काठमाडौं । बैंकिङ कसुर र ठगी मुद्दामा मुछिएका सेफ सन्तोषकुमार साह र उनका दाजु नारायण साह सुडीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको एक महिनापछि मात्र प्रहरीले नियन्त्रणमा लिएको पाइएको छ ।
गत वैशाख २३ गते नै अदालतबाट पक्राउ पुर्जी अनुमति लिएको प्रहरीले उनीहरूलाई एक महिनापछि मात्रै पक्राउ गरेको हो ।
गत महिनाको जेठ २९ गते (शुक्रबार) धनुषाबाट पक्राउ परेका उनीहरूलाई शनिबार काठमाडौं ल्याइएपछि हाल काठमाडौं जिल्ला परिसरको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको छ ।
सोमबार जिल्ला अदालत काठमाडौंले साहलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।
पक्राउ पुर्जी जारी भएको एक महिनापछि मात्र किन पक्राउ गरियो भन्ने प्रश्नमा काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख दिलिप घिमिरेले प्रहरीले लगातार खोजतलास गरे पनि फेला पार्न नसकेका कारण समय लागेको जानकारी दिए ।
‘विभिन्न ठाउँमा खोजी गर्दा फेला पार्न नसकेर साहलाई पक्राउ गर्न समय लागेको थियो । पक्राउ पुर्जी जारी हुनसाथ प्रहरीले साह दाजुभाईको खोजी सुरु गरेको थियो, अन्य कुनै कारण नभई फेला नपर्दा नियन्त्रणमा लिन ढिलाइ भएको हो,’ परिसर प्रमुख घिमिरेले स्पष्ट पारे ।
सकुन्तला अधिकारी थापाको जाहेरीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साह दाजुभाइलाई धनुषाबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली बुझाएको थियो।
गैरीधाराको रेष्टुरेण्ट र त्यसको लेनदेनको विषयलाई लिएर उनीहरूविरुद्ध बैंकिङ कसुर र ठगीको मुद्दा परेको हो ।
माछापुच्छ्रे बैंक लिमिटेड र कम्पनी रजिष्ट्रारको कार्यालयको पत्रमार्फत प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।
उनीहरूलाई पक्राउ नगरे मुद्दा सम्बद्ध प्रमाणहरू लोप वा नाश गर्न सक्ने आशंकामा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ को उपदफा २ बमोजिम प्रहरी निरीक्षक राजेश शाहीले अदालतबाट पक्राउको अनुमति लिएका थिए ।
प्रहरीले यस प्रकरणमा चार जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो, जसमा ४८ वर्षीय दिलिप कुमार साह, ४१ वर्षीय सन्तोष कुमार साह, ४६ वर्षीय रामहित साह र नारायण साह सुढी रहेका छन् ।
सेफ साह नेपाली खाना र मिथिला संस्कृतिलाई विश्वमाझ चिनाउने अभियानमा सक्रिय थिए । उनले सन् २०२१ मा बीबीसी मास्टर सेफको उपाधि जितेर चर्चामा आएका थिए ।