काठमाडौं । मान्छेहरुका संघर्षका पाटा र बाटाहरु पृथक हुन्छन् । त्यो पृथकता परिवेशले ल्याउँछ वा परिस्थितीले ? मेहनतले निर्धारण गर्छ वा भाग्यले ? यी प्रश्न भने आफैमा अनुत्तरित छन् । भनिन्छ नि, ‘संघर्ष गरे सफलता अवश्य मिल्छ ।’
नेपाल बैंककी नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) समता पन्तको जीवनमा पनि धेरै आरोह र अवरोहका झुण्डहरु आए । वि.स २०६१ सालमा बैंकिङ पेशामा प्रवेश गरेकी समता बैंकर बनेको १५ वर्षमै नेपाल बैंकको डीसीईओ बनिन् । तर, समताको सफलता भित्रको कहानी भने रोचक मात्रै होइन कठीन पनि उत्तिकै छ ।
वि.स २०३४ सालमा काठमाडौंको पकनाजोलमा जन्मिएकी समताले सानै हुँदा बुवा गुमाउनु पर्यो । बुवा खाद्य संस्थानमा काम गर्थे भन्ने उनलाई थाहा छ । तर, बुवाको माया कस्तो हुन्छ ? छोराछोरीको सफलता पछाडि बुवाको हात कत्तिको महत्वपूर्ण हुन्छ ? यो कुरा उनले अनुभव त के महसुस गर्न पनि पाइनन् ।
गर्भवती हुँदा बिहान–बिहानै अफिस धाउनु परेका ती पलहरु । छोरा जन्मेपछि काम गर्दै छोरालाई हेरचाह गर्दाका ती दिनहरु अनि बैंकमा टार्गेट ‘मिट’ गर्नैका लागि भनेर अवेरसम्म काम गर्दाका ती रातहरु समतालाई हिजो जस्तै लाग्छन् । त्यसैले त उनी अहिले सरकारी स्वामित्वको नेपाल बैंकको डीसीईओको रुपमा कार्यरत छिन् ।
‘जीवनमा संघर्ष धेरै गरियो, म आफ्नो भाग्यभन्दा पनि मेहनतमा विश्वास गर्छु, संघर्ष बिना सफलता पाइँदैन भन्ने कुरा मलाई राम्रोसँग थाहा छ,’ उनले आफ्नो विगत सम्झिदै भनिन्, ‘कहिले काँही त यति चाँडै नेपाल बैंकमा डीसीईओ बन्ने जस्तो पनि लाग्छ ।’
समताले २०५० सालमा लैनचाैरको कन्या माद्यामिक विद्यालयबाट एसएलसी पास गरिन् । एसएलसीपछि प्लसटु, स्नातक र स्नातकोत्तर शंकरदेव क्याम्पसबाट पुरा गरिन् ।
बैंकर बन्ने रहर
समता पन्तको परिवार निजामति पृष्ठभूमीको थियो । काका मामाहरुले पनि उनलाई लोकसेवाको तयारी गर्न नभनेका होइनन् । तर, उनको रुची बैंकर बन्ने थियो । त्यसैले पनि उनले व्यवस्थापन संकाय अध्ययन गरिन् । बाल्यकाल दीदी, आमा र काकाहरुसँगै बित्यो । ‘ज्वाइन्ट फ्याम्ली’ भएर पनि होला उनको बुवा मृत्यु पश्चात पनि खासै समस्या झेल्नु परेन ।
‘काका मामाहरुले लोकसेवाको तयारी गर्नु भन्नुहुन्थ्यो, मैले हुन्छ मात्र भनेँ तर तयारी बैंकिङको गरेँ । पहिलो पटकको तयारी र आवेदनमै नेपाल बैंकमा नाम निस्कियो र काम पनि सुरु गरेँ,’ उनले नेपाल बैंकमा प्रवेश गर्दाका सुरुवाती दिनहरु स्मरण गर्दै सुनाइन् ।
उनी वि.स २०६१ साल कात्तिक महिनामा छैटौं तहको कर्मचारीको रुपमा नेपाल बैंकमा प्रवेश गरिन् । जतिबेला नेपाल बैंक समस्याग्रस्त थियो । नेपाल बैंकले पुराना कर्मचारीहरुलाई स्वेच्छिक अवकास दिएर नयाँ कर्मचारीको भर्ना लिँदै थियो । सोही समयमा समता पनि नेपाल बैंकमा प्रवेश गरिन् ।
१७ वर्षको अनुभवमा उनले नेपाल बैंकको विभिन्न विभाग तथा पदमा रहेर काम गरेकी छन् । वि.स २०६० र ०६१ को ब्याच नै अहिले नेपाल बैंकको उच्च व्यवस्थापनमा छ । टाँट पल्टिन लागेको नेपाल बैंकलाई सो ब्याचले नै ‘सेफ ल्याण्डिङ’ गर्न महत्वपूर्ण भूमिका खेलेको उनी सुनाउँछिन् ।
‘सुरु–सुरुमा धेरैले मेरो भूमीका र क्षमतामाथि शंका पनि गरे, म मेरो काममा विश्वास गर्छु, तलबाट आएका डकुमेन्टहरुमा मैले जब गल्ति देखाएँ, यस्तो काम गर्नु भनेर सुझाव दिएँ, त्यसपछि ममाथि धेरैले विश्वास गर्नुभयो, मेरो नेतृत्वमा नै बैंकमा धेरै राम्रो काम भएका छन्, राम्रा–राम्रा प्रडक्ट ल्याउन भूमिका खेलेकी छु,’ उनले सुनाइन् ।
पछिल्लो समय नेपाल बैंकले एक उत्कृष्ट बैंकका रुपमा छवि निर्माण गरेको उनको भनाइ छ । ‘म नेपाल बैंकमा प्रवेश गर्दा आइसीसीएमटीको टीम थियो, त्यो टीम हाम्रो सिकाइका लागि ठूलो अवसर बन्यो, त्यो टीमले हामीलाई राम्रो काम गर्ने स्ट्रेन्थ बढायो, वर्क कल्चर राम्रो थियो, अहिले अगाडि बढ्न त्यो अभुनवले हामीलाई धेरै सहयोग गरेको छ, उहाँहरु काममा पनि कडा र राम्रो काम गरेमा ‘एप्रिसियट’ पनि गर्नुहुन्थ्यो,’ उनले भनिन् ।
पहिलेको र अहिलेको बैंकिङमा धेरै परिवर्तन भइसकेको उनी बताउँछिन् । उनी आफूले गर्ने काम भिजेर नै गर्ने गरेको बताउँछिन् ।
‘मैले सोचेको भन्दा बढी भयो जस्तो लाग्छ, कतिपय अवस्थामा अर्थात तलबकै कुरामा पनि अब प्राइभेट बैंकमा जानु पर्छ कि भन्ने सोच पनि नआएको होइन तर, नवौं तहमा गइसकेपछि मैले यही बैंकमा केही गर्नु पर्छ भन्ने सोचका साथ काम गरेँ, अहिले सन्तुष्ट छु,’ उनले भनिन् ।
श्रीमान् राष्ट्र बैंकको कार्यकारी निर्देशक
समता पन्तका श्रीमान पनि बैंकर नै हुन् । शंकरदेव क्याम्पसमा स्नातकोत्तर अध्ययन गर्दा उनले वि.स २०५८ सालमा ऋषिकेश भट्टसँग विवाह गरिन् । भट्ट हाल नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक छन्।
श्रीमान पनि बैंकिङ क्षेत्रमै हुँदा आफूलाई धेरै सहयोग मिलेको उनी सुनाउँछिन् । ‘उहाँले (श्रीमान्) धेरै सल्लाह दिनु हुन्छ, सुरु–सुरुमा बैंकमा काम गर्दा उहाँले धेरै विषयहरु सिकाउनु भयो, पहिला उहाँ राष्ट्र बैंकको नियमन विभागमा हुनुहुन्थ्यो, त्यसले पनि मलाई केही सहज भयो, मलाई नआएको कुराहरु उहाँ सिकाउनु हुन्थ्यो, अहिले खासै सिकाउनु पर्दैन,’ उनले भनिन् ।
आफू डीसीईओ बन्नु पछाडिको महत्वपूर्ण भूमिका आफ्नो श्रीमानको भएको उनी बताउँछिन् । ‘म बैंकिङ क्षेत्रमै आउनमा पनि उहाँले धेरै सहयोग गर्नुभयो, सरकारी बैंकमै काम गर्नु पर्छ भन्ने उहाँको धारणा थियो, सोही किसिमले मैले अध्ययन पनि गरेँ, पछि नाम निस्कियो,’ उनले भनिन् ।
पोखराको पृथ्वीचोकमा शाखा प्रमुख भएर जाँदा पनि श्रीमानले धेरै सहयोग गरेको उनी बताउँछिन् । ‘तीन वर्षसम्म पोखराको पृथ्वीचोक शाखा प्रमुख भएर काम गरेँ, त्यतिखेर छोरा सानो नै थियो, सो समयमा श्रीमानले धेरै सहयोग गर्नुभयो,’ उनले आफ्नो संघर्षका दिनहरु सम्झिदै भनिन् ।
उनले आफू पृथ्वीचोकमा काम गर्दा त्यहाँको शाखा उत्कृष्ट भएको पनि सुनाइन् । ‘पृथ्वीचोक शाखामा काम गर्दाका दिनहरु मेरो लागि यो अविस्मरणीय छन्, त्यो शाखामा प्रमुख भएर गएपछि नेपाल बैंकको वार्षिकोत्सवमा उत्कृष्ट शाखाको रुपमा पुरस्कृत भयो, त्यसले पनि मेरो करियरमा महत्वपूर्ण भूमिका खेलेको छ,’ उनले भनिन् ।
महिलालाई सुझाव
धेरैले बैंकिङ पेशा तनावपूर्ण हुने धारणा राख्छन् । तर, समता पन्त स्ट्रेस (तनाव) लिने वा नलिने भन्ने विषय व्यक्तिमा निर्भर हुने बताउँछिन् ।
‘काम गर्दै जाँदा कहिले काँही तनाव हुन्छ, बैंकिङ जब स्ट्रेस बढी हुने क्षेत्र नै हो तर, स्ट्रेस म्यानेज गर्न सक्नु पर्छ, सही समयमा सही डिसिजन लिन सक्यो भने र ‘कुल’ माइण्डले काम गर्यो भने सहज हुन्छ,’ उनले भनिन् ।
उनी अहिले नेपाल बैंकमा ४० प्रतिशतभन्दा बढी महिलाको संख्या रहेको बताउँदै महिलाहरुको बैंकिङ क्षेत्रमा सहभागिता बढ्दै गएको बताउँछिन् । उनी म गर्न सक्छु भन्ने दृढताका साथ काम गरेमा अवश्य नै सफलता हात लाग्ने बताउँछिन् ।
‘अहिले बैंकिङ क्षेत्रमा महिलाहरुले राम्रो काम गरिरहनु भएको छ, महिलामा खट्न सक्ने क्षमता बढी हुन्छ, म महिला छु भनेर कहिल्यै कमजोर ठान्नु भएन, महिलाहरुले कतिपय अवस्थामा दोहोरो भूमीका निर्वाह गर्नु पर्ने हुन्छ, मैले गर्न सक्छु भेर लाग्यो भने परिस्थिति आफै बन्दो रहेछ,’ उनले आफ्नो अनुभव सुनाउँदै भनिन् ।
महिलाहरुले क्षणिक समस्या हेरेर हरेस लिन नहुने उनको सुझाव छ ।
अबको ‘टार्गेट’ सीईओ
नेपाल बैंकको डीसीईओ रहेकी समता पन्तको अबको लक्ष्य बैंकको सीईओ बन्ने नै हो ।
‘डीसीईओ भएपछि भोलिको लक्ष्य सीईओ नै हो तर, सीईओ नभए पनि म बैंकिङ क्षेत्रबाट टाढा हुन्नँ, फुल टाइम जब नगरे पनि बैंकिङ क्षेत्रमै हुन्छु, ‘उनी भन्छिन्, ‘श्रीमान र मेरो रिटायर्ड हुने समय पनि लगभग एउटै हो, त्यसैले पनि केही गर्न सकिन्छ ।’
उनले आफ्नो छोराको व्यवसाय गर्ने इच्छा भएकोले पनि त्यसमै लाग्ने सक्ने सम्भावना रहेको पनि उनी बताउँछिन् । ‘अहिले जुन भूमिकामा छु सन्तुष्ट छु, आफ्नो भूमिका पनि राम्रोसँग पुरा गरेको जस्तो लाग्छ, ’ उनले भनिन् ।