काठमाडौं । कुमारी बैंक लिमिटेडको गौमुल शाखाले ‘परिवार सुरक्षा बचत खाता’ अन्तर्गतको बीमा सुविधाबमोजिम दुर्घटनामा ज्यान गुमाएका खातावालाको परिवारलाई १० लाख रुपैयाँ बीमा दाबी रकम हस्तान्तरण गरेको छ ।
बैंकका अनुसार श्रीमती बना देवी बोहराका श्रीमान्को दुर्घटनाजन्य निधनपछि बीमा दाबी प्रक्रिया पूरा भएसँगै परिवारलाई १० लाख रुपैयाँ बराबरको बीमा रकम प्रदान गरिएको हो । उक्त रकमले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा आर्थिक राहत पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।
कुमारी बैंकले ग्राहकको वित्तीय सुरक्षा र परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनासँग बीमा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ । बैंकका अनुसार ‘परिवार सुरक्षा बचत खाता’ अन्तर्गतको बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक सहयोग पुर्याउनुका साथै भविष्यप्रतिको आर्थिक सुरक्षा भावना बलियो बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।
विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म वित्तीय सेवा र बीमा सुरक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले यस्ता सुविधा सञ्चालन गरिएको बैंकले जनाएको छ । यसले आर्थिक समावेशीकरणलाई थप सुदृढ बनाउँदै आवश्यक समयमा ग्राहक तथा उनका परिवारलाई वित्तीय सहयोग पुर्याउने विश्वास बैंकको छ ।
कुमारी बैंकले विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका देशभर २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ केन्द्रमार्फत लाखौँ ग्राहकलाई सेवा दिइरहेको छ । बैंकले शहरी, अर्धशहरी तथा ग्रामीण क्षेत्रसम्म सहज, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्दै ग्राहकको वित्तीय सुरक्षाका लागि विभिन्न निक्षेप, बीमा तथा अन्य बैंकिङ सेवा सञ्चालन गरिरहेको जनाएको छ ।