नेपाल बैंकका कर्मचारी र ग्राहकलाई ओम हस्पिटलमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबीच स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, उनीहरूका परिवार तथा बैंकमा खाता रहेका ग्राहकहरूले ओम हस्पिटलमा उपचार गराउँदा बिल रकममा ५ देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडका तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्रराज काफ्ले र ओम हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) यमबहादुर महतले हस्ताक्षर गरे । यस सम्झौतासँगै नेपाल बैंकका कर्मचारी, कर्मचारीका परिवार तथा बैंकका खाताधनी ग्राहकहरूलाई गुणस्तरीय र सहुलियतपूर्ण स्वास्थ्य सेवामा सहज पहुँच हुने विश्वास गरिएको छ ।
देशको अर्थतन्त्र: मूल्यवृद्धि ऋणात्मक, कर्जा विस्तार सुस्त
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ५ महिनामा अर्थतन्त्रका सूचकहरू सकारात्मक रहेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार समग्र आर्थिक अवस्था क्रमशः सुदृढ बन्दै गएको देखिएको छ । घट्दो मुद्रास्फीति, बलियो विदेशी मुद्रा सञ्चिति र बढ्दो विप्रेषणले अर्थतन्त्रमा सकारात्मक संकेत देखिए पनि राजस्व र खर्चबीचको अन्तर तथा कर्जा विस्तारको गति भने सुस्त देखिएको छ । राष्ट्र बैंकका अनुसार मंसिरसम्ममा मुद्रास्फीति १.६३ प्रतिशतमा सीमित भएको छ । कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ, जुन अमेरिकी डलरमा २२ अर्ब १३ करोड बराबर हो । यस्तो सञ्चिति १८.२ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । व्यापारतर्फ निर्यात ५८.२ प्रतिशतले वृद्धि हुँदा आयात पनि १५.८ प्रतिशतले बढेको छ । यसले आर्थिक गतिविधिमा क्रमिक सुधारको संकेत गरेको छ । सरकारी वित्तीय अवस्थातर्फ हेर्दा सरकारको कुल खर्च ५ खर्ब ६४ अर्ब ४६ करोड रुपैयाँ छ भने राजस्व परिचालन ४ खर्ब ६ अर्ब ३० करोड रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार मौद्रिक सूचकहरू पनि सन्तुलित देखिएका छन् । विस्तृत मुद्राप्रदाय ३.७ प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा यस्तो वृद्धिदर १२.९ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ३.९ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा १.९ प्रतिशतले वृद्धि भएको छ । मूल्यवृद्धि १.६३ प्रतिशतमा झर्याे, खाद्यको २.०५ प्रतिशतले ऋणात्मक मंसिरमा उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) १.६३ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.०५ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ९.९९ प्रतिशत र ३.९२ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार औसत मुदास्फीति १.५५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.८९ प्रतिशत रहेको थियो । यस्तै, समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.५२ प्रतिशत, गैर-मदिराजन्य पेय पदार्थको ३.५६ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको २.४४ प्रतिशतले बढेको छ । तरकारी उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८.५४ प्रतिशत, मरमसलाको ८.४३ प्रतिशत र दाल तथा गेडागुडीको ५.७९ प्रतिशतले घटेको छ । गैर-खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १८.५६ प्रतिशत, शिक्षाको ७.५६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१५ प्रतिशत र मदिराजन्य पेय पदार्थको ३.८५ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवा उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.२३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.०९ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.८३ प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.५४ प्रतिशत, मधेश प्रदेशको २.०१ प्रतिशत, बागमती प्रदेशको १.४८ प्रतिशत, गण्डकी प्रदेशको १.०८ प्रतिशत, लुम्बिनी प्रदेशको १.६७ प्रतिशत, कर्णाली प्रदेशको १.०९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ०.४० प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.९५ प्रतिशत, तराईको १.७१ प्रतिशत, पहाडको १.३६ प्रतिशत र हिमालको १.४७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । ५८.२ प्रतिशत निर्यात बढ्दा आयात १०.५ प्रतिशतमा सीमित चालु आवको ५ अवधिमा कुल वस्तु निर्यात ५८.२ प्रतिशतले वृद्धि भई १ खर्ब १६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा १६.५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः ८२.७ प्रतिशत र ५.५ प्रतिशतले बढेको छ भने चीनतर्फको निर्यातमा ७३.३ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, जुत्ता तथा चप्पललगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकला लगायतका वस्तुको निर्यात घटेको छ । यस्तै, समीक्षा अवधिमा कुल वस्तु आयात १५.८ प्रतिशतले वृद्धि भई ७ खर्ब ६६ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३.० प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयातमा क्रमशः ५.७ प्रतिशत, २४.६ प्रतिशत र ४०.८ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, रासायनिक मल, सुन, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, चाँदीलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, लसुन, खाने तेल, तेलहन, दाललगायतका वस्तुको आयात घटेको छ । पाँच महिनामा कुल वस्तु व्यापार घाटा १०.५ प्रतिशतले वृद्धि भई ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १.५ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात १५.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.१ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ६९ अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७२ अर्ब ८४ करोड रुपैयाँ बराबरको भएको थियो । शोधनान्तर स्थिति ४ खर्ब रुपैयाँ र चालु खाता साढे ३ खर्बले बचतमा चालु आवको ५ महिनामा शोधनान्तर स्थिति ४ खर्ब २१ अर्ब ८९ करोड रुपैयाँले बचतमा रहेको देखिन्छ । गत वर्षको सोही अवधिमा २ खर्ब २५ अर्ब ३४ करोड रुपैयाँले सोधनान्तर स्थिति बचतमा थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६८ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ९८ करोडले बचतमा रहेको छ । यस्तै, समीक्षा अवधिमा चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ५८ अर्ब ४५ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १८ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ५४ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ६ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ५० करोड रुपैयाँ रहेको थियो । यसैगरी, समीक्षा अवधिमा ७ अर्ब ४७ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ६ अर्ब ३ करोड रुपैयाँ रहेको थियो । विदेशी मुद्रा सञ्चिति ३२ खर्ब रुपैयाँ नाघ्यो राष्ट्र बैंकका अनुसार मंसिरसम्म विदेशी मुद्रा सञ्चिति ३२ खर्ब १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । गत असारमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको थियो । ५ महिनाको अवधिमा कुल विदेशी विनिमय सञ्चिति १९.६ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति मंसिरमा १३.५ प्रतिशतले वृद्धि भई २२ अर्ब १३ करोड पुगेको छ । गत असारमा १९ अर्ब ५० करोड अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग २८ खर्ब ६६ अर्ब ४७ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थासँग ३ खर्ब ३५ अर्ब रुपैयाँ कायम छ । गत असारसम्म राष्ट्र बैंकमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ र बैंकसँग २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ थियो । ५ महिनामा राष्ट्र बैंकमा विदेशी मुद्रा १८.७ प्रतिशत र बैंकमा २७.४ प्रतिशत बढेको हो । २०८२ मङ्सिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.२ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८२/८३ को पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ मङ्सिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५२.४ प्रतिशत, १५१.९ प्रतिशत र ३९.४ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए । ५ महिनामा भित्रियो ८ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स ५ महिनामा पौने ८ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । पाँच महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३५.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ भित्रिएको राष्ट्र बैंकले जनाएको छ । मंसिर महिनामा मात्रै १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । जबकि गत वर्षको मंसिर महिनामा १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९ प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९ खर्ब ५४ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७ खर्ब ४३ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख ७५ हजार ५९१ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ६३ हजार ९२४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख ९० हजार ३८४ र १ लाख ३५ हजार ४२५ रहेको थियो । साढे ५ खर्ब खर्च हुँदा ४ खर्ब मात्रै राजस्व संकलन चालु आवको ५ महिनामा सरकारले ५ खर्ब ६४ अर्ब ४६ करोड रुपैयाँ मात्रै कुल खर्च गरेको छ । समीक्षा अवधिमा चालु खर्च ३ खर्ब ९८ अर्ब ५ करोड रुपैयाँ, पुँजीगत खर्च ३३ अर्ब ८७ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च १ खर्ब ३२ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ४ खर्ब ६ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । यसअन्तर्गत कर राजस्व ३ खर्ब ८२ अर्ब २३ करोड रुपैयाँ र गैरकर राजस्व २४ अर्ब ७ करोड रुपैयाँ परिचालन भएको छ । मङ्सिर मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा २ खर्ब ५३ अर्ब २ करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८२ असार मसान्तमा यस्तो मौज्दात १ खर्ब ३० अर्ब ७३ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा प्रदेश सरकारहरूको कुल खर्च २९ अर्ब १ करोड रुपैयाँ र स्रोत परिचालन ७४ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ५७ अर्ब ५१ करोड रुपैयाँ र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व १७ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । ३.९ प्रतिशत बढ्यो निक्षेप, कर्जा १.९ प्रतिशत मात्रै राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.९ प्रतिशत अर्थात् २ खर्ब ८१ अर्ब ८९ करोड रुपैयाँले वृद्धि भई ७५ खर्ब ४५ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २.७ प्रतिशत अर्थात् १ खर्ब ७२ अर्ब ३२ करोड रुपैयाँले बढेको थियो । वार्षिक विन्दुगत आधारमा बैंकको निक्षेप १३.९ प्रतिशतले बढेको छ । मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.४ प्रतिशत, ३९.९ प्रतिशत र ४४.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.३ प्रतिशत, ३३.६ प्रतिशत र ५३.१ प्रतिशत रहेको थियो । २०८२ मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.३ प्रतिशत रहेको छ । २०८१ मङ्सिर मसान्तमा यस्तो निक्षेपको अंश ३५.८ प्रतिशत रहेको थियो । यस्तै, ५ महिनामा निजी क्षेत्रमा प्रवाहित कर्जा १.९ प्रतिशत अर्थात् १ खर्ब २ अर्ब २४ करोड रुपैयाँले बढी ५५ खर्ब ९९ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३.५ प्रतिशत अर्थात् १ खर्ब ७८ अर्ब २९ करोड रुपैयाँले बढेको थियो । वार्षिक विन्दुगत आधारमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर-वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.१ प्रतिशत र ३५.९ प्रतिशत रहेको थियो ।
विदेश अध्ययनका लागि गएका विद्यार्थीसँगै बाहिरियो ५६ अर्ब ५२ करोड
काठमाडौं । विदेश अध्ययनका लागि गएका नेपाली विद्यार्थीसँगै ५६ अर्ब ५२ करोड रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा भ्रमण व्ययतर्फ ५६ अर्ब ५२ करोड रुपैयाँ बाहिरिएको हो । यो अघिल्लो वर्षको तुलनामा ९ अर्ब ७ करोडले बढी हो । अघिल्लो वर्षको यसै अवधिमा ४७ अर्ब ४५ करोड रकम बाहिरिएको थियो । पछिल्लो समय विदेश पढ्न जाने विद्यार्थीको संख्या बढेसँगै बाहिरिने रकम पनि बढ्दै गएको छ । नेपाली विद्यार्थीबाट ५६ अर्ब बढी रकम बाहिरिएसँगै विदेशबाट नेपाल अध्ययनका लागि आउने विद्यार्थीबाट एक अर्ब दुई करोड रुपैयाँ बराबरको विदेशी मुद्रा भित्रिएको छ। गएको चार महिना (साउन–कात्तिक) मा अर्ब दुई करोड रुपैयाँ बराबरको विदेशी मुद्रा भित्रिएको हो । यो रकम नेपाली विद्यार्थीले खर्च गरेको रकमको दुई प्रतिशत भन्दा कम हो । नेपाल राष्ट्र बैँकका अनुसार सेवा खाता अन्तर्गत भ्रमण व्यय ५.३ प्रतिशतले वृद्धि भई ८८ अर्ब ९७ करोड पुगेको छ । भ्रमण आय भने ३.७ प्रतिशतले कमी भइ ३३ अर्ब ९७ करोड कायम भएको छ ।
एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकहरूका लागि ३० प्रतिशत छुट
काठमाडौं । एनआईसी एशिया बैंकले लकर सेवामा उपलब्ध गराएको विशेष छुट सुविधा बढाएर ३० प्रतिशत पुर्याएको छ । २०८२ माघ ६ गतेसम्मका लागि मात्र ल्याइएको नयाँ योजनाअनुसार ग्राहकहरूले पहिलो वर्षको वार्षिक शुल्कमा ३० प्रतिशतको विशेष छुट सुविधा प्राप्त गर्ने बैंकले जनाएको छ । बैंकले मुलुकभरका विभिन्न शाखाहरूमा ग्राहकहरूको आवश्यकता अनुसारका विभिन्न आकारमा लकर सेवाहरू उपलब्ध गराएको छ । बैंकले ल्याएको यस छुट सुविधाबाट ग्राहकरूलाई लकर सेवा प्रयोग गर्न थप सहज, सरल, सहुलियत प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ।
जेनजी आन्दोलनको महँगो मूल्य : सरकारी सम्पत्तिमा ९५ करोड र निजी प्रतिष्ठानमा साढे २७ अर्बको क्षति
काठमाडौं । जेनजी आन्दोलनका बेला सार्वजनिक संस्थानमा मात्रै ९५ करोड बराबरको क्षति पुगेको सरकारी अध्ययन प्रतिवेदनले देखाएको छ । क्षतिको जाँचबुझ गर्न गठित सरकारी कार्यदलले तयार पारेको प्रतिवेदनअनुसार सार्वजनिक संस्थानको स्वामित्व वा भोगचलनमा रहेका सम्पत्तिको क्षति रकम ९५ करोड ६२ लाख रहेको छ । सार्वजनिक संस्थानमा भएको कुल क्षति रकम मध्ये भवनतर्फ ४३.१ प्रतिशत, सवारी साधन तर्फ १६.१ प्रतिशत, अन्य भौतिक सम्पत्ति तर्फ ३७.४ प्रतिशत र अन्यमा ३.३ प्रतिशत क्षति भएको छ । प्रतिवेदनअनुसार संस्थानका नेपाल सरकार अन्तर्गतका २६ वटा भवनमा क्षति पुगेको छ भने प्रदेश सरकार मातहत रहेका संस्थानका ३ वटा भवनमा क्षति पुगेको छ । कुल ४१ करोड २४ लाख बराबरको क्षति पुगेको छ भने संस्थानहरूका करिब १ सय ९ वटा सवारी साधनमा क्षति पुगेको छ । संस्थानहरूका सवारीसाधनको क्षति करिब १४ करोड ३६ लाख बराबरको रहेको छ । यता निजी तथा सामुदायिक क्षेत्रले जेन–जी आन्दोलनका बेला ठूलो क्षति बेहोर्नुपरेको सरकारी अध्ययन प्रतिवेदनले देखाएका छ । प्रतिवेदनअनुसार निजी तथा सामुदायिक क्षेत्रमा भएको क्षतिअनुसार निजी प्रतिष्ठान तथा घर परिवारमा कुल क्षति रकम ३३ अर्ब ५४ करोड ८७ लाख र सामुदायिक तथा अन्य क्षेत्रमा भएको क्षति रकम ५ अर्ब ९७ करोड १७ लाख रहेको छ । प्रतिवेदनअनुसार निजी क्षेत्रको स्वामित्व वा भोगचलनमा रहेको स्थायी एवं अस्थायी सम्पत्तिमा गरी कुल २७ अर्ब ४९ करोड ३ लाख क्षति पुगेको देखिन्छ जुन निजी तथा सामुदायिक क्षेत्रमा भएको कुल क्षति रकमको ६९.८ प्रतिशत हो । यो क्षेत्रले बेहोरेको कुल क्षतिमा भवनको आगजनी तथा तोडफोडबाट भएको क्षतिको अंश सबैभन्दा ठूलो ४५.२ प्रतिशत रहेको छ । त्यसपछि अन्य भौतिक सम्पत्तिको क्षति २७.४ प्रतिशत, अस्थायी सम्पत्ति तथा अन्य निजी सम्पत्तिको २१.७ प्रतिशत र सवारी साधनको क्षति ३.४ प्रतिशत रहेको छ । समग्र रूपमा हेर्दा क्षतिको भार भवन तथा स्थायी सम्पत्तिमा बढी रहेकाले उत्पादन, सेवा र रोजगारी क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको देखिन्छ ।
करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सको उडान, एकै वर्ष साढे ७ अर्ब आम्दानी
काठमाडौं । करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सले एक वर्षमै साढे ७ अर्ब रुपैयाँ बराबर आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा ७ अर्ब ६८ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको जनाएको हो । यो आम्दानी अघिल्लो वर्षको तुलनामा ३१ प्रतिशत अर्थात् १ अर्ब ८२ करोड रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले ५ अर्ब ८६ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् २०१७ मा स्थापना भएको यशोदा फुड्सले छोटो समयमै ठूलो व्यावसायिक छलाङ मारेको देखिन्छ । कम्पनीले सन् २०२० मा १ अर्ब ७३ करोड ६० लाख रुपैयाँ, सन् २०२१ मा २ अर्ब ६६ करोड ६० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ४३ करोड ८० लाख रुपैयाँ र सन् २०२३ मा ४ अर्ब ९५ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको आम्दानीको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष निरन्तर उकालो लागिरहेको देखिन्छ । यशोदा फुड्सले नुडल्स, फ्राइड स्न्याक्स तथा भुजियाको बिक्रीमार्फत आम्दानी गर्दै आएको छ । सन् २०२५ मा भएको आम्दानी वृद्धि नुडल्स र स्न्याक्स दुवै खण्डको हो । कम्पनीले अवलम्बन गरेको उत्पादन विविधिकरण रणनीतिले सकारात्मक नतिजा देखाउन थालेको जनाएको छ । रुपन्देहीको तिलोत्तमा–१५ मा उत्पादन केन्द्र रहेको कम्पनीले नुडल्स तथा स्न्याक्स उत्पादन गर्दै आएको छ । विसं २०८१ असारमा यशोदा फुड्सले आफ्नै पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी यशोदा नुडल्स एण्ड स्न्याक्सलाई मर्जर गरेर उत्पादन क्षमता बढाएको थियो । मर्जरपछि वार्षिक उत्पादन क्षमता नुडल्सको ४२ हजार मेट्रिक टन र स्न्याक्सको ४ हजार ५ सय मेट्रिक टन पुगेको कम्पनीले जनाएको छ । यशोदा फुड्सको अध्यक्ष चुन्नाप्रसाद शर्मा हुन् । विभिन्न संस्थामा अध्यक्ष तथा सञ्चालकको भूमिकामा रहेका शर्मासँग व्यवसायीक क्षेत्रमा चार दशकको अनुभव छ । उनी सोना प्याकेजिङ इन्डस्ट्रिजका पनि अध्यक्ष हुन् । यस्तै, यशोदा फुड्सको कार्यकारी निर्देशकको रूपमा जीपी शाह छन् । शाहले अन्तर्राष्ट्रिय रणनीति तथा व्यवसाय विस्तारको जिम्मेवारी सम्हाल्दै आएका छन् । मर्जरपछि कम्पनीको आम्दानी बढेतापनि ब्याज, लीज, ह्रासकट्टि र कर अघि नाफा (पीबीआईएलडीटी) मार्जिन भने घटेको देखिन्छ । अघिल्लो वर्ष ११.४३ प्रतिशत रहेको पीबीआईएलडीटी गत वर्ष घटेर ७.४३ प्रतिशतमा सीमित भएको छ । गत वर्ष कम्पनीले ३० करोड रुपैयाँ बराबर लाभांश वितरण गरेको छ भने सञ्चित नाफा ४४ करोड ३० लाख रुपैयाँ पुर्याएको छ । २ अर्ब बढी ऋण कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २ अर्बभन्दा बढी ऋण लिएको छ । कम्पनीका अनुसार ५० करोड ८० लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब ७० करोड रुपैयाँ अल्पकालीन गरी कुल २ अर्ब २० करोड ८३ लाख रुपैयाँ बैंकबाट ऋण लिएको छ । जबकि यसअघि सन् २०२४ मा कम्पनीले २ अर्ब रुपैयाँ मात्रै लिएको थियो । व्यापार विस्तारमा आक्रामक बन्दै यशोदा फुड्सले सबै प्रदेशमा आफ्नो बजार उपस्थिति विस्तार गरिसकेको छ। कम्पनीका अनुसार अधिकांश प्रमुख सहर तथा नगरमा कम्पनीका उत्पादन उपलब्ध हुँदै आएको छ । कम्पनीसँग देशभर करिब ३०० अधिकृत वितरक छन् भने डिपार्टमेन्ट स्टोर तथा सुपरमार्केटमा पनि कम्पनीका उत्पादनहरू उपलब्ध रहेको जनाएको छ । कम्पनीले विभिन्न ब्रान्डमा आफ्ना उत्पादनहरू बजारमा उपलब्ध गराइरहेको छ, जसमा करेन्ट ब्रान्ड छोटो अवधिमै अत्यन्त लोकप्रिय बनेको छ । यसका साथै कम्पनीले भारत तथा अन्य देशमा पनि आफ्ना उत्पादनहरू निर्यात गर्दै आएको छ । सन् २०२५ मा निर्यातबाट प्राप्त आम्दानी कुल आम्दानीको करिब १२ प्रतिशत हिस्सा रहेको कम्पनीले दाबी गरेको छ । यसले कम्पनीको अन्तर्राष्ट्रिय बजारमा समेत उपस्थिति बलियो बन्दै गएको संकेत गरेको छ । स्वदेशी कच्चा पदार्थमा जोड यशोदा फुड्सले नुडल्स तथा स्न्याक्स उत्पादनका लागि कच्चा पदार्थ स्वदेशमै खरिद गरिरहेको छ । यससँगै भारत, मलेसिया र इन्डोनेसियाबाट समेत कच्चा पदार्थ आयात गर्दै आएको छ । निरन्तर तथा सहज उत्पादन सञ्चालन गर्न कम्पनीले पर्याप्त भण्डारण राख्ने गरेको छ । कम्पनीले करिब एकदेखि डेड महिनासम्मका लागि भण्डारण राख्ने गरेको जनाएको छ । यशोदा फुड्सका प्रमुख कच्चा पदार्थहरूमा गहुँको पीठो, पाम तेल र पामोलिन तेल हुन् । गत वर्ष कच्चा पदार्थ खर्च कुल सञ्चालन आम्दानीको करिब ८२ प्रतिशत हिस्सा रहेको कम्पनीले जनाएको छ । इन्स्ट्यान्ट नुडल्सको माग पछिल्ला तीन दशकदेखि निरन्तर रूपमा बढ्दै आएको छ । कम्पनीका अनुसार नास्ता र भोजनबीचको विकल्पका रूपमा रहने इन्स्ट्यान्ट नुडल्सले सजिलो, छिटो र विविध प्रयोगको सुविधा प्रदान गर्दछ । वर्ल्ड इन्स्ट्यान्ट नुडल्स एसोसिएसनका अनुसार नेपाल प्रतिव्यक्ति नुडल्स उपभोगका हिसाबले विश्वमै अग्रणी देशमध्ये एक हो । कम्पनी अत्यधिक नियमनयुक्त उद्योगमा सञ्चालन हुँदै आएको छ, जहाँ नुडल्स तथा स्न्याक्सजस्ता तयार उत्पादनहरूमा लगाइने सुरक्षात्मक आयात शुल्कले सस्तो आयातित वस्तुहरूविरुद्ध प्रतिस्पर्धात्मक लाभ प्रदान गर्दै आएको छ । तर, यस्ता नीतिगत व्यवस्थामा प्रतिकूल परिवर्तन आएमा कम्पनीको व्यवसायिक सम्भावनामा उल्लेख्य असर पर्न सक्ने जनाएको छ । साथै पामोलिन तेल र गहुँजस्ता आयातित कच्चा पदार्थमा निर्भरता रहेकोले कम्पनी विश्वव्यापी वस्तु मूल्य उतारचढाव तथा आपूर्ति शृंखला अवरोधले पनि व्यवसायमा असर पर्न सक्ने जनाएको छ । नुडल्सको बढ्दो मागसँगै नयाँ कम्पनीहरूको प्रवेश बढ्नुका साथै स्थापित ठूला कम्पनीहरूले पनि बजार हिस्सा बढाउन उत्पादन विस्तार गरेका छन्, जसका कारण बजार अत्यधिक प्रतिस्पर्धात्मक बनेको छ । पछिल्ला वर्षहरूमा बजारमा धेरै नयाँ खेलाडी प्रवेश गरेका छन्, जसमा यशोदा फुड्स पनि एक हो । नुडल्स बजारमा आकर्षक उत्पादनसहित नयाँ प्रतिस्पर्धी प्रवेश गर्ने जोखिम सधैं उच्च रहने देखिएको छ । साथै, उद्योगको विखण्डित र प्रतिस्पर्धात्मक स्वरूपका कारण नुडल्स उत्पादकहरूको मूल्य निर्धारण क्षमता तुलनात्मक रूपमा कमजोर रहेको छ । यद्यपि, कम्पनीले सन् २०२५ डिसेम्बरमा नेपालको पहिलो ‘ग्रीन नुडल्स’ उत्पादन इकाइ सञ्चालनमा ल्याएको छ, जसलाई ८६५ केडब्ल्यूपी क्षमताको रूफटप सोलार प्लान्टले समर्थन गर्दै करिब ८० प्रतिशत ऊर्जा आवश्यकता पूर्ति गर्ने व्यवस्था गरिएको छ । यस कदमले दिगो उत्पादन अभ्यासतर्फ कम्पनीको अग्रसरता रहेको जनाएको छ ।
जेनजी आन्दोलनको शहीद परिवारका २७ जनालाई विद्युत प्राधिकरणमा जागिर
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सरकारको निर्णय बमोजिम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका शहीहदहरुको परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ । निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री एवं प्राधिकरण सञ्चालक समिति (बोर्ड) का अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा मंगलबार बसेको बोर्ड बैठकले शहीद परिवारका २७ जनालाई रोजगारी दिने निर्णय गरेको हो । जेनजी शहीद परिवारका २७ जनाबाट रोजगारीका लागि निवेदन दिइएको थियो । निवेदकको यकिन गरी पायक पर्ने प्राधिकरणको कार्यालयमा शैक्षिक योग्यताका आधारमा बढीमा तीन तहसम्मको पदमा करार नियुक्त गर्ने निर्णय भएको हो । सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौता, मन्त्रिपरिषदबाट स्वीकृत सहायता सम्बन्धी कार्यविधि बमोजिम र शहीद परिवारका सदस्यका निवेदनका आधारमा २७ जनालाई रोजगारी दिने निर्णय भएको घिसिङले बताए । कार्यविधिमा जेनजी प्रदर्शनमा घाइते तथा अपाङ्ग भएको व्यक्ति वा नजिकको परिवारका सदस्य र शहीद परिवारको सदस्यलाई प्रचलित कानून बमोजिम निःशुल्क शिक्षा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत र रोजगारी सम्बन्धी व्यवस्था श्रम, रोजगार तथा सामाजिक सुरक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाइ, शहरी विकास, खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद र उद्योग, वाणिज्य तथा आपूर्तिलगायतका विषयगत मन्त्रालयबाट मिलाउने गरी आवश्यक कार्य हुने व्यवस्था छ । आन्दोलनका क्रममा मृत्यु भएका ४५ जना व्यक्तिलाई सरकारले शहीद घोषणा गरेको थियो ।
गैरीगाउँमा भएको आगलागीबाट १ करोड ६२ लाख रुपैयाँको क्षति
काठमाडौं । काठमाडौं महानगरपालिका-९ सिनामङ्गल गैरीगाउँमा भएको मङ्गलबार भएको आगलागीका कारण १ करोड ६२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । गैरीगाउँ स्थित शक्ति विनायक मार्ग बस्ने ईश्वर कार्कीले सञ्चालन गरेको गोदाममा विद्युत् सर्ट भई मङ्गलबार दिउँसो लागेको आगो फैलिएर नजिकै रहेको लोएला सेकेण्डरी स्कुलको गोदाममा आगलागी हुँदा उक्त क्षति भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । उनका अनुसार मङ्गलबार दिउँसो ३:१५ बजे लागेको उक्त आगो ४:४५ बजे मात्रै दमकलको सहयोगमा सुरक्षा निकाय र स्थानीयले आगो नियन्त्रणमा लिएको थियो ।
१० लाख नमुना मतपत्र छापिए, अब समानुपातिकको २ करोड ८ लाख छपाइ हुने
काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र सानोठिमीमा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नमुना मतपत्र छपाइ गरिएको छ । केन्द्रमा पहिलो चरणमा निर्वाचनको नमुना मतपत्र छपाइ गरेको हो । केन्द्रका प्रवक्ता रामबहादुर कुँवरले मंगलबार र बुधबारमा १० लाख नमुना मतपत्र छपाइ सम्पन्न गरेको बताए । केन्द्रले बिहीबारदेखि समानुपातिकको मतपत्र छपाई सुरु गर्ने तयारी गरेको जानकारी दिँदै करिब केन्द्रले २ करोड ८ लाख समानुपातिक मतपत्र छपाई हुने जानकारी दिए ।
स्थानीय तहबाटै प्यान कार्ड जारी, कर चुक्ता पनि पालिकाबाटै
काठमाडौं । हिमाल पारिको चुमनुब्री गाउँपालिकाले गण्डकी प्रदेशमै पहिलोपटक स्थायी लेखा नंम्बर (प्यान) दिन सुरु गरेको छ । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये आफूहरूले पहिलोपटक स्थायी लेखा नम्बर दिन सुरु गरेको सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए । सरकारले गोरखालगायत विभिन्न ३८ जिल्लाका कर सेवा कार्यालय खारेज गरेसँगै उक्त कार्यालयबाट प्रवाह हुने कतिपय सेवासुविधा कोष तथा लेखा नियन्त्रण कार्यालय वा स्थानीय तहबाटै प्रवाह गर्ने व्यवस्था मिलाइएको छ । सरकारको सोही निर्णय बमोजिम चुमनुब्री गाउँपालिका स्थानीय तहबाटै करसम्बन्धी सेवा शुभारम्भ गरेको पालिकाको प्रमुख प्रशासकीय अधिकृत लामिछानेले जानकारी दिए । उनका अनुसार पालिकाबाट कर सेवा शुभारम्भ गर्ने सम्बन्धमा बुधबार गाउँपालिका र आन्तरिक राजस्व कार्यालय, दमौलीबीच सम्झौता भएको छ । ‘सम्झौताअनुसार पालिकाबाट स्थायी नम्बर (प्यान) र व्यावसायिक स्थायी लेखा नम्बर (बिजनेस प्यान) जारी गर्न मिल्छ,’ उनले भने । पालिकाले आफ्नो क्षेत्राधिकार भित्रका करदातालाई आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क लगायतका कर सिफारिस गर्ने, दर्ता प्रमाणपत्र र इजाजतपत्र उपलब्ध गराउने, संशोधन गर्ने र आफूबाट हुन नसकेका काम सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा सिफारिस गर्ने सम्झौता भएको उनको भनाइ छ । पालिकाबाट उक्त सेवा सञ्चालन गर्न आवश्यक स्रोतसाधन र जनशक्तिको व्यवस्थापन पालिका आफैंले गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत लामिछाने बताउँछन् । ‘गाउँपालिकाले आन्तरिक राजस्व विभागबाट सञ्चालित पोर्टल प्रयोग गरेर करसम्बन्धी सेवा सञ्चालन गर्नुपर्ने हुन्छ । विभागको पोर्टल के, कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा उहाँहरूले नै हाम्रो कर्मचारीलाई आवश्यक तालिम तथा जानकारी दिने सम्झौता भएको छ,’ उनले भने । करदातालाई प्रदान गरिने सेवाको सुनिश्चतता र आवश्यक समन्वयका लागि दुवै पक्षले एक-एक जना अधिकृतस्तरको कर्मचारीलाई ‘जिम्मेवार व्यक्ति’ तोक्ने निर्णय सम्झौताले गरेको छ । सेवा प्रवाह गर्ने प्रक्रियामा कुनै समस्या आएमा सम्बन्धित आन्तरिक राजस्व विभागसँग आवश्यक सहजीकरण र समन्वय गर्ने सम्झौता भएको छ । करदाता सेवा कार्यालय खारेज गर्ने सरकारको निर्णय बुधबारदेखि लागू भएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोनेनिका) का प्रमुख इन्द्रप्रसाद पौडेलले बताए । कर कार्यालय खारेज भएसँगै कोलेनिकाले बुधबारबाटै करसम्बन्धी सेवा प्रवाह सुरु गरेको उनले जानकारी दिए । ‘कोलेनिकाले बुधबार पहिलो दिन करसम्बन्धी सेवा प्रवाह सुरु गरेको भए पनि सेवाग्राहीको सङ्ख्या धेरै नै देखियो । हाम्रा कर्मचारीलाई कर कार्यालयको काम कारबाही बुझ्न समय लाग्ने भएकाले त्यहाँका कर्मचारी केही समय यहीँ बसेर काम गर्नुहुन्छ । बिस्तारै हामी आफैंले आवश्यक कर्मचारी व्यवस्थापन गरेर कर सेवा प्रवाह गर्ने छौँ,’ उनले भने । कार्यालयले पहिलो दिन स्थायी लेखा नम्बर वितरण र कर चुक्ताको काम गरेको प्रमुख पौडेलले बताए ।
सिंगटी हाइड्रोले ३ करोड ४ लाख ५० हजार कित्ता हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक साधारण सभाबाट स्वीकृत प्रस्तावअनुसार चुक्ता पूँजीको १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ३ करोड ४ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गरिनेछ । हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतामा बुधबार सिंगटी हाइड्रो इनर्जीका तर्फबाट प्रबन्ध सञ्चालक सुदीप खड्का र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् । कम्पनीका अनुसार हकप्रद सेयर निष्कासनबाट संकलित रकम अन्य हाइड्रोपावर कम्पनीहरूमार्फत प्रवर्धन गरिएका ६१.११ मेगावाट क्षमताको नारखोला जलविद्युत आयोजना तथा ८६.५९ मेगावाट क्षमताको लान्द्रुक मोदी जलविद्युत आयोजनामा लगानी गर्न प्रयोग गरिनेछ । हकप्रद सेयरमार्फत पूँजी संरचना मजबुत बनाउँदै दीर्घकालीन ऊर्जा परियोजनामा लगानी विस्तार गर्ने सिंगटी हाइड्रो इनर्जीको लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
डडेल्धुरा अस्पतालका अध्यक्ष ओझामाथि कालो मोसो प्रहार, कारवाहीको माग गर्दै कर्मचारी आन्दोलित
काठमाडौं । डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझामाथि कार्यकक्षमै कालो मोसो प्रहार भएको छ । बुधबार (आज) दिउँसो कार्यकक्षमै रहेका बेला आएका अज्ञात व्यक्तिले कालोमोसो दलेका थिए । नचिनेका केही व्यक्ति कार्यकक्षमा आएर ने.क.पा. बहुमतको सदस्य रहेको बताउँदै उनीमाथि कालो मोसो दलेको बताइएको छ। ओझामाथि कालोमोसो दलिएको फोटो बुधबार सामाजिक सञ्जाल भाइरल भएको छ । जहाँ कालोमोसो दल्नेहरूले नेकपा बहुमत जिन्दावाद, भ्रष्टाचारी होसियार भन्दै कालो मोसो प्रहार गरिएको देखिएको छ । कालोमोसो दल्नेहरू हतारहतार जंगलतिर भागेका थिए । कार्यकक्षमा प्रवेश गर्दा सामान्य व्यवहार देखाए पनि एक्कासि मोसो प्रहार गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अध्यक्षमाथि मोसो प्रहार गरिएकोमा अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले दुर्व्यवहार गर्ने विरुद्ध कानुनी कारवाहीको माग गर्दै आन्दोलन सुरु गरेका छन् । उनीहरूले दुर्व्यवहार गर्ने माथि कारवाही नहुँदासम्म आकस्मिक बाहेकका सेवा नदिने बताउँदै बिरामीप्रति पर्ने असुविधाप्रति माफी मागेका छन् । ‘यस क्षेत्रको समग्र स्वास्थ्य प्रणाली र अस्पतालबाट प्रवाह हुने सेवा सुविधामा अहोरात्र दिनरात नभनी अग्रपङ्क्तिमा खटेर बिरामी सेवाग्राही नागरिकहरूको सहज र प्रभावकारी उपचार पद्धति व्यवस्थापनमा सर सल्लाह र सामुदायिक अपनत्व लिने वातावरण सिर्जना गर्न कियाशिल रहनुभएका विकास समिति अध्यक्ष माथि यस संवेदनशील संस्थाभित्र प्रवेश गरि प्रमाणविहीन र तथ्यहीन आरोपहरू लगाउँदै अस्पताल जस्तो गरिमामय पवित्रस्थलमा गरिएको व्यवहारले लज्जित तुल्याएको छ, अस्पतालले निकालेको विज्ञप्तिमा भनिएको छ । कर्मचारीले यस्ता घटनाले अस्पतालको सेवा प्रवाह तथा अस्पतालमा कार्यरत सबै तहका कर्मचारीहरू र पदाधिकारीहरूको मनोबलमा गिराउने काम भएको बताएका छन् । घटनाको दोषीमाथि छानबिन गरी कानुन बमोजिम कारवाही गर्न माग गर्दै कर्मचारीले भविष्यमा यस्ता अराजक गतिविधिहरू हुन नदिन स्थानीय प्रशासन र सुरक्षा निकायलाई आग्रह गरेका छन्
निक्षेप र कर्जाको ब्याजदर घट्यो, निजी क्षेत्रतर्फ कर्जा बढ्यो
काठमाडौं । पछिल्लो समय निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्दै गएको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा रहेको निक्षेप बढेको छ भने निक्षेप र कर्जाको ब्याजदर घटेको छ । चालु आवको कात्तिकसम्मको अवधिमा निजी क्षेत्रतर्फको कर्जा प्रवाह बढेको छ । २०८२ असार मसान्तको तुलनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप, २०८२ कात्तिक मसान्तमा ३ दशमलव १ प्रतिशतले बढेर ७४ खर्ब ८६ अर्ब २५ करोड पुगेको छ । २०८१ को सोही अवधिमा यस्तो निक्षेप २ दशमलव ३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १३ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २०८२ असार मसान्तको तुलनामा १.२ प्रतिशतले बढेर ५५ खर्ब ६२ अर्ब ७५ करोड पुगेको छ । २०८१ को सोही अवधिमा यस्तो कर्जा २०८१ असार मसान्तको तुलनामा २ दशमलव ५ प्रतिशतले वृद्धि भएको थियो । वार्षिक बिन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६ दशमलव ९ प्रतिशतले बढेको छ । कात्तिक मसान्त सम्मको अवधिमा भएको कर्जा प्रवाहमध्ये उपभोगमा आधारित ऋणको हिस्सा सबैभन्दा बढी २० दशमलव ८ प्रतिशत रहेको छ भने सबैभन्दा कम ऋण प्रवाह स्थानीय तहमा भएको छ । २०८१ कात्तिकमा वाणिज्य बैंकको निक्षेप तथा कर्जाको भारित औसत व्याजदर क्रमशः ५ दशमलव १ प्रतिशत र ९ दशमलव ७ प्रतिशत रहेकोमा २०८२ कात्तिकमा क्रमशः ३ दशमलव ७४ प्रतिशत र ७ दशमलव ३८ प्रतिशतमा झरेको छ । २०८२ कात्तिक मसान्तमा २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक गरी कुल १०७ बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा रहेका छन् । सबै स्थानीय तहहरुमा वाणिज्य बैंकका शाखा पुगेको छ । बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०८१ कात्तिक मसान्तमा ११ हजार ५ सय ४२ रहेकोमा २०८२ को सोहि अवधिमा ११ हजार ५ सय १६ रहेको छ । यस अवधिमा एटिएम बुथको संख्या भने ४४ ले थप भई ५ हजार २६८ पुगेको छ । बैंक तथा वित्तीय संस्थाको निष्कृय कर्जा बढेको छ भने विपन्न क्षेत्र कर्जा घटेको छ । २०८१ कात्तिकमा कुल कर्जाको ४ दशमलव ४२ प्रतिशत रहेको निष्कृय कर्जा २०८२ कात्तिकमा ५ दशमलव २६ प्रतिशत पुगेको छ । त्यसैगरी, २०८१ कात्तिकमा विपन्न क्षेत्र कर्जा कुल कर्जा लगानीको ६.१७ प्रतिशत रहेकोमा २०८२ कात्तिकमा ५.३६ प्रतिशत रहेको छ ।
सुनको मूल्य घट्यो, चाँदीले रेकर्ड तोड्यो
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेर नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घट्दा चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेर ४ हजार ९३५ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो । चाँदीको मूल्यले गत पुस १४ गते कायम प्रतितोला ४ हजार ९३५ रुपैयाँको मूल्यलाई बराबरी गर्दै नयाँ उचाइ बनाएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।
भेनेजुएलाले अमेरिकालाई ५ करोड ब्यारेल तेल दिने ट्रम्पको दावी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार साँझ भेनेजुएलाका अन्तरिम अधिकारीहरूले दक्षिण अमेरिकी देशका नेता निकोलस मादुरोलाई हटाएपछि अमेरिकालाई ३ करोडदेखि ५ करोड ब्यारेलसम्म तेल हस्तान्तरण गर्ने बताएको जनाएका छन् । ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै उक्त तेल बजार मूल्यमा बिक्री गरिने र त्यसबाट प्राप्त रकम संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिको नियन्त्रणमा रहने जनाएका छन् । उनले उक्त रकम भेनेजुएलाका जनता र अमेरिकाको हितमा प्रयोग हुने पनि दावी गरेका छन् । ‘मैले ऊर्जा सचिव क्रिस राइटलाई यो योजना तुरुन्त कार्यान्वयन गर्न निर्देशन दिएको छु,’ ट्रम्पले लेखेका छन्, ‘तेल भण्डारण जहाजमार्फत ल्याइनेछ र सिधै अमेरिकाका अनलोडिङ डकमा उतारिनेछ ।’ ट्रम्पले अमेरिकालाई हस्तान्तरण गरिने तेल ‘उच्च गुणस्तरको’ र ‘स्वीकृत (सान्क्सनअनुसार मान्य)’ रहेको बताए। ट्रम्पको घोषणापछि अमेरिकी कच्चा तेलको फ्युचर्स मूल्य १.३ प्रतिशतले घटेर प्रति ब्यारेल ५६.३९ डलरमा झरेको छ । यो घोषणा अमेरिकी सेनाले काराकासमा मादुरो र उनकी पत्नीलाई पक्राउ गरी न्यूयोर्क ल्याएको तीन दिनपछि आएको हो । उनीहरूमाथि संघीय लागुऔषध तस्करी षड्यन्त्रसम्बन्धी अभियोग लगाइएको छ । वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा शेभरन, कोनोकोफिलिप्स र एक्सन मोबिललगायत प्रमुख अमेरिकी तेल कम्पनीका प्रतिनिधिहरू तथा अन्य स्वदेशी उत्पादकहरूसँग भेट गरी ‘भेनेजुएलाको तेल क्षेत्रमा ठूला लगानी गर्ने’ विषयमा छलफल गर्ने योजना बनाएका छन् । ट्रम्पले अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलाको पुरानो र जीर्ण तेल उत्पादन क्षमताको पुनस्र्थापना गर्न अर्बौं डलर लगानी गर्ने बताएका छन् । हाल शेभरन मात्र भेनेजुएलामा सञ्चालनमा रहेको अमेरिकी तेल कम्पनी हो । कोनोकोफिलिप्स र एक्सन मोबिलका सम्पत्तिहरू भने सन् २००० को मध्यतिर तत्कालीन राष्ट्रपति हुगो चाभेजले राष्ट्रियकरण गरेका थिए । मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसले सोमबार म्यानह्याटनस्थित अमेरिकी जिल्ला अदालतमा भएको पेशीका क्रममा आफूहरू दोषी नभएको दाबी गरेका छन् । उक्त सुनुवाइका क्रममा मादुरोले न्यायाधीश एल्भिन हेलरस्टाइनसमक्ष आफूलाई ‘अपहरण गरिएको’ र आफू ‘युद्धबन्दी’ भएको बताएका थिए ।
मेची भन्सार कार्यालयबाट ४८ करोड ५२ लाखको छुर्पी निर्यात
झापा । नेपालमा उत्पादित छुर्पीको निर्यात ३२ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा पूर्वीनाका काँकरभिट्टा हुँदै ४८ करोड ५२ लाख ७३ हजार रुपैयाँ मूल्यबराबरको दुई लाख ७५ हजार २४६ केजी छुर्पी निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए । गत आव २०८१/८२ को सोही अवधिको तुलनामा चालु आवमा ३२ प्रतिशतले निर्यात बढेको हो । गत आवको साउनदेखि मङ्सिरसम्ममा ३६ करोड ७६ लाख २३ हजार रुपैयाँ मूल्यबराबरको दुई लाख १७ हजार ६८ केजी छुर्पी निर्यात भएको उनले बताए । गत आवको तुलनामा चालु आवमा छुर्पीको निर्यात ११ करोड ७६ लाख ५० हजार रुपैयाँले बढेको जनाइएको छ । नेपाली छुर्पी निर्यात हुने मुख्य नाका नै काँकरभिट्टा हो । मेची भन्सारबाट निर्यात हुने प्रमुख १० मालवस्तुको सूचीमा छुर्पी चौथो स्थानमा छ । पहाडी तथा हिमाली जिल्लामा दुग्धजन्य वस्तुबाट छुर्पी उत्पादन हुन्छ । निर्यात भएर अधिकांश छुर्पी युरोप र अमेरिका पुग्ने गरेको छ । ती मुलुकमा यसलाई कुकुर र बिरालोको खानाका रूपमा प्रयोग गर्छन् । नेपाल छुर्पी व्यवसायी सङ्घका महासचिव ऋषि तिम्सिनाले नेपालमा उत्पादन हुने छुर्पीको ८० प्रतिशत हिस्सा कोशी प्रदेशले ओगटेको बताए । नेपालबाट निर्यात हुने प्रमुख उत्पादन छुर्पीको उत्पादन र व्यवसाय प्रवर्द्धनका लागि सरकारले ध्यान दिन नसकेको महासचिव तिम्सिनाले गुनासो गरे ।
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवका अवसरमा १७५ कर्मचारीलाई सम्मान
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीहरूलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा १५ वर्षदेखि निरन्तर बैंकमा सेवारत कर्मचारीहरूलाई सम्मान गरिएको हो । काठमाडौंमा आयोजित समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष ढकाल लगायत सदस्यहरू राधेश पन्त, रामबहादुर भण्डारी, कृष्णप्रसाद शर्मा, मदनलाल जोशी र नारायणप्रसाद पौडेल, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले संयुक्त रुपमा खादा र सम्मानपत्र प्रदान गरी कर्मचारीहरूलाई सम्मान गरेका हुन् । सम्मान समारोहमा सम्बोधन गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राखेर बैंकको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताए । उनले १९ वर्ष पहिले १९औँ वाणिज्य बैंकको रुपमा स्थापना भएको यस ग्लोबल आइएमई बैंकले स्थापनाको १९ वर्षमा नै आफूलाई अधिकांश वित्तीय सूचकहरूमा अब्बल बनाउन सफल रहेको बताए । उनले बैंक वा कुनै पनि संस्था सफल हुनका पछाडि नेतृत्वका साथै सम्पूर्ण टिमको सहकार्य, मिहिनेत र लगनशिलताको उत्तिकै महत्व हुने बताउँदै सम्पूर्ण कर्मचारीहरूलाई अझ लगनशिल भएर आफ्नो कर्तव्य पालना गर्न आग्रह गरे । अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकलाई उत्कृष्ट बैंक बनाउन आफ्नो तर्फबाट पु¥याउनु भएको विशेष योगदानप्रति सबै कर्मचारीहरूलाई धन्यवाद समेत प्रकट गरे । यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले आफ्नो सेवालाई नविनतम् तथा ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए । बैंकका नायव प्रमुुख कार्यकारी अधिकृत सुमन पोखरेलले बैंकले आगामी वर्षहरूमा ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै अझ गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ ।
एनआईसी एशिया बैंकको पौने ३ करोडको सेयर बिक्रीमा
काठमाडौं । एनआईसी एशिया बैंकको पौने ३ करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको अंकित मूल्य १ सय रुपैयाँ रहेको २ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो । अंकित मूल्य १ सय रुपैयाँ रहेपनि बैंकले उक्त सेयर प्रतिकित्ता १४० रुपैयाँमा बिक्रीमा राखेको हो । सो मूल्यका आधारमा बैंकको २ करोड ८० लाख रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखिएको हो । बैंकको सेयरमा पुस २३ गतेदेखि माघ २ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । उक्त सेयर खरिदका लागि जोकोही व्यक्ति तथा संस्थाले आवेदन दिन सक्नेछन् । बैंकको सेयर बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल रहेको छ ।
बागलुङ महोत्सवमा ८ करोड रुपैयाँको कारोबार, ४ लाखले गरे अवलोकन
काठमाडौं । उद्योग वाणिज्य सङ्घ बागलुङको आयोजनामा भएको बागलुङ महोत्सवमा ८ करोड रुपैयाँको कारोबार भएको छ । सङ्घका अनुसार महोत्सवमा करिब ४ लाख दर्शकले अवलोकन गरिएका छन् । बागलुङ नगरपालिका-१ स्थित बाङ्गेचौर खेल मैदानमा पुस ११ गतेदेखि सुरु भएको महोत्सव यही पुस २२ गतेसम्म सञ्चालन गरिएको थियो । महोत्सवमा विभिन्न व्यासायिक स्टल साथै, स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर ‘मेड इन बागलुङ’ नाम दिएर बागलुङमा उत्पादन हुने वस्तुको विक्री वितरण तथा प्रदर्शन निकै महत्वपूर्ण रहेको थियो । महोत्सवमा निसी खोलामा भेडाको उनबाट बनेका काम्ला, अल्लोको कपडा, गुन्द्रुक, भाँगो, मकैको पिठो, कोदोको पिठोलगायत वस्तु, सिस्नोको धुलो, भुटेको मकै, टिमुर, आलु, सिल्टिमुर, सुन्तला, किवीलगायतका स्थानीय उत्पादनले बजार पाएको जनाइएको छ । महोत्सवमा अटो मोबाइलदेखि होटल रेष्टुरेण्ट र विभिन्न प्रकारका व्यापारिक स्टलहरू राखिएको थियो । स्टलमा पनि उल्लेखनीय व्यापार भएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजन कुमार शाक्यले जानकारी दिए । महोत्सवमा रमाइलो मेला सञ्चालन गर्नुका साथै गण्डकी प्रदेश स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता, दोहोरी गीत प्रतियोगिता, महिलाहरूका लागि लठ्ठो तान्ने प्रतियोगिता, घैटोफोर प्रतियोगिता, भाले छुने लगायन विभिन्न प्रतियोगिता संचालन गरिएको थियो । सङ्घले महोत्सवबाट सङ्कलन भएको रकमबाट सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रम बागलुङका लागि ५ लाख ११ हजार १११ लाख रुपैयाँ र नेपाल पत्रकार महासङ्घ बागलुङका लागि १ लाख रुपैयाँ सहयोग प्रदान गरेको सङ्घका निवर्तमान अध्यक्ष नरेश कँडेलले जानकारी दिए । महोत्सवबाट बचेको रकम व्यवसायीहरूको कल्याणकारी कोष, बागलुङ बजारमा सिसी क्यामेरा जडान तथा मर्मत, स्वास्थ्यका लागि खेलकुद कोष, अक्षय कोष निर्माण, कोशेली घर सञ्चालन आदिमा खर्च गरिनेछ ।
माघदेखि बीमा कम्पनीका सबै भुक्तानी विद्युतीय प्रणालीबाट गर्न प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय प्रणाली मार्फत गर्ने व्यवस्था मिलाउन सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । प्राधिकरणले जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा दलालहरूलाई आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू सम्बन्धित व्यक्ति वा संस्थाका बैंक खातामा अनिवार्य रूपमा विद्युतीय प्रणाली मार्फत गर्ने व्यवस्था मिलाउन मंगलबार निर्देशन दिएको हो । सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन, २०८२ मा बीमकले बीमालेख अन्तर्गत दाबी भुक्तानी गर्दा अनिवार्य रूपमा बीमालेखका शर्त वा प्रचलित कानून बमोजिम भुक्तानी पाउने व्यक्तिको बैंक वा वित्तीय संस्थामा रहेको खातामा जम्मा हुने गरी भुक्तानी गर्नु पर्ने व्यवस्था रहेको र नेपाल सरकारले सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी बैंकिङ प्रणाली मार्फत डिजिटल माध्यमबाट गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइसकेको सन्दर्भमा प्राधिकरणले त्यस्तो निर्देशन दिएको हो । यसअघि, प्राधिकरणले बीमा कम्पनीका स्थायी, अस्थायी, करार वा ज्यालादारी वा अन्य कुनै पनि प्रकारका कर्मचारी तथा श्रमिकहरूलाई दिइने पारिश्रमिक वा ज्याला बापतको भुक्तानी अनिवार्य रूपमा बैंक वा वित्तीय संस्था मार्फत सम्बन्धित कर्मचारी तथा श्रमिकको बैंक खातामा भुक्तानी गर्ने व्यवस्था गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको थियो ।