काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा निर्जीवन बीमा कम्पनीहरूले ५१ अर्ब ९२ करोड २४ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क संकलन गरेका छन् ।
१४ वटा निर्जीवन बीमक र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले सो बराबरको कुल व्यापार भित्र्याएका हुन् ।
एक वर्षको अवधिमा कुल व्यापारमा मोटर बीमाको हिस्सा सबैभन्दा धेरै रहेको छ । एक वर्षमा कम्पनीहरूले मोटर बीमातर्फ सर्वाधिक १५ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । कुल व्यापारमा मोटर बीमाको हिस्सा २९.८३ प्रतिशत रहेको छ ।
दोस्रो धेरै व्यापार हिस्सा सम्पत्ति बीमामार्फत देखिएको छ । एक वर्षमा बीमा कम्पनीहरूले सम्पत्ति बीमामार्फत १२ अर्ब २२ करोड ७३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । कुल व्यापारमा सम्पत्ति बीमाको हिस्सा २३.५५ प्रतिशत रहेको छ ।
यसैगरी, तेस्रो धेरै व्यापार इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामार्फत भएको देखिन्छ । समीक्षा वर्षमा व्यापार इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामार्फत १० अर्ब ७ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन संकलन भएको छ । कुल व्यापारमा इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमाको हिस्सा १९.४१ प्रतिशत रहेको छ ।
त्यसैगरी, बीमा कम्पनीहरूले विविध बीमातर्फ ५ अर्ब ३२ करोड ३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । जुन कुल व्यापारको यस क्षेत्रको हिस्सा १०.२५ प्रतिशत देखिन्छ ।
कुल व्यापारमा सामुन्द्रिक बीमाको हिस्सा ६.१ प्रतिशत रहेको छ । समीक्षा वर्षमा सो क्षेत्रबाट बीमा कम्पनीहरूले ३ अर्ब १२ करोड २४ लाख रुपैयाँ व्यवसाय भित्र्याएका छन् ।
त्यस्तै हवाई बीमाको हिस्सा ४.९४ प्रतिशत रहेको छ । बीमा कम्पनीहरूले हवाई बीमामार्फत २ अर्ब ५६ करोड ५७ लाख रुपैयाँ संकलन गरेका छन् ।
समीक्षा वर्षमा कृषि बीमामार्फत बीमा कम्पनीहरूले १ अर्ब ७८ करोड ९७ लाख रुपैया, र लघु बीमाबाट १ अर्ब ३३ करोड १४ लाख रुपैयाँ संकलन गरेका छन् ।
कुल व्यापारमा कृषि बीमाको हिस्सा ३.४५ प्रतिशत र लघु बीमाको २.५६ प्रतिशत हिस्सा रहेको छ ।
