
काठमाडौं । निजी क्षेत्रको शिवम् सिमेन्ट्स लिमिटेडले साधारण सेयर ( आइपीओ) निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बिहिबार शिवम्लाई प्रिमियम मूल्यमा २ अर्ब २ करोड रुपैयाँको आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।
उद्योगले आयोजना प्रभावित स्थानीयबासिन्दालाई २ प्रतिशतले हुन आउने ८ लाख ८० हजार र सर्वसाधारणका लागि १० प्रतिशतले ४४ लाख गरी कुल ५२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डले अनुमति दिएको हो ।
आईपीओको मूल्य आयोजना प्रभावितलाई प्रतिकित्ता ३०० रुपैंया तोकिएको छ । यस्तै सर्वसाधारणका लागि ४०० रुपैंयाँ तोकिएको बोर्डले जानकारी दिएको छ । स्थानीयबासिन्दालाई २६ करोड रुपैयाँ र सर्वसाधारणलाई १ अर्ब ७६ करोड रुपैयाँको आईपीओ निष्कासन हुने छ ।
पूँजीबजारमा मुख्यत बैंक तथा वित्तीय क्षेत्रको मात्र हिस्सा भएकोमा पछिल्लो समयमा वास्तविक क्षेत्रका कम्पनीहरुको सहभागिता बढेको बोर्डले जानकारी दिएको छ ।
उत्पादनशील क्षेत्रका कम्पनीलाई करमा विशेष छुट दिने व्यवस्था गरेको र बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ लागु गरी प्रिमियम सहितको मूल्यमा सार्वजनिक निष्काशन गर्न सकिने र जारी पूँजीको न्यूनतम १० प्रतिशतमात्र सार्वजनिक निष्काशन गरे पुग्ने व्यवस्था गरेपछि शिवम्ले आईपीओ निष्कासन गर्न लागेको हो ।उद्योगले दैनिक ३ हजार टन उत्पादन गर्दै आएको छ । इक्रा नेपाल लिमिटेडले क्रेडिट रेटिङ्ग ग्रेड ३ प्लस प्रदान गरेका छ ।
।