मध्यपश्चिम विश्वविद्यालयको सिटेन : एक अर्ब ३६ करोड बजेट स्वीकृत

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयको सोमबार सम्पन्न १७ औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ३६ करोड ७७ लाख २१ हजार रुपैयाँ बजेट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाकर कँडेलद्वारा प्रस्तुत पूँजीगततर्फ ४६ करोड २५ लाख रुपैयाँ र सञ्चालनतर्फ ९० करोड ५२ लाख २१ हजार रुपैयाँसहितको बजेट तथा कार्यक्रम स्वीकृत भएको हो ।  

गुरुङ दम्पतीको स्मृतिमा त्रिवि शिक्षण अस्पताललाई साढे ९ कराेड लागतकाे भवन उपहार

काठमाडौं । भाटभटेनी समूहद्वारा साढे ९ कराेड रूपैयाँ बराबर लागतमा त्रिवि शिक्षण अस्पतालमा निर्माण गरिएको भवन शिक्षण अस्पताललाई हस्तान्तरण गरेको छ । सोमबार त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा अस्पताललाई भवन हस्तान्तरण गरिएको हो ।  भाट भटेनी सुपरमार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले अस्पताललाई भवन हस्तान्तरण गरे । ईएचएस भवन हस्तान्तरण गर्दै अध्यक्ष गुरुङले भाटभटेनी समूहले स्व.पिता वृषबहादुर गुरुङ र स्व. माता धनमाया गुरुङको स्मृतिमा भवन निर्माण गरी अस्पताललाई हस्तान्तरण गरेको बताए । समृद्ध नेपाल र सुखी नेपाली बनाउन भाटभटेनीको तर्फबाट अग्रपंक्तिमा रहेर देश र जनताको सेवा गर्न आफू तयार रहेको जानकारी दिए ।  अध्यक्ष गुरुङले सरकारले केही गर्छ की भन्ने आशा नराखिकन सेवा गरेको बताए ।    

स्थानीय तहको नमूना काम : आँपको विरुवा बेचेर करोडौं आम्दानी, बिरुवा रोपेर कुपोषण हटाउँदै

काठमाडौं । मुलुक संघीय प्रणालीमा गएपछि स्थानीय तहहरूले नमूना कार्यहरू गरेको पाइएको छ । प्रकृतिक स्रोत, साधनको भरपूर उपयोग गरेर कतिपयले पालिकाहरुले करोडौं कमाएका छन् भने कतिपयले दुर्गममा रहेका पालिकाहरुले समेत वृक्षारोपरण गरेर खाद्य सुरक्षामार्फत कुपोषण हटाउन महत्वपूर्ण कामहरू गरेका छन् ।  केही नमूना काम गर्ने मध्येको एउटा पालिका हो सर्लाहीको वागमती नगरपालिका । त्यहाँ एउटा भरतताल बनाइएको छ ।  त्यहाँका जनप्रतिनिधिको एउटा आँटले त्यो पालिकामा तालबाट राम्रो आम्दानी भइरहेको छ । २०७४ मा पालिका गठन हुँदा वार्षिक १०  लाख आम्दानी भएकोमा अहिले २० करोड रुपैयाँ पालिकाले आम्दानी गर्न सफल भएको छ ।    पालिकाहरुले आफ्नो भौगोलिक विशेषताअनुसार प्राकृतिक स्रोतलाई परिचालन गरेर धेरै आम्दानी गरिरहेको छ ।  भरततालमा ५१ ओटा मोटर बोट छन्, एउटा मोटर बोटमा १० जान चढ्छन् । एउटाबाट तीन सय लिइन्छ । एक जनाको २० प्रतिशत नगरपालिकाले चार्ज लगाउँछ । त्यो चार्ज पालिकाको आम्दानी हो । सो पालिकामा तीन सय जना रिक्सा दर्ता भएको छ । त्यहाँबाट पनि नगरपालिकाले आम्दानी गर्न सफल भइरहेको छ । पालिकाले आपको बिरुवा समेत बेच्छ ।  एउटा विरुबाबाटै ५ हजार उसले लिने गरेको छ । सयौँ विरुवा नगरपालिकाले उमारिरहेको छ ।  उक्त बिरुबाबाटै करोडौं आम्दानी  नगरपालिकाको हुने गरेको छ । सोही पालिकाले माछा बेचेर समेत वार्षिक ८ अर्ब कमाउने गरेको छ । तर उनीहरु कानूनी रुपमा अड्चन समेत खेप्नुपरेको राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङले बताए । त्यसका लागि आवश्यक समन्वयको खाँचो छ । कार्यवाहक अध्यक्ष गुरुङकाअनुसार वागमती नगरपालिकामा पर्यटकहरु आउँदा त्यहाँको स्थानीय अर्थतन्त्र चलायमान भएको समेत आफूहरूले गरेर स्थलगत अनुगमनबाट पाइएको जानकारी दिए ।  यस्तै, सुदूरपश्चिम प्रदेशमा २५ वटा पालिकाले १/१ वटा अभ्यास गरेको सुनाउन वित्त आयोगलाई बोलाएको थियो । वित्त आयोगका कार्यवाहक अध्यक्ष गुरुङकाअनुसार जसमध्ये हिमाली गाउँपालीका बाजुरामा खाद्यान्नले तीन महिना मात्रै खान पुग्छ । कुपोषण त्यत्तिकै रहेपछि उक्त पालिकाले खाद्य सुरक्षाका लागि वृक्षारोपण अभियान चलाएको पाइयो । वर्षेनी १ करोड २० लाख त्यसका लागि बजेट छुट्याइएको रहेछ । सो पालिकाले २० ओटा स्याउ, ओखर, अनार, कागती आफ्नो भूगोलअनुसार रोपेको खण्डमा १ बोरा चामल घरमै पुर्याउने योजना बनाएको रहेछ । २२ सय घरधुरीमा १९ सय त्यही बस्ने गरेको र चार सय घरदूरी आउने जाने गर्दछन् । १ हजार ९ सय घरधुरीले ७६ हजार वृक्षारोपण गरेको पाइएको जानकारी दिए ।  पालिकाले त्यो अभियान चलाएको देखेपछि निजी क्षेत्रले पनि ५२ हजार अर्को वृक्षारोपण गरेको छ । १ लाख २८ हजार बेर्ना रोप्दा ७४ प्रतिशत विरुवा बचेको छ । त्यो पालिकाले कृषि एम्बुलेन्स समेत व्यवस्था गरिदिएको छ । चिस्यान केन्द्र पनि खडा गरिदिएको छ । यदी संघीयता नल्याइएको भए त्यो खालको सम्भावना कमजोर हुने थियो । संघीयताकै करण खाद्य सुरक्षा, वृक्षारोपण, उत्पादन बढ्यो, कुपोषण हट्यो, रोजगारी सिर्जना भएको कार्यवाहक अध्यक्ष गुरुङ बताउँछन् । राम्रो हुँदाहुँदै कतिपय पालिकाले मुलुकमा संघीयता आएको एक दशक हुन लाग्दा समेत वित्त संघीयता बुझ्न सकेका छैनन् ।  गुरुङकाअनुसार स्थानीय सरकार जबसम्म सबल हुँदैन तबसम्म संघीयता सफल हुँदैन ।  गुरुङले भने– ‘यो इण्डिकेटरले ग्रास रुटमा हामि पुगिरहेका छौं भन्ने हो । गत तीन वर्षमा कार्यसम्पादन कमजोर भएको पालिका १६ वटा रहेछ । ती पालिकाहरु खोजेर वित्त आयोगका प्रतिनिधि गयौं । जनकपुरमा ६ ओटा, बारामा ६ ओटा र अरु सिंरहा, सप्तरीका थिए । हामी निस्कने बेलामा अर्को पालिकाको साथी आउनु भयो । हामीले बोलाएको ११ बजे तर ३ बजिसकेको थियो । आफ्नो दायित्व के हो भन्ने पनि कमजोर बुझाइ रहेको देखियो । म छिनामस्त गाउँपालिका गए ।’ गुरुङले आफूले २०७९ सालको निर्बाचनपछि ४४ जिल्लाको १४५ ओटा स्थानीय तहमा पुगेर आफू वित्तीय संघीयताको बारेमा निर्वाचित जनप्रतिनिधिलाई पाठ पढाउँदै आएको बताए । आयोगका अन्य कर्मचारीहरु समेत गरी करिव २ सय पालिकामा पुगिसकेको अवस्था छ । 

घरजग्गा कर्जामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले टप्यो, नबिल र एनआईसी एशिया पछ्याउँदै

काठमाडौं । वाणिज्य बैंकहरुले कुल २ खर्ब ३२ अर्ब रुपैयाँ घरजग्गा कर्जा प्रवाह गरेका छन् । चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकअनुसार वाणिज्य बैंकहरुले २ खर्ब ३२ अर्ब ३७ करोड २० लाख रुपैयाँ घरजग्गा कर्जा प्रवाह गरेको हो ।  यो अवधिसम्म सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कर्जा प्रवाह गरेको छ । सो बैंकले कुल २५ अर्ब ६ करोड २० लाख, एनआईसी एशिया बैंकले २४ अर्ब ८३ करोड ४० लाख, नबिलले २४ अर्ब ३६ करोड प्राइम कमर्सियलले २३ अर्ब १९ करोड र ग्लोबल आइएमई बैंकले १८ अर्ब ५३ करोड रुपैयाँ घरजग्गा कर्जा प्रवाह गरेको छ ।  यो अवधिसम्म लक्ष्मीले १६ अर्ब, प्रभुले १४ अर्ब ७८ करोड, हिमालयनले ११ अर्ब ६० करोड, राष्ट्रिय वाणिज्य बैंकले १० अर्ब ३ करोड, स्ट्याण्डर्ड चार्टर्डले ८ अर्ब ७१ करोड, नेपाल बैंकले ८ अर्ब ७० करोड, कुमारीले ८ अर्ब ३९ करोड, एभरेष्टले ८ अर्ब २७ करोड, सानिमाले ६ अर्ब ८४ करोड र एनएमबिले ५ अर्ब ८९ करोड रुपैयाँ घरजग्गा कर्जा लगानी गरेको छ ।  चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा सिटिजन्सले ४ अर्ब ९१ करोड, सिद्धार्थले ४ अर्ब ३६ करोड, नेपाल एसबिआईले ४ अर्ब १ करोड, कृषि विकासले २ अर्ब ५ करोड र माछापुच्छ्रेले १ अर्ब ७६ करोड रुपैयाँ प्रवाह गरेको छ । 

बाल अस्पताल निर्माणमा नेपाल लाइफले गर्‍यो १ करोड सहयोग

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई राजधानीको बुढानीलकण्ठमा निर्माणाधीन बाल अस्पतालका लागि १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । यो सहयोग कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको हो । किओचको कार्यालयमा आयोजित कार्यक्रममा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र किओचका संस्थापक अध्यक्ष डा। भगवान कोइराला बीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । बुढानीलकण्ठ नगरपालिका–७ मा निर्माण भइरहेको बहुविशिष्टिकृत बाल अस्पताल ‘किओच–काठमाडौं’ को मुख्य भवन निर्माण अन्तिम चरणमा पुगेको छ । त्यहीँ क्लिनिकल रिसर्च बिल्डिङ निर्माण भइसकेको र सेवा सञ्चालन भइसकेको जानकारी दिइएको छ । अस्पतालमार्फत बिरामी बालबालिकालाई सेवा दिनुका साथै बाल स्वास्थ्य तथा नसर्ने रोगसम्बन्धी अनुसन्धान पनि अघि बढाउने योजना रहेको छ । कार्यक्रममा नेपाल लाइफका संचालक कमलेश कुमार अग्रवालले डा. कोइरालाको नेतृत्वमा भइरहेको यो परियोजनाले नेपालका बालबालिकाको स्वास्थ्य सुधारमा अतुलनीय योगदान दिने विश्वास व्यक्त गरे । उनले यस्तो सामाजिक परियोजनामा निजी क्षेत्रको सहभागिता बढ्नुपर्ने र राज्यले लिएका लक्ष्यहरूमा टेवा पुग्ने बताए । नेपाल लाइफका सीईओ प्रवीण रमण पराजुलीले शैक्षिक, स्वास्थ्य र सांस्कृतिक रूपान्तरणमा कम्पनीको सक्रियता रहेको उल्लेख गरे । आर्थिक रूपमा कमजोर वर्गका बालबालिकालाई गुणस्तरीय सेवा दिने उद्देश्यले सहयोग गरिएको र आगामी दिनमा पनि देशभर यस्ता पहलहरूमा संलग्न रहने प्रतिबद्धता व्यक्त गरे । किओचका अध्यक्ष डा. भगवान कोइरालाले नेपाल लाइफको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै यसले अस्पताल निर्माणलाई गति दिने बताए । उनले यस्ता सहयोगहरूले काम गर्न थप उत्साह दिने उल्लेख गर्दै, 'नेपाल लाइफ जस्तो प्रतिष्ठित संस्थासँगको सहकार्यले किओचको गरिमा अझ बढेको छ,' भने ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा देशभर साधारण बदली हुनेछ  । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ र देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ । यसैगरी आज राती कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, हकप्रद सेयरको अपेक्षाले उत्साहित

काठमाडौं । आइतबार एनआईसी एशिया बैंकको सेयर सर्वाधिक कारोबार भयो । कारोबार मात्रै होइन बैंकको सेयर मूल्य पनि सर्वाधिक अर्थात् सर्किट नै लाग्यो । बैंकको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात् ३६.८१ रुपैयाँ बढेर ४०५.४० रुपैयाँ पुगेको छ । साथै बैंकको ३७ करोड १४ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।  यस्तै, नेपाल बैंकको सेयर मूल्य ५.६८ प्रतिशत अर्थात् १५.३८ रुपैयाँ बढेर २८६ रुपैयाँ पुग्यो भने १३ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । साथै, सानिमा बैंकको २५ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  एनआईसी एशिया, नेपाल बैंक र सानिामा बैंक मात्रै होइन, नेप्सेमा सूचीकृत १९ वटै बैंकको सेयर मूल्य बढेको छ । आइतबार बैंकिङ समूह ३.३७ प्रतिशत अर्थात् ४९.०९ अंक बढेर १ हजार ५०३.३१ अंक पुगेको छ । यसले लगानीकर्ताहरु बैंकिङ समूहमा आकर्षित भएको देखिन्छ ।  साथै, लघुवित्त समूहमा पनि लगानीकर्ताहरुको आकर्षण बढेको देखिन्छ । नेप्सेका अनुसार लघुवित्त समूह ३.५० प्रतिशत अर्थात् १७३.२२ अंक बढेर ५ हजार ११३.९१ अंकमा पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा बैंकिङ र लघुवित्त समूहप्रति सकारात्मक नीति आएपछि लगानीकर्ताहरुको आकर्षण बढेको जानकारहरु बताउँछन् । लगानीकर्ता छोटेलाल रौनियार लघुवित्त संस्थाको लाभांशमा लगाइएको क्याप पुनरावलोकन र बैंकहरुको पुँजी वृद्धिको विषयले लगानीकर्ताहरु आकर्षित भएको हुन सक्ने बताउँछन् ।  ‘बैंक र लघुवित्त समूह बढेको देखिन्छ । दु्ई÷तीन वटा बैंक राम्रो बढेको छ । बजारले बैंकप्रति ध्यान दियो भने बजार माथि नै जाने हो । कारोबार पनि राम्रो भएको छ । बजार अझै राम्रो भएर जाने देखिन्छ,’ उनले भने, ‘सर्किट लाग्ने गरी मौद्रिक नीति आएको होइन । कतिपय विषय पेण्डिङमै छन् । तर, लघुवित्त संस्थाको लाभांशमा पुनरावलोकन र बैंकको पुँजी वृद्धिको विषय समावेश छ । अब बोनस बाँड्न सक्नेछन् ।’  उनका अनुसार राष्ट्र बैंकले बैंकहरुको पुँजी खुकुलो बनाउन हकप्रद सेयर जारी गर्न दिन सक्ने गरी मौद्रिक नीति आएको छ । त्यसकारण दबाबमा रहेका बैंकहरुलाई सहज हुने भएकाले लगानीकर्ताहरुको मनोबल बढेको उनले बताए । पुँजी कोष टाइटमा रहेका बैंकहरूलाई सहज बनाउने गरी मौद्रिक नीति आएपछि बैंकिङ समूह बढेको एक ब्रोकर कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले विकासन्युजलाई बताए । बैंकको पुँजी वृद्धिका लागि राइट सेयर उपयुक्त विकल्प रहेको र लगानीकर्ताहरुले पनि राइट सेयरको अपेक्षा गरेपछि सेयर मूल्य र कारोबार बढेको उनको भनाइ छ ।  ‘मौद्रिक नीतिमा एउटा बुँदा छिराइदिएको छ । त्यो क्यापिटल बढाउने विषयले बैंकिङ समूह बढेको हुन सक्छ । त्यहाँ राइट सेयर त उल्लेख छैन । तर, क्यापिटल वृद्धिका लागि राइट सेयर नै सबैभन्दा उपयुक्त विकल्प हो । त्यसैले लगानीकर्ताहरु बैंकप्रति आकर्षित भएका हुन् । होइन भने बैंकिङ क्षेत्रमा अरु बढ्नुपर्ने आधार कुनै छैन,’ उनले भने ।  उनका अनुसार एनआईसी एशिया बैंक टाइट अवस्थामा रहेकाले हातखुट्टा बाँधेर बसेको छ । पुँजी वृद्धि गर्न पाउने भएपछि सहज एनआईसी एशिया बैंकलाई सहज हुने उनको भनाइ छ । अब क्यापिटल एडुकेसी टाइट भएका बैंकलाई मौद्रिक नीतिले सहज बनाएपछि चार्म देखिएको हो उनले बताए । एनआईसी एशिया बैंकका कम्पनी सचिव दीपेन कार्की बैंकको सेयर मूल्य र कारोबार बढ्ने गरी आन्तरिक निर्णय केही पनि नभएको बताउँछन् । तर, मौद्रिक नीति सकारात्मक आएपछि लगानीकर्ताहरु बैंकमा आकर्षित भएको उनको बुझाइ छ ।  ‘बैंकको सेयर मूल्यमा सर्किट लाग्नु र कारोबार धेरै हुनुमा केही कारण छैन । किन एनआईसी एशियाको सेयर मूल्य बढ्यो, हामीलाई पनि अचम्म लागिरहेको छ । किनभने बैंकभित्र त्यस्तो केही भएको छैन । सामान्य अवस्था नै छ । बैंकले आन्तरिक निर्णय गरेको पनि छैन । केही निर्णय गरेको भए सूचना आइहाल्छ,’ उनले भने, ‘राष्ट्र बैंकको मौद्रिक नीति सकारात्मक आएपछि त्यसको प्रभाव पारेको हुन सक्छ ।’ साथै, उनले बैंकको सेयर मूल्य अण्डर भ्यालू रहेको बताए । पुँजीका काधारमा बैंकको सेयर मूल्य ८÷९ सय रुपैयाँ हुनुपर्ने भएपनि अण्डर भ्यालू भएको उनको भनाइ छ । ‘त्यसै पनि हाम्रो बैंकको सेयर अण्डर भ्यालू छ । लो क्यापिटल नै हो एनआईसी एशिया । क्यापिटल खासै बढेको छैन,’ उनले भने, ‘सेयर मूल्य ४ सय रुपैयाँ मात्रै छ, बैंकको क्यापिटल १४ अर्ब ९१ करोड मात्रै छ । पुँजीका आधारमा बैंकको सेयर मूल्य ४ सय मात्रै हुँदैन नी त । कम्तिमा ८/९ सय रुपैयाँ सेयर मूल्य हुनुपर्ने हो ।’ आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २९ अंकले बढेर २ हजार ७६० बिन्दुमा पुगेको छ । आज ३११ कम्पनीको ३ करोड २५ लाख ९२ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ४१ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, आज १५८ कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनीको मूल्य घटेको छ ।  बैंक तथा वित्तीय संस्थाहरूको पुँजी वृद्धिमा सहजीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकको स्वीकृतिमा आवश्यकता अनुसार पुँजी बढाउन सक्ने व्यवस्था गरिने राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख गरेको छ ।  साथै, लघुवित्त वित्तीय संस्थाले हालको व्यवस्थाअनुसार वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरण गर्ने सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएको छ । 

सार्वजनिक शौचालय सुविधा उपलब्ध गराउने निजी व्यवसायीलाई करमा ४० प्रतिशत छुट दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरको सहकार्यमा सार्वजनिक शौचालय सुविधा उपलब्ध गराउने निजी व्यवसायीलाई व्यवसायी करमा ४० प्रतिशत छुट दिने घोषणा गरेको छ ।  आइतबार आर्थिक विधेयक प्रस्तुत गर्दै महानगर प्रमुख सुनिता डंगोलले व्यवसायीलाई ४० प्रतिशत छुट दिएको बताइन् ।   

पुस मसान्तसम्ममा कर बुझाउनेलाई १० प्रतिशत छुट दिने महानगरको घोषणा

काठमाडौं । काठमाडौं महानगरले पुस मसान्तसम्ममा कर बुझाउने करदातालाई १० प्रतिशत कर छुट दिने घोषणा गरेको छ । महानगरले आगामी आव २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रमुख सुनिता डंगोलले करको दायरमा नआएकाहरुलाई करको दायरमा ल्याउने महानगरले सो छुट दिएको बताइन् ।  उपप्रमुख डंगोलले आगमी आवमा आन्तरिक आयतर्फ महानगरले लक्ष्यअनुसार प्रगति हासिल गर्न राजस्व असुलीका लागि प्रभावकारी बनाउनको लागि व्यवसायीकरणमा नयाँ करदाता पहिचान गर्ने बताइन् । करदातलाई व्यवसाय कर कारोबार हुने स्थलमै गएर सहजीकराग गर्नेमा महानगरले प्राथामिकतामा राखेको छ ।

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड

काठमाडौं । काठमाडौं महानगरले आर्थिक वर्ष २०८२/८३ का २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । महानगरका उपप्रमुख सुनिता डंगोलले उक्त रकम बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।  महानगरले नीति तथा कार्यक्रमलाई साकार पार्नको लागि आव २०८२/८३ को लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार सञ्चित कोषमा व्ययभार पर्नेगरी र ६५ करोड अन्य बाह्य व्ययभार हुनेगरी सो रकम बराबरको बजेट ल्याएको बताइन् । आगामी आर्थिक वर्षको लागि सञ्चित कोषमा २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार जम्मा हुने देखिएको छ । जसमध्ये काठमाडौं महानगरको आन्तरिक आय र बैंक मौज्दात गरी कुल २० अर्ब १२ करोड ६४ लाख रुपैयाँको स्रोत व्यवस्था हुने अनुमान गरेको छ ।  नेपाल सरकार, प्रदेश सरकारबाट सशर्त समानीकरण राजस्व बाँडफाँट प्राप्त हुने अनुदान ४ अर्ब ९८ करोड ७९ लाख ४१ हजारको स्रोत सुनिश्चित भएको प्रमुख डंगोलले बताइन् ।  

नीति खुकुलो बनाइएपछि ५१ प्रतिशतले बढ्यो सेयरधितो कर्जा, आधा दर्जन बैंकको भन्दा हिस्सा बढी नबिलको

काठमाडौं । वाणिज्य बैंकले सेयरधितो कर्जा ५१ प्रतिशतले बर्ढाका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा वाणिज्य बैंकले कुल एक खर्ब ६ अर्ब १८ करोड ६० लाख रुपैयाँ सेयरधितो कर्जा गरेका छन् ।  गत आवको सोही अवधिमा कुल ७० अर्ब ३४ करोड ४० लाख रुपैयाँ सेयरधितो कर्जा प्रवाह भएको थियो । यो एक वर्षको अवधिमा वाणिज्य बैंकको सेयरधितो कर्जा ५०.९५ प्रतिशतले बढेको हो ।  यो अवधिमा सबैभन्दा बढी सेयरधितो कर्जा नबिल बैंकले प्रवाह गरेको छ । नबिलले आधा दर्जन बैंकसरहको बिजनेस गरेको छ । नबिलले ११ महिनाको अवधिमा १५ अर्ब ७ करोड ७० लाख, ग्लोबल आइएमईले ११ अर्ब ६० करोड २० लाख, कुमारीले ९ अर्ब ४७ करोड ८० लाख, सिद्धार्थले ८ अर्ब ४१ करोड ४० लाख र प्राइम कमर्सियलले ८ अर्ब १६ करोड ८० लाख रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेको छ । यस्तै, नेपाल बैंकले ७ अर्ब ७२ करोड ७० लाख, सिटिजन्सले ६ अर्ब ८५ करोड १० लाख, लक्ष्मी सनराइजले ६ अर्ब १६ करोड ९० लाख, राष्ट्रिय वाणिज्य बैंकले ६ अर्ब ६० लाख, प्रभुले ४ अर्ब ५२ करोड ४० लाख र कृषि विकास बैंकले ३ अर्ब ५७ करोड रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेको छ ।  यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब २८ करोड, सानिमाले ३ अर्ब १ करोड ६० लाख, एभरेष्ट बैंकले २ अर्ब ८२ करोड ७० लाख, हिमालयनले २ अर्ब ४५ करोड ६० लाख, माछापुच्छ्रेले २ अर्ब २९ करोड ७० लाख, एनआईसी एशियाले २ अर्ब ९ करोड ६० लाख, एनएमबिले २ अर्ब २० लाख र नेपाल एसबिआई बैंकले ६१ करोड ६० लाख रुपैयाँको सेयरधितो कर्जा प्रवाह गरेको छ ।  पछिल्लो समय नेपाल राष्ट्र बैंकले सेयरधितो कर्जामा केही खुकुलो नीति अगाडि सारेपछि कर्जाको परिमाण बढ्दै गएको तथ्यांकबाट देखिन्छ । 

९३ अर्बको बेतन कर्णाली आयोजना अघि बढ्ने, पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत निर्माणाधीन ४३९ मेगावाट क्षमताको अर्ध जलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजनालाई ऊर्जासचिव स्तरीय निर्णयबाट विद्युत उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । ऊर्जा मन्त्रालयमा आयोजित एक कार्यक्रममा ऊर्जा सचिव सुरेश आचार्यले कम्पनीका प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण प्रसाद आचार्यलाई अनुमतिपत्र हस्तान्तरण गर्दै आयोजनाको समयमै सम्पन्न गर्ने भूमिका खेल्न आवश्यक निर्देशन र शुभकामना व्यक्त गरे । वर्षौँदेखि अनुमति प्रक्रिया रोकिँदा निर्माण अघि नबढी उत्पादक र लगानीकर्ता र सञ्चयकर्ताहरु निराश भइरहेका बेला ऊर्जामन्त्री दीपक खड्काको निर्देशनपछि भारतीय अप्पर कर्णाली हाइड्रोपावरसँग समन्वय गरी अन्ततः अनुमति प्रदान गरिएको सचिव आचार्यले जानकारी दिए । सो अवसरमा आयोजना क्षेत्रका जन प्रतिनिधि कर्णाली र सुदूरपश्चिम प्रदेशका सांसदहरू पुष्प बहादुर शाह, शेर बहादुर कुँवर र ह्रदयराम थामीको समेत उपस्थिति थियो । उत्पादन अनुमतिपत्र ग्रहण गर्दै कम्पनीका प्रबन्ध सञ्चालक कृष्ण प्रसाद आचार्यले यसअघि रहेका जटिलताहरू कूटनीतिक पहलबाट समाधान गर्दै अनुमति दिन महत्वपूर्ण भूमिका खेलेका ऊर्जामन्त्री दीपक खड्का, सचिव सुरेश आचार्य, विद्युत विकास विभागका महानिर्देशक नविन सिंह र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत शुशील ज्ञवालीप्रति आभार व्यक्त गरे । साथै, आयोजनालाई निर्धारित समयमै निर्माण सम्पन्न गर्ने दृढ प्रतिबद्धता पनि व्यक्त गरे । कर्मचारी सञ्चयकोष, नेपाल विद्युत प्राधिकरण र विद्युत उत्पादन कम्पनी लिमिटेडबाट क्रमश : १५, १० र १० प्रतिशत लगानी रहने आयोजनाको कुल लागत करिब ९३ अर्ब रुपैयाँ रहने अनुमान गरिएको छ । बाँकी ४० प्रतिशत कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता तथा राष्ट्रसेवक कर्मचारीहरू र २५ प्रतिशत स्थानीय तथा सर्वसाधारणको सहभागिता रहनेछ । अब निर्माण कार्य तत्काल शुरु गरी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको आयोजनाको वित्तीय व्यवस्थापन चुनौतीपूर्ण मानिए पनि प्रमुख संस्थागत लगानीकर्ताहरूको सहभागिताले आयोजना सफलतापूर्वक सम्पन्न हुने विश्वास गरिएको छ ।  

मौद्रिक नीतिले सेयर बजारका लगानीकर्ता उत्साहित, ११ अर्बको कारोबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछि आइतबार सेयर बजारमा हरियाली छाएको छ ।  बैंक र लघुवित्त कम्पनीहरुको सेयरमा लगानीकर्ताको चासो देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २९ अंकले बढेर २७ सय ६० बिन्दुमा पुगेको छ । आज १५८ कम्पनीको मूल्य बढ्दा ९० कम्पनीको मूल्य घटेको छ । आइतबार ३११ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जस मध्ये सबैभन्दा धेरै कारोबार एनआईसी एशिया बैंकको भएको छ । एनआईसीको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, बुटवल पावर कम्पनीको ३२ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको २८ करोड, सानीमा बैंकको २५ करोड र सीइडीबी होल्डीङसको २४ करोड रुपैयाँको करोबार भएको छ ।  सबैभन्दा धेरै बैंकिङ समूह ३.३७ र लघुवित्त समूह ३.५० प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक १.४७, वित्त १.८७, होटल तथा पर्यटन ०.४८, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.३१ र म्युचुअल फन्ड १.०८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । जलविद्युत् ०.८३, लगानी ०.०८, निर्जीवन बीमा ०.३४, व्यापार ०.२६ र अन्य समूह ०.२७ प्रतिशतले घटेको छ । आज २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एनआइसी एशिया बैंक र खानीखोला हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  यस्तै, हिमालय हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

मनसुनजन्य विपद् जोखिम न्यूनिकरणका लागि पूर्वसूचना प्रणाली चुस्त पारिएको छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना प्रणाली चुस्त पारिएको बताएका छन् । आइतबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।  उनले मनसुनजन्य विपद् जोखिम न्युनिकरण र प्रतिकार्यका लागि समेत आवश्यक गृहकार्य भइरहेको बताए । गृह मन्त्रालय मातहत रहेको विपद् जोखिक न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवाला सबैसँग आवश्यक समन्वय र सहकार्य गरिरहेको समेत जानकारी दिए ।  उनले भने, ‘अहिले मनसुनको समय छ । मनसुनको समयमा विभिन्न जोखिमहरु उत्पन्न हुने गर्दछन् । त्यसको जोखिम न्युनिकरणका लागि पूर्वसूचना प्रणालीलाई दुरुस्त गर्ने, विपद् आइसकेपछि प्रतिकार्यका कामहरु गर्नको लागि तयारी गरिरहेका छौं । हामीसँग कानूनले नै विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण गठन भएको छ । गृह मन्त्रालय त्यसको सम्पर्क मन्त्रालय हो ।’ यस वर्षको मनसुनमा देशका अधिकांश स्थानहरुमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । विपद्का सम्भावित जोखिमयुक्त क्षेत्रमा खोज तथा उद्धार र सामग्रीको भण्डारण, डोजर, स्काभेटर लगायतका हेभी इक्यूपमेन्ट तयारी अवस्थामा रहेको समेत बताइएको छ । 

नबिल र ग्लोबलको प्रतिस्पर्धा, ५४ अर्ब रुपैयाँ नाफा गर्दा ३ बैंक करोड क्लबमा सीमित

काठमाडौं । वाणिज्य बैंकहरुले ११ महिनामा ५४ अर्ब रुपैयाँ भन्दा बढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा २० वटा वाणिज्य बैंकले ५४ अर्ब ८ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।  ११ महिनामा सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ । नबिलले ६ अर्ब ४० करोड रुपैयाँ नाफा आर्जन गरेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, ग्लोबल आइएमई बैंकले ६ अर्ब ३ करोड ६४ लाख रुपैयाँ नाफा गरेर दोस्रो स्थानमा रहेको छ ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईमबि)ले ५ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ, एभरेष्ट बैंकले ४ अर्ब २४ करोड रुपैयाँ, नेपाल बैंकले ३ अर्ब ७ करोड रुपैयाँ, एनएमबि बैंकले ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।  यस्तै, जेठसम्ममा प्राइम बैंकले २ अर्ब ९० करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ७२ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले २ अर्ब ५७ करोड रुपैयाँ, प्रभु बैंकले २ अर्ब ३१ करोड रुपैयाँ, सिद्धार्थ बैंकले २ अर्ब २१ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।  यस्तै, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब २० करोड रुपैयाँ, सानिमा बैंकले २ अर्ब १५ करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ८१ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकले १ अर्ब ५४ करोड रुपैयाँ, माछापच्छ«े बैंकले १ अर्ब ५० करोड रुपैयाँ, सिटिजन्स बैंकले १ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेको राष्ट्र बैंकले जनाएको छ ।  राष्ट्र बैंकका अनुसार हिमालयन बैंकले ९० करोड ५३ लाख रुपैयाँ, एनआईसी एशिया बैंकले ८२ करोड ९७ लाख रुपैयाँ र कुमारी बैंकले ४८ करोड १९ लाख रुपैयाँ नाफा गरेका हुन् ।

पाँच हजारमै हुन्छ एक करोडको घर बीमा

काठमाडौं । हामी हरेकको सपना हुन्छ, आफ्नै एउटा घर होस्, विशेषगरी सहरी क्षेत्रमा । सहरी क्षेत्रमा जो जागिर, व्यवसाय, पढाइ लगायत कारणले कोठा भाडामा लिएर बसेका हुन्छन् । उनीहरुको धेरै सपनाहरुमध्ये एउटा सपना भनेको आफ्नै घर बनाएर भाडाको घरबाट मुक्ति हुने पनि हो । त्यही सपना पूरा गर्नको लागि हामीमध्ये धेरै जना दिन रात नभनी मिहिनेत गरिरहेका हुन्छौँ । लामो समयको परिश्रम र मिहिनेतबाट लाखौं, करोडौं रकम खर्चेर घर त बन्यो, तर अचानक कुनै अप्रिय घटना घट्यो भने के होला ? पक्कै पनि त्यसरी अचानक भैपरी आउने विपत्तिले जोकोहीको सपना टुट्छ, ठूलो आर्थिक क्षति बेहोनुपर्छ । विश्वका विभिन्न विकासित मूलुकरुमा पहिलो प्राथामिकतामा बीमा पर्छ । नेपालमा भने बीमालाई कम प्राथामिकतामा राख्ने गरेको छ । त्यसमा पनि घर बीमाबारे धेरै जना जानकार नै छैन । त्यही कारण निर्जीवन बीमाको कुल व्यवसायमा घर बीमाको हिस्सा न्युन छ । बीमा कम्पनीहरुका अनुसार कुल व्यवसायमा घर बीमाको हिस्सा ७÷८ प्रतिशत मात्रै छ । जबकि कम्पनीहरुका अनुसार धेरै व्यवसाय आर्जन हुने पोलिसीमध्ये घर बीमालेख एक महत्वपूर्ण बीमालेख हो । मानवजन्य, दैवी तथा प्राकृतिक विपत्तिजस्ता घटना जतिबेला पनि घट्न सक्छ । यस्तो बेलामा ठूलो धनजनको क्षति हुन्छ । तर, नेपालीको भोलि जे होला, होला भन्ने स्वभावकै कारण यस्ता विपत्ति आउँदा दुखी हुनुबाहेक कुनै विकल्प हुँदैन । यस्तो विपत्तिबाट हुने धनजनको सुरक्षाको लागि बीमाले ठूलो राहत दिन्छ । सम्भावित जोखिम बहन गर्नका लागि बीमा कम्पनीहरुले घर बीमालेख बिक्री गर्दै आएका छन् । सामान्यदेखि उच्च वर्गका जनताले सहजै अफोर्ड गर्न सक्ने गरी नै कम्पनीहरुले घर बीमालेख जारी गर्दै आएका छन् । घर जीवनको ठूलो सम्पति हो । आगलगाी, भूकम्प, बाढी, चोरी वा अन्य मानवजनित विपत्तिले कुनै पनि यसलाई क्षति पु¥याउँछ । यसरी वर्षौ मिहिनेत गरेर बनाएको घरलाई अचानक क्षति पुगेमा के गर्ने भन्ने कुरामा धेरैको ज्ञान छैन । नेपालमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले घरको सुरक्षाको लागि घर बीमालेख जारी गर्दै आएका छन् । घर बीमालेख सम्बन्धी कानूनी व्यवस्था सम्पति बीमा निर्देशिका २०८० को दफा १६ अनुसार कम्पनीहरुले घर बीमालेख घर वा आवसीय भवनको लागि मात्र जारी गर्न पाइने व्यवस्था छ । साथै कम्पनीहरुले दुई करोड रुपैयाँ वा सोभन्दा कम रकमको विमाङ्को रकमको लागि घर बीमालेख जारी गर्न सकिन्छ । ऐनमा भएको व्यवस्थाअनुसार एक करोडसम्मको घर, आवासीय भवन र त्यसभित्र रहेको सामानको लागि जारी गरिएको घर बीमाको हकमा ५० पैसा (०.५०) पैसा प्रति हजार बीमादर कायम हुने छ । एक करोड रुपैयाँ बराबरको बीमा गर्नु भनेको बीमितले वार्षिक पाँच हजार प्रिमियम भुक्तानी तिरे पुग्छ । घर बीमालेखअन्र्तगत आवासीय भवनको मात्रै बीमालेख जारी गर्न पाउने कानुनी व्यवस्था छ । आवसीय भवनमा कुनै पसल वा व्यवसाय सञ्चालन भएको छ भने त्यस्तो घरको घर बीमा हुँदैन । तर इट्टा वा ढुंगाको माटोले जोडेर बनाएको घर छ भने यो व्यवस्था लागू हुँदैन । यस्तै काठले बनाएको आवसीय घर, फुस, खर वा परालले बनाएको घरमा पनि यो व्यवस्था लागू हुँदैन । कस्ता जोखिमको रक्षावरण हुन्छ ? सम्पति बीमा निर्देशिका अनुसूची ४ को परिच्छेद २ अनुसार घर, घर परिसर तथा घर परिसरमा रहेको सम्पतिमा भएको भौतिक क्षतिको बीमकले क्षतिपूर्ति प्रदान गर्नुपर्ने व्यवस्था छ । जसअन्र्तगत अग्निजन्य, हावाजन्य, पानीजन्य, चट्याङजन्य क्षति, भूमिजन्य क्षति, हुलदंगाको कारणले,स्वजलन, आन्तारिक जलन वा आफै बलेको काराणले, धक्का दिएर, छोएर, लडेर हुने क्षतिको रक्षावरण गर्छ ।  आगलगाी भएर वा आगलागी भई आगो निभाउने क्रममा घरमा क्षति पुगेमा बीमकले क्षतिअनुसारको भुक्तानी दिनुपर्छ । हावाजन्य क्षतिअन्र्तगत हावा, हुरी, बतास, आँधीवेहरी वा तुफानको कारणले, चक्रवत वा भुमरीको कारणले या कुनै प्रकारको वायुमण्डलीय उथलपुथल कारणबाट क्षति पुगेमा रक्षावरण हुन्छ । भुँइचालोको कारणले या कुनै पनि विस्फोटन भई जमिन हल्लिएको कारणले घरमा क्षति पुगेका क्षतिअनुसारको भुक्तानी कम्पनीले दिनुपर्छ । त्यस्तै पहिरो वा भुस्खलन ढुंगा खसेर, हिलो वा लेदो बग्ने कारण क्षति पु¥याएमा रक्षावरण हुन्छ । हवाई, यान, रकेट, आकाशमा उड्ने वस्तुको कारणले क्षति पुगेमा, सवारी, साधन, रेल जनावर, अन्य चलायमन वस्तले धक्का दिएर छोएर, लडेर वा लागेर क्षति पु¥याएको अवस्थामा पनि कम्पनीले क्षतिपूर्ति दिनुपर्ने हुन्छ । त्यसबाहेक हुलदंगा, हड्ताल, रिसईवीपूर्ण कार्यको काराणले आतंककारी वा विध्वंशात्मक क्रियाकलापको कारणले क्षति पुगेको छ भने कम्पनीले बीमितलाई क्षतिअनुसार भुक्तानी दिनुपर्ने व्यवस्था छ । दुर्घटना क्षतिको व्यवस्था अतिरिक्त सुविधाअन्र्तत घर बीमा गरेका बीमितले दुर्घटना क्षति पाउने व्यवस्थासमेत छ । परिच्छेद २ को दफा ४ अनुसार बीमित वा निजको परिवारको बढीमा पाँच जना सदस्यालाई घर परिसरभित्र बीमा गरिएको जोखिमस्वरुप भएको दुर्घटनाबाट क्षति भएको खण्डमा बीमकले देहाय बमोजिमको क्षतिपूर्ति भुक्तानी गर्नुपर्ने व्यवस्था छ । जसअनुसार मृत्यु भएमा वा दुवै हात वा खुट्टा काटिई अलग भएमा वा दुवै आँखाको दृश्यशक्ति नफर्किने गरी पूर्ण रूपमा क्षति भएमा प्रतिव्यक्ति ७ लाख रुपैयाँसम्म कम्पनीले प्रदान गर्नुपर्ने हुन्छ । एउटा हातको नाडी वा खुट्टाको गोलीगाँठो वा सोभन्दा माथिको भाग काटिई अलग भएमा प्रतिव्यक्ति प्रतिहात वा प्रतिखुट्टा तीन लाख रुपैया दिनुपर्ने हुन्छ । त्यस्तै हात वा खुट्टाको बुढीऔला काटिएमा प्रतिव्यक्ति प्रति बुढीऔंला एक लाख रुपैयाँ र अन्य अंगको क्षति भएमा चिकित्सकको सिफारिसअनुसार समानुपातिक हिसाबले हुन आउने रकम बीमकले प्रदान गर्नुपर्ने हुन्छ । यस्तै चोरी, लुटपाट, डकैतीअन्तर्गत घर वा घर परिसरमा चोरी, लुटपाट वा डकैती भई वा सोको प्रयासस्वरूप भएको क्षतिको बीमकले क्षतिपूर्ति प्रदान गर्नेछ भन्ने व्यवस्था गरिएको छ । कस्तो अवस्थामा क्षतिपूर्ति पाइँदैन ? सम्पति बीमा निर्देशिकाअनुसार दाबी जालसाजीपूर्ण भएमा, दाबीको सिलसिलामा बीमित वा निजको तर्फबाट कार्य गर्ने व्यक्तिले झुठो झुठो विवरण दिई कुनै अनुचित लाभ उठाउन खोजेमा वा बीमकले दाबी अस्वीकार गरेको ६ महिनाभित्र बीमा प्राधिकरणसमक्ष उजुरी नगरेमा क्षतिपूर्ति पाइँदैन ।  बीमा ऐन, २०७९ बमोजिम बीमा प्राधिकरणले बीमकको पक्षमा फैसला गरेको ३५ दिभित्र उच्च अदालतामा उजुरी नगरेमा दाबी वापतको क्षतिपूति नपाई व्यवस्था गरिदिएको छ । बीमा गरिएको सम्पति रहेको भवन वा स्थानको बारेमा बीमितले आफूले जानकारी भएको मूलभुत विवरण दिँदा झुठो विवरण दिएमा, जोखिम विश्लेषण गर्न आवश्यक पर्ने वास्तविकता लुकाई झुठो कुरा उल्लेख गरेमा वा वास्तविकता उल्लेख गर्दा कुनै वस्तुगत तथ्य उल्लेख नगरेमा झुठो विवरण दिएको मानिन्छ । भूकम्पपछि घर बीमा बढेपनि पाएन निरन्तरता २०७२ सालमा नेपालमै ठूलो भूकम्प गयो । भूकम्पमा ठूलो संख्यामा मानवीय क्षतिसँगै भौतिक क्षति हुन पुग्यो । त्यतिबेला धेरै घरहरु भत्किएपनि बीमा कम्पनीहरुमा न्युन दाबी परेको नेपाल बीमा प्राधिकरणका उपनिर्देशक राम कोजु बताउँछन् । त्यसपछि भने विस्तारै मानिसहरु सचेत हुन थालेको र घरको बीमाको महत्व बुझ्न थालेको उनले बताए । उपनिर्देशक कोजुका अनुसार पछिल्लो समय घर बीमा गर्नुपर्छ भनेर ठूला धनाढ्य वर्गले जानकारी लिने गरेको भएपनि अझै सर्वसाधारणलाई यसबारे जानकारी छैन । पछिल्लो समय घर बीमालाई प्रभावकारी बनाउन नियामक निकायबाट प्रयासहरु भइरहेको उनले बताए ।  नेपाल इन्स्यारेन्सका सूचना अधिकारी चन्द्रनाथ उप्रेती २०७२ सालपछि घर बीमा गराउने बीमितको संख्या बढेपनि बीचमा त्यसले निरन्तरता नपाएको सुनाउँछन् । घर बीमाको हकमा बैंकमा कर्जा लिनेहरुको बैंकले नै गराइदिने हुँदा त्यो संख्या बढेपनि व्यक्ति आफैले बुझेर घर बीमा आउने संख्या न्युन रहेको उनको भनाइ छ ।  ‘बैंकबाट घर कर्जा लिनेहरुलाई बैंकले नै घर बीमा गराइदिएको हुन्छ, तर पछिल्लो समय बैंक तथा वित्तिीय संस्थाको कारोबार घटेको अवस्था भएकले घर बीमा पहिलेको भन्दा धेरै बढ्न सकेको छैन,’ उनले भने ।   सूचना अधिकारी उप्रेतीका अनुसार कतिपय बीमितलाई आफ्नो घरको बीमा छ भन्नेसमेत जानकारी हुँदैन । ‘घर कर्जा लिनेहरुको बैंकले नै बीमा गराएको हुन्छ । त्यसैले कतिपयलाई त मेरो घरको बीमा छ÷छैन भन्ने नै थाहा हुँदैन,’ उनले भने ।  विगतको तुलनामा पछिल्लो दिनहरुमा घर बीमाबारे जनचेतना बढेपनि मैले मेरो घरको बीमा गर्नुपर्छ भन्ने धारणा अझै विकास हुन नसक्दा घर बीमा बढ्न नसकेको उनको तर्क छ । उनका अनुसार सरकारी ठूला तहमा पुगेका कर्मचारीकोसमेत घरको बीमा छैन ।  घर बीमाको बारेमा प्राधिकरणमाराख्ने गरेको र स्थानीय स्तरमा छलफल हुँदा उठाउने गरेको उनले बताए । घर बीमालाई सबैको पहुँचमा पु¥याउनको लागि घर निर्माण हुने बेलामा नै पालिकाले अनिवार्य बनाइदिनुपर्ने उनले बताए । तर बीमालाई बाध्यात्मक भने पार्न नहुने उनको तर्क छ ।  उनका अनुसार घर बीमा गराइसकेपछि बीमितले ऐनमा व्यवस्था भएअनुसारको सुविधा उपलब्ध गराउने आएका छ । ’दैवी तथा प्राकृतिक प्रकोप कतिबेला आउँछ थाहा हुँदैन । त्यस्ता विपत्तिले सम्पतिको ठूलो क्षति भइरहेको हुन्छ, बीमा गरेको छ भने क्षतिअनुसारको रकम पाइन्छ,’ उनी भन्छन् । सूचना अधिकारी उप्रेती घर बीमा बढाउन सरकारले विपन्न वर्गलाई सौलियत दरमा प्रिमियम अनुदान दिने व्यवस्था गर्नुपर्ने बताउँछन् । स्थानीय तहले पनि केही विशेष कार्यक्रम ल्याएर घर बीमालाई आकर्षित गराउन सक्ने उनको सुझाव छ । ‘ग्रामिणस्तरसम्म गएर बीमाको महत्व र आवश्यकता प्रष्ट्याउन सकियो भने घर बीमा बढ्न सक्छ । हामीले पनि बीमा गर्दा जोखिम बहान हुन्छ भनेर कार्यक्रमहरु गर्दै आएका छौँ,’ उनले भने । नेको इन्स्यारेन्सका अन्डरराइटिङ प्रमुख हंशमान डंगोल नेपालमा घर बीमाको त्यस्तो ट्रेन्ड भइनसकेको बताउँछन् । घर बीमा अरु बीमालेखको दाँजोमा सस्तो भएपनि बीमितलाई बुझाउन नसक्दा र बुझेर पनि नगर्दा यसको संख्यामा सुधार हुन नसकेको उनको भनाइ छ । बीमाप्रति पर्याप्त जनचेतना नहुनु र सम्बन्धित क्षेत्रको पनि यसमा कमजोरी औल्याउँछन् डंगोल । उनले भने, ‘घर बीमा अरुको दाँजोमा सस्तो छ । यो राम्रो प्रडक्ट हो । कतिपयले नबुझेर गर्न सक्नुभएको छैन, कतिपयले बुझेर गर्नुभउको छैन । यसमा नियामक निकाय, कमपनी र बीमितको पनि कमजोरी छ ।’ विस्तारै सबैलाई सचेत गराउँदै लान सकियो भने यसमा सुधार आउन सक्ने उनको भनाइ छ । यसको लागि सरकारले पनि विशेष ध्यान दिनुपर्ने उनले बताए ।  ‘अहिले विस्तारै पालिकाहरुले घर बीमा गराउन थालेको छ । यो राम्रो पक्ष हो । विस्तारै सरकारले पनि घर बीमालाई तेस्रो पक्ष मोटर बीमालाई जस्तै अनिवार्य बनाउँदै लान सकियो भने सुधार आउँछ,’ उनले भने । उनका अनुसार हरेकलाई पालिकामा घर बहाल कर तिर्न जाँदा बीमा चाहिन्छ भनेर अनिवार्य गर्न सुरु गनेृ हो भने भोलिका दिनमा यो संख्या बढ्न सक्छ । यसले व्यक्तिलाई मात्रै नभएर राष्ट्रलाई समेत फाइदा पुग्ने उनको तर्क छ । बीमा गरेपछि प्रिमियम तिर्न नसक्ने भन्दा पनि जोखिबारे बीमितहरु सचेत नहुँदा समस्या भएको उनको तर्क छ । अर्का बीमा कम्पनीका एक डीसीईओ एक करोड रुपैयाँको घर बनाउन सक्नेको लागि वार्षिक पाँच हजार प्रिमियम केही पनि नभएको तर्क गर्छन् । उनका अनुसार प्रिमियमको भन्दा पनि किन बीमा गर्नुपर्यो र भन्ने मानसिकताले नै मान्छेहरु घरबीमा जस्त महत्वपूर्ण बीमा गर्नबाट चुकेका छन् । उनले भने, ‘मान्छेले आफैले स्वस्र्फुत रुपमा आफैले बनाएको घरको सुरक्षा गर्न चुकेका छन् । ५० लाखदेखि एक करोडको घर बनाउने मान्छे सामान्य हुँदैनन् । जसको घर नै छैन, बनाउन सक्दैन, तिनीहरुलाई समस्या हुन सक्छ ।’ त्यस्तै, उनले भोलि भूकम्प, बाढी, पहिरोजस्ता विपत्ति आउँदा ठुलो क्षति व्योहोनुपर्ने भन्ने कुरामा हामी सचेत हुन नसकेको सुनाउँछन् । भूकम्प, बाढी, पहिरोजस्ता विपत्ति जतिबेला पनि आउन सक्छ । बीमा छ भने बीमाले कभर गर्छ, छैन भने कति ठूलो आर्थिक संकट झेल्नुपर्छ तर यसबारे मानिसहरुले ध्यान दिएको लाग्दैन,’ उनले भने ।  उनका अनुसार पछिल्लो समय घर बीमा गर्दा सरकारले करमा समेत छुट दिने गरेको छ । अबका दिनमा स्थानीय निकायले पनि घर निर्मााणको स्वीकृति लिन आउँदखाच बीमा गर्न सर्त अनिवार्य गर्दिने हो भने नेपाली जनताको धनजन भोलि केही दैवी प्रकोप आयो भने सुरक्षित हुने सुझाव दिन्छन् । धेरै भन्दा धेरै बीमितलाई घर बीमा गराउन बीमा कम्पनीहरुो को मात्रै प्रयासले सफल नहुने उनको तर्क छ । ‘हामीले हाम्रो तर्फबाट गर्नुपर्ने प्रचार गरिरहेकै छौँ, तर हाम्रो प्रयासले मात्रै सम्भव छैन । सरकारको तर्फबाटै केही पहल गरे सम्भव छ,’ उनले भने ।

नुवाकोटको मध्यताँदी जलविद्युत आयोजनामा प्रभु बैंकले ७१ करोड लगानी गर्ने

काठमाडौं । नुवाकोटको ताँदी खोलामा निर्माणाधीन ५.५ मेगावाट क्षमताको मध्यताँदी जलविद्युत आयोजनाका लागि आवश्यक लगानी जुटेको छ । 'दुप्चेश्वर महादेव हाइड्रो कम्पनीले प्रवर्द्धन गरिएको यस आयोजनाको कुल लागत १ अर्ब १० करोड रुपैयाँ अनुमान गरिएको छ । उक्तमध्ये ७१ करोड ४४ लाख रुपैयाँ लगानी प्रभु बैंकले गर्ने भएको हो । शुक्रबार काठमाडौंमा आयोजना गरिएको लगानी सम्झौतापत्रमा आयोजनाका तर्फबाट अध्यक्ष अनिल जोशी र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको उपस्थितिमा परियोजना प्रमुख (प्रोजेक्ट हेड) दीपेश पोखरेलले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार आयोजनामा प्रभु बैंकको ६५ प्रतिशत र निर्माण कम्पनीको ३५ प्रतिशत लगानी रहनेछ । दुप्चेश्वर गाउँपालिका–६ मा आयोजना निर्माण कार्य सुरु भइसकेको प्राविधिक सल्लाहकार इञ्जिनियर सरोज खनालले जानकारी दिए । अहिले आयोजनामा सडक, आवास गृह लगायतको पूर्वाधार निर्माण कार्य भइरहेको छ ।  १५ महिनाभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाबाट उत्पादित विद्युत् ६ किलोमिटर लामो प्रशारण लाइनमार्फत नुवाकोटको समुद्रटार सवस्टेशनमा पुर्‍याइनेछ र त्यहाँबाट राष्ट्रिय प्रशारण प्रणालीमा जोडिनेछ ।

मेक्सिको र इयूलाई ३० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र युरोपेली सङ्घ (इयू) लाई लक्षित गर्दै ३० प्रतिशत कर वृद्धि गरिएको घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट गरिएको औपचारिक पत्रमा भनिएको छ, ‘करसम्बन्धी यी दुवै घोषणा अगस्ट १ देखि लागू हुने छन् ।’ राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकामा अवैध लागूपदार्थको प्रवाहमा मेक्सिकोको भूमिका र इयूसँगको व्यापार असन्तुलनलाई कर वृद्धि गर्नु पर्नाको कारणको रूपमा उल्लेख गरेका छन् । इयूले यो घोषणाको तीव्र आलोचना गर्दै यसले आपूर्ति श्रृङ्खलामा खलल पुर्याउने चेतावनी दिएको छ, तर समय सीमाभन्दा अगाडि नै सम्झौतामा वार्ता जारी राख्ने बताएको छ । गत जनवरीमा राष्ट्रपतिमा फर्केपछि ट्रम्पले आफ्ना प्रतिस्पर्धी र सहयोगीहरूलाई लक्षित गरी व्यापक कर वृद्धि गरेका छन् । यसले वित्तीय बजारलाई तहसनहस बनाएको छ र विश्वव्यापी आर्थिक मन्दीको भय बढाएको छ । ट्रम्प प्रशासनले व्यापारिक साझेदारलाई कर लागु हुने मितिभन्दा पहिले सम्झौताहरू सुरक्षित गर्न दबाब दिइरहेको छ ।   अहिलेसम्म अमेरिकी अधिकारीहरूले बेलायत र भियतनामसँग दुई वटा सम्झौता मात्र गरेका छन् भने चीनसँग अस्थायी रूपमा प्रतिशोधात्मक (टिट फर ट्याट) करलाई घटाएका छन् ।  ट्रम्पले घोषणा गरेको मेक्सिकोका लागि नयाँ शुल्क यस वर्षको सुरुमा मेक्सिकोकासामानमा लगाएको २५ प्रतिशत करभन्दा बढी हुनेछ, यद्यपि अमेरिका–मेक्सिको–क्यानडा सम्झौता (यूएसएमसीए) अन्तर्गत संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उत्पादनहरूलाई छुट दिइएको छ । ‘मेक्सिकोले मलाई सीमा सुरक्षित गर्न सहयोग गरिरहेको छ, तर मेक्सिकोले जे गरेको छ, त्यो पर्याप्त छैन,’ ट्रम्पले मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबामलाई लेखेको पत्रमा भनेका छन् ।  उनले भने, ‘सन् २०२५ अगस्ट १ देखि हामी संयुक्त राज्य अमेरिकामा पठाइएका मेक्सिकोका उत्पादनहरूमा ३० प्रतिशत थप कर लिनेछौँ ।’ युरोपेली सङ्घसँग वार्ता जारी रहँदा ट्रम्पले अप्रिलमा सार्वजनिक गरेको २० प्रतिशत करको तुलनामा इयूको शुल्क पनि निकै बढी हो । आपूर्ति श्रृङ्खलामा खलल पुग्ने युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले एक विज्ञप्ति जारी गर्दै भने, ‘इयूको निर्यातमा ३० प्रतिशत कर लगाउँदा एटलान्टिक महासागरका दुवैतर्फका व्यवसाय, उपभोक्ता र बिरामीलाई हानि पुग्ने गरी आवश्यक ट्रान्साटलान्टिक आपूर्ति श्रृङ्खलामा खलल पुग्नेछ ।’ उनले भने, ‘हामी अगष्ट १ सम्ममा सम्झौताका लागि काम गर्न तयार छौं । साथै, हामी इयूको हितको रक्षाका लागि आवश्यक सबै कदम चाल्नेछौं, जसमा आवश्यक परेमा समानुपातिक प्रतिकारको उपाय अपनाउने उपाय पनि समावेश छ ।’ युरोपेली सङ्घ र अन्य दर्जनौं अर्थतन्त्रमाथि बुधबारदेखि अमेरिकी करको स्तर १० प्रतिशतको आधार रेखाबाट वृद्धि गर्ने तयारी गरिएको थियो तर ट्रम्पले यो समय सीमालाई अगस्ट १ सम्मका लागि पछाडि सारेका थिए ।  यस हप्ताको सुरुदेखि नै ट्रम्पले २० भन्दा बढी देशलाई पत्र पठाउँदै क्यानडाका लागि ३५ प्रतिशत करसहित प्रत्येकका लागि अद्यावधिक शुल्क लगाएका छन् । एक अमेरिकी अधिकारीले एएफपीलाई बताएअनुसार यूएसएमसीएको छूट क्यानडाका लागि रहने अपेक्षा गरिएको थियो। ब्रसेल्सले २० प्रतिशत कर फिर्ता हुन नदिन वासिङ्टनसँग सम्झौता गर्न तयार रहेको शुक्रबार जनाएको छ । ट्रम्पले यस वर्षको सुरुमा स्टिल र आल्मुनियमको आयातमा छुट्टाछुट्टै कर लगाएपछि इयूले करिब २१ अर्ब युरो बराबरको अमेरिकी सामानमा प्रतिशोधात्मक कर लगाउने तयारी गरेको थियो । युरोपेली अधिकारीहरूले निलम्बन लम्ब्याउन कुनै कदम चालेका छैनन् तर आवश्यक परेको खण्डमा चाँडै गर्न सक्नेछन्। एटलान्टिक काउन्सिलका अन्तर्राष्ट्रिय अर्थशास्त्रका अध्यक्ष जोश लिप्सकीले भने, ‘सम्झौताका लागि सबै आन्दोलनको बावजुद, यो खतराले इयू विश्वका लगभग सबै देशजस्तै अनिश्चितताको घेरामा रहेको देखाउँछ।’    उनले एएफपीसँग भने, ‘अबको बाटो इयूले कस्तो प्रतिक्रिया दिन्छ भन्नेमा निर्भर गर्दछ र यो व्यापार युद्धको अहिलेसम्मको सबैभन्दा अनिश्चित क्षणमध्ये एक हो ।’

भाषा, साहित्यमार्फत नेपाल एकीकरण गरेका भानुभक्तको २१२औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।  संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेका रामायण अहिले पनि नेपालीहरूको घर घरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका हुन् । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।  ‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्त माला’, ‘राम गीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिला सुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए- ‘भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनुमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ । त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नातकोत्तरमा थुप्रै शोध ग्रन्थ लेखिएका छन् । यस उपलक्ष्यमा आज बिहान काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगर प्रभातफेरी गर्ने कार्यक्रम रहेको जनाइएको छ । घर घरमा आदिकवि आचार्यले नेपाली भाषामा भावानुवाद गरेको रामायण पाठ गरी भानु जयन्ती मनाउँछन् । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउँदै छन् । आदिकवि आचार्यभन्दा अघि नै नेपाली भाषामा कविता लेख्ने कवि भएकाले उनलाई आदिकवि भन्न नमिल्ने तर्क पनि उठ्ने गरेका छन् । भानुभक्तका विषयमा अध्ययन, अनुसन्धान गरिरहेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञान निष्ठ ज्ञवाली रामायणजस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकताको महत्त्वपूर्ण योगदान गरेकाले भानुभक्तलाई आदिकवि भनिनु न्यायोचित रहेको बताउँछन् । रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँ युग निर्माण गरेको मानिन्छ । आदिकवि आचार्यको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । महाशाखाका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।