नेता ज्ञवालीको आग्रह– आन्तरिक विवादभन्दा राष्ट्रिय मुद्दामा ध्यान दिऔं

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले मुलुकका राजनीतिक दलहरू आन्तरिक समस्या र मतभेदमा व्यस्त भइरहेका बेला मुख्य राष्ट्रिय मुद्दाहरू ओझेलमा पर्न नहुने बताएका छन् ।

ज्ञवालीले नेपाली कांग्रेस र एमालेजस्ता लोकतान्त्रिक पार्र्टीहरूभित्र नीति, निर्णय, संगठन, शैली र नेतृत्वसम्बन्धी मतभिन्नता देखिनु अस्वाभाविक नभएको उल्लेख गर्दै यस्ता विषयहरू विधिसम्मत ढङ्गबाट समाधान हुने अपेक्षा व्यक्त गरेका छन्। 

उनका अनुसार पार्टीभित्रका आन्तरिक विवादलाई संस्थागत प्रक्रियाबाट समाधान गर्दै एकता सुदृढ गर्नुपर्ने आवश्यकता छ।

उनले हाल देश ‘गम्भीर भूराजनीतिक भुँवरी’ तर्फ धकेलिँदै गएको भन्दै मुख्य राष्ट्रिय मुद्दाहरूमा गम्भीर ध्यान दिनुपर्नेमा जोड दिएका छन्। 

उनका अनुसार सीमा क्षेत्रमा चिया निर्यात रोकिँदा हजारौं श्रमिक र उद्यमी प्रभावित भएका छन् भने सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरू अझै अस्थायी अवस्थामै रहेको अवस्था छ ।

त्यसैगरी, धान रोपाइँको समयमा मल अभाव, बढ्दो महँगी र समग्र आर्थिक दबाबले जनजीवन प्रभावित भइरहेको उनले टिप्पणी गरेका छन्।

ज्ञवालीले प्रधानमन्त्री र सरकारको कार्यशैलीप्रति पनि आलोचनात्मक टिप्पणी गर्दै सरकार ‘आत्मरतिमा रमाइरहेको’ र विभिन्न वर्गप्रति असंवेदनशील देखिएको आरोप लगाएका छन्। 

उनले राष्ट्रपति संस्था, संसद, मतदाता, संवैधानिक निकाय तथा राष्ट्रसेवकहरूप्रति सम्मान घट्दै गएको संकेत गर्दै लोकतान्त्रिक मूल्य कमजोर हुँदै गएको दाबी पनि गरेका छन्।

उनका अनुसार दलहरू आफ्ना आन्तरिक बहसमा केन्द्रित भइरहेका बेला यस्ता राष्ट्रिय मुद्दा र जनताका सरोकारहरू अझ बढी प्राथमिकतामा आउन आवश्यक छ।

Share News