नेशनल लाईफद्वारा कोशी प्रदेशका ३०० अभिकर्ता सम्मानित

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कोशी प्रदेशका अभिकर्ताहरूलाई सम्मान गर्दै सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम झापाको बिर्तामोडस्थित होटल द किंग्सबरीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्पन्न भएको हो । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन लक्ष्य पूरा गरी कोशी प्रदेशबाट योग्य ठहरिएका ३०० जना अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख तथा प्रदेश अन्तर्गतका शाखा कार्यालय प्रमुखहरूको उपस्थितिमा सम्मान कार्यक्रम आयोजना गरिएको थियो । पानसमा दीप प्रज्वलन गरी शुभारम्भ गरिएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले सीईओ क्लब सदस्यता वितरण गर्दै अभिकर्ताहरूलाई सम्मान गरे । साथै, कोशी प्रदेशबाट आफ्नो कोड र संजालअन्तर्गत प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । यसै अवसरमा कम्पनीको वार्षिक योजना अन्तर्गत सञ्चालन गरिएको नेशनल अवार्ड योजना अन्तर्गत नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरूलाई नेशनल लाईफको लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र र खादा प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत खत्रीले सीईओ क्लब तथा नेशनल अवार्ड योजनाअन्तर्गत योग्य अभिकर्ताहरूलाई प्रदेशस्तरमै सम्मान गर्न पाउँदा खुसी लागेको बताए । उनले कम्पनीले सञ्चालन गरेको सीईओ क्लब योजनाबाट देशभरबाट १६ सयभन्दा बढी अभिकर्ता छनोट हुनु योजनाको सफलताको प्रमाण भएको उल्लेख गरे । साथै, सबै तहका अभिकर्तामाझ लोकप्रिय हुने यस्ता प्रोत्साहनमूलक योजनाहरू ल्याउन कम्पनी निरन्तर प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफजल अहमदले अभिकर्ताहरूलाई मोटिभेसनल तालिम प्रदान गरेका थिए । सहभागी अभिकर्ताहरूले तालिमबाट थप ऊर्जा प्राप्त भएको र आफ्नै प्रदेशमा प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा गर्व महसुस भएको प्रतिक्रिया दिएका थिए ।

काठमाडौं-२ मा रास्वपा र एमालेबीच टक्कर हुने निश्चित, यस्तो छ मत विश्लेषण

काठमाडौं । राजधानीको केन्द्रमा पर्ने काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२ आगामी आमनिर्वाचनसँगै पुनः राजनीतिक बहसको केन्द्रमा आएको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा निकै चासोका साथ हेरिएको यो क्षेत्र यसपटक पनि पुराना प्रतिस्पर्धी र नयाँ उम्मेदवारका कारण चर्चामा छ ।  २०७९ सालको निर्वाचनमा यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतमले १५ हजार २२९ मत प्राप्त गर्दै विजयी भएकी थिइन् । उनलाई निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मणिराम फुयाँलले ११ हजार ५५५ मत प्राप्त गर्दै टक्कर दिएका थिए । तेस्रो बनेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ मत ल्याएकी थिइन् ।  अघिल्लो निर्वाचनमा तीन प्रमुख उम्मेदवारबीचको मतान्तर न्यून रहँदा काठमाडौं-२ लाई त्रिकोणात्मक प्रतिस्पर्धाको क्षेत्रका रूपमा हेरिएको थियो । स्थानीय राजनीतिक कार्यकर्ताहरू अहिले पनि अवस्था त्यहीँ रहेको बताउँछन् ।  पुरानै उम्मेदवार, नयाँ रणनीति यसपटकको निर्वाचनमा नेकपा एमाले र राप्रपाले अघिल्लो निर्वाचनकै उम्मेदवारलाई दोहोर्‍याएका छन् । एमालेबाट पुनः उम्मेदवार बनेका फुयाँल र राप्रपाबाट पोखरेलले अघिल्लो चुनावको मत परिणामलाई आफ्नो बलियो आधारका रूपमा प्रस्तुत गरिरहेका छन् । दुवै दलका नेताहरूले २०७९ को निर्वाचनमा प्राप्त मत संख्या विजयको नजिक रहेको दाबी गर्दै यसपटक परिणाम उल्टिने विश्वास व्यक्त गरेका छन् । एमाले नेताहरुका अनुसार काठमाडौं-२ मा पार्टी संगठन सुदृढ हुँदै गएको छ ।  एमाले नेता राजेश कट्टेल भन्छन्, ‘अघिल्लो चुनावमा मत विभाजनका कारण पराजय भोग्नुप‍र्‍यो, यसपटक मतदाताको धार स्पष्ट छ,’ कट्टेलले भने, ‘पार्टी संगठनसँगै उमेदवारको व्यक्तित्वका कारण पनि एमालेले निर्वाचन जित्ने आधार बनेको छ ।’ राप्रपाले पनि राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा राजधानीमा थप लोकप्रिय हुँदै गएको दाबी गर्दै आएको छ । पोखरेलले अघिल्लो निर्वाचनमा पाएको मतलाई आधार मानेर यसपटक जित सम्भव रहेको बताउँदै आएकी छन् । तर, स्थानीय कांग्रेस नेता कुमुदा नेपाल २०७९ को आम निर्वाचनमा कांग्रेसको आन्तरिक असन्तुष्टिका कारण राप्रपाको मत राम्रो आएको बताउँछिन् । उनले भनिन्, ‘यस निर्वाचनमा हामी एक मना एकताका साथ भाग लिएका छौं, यसपटक राप्रपा यस क्षेत्रको प्रतिस्पर्धी होइन,’ उनले भनिन् । २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसले तत्कालीन नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर उम्मेदवारी नदिई माओवादीलाई समर्थन गरेको थियो । सो निर्णय पार्टीभित्रै विवादित बनेको थियो । यसपटक भने कांग्रेसले कविर शर्मालाई उम्मेदवार बनाएर एकल प्रतिस्पर्धामा उत्रिएको छ । कांग्रेस नेतृत्वको यो निर्णयलाई पार्टीको स्वतन्त्र पहिचान पुनःस्थापना गर्ने प्रयासका रूपमा हेरिएको छ ।  कांग्रेस कार्यकर्ताहरूले अघिल्लो निर्वाचनमा गठबन्धनका कारण पार्टीको मताधार कमजोर देखिएको बताएका छन् । ‘काठमाडौं,२ कांग्रेसको कमजोर क्षेत्र होइन, तर गठबन्धनका कारण हाम्रो उपस्थिति ओझेलमा प¥यो,’ नेपालले भनिन् ।  कविर शर्मा स्थानीय विकास, सुशासन र लोकतान्त्रिक मूल्यको एजेन्डा लिएर मैदानमा उत्रिएको उनको भनाइ छ। २०७९ को निर्वाचनमा सोविता गौतमको जितसँगै काठमाडौं–२ रास्वपाको बलियो आधार मानिन थालिएको थियो । तर यसपटक पार्टीले सुनील केसीलाई उम्मेदवार बनाएको छ । केसी अघिल्लो निर्वाचनमा प्रदेशसभा ‘क’ मा राप्रपाबाट चुनाव जितेका व्यक्ति हुन् । उनको उम्मेदवारीले रास्वपाभित्रै पनि विभिन्न चर्चा र प्रश्न जन्माएको छ । रास्वपाका नेताहरू भने केसीको उम्मेदवारीलाई अनुभव र संगठन विस्तारको रणनीतिका रूपमा व्याख्या गर्छन् । तर स्थानीय मतदातामाझ भने पार्टीको पहिचान र निरन्तरतामाथि प्रश्न उठ्न थालेको छ ।  स्थानीय भन्छन्- मुख्य भिडन्त एमाले-रास्वपाबीच काठमाडौं-२ का स्थानीय मतदाताहरूका अनुसार यसपटकको मुख्य प्रतिस्पर्धा एमाले र रास्वपाबीच हुने सम्भावना बढी छ । अघिल्लो निर्वाचनमा यी दुवै दलका उम्मेदवार नै विजेता र उपविजेता रहेका थिए । स्थानीय बुद्धिजीवी नारायण ज्ञवाली भन्छन्, ‘मत विभाजन भए पनि दुवैको आधार स्थिर देखिन्छ ।’ स्थानीय बासिन्दाहरूका अनुसार एमाले र रास्वपाका उम्मेदवार पुरानै भएकाले मतदातासँग परिचित छन् । कांग्रेस र राप्रपाले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने अवस्था देखिन्छ । विशेषगरी नेपाली कांग्रेसले यस निर्वाचनमा राम्रो लय समायो भने राप्रपाको मत अधिकतम घट्छ । काठमाडौं–२ को निर्वाचनलाई पुरानो विचार र नयाँ विकल्पबीचको संघर्षका रूपमा पनि हेरिएको छ । एमाले र कांग्रेसले परम्परागत मतदातालाई समेट्ने प्रयास गरिरहेका छन् । त्यसमाथि कांग्रेसले गठबन्धनमुक्त राजनीति गरेर आफ्नो संगठन पुनर्जीवित गर्ने रणनीति लिएको छ । रास्वपा भने पुरानो जितलाई जोगाउने चुनौतीमा देखिन्छ। राजनीतिक विश्लेषकहरूका अनुसार यस क्षेत्रको मत परिणाम मतदाताको अन्तिम धारणा, उम्मेदवारको व्यक्तिगत प्रभाव र प्रचार अभियानको प्रभावकारितामा निर्भर रहनेछ । २०७९ मा मतान्तर थोरै भएकाले यसपटक सानो परिवर्तनले पनि नतिजा उल्टिन सक्ने ज्ञवालीको भनाइ छ । यस्तो थियो समानुपातिक परिणाम शंखरापुर नगरपालिकाका सबै वडा, कागेश्वरी नगरपालिकाका ४ देखि ९ नम्बरसम्मका वडा र काठमाडौं महानगरका ९ र ३२ नम्बर वडा रहेको यस क्षेत्रमा ८८ हजार ७१० मतदाता रहेका छन् । उक्त निर्वाचन क्षेत्रमा निर्वाचन २०७९ मा समानुपातिकतर्फ रास्वपा पहिलो दल भएको थियो । रास्वपालाई दुई हजार कम मतले राप्रपाले पछ्याएको थियो । २०७९ को मत परिणामअनुसार रास्वपाले १३ हजार ८७९ मत प्राप्त गरेको थियो भने राप्रपाले ११ हजार ८१६ मत प्राप्त गरेको थियो । तेस्रो, लोकप्रिय मत पाउने एमालेले ९ हजार ५१४ मत पाउँदा कांग्रेसले ७ हजार १६७ मतसहित पाँचौं स्थान प्राप्त गरेको थियो । काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२ यसपटक पनि अनिश्चित र रोचक प्रतिस्पर्धाको केन्द्रमा देखिएको छ । पुरानै उम्मेदवारको दोहोराइ, कांग्रेसको नयाँ उम्मेदवारी र रास्वपाको रणनीतिक परिवर्तनले चुनावी माहोल थप चर्किएको छ ।  रास्वपा नेता सुमन कार्की आफ्नो दलले लोकप्रिय उमेदवारलाई मैदानमा उठाएकोले रास्वपा नै जनमतबाट अनुमोदन हुने दाबी गर्छन् । कांग्रेसकी नेपालले पार्टी एकमना एकता सहित अगाडि बढेकोले कांग्रेसले अघिल्लो निर्वाचनको परिणाम उल्ट्याउने बताउँछिन् ।  त्यसैगरी, एमालेका कट्टेल सशक्त संगठन र प्रभावशाली उमेदवार एमालेको प्लस पोइन्ट हुने अपेक्षा गर्छन् । राप्रपाका धनराज मास्की अघिल्लो समानुपातिक मतले आफ्नो जित निश्चित रहेको बताउँछन् । तर स्थानीय राजनितिक विश्लेषकहरू भने काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा पहिलो हुने दौडमा एमाले र रास्वपा देखिएको बताउँछन् ।  स्थानीयका अनु्सार एमाले र रास्वपाबीचको मुख्य भिडन्त हुने सम्भावना रहे पनि अन्तिम निर्णय भने मतपेटिकाले नै गर्नेछ । 

सांग्रिला बैंकको नाफामा ५३.९४ प्रतिशत उछाल, कर्जा ३.६९ प्रतिशत बढ्दा निक्षेप घट्यो

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा ५३.९४ प्रतिशत बढेर ३० करोड २५ लाख ९७ हजार रुपैयाँ गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले १९ करोड ६५ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चालु आवको पुस मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १८.४१ प्रतिशत बढेर १ अर्ब ८ करोड ८० लाख ७२ हजार रुपैयाँ गरेको छ । गत वर्षको पुसमा बैंकले ९१ करोड ८२ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ११.२९ प्रतिशत बढेर १२ करोड ५३ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १९.४६ प्रतिशत बढेर १ अर्ब २५ करोड ७२ लाख ८५ हजार रुपैयाँ र सञ्चालन नाफा ५९.३१ प्रतिशत बढेर ४५ करोड १३ लाख १३ हजार रुपैयाँ रहेको छ ।  पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा ९ करोड ४६ लाख ६१ हजार रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता ५.०७ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा २५ करोड २५ लाख रुपैयाँ थियो ।  समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ५ प्रतिशत बढेर ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार रुपैयाँ, जगेडा कोषमा १ अर्ब ८९ करोड ३३ लाख २७ हजार रुपैयाँ रहेको छ ।  दोस्रो त्रैमाससम्ममा बैंकको निक्षेप संकलन ०.५० प्रतिशत घटेर ५४ अर्ब ३९ करोड २४ लाख ४६ हजार रुपैयाँ र कर्जा लगानी ३.६९ प्रतिशत बढेर ४४ अर्ब ४० करोड ८३ लाख २३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधि सम्ममा बैंकले ५४ अर्ब ६६ करोड ८४ लाख ९४ हजार रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ८२ करोड ३८ लाख ९५ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । यस अवधिमा बैंकको खराब कर्जा (एनपीएल बढेर ६.८७ प्रतिशत पुगेको छ । गत वर्षको पुसमा ४.९९ प्रतिशत रहेको खराब कर्जा थियो । यस्तै, बैंकको आधार दर ६.१७ प्रतिशत, कर्जा निक्षेप अनुपात ८३.५५ प्रतिशत रहेको छ । 

रौतहटको जयनगरमा फर्निचर मेलामा उपभोक्ता र व्यवसायी आकर्षित

काठमाडौं । रौतहटस्थित गरुडा नगरपालिका-१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर मेला जारी रहेको छ । श्रीपञ्चमीको अवसर पारेर शुक्रबारदेखि थालिएको सो मेलामा घरायसी प्रयोजनका काठका फर्निचरका साथै कृषिसँग सम्बन्धित फलामका विभिन्न सामग्री बिक्रीका लागि राखिएका छन् । मेला दुई महिनासम्म जारी रहने छ । विसं २०६५ देखि निरन्तर रूपमा आयोजना हुँदै आएको यो मेला हरेक वर्ष सञ्चालन हुँदै आइरहेको छ । ग्रामीण क्षेत्रमा लाग्ने यो मेला आकार, व्यापार र सहभागिताका हिसाबले देशकै ठूलो ग्रामीण फर्निचर मेलाका रूपमा परिचित हुँदै गएको नेपाल विश्वकर्मा लोहार सङ्घका अध्यक्ष विवेक शर्माले बताए ।  मेलामा पलङ, डाइनिङ सेट, कुर्सी, खाट, खटिया, चारपाई, बेञ्च, ढोका, टेबल, ड्रेसिङ टेबल, झ्याल, दराज, बालबालिकाका खेलौनालगायत घरायसी प्रयोगका प्रायः सबै प्रकारका काठका फर्निचर उपलब्ध छन् । त्यसैगरी फलामका कोदालो, हँसिया, कुटो, बन्चरो, खुकुरीलगायत सामग्री पनि बिक्रीका लागि राखिएको उनले जानकारी दिए । मेलामा रौतहट, सर्लाही, महोत्तरी, बारा, पर्सालगायत विभिन्न जिल्लाका दुई सयभन्दा बढी फर्निचर व्यवसायीले आफ्ना सामग्री बिक्रीका लागि ल्याएका छन् भने फर्निचर आउने क्रम अझै जारी रहेको अध्यक्ष शर्माले बताए । मेलामा नेपालका विभिन्न स्थानबाट मात्र नभई भारतको बिहार प्रान्तबाट समेत उपभोक्ता तथा व्यापारी आएर घरायसी प्रयोग र पुनः बिक्रीका लागि फर्निचर खरिद गर्ने गरेको उनले जानकारी दिए । जयनगर फर्निचर मेलामा अन्य स्थानको तुलनामा २५ प्रतिशतभन्दा बढी सस्तोमा फर्निचर उपलब्ध हुने र आफ्नै काठ प्रयोग गरी स्थानीय सीप र श्रमबाट फर्निचर निर्माण गरिने भएकाले मूल्य तुलनात्मक रूपमा सस्तो पर्ने अध्यक्ष शर्माको भनाइ छ । विवाहमा दाइजोका लागि फर्निचर खरिद गर्नेहरू तथा सस्तो र गुणस्तरीय सामान खोज्ने उपभोक्ताको पहिलो रोजाइ यो मेला बनेको छ । मेलाबाट रौतहट, सर्लाही, बारा, पर्सा, धनुषा, काठमाडौं, पोखरा, विराटनगर, जनकपुरलगायत नेपालका विभिन्न भाग तथा भारतको बिहार प्रान्तका सीतामढी, पूर्वी चम्पारण, मुजफ्फरपुर र पटनासम्म फर्निचर ढुवानी हुँदै आएको उनले बताए । यातायातको सहज पहुँच, गुणस्तरीय सामग्री र सस्तो मूल्यका कारण जयनगरको फर्निचर मेला उपभोक्ता र व्यवसायी दुवैका लागि आकर्षणको केन्द्र बन्दै गएको उनको दाबी छ ।

लिपुलेक मुनिका छाङरु र तिङ्करका मतदातालाई सदरमुकाममै मतदानको व्यवस्था

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलामा दुई अस्थायी मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ब्यास गाउँपालिका-१ का छाङरु र तिङ्कर गाउँका मतदातालाई लक्षित गरी सदरमुकाम खलङ्गामा अस्थायी मतदान केन्द्र तोकिएको हो । मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार भौगोलिक विकटता र मौसमी अवस्थाका कारण लिपुलेक मुनिका छाङरु तथा तिङ्करका मतदाता हाल खलङ्गामै बसोबास गरिरहेका छन् । सोही कारण उनीहरूलाई सहज रूपमा मतदान गर्न खलङ्गामै मतदान केन्द्र कायम गरिएको हो । छाङरुका मतदाताका लागि कैलाशपति आधारभूत विद्यालय र तिङ्करका मतदाताका लागि मोति महिला सङ्घ आधारभूत विद्यालयमा अस्थायी मतदान केन्द्र तोकिएको उनले बताए । निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार कैलाशपति आधारभूत विद्यालयमा ३७५ र मोति महिला सङ्घ आधारभूत विद्यालयमा २४४ मतदाता सूचीकृत छन् । विसं २०७९ को निर्वाचनमा छाङरुमा ३८३ र तिङ्करमा २३४ मतदाता रहेका थिए । यसअघि स्थानीय तह निर्वाचन पनि ती क्षेत्रमै सम्पन्न गरिएको मुख्य निर्वाचन अधिकृत गिरीले बताए । यसपटक गत मङ्सिर महिनामै स्थानीय बासिन्दा सदरमुकाम झरेपछि यही माघ ५ गते मतदान केन्द्र खलङ्गामै राख्न माग गरिएको थियो । सो मागलाई मध्यनजर गर्दै अस्थायी मतदान केन्द्र कायम गरिएको मुख्य निर्वाचन अधिकृत गिरीले बताए । सदरमुकाममै मतदान केन्द्र तोकिँदा मतदाताको सहभागिता बढ्ने अपेक्षा गरिएको छ । जिल्लाभर प्रतिनिधिसभा निर्वाचनका लागि ११२ मतदानस्थल र १४३ मतदान केन्द्र तोकिएका छन् । प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार तीमध्ये १५ मतदानस्थल अतिसंवेदनशील, ३२ संवेदनशील र ६५ सामान्य अवस्थामा राखेर सुरक्षा योजना बनाइएको छ । मतदाता सङ्ख्याको विवरण अनुसार यसपटक दार्चुलामा कुल ९२ हजार ९४८ मतदाता रहेका छन् । तीमध्ये ४७ हजार ७५५ पुरुष र ४५ हजार १९३ महिला मतदाता रहेका छन् । निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै तयारी तीव्र पारिएको प्रजीअ पौडेलले बताए । 

गोरखाका किसानको २२ करोड आम्दानी, गत वर्ष भन्दा १५ प्रतिशत बढ्यो सुन्तला उत्पादन

काठमाडौं । गोरखामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका अनुसार जिल्लामा यो वर्ष ३ हजार १८७ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । किसानले करिब २२ करोड रुपैयाँ आम्दानी गरेको एकाइकी सूचना अधिकारी पूजा रेग्मीले बताइन् । किसानले १ करोड ५० लाख रुपैयाँ बराबरको कागतीसमेत बिक्री गरेको उनको भनाइ छ । उनका अनुसार यो वर्ष गोरखामा १५ देखि २० प्रतिशतले सुन्तलाको उत्पादन बढेको छ । उत्पादन बढेसँगै किसान उत्साहित बनेका सूचना अधिकारी रेग्मीको भनाइ छ । ‘यस वर्ष मौसम अनुकूल भएकाले पनि उत्पादन बढेको हो, विगतका वर्षहरुमा रोपेको सुन्तलाले यस वर्षबाट उत्पादन दिन थालेकाले पनि उत्पादनमा वृद्धि आएको हो,’ उनले भनिन् ।  गत वर्ष जिल्लाभर जम्मा १९ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस्तै, आर्थिक वर्ष २०८०/८१ मा १ हजार ६०० मेट्रिक टन र आव २०७९/८० मा १ हजार ८०० मेट्रिक टन सुन्तला उत्पादन भएको सूचना अधिकारी रेग्मीले बताइन् । कृषि ज्ञान केन्द्रले पनि यो वर्ष जिल्लामा सुन्तलाको उत्पादन बढेको बताएको छ । कार्यालयका सूचना अधिकारी सुमन भट्टराईका अनुसार यो वर्ष जिल्लाभर १५ प्रतिशतले सुन्तलाको उत्पादन बढेको हो । कार्यालयले आम्दानीको विवरण भने नराखेको उनले जानकारी दिइन् । ‘मौसमको अनुकूलता र किसानको मेहनतका कारण यो वर्ष उत्पादन बढेको हो । कृषि ज्ञान केन्द्रले पनि आफ्नो ठाउँबाट प्राविधिक सहयोग गर्दै आएको छ,’ उनले भनिन् । जिल्लाको सुन्तला जात फलफूल खेतीलाई राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले सघाउँदै आएको छ । कार्यालयले जिल्लामा सुन्तला जोन कार्यक्रम लागू गरेर सुन्तला खेती प्रवर्द्धन गर्दै आएको छ । गण्डकी, सहिद लखन, भीमसेन थापा गाउँपालिका र गोरखा नगरपालिकाका सबै वडा, पालुङटार नगरपालिकाका वडा नं ९ र १० तथा सिरानचोक गाउँपालिकाको वडा नं २, ४ र ५ लाई समेटेर सुन्तला जात फलफूल जोन घोषणा गरी कार्यान्वयन गरिरहेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख पूर्ण ढुङ्गाना बताउँछन् ।  ढुङ्गानाका अनुसार जिल्लामा सुन्तलाको उत्पादन बढाउन बगैँचा व्यवस्थापन तथा चक्लाबन्दी, क्षेत्र विस्तार, साना सिँचाइ पूर्वाधार निर्माण, उन्नत प्रविधिसहितको प्रदर्शनी, साना मेसिनरी वितरणलगायत कार्यक्रम सञ्चालन गरिएको छ । सुन्तला जोन बाहेकका क्षेत्रमा करिब १० प्रतिशत सुन्तला उत्पादन हुने गरेको  छ । सुन्तला जिल्लाको गण्डकी, भीमसेन थापा र सहिद लखन, सिरानचोक गाउँपालिका, गोरखा र पालुङटार नगरपालिका तथा उत्तरी गोरखाको धार्चेस्थित कासीगाउँमा फल्ने गर्छ । गण्डकीको ताङ्लीचोक, भुम्लिचोक, फलाटे, फुजेल र सहिद लखनको मनकामना, ताक्लुङ, मास्केछाप, तीनमाने, अँधेरीलाई सुन्तालको पकेट क्षेत्र मानिन्छ ।  त्यस्तै, भीमसेन थापाको तान्द्राङ, पालुङटारको बागडाँडा, शेरा र गोरखा नगरपालिकाको ताप्ले, नारेश्वर, फिनाम र भट्टबेँसीलाई पनि सुन्तला उत्पादनको पकेट क्षेत्रका रूपमा लिने गरिन्छ । जिल्लाको करिब १ हजार ९७ हेक्टर क्षेत्रमा सुन्तला खेती हुँदै आएको छ भने करिब ३ सय किसान सुन्तला खेतीमा आबद्ध छन् । जिल्लाका किसानले खाकु र स्थानीय जातको सुन्तला लगाउँदै आएका छन् ।

एनपीएल घटेपछि माछापुच्छ्रे बैंकको नाफा २५.२४ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा साढे ४३ करोड रुपैयाँ

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा २५.२४ प्रतिशत बढेर १ अर्ब १ करोड ११ लाख ७३ हजार रुपैयाँ गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले ८० करोड ७३ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  गत वर्षको पुसमा ४.५४ प्रतिशत रहेको खराब कर्जा (एनपीएल) चालु आवको पुसमा घटेर ४.२५ प्रतिशतमा झारेको छ । खराब कर्जा घटेसँगै बैंकको नाफामा केही सकारात्मक प्रभाव परेको देखिन्छ । चालु आवको पुस मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ६.४३ प्रतिशत बढेर २ अर्ब ९४ करोड १० करोड १६ लाख रुपैयाँ गरेको छ । गत वर्षको पुसमा बैंकले २ अर्ब ८२ करोड ३६ लाख ७० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २२.१२ प्रतिशत बढेर ८२ करोड ७ लाख ९९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ८.८३ प्रतिशत बढेर ४ अर्ब २ करोड ६९ लाख ८१ हजार रुपैयाँ र सञ्चालन नाफा १०.२२ प्रतिशत घटेर १ अर्ब ४५ करोड ६८ लाख ९१ हजार रुपैयाँ रहेको छ ।  पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा ४३ करोड ६३ लाख ८० हजार रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता ७.२२ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा १६ करोड ६२ लाख ९० हजार रुपैयाँ थियो ।  समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ४ प्रतिशत बढेर १२ अर्ब ८ करोड ६२ लाख ११ हजार रुपैयाँ, जगेडा कोषमा ६ अर्ब ९८ करोड १८ लाख २५ हजार रुपैयाँ रहेको छ ।  दोस्रो त्रैमाससम्ममा बैंकको निक्षेप संकलन १०.७८ प्रतिशत बढेर २ अर्ब ४ अर्ब ४ करोड ७१ लाख ७५ हजार रुपैयाँ र कर्जा लगानी ८.८८ प्रतिशत बढेर १ खर्ब ५४ अर्ब ९५ लाख ३३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधि सम्ममा बैंकले १ खर्ब ८४ अर्ब १७ करोड ६० लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४१ अर्ब ४३ करोड ६० लाख ४८ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । यस्तै, बैंकको आधार दर ५.४८ प्रतिशत, कर्जा निक्षेप अनुपात ७७.९९ प्रतिशत रहेको छ । 

राष्ट्रिय वाणिज्य बैंकको ६ महिनामा नाफा १ अर्ब ७५ करोड, निष्क्रिय कर्जा ४.५५ प्रतिशत

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको प्रथम ६ महिनासम्मको निष्क्रिय कर्जा ४.५५ प्रतिशत रहेको तथा नाफा एक अर्ब ७५ करोड रुपैयाँ भएको जनाएको छ । यो अपरिस्कृत विवरण हो ।  बैंकको ६१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर बैंकले कर्जा प्रवाह गरिरहेको जानकारी दिए ।  'हाल पूँजीबजार, निर्माण, सेवा, लगानी प्रवद्र्धन एवं विकास निर्माणका क्षेत्रमा सकारात्मक संकेत देखिएका छन्, यसले अर्थतन्त्रमा आशाको सञ्चार गरेको छ', उनले भने । बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले नवीन सोच र सङ्कल्पका बैंकले वित्तीय सेवा प्रवाह गर्दै आएको बताए ।  कर्जा प्रवाह बढाउनु चुनौती भएको स्वीकार गर्दै  उनले भने,  'बैंकको पूँजीको आधार सुदृढ बनाउन तीन खर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासनको तयारीमा रहेको छ । बैंकसँग हाल कर्जा निक्षेपको अनुपातका आधारमा एक खर्ब ७१ अर्ब रुपैयाँ तथा तरलताका आधारमा एक खर्ब ३९ अर्ब रुपैयाँको लगानीयोग्य रकम देखिएतापनि पूँजी पर्याप्ताका आधारमा थप १८ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गर्ने अवस्था छ ।'    कार्यक्रममा दिइएको जानकारीअनुसार बैंकले निक्षेपतर्फ ४७ लाख ४३ हजार र कर्जातर्फ दुई लाख २६ हजार भन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । चुक्ता पूँजी १५ अर्ब ६३ करोड रुपैयाँ भएको बैंकले चालु आवका छ महिनामा कुल निक्षेप पाँच खर्ब ५३ अर्ब रुपैयाँ सङ्कलन तथा  १९ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ ।   

एक सातामै छापियो डेढ करोड मतपत्र

काठमाडौं । निर्वाचन आयोगले एक सातामा डेढ करोड मतपत्र छपाइसकेको छ । आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि जनक शिक्षा सामग्रीमा मतपत्र छपाइको काम गरिरहेको छ । माघ २ गतेदेखि जनक शिक्षा सामग्रीको कार्यालयमा छपाइ थालेको हो । ५० लाख मतपत्र छाप्न बाँकी रहेको आयोगका प्रवक्ता नारायणप्रसाद ले जानकारी दिए । मतपत्र छपाइ सकेर पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्रको छपाइ सुरु गरिने उनको भनाइ छ । प्रवक्ता भट्टराईका अनुसार मनोनयन पत्र दर्ता प्रयोजनका लागि एक प्रति मतदाता नामावली छापेर जिल्लामा पुर्‍याइएको छ । तीन प्रति मतपत्र छपाइ गर्ने काम आयोग परिसरमा सुचारु भइरहेको छ । फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेका १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका छन् । ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २ सय मतदाता छन् । त्यसैगरी, आयोगले ९८ वटा कन्टेन्टलाई कारबाही गर्न सिफारिस गरेको छ । प्रवक्ता भट्टराईले गलत सूचना दिनेहरूलाई कारबाही गर्न विभिन्न निकायलाई ६ वटा पत्र पठाइसकेको पनि जानकारी दिए । कुन-कुन दलका उम्मेदवारले कहाँ-कहाँबाट लिए उम्मेदवारी फिर्ता ? (सूचीसहित) निर्वाचनमा २ लाख बढी कर्मचारी खटिँदै : दैनिक ५३ सय भत्ता/खाजा सुविधा, २० लाखको बीमा  

सूर्यज्योति लाइफका बीमित र अभिकर्तालाई एनआईसी एशिया बैंकको लाइफटाइम फ्री क्रेडिट कार्ड सुविधा

काठमाडौं । एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । सम्झौताअनुसार सूर्यज्योति लाइफ इन्स्योरेन्सका बीमित र बीमा अभिकर्ताहरूलाई लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड दिने छ ।  काठमाडौंमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजितकुमार शाक्य र सूर्यज्योति लाइफका सीईओ प्रकाश विक्रम खत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरे । यस सहकार्यबाट सूर्यज्योति लाइफ इन्स्योरेन्सका बीमित तथा अभिकर्ताहरूले वार्षिक शुल्क नतिरेको क्रेडिट कार्ड पाउने अवसर प्राप्त गर्दै आकस्मिक वित्तीय आवश्यकताहरू व्यवस्थापन गर्न सक्नेछन् । साथै डिजिटल भुक्तानी सेवा प्रयोग गर्न सजिलो हुने बैंकले बताएको छ । एनआईसी एशिया बैंकका अनुसार ग्राहकहरूलाई परिष्कृत र सुलभ बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले सूर्यज्योति लाइफसँग गरेको सहकार्यले बीमित र अभिकर्ताहरूलाई डिजिटल अर्थतन्त्रमा सहज पहुँच दिलाउनेछ।

१९ करोड बराबरको आईपीओ ल्याउँदै सुपर हेवा पावर, प्रत्याभूति मुक्तिनाथ क्यापिटलले गर्ने

काठमाडौं । सुपर हेवा पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि आवश्यक प्रत्याभूति व्यवस्थापन कार्य गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको हो । सम्झौताअनुसार कम्पनीले कुल १९ करोड २५ लाख रुपैयाँ बराबरको १९ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ । उक्त सेयर निष्कासनको प्रत्याभूति व्यवस्थापन कार्य मुक्तिनाथ क्यापिटलले गर्नेछ । सम्झौता पत्रमा सुपर हेवा पावर कम्पनीका अध्यक्ष हर्कबहादुर तामाङ र मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरे । सुपर हेवा पावर कम्पनीले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका–४ मा अवस्थित हेवा खोलाको पानी प्रयोग गरी ६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।   

काभ्रेपलाञ्चोकमा ८८ मतदानस्थल संवेदनशील, निर्वाचन सुरक्षाका लागि ३ हजार बढी सुरक्षाकर्मी परिचालन हुने

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै काभ्रेपलाञ्चोक जिल्लामा सुरक्षा व्यवस्था कडा बनाइने भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाभर रहेका ८८ मतदानस्थल संवेदनशील रहेकामा तीमध्ये २३ वटा ‘अति संवेदनशील’ सूचिमा परेका छन् । ‘संवेदनशील र अति संवेदनशील मतदानस्थलमा विशेष सुरक्षा सतर्कता अपनाइनेछ,’ जिल्ला प्रहरी प्रमुख कोमल शाहले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र निर्वाध रूपमा सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार सुरक्षाकर्मीहरू कार्यस्थलमै परिचालन गरिनेछन् । निर्वाचन सुरक्षाका लागि जिल्लामा निर्वाचन प्रहरी २ हजार २६९ जना, नेपाल प्रहरी १ हजार ११५ जना र सशस्त्र प्रहरी ३५० जना परिचालन गर्ने योजना रहेको छ । काभ्रेपलाञ्चोकमा कायम कुल ३ लाख २६ हजार ६११ मतदातामध्ये १ लाख ६७ हजार ४९९ पुरुष, १ लाख ५९ हजार ११० महिला र २ जना अन्य लिङ्गका मतदाता रहेका छन् । यसैबीच, प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी छनोट प्रक्रियाअन्तर्गत बिहीबार धुलिखेलमा लिखित परीक्षा तथा अन्तर्वार्ता सम्पन्न भएको छ । माग गरिएको सङ्ख्याका लागि २ हजार ४९३ जनाले आवेदन दिएकोमा २ हजार २८३ जना परीक्षामा सहभागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आसन्न निर्वाचनमा काभ्रेपलाञ्चोकका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कुल ४२ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचन क्षेत्र नं १ मा १५ दल र ३ स्वतन्त्र गरी १८ जना उम्मेदवार मैदानमा छन् । त्यसैगरी, निर्वाचन क्षेत्र नं २ मा १६ दल र ८ स्वतन्त्र गरी २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं २ मा दुई दलका र एक स्वतन्त्र गरी ३ जना महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । क्षेत्र नं १ मा अन्य समूहबाट एक जना उम्मेदवार रहेका छन् भने ११ जना स्वतन्त्र उम्मेदवार छन् । यस निर्वाचनमा दलित समुदायबाट उम्मेदवारी नपरे पनि जनजातितर्फबाट २५ जना प्रत्याशी बनेका छन् ।

कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना, तराईका अधिकांश भागमा सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आज मौसममा बदली हुने पूर्वानुमान गरेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । तराईका अधिकांश भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ ।  सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।  त्यसैगरी, आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहने पूर्वानुमान छ । लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका साथै गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।  यसैगरी, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम हिमपात हुने सम्भावना छ । साथै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।  मौसमी परिवर्तनका प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य सेवाका साथै हवाई तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

निर्वाचनमा २ लाख बढी कर्मचारी खटिँदै : दैनिक ५३ सय भत्ता/खाजा सुविधा, २० लाखको बीमा

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि २ लाख बढी कर्मचारी खटाउने भएको छ । आयोगले उक्त दिन मुलुकभरका २३ हजार ११२ मतदान केन्द्रमा कुल २ लाख १३ हजार सरकारी कर्मचारी खटाउने भएको हो ।  निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले निर्वाचन अवधिभर सरकारी निकायका विभिन्न तहका कर्मचारी खटाइने तयारी भइरहेको जानकारी दिए । अपुग भएका मतदान केन्द्र वा मतदान स्थलमा स्थानीय सामुदायिक विद्यालयका शिक्षकसमेत परिचालन गरिने उनको भनाइ छ ।  यस वर्ष भने आयोगले देशभर मतदान स्थल र मतदान केन्द्रसमेत थप गरेको छ । मुलुकभरका विभिन्न जिल्लाका क्षेत्रमा रहेका मतदान स्थल र मतदान केन्द्र थप गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।  उनका अनुसार ७५ मतदान स्थल र ८५५ मतदान केन्द्र थप गरिएको छ । नयाँ मतदान स्थल र मतदान केन्द्र मर्ज र खारेज गरेर नयाँ थप भएको हो ।  पाँच सय भन्दा बढी मतदाता भएका स्थानमा आयोगका ९ जना कर्मचारी रहने उनले बताए । पाँच सय भन्दा कम मतदाता भएका मतदान केन्द्रमा भने ८ जना कर्मचारी खटाइने भट्टराईले जानकारी दिए । पुरानै मतपेटिका प्रयोग आयोगले विगतका वर्षहरूमा जस्तो मतपेटिका खरिद नगर्ने भएको छ । पुरानै मतपेटिका प्रयोग गर्ने आयोगले जानकारी दिएको छ ।  ‘देशभरका निर्वाचन क्षेत्रमा कुल ७५ हजार मतपेटिका चाहिन्छन्, त्यसमा हामीले पुरानै मतपेटिका प्रयोग गर्ने योजना बनाएका छौं,’ प्रवक्ता भट्टराईले भने ‘आयोगले पुरानो मतपेटिका प्रयोग गर्ने भएकाले नयाँ नचाहिने भएको हो ।’ निर्वाचनमा मतदान केन्द्रमा प्रयोग हुने गरी कुल ५३ प्रकारका सामग्री प्रयोगमा आउने छन् । १५ प्रकारका संवेदनशील सामग्री आयोग आफैंले केन्द्रबाट व्यवस्थापन गर्नेछ । बाँकी ३८ प्रकारका सामग्री सम्बन्धित जिल्ला तथा प्रदेश निर्वाचन कार्यालयहरूले खरिद गरेर मतदान केन्द्रसम्म पुर्‍याउने प्रवक्ता भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार आयोगले व्यवस्थापन गर्ने १५ प्रकारका सामग्रीमध्ये मतपेटिका र मतपत्र छाप्ने कागज पर्याप्त मात्रामा मौज्दात छ । पञ्चिङ मेसिन, लाह छाप, मसी, स्ट्याम्प, प्याड र स्वस्तिक छाप जिल्ला निर्वाचन कार्यालयले खरिद गर्नेछन् ।   दुर्गम जिल्लाहरूमा पनि स्रोत साधनको उचित व्यवस्थापन गरिने र जिल्लाले खरिद गर्नुपर्ने सामग्री सम्बन्धित जिल्लाबाटै व्यवस्थापन गरी मतदान केन्द्रमा पठाइने छ ।  कर्मचारीलाई भत्तादेखि बीमासम्म  निर्वाचनमा खटिने कर्मचारीलाई विभिन्न सेवा सुविधा पनि तोकिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन सञ्चालन (आर्थिक व्यवस्थापन) कार्यविधि २०८२ का अनुसार निर्वाचनमा खटिने आयुक्त तथा कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सुरक्षा समितिका पदाधिकारीलाई निर्वाचन सुविधा तोकिएको छ । सो कार्यविधिअनुसार आयुक्तको प्रतिमहिना निर्वाचन सुविधा सुरु तलब स्केलको एक सय प्रतिशत, एक दिनको खाजा खर्च तीन सय रुपैयाँ, सार्वजनिक विदाको दिनमा प्रतिदिन खाना खर्च ५ सय रुपैयाँ र सञ्चार सुविधा २ हजार ५ सय रुपैयाँ तोकिएको छ।  आयोगको सचिवालयमा कार्यरत कर्मचारी र सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यरत कर्मचारी र काजमा रहने कर्मचारीको पनि सोही सुविधा निर्धारण गरिएको छ ।  सञ्चार सुविधा भने सचिवस्तरको २ हजार, सहसचिवको १ हजार ५ सय, उपसचिवको १ हजार र शाखा अधिकृतको ५ सय रुपैयाँ तोकिएको छ ।  यस्तै, मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ताको सुविधा पनि निर्धारण गरिएको छ । जसमा मतदान अधिकृतको प्रतिदिन २ हजार ५ सय, सहायक मतदान अधिकृतको २ हजार, सहायक कर्मचारीको एक हजार ६ सय, सहयोगी कर्मचारीको १ हजार २ सय, स्वयंसेवकको १ हजार २ सय रुपैयाँ भत्ता तोकिएको छ । एक उच्च तहको कर्मचारीलाई २ हजार पाँच सय सञ्चार, २ हजार ५ सय भत्ता र ३ सय खाजा खर्च गरेर दैनिक कुल ५३ सयको सुविधा हुनेछ ।  यस्तै, निर्वाचनमा खटिने कर्मचारीलाई आयोगले जनही २० लाख रुपैयाँको बीमासमेत गरेको जानकारी दिएको छ । सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनको व्यवस्थापन र सुरक्षाका लागि १९ अर्ब २१ करोड रुपैयाँ स्रोत सुनिश्चितता गरेको छ । निर्वाचन आयोग, गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई निर्वाचन प्रयोजनका लागि उक्त बजेट सुनिश्चितता गरिएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए । उनका अनुसार सुनिश्चितता गरिएको रकममध्ये गृह मन्त्रालयका लागि १० अर्ब ३९ करोड, रक्षा मन्त्रालयका लागि १ अर्ब ९९ करोड र निर्वाचन आयोगका लागि ६ अर्ब ७२ करोड रुपैयाँ छुट्याइएको हो । सवा २ लाख सुरक्षाकर्मी खटिँदै, भाडामा सवारीसाधन निर्वाचनमा २ लाख १० हजार बढी सुरक्षाकर्मी खटाउने तयारी गरेको छ । निर्वाचनमा विभिन्न तहका ७७ हजार ३९ जना नेपाल प्रहरी र १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी (म्यादी प्रहरी) खटिने भएका हुन् । निर्वाचन लक्षित सुरक्षाका लागि मतदान केन्द्र, मतदान स्थल, पिकेट, गस्ती, पेट्रोलिङ र मोबाइल गस्तीका रुपमा प्रहरी खटिने भएका हुन् । लामो तथा छोटो दुरी, सादा पोशाकमा गरेर प्रहरीले निर्वाचन अवधिभर गस्ती गर्ने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबि नारायण काफ्लेले बताए । आयोगले सामान्य मतदान केन्द्र , संवेदनशील मतदान केन्द्र र अति संवेदनशील मतदान केन्द्रको रुपमा छुट्टयाएको स्थानलाई प्रहरीले प्राथमिकता दिएको सुरक्षा दिने उनले बताए । नेपाल प्रहरीका अनुसार सामान्य मतदान केन्द्र २ हजार ८४५, संवेदनशील मतदान केन्द्र ४ हजार ४४२ र अति संवेदनशील ३ हजार ६८० मतदान केन्द्र रहेको छ । सामान्य मतदान स्थलमा ३ जना प्रहरी र ५ जना निर्वाचन प्रहरी खटिने प्रवक्ता काफ्लेले जानकारी दिए ।  संवेदनशील मानिएको निर्वाचन क्षेत्रमा ३ जना प्रहरीसहित ६ जना निर्वाचन प्रहरी खटिने र अति संवेदनशील निर्वाचन केन्द्र मानिएको स्थानमा १० जना निर्वाचन प्रहरी खटाइने उनले बताए । ‘एक निर्वाचन केन्द्रमा बढीमा ३ जना नेपाल प्रहरीसहित १८ जना निर्वाचन प्रहरी खटिने छन्,’ प्रवक्ता काफ्लेले भने, ‘सामान्य मतदान केन्द्रमा ३ जना प्रहरीसहित ८ जना निर्वाचन प्रहरी खटिन्छन् ।’ अति संवेदनशील, संवदेनशील र सामान्य निर्वाचन गरी विभाजन गरिएको छ । सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएको क्षेत्रमा बढी सुरक्षाकर्मी परिचालन गरिने उनी बताउँछन् । प्रहरीले बढी मतदाता र विगतमा भएका घटनालाई अध्ययन गरेर पनि बढी सुरक्षाकर्मी परिचालन गर्ने भएको हो । तराईका जिल्लाका मतदान केन्द्रमा बढी सुरक्षाकर्मी परिचालन गरिने प्रवक्ता काफ्लेले विकासन्युजलाई बताए । प्रत्येक मतदानको सुरक्षा व्यवस्थालाई ध्यान दिएर सुरक्षाकर्मी थप गरिने उनले बताए । त्यसैगरी, निर्वाचन लक्षित नेपाल प्रहरीलाई सवारीसाधन अपुग रहेको प्रवक्ता काफ्लेले खुलाए । प्रहरीलाई हाल २ हजार १७६ साना सवारीसाधन चाहिने भए पनि १ हजार ४८२ साना सवारीसाधन अपुग रहेको उनले बताए । उनका अनुसार ठूला सवारीसाधन १ सय ७४ चाहिने तर १ सय ३२ अपुग रहेको छ । मोटरसाइकल ३ हजार ४५ चाहिने भए पनि हाल ४१७ मोटरसाइकल आवश्यक रहेको प्रवक्ता काफ्लेको भनाइ छ । निर्वाचनमा सुरक्षा गर्नका निम्ति सवारीसाधन कम भएमा भाडामा लिने तयारी रहेको प्रवक्ता काफ्लेले बताए । आयोगले पनि सरकारसँग सवारी साधन माग गरेको छ । 

अल्पसंख्यकलक्षित अभिव्यक्तिमा राप्रपा उम्मेदवार भण्डारी विवादमा, निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार तथा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी विवादमा तानिएका छन् । आयोगले भण्डारीलाई पत्राचार गर्दै उक्त अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भएकोले सचेत गराएको छ। भण्डारीले अल्पसंख्यक समुदायलाई लक्षित गरेको भनिएको अभिव्यक्तिका कारण निर्वाचन आयोगले उनीसँग लिखित स्पष्टीकरणसमेत माग गरेको छ ।  आयोगले सार्वजनिक रूपमा गरिएको उक्त भनाइले निर्वाचनको मर्यादा र आचारसंहिता उल्लङ्घन गरेकोले यसबारे स्पष्ट र औपचारिक जवाफ पेश गर्न निर्देशन दिएको छ ।

वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ४८ अर्ब १० करोड रुपैयाँ मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ ।  गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ५२ प्रतिशत अर्थात १६ अर्ब ४३ करोड रुपैयाँ बढीको निर्यात भएको छ ।  गत आवको छ महिनाको अवधिमा भने ३१ अर्ब ६७ करोड रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवमा यहाँबाट हुने निर्यात ५२ प्रतिशतले बढेको बताए ।  चालु आवको छ महिनामा २५ अर्ब ४२ करोड रुपैयाँ मूल्यको भटमासको तेल प्रशोधित निर्यात भएको छ । तीन अर्ब ४८ करोड रुपैयाँ मूल्य पर्ने फलफूलको जुस र तीन अर्ब ५५ करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ ।   त्यस्तै दुई अर्ब २५ करोड रुपैयाँ मूल्यको प्रशोधित पाम तेल निर्यात भएको  छ । त्यस्तै एक अर्ब ७८ करोड रुपैयाँ मूल्य पर्ने विभिन्न किसिमका कपडा निर्यात भएको छ ।    

शिव शक्ति केमोप्लास्टको आम्दानी १ अर्ब १५ करोड रुपैयाँ

काठमाडौं । शिव शक्ति केमोप्लास्ट प्रालिले एक वर्षमा १ अर्ब भन्दा बढी आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा १ अर्ब १४ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ ।  यसअघि कम्पनीले सन् २०२४ मा १ अर्ब ७० लाख रुपैयाँ, सन् २०२३ मा ९२ करोड ५० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब १३ करोड १० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब ३ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  सन् २०२५ मा उद्योग क्षमताको ६५ प्रतिशत उपयोग भएको कम्पनीले जनाएको छ । जबकि यसअघि सन् २०२४ मा ६४ प्रतिशत र सन् २०२३ मा ५२ प्रतिशत क्षमता उपयोग भएको थियो । सन् २०२४ मा २ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत वर्ष २ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सन् २००२ मा स्थापना भएको शिव शक्ति केमोप्लास्टले विभिन्न प्रकारका पीपी वोभन फ्याब्रिक्स र बोराहरू, लेमिनेटेड पीपी ब्याग, त्रिपाल, प्राकृतिक तथा रंगीन फ्याब्रिक्स उत्पादन गर्दै आएको छ । अष्ट्रियाको गुणस्तर मापदण्डअनुसार उत्पादन गर्दै कम्पनीले ती उत्पादनहरू आन्तरिक बजारसँगै निर्यातसमेत गर्दै आएको छ । शिव शक्ति ग्रुपद्वारा सञ्चालित यस कम्पनीलाई राहुलकुमार अग्रवालले सञ्चालन गर्दै आएका छन् । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ७३ करोड २१ लाख रुपैयाँ ऋण लिएको छ । जसमध्ये दीर्घकालीन ६ करोड २१ लाख रुपैयाँ र अल्पकालीन ६७ करोड रुपैयाँ ऋण रहेको छ । 

आँखा उपचार केन्द्रलाई २.२० करोडको उपकरण हस्तान्तरण

काठमाडौं । आँखा उपचार केन्द्र लालबन्दी सर्लाहीलाई लायन्स क्लब इन्टरनेसनलले २ करोड रुपैयाँ भन्दा बढीको आधुनिक उपकरण हस्तान्तरण गरेको छ । बुधबार एक औपचारिक कार्यक्रमबीच मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले केन्द्रलाई २ करोड २० लाख २१ हजार ८६० रुपैयाँको अत्याधुनिक उपकरण हस्तान्तरण गरे ।  स्तरोन्नतिका लागि लालबन्दी नगरपालिका–५, जरुवा पानीमा सञ्चालन भइरहेको सामुदायिक परोपकार आँखा उपचार केन्द्रलाई उपकरण हस्तान्तरण गरिएको लायन्स क्लब इन्टरनेसनलका डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले बताए ।  क्लबले आँखाको शल्यक्रिया गर्न मिल्ने फेको सर्जरी मेसिनसहित माइक्रोस्कोप, ल्याम्पलगायत उपकरण प्रदान गरेको छ । केन्द्रको स्तरोन्नतिपछि यहाँका नागरिकले काठमाडौंस्थित तिलगङ्गा आँखा उपचार केन्द्र बराबरको सुविधा प्राप्त गर्ने क्लबका डाइरेक्टर बुर्लाकोटीको भनाइ छ । आँखामा भएका सम्पूर्ण समस्याको उपचार अब केन्द्रबाटै गर्न सकिने उनले बताए । 

निर्वाचनमा बढ्दो आकर्षण : तीन हजार बढी उम्मेदवार मैदानमा

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनको तुलनामा उत्साहजनक देखिएको निर्वाचन आयोगले जनाएको छ ।    मंगलबार १६५ वटै निर्वाचन क्षेत्रमा तीन हजार ४८७ उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन्  । २०७९ सालमा भने दुई हजार ४१२ उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका थिए ।  यस वर्ष ६८ राजनीतिक दलबाट दुई हजार २९७ ले उम्मेदवारी दर्ता गराएका छन् । जसमा पुरुष २०६४ र महिला २३५ छन् । स्वतन्त्र उम्मेदवारी दिने एक हजार १८७ छन् । जसमा एक हजार २४ पुरुष र १६० महिला रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए ।    उम्मेदवारी दर्ता गराउनेमा २५ देखि ३५ वर्ष उमेर समूहका ५८३, ३६ देखि ५० वर्ष उमेर समूहका एक हजार ६१०, ५१ देखि ६५ वर्ष उमेर समूहका एक हजार ९० र ६५ वर्षभन्दा माथिका २०१ जना छन् ।  सुशासनको मुख्य नारा लिएर भएको जेनजी आन्दोलनपछि उम्मेदवारी दर्ता गराउने युवाको सङ्ख्या बढेको अनुमान गरिएको छ ।

करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल १० खर्ब ८१ अर्ब चार करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गर्दा सात खर्ब ९७ अर्ब ४८ लाख रुपैयाँ बराबरको घाटा व्यहोरेको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको गत पुस मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष कूल वैदेशिक व्यापार १७ दशमलव ३६ र व्यापार घाटा १० दशमलव १५ प्रतिशतले बढेको छ ।      गत पुस मसान्तसम्ममा कूल नौ खर्ब ३९ अर्ब दुई करोड २८ लाख रुपैयाँको वस्तु आयात हुँदा एक खर्ब ४२ अर्ब एक करोड ८० लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको विभागले जनाएको छ । कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६ दशमलव ८६ र निर्यातको हिस्सा १३ दशमलव १४ प्रतिशत छ ।      वैदेशिक व्यापारमा नेपालको सबैभन्दा ठूलो साझेदारका रूपमा रहेको भारतसँग पछिल्लो छ महिनामा पाँच खर्ब ३२ अर्ब ४५ करोड ६७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने एक खर्ब १५ अर्ब ७४ करोड ३६ लाख रुपैयाँको निर्यात भएको छ । यो अवधिमा भारतसँगको व्यापार घाटा मात्र चार खर्ब १६ अर्ब ७१ करोड ३० लाख रुपैयाँ रहेको छ ।      अर्को छिमेकी मुलुक चीनसँगको पछिल्लो छ महिनाको व्यापार घाटा एक खर्ब ९५ अर्ब ३६ करोड ८४ लाख  रुपैयाँ छ । चीनबाट एक खर्ब ९६ अर्ब ९४ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा ६४ करोड नौ लाख  रुपैयाँ बराबरको मात्र निर्यात भएको विभागले जनाएको छ ।      नेपालको व्यापार घाटा बढी रहेका मुलुकहरुमा अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स, इन्डोनेसिया, थाइल्याण्डलगायत छन् । त्यस्तै, व्यापार नाफा रहेका मुलुकको शीर्ष स्थानमा डेनमार्क छ । पछिल्लो छ महिनामा नेपालले डेनमार्कसँग नौ करोड १५ लाख रुपैयाँको आयात र ५१ करोड दुई लाख रुपैयाँको निर्यात गर्दा ४१ करोड ८६ लाख  रुपैयाँ व्यापार नाफा देखिन्छ । रोमानिया, स्वीडेन, इराक, नर्वेलगायत मुलुकसँग नेपालको नाफा छ ।      यो अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा उच्च छ । चालु आवको पुस मसान्तसम्ममा ५८ अर्ब २७ करोड ९२ लाख ७६ हजार रुपैयाँको डिजेल, ३३ अर्ब सात करोड २१ लाख ६८ हजार रुपैयाँ बराबरको पेट्रोल र २७ अर्ब चार करोड २० लाख २६ हजार  रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ ।      त्यसैगरी यो अवधिमा २३ अर्ब २९ करोड ८३ लाख २२ हजार रुपैयाँको स्मार्टफोन, ५७ अर्ब ४३ करोड ६२ लाख २० हजार  रुपैयाँ बराबरको अप्रशोधित सोयाविन तेल, १४ अर्ब चार करोड ९३ लाख रुपैयाँ बराबरको फलामजन्य वस्तु आयात भएको छ । वस्तु आयातबाट सङ्कलिन यो अवधिको भन्सार राजस्व दुई खर्ब ३८ अर्ब ५३ करोड ५४ लाख १३ हजार रुपैयाँ बराबर छ ।      त्यस्तै, नेपालले बढी निर्यात गरेका वस्तुमा सोयाविन तेल मात्रै ५६ अर्ब आठ करोड २४ लाख २६ हजार रुपैयाँ रहेको छ भने सात अर्ब १९ करोड ९५ लाख रुपैयाँको अलैँची, चार अर्ब ७८ करोड ४४ लाख रुपैयाँको सूर्यमुखी तेल, तीन अर्ब ११ करोड रुपैयाँको कार्पेटलगायत छन् ।