काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४ औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित कार्यसमितिले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै औपचारिक रूपमा कार्यभार सम्हालेको छ ।
पदभार ग्रहण गरेपछि अध्यक्ष मोहनकुमार डाँगीले आफ्नो कार्यकालका लागि ‘हाम्रो ऊर्जा, हाम्रो भविष्य ः लगानीको सुरक्षा र नीतिगत सुनिश्चितता’ भन्ने मूल नारा सार्वजनिक गरे ।
उनले ‘इप्पान भिजन २०२९’ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र निजी क्षेत्रलाई ऊर्जा उत्पादनमा मात्र सीमित नराखी प्रसारण, वितरण, व्यापार र आन्तरिक खपतमा पनि सहभागी गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष डाँगीले विद्युत् विधेयक र वन विधेयक लगायतका कानुनहरूमा रहेका जटिलता हटाउन सरकार र संसदीय समितिहरूसँग सक्रिय संवाद गर्ने बताए ।
संस्थालाई प्राविधिक रूपमा बलियो बनाउन नेपाल सरकारका पूर्व सचिवहरूको संयोजकत्वमा ७ देखि ९ सदस्यीय प्राविधिक विज्ञ सल्लाहकार समिति गठन गरिने उनको कार्ययोजनामा उल्लेख छ ।
संस्थागत सुधारको पाटोमा इप्पानलाई पूर्ण रूपमा डिजिटलाइज गर्ने घोषणा गरिएको छ । आगामी अधिवेशनदेखि सदस्यहरूले अनलाइनमार्फत मतदान गर्न सक्ने व्यवस्था मिलाइने र प्रत्येक सदस्यलाई आफ्नो डाटा हेर्न युजर नेम र पासवर्ड प्रदान गरिने अध्यक्ष डाँगीले जानकारी दिए ।
इप्पानको आफ्नै अत्याधुनिक भवन निर्माणका लागि कोष संकलन गरिने र जग्गा दान गर्ने दाताहरूको सम्मानमा हल तथा कोठाहरूको नामाकरण गरिने योजना अघि सारिएको छ ।
साथै अबको प्राथमिकता केवल जलविद्युत्मा मात्र नभई सौर्य ऊर्जा, ग्रीन हाइड्रोजन, ब्याट्री स्टोरेज र बायोग्यासमा पनि केन्द्रित हुने उनले बताए ।
सम्बोधनका क्रममा अध्यक्ष डाँगीले निर्वाचनका क्रममा देखिएका वैचारिक भिन्नताहरू समाप्त भएको घोषणा गर्दै अबको कार्यकालमा सम्पूर्ण ऊर्जा उद्यमीहरू एकताबद्ध भएर अगाडि बढ्ने बताए ।
उनले संस्थापक अध्यक्ष स्वर्गीय प्रभाकर शम्शेर जबरालगायत सम्पूर्ण अग्रजहरूको योगदानको कदर गर्दै उनीहरूलाई अभिनन्दन गर्ने कार्यक्रमसमेत सार्वजनिक गरे ।
नयाँ नेतृत्व र १७ बुँदे महत्त्वाकांक्षी कार्ययोजनाले नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको भूमिकालाई थप सशक्त बनाउने र लगानीकर्ताहरूको मनोबल उच्च राख्ने विश्वास डाँगीको छ ।
निवर्तमान अध्यक्ष गणेश कार्कीलाई मुख्य सल्लाहकारको जिम्मेवारी दिइएको छ ।
इप्पानको नयाँ कार्यसमितिले लियो शपथ, डाँगीले सम्हाले नयाँ नेतृत्व