बागमती नदीमा घट्न थाल्यो पानीको बहाव

काठमाडौं । अहिले काठमाडौंस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव सतर्कता तहभन्दा कम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आइतबार (आज) अपराह्न सतर्कता तह पार गरेपछि विभागले नदी आसपास बसोबास गर्ने सर्वसाधरणलाई सोमबार बिहानसम्मका लागि सतर्कता अपनाउन आग्रह गरे पनि तत्कालका लागि बाढीको जोखिम हटेको छ । 

विभागका अनुसार आज अपराह्न गौरीघाटमा बागमती नदीको पानीको सतह २.४१ मिटर पुगेको थियो । जुन नदीको पानीको तह २.१ मिटरमाथि सतर्कता तह हो । 

विभागको बाढीविद् सरस्वती विष्टले नदीको बहाव घट्दो क्रममा रहेकाले चिन्ता दिन नपर्ने बताए ।

 ‘अहिले उक्त नदीको जलसतह सतर्कता तह कम छ, जलसतह घटेर २ दशमलव २ मिटर नदीमा जल सतह पुगिसक्यो,’ उनले भने । 

विभागका अनुसार बागमती नदीको पानीको सतह २.७ मिटर पुगेमा खतरा तह पार गर्नेछ । 

विभागले नदी किनार, डुबान भइरहने बस्ती तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई अनावश्यक आवतजावत नगर्न, आवश्यक परे सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ ।
 

Share News