स्थानीय सरकारले भाईभतिजालाई करारमा जागिर खुवाउन पाउँदैनन्: मन्त्री लालबाबु पण्डित

<p>बिराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले असार मसान्तभित्र सबै स्थानीय निकायमा कर्मचारी खटाईसक्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्थानीय तहमा अपुग रहेका पाँच प्रतिशत कर्मचारी असार मसान्तसम्ममा पुगेर नागरिकको सेवामा लागिसक्ने बताएका हुन् । मन्त्री पण्डितले दरबन्दीअनुसार स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत शतप्रतिशत, अधिकृतस्तरका ९५ प्रतिशत कर्मचारीले [&hellip;]</p>

बिराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले असार मसान्तभित्र सबै स्थानीय निकायमा कर्मचारी खटाईसक्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्थानीय तहमा अपुग रहेका पाँच प्रतिशत कर्मचारी असार मसान्तसम्ममा पुगेर नागरिकको सेवामा लागिसक्ने बताएका हुन् ।

मन्त्री पण्डितले दरबन्दीअनुसार स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत शतप्रतिशत, अधिकृतस्तरका ९५ प्रतिशत कर्मचारीले तोकिएको स्थानमा कार्य गरिरहेको बताउँदै केही खरदार र सुब्बासरहका कर्मचारीमात्र अपुग रहेको जानकारी दिए ।

सरकारले खटाएको ठाउँमा जानुबाहेक कर्मचारीसँग अर्को विकल्प नभएको भन्दै मन्त्री पण्डितले क्यान्सर, मुटुका बिरामी र सुत्केरी वा सुत्केरी हुन लागेकाबाहेक अन्य सबै कर्मचारीले तोकिएको स्थानमा कार्य गरी जनताको सेवा गर्नुपर्नेमा जोड दिए ।

मन्त्री पण्डितले कर्मचारी अभावका कारण कोही कसैले संघीयतामाथि प्रश्न उठाउनु गलत भएको बताउँदै संघीयता कार्यान्वयनमा शुरुवात भएको बुझ्नु पर्नेमा जोड दिए ।

उनले ट्रेड युनियनमा रहेका कर्मचारीलाई काज फिर्ता गरी कार्यमा खटाइएको बताउँदै अब कर्मचारीले हाजिर गरेर मन्त्रालयमा बस्ने कार्यमा कुनै छुट नदिने बताए ।

मन्त्री पण्डितले सबै कर्मचारीका लागि एउटा ट्रेड युनियन निर्माण गर्ने सम्बन्धमा आवश्यक मस्यौदा कानून मन्त्रालय पठाएको जानकारी दिए ।

मन्त्री पण्डितले निर्वाचित जनप्रतिनिधि वा अन्य कसैले भाइभतिजालाई करार, ज्यालादारी कर्मचारीको नियुक्ति गर्ने कार्य रोक्नुपर्ने बताउँदै संघीय सरकारले आवश्यक प्राविधिक कर्मचारी स्थानीय निकायमा केही समयका लागि करारमा नियुक्ति पठाउने स्पष्ट पारे ।

संघीय सरकारले प्रदेशिक लोक सेवा चाँडै नै स्थापना गरी माण्डदण्डअनुसारको राष्ट्रसेवक कर्मचारी चयन गरिने दावी गरे ।
रासस

Share News