर्योक विश्वविद्यालयका प्राध्यापक पाउल रोमरको भनाइ सम्झन मनासिव हुन्छ । “संकटलाई खेर फाल्ने भयानक गल्ती कसैले पनि गर्नुहुदैँन”, अर्थशास्त्री प्राध्यापक रोमर भन्छन्, “सम्भावनाहरु जोडिएर होइन गुणन भएर आउँछन् ।”
यसका काफी प्रमाणहरु मानव सभ्यताका दौरान हामी पाउन सक्छौं । छैठौं शताब्दीदेखि अठारौं शताब्दीसम्म नै करिब दर्जन पटक विश्वव्यापी महामारीको रुपमा आएको प्लेगको सबैभन्दा ठूलो प्रकोप चौंधौं र अठारौं शताब्दीमा मानव सभ्यताले ब्यहोर्यो । ब्ल्याक डेथ (कालो मृत्यु)को उपमा पाएको चौधौं शताब्दीको प्लेगले चार वर्षमा युरोपको एक तिहाई जनसंख्या नै सखाप बनाइदियो । अठारौं शताब्दीमा संसारभर यसले २० करोडको हाराहारीमा मानिसहरुको चिहान खनेको थियो । तर यसैका कारण घटेको मानव जनसङ्ख्याले युरोपलाई कृषि युगबाट यान्त्रीकरण र औद्योगिकरणको युगमा लगिदियो ।
उता जनस्वास्थ्यतर्फ समेत सचेतता अपनाउँदै अर्काे ठाउँबाट समुद्री मार्ग हुँदै आएपछि ४० दिन बन्दरगाहाकै बेग्लै कक्षमा राख्ने चलनको शुरुवात भयो । इटालियन भाषामा ४० लाई क्वारेन्टिन भनिने हुनाले नै कालान्तरमा यो प्रक्रियाको नाम नै क्वारेन्टाइन रहन पुग्यो । यही क्रममा नै यसको महामारी रोक्नका लागि संक्रमित सहर सिल (बन्द) गर्ने तौर तरिकाको समेत विकास भयो ।
उन्नाइसौं शताब्दीमा आधा दर्जन पटक संसारलाई हैरान बनाएको हैजाको महामारीले पनि संसारभर ३ करोड बढिको ज्यान लिएको थियो । तर यसैको प्रतिक्रिया स्वरुप वैज्ञानिकहरुले किटाणु पत्ता लगाउन सफल भए र जनस्वास्थ्य, सरसफाइ, शुद्ध खानेपानी, फोहोर व्यवस्थापन, व्यवस्थित बधशाला, नाला व्यवस्थापन जस्ता अवधारणाहरुको विकास संसारभर हुन सक्यो ।
प्रथम विश्व युद्धको अन्त्य तिर सन् १९१८ देखि १९२० सम्म विश्वभर फैलिएको स्पेनिस फलुका कारण संसारभर करिब ५ करोड मानिसहरुको मृत्यु भयो । यो संख्या प्रथम विश्वयुद्धका चार वर्षमा मारिएकाको कुल संख्याभन्दा तेब्बर धेरै थियो । तर यही कारणले संसारभर भर्खर ताते ताते गर्न थालेको जनस्वास्थ्य क्षेत्रको तिब्रतर विकास भयो । तत्कालिन लिग अफ नेशन्स (राष्ट्र संघ) को एक अंगका रुपमा स्वास्थ्य विभागलाई राख्न विश्व समुदाय सहमत भयो । यसैको विकसित रुपका रुपमा संयुक्त राष्ट्र संघको गठन पछि आजको विश्व स्वास्थ्य संगठनको गठन भएको थियो । संसारभरका सरकारहरुले स्वास्थ्य मन्त्रालयको आवश्यकता पनि त्यसपछि नै महशुस गरेका थिए ।
त्यसपछि तुलनात्मक रुपमा साना महामारीहरु जस्तै हङ्गकङ्ग फलु, सार्स, एभिएन फलु, स्वाइन फलु र इबोला आदिले पनि भाइरसको विशेषताहरु, नियन्त्रणका उपायहरु र पूर्वतयारीहरुको बारेमा पाठ सिकाइरहेकै छन् । विशेषतः इबोला संक्रमणको बेलादेखि शुरु भएको ‘डक्टर्स विथआउट बोर्डस’ (सिमाबिहिन चिकित्सकहरु) अभियानले आज कोरोना संक्रमणमा पनि निकै प्रभावकारी भूमिका खेलिरहेको हामी पाउछौं । यस्तै सिकाइहरुको जगमा आज मानव सभ्यता कोभिड—१९ विरुद्धको लडाईंमा सफलता प्राप्त गर्दैछ ।
अर्काे पाटो केलाउँदा मानव सभ्यताका लागि कुनै पनि युद्धहरु अभिशाप नै हुन् । तर सत्य के पनि हो भने युद्ध कै विभीषिकाबाट रेडक्रस र स्काउट जस्ता मानवतावादी संगठनहरुको जन्म मात्र होइन सुरक्षा, सञ्चार र प्रविधिको उच्चतम विकास पनि भएको छ । दोस्रो विश्वयुद्धको उदाहरण यदि हेर्ने हो भने यसले एकातिर ६ करोड बढिको ज्यान लिने त्रासद इतिहास संसारलाई दियो भने अर्काे तर्फ भुमण्डलीकरण र अन्तरिक्ष युगको नयाँ ढोका पनि खोलिदियो । युद्धको समयको सञ्चारका साधनहरु नै कालान्तरमा रेडियो, टेलिफोन, टेलिग्राफ र टेलिभिजनका रुपमा संसारभरका मानिसहरुको सम्पत्ति बन्न पुग्यो । यही क्रममा प्रयोग भएका गाडी, ट्रक, ठूला पानीजहाज र हवाईजहाजहरु नै पछि सार्वजनिक यातायात तथा ढुवानीका नयाँ साधनहरु बन्न पुगे । यसैको बाछिटाका रुपमा संसारभर राष्ट्रिय मुक्ती संग्रामहरुले गति लियो र उपनिवेश युग सदाका लागि अन्त्य भयो । संसारभर मानव अधिकार, स्वतन्त्रता, विभेदरहित बाँच्न पाउने अधिकार, सामाजिक विकास, समानता र सबैलाई शिक्षा जस्ता विषयहरु जनस्तरमा विस्तारित हुनुमा यही युद्धको परिणाम स्वरुप बनेको संयुक्त राष्ट्र संघ जिम्मेवार छ ।
नेपालमा पनि २०५२ देखि २०६२ सम्मको सशस्त्र द्वन्द्व नेपालको कालो इतिहास थियो । तर यसैको जगमा नै नेपालमा राजनैतिक तथा सामाजिक चेतनाको उच्चतम विकास भएको सत्य पनि नकार्न सकिन्न । महिला, जनजाति, मधेशी, कर्णाली जस्ता विभिन्न सिमान्तकृत समुदायको आवाज मुल प्रवाहमा ल्याउन यो द्वन्द्वको विशिष्ट भूमिका थियो । अर्काे तर्फ यही कालखण्डमा नेपालका धेरै युवाहरु विदेश भासिन बाध्य भए । फलतः एकातिर नेपालको अर्थतन्त्र जागिन सक्यो भने अर्काेतर्फ नेपालले विश्वव्यापीकरण, सूचना प्रविधि तथा मिडिया क्षेत्रको तिब्र विकास, शैक्षिक क्षेत्रमा विशिष्ट उपलब्धीहरुसँग साक्षात्कार गर्ने मौका पाए । नेपालीहरुको जीवनस्तर र प्रति व्यक्ति आयमा पनि वृद्धि भई गरिबी निवारणमा पनि तिनै युवाहरुले विदेशमा कमाएको रेमिन्टान्स, सीप र अनुभवको विशिष्ट भूमिका रहेको छ ।
यी सबै दृष्टान्तहरुको पछाडी संकटहरुको स्वागत गर्नुपर्दछ भन्ने मनशाय पक्कै पनि होइन । तर हरेक संकटको कालो बादलमा रहेको चाँदीको घेरो भने पक्कै चिन्नुपर्दछ । त्यसै पनि भनाइ नै छ संकट भनेको सम्पत्तिको पुनर्वितरण मात्र हो । एउटा क्षेत्रको संकटले नै अर्काे क्षेत्रलाई अवसरको ढोका खोलिरहेको हुन्छ । जस्तो कि मानव सभ्यता डिजिटल युगमा पुग्नका लागि कोडाकको रिलमा संकट आउन अनिवार्य थियो भने नोकियाको चिहानमा नै हामीले स्मार्ट फोन चलाउन पाएका थियौं ।
सम्भावनाका ढोकाहरु
अंग्रजीमा एउटा उखान छ ‘जहाँ इच्छा त्यहाँ उपाय’ ! अर्थात एउटा ढोका बन्द हुनु भनेको सयौं अरु सम्भावानाका ढोकाहरु खुल्नु हो । विभिन्न अर्थशास्त्रीहरुको मतमा पनि संकटको बेला पैसा बन्द हुने नभई पैसाको प्राथमिकतामा फेरबदल मात्र हुने हो । जस्तो कि यो महामारीले पनि प्रष्ट रुपमा पर्यटन र मनोरञ्जनबाट मानिसहरुको प्राथमिकता स्वास्थ्य र सूचना प्रविधिमा स्थानान्तरण हुने प्रायः निश्चित छ ।
अंग्रजीमा एउटा उखान छ ‘जहाँ इच्छा त्यहाँ उपाय’ ! अर्थात एउटा ढोका बन्द हुनु भनेको सयौं अरु सम्भावानाका ढोकाहरु खुल्नु हो । विभिन्न अर्थशास्त्रीहरुको मतमा पनि संकटको बेला पैसा बन्द हुने नभई पैसाको प्राथमिकतामा फेरबदल मात्र हुने हो । जस्तो कि यो महामारीले पनि प्रष्ट रुपमा पर्यटन र मनोरञ्जनबाट मानिसहरुको प्राथमिकता स्वास्थ्य र सूचना प्रविधिमा स्थानान्तरण हुने प्रायः निश्चित छ ।
यो महामारीपछि मानिसहरु कठोर आत्मअनुशासनको परिपालना गर्दै भौतिक दूरीका लागि मञ्जुरी प्रदान गर्नेछन् । मानिसहरु सम्पत्तीभन्दा स्वास्थ्यलाई जोड दिनेछन् । यसले गर्दा स्वास्थ्य क्षेत्र जस्तै अस्पताल, स्वास्थ्य केन्द्र, क्लिनिक, स्वास्थ्य प्रयोगशाला, औषधि कम्पनी तथा स्वास्थ्य वीमा कम्पनीहरु आदिको व्यापार सम्भावना बढेर जानेछ ।
भिडभाड युक्त क्षेत्रहरुबाट मानिस तर्सनेछन् भने व्यक्तिगत स्वास्थ्यमा सजग रहनेछन् । यसले गर्दा माक्स, पञ्जा, सेनिटाइजर, साबुन, ट्वाइलेट पेपर, शुद्ध खानेपानी, पानी शुद्धिकरणका साधनहरु, पौष्टिक खाना आदिको क्षेत्रमा नयाँ सम्भावनाहरु सहज हुनेछन् ।
यसका साथै संसारभर सुरक्षाका उपकरणहरुको माग समेत बढेर जानेछ । संक्रमितहरुको खोजीका लागि ट्रेकिङ्ग र ट्रेसिङ्ग उपकरणहरुको प्रयोग बढेर जानेछ । यसका लागि यातायातका साधनहरु तथा सार्वजनिक क्षेत्रहरुमा समेत जिपिएस तथा सिसिटिभीहरुको प्रयोग बढेर जानेछ । अझ भिडभाड हुने क्षेत्रमा अनुहार पहिचान गराउन सक्ने (फेस डिटेक्टर) सिसिटिभीको समेत प्रयोग हुनाले संक्रमितहरु मात्र नभई अपराधीहरु पहिचानमा समेत ठूलो सहयोग मिल्नेछ । यसका कारण अपराध तथा आतंकवाद न्युनिकरणमा समेत सहायता हुनेछ ।
अब उत्पादन हुने नयाँ मोवाइलहरुमा तापक्रम, रक्तचाप, मुटुको चाल, सुगर लेभल आदिको मापन गर्ने सामान्य उपकरणहरु थप गर्न सकिनेछ भने त्यसको दैनिक तथ्यांक नजिकको सरकारी निकायले राख्ने संयन्त्र पनि विकास हुन सक्नेछ । यसले गर्दा जनस्वास्थ्यमा नयाँ फड्को मार्ने विश्वास पनि लिन सकिन्छ ।
अब उत्पादन हुने नयाँ मोवाइलहरुमा तापक्रम, रक्तचाप, मुटुको चाल, सुगर लेभल आदिको मापन गर्ने सामान्य उपकरणहरु थप गर्न सकिनेछ भने त्यसको दैनिक तथ्यांक नजिकको सरकारी निकायले राख्ने संयन्त्र पनि विकास हुन सक्नेछ । यसले गर्दा जनस्वास्थ्यमा नयाँ फड्को मार्ने विश्वास पनि लिन सकिन्छ ।
संसारभर अघिल्लो शताब्दीको अन्त्य तिरदेखि विद्यमान विभिन्न अनलाइन प्ल्याटफर्महरुमा इतिहास कै सबैभन्दा बढि अवसर अहिले सृजना भएको छ । सन् १९९७ मा शुरु भएको नेटफ्लिकमा फिल्म हेर्नेहरु, सन् १९९८ मा स्थापना भएको पेपलबाट कारोबार गर्नेहरु, सन् १९९९ देखि व्यापार थालेको अलिबाबामा सामान अर्डर गर्नेहरु अनि सन् २०११ मा स्थापना भएको जुममा बैठक वा कक्षा चलाउनेहरु सबै यही बीचमा बढेका छन् । सन् १९९० देखि नै संसारभर र नेपालमा समेत दोस्रो जनआन्दोलन पछि भित्रिएको अनलाइन बैंकिङ्ग प्रणालीमा समेत यतिबेला अलिक बढि चासो र प्रयोग बढेको बैंकरहरुले विभिन्न सञ्चार माध्यमहरुमार्फत बताउने गरेका छन् । नेपालमा सन् २००९ मा शुरु भएको इसेवा, २०१७ मा शुरु भएको खल्ती वा २०१८ मा मात्र पाइला राखेको आएमई पे जस्ता पेमेन्ट गेटवेहरुको प्रयोग पनि यही बीचमा बढिरहेको हाम्रै माझमा अनुभव गरिरहेकै छौं ।
विश्व समुदायमा रोजगारीका अवसरहरु गुम्ने चिन्ताहरुका बीचमा संसारको सबैभन्दा पुराना अनलाइन सामान बिक्रेता कम्पनीहरुले विगत एक महिनामा लाखौं नयाँ रोजगारीका अवसरहरु सिर्जना गरेका छन् । अमेजनले यो चार हप्तामा पौने दुई लाख, वालमार्टले डेढ लाख र अलिबाबाले आधा लाख नयाँ कर्मचारीको माग गरेको छ । यसको आधारमा पनि यो संकटबाट मुक्ति भएपछि यिनीहरुको व्यापारबारे पक्कै पनि हामी अनुमान लगाउन सक्छौं ।
अब इन्टरनेट, मोवाइल वा क्युआरकोडबाट बैंङ्गको सुविधा लिने दिशा तर्फ विश्व समुदाय नै लाग्नेछ । चलचित्र हेर्नका लागि युट्युव, नेटफ्लिक्स, आइफ्लिक्स आदिको प्रयोग बढेर जानेछ । जुम, गुगल क्लासरुम, क्यानभास, मुडल, टिम्स, ब्ल्याकबोर्ड आदिजस्ता एप्सहरु कक्षाकोठाको विकल्पका रुपमा स्थापित हुनेछन् । शैक्षिक संस्थाहरुमा स्टडी फ्रम होम जस्तै कार्यालयहरुमा वर्क फ्रम होमको अवधारणा शुरु भइसकेको छ । जसको निरन्तरताले सेवा क्षेत्रमा काम गरिरहेका धेरै कार्यालयहरुले आफ्नो भौतिक कार्यालयहरु बन्द गरी अनलाइन सेवा मात्र प्रदान गर्नेछन् । यसमा अग्रणी स्थानमा बैंक, यातायात क्षेत्रको टिकट काउन्टर, विभिन्न सामानको होम डेलिभरी सेवा आदिले तत्कालै यो क्रमलाई पछ्याउनेछन् । जसरी नर्वेको सेन्ट्रल बस टर्मिनलमा सन् २०१८ देखि नै कुनै पनि बस कम्पनीलाई काउन्टर राख्न नदिने नियम शुरु भएकोमा हाल यसका छिमेकी देशहरुले पनि सोही कार्यलाई पछ्याउन शुरु गरेकाछन् ।
अब हरेक क्षेत्रमा मानिसहरुको कम भन्दा कम सहभागितालाई जोड दिनका लागि ड्रोन डेलिभरी, अनलाइन गेम, मोवाइल एप्सबाटै उजुरी दिन सकिने प्रहरी चौकी, कर तिर्न वा किनबेच गर्न सकिने मालपोत, अनलाइन सिफारिस तयार गरिदिने प्रशासन कार्यालय वा स्थानीय तह आदिको युग आउनेछ । यसका लागि हरेक जनताको आधिकारिक डिजिटल सिग्नेचर बनाएर सोहीका आधारमा आधिकारिकता पहिचान पछि सेवा लिने र दिने दिन पनि धेरै पर पक्कै छैन ।
यसरी मानिसहरुको चहलपहलमा कमि आएपछि विश्वको वातावरण पनि पुनः सफा र सहज हुन थाल्नेछ । यो वसन्तले संसारभर हरियाली र पुष्पाञ्जलीको सृजना गर्नेछ । यसले पृथ्वीलाई केही समयका लागि आराम दिएको छ भने मानव सिर्जित प्रदुषणमा पनि कमि आउन थालेको छ । परिणामतः विश्वव्यवापी लकडाउनका बेला कार्वन उत्सर्जनमा कमि भएका र ओजन तहमा सकारात्मक परिवर्तनहरु देखिन थालेका रिपोर्टहरु आइरहेका छन् ।
अर्काे तर्फ विश्वभरका अर्थराजनैतिक विश्लेषहरुको मत अनुसार अब या त भुमण्डलिकरण (ग्लोबलाइजेशन) को अन्त्य हुनेछ वा यसको केन्द्र पूर्वतर्फ रहनेछ । पहिलो मतका अनुसार अब मानिसहरु स्थानीयतामा बढि सुरक्षित महशुस गर्नेछन् वा बढिमा आपसी सहकार्यमा आधारित अर्ध भूमण्डलीकरणको अभ्यास गर्नेछन् । दोस्रो मतले के मान्दछन् भने यो महामारीका कारण पश्चिमा अर्थतन्त्र मुलतः अमेरिका र युरोप धरासायी हुनुका कारण तथा पूर्विय देशहरुले छिटै महामारीबाट बाहिर निस्कनुले अबको नयाँ भूमण्डलीकरणको तालाचाबी चीन, जापान, भारत, कोरिया, सिंगापुर आदि देशहरुको खल्तीमा हुनेछ । यी दुई मध्ये कुनै पनि परिस्थितीमा पनि नेपाली अर्थतन्त्रलाई भने त्यस अघिको अवस्थामा भन्दा त्राण मिल्नेमा भने शंका छैन। यो कोणबाट पनि नेपालले विचार पुर्याउन सकेमा यसबाट राम्रो फाइदा लिन सकिनेछ ।
साथै हरेक राज्य संयन्त्रहरु यस्ता महामारीसँग लड्नका लागि थप तदारुकताका साथ तयारी अवस्थामा बस्नेछन् । यी सबै तयारीका लागि ठूलो संख्यामा स्वास्थ्यकर्मी, प्राविधिक जनशक्ति तथा विज्ञहरुको आवश्यकता पर्नेछ । यसरी सम्भावनाहरुको अन्त्य हुने होइन नयाँ ढोकाहरु खुल्ने कुरामा कुनै शंका छैन ।
नेपाल कसरी हिस्सेदार बन्न सक्छ ?
माथिल्लो खण्डमा चर्चा गरिएका सम्भावनाका ढोकाहरु के नेपालका लागि खुला छन् त ? निकै र पक्कै गाह्रो छ । हामी बलबल्ल दुई तिहाई मानिसहरुलाई साक्षर बनाउन सकेका नेपालीहरुलाई यी सबै प्रविधिहरुलाई एकै चोटी अंगिकार गर्न पक्कै सहज छैन । सिटामोल र मास्क त भारत र चीनबाट मगाउनु पर्ने हामी स्वास्थ्य सेवा बेचेर फाइदा लिन सक्ने अवस्थामा छैनौं भने पछि पर्यटन क्षेत्रले अहिलेको अवस्थामा माथि उठ्न निकै कसरत गर्नुपर्ने अवस्थामा नेपालका ढोकाहरु बन्द नै भएका हुन् त ? आउनुहोस् केही चर्चा गरौं ।
वास्तवमा नेपाली अर्थतन्त्रको मूल आधार भनेको अब पनि कृषि नै हुनेछ । तर हामीले कृषिको विद्यमान प्रवृत्तिमा भने आमूल परिर्वनको खाँचो यो संकटले मागिरहेको छ । विगतमा हरेक संकटमा हामीलाई बचाएको कृषिलाई अब हामीले यसको संकटबाट बचाउने बेला आएको छ । यसलाई निर्वाहमुखीबाट व्यवसायिक, फोगटेबाट चक्लाबन्दीमा आधारित तथा परम्परागतबाट प्राविधिक रुपान्तरणबाट नै यो सम्भव छ ।
माग र आपूर्तिका आधारहरु तय गरेर कृषिलाई पेशा होइन उद्योगको रुपमा विकास गर्नु जरुरी छ । यसलाई नेपाली उद्योगहरुका लागि कच्चा पदार्थ उत्पादन गर्ने थलोका रुपमा सप्लाई चेनको हिस्सा बनाउनुपर्दछ । तेल उद्योगका लागि तोरी वा सूर्यमुखि, चाउचाउ उद्योगका लागि मैदा र मसला, कपडा उद्योगका लागि कपास र धागो अनि दाना उद्योगका लागि मकै र चना विदेशबाट आयात गरुन्जेल नेपाली उद्योग र कृषिले बाटो बिराइ नै रहनेछ ।
साथै कृषिलाई अब पर्यटन र जडिबुटीसँग जोड्न सकेमा हामी पुनः विश्व बजारमा स्थापित हुन सक्छौं । नेपाल आयुर्वेदको भूमि हो भन्ने संसारले बुझेको छ । तर हामीले नै अरु देशबाट औषधि आयात गर्नुपर्ने अवस्था हाम्रो गौरवमय इतिहासलाई शोभा दिदैन । अब हामीले ति जडिबुटीको बारेमा अध्ययन, अनुसन्धान, उत्पादन, प्रशोधन तथा औषधिका रुपमा बजारिकरण गर्नु जरुरी छ । जडिबुटी प्रयोग गरेर औषधिका अलावा चिया, बिस्कुट, टनिक, पेय पदार्थ, मसला आदि बनाएर पनि संसारलाई बेच्न सकिन्छ ।
अबको पर्यटन भिडभाडमा भन्दा पनि स्वास्थ्य र एकान्तमा केन्द्रीत हुने अवस्था छ । जडिबुटीमा आधारित आयुर्वेदिक रिसोर्टहरु अबको विकल्प हुन सक्छन् । योग, प्राणायम, ध्यान, साधना, आयुर्वेदीक उपचार, सात्विक खाना आदिको आधारमा नै अबको नयाँ क्लालिटी टुरिस्टहरुको नयाँ गन्तव्य नेपालका पहाडी र हिमाली टाकुराहरुलाई बनाउन सकिन्छ । स्वच्छ हावा, प्रकृतिसँग सामिप्यता, आयुर्वेदमा आधारित खानपिन र पूर्विय जीवन शैलीका कारण नै हाम्रो आरोग्यताको कारण हो भनेर बुझाउन अब अप्ठ्यारो पनि पक्कै हुनेछैन । साथै नेपाललाई आयुर्वेदक उपचार र अध्ययन अध्यापनको हव पनि बनाउन सकिन्छ ।
अबको पर्यटन भिडभाडमा भन्दा पनि स्वास्थ्य र एकान्तमा केन्द्रीत हुने अवस्था छ । जडिबुटीमा आधारित आयुर्वेदिक रिसोर्टहरु अबको विकल्प हुन सक्छन् । योग, प्राणायम, ध्यान, साधना, आयुर्वेदीक उपचार, सात्विक खाना आदिको आधारमा नै अबको नयाँ क्लालिटी टुरिस्टहरुको नयाँ गन्तव्य नेपालका पहाडी र हिमाली टाकुराहरुलाई बनाउन सकिन्छ ।
त्यति मात्र होइन अब नेपाली शैक्षिक क्षेत्रमा पनि नयाँ सम्भावनाका ढोकाहरु खुल्नेछन् । नेपालीहरुकको विदेश अध्ययनका हबहरु युरोप, अमेरिका तथा अस्ट्रेलियामा हाल कोरोना आतंक पश्चात नेपालका शैक्षिक प्रतिष्ठानहरुमा अध्ययन गर्ने विद्यार्थीहरु आगामी वर्षहरुमा बढ्नेछन् । यही मौकामा सरकारमा नेपालमा नै नेपाली आवश्यकता अनुसारको शिक्षा र शिक्षा अनुसारका अवसरहरु प्रदान गर्न सके नेपालले अब परनिर्भरताको युगको ढाड पनि भाँच्ने मौका यो बन्न सक्छ ।
कोरोना कहरपछि देश फर्किने हाम्रा युवाहरुलाई देशमा रोक्न र माथि उल्लेखित पर्यटकहरुलाई नेपालमा आकर्षित गर्नका लागि सरकारले भने निकै राम्रो तयारी गर्नुपर्दछ । यसका लागि सरकारले तत्काल पूँजीगत खर्चमा व्यापक वृद्धि गरी जडिबुटी केन्द्रीत कृषिमा ठूलो संख्याका युवाहरुलाई लगाउनु जरुरी छ । यसका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम वा स्वरोजगार कार्यक्रमको सहारा लिन सकिन्छ भने संसद विकास कोष वा विकास बजेटबाटै भए पनि रकमान्तर गरी काम गर्न सकिन्छ । यसले एकातिर बेरोजगारी समस्याको समाधान गर्नेछ भने अर्काे तिर अर्थतन्त्रलाई चलायमान पनि बनाउन सक्नेछ ।
साथै आयात प्रतिस्थापनका लागि जलविद्युत आयोजनाको काम अबिलम्ब सकेर इन्धनमा आत्मनिर्भर हुन सकिन्छ । नेपालको हरियो वनमार्फत नेपालीहरुको जीवनमा बहार ल्याउन सक्ने गरी दीगो उपयोगको नीति पनि ल्याउनु आवश्यक छ । विलाशिताका सामाग्रीहरु जस्तै महंगा गाडी, रक्सी, सुन चाँदी, फर्निचर आदिको आयातमा केही महिना रोक र त्यसपछिका केही वर्ष निरुत्साहित गर्नु पनि जरुरी छ । संसारभर प्रविधिका क्षेत्रमा काम गरिरहेका नेपाली युवाहरुलाई नेपालमा नै कम्पनी खोलेर कार्य गर्नका लागि प्रोत्साहित गर्न सके पनि नेपालले प्राविधिक क्षेत्रमा आएको यो नयाँ बहारको फाइदा लिन सक्नेछ ।
यस प्रकार कोरोनाको महामारी एउटा महाविपत्तीलाई सहजै हामीले सम्पत्तिमा परिवर्तन गर्न सक्ने ल्याकत राख्छौं । यसका लागि विद्यमान वैज्ञानिक आविष्कारसँग हाम्रा जीवनशैली र संस्कार मिलाउन सक्ने योग्यता भने हामीमा पक्कै चाहिन्छ । यी सारा अवसरहरुले हाम्रो ढोका ढकढकाइरहँदा हामी नकारात्कताको अन्धकारमा जकडिएर निदाइरहनु भने पक्कै हुँदैन ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.