लेबलविहीन, मिसावटयुक्त र तस्करीका सामान बेच्नेलाई कारबाही गरिने

काठमाडौं । बजारमा लेबल नभएका, न्यून गुणस्तरका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका सामानको बिक्री–वितरण बढ्दै गएको भन्दै सरकारले यस्ता गैरकानुनी व्यापारिक गतिविधिमा संलग्न व्यवसायीमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना जारी गर्दै कानुनविपरीत व्यापार गर्ने व्यक्ति वा संस्थालाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको हो ।

विभागका अनुसार पछिल्लो समय भौतिक बजारसँगै अनलाइन प्लेटफर्ममार्फत समेत दैनिक उपभोगका खाद्यवस्तु, पेय पदार्थ, लत्ताकपडा लगायतका सामग्री अवैध रूपमा बिक्री भइरहेको भन्ने उजुरी र जनगुनासो बढेपछि सरकारको गम्भीर ध्यानाकर्षण भएको हो ।

जारी सूचनामा उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ ले उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै मिसावट गर्ने, चोरी पैठारीका सामान बिक्री गर्ने, लेबलविहीन तथा न्यून गुणस्तरका वस्तु बजारमा ल्याउने जस्ता कार्य कानुनअनुसार दण्डनीय रहेको उल्लेख गरिएको छ ।

मन्त्रालयको स्वच्छ बजार नीति अनुरूप विभागले उत्पादन, पैठारी, ढुवानी, भण्डारण तथा बिक्री–वितरणमा संलग्न सबै व्यवसायीलाई कानुनले तोकेका दायित्व, मापदण्ड र सर्तहरूको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।

विभागले आगामी दिनमा बजार अनुगमनलाई थप प्रभावकारी र तीव्र बनाइने जनाएको छ । 

उपभोक्ताको स्वास्थ्य र अधिकारमाथि खेलबाड गर्ने तथा कानुन उल्लंघन गर्ने कुनै पनि व्यवसायीलाई प्रचलित कानुनबमोजिम हदैसम्मको कारबाही गरिने चेतावनी पनि विभागले दिएको छ ।

Share News