काठमाडौं । असार सुरु भएयता बैंकिङ प्रणालीमा तरलता बढेपछि अन्तर बैंक ब्याजदर २.६ प्रतिशतमा झरेको छ । बैंकमा अधिक तरलता भएपछि अन्तर बैंक ब्याजदरमा भारी गिरावट आएको हो । आइतबार बैंकिङ प्रणालीमा ४३ अर्ब रुपैयाँ अधिक तरलता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अन्तर बैंक ब्याजदर घटेपछि राष्ट्र बैंकले आज आइतबार मुद्धति निक्षेप उपकरणबाट बैंकबाट १० अर्ब रुपैयाँ उठाउदै छ ।

केन्द्रीय बैंकले ३ प्रतिशत ब्याजमा बैंकबाट सो रकम उठाउन लागेको हो । यो रकम असार २४ गते आइतबार परिपक्व हुनेछ । असारमा विकास गतिविधी बढी हुने भएकाले सरकारको खर्च बढी हुदा बैंकिङ प्रणालीमा तरलता बढ्ने गरेको छ ।
असार लागेपछि बैंकिङ प्रणालीमा पैसा छ्यालब्याल भएको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । तरलता बढेर अन्तर बैंक ब्याजदर तल्लो बिन्दुमा पुगेपछि आज आइतबार बजारबाट पैसा तान्न लागेको उनले बताए । बजारमा तरलता बढेकाले बैंकले निक्षेप र कर्जा दुबैको ब्याजदर घटाउनु पर्ने उनको भनाई छ । अन्तर बैंक ब्याजदर औसत २.८ प्रतिशत रहेको उनले बताए । केन्द्रीय बैंकले यसअघि ३ पटक गरे झण्डै ८ अर्ब रुपैयाँ बजारबाट उठाइसकेको छ ।
यता सेञ्चुरी कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तुल्सीराम गौतम बाहिर हल्ला भएको जस्तो तरलताको अवस्था सहज नभएको बताउछन् । बजारमा सुनिएको जस्तो बढेको पनि छैन र अप्ठेरो पनि नभएको उनले जानकारी दिए । “राष्ट्रिय वाणिज्य बैंकलगायत अन्य केही बैंकमा बढी भएको होला तर हाम्रो बैंकमा त्यस्तो अवस्था छैन्” उनले भने । खर्च हुने अन्तिम महिना भएकाले बढ्ने उनको भनाई छ ।
मुद्धतिको ब्याजदर बढेर १२.५ प्रतिशत नाघेपछि राष्ट्र बैंकको दवावमा बैंकहरुले भद्र सहमति गरेका छन् । जसअनुसार व्यक्तिगत मुद्धतिमा ११ र संस्थागत १० प्रतिशत कायम गरेका छन् । यस्तै साधारण वचतमा ७ प्रतिशत दिने भएका छन् । ब्याजदर करिडोर नीतिअन्र्तगत अन्तर बैंक ब्याजदर ५ प्रतिशत कटेपछि केन्द्रीय बैंकले बजारमा पैसा पठाउने र बढी भएमा उठाउने गर्छ ।