‘निर्दयी’ निर्देशिकाले बैंकको नाफा ३५% सम्म घट्न सक्ने, राष्ट्र बैंकलाई साँचो बुझाउनेबारे छलफल

  २०७६ साउन २१ गते १७:३६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ३० बुँदे निर्देशिका जारी गर्यो । त्यसमा बैंकको सीईओ र सञ्चालकको उमेर हद तोक्ने विषय मात्र नयाँ विषय थिए । अधिकांश मौद्रिक नीतिमा आएका विषयलाई प्रष्ट पारिएको थियो ।

तर, निर्देशिकाको बुँदा नम्बर २० बैंकर्सहरुको शब्दमा ‘निर्दयी’ आयो, जसले बैंकहरुको नाफा कम्तिमा २० प्रतिशत र बढीमा ३५ प्रतिशत खोसिदिएको छ । एक बैंकका प्रमुख कार्यकारी अधिकृतले नाम नखुलाउने सर्तमा भने-‘अहिले नै स्प्रेडदर साढे ४ प्रतिशत रहेको हाम्रो बैंकको नाफा २१ प्रतिशतले घट्ने छ ।  सबैभन्दा कम स्प्रेडदर भएका बैंकको २० प्रतिशत र स्प्रेडदर ५ प्रतिशतभन्दा माथि रहेका बैंकको नाफा ३५/३७ प्रतिशतले घट्ने छ ।’

यस्तो छ कारण
बुँदा नम्बर २० व्याजदर अन्तर (स्प्रेडदर) गणनाको विधि उल्लेख गरिएको छ । पुरानो विधिमा सरकारी सुरक्षणपत्रमा गरिएको लगानी समावेश गरिएको थियो भने अहिले सरकारी सुरक्षणपत्रमा गरिएको लगानीलाई समावेश गरिएको छैन ।

राष्ट्र बैंकको नियमअनुसार बैंकहरुले कुल निक्षेपका १८ देखि २० प्रतिशत सरकारी सुरक्षणपत्रमा अनिवार्य लगानी गर्नुपर्छ र त्यसको व्याजदर निकै कम हुन्छ । यसरी सस्तोमा गरिएको लगानीको व्याज आम्दानीलाई स्प्रेडदरमा बाँध्न नपाउने राष्ट्र बैंकको नीतिले बैंकहरुको नाफा घटाउने बैंकर्सको भनाई छ ।

त्यस्तै, विदेशी मुद्रामा ल्याएको निक्षेपको व्याज खर्चलाई पनि स्प्रेडदर निर्धारण विधिमा समाबेश गरिएको छैन । स्प्रेडदर गणना गर्दा स्वदेशी निक्षेप र कर्जा मात्र समावेश गरिएकाे छ । विदेशी मुद्रामा ल्याएको निक्षेप रकम नेपालमा मात्र लगानी गर्न पाइन्छ । यस्ताे कर्जा लगानी गर्दा स्वेदशी मुद्रामा नै हुन्छ । ‘राष्ट्र बैंकको विधिअनुसार नेपाली मुद्रामा प्रवाह गरिएको कर्जाको आम्दानी देखिने भयो, विदेशी मुद्रामा लिएको निक्षेपको व्याज खर्च देखाउन नपाइने भयो’ एक प्रमुख कार्यकारी अधिकृतिले भने ।

यसअघि स्प्रेडदर ४.५ प्रतिशत हुनेपर्ने नियम थियो । नयाँ मौद्रिक नीतिले स्प्रेडदर ४.४ प्रतिशतमा झारेको छ । स्प्रेडदर गणना सम्बन्धी नयाँ विधिपछि वास्तविक स्प्रेडदर साढे ३ प्रतिशत मात्र हुने बैंकर्सको भनाई छ ।

शुन्य दशमलव १ अंकको स्प्रेडदर घटाउने मौद्रिक नीतिप्रति बैंकर्सहरुको सामान्य असन्तुष्टि थियो । तर, स्प्रेडदर गणना विधिमा आएको परिवर्तनपछि बैंकर्सहरुले तिब्र असन्तुष्टि जनाएका छन् ।

मौद्रिक नीतिले स्प्रेडदर ४.४ प्रतिशतमा झारेपछि खुलेकाे सेयर बजार १४ अंकले घटेकाे थियाे । स्प्रेडदर गणना सम्बन्धी नयाँ विधि जारी भएपछि खुलेकाे सेयर बजार १० अंकले घटेकाे छ ।

राष्ट्र  बैंकको नेतृत्वप्रति आक्रोस
राष्ट्र बैंकको नेतृत्वप्रति बैंकर्सहरुले तिब्र असन्तुष्टि जनाएका छन् । ‘राष्ट्र बैंकको नेतृत्व बैंकर्सप्रति प्रतिशोधपूर्ण भावना लिएर प्रस्तुत भयो । बैंकलाई गैरसरकारी संस्थाजस्तो बनाउन खोजियो । राष्ट्र बैंक नेतृत्वले नरुचाएको बैंकका सीईओ, सञ्चालक र अध्यक्षहरुलाई कसरी हटाउने भनेर नीति बन्न थाले’ एक बैंकका सञ्चालकले भने–व्यवासाय गरेर नाफा नै नहुने गाउपालिकामा पनि बैंकले गएर सेवा दिनुपर्ने । नाफामा नियमअनुसार लाग्ने कर तिरेपछि पनि फेरी नाफाको १ प्रतिशत सामाजिक सेवामा खर्च गर्नै पर्ने । सरकारले भनेको क्षेत्रमा नोक्सान भए पनि बैंकले लगानी नै गर्नुपर्ने । यो कस्तो नियम हो ? यो कस्तो देश हो ?’

राष्ट्र बैंक नसच्चिए सबै बैंकहरुले सामूहिक रूपमा राष्ट्र बैंकमा साँचो बुझाउने स्थिति आउने उनले बताए । ‘हामी नयाँ निक्षेप लिन बन्द गर्छौ, कर्जा असुली गर्दै जान्छौं । बैंक बन्द गरेर रेष्टुरेन्ट खोल्छौ, डान्सबार खोल्छौ, क्यासिनो चलाउँछौं’–उनले भने ‘यस्तो काम गर्नेले हिसाव पनि पारदर्शि राख्नु पर्दैन । सामाजिक काममा खर्च पनि गर्नु पर्दैन । नाफा नहुने ठाउँमा शाखा खोल्नु पनि पर्दैन ।’

राष्ट्र बैंक नसच्चिए साँचो बुझाउने गरी बैैंकका अध्यक्ष, सञ्चालक र सीईओहरुबीच अनौपचारिक छलफल चलेको बताइएको छ । निक्षेपमा १० प्रतिशतभन्दा बढी व्याज नदिने बैंकर्स संघको भद्र सहमति पनि तोडिने भएको छ । बैंकर्स संघले बुधबार बस्ने बैठकमा सबै बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाइ बाेलाएकाे छ । यस विषयमा छलफल गर्न सबै बैैंकका अध्यक्षहरूकाे बैठक पनि बस्ने तयारी भइरहेकाे छ ।

सम्बन्धित समाचार

बैंकको आम्दानीमा राष्ट्र बैंकले लगायो थप ४ अंकुस, बैंकर्स भन्छन्-‘अब नाफा घट्छ’

बैंकको व्याजदर घट्दैन, बैंकर्स संघको भद्र सहमति तोडिन्छ-बैंकर्स रत्नराज बज्राचार्यको विश्लेषण

बैंकहरुले अझै १.२ प्रतिशत स्प्रेड घटाउनु पर्ने, मौद्रिक नीतिको यो व्यवस्थाले यसरी घट्दैछ नाफा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.