ज्योति विकास बैंक धादिङ्गको गल्छीमा, साना लघुकर्जादेखि ठुला औधोगिक कर्जा प्रदान गरिने
काठमाडौं । ज्योति विकास बैंकले धादिङ्गको गल्छीमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गरेका छन् । सो अवसरमा बैंकका अध्यक्ष खड्काले यस बैंकले आधुनिक बैकिङ्ग सेवा देशैभरी विस्तार गर्ने क्रममा व्यवसायिक दृष्टिकोणले भविष्य बोकको गल्छीमा शाखा ल्याएको बताएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले साना लघुकर्जा देखि ठुला औधोगिक कर्जा प्रवाह गरिने बताएका छन् । हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । साथै, यसै आर्थिक वर्ष भित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको बैंकले जनाएको छ ।
१७ सय सरकारी कर्मचारी कारवाहीमा पर्दै
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले समयमा कार्यालय नआउने र पोशाक नलगाउने करीब एक हजार ६६८ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेकोे छ । केन्द्रले आर्थिक वर्ष २०७४/७५ मा ८१९ कार्यालयको अनुगमन गर्दा समय पालना नगर्ने र पोशाक नलगाउने एक हजार ६६८ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरिएको केन्द्रका सहायक प्रवक्ता डोलनाथ अर्यालले जानकारी दिए । उनका अनुसार कारवाहीको सिफारिसमा परेकामध्ये समय पालना नगर्ने एक हजार ११९ जना र पोशाक नलगाउने ५४९ जना रहेका छन् । कारवाही सिफारिसमा परेकामध्ये सिंहदरबारभित्र रहेका मन्त्रालयका कर्मचारी सबैभन्दा बढी रहेका छन् । उपसचिवसमेत रहेका अर्यालका अनुसार सिंहदरबारका ४३ वटा कार्यालयमा गरिएको अनुगमनमा १८८ जना समय पालना नगर्ने र २८० जना पोशाक नलाउने परेका छन् । समय पालना नगर्ने र पोशाक नलगाउने कर्मचारीलाई सम्बन्धित कार्यालय प्रमुखलाई कारवाही गर्न निर्देशन दिइएको बताइएको छ । उनका अनुसार स्पष्टीकरण सोध्ने, सचेत गराउने र नसिहत दिनेसम्मका कारवाही गर्न सिफारिस गरिएको बताए । रासस
बोनस र हकप्रद सेयरमा लाभकर विवादः के गर्दैछ अध्ययन समिति ?
काठमाडौं । बोनस र हकप्रद सेयरमा अंकित चुक्ता मूल्यलाई आधार मानेर लाभकर लगाउने वा नलगाउने भन्नेबारे अध्ययन गर्न गठित समितिले आफ्नो काम अन्तिम चरणमा पुर्याएको छ । जेठ २२ गते गठित समितिको बैठक ३ पटक बसेको छ भने अब सेयर बजारका लगानीकर्ताहरुसँग छलफल गरेर प्रतिवेदन तयार पार्ने चरणमा पुगेका समितिका एक सदस्यले बताए । ‘हामीले तीन पटक छलफल गरेका छौं, अब लगानीकर्ताहरुसँग छलफल गरेर प्रतिवेदन बुझाउँछौं’, समितिका सदस्यले भने । श्रोतका अनुसार धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले समायोजीत मूल्यमा कर लगाउन सुझाव दिएका छन् । तर अर्थमन्त्रालयका अधिकारीहरु भने आफ्नो निर्णयमा अडिक जस्तै देखिएका छन् । ‘धितोपत्र बोर्ड, नेप्से र सिडिएसको उस्तै खालेको सुझाव आएको छ, अर्थमन्त्रालयका प्रतिनिधी भने आफ्नो पूर्ववत निर्णयकै पक्षमा देखिएका छन’, समितिका ती सदस्यले भने । आन्तरिक राजश्व विभागले जेठ १८ गते पत्र काटेर २० गते देखिको सेयर कारोबारमा बोनस र हकप्रद सेयरमा अंकित चुक्ता मूल्यलाई आधार मानेर ७.५ प्रतिशत लाभकर असुल्न भनेको थियो । आन्तरिक राजश्व विभागको पत्रपछि लगानीकर्ताहरुले सेयर बजार बन्द गरेर आन्दोलन सुरु गरेपछि अर्थमन्त्रालयले जेठ २२ गते वित्तिय व्यवस्थापन महाशाखा प्रमुख उत्तर कुमार खत्रीको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो । समितिमा मन्त्रालयको राजश्व व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव रामशरण पुडासैनी, आन्तरिक राजश्व विभागका महानिर्देशक बिष्णुप्रसाद नेपाल, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सिडिएस क्लियरिङ हाउस लिमिटेडका प्रतिनिधी सदस्य रहेका छन् । समितिले आवश्यकता अनुसार सेयर बजारका लगानीकर्तासँग पनि छलफल गर्ने अधिकार पाएको छ । तर तीन पटक बैठक बसेको भए पनि हालसम्म लगानीकर्तासँग भने छलफल गरिएको छैन् । ‘हामीले अनौपचारिक रुपमा आफ्ना कुरा समिति समक्ष पुर्याईरहेका छौं, औपचारिक छलफलका लागि बोलावट हुन्छ भन्ने सन्देश पाएका छौं’, सेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा प्रसाद फुल्लेलले भने ।नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले मूल्य समायोजनपछि हुने नाफामा मात्रै लाभकर असुल्न अर्थमन्त्रालय सकारात्मक रहेको संकेत आफुहरुले पाएको धारणा राखे । समितिले बुझाएको अध्ययन प्रतिवेदनका आधारमा अर्थमन्त्रालयले बोनस र हकप्रद सेयरमा लाभकर निर्धारण सम्बन्धी आफ्नो निर्णयमा पुनर्विचार गर्ने वा यथावत राख्ने भन्ने निर्णय गर्नेछ ।
स्थानीय सरकारले भाईभतिजालाई करारमा जागिर खुवाउन पाउँदैनन्: मन्त्री लालबाबु पण्डित
बिराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले असार मसान्तभित्र सबै स्थानीय निकायमा कर्मचारी खटाईसक्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्थानीय तहमा अपुग रहेका पाँच प्रतिशत कर्मचारी असार मसान्तसम्ममा पुगेर नागरिकको सेवामा लागिसक्ने बताएका हुन् । मन्त्री पण्डितले दरबन्दीअनुसार स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत शतप्रतिशत, अधिकृतस्तरका ९५ प्रतिशत कर्मचारीले तोकिएको स्थानमा कार्य गरिरहेको बताउँदै केही खरदार र सुब्बासरहका कर्मचारीमात्र अपुग रहेको जानकारी दिए । सरकारले खटाएको ठाउँमा जानुबाहेक कर्मचारीसँग अर्को विकल्प नभएको भन्दै मन्त्री पण्डितले क्यान्सर, मुटुका बिरामी र सुत्केरी वा सुत्केरी हुन लागेकाबाहेक अन्य सबै कर्मचारीले तोकिएको स्थानमा कार्य गरी जनताको सेवा गर्नुपर्नेमा जोड दिए । मन्त्री पण्डितले कर्मचारी अभावका कारण कोही कसैले संघीयतामाथि प्रश्न उठाउनु गलत भएको बताउँदै संघीयता कार्यान्वयनमा शुरुवात भएको बुझ्नु पर्नेमा जोड दिए । उनले ट्रेड युनियनमा रहेका कर्मचारीलाई काज फिर्ता गरी कार्यमा खटाइएको बताउँदै अब कर्मचारीले हाजिर गरेर मन्त्रालयमा बस्ने कार्यमा कुनै छुट नदिने बताए । मन्त्री पण्डितले सबै कर्मचारीका लागि एउटा ट्रेड युनियन निर्माण गर्ने सम्बन्धमा आवश्यक मस्यौदा कानून मन्त्रालय पठाएको जानकारी दिए । मन्त्री पण्डितले निर्वाचित जनप्रतिनिधि वा अन्य कसैले भाइभतिजालाई करार, ज्यालादारी कर्मचारीको नियुक्ति गर्ने कार्य रोक्नुपर्ने बताउँदै संघीय सरकारले आवश्यक प्राविधिक कर्मचारी स्थानीय निकायमा केही समयका लागि करारमा नियुक्ति पठाउने स्पष्ट पारे । संघीय सरकारले प्रदेशिक लोक सेवा चाँडै नै स्थापना गरी माण्डदण्डअनुसारको राष्ट्रसेवक कर्मचारी चयन गरिने दावी गरे । रासस
वीरगन्ज महानगरले ल्यायाे ४ अर्ब ९४ करोडकाे बजेट, वडा सदस्यद्वारा कार्यक्रम बहिस्कार
काठमाडौं । वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि रु चार अर्ब ९४ करोड ३१ लाख ७७ हजारको अनुमानित बजेट प्रस्तुत गरिएको छ । वीरगन्ज नगर सभागृहमा आज महानगरपालिकाले आयोजना गरेको दोस्रो नगर परिषद्मा आगामी आवका लागि उपप्रमुख शान्ति कार्कीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । आगामी आवका लागि चालूतर्फ रु एक अर्ब ४४ करोड ७९ लाख ९ हजार, पूँजीगत खर्चतर्फ रु तीन अर्ब ५१ करोड ४३ लाख ८५ हजार र वित्तीय व्यवस्थापनतर्फ रु एक करोड ५८ लाख ८३ हजार बजेट विनियोजन गरिएको छ । चालू खर्चमा २९.१ प्रतिशत, पूँजीगत खर्चमा ७०.०६ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ ०.३ प्रतिशत बजेट विनियोजित गरिएको छ । पूर्वधार निर्माण, स्वास्थ्य, शिक्षा, कृषि तथा व्यापारमैत्री नीति अवलम्बन गर्दै करका नयाँ दर लागू गरिएको महानगरपालिकाका प्रमुख विजय सरावगीले जानकारी दिए । वडा सदस्यद्वारा कार्यक्रम बहिस्कार महानगरको आव २०७५/७६ को बजेट, नीति तथा कार्यक्रमको १२७ मध्ये १०१ वडा सदस्यले बहिष्कार गरेका छन् । वडाध्यक्षले पाउने सेवा सुविधा सरह आफूहरुले पनि पाउनु पर्ने माग राख्दै कार्यक्रमको विरोध गरेको वडा नं ५ का वडा सदस्य सुरज कुर्मीले बताए । मासिक तलब रु १० हजार हुनुपर्ने, मासिक १० वटा बैठक हुनुपर्ने, औषधोपचार भत्ता, बीमा, मोटरसाइकल सुविधा, मासिक १० लिटर पेट्रोल तथा वडाको बजेटमा ६० प्रतिशत वडा सदस्यले खर्च गर्न सकिने गरी कार्यक्रम ल्याउन वडा सदस्यले माग गरेका छन् । हाल वडा सदस्यले प्रतिमहिना पाँचवटा बैठकमा भाग लिनुका साथै रु सात हजार मासिक तलब पाउँदै आएका छन् । रासस
विराटनगर महानगरपालिकाको बजेट ४ अर्ब ४७ करोड, प्राथमिकतामा भौतिक विकास
काठमाडौं । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि रु चार अर्ब ४७ करोड आठ लाख ४९ हजार आयव्ययसहितको बजेट आइतबार सार्वजनिक गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितद्वारा दोस्रो नगरसभाको उद्घाटनका अवसरमा उक्त बजेट सार्वजनिक गरिएको हो । सो अवसरमा महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरपालिको रु दुई अर्ब ५२ करोड ८३ लाख ४९ हजार र एशियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना र क्षेत्रीय शहरी विकास परियोजनाको रु एक अर्ब ९४ करोड २५ लाख गरी जम्मा रु चार अर्ब ४७ करोड आठ लाख ४९ हजारको बजेट प्रस्तुत गरेका हुन् । महानगरपालिकाको आन्तरिक स्रोतबाट रु ५४ करोड तीन लाख, राजश्व बाँडफाटबाट रु ३७ करोड पाँच लाख, संघीय र प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट रु ५३ करोड ८७ लाख, विषयगत कार्यालय रु ४४ करोड ९६ लाख, संघीय सरकार समपूरक र विशेष अनुदानबाट रु १० करोड, संघीय सरकार सर्त अनुदान रु ३६ करोड १५ लाख, वैदेशिक र अन्य संघसस्था अनुदान रु चार करोड ४६ लाख ५० हजार, जनसहभागिताबाट रु तीन करोड ५० लाख, नगर विकास कोष ऋण सहयोग रु एक करोड ८० लाख, मौज्दात रु सात करोडसहित जम्मा रु दुई अर्ब ५२ करोड ८३ लाख ४९ हजार आय हुने अनुमान गरिएको छ । त्यस्तै चालु खर्चका लागि रु ३३ करोड ६८ लाख ५२ हजार, सामाजिक सुरक्षा भत्ता रु २० करोड, भौतिक पूर्वाधारका लागि रु तीन अर्ब २५ करोड तीन लाख ३३ हजार, वातावरण तथा सरसफाइ, विपद् व्यवस्थापन, सूचना तथा प्रविधि व्यवस्थापन, संस्थागत विकास, सेवा प्रवाह र सुशासनका लागि रु पाँच करोड ९३ लाख ३० हजार र सामाजिक विकास, महिला तथा बालबालिका, स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपक्षी कार्यक्रमका लागि नेपाल सरकारको सर्त अनुदान समेत रु ६२ करोड ४३ लाख ३४ हजार विनियोजन गरिएको छ । प्रमुख पराजुलीले प्रदेशको राजधानीका लागि विराटनगरको भौतिक विकासलाई प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम ल्याएको बताउँदै अब विराटनगर ‘सफा सुन्दर, सुरक्षित र सक्षम हुने दावी गरे । शहरी, बाढीपीडित जनताको व्यवस्थापन, खोला नियन्त्रण, सूचना प्रविधि तथा पर्यटनको विकासमा बजेटले विशेष जोड दिएको छ । रासस
एनएमबी बैंकको एफपीओलाई संस्थागत लगानीकर्ताले नि पत्याएनन्, सञ्चय कोष पछि हट्यो !
काठमाडौं । संस्थागत लगानीकर्ताले पनि एनएमबी बैंकको थप निष्कासन (एफपीओ) मा चासो देखाएका छैनन् । संस्थागत लगानीकर्तालाई खुला गरेपनि हालसम्म बीमा, म्युचअल फण्ड र केही इन्भेष्टमेन्ट कम्पनी गरी ५२ संस्थाले २२ करोड रुपैयाँको एफपीओ मात्र खरिदका लागि आवेदन दिएका छन् । संस्थागत लगानीकर्ताले चासो नदेखाएपछि प्रत्याभूतिकर्ता (अण्डरराइटर) ले सकार्नुपर्ने अवस्था आउने संकेत देखिएको छ । लगानीको सीमा हटाएर ५० लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गर्दा पनि बिक्री हुन सकेको छैन् । धितोपत्र बोर्डले मंगलबार धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकामा संशोधन गरेर अधिकतम् सीमा हटाएपछि बैंकले एफपीओ खरिदको अधिकतम सीमा बढाएर ५० लाख कित्ता पुर्याएको छ । कर्मचारी संचय कोषले एफपीओ खरिद गर्ने बताए पनि संस्थापक नभएकाले पछि हटेको बुझिएको छ । संचय कोषका प्रशासक तुल्सी गौतमले एनएमबीको सेयर किन्ने विषयमा कुरा नै नभएको बताएका छन् । असार २८ गतेसम्म पनि एफपीओ बिक्री नभए एक पटक संस्थापक लगानीकर्ता अवसर पाउने र त्यसपछि पनि बिक्री नभए अण्डरराइटले सकार्ने छन् । नागरिक लगानी कोषका अतिरित्त ग्लोबल आईएमई क्यापिटल लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र आरआरबी मर्चेन्ट बैंकिङ लिमिटेडले सकार्ने छन् । आइतबारसम्म २ अर्ब ४० करोडा रुपैयाँ बराबरका लागि आवेदन परेको बिक्री प्रवन्धक नागरिक लगानी कोषले जानकारी दिएको छ । ६० हजार आवेदकबाट ७२ लाख ७ हजार २०७ कित्ताका लागि आवेदन परेको कोषले जनाएको छ । बैंकले प्रतिकित्ता ३३३ रुपैयाँमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गरेको हो । एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र एनआईसी एसिया म्युचअल फण्डले एफपीओका लागि आवेदन दिएको निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषका सेयर विभाग प्रमुख रोशनजंग कार्कीले बताए । हालसम्म नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले एफपीओ खरिदका लागि वुधबार नै आवेदन दिएका थिए । उनकाअनुसार सानिमा म्युचअल फण्ड, एनआईबीएल म्युचअल फण्ड, लक्ष्मी म्युचअल फण्डले समेत एफपीओ किन्न आवेदन दिएका छन् । बीमा कम्पनी र म्युचअल फण्डले न्युनतम २५ हजारदेखि १ लाख कित्तासम्मका लागि आवेदन दिएको कार्कीले बताए । पहिलो ४ दिनमा पनि बिक्री नभएपछि सोमबारदेखि संस्थागत लगानीकर्तालाई खुला गरिएको हो । एफपीओ ढिलोमा असार २८ गते निष्कासन बन्द हुने कोषले जानकारी दिएको छ । बैंकले चुक्तापुँजी बढाउन १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरी ३३३ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । एफपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुग्ने जानकारी दिएको छ । बैंकको सेयर मूल्य पनि निरन्तर गिरावट आएको छ । आइतबार बैंकको प्रतिकित्ता ३४९ रुपैयाँमा कारोबार भएको छ । एफपीओ निष्कासन भएपछि निरन्त रुपमा बैंकको सेयर मूल्य घटेको छ । एफपीओको भन्दा बजार मूल्य १६ रुपैयाँ मात्र बढी छ । महंगो मूल्यमा सेयर बेचेर एफपीओ किन्न लाग्दा बजार पनि घटेको हो ।
नेप्से सामान्य अंकले उक्लियो, २० करोडको सेयर कारोबार
काठमाडौं । आइतबारको नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ । सो दिन कारोबार खुलेदेखि बजार बढ्दो क्रममा रहेको थियो । तर दिनभर बढीरहेको बजार करिब २ बजेपछि पुन ओरालो लागेको छ । अन्तत बजार बन्द हुँदा परिसूचक १.३५ अंकले बढेर १२१९ अंकमा पुगेको छ । बजारमा १६७ कम्पनीको २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड रुपैयाँ बराबरको प्रमोटर सेयर बिक्री भएको छ । आइतबार यस कम्पनीको सेयर मूल्य ६९० रुपैयाँ रहेको छ ।
तरलतामा राष्ट्र बैंक र बैंकरको जुहारी, किन घट्यो अन्तर बैंक ब्याजदर ?
काठमाडौं । असार सुरु भएयता बैंकिङ प्रणालीमा तरलता बढेपछि अन्तर बैंक ब्याजदर २.६ प्रतिशतमा झरेको छ । बैंकमा अधिक तरलता भएपछि अन्तर बैंक ब्याजदरमा भारी गिरावट आएको हो । आइतबार बैंकिङ प्रणालीमा ४३ अर्ब रुपैयाँ अधिक तरलता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अन्तर बैंक ब्याजदर घटेपछि राष्ट्र बैंकले आज आइतबार मुद्धति निक्षेप उपकरणबाट बैंकबाट १० अर्ब रुपैयाँ उठाउदै छ । केन्द्रीय बैंकले ३ प्रतिशत ब्याजमा बैंकबाट सो रकम उठाउन लागेको हो । यो रकम असार २४ गते आइतबार परिपक्व हुनेछ । असारमा विकास गतिविधी बढी हुने भएकाले सरकारको खर्च बढी हुदा बैंकिङ प्रणालीमा तरलता बढ्ने गरेको छ । असार लागेपछि बैंकिङ प्रणालीमा पैसा छ्यालब्याल भएको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । तरलता बढेर अन्तर बैंक ब्याजदर तल्लो बिन्दुमा पुगेपछि आज आइतबार बजारबाट पैसा तान्न लागेको उनले बताए । बजारमा तरलता बढेकाले बैंकले निक्षेप र कर्जा दुबैको ब्याजदर घटाउनु पर्ने उनको भनाई छ । अन्तर बैंक ब्याजदर औसत २.८ प्रतिशत रहेको उनले बताए । केन्द्रीय बैंकले यसअघि ३ पटक गरे झण्डै ८ अर्ब रुपैयाँ बजारबाट उठाइसकेको छ । यता सेञ्चुरी कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तुल्सीराम गौतम बाहिर हल्ला भएको जस्तो तरलताको अवस्था सहज नभएको बताउछन् । बजारमा सुनिएको जस्तो बढेको पनि छैन र अप्ठेरो पनि नभएको उनले जानकारी दिए । “राष्ट्रिय वाणिज्य बैंकलगायत अन्य केही बैंकमा बढी भएको होला तर हाम्रो बैंकमा त्यस्तो अवस्था छैन्” उनले भने । खर्च हुने अन्तिम महिना भएकाले बढ्ने उनको भनाई छ । मुद्धतिको ब्याजदर बढेर १२.५ प्रतिशत नाघेपछि राष्ट्र बैंकको दवावमा बैंकहरुले भद्र सहमति गरेका छन् । जसअनुसार व्यक्तिगत मुद्धतिमा ११ र संस्थागत १० प्रतिशत कायम गरेका छन् । यस्तै साधारण वचतमा ७ प्रतिशत दिने भएका छन् । ब्याजदर करिडोर नीतिअन्र्तगत अन्तर बैंक ब्याजदर ५ प्रतिशत कटेपछि केन्द्रीय बैंकले बजारमा पैसा पठाउने र बढी भएमा उठाउने गर्छ ।
सिन्धु विकास बैंकको साधारणसभा असार ३१ मा, २ करोड ८० लाखको बोनस सेयर स्वीकृत गर्ने
काठमाडौं । सिन्धु विकास बैंकको ८ औं वार्षिक साधारणसभा असार ३१ गते धुलिखेलमा बस्ने भएको छ । सभामा बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर स्वीकृति गर्नेछ । बैंकले लगानीकर्तालाई २ करोड ८० लाख ८० हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने छ । यसैगरी बैंकले चितवन र मकवानपुर जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । बीमा अभिकर्ताको काम पनि सुरु गर्ने, उपर्युत बैंक तथा वित्तीय संस्थासंग मर्जर र एक्विजिसनमा जानका लागि चल अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्याँकन (डीडीए) गर्नका लागि सभाले सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ करोड आईपीओ निष्कासन गर्ने, साधारणसभामा प्रस्ताव लैजादै
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन स्वीकृतिका लागि कम्पनीले असार ३१ गते पहिलो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । २ अर्ब १० करोड रुपैयाँ अधिकृत पुँजी रहेको रिलायन्समा हाल प्रवद्र्धकको तर्फबाट १ अर्ब ४७ करोड रुपैयाँ लगानी भएको छ । बाँकी आईपीओबाट संकलन गर्ने छ । सञ्चालक समितिको गत शुक्रबार बसेको ४८ औं बैठकले आईपीओ निष्कासन गर्ने प्रस्ताव सभामा पेश गर्ने निर्णय गरेको थियो । सभाले सञ्चालक समितिको निर्वाचन पनि गर्ने छ । कम्पनीले मंसिर १ गतेदेखि औपचारिक रुपमा जीवन बीमा व्यवसाय सुरु गरेको हो ।
प्रुडेन्सियल इन्स्योरेन्सको ४२औं शाखा बानेश्वरमा, १२८ करोड बीमा संकलन गर्न सफल
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नयाँ शाखा काठमाडौंको बानेश्वरमा खोलेको छ । उक्त कम्पनीको यो ४२औं शाखा हो । यस नयाँ शाखाको उद्घाटन यही असार ८ गते कम्पनीका कम्पनीका नायब महाप्रवन्धक तुल्सी नारायण मानन्धरले गरेका छन् । यस सहित इन्स्योरेन्सले ४२ वटा शाखा कार्यालयहरुबाट मोटर बीमा, अग्नी बीमा, सामुन्द्रिक बीमा, स्वास्थ्य बीमा, बाली तथा पशु बीमा तथा लघु बीमाको सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले हालसम्म १२८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरिसकेको बताएको छ ।
एनएमबी बैंकको अझै १ अर्ब ४५ करोडको एफपीओ बिक्री हुन बाँकी
काठमाडौं । एनएमबी बैंकको थप निष्कासन (एफपीओ) मा २ अर्ब ३५ करोड रुपैयाँको आवेदन परेको छ । ५८ हजार ३०० आवेदकबाट ७० लाख ५७ हजार ५७ कित्ता एफपीओका लागि आवेदन परेको हो । बैंकको अझै १ अर्ब ४५ करोड १२ लाख रुपैयाँको आईपीओ बिक्री हुन बाँकी छ । बैंकले प्रतिकित्ता ३३३ रुपैयाँमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गरेको छ । एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ । हालसम्म ४८ संस्थागत लगानीकर्ताले २२ करोड रुपैयाँको एफपीओ खरिद गर्नका लागि आवेदन दिएका छन् । धितोपत्र बोर्डले मंगलबार धितोपत्र निष्कासन तथा बाँडफाँड निर्दे्िशकामा संशोधन गरेर अधिकतम् सीमा हटाएपछि बैंकले एफपीओ खरिदको अधिकतम सीमा बढाएर ५० लाख कित्ता पुर्याएको छ । आइतबारसम्म आईपीओ बिक्री नभएपछि सोमबारदेखि संस्थागत लगानीकर्तालाई खुला गरिएको हो । एफपीओ ढिलोमा असार २८ गते निष्कासन बन्द हुने कोषले जानकारी दिएको छ । एफपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुग्ने जानकारी दिएको छ ।
४ करोड रुपैयाँ लिएर व्यापारी मुकेश साह फरार
काठमाडौं । बैंक तथा व्यापारीहरुको करोडौँ रुपैयाँ लिएर वीरगञ्ज घण्टाघरका व्यापारी मुकेश साह तेली फरार भएका छन् । मीनाबजार छेउमा रहेको नेपाल टेलिकम कार्यालयको पूर्वतर्फ शम्भु केशरीको घरमा किराना सामानको थोक पसल सञ्चालन गर्दै आएका मुकेश गत जेठ २० गतेदेखि बैंक तथा व्यापारीको करोडौँ रुपैयाँ लिएर परिवारसहित फरार भएका छन् । मुकेशले वीरगञ्जको ग्लोवल आइएमई बैंकको रु एक करोड ३० लाख र अन्य थुप्रै व्यापारीको रु तीन करोड गरी रु चार करोड रुपैयाँ लिएर फरार भएको पर्सा प्रहरीले जनाएको छ । ग्लोवल आइएमई बैंकले मुकेशले सञ्चालन गरेको पसलको सटर तथा निजको घरमा सिलबन्दी गरी सेक्युरिटी गार्ड खटाइएको छ । फरार रहेका मुकेशको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस
एफपीओबाट उठाएको ४९५ करोड रुपैंयाँ यसरी लगानी गर्दैछ नेपाल बैंक, कुन क्षेत्रमा कति ?
काठमाडौं । नेपाल बैंकले थप निष्कासन (एफपीओ) बिक्रीबाट संकलन हुने रकम कर्जा र शाखा विस्तारमा लगानी गर्ने भएको छ । बैंकले प्रतिकित्ता २८० रुपैयाँमा १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गर्दैछ । एफपीओबाट प्राप्त भएको रकम सबै लगानीमा जाने बैंकका महाप्रवन्धक दुर्गाराज रेग्मीले बताए । बैंकले एफपीओमा भएको लगानीबाट थप आम्दानी गर्ने उनले जानकारी दिए । एफपीओबाट बैंकले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ संकलन गर्नेछ । सो मध्ये ८५ प्रतिशत अर्थात ४ अर्ब २० करोड ८९ रुपैयाँ कर्जा तथा सापटीमा लगानी गर्ने भएको छ । यस्तै १० प्रतिशत अर्थात ४९ करोड ५१ लाख लगानी, ३ प्रतिशत शाखा विस्तार अर्थात १४ करोड ८५ लाख रुपैयाँ खर्च हुने बैंकले जनाएको छ । अन्य कामका लागि ९ करोड ९० लाख अन्य क्षेत्रमा खर्च गर्ने बैंकले जनाएको छ । बैंकले पुँजीगत आधार अझ मजवुत बनाउन बैंकले प्रिमियम मूल्यमा एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने छ । बैंकको चुक्तापुँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । बैंकमा सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत स्वामित्व छ । एफपीओ निष्कासनपछि बैंकमा सरकारी स्वामित्व ६२.२१ बाट घटेर ५१ प्रतिशत कायम हुने छ । यस्तै सर्वसाधारणको ४९ प्रतिशत हिस्सा रहने छ । यसमध्ये एफपीओबाट प्रवेश गर्नेको स्वामित्व १७ प्रतिशत हुनेछ । बैंकले ९ महिनामा २ अर्ब ५६ करोड रुपैयाँ खुदनाफा गरेको छ । बैंकले आउदो शुक्रबार अर्थात असार १५ गतेदेखि एफपीओ निष्कासन गर्दैछ ।
३ मिनेट अघि लञ्च ब्रेक खाएपछि जापानी कर्मचारीको तलब काटियो, नेपालमा कहिले ?
काठमाडौं । निर्धारित समय भन्दा ३ मिनेट अघि लञ्ज ब्रेक(दिउँसोको खाना) खाएपछि जापानमा कर्मचारीको तलब काटिएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका तोकिएको समय भन्दा ३ मिनेट अघि नै लञ्च खान निस्किएपछि एक कर्मचारीको तलब काटिएको हो । जापानको कोबे शहरमा खानेपानी अफिसमा कार्यरत एक कर्मचारीले तेकिएको समय भन्दा ३ मिनेट अघि नै लञ्जका लागि निस्केको फेला परेपछि आधा दिनको तलब काटिएको हो । कर्मचारीले ७ महिनाम २६ दिनसम्म तोकिएको समय भन्दा अघि नै लञ्ज ब्रेक लिएका थिए । जापानमा १ बजे लञ्ज ब्रेकका लागि समय तोकिएको छ । १ बजे भन्दा ३ मिनेट अघि नै कार्यालय छाडेर निस्केपछि ६४ बर्षिय ती कर्मचारीको आधा दिनको तलब काटिएको हो । समय भन्दा अघि नै लञ्जमा निस्किने कर्मचारीलाई कारवाही गरेपछि खानेपानी कार्यालयका हाकिमले पत्रकार सम्मेलन गरेरै माफी मागेका थिए । आफ्ना कर्मचारीले नागरिकलाई सेवा दिन कञ्जस्याई गरेर कानुनको उल्लंघन गरेको भन्दै माफी मागेका हुन् । कोबे शहरको यो घट्नाले जापानमा काम गर्ने संस्कृति कस्तो छ भन्ने सन्देश संसारभर फैलिएको छ ।
बिहीबार मात्रै ७ कम्पनीको एक करोड ५५ लाख कित्ता सेयर सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न ७ कम्पनीको एक करोड ५५ लाख कित्ता सेयर सूचिकृत भएको छ । बिहीबार मात्रै ७ कम्पनीको बोनस र हकप्रद गरी सो मात्राको सेयर सूचिकृत भएको हो । सो मध्ये सबैभन्दा बढी हकप्रद सेयर सूचिकृत भएको छ । सो दिन ६ कम्पनीको एक करोड ५१ लाख कित्ता हकप्रद नेप्सेमा थपिएका छन् । त्यस्तै, एक कम्पनीको ३ लाख ९७ हजार ८०० कित्ता बोनस सेयर सूचिकृत भएको छ । सेयर सूचिकृत गर्ने मध्येमा ५ कम्पनी विकास बैंक रहेका छन् भने बाँकी २ बीमा कम्पनी रहेका छन् । सेयर सूचिकृत गर्ने ७ कम्पनी:
पाँच इन्स्योरेन्स कम्पनीलाई १०/१० हजार जरिवाना, लाइसेन्स नविकरण पनि भएन
काठमाडौं । समयमै वित्तिय विवरण पेश नगरेपछि बीमा समितिले पाँच वटा बीमा कम्पनीलाई जरिवाना गर्ने भएको छ । समितिले एलआईसी नेपाल, नेशनल लाईफ इन्स्योरेन्स, राष्ट्रिय बीमा संस्थान, राष्ट्रिय बीमा कम्पनी लगायतका पाँच वटा कम्पनीलाई जरिवाना गर्न लागेको हो । यी कम्पनीहरुले आर्थिक बर्ष २०७३/७४ को लेखा परिक्षणसहितको वित्तिय विवरण बुझाएका छैनन् । बीमा ऐनको दफा २५ मा लेखा परिक्षणसहितको वित्तिय विवरण आर्थिक बर्ष सकिएको १० महिना भित्र पास गरिसक्नुपर्ने व्यवस्था छ । यी कम्पनीहरुले बैशाख मसान्तभित्र लेखा परिक्षणसहितको वित्तिय विवरण पास गरिसक्नुपर्ने थियो । यसरी विवरण पास गरेपछि ५० हजार शुल्क तिरेर बीमकको लाइसेन्स नविकरण हुने व्यवस्था छ । समयमै वित्तिय विवरण पास गराउन नसकेपछि यी कम्पनीहरुको लाइसेन्स समेत नविकरण भएको छैन् । बीमा ऐनको दफा ११(क)मा समयमै वित्तिय विवरण पास गराउन नसके बीमकको प्रमाणपत्र नविकरण नहुने व्यवस्था छ । ऐनको दफा ३६ अनुसार यी कम्पनीहरुलाई ३ हजारदेखि १० हजारसम्म जरिवाना हुने व्यवस्था छ । ‘पाँच वटा कम्पनीहरुको लेखा परिक्षणसहितको वित्तिय विवरण स्वीकृत भएको छैन्, अब कानुन अनुसार ३ देखि पाँच हजार रुपैंयाँ जरिवाना तिराउँछौं’, बीमा समिति उच्च श्रोतले भन्यो । समिति श्रोतका अनुसार यी कम्पनीहरुले अहिलेसम्म लेखा परिक्षणसहितको विवरण पेश पनि गरेका छैनन् । समितिमा विवरण पेश गरेपछि बल्ल समितिले त्यसको अध्ययन गरेर परिमार्जन आवश्यक देखिएमा पूनः फिर्ता पठाउने गरेको छ ।
एनएमबी बैंकको २ अर्ब ३० करोड एफपीओका लागि आवेदन, ४८ संस्थागत लगानीकर्ताले २२ करोड किन्ने
काठमाडौं । एनएमबी बैंकको थप निष्कासन (एफपीओ) मा २ अर्ब ३० करोड रुपैयाँको आवेदन परेको छ । ५७ हजार ५०० आवेदकबाट ६९ लाख ६ हजार ९०६ कित्ता एफपीओका लागि आवेदन परेको हो । बैंकले प्रतिकित्ता ३३३ रुपैयाँमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गरेको हो । एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ । बिहीबारसम्म एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र एनआईसी एसिया म्युचअल फण्डले एफपीओका लागि आवेदन दिएको निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषका सेयर विभाग प्रमुख रोशनजंग कार्कीले बताए । उनकाअनुसार ४८ संस्थागत लगानीकर्ताले २२ करोड रुपैयाँको एफपीओ खरिद गर्नका लागि आवेदन दिएका छन् । बुधबार १८ करोड रुपैयाँको थियो । बिहीबार ४ करोड रुपैयाँ थप भएको छ । हालसम्म नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले एफपीओ खरिदका लागि वुधबार नै आवेदन दिएका थिए । उनकाअनुसार सानिमा म्युचअल फण्ड, एनआईबीएल म्युचअल फण्ड, लक्ष्मी म्युचअल फण्डले समेत एफपीओ किन्न आवेदन दिएका छन् । बीमा कम्पनी र म्युचअल फण्डले न्युनतम २५ हजारदेखि १ लाख कित्तासम्मका लागि आवेदन दिएको कार्कीले बताए । धितोपत्र बोर्डले मंगलबार धितोपत्र निष्कासन तथा बाँडफाँड निर्दे्शिकामा संशोधन गरेर अधिकतम् सीमा हटाएपछि बैंकले एफपीओ खरिदको अधिकतम सीमा बढाएर ५० लाख कित्ता पुर्याएको छ । आइतबारसम्म आईपीओ बिक्री नभएपछि सोमबारदेखि संस्थागत लगानीकर्तालाई खुला गरिएको हो । एफपीओ ढिलोमा असार २८ गते निष्कासन बन्द हुने कोषले जानकारी दिएको छ । बैंकले चुक्तापुँजी बढाउन १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरी ३३३ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । एफपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुग्ने जानकारी दिएको छ ।
शिवम् सिमेन्टले २ अर्ब २ करोडको आईपीओ निष्कासन गर्दै, धितोपत्र बोर्डले दियो अनुमति
काठमाडौं । निजी क्षेत्रको शिवम् सिमेन्ट्स लिमिटेडले साधारण सेयर ( आइपीओ) निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बिहिबार शिवम्लाई प्रिमियम मूल्यमा २ अर्ब २ करोड रुपैयाँको आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । उद्योगले आयोजना प्रभावित स्थानीयबासिन्दालाई २ प्रतिशतले हुन आउने ८ लाख ८० हजार र सर्वसाधारणका लागि १० प्रतिशतले ४४ लाख गरी कुल ५२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डले अनुमति दिएको हो । आईपीओको मूल्य आयोजना प्रभावितलाई प्रतिकित्ता ३०० रुपैंया तोकिएको छ । यस्तै सर्वसाधारणका लागि ४०० रुपैंयाँ तोकिएको बोर्डले जानकारी दिएको छ । स्थानीयबासिन्दालाई २६ करोड रुपैयाँ र सर्वसाधारणलाई १ अर्ब ७६ करोड रुपैयाँको आईपीओ निष्कासन हुने छ । पूँजीबजारमा मुख्यत बैंक तथा वित्तीय क्षेत्रको मात्र हिस्सा भएकोमा पछिल्लो समयमा वास्तविक क्षेत्रका कम्पनीहरुको सहभागिता बढेको बोर्डले जानकारी दिएको छ । उत्पादनशील क्षेत्रका कम्पनीलाई करमा विशेष छुट दिने व्यवस्था गरेको र बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ लागु गरी प्रिमियम सहितको मूल्यमा सार्वजनिक निष्काशन गर्न सकिने र जारी पूँजीको न्यूनतम १० प्रतिशतमात्र सार्वजनिक निष्काशन गरे पुग्ने व्यवस्था गरेपछि शिवम्ले आईपीओ निष्कासन गर्न लागेको हो ।उद्योगले दैनिक ३ हजार टन उत्पादन गर्दै आएको छ । इक्रा नेपाल लिमिटेडले क्रेडिट रेटिङ्ग ग्रेड ३ प्लस प्रदान गरेका छ । ।