काठमाडौं । सूचना तथा प्रसारण विभागले इजाजतपत्र नवीकरण नगरेका ७ प्रसारण संस्थालाई सात दिनभित्र विभागमा सम्पर्क गर्न निर्देशन दिएको छ । विभागले गोर्खा मिडिया नेटवर्क प्रालि, उपकार मिडिया ग्रुप प्रालि, बलभद्र मिडिया प्रालि, अन्नपूर्ण ब्रोडकास्ट मिडिया प्रालि, सयपत्री मिडिया प्रालि, सोसाइटल मिडिया प्रालि र टिम टेलिभिजन प्रालिलाई ७ दिनभित्र सम्पर्क गर्न निर्देशन दिएको हो ।
विभागका अनुसार राष्ट्रिय प्रसारण नियमावली, २०५२ को नियम १६ बमोजिम इजाजतपत्र तथा अनुमतिपत्रको बहाल रहने अवधि एक आर्थिक वर्षको हुने व्यवस्था छ । सो अवधिभित्र नवीकरण नगरेमा इजाजतपत्र स्वतः रद्द हुने कानुनी प्रावधान रहेको विभागले स्पष्ट पारेको छ ।
इजाजतपत्र नवीकरण गर्न चाहने प्रसारण संस्थाले बहाल रहने अवधि सकिनु अघि नियमावलीको नियम ११ बमोजिम बुझाउनुपर्ने प्रसारण तथा वितरण शुल्क बुझाएको प्रमाण संलग्न गरी तथा नवीकरण दस्तुर दाखिला गरेर निवेदन दिनुपर्ने व्यवस्था रहेको उल्लेख छ । विभागले म्यादभित्र नवीकरण नगरेका कारण इजाजतपत्र स्वतः रद्द भएका प्रसारण संस्थाहरूले समेत नियमावली अनुसार सात दिनभित्र नियमानुसार नवीकरणका लागि विभागमा सम्पर्क गर्न आग्रह गरेको छ ।
त्यस्तै, महालेखापरीक्षकको कार्यालयको पत्रमार्फत प्राप्त निर्देशनअनुसार केही प्रसारण संस्थाले इजाजतपत्र नवीकरण नगरी स्वतः रद्द भएको अवस्थामा समेत प्रसारण कार्य गरी आम्दानी गरेको देखिएको विभागले जनाएको छ । त्यसअनुसार राष्ट्रिय प्रसारण नियमावली, २०५२ को नियम १९ बमोजिम प्रसारण तथा वितरण शुल्क र सोमा लाग्ने जरिवाना रकम दाखिला गर्न विभागले निर्देशन दिएको छ ।