काठमाडौं । टिकटकमा नग्न अवस्थामा लाइभ बस्न बाध्य पार्ने र पैसा माग्न लगाउने दुई जना पक्राउ परेका छन् ।
काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार उदयपुर, बेलका नगरपालिका–६ घर भएकी काठमाडौं तारकेश्वर नगरपालिका–११ शेषमती बस्ने ३६ वर्षीया पूर्णिमा राई र काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका–१ घर भएका काठमाडौं तारकेश्वर नगरपालिका–११ शेषमती बस्ने ३० वर्षीय सञ्जय तामाङ पक्राउ परेका हुन् ।
तामाङ र राईले महिलाको अश्लील फोटो तथा भिडियो बनाएर विभिन्न व्यक्तिलाई पठाउने गरेका थिए । क्युआर कोडमार्फत रकम असुल्ने गरेका थिए ।
उनीहरूलाई महिलालाई बन्धक बनाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए । उनीहरूले परिवर्तित नाम वृत्त बालाजु ०८२/०८३ (५२) लाई पैसाको प्रलोभनमा पारी नग्न अवस्थामा टिकटक लाइभ गर्न लगाउने गरेका थिए ।
विभिन्न किसिमका डर, त्रास र धाकधम्की देखाई पीडितको नग्न फोटो तथा भिडियो तयार गरी ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिहरूलाई पठाउने गरेका थिए । क्युआर कोड प्रयोग गरेर रकम माग्ने गरेका थिए ।
यस्तै, पीडितलाई आफ्नै डेरा कोठामा बन्धक बनाई तामाङले जबर्जस्ती करणी गरेको आरोपसमेत रहेको भट्टराईले उल्लेख गरेका छन् ।
मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बताए ।