काठमाडौं । चर्चित सेफ सन्तोष साहको पक्राउलाई लिएर उनको सचिवालय तथा मिथिला थाली व्यवस्थापनले ४ लाख ५० हजारका लागि षड्यन्त्रपूर्वक पक्राउ गरेको जनाएको छ ।
साह सोमबार बेलुका हिरासतमुक्त भएसँगै उनको सचिवालयले प्रेस विज्ञप्ति जारी गरेको हो ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख दिलीप घिमिरेका अनुसार पीडित भनिएकी शकुन्तला अधिकारी थापाको पक्षसँग लेनदेन मिलेर चेक बमोजिमको रकम प्राप्त भइसकेपछि साह र सोही रेस्टुरेन्टका अर्का सञ्चालक नारायण साह सुडीलाई रिहा गरिएको हो ।
साहको पक्राउलाई लिएर उनको सचिवालय तथा मिथिला थाली व्यवस्थापनले एक प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
साहलाई जुन ढंगले हतार मानसिकतामा पक्राउ गरिएको छ, त्यो निन्दनीय रहेको र यसले उनको जीवनभरको मान–प्रतिष्ठामा आँच पुर्याउने नियोजित उद्देश्य राखेको दाबी विज्ञप्तिमा गरिएको छ ।
विज्ञप्तिका अनुसार यो विवाद सेफ साहले काठमाडौंको गैरीधारामा सञ्चालन गरेको मिथिला थाली रेस्टुरेन्ट खरिदको कारोबारसँग जोडिएको हो । तत्कालीन समयमा त्यहाँ आर्जव होल्डिङ्स प्रालिले सिला नामक रेस्टुरेन्ट सञ्चालन गरिरहेको तर ऋण र भाडा तिर्न नसकी बन्द हुने अवस्थामा पुगेपछि मिथिला थालीले उक्त रेस्टुरेन्टको सम्पूर्ण सम्पत्ति २ करोड २५ लाख रुपैयाँमा खरिद गर्ने सम्झौता गरेको थियो ।
सम्झौताअनुसार मिथिला थालीले आर्जव होल्डिङ्सका तर्फबाट घरभाडा बक्यौताबापतको ४० लाख रुपैयाँ र विद्युत् महसुलबापतको २ लाख ७७ हजार ९९७ रुपैयाँ सम्बन्धित पक्षलाई भुक्तानी गरी सहजीकरण गरिदिएको थियो । साथै आर्जव होल्डिङ्सले नेपाल बैंकबाट लिएको ऋणको किस्ता र विभिन्न मितिको चेकबापतको रकम समेत मिथिला थालीले नै भुक्तानी गर्दै आएको स्पष्ट पारिएको छ ।
पछिल्लो समय सञ्चारमाध्यममा चर्चा भएको २५ लाख रुपैयाँको विषयलाई भ्रमपूर्ण भन्दै विज्ञप्तिमा वास्तविक बैंकिङ तथ्य फरक रहेको उल्लेख छ ।
आर्जव होल्डिङ्सकै नबिल बैंकको खातामा दुईवटा चेकमार्फत १७ लाख, लक्ष्मी सनराइज बैंकमा दुईवटा चेकमार्फत ६ लाख र नेपाल बैंक लिमिटेडमा चारवटा चेकमार्फत ५ लाख २५ हजार गरी भुक्तानी गर्नुपर्ने रकमभन्दा बढी कुल २८ लाख २५ हजार रुपैयाँ बैंकिङ प्रणालीमार्फत भुक्तानी भइसकेको दाबी गरिएको छ ।
आर्जव होल्डिङ्सकी प्रतिनिधि दाबी गर्ने शकुन्तला थापाले पटक–पटक आफ्नो व्यक्तिगत खातामा भुक्तानी माग गरे पनि मिथिला थालीले सम्झौताअनुसार नै कम्पनीका नाममा भुक्तानी गर्दै आएको तर सोबापत हालसम्म आर्जव होल्डिङ्सका तर्फबाट कुनै बिल र कर चुक्ता कागजात प्राप्त नभएको आरोप लगाइएको छ ।
जम्मा ४ लाख ५० हजार रुपैयाँका लागि पक्राउ गराइएको विज्ञप्तिमा खुलाइएको छ । काठमाडौं जिल्ला अदालतले उक्त रकम भुक्तानी गर्नुपर्ने भनी गरेको फैसलाका विरुद्ध उच्च अदालत जाने हदम्याद बाँकी छँदै अकस्मात षड्यन्त्रपूर्वक साहलाई प्रहरी हिरासतमा लिइएको भन्दै व्यवस्थापनले आपत्ति जनाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले शाहलाई धनुषाबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो । थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी परिसर, भद्रकालीमा बुझाइएको थियो ।
प्रहरीले यसै प्रकरणमा सोही रेष्टुरेन्टका अर्का सञ्चालक नारायण साह सुडीलाई पनि पक्राउ गरेको थियो ।
गैरीधारास्थित रेष्टुरेन्टसँग सम्बन्धित विवादमा थापाले मुद्दा दर्ता गराएकी थिइन् ।
सेफ साहविरुद्ध वैशाख २३ गते पक्राउ पुर्जी जारी, एक महिनापछि पक्राउ