साढे १२ लाख बढीले भरे चन्द्रागिरी हिल्सको आईपीओ, अब भर्न नपाइने

  २०७७ पुष २८ गते १७:५५     विकासन्युज

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले जारी गरेको प्राथमिक सेयर (आईपीओ) मा साढे १२ लाख बढी आवेदकले आवेदन दिएका छन् । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार मंगलबार (पुस २८ गते) सम्ममा १२ लाख ५१ हजार ९३८ जना आवेदकले सेयर भरेका हुन् ।

कम्पनीको सेयरमा आवेदन दिने अन्तिम दिनसम्ममा २ करोड ४४ लाख २९ हजार ८४० कित्ता अर्थात २ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर माग भएको छ । जुन कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा साढे १७ गुणा बढी हो । कम्पनीले सर्वसाधारणमा १३ लाख ९६ हजार २२ कित्ता सेयर निष्काशन गरेको थियो ।

कम्पनीले गत पुस २४ गतेदेखि १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ बिक्रीमा राखेको हो । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको थियो । र, बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता सेयरमा सर्वसाधारणमा निष्काशन गरेको हो ।

चन्द्रागिरी हिल्समा लगानी गर्दा उचित प्रतिफल पाइने, यस्ता छन् कम्पनीका भावी योजना

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको थियो । उक्त सेयरमा इच्छुक आवेदकले १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था रहेको थियो ।

यससँगै आईपीओ जारी पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयलाई प्रतिसेयर एक सय रुपैयाँको ३ लाख ६ हजार ८१९ कित्ता सेयर निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ । साथै, उक्त सेयर बाँडफाँड गर्दा सेयर हात पारेका स्थानीयले भने कम्पनीले जारी गर्न लागेको दोश्रो चरणको सेयरको लागि आवेदन दिन पाउने व्यवस्था थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.