कथा


टेलरवाली कि सीएसडीवाली ?

सानै पोस्टको सरकारी जागिर खाएपनि आमाले मलाई सानोमा हुर्काउन धेरै दुःख गर्नुभयो । आफ्ना रहर र खुसीहरु बिर्सिएर एक्लो छोरालाई नै हेरेर चित्त बुझाउनु भयो । छोराकै खुसीमा आफनो खुसी देख्नुभयो । आमाले मेरो लागि गरेको दुःख सम्झेर होला, म आमाले भनेको हरेक कुरा मान्दछु । आमाले भनेपछि नाई भन्न जानिनँ मैले । आमा पनि मैले भनेको हरेक कुरा मान्नु हुन्छ । हामी सकारात्मक सोचको छौं । दुवै जना कर्मलाई विश्वास र पुजा गर्ने । दुई जनाको परिवार, आमा र छोराको परिवार । सायद त्यही आमाको दुःख र आशिषले होला, आज म पनि नेपाल सरकार अन्तर्गतकाे राजस्व विभागको शाखा अधिकृत भएको । मेरी आमालाई गफ गरिरहनु पर्छ । आफन्त इष्टमित्रकोमा गईरहनु पर्दछ । आफन्त भनेपछि हुरुक्कै हुने बानी । आमा सानैदेखि व्यवहारमा परेर होला, बोल्न र जुनसुकै कुरा पनि टाक्क टुक्क मिलाउन सिपालु । हरेक कुराको समाधान भएको मान्छेमा गन्छु म मेरी आमालाई । आफन्तहरुले पनि खुब मन पराउँछन् आमालाई । मन पनि किन नपराउनन त, लगभग धेरै इष्ट मित्रहरुको विवाह गराइ दिनुभएको छ । कसैको छोरी बढिन् भने आमालाई नै गुहार्छन् । तिम्रो त धेरै जनासँग चिनजान छ, राम्रो छ, यसो केटा खोज न भन्छन् । अनि कसैको छोरा बढे भने राम्रो र सुशील केटेी खोज न भन्छन् । एक हिसाबले आमा टोलकै लमी जस्तै हो । एक दिन आमाले म अफिस जाने बेलामा भन्नुभयो– सुन त, दुनियाँलाई केटा खोजें, केटी खोजें, अव तँ पनि जागिरे भइहालिस्, तेरो पनि विवाह गर्ने बेला भयो, कोही छ मन पराएको ? मैले अनकनाउँदै छैन भने । जवाफमा आमाले त्यसो भए म केटी खोज्छु है, राम्रो बुहारी खोज्छु है, तँ पनि जागिरे, बुहारी पनि जगिरे ल्याउनु पर्दछ नि भन्नुभयो । दुबै जना जागिरे भयो भने आर्थिक हिसाबले सजिलो र सुख हुन्छ भन्ने आमाको भनाई थियो । कमाउने केटी विवाह गर्नु पर्दछ भन्ने सुनाउनु भयो । आमाको नजर बैंकमा काम गर्ने केटीहरुतिर गएको रहेछ । त्यसैले भन्दै हुनुहुन्थ्यो– बैंक छ्यापछ्याप्ति छन् । कुनै एक बैंकको नोकरीवाला केटी विवाह गर्नु पर्दछ बुझिस ? घरधन्दा गर्ने म छदैँछु, सकुन्जेल घर सफागर्ने खाना पकाउने म गर्छु, तिमीहरु जागिर गर, म हुन्जेल, मेरा हातगोडा चलुन्जेल, बुहारीले दु:ख र घरको काम गर्नु पर्दैन । आमाले यसो भन्दै गर्दा ल ल, जे गर्नु भन्दै म अफिसतिर लागे । वेलुका साँझ परेपछि म घर आउँदा आमा फतफताउँदै भान्सामा खाना पकाउँदै हुनुहुँदो रहेछ । के भयो ? किन फतफताएर एक्लै बाेलिराखेको ? हात गोढा धुँदै मैले प्रश्न गरे । हेर्न आज एउटा निजी बैंक गएको, तलाई केटी हेर्न र कुन केटी ठिक हुन्छ भनेर जाँच्न । त्यहाँ अविवाहित उमेर अलि पाकै भएकी मेनेजर रहिछिन् । यसो लोनको बहानामा कुरा गरेको बढै बाम्ठेकी पो रहिछन् । मन परेन । अनि मैले आमालाई भने, चिन्नु न जान्नु तपाईंलाई मन परेपनि को हुन्, कहाँका हुन, विवाह विवाह गर्न मान्छन् मान्दैनन ? उनीहरुको राय नबुझी सिधै जाने हो त ? मैले आमालाई प्रश्न गरे । सिधै त कहाँ हो र, बैंककै कामको बहानाले पो कुरा गरेको त हो नि । चिन्नु किन परेको छ र ? मलाई केटी ठिक लाग्यो भने म टाक्कटुक्क एक एक ओटा नाता केलाएर साइनो लगाई हाल्छु नि । दुनियाँको विवाह गराएँ, तेरो लागि त राम्रो खोज्नु परो नि दिमाग लगाएर । आमाले यसो भन्दै गर्दा म ट्वा, परें । भोलिपल्ट फेरि म अफिसतिर लागे । अचेल मेरी आमाको म अफिस गएपछि कामै यहि भएको छ । खाता खोल्ने बहानाले, लोन लिने बहानाले दैनिक जसो एक एक ओटा बैंक जाने, अनि बैंकका लेडिज कर्मचारीलाई सुटुक्क चियो गर्ने । उनीहरुको बोली विचार गर्ने, चालचलन विचार गर्ने, हिँडाई, लगाई, अग्लाई, मोटाइ विचार गर्ने । म अफिसबाट घर आउँदा आज पनि आमा भान्सामा एक्लै फतफताई रहनुभएको थियो । हात गोढा धुँदै मैले प्रश्न गरें, के भयो आमा ? आमाले भन्नुभयो– हेर न आज एक बैंक गएको इन्चार्ज सिन्चार्ज के भन्दा रहिछन्, त्यो केटीले त झपारी पो बाइ मलाई । हजुर आमा धेरै प्रश्न गर्नुहुँदो रहेछ पो भनी । राम्रो लागेर घर कहाँ हो भनेर सोेधेको, भरे त रिसाई पो । म आमाको कुरा सुनेर मुसुक्क हाँसे, केही भन्नै सकिन । लगभग एक डेढ महिना जति आमा दैनिकजसो यो शहरको हरेक बैंक धाउनु भयो । आमाले आफनो लागि चित्त बुझदो बुहारी भेट्टाउनु भएन । तर हरेस पनि खानु भएन । लागि रहनु भयो । हराएकी बुहारी खोज्न । दुई तीन महिनासम्म आमाले बुहारी नभेट्टाएपछि मलाई पनि आमाले यसरी मेरो हुनेवाला श्रीमती खोज्न सक्नु हुन्न भन्ने लागिसकेको थियो । एक दिन अफिसबाट घर फर्कदै घरको मुल गेट खोल्दै गर्दा सधै भान्सामा हुने आमा आज हस्याङ फस्याङ गर्दै मेरो बाइकको आवाज सुनेर गेटमै दैडिएर आउनु भयो । के भयो ? किन दौडिदै आउनु भएको आमा ? भनेर भन्दा आमाले सायद आँगनमा बाेलेको छिमेकीले सुन्छन् भनेर होला मेरो कानमा साउती मार्दै भन्नु भयो आज बुहारी खोजे नि । कहिले भेटिँदैन कहिले दुई दुई वटा । ल हेर फोटो भन्दै आफ्नो मोवाइलमा दुईजना बैंकर केटीको फोटो, जुन आमाले उनीहरुसँग गफै गफमा तिम्रो अनुहार त मेरी छोरीको जस्तै छ, म उसलाई देखाउछु ल, आउ त फोटो खिचुम् भन्दै फकाउँदै उनीहरुसँग सेल्फी खिच्नु भएको रहेछ । त्यो देखाउनु भयो । आमाले मलाई अझ प्रष्ट पार्दै भन्न थाल्नु भयो– ल हेर यो गोरी अनि गालामा हाँस्दा खोविल्टो (डिम्पल) परेको छ नि, यो फलानो बैंकको फलानो शाखाको टेलरमा काम गर्ने । अनि अर्को सेल्फी फोटो देखाउँदै भन्नुभयो– यो ओठमाथि कोठी छ नि, यो चाहि फलानो बैंकको फलानो शाखाको सीएसडीमा काम गर्ने । अब तँ निक्र्याेल गर है, सीएसडीवाली कि टेलरवाली ? मलाई भोलि भन् भन्दै आमाले फेरि भन्नुभयो सुन त अस्ति गाउँको जग्गा बेचेको पैसा पचास लाख छ नि त्यो यो टेलरवालीको बैंकमा राखेर उसैले ल्याएको कस्टमर भनेर भन्नुपर्छ बुझिस् । अहिले र्माकेटमा डिपोजिट क्राइसिस छ क्या, त्यहि टेलरवालीले ल्याएको कस्टमर हो म, भनेर डिपोजिट उसको बैंकमा गर्यो भने उसको पनि अफिसमा सान बढ्ने अनि मलाई पनि चिनजान र कुरा अगाडि बढाउन सजिलो । तंँलाई पनि आमाको खाता छ भन्दै यसो दिनै पच्छिे सानो तिनो हजार पाँच सयको चेक काट्नु क्या, जाने हेर्ने बाटो खुल्छ । नभए कुरा मिलेन भने आफनो डिपोजिट हो निकाल्ने नि । आमाले आफ्नो चलाखीपन सुनाउनु भयो । म फेरि ट्वा परे । र, खाना खाइसकेपछि सुत्न कोठातिर लागें । आमाको मोवाइल मैसँग । अनायसै के सम्झे कुन्नि, आमाको मोवाइल खोलेर उही आमाले मन पराउनु भएको सीएसडीवाली र टेलरवालीको पालैपालो फोटो हेर्न थाले । साच्चै दुवै जना राम्रा थिए, गोरा, हँसिला । आमाले भनेझै हाँस्दा गालामा डिम्पल देखिने त्यो टेलरवालीमा मलाई हिन्दी सिनेमाको प्रिती जिन्टाको जस्तै झझल्को आयो । अनि म के के सम्झदै आफैसँगै हाँसे । अनि अर्को फोटोमा ओठ माथि कोठी भएकी सीएसडीवाली मलाई नेपाली सिनेमाकी रेखा थापा जस्तै लाग्यो । कता कता काउकुति लागेर आयो । उता पल्लो कोठामा आमाले भोलिको मेरो रोजाई र निर्णय के होला भन्दै सोच्दै गर्दा म भने डिम्पल र कोठीको बीचको दोधारमा फसेको थिए । मलाई हाँस्दा डिम्पल भएको मन पर्दछ । मलाई कोठी पनि मन पर्दछ । डिम्पल कोठी दुवै भएको केटी त औधि मन पर्दछ । तर, पनि आज मैले एक निर्णय गर्नु थियो । दुबै जना हेर्दा बत्तिसै लक्षणले युक्त थिए । तर, पनि टेलरवाली कि सीएसडीवाली आजको रातमा एक रोज्नु थियो । सोच्दा सोच्दै खै कति खेर भुसुक्कै निदाए, थाहै भएन ।

बैंकर ज्वाइ रोजौं कि, सेयर कारोवारी या बीमाकर्मी ?

नन्दले अमेरिका बस्ने आफनो भान्जाको लागि बैंकमा काम गर्ने मेरी छोरी सरुसँग विवाहको प्रस्ताव ल्याएकी थिइन् । आजै रातिसम्ममा निर्णय दिनु है भाउजू भन्ने उनको आग्रह थियो । उनी गएपछि म रातभरि निक्कै दोधारमा परें । के गरौं, कसो गरौं भन्ने भइरह्यो । फेरि मेरो छोरीले पनि त खुलेर मसँग कोही केटा मन पराएको छ भनेर भन्न पनि सकिन नि । त्यसैले पनि होला मलाई निर्णय लिन असाध्यै गाह्रो भयो । त्यसमाथि श्रीमान पनि यहाँ हुनुहुन्न । उँहालाई सोध्यो भने पनि ‘आफै विचार गरन, घर व्यवहारमा तिमी आफै परिपक्क छौं’ भनेर भन्नु हुन्छ । अव मैले एउटा फैसला लिनै पर्ने थियो । मैले देखेकी थिए, बैंकरहरु है…है… गर्दै रात दिन काममै व्यस्त भएका, टागे्रट टार्गेट भन्दै टेन्सन लिएका, अनि शनिवारको दिन पनि आफ्नो लागि, परिवारको लागि नभनी बैंककै कामका ग्राहकको घरघर दौडेका । बंैकरहरुको भागदौडको जिन्दगी देखेर बैंकर ज्वाइभन्दा अमेरिकाको ग्रिनकार्ड होल्डर ज्वाइ नै ठीक होला भन्ने लागिसकेको थियो । मलाई बंैकर ज्वाइको सासु हुन मन लागेन । मलाई अमेरिकाको ग्रिनकाडै होल्डर ज्वाइ कै सासु हुन मन लाग्यो । नन्दको भान्जाले नन्दलाई पठाइदिएको कोसेली स्वरुप चकलेट, जुन मलाई पनि उसले दिएको थिइन्, त्यो गुलियो चकलेट चुस्दै मैले नन्दलाई भान्जासँग कुरा चलाउ भन्दै एसएमएस पठाएँ । हुन सक्छ, मेरो मनको कुनै भित्री कुनामा आफनो छोरी अमेरिका बस्ने केटालाई दिएपछि म पनि कुनैदिन नातिनातिना स्याहार्ने वहानामा अमेरिका जान र हेर्न पाउछु कि । सायद त्यहि भएर होला, अमेरिका गएको रंगिन सपना देख्दै त्यो रात म मस्त सुते । भोलिपल्ट मैले सरुलाई सबै कुरा बताए । आफूले नन्दलाई ग्रिनकार्ड होल्डर केटासँग तिम्रो विवाह गरिदिने वचन दिएको कुरा पनि बताए । मेरो कुरा सुनेर सरु छक्क परिन् । ‘ममी तपाईले यो के गर्नु भएको ? फुपूको भान्जा रे ? उसलाई त म राम्रे चिन्दछु नि, उ त कलेजमा विग्रेको केटा हो । चुरोट पनि खान्थ्यो । उ त कुलतमा लागेको मान्छे हो नि । त्यसमा पनि डीभी परेर पो अमेरिका गएको हो त । पढाइ राम्रो भएर होइन । नाई, हुन सक्दैन यो नाता । म बैंकको जागिर छोड्न सक्दिन । म त नेपालमै बस्ने । म नागकिता छोडेर जान सक्दिन । देशमै केही गर्ने । मलाई देशको माया छ ।’ सरुले रुदै भन्न थालिन् । मलाई पनि नन्दलाई एसएमएसबाट वाचा दिएकोमा ग्लानी महसुस भयो । हुन्छ नि त, म नाई भनिदिन्छु नि त, भन्दै आफ्नो कोठामा लागें । भन्न त भने तर अब ‘सरि’ कसरी भन्ने नन्दलाई ? डर लागिरहेको थियो । होस्, फोन गरेर भन्नुपर्यो भनेर फोन गरेको फोन नै लागेन । दुईतिन चोटी कोसिस गर्दा अचानक मोवाइलले व्यालेन्स गेटिङ लो भनिदियो । एसएमएस चाही जाला भनेर हेरेको हिजोको मैले नन्दलाई पठाएको म्यासेज पनि ब्यालेन्स नभएर गएको रहेनछ । म खुशीले गद् गद भए । सायद दुनियामा म पहिलो मान्छे हो, जो मोवाइलमा व्यलेन्स नहुदा खुशी हुने । अनि म मख्ख पर्दै राति पठाएको र ड्रफट्मा बसेको म्यासेज डिलिट गरिदिए । मनमनै भने, राम्रो भो, भन्नै परेन । आजको रात पनि फेरि नन्दले दिएको अमेरिकाबाट पठाइदिएको ठूला ठूला गुलिया (दुई तिन वटा खादा अघाइने खालका) चकलेट खादै म ओछ्यानमा पल्टदै सोच्न थालें । सधै मैले सानी देख्ने छोरी कत्ति बुझने कुरा गर्छे । कत्ति परिपक्क छे । कत्ति माया छ देशको उसलाई । अनि फेरि नेपालमै केहि गरौं भन्ने भावना पनि छ उसमा । उमा पारदर्शिता छ । जे छ, क्लियर छ, उसको पेशा जस्तै । आखिर किन नहोस पनि, वित्तिय पारदर्शिता भएको क्षेत्रमा काम जो गर्छे । वास्तवमै उसलाई बैंकले धेरै कुरा सिकाएको छ । त्यही कुरा घरमा पनि ऊ लागू गर्छे । समय व्यवस्थापन, टार्गेट, कामको प्रेसर, कामको लोढ त बंैकमा हुन्छ नै तर म नराम्रो संझिन्थे त्यसलाई । बैंकरहरु है..है गर्छन् भन्थे तर त्यसो होइन रहेछ । त्यसले त हामीलाई र हाम्रो निजी जिवनलाई पनि पो सहयोग गर्दाे रहेछ । घरमा जत्ति तनाव भएपनि उ टेन्सन कहिल्यै लिन्न, काम घरको जत्ति भएपनि उ कहिल्यै थाक्दिन, बैंकमा काम गर्दा नथाके जस्तो । अनि पैसा पनि सोचेर खर्च गर्छे । वचत पनि गरेकी छे । यो सबै कुरा उसले उसको बैंकबाट नै त सिकेकी हो नि । डेराको घरमा कत्ति वस्नु, मेरो बैंकवाट होमलोन आउने कुरा छ । अव आफ्नै घर किन्नु पर्छ पनि भन्दै थिइँ । अस्तिको साल बोनसमा बेरुवा सुनको औठी किनदिएको थिइ मलाई सरुले । मैले पनि यो साल अस्तिको जस्तै आसगर्दै यो साल पनि असार लागिसक्यो, अब साउनमा त बोनस झर्छ नि छोरी, के किनिदिने ममीलाई वोनस आउन लाग्यो त ? भनेर भन्दा आफ्नो लागि हो कि, हाम्रो लागि पनि त सोच्नु परेन भन्दै थिइन् । नकिन्ने वचाउने भन्दै थिइन् । सायद उसको घर वनाउने र डेराबाट छुटकारा पाउने योजना पो छ कि । कति बुझ्ने छे मेरी छोरी । मलाई आफनो छोरीप्रति गर्व लागेर आयो । घमन्ड जाग्यो । वास्तवमा उसलाई पाउने ज्वाइ त सारै भाग्यमानी । खै, कसको छोराको भाग्य जाग्ने हो मेरी छोरीको लागि । बरु म पो केटा केटी छु की क्या हो ? उसको अगाडि । म पो व्यवहारमा बच्चा छु कि क्या हो ? धन्न छोरीले वुझेकी रहिछे ग्रीनकार्ड होल्डर केटालाई । मेरो मन आफैदेखि भारी भएर आयो । मलाई गुलियो चकलेट पनि आज किन किन खल्लो लाग्यो । खल्लो लाग्यो चकलेट । खल्लो लाग्यो अमेरिका, अनि खल्लो लाग्यो हुन आटेको तर हुन योग्य नभएको ग्रीनकार्डवाला ज्वाइ । ज्वाइ पनि के भनौं, केटा । अव मैले सरुको लागि भोलिबाटै वित्तिय क्षेत्रमा काम गर्ने केटा खोज्नु पर्छ । इन्सुरेन्स कम्पनीमा काम गर्ने केटा खोज्नु पर्छ । अथवा टाइसुट लगाउने चिटक्क पर्ने हेन्डसम बैंकर केटा खोज्नु पर्छ । होइन्, होइन । सुचकहरु सवै हरिया छन नेप्से वढेको छ ३ हजार पुग्न लाग्यो, सेयर कारोबारी ज्वाइ रोज्नु पर्छ । इन्योरेन्स तिर लागेको केटो खोज्ने कि बैंकतिर, या सेयर बजारतिर लागेको ? बैंक, इन्स्योरेन्स, सेयर बजार ? कताका रोजौं ? उफ, टाउको पो दुख्न थाल्यो । आ…होस्, दिमागलाई कत्ति चलाउनु जे पर्ला पर्ला, अब म मेरो बीमा गर्नु छ भनेर बीमा कम्पनीमा जान्छु, केटा हेर्न । यत्रो बंैक छ शाखा पनि धेरै छन्, पालैपालो सबै बैंकमा खाता खोल्नु छ भनेर बैंक पनि जान्छु । अनि नियाल्छु । बेयर ब्रोकरकोमा पनि जान्छु, कतै त्यता पो छन् कि मेरो हुनेवाला ज्वाइ । ज्वाइ त बुझेरै खोज्नु पर्यो नि, छोरीको भविश्यको पो सवाल छ । जिन्दगी बिताउने जस्तो कुरा पो हो त । त्यसमा पनि म आमा हूँ । अलिअलि मिहिनेत आमा भएपछि गर्नु त पर्छ नि । हुन त भविश्य कसलाई थाहा हुन्छ र । कतै हुने वाला मेरो ज्वाइ नेप्से बढ्यो भन्दै कुनै ब्रोकरको अफिसमा बसेर हरिया सुचकमा पो मख्ख परेका छन् कि ? कतै कुनै बैंकको टेलरमा पो बसेर नगद गन्दै आज क्यस सर्ट भो भन्दै चिन्तत पो छन् कि ? वा लोन दिनलाई साइट भिजिट पो गर्दैछन् कि । मेनेजरको कुर्सीमा बसेर स्टाफलाई टार्गेट दिदै यस्तो भएन, कामप्रति डेडिकेट हुनु पर्यो भनेर सम्झाउँदै छन् कि ? तर जे होस यही मध्ये एक पक्कै रोज्छु अब । किन किन मलाई इन्सुरेन्स कर्मचारी, सेयर कारोबारी र बैंकर मध्येबाट नै एकलाई ज्वाइ वनाउन मन लाग्यो । राम्रो लाग्यो उनीहरु । मिठो लाग्यो गुलियो लाग्यो चिनि जस्तै । अब मैले खोज्नै पर्छ । भोलिबाटै । नातिनातिना खेलाउने वहानामा अमेरिका जाने मेरो व्यक्तिगत सपनाले धन्न छोरीको भविश्य विग्रेको, अनि उम्केको माछो ठूलो भन्छन्, धन्न उम्केको मेरो प्यारो अव हुने वाला सेयर कारोवारी ज्वाइ, इन्स्योरेन्सकर्मी ज्वाइ वा बैंकर ज्वाइ । सोच्दा सोच्दै भुसुकै निदाएछु । भोलिपल्ट खाना खाएपछि म पनि छोरीसँगै हेन्डव्यागमा नागरिकता र पासपोट फोटो राख्दै छोरीको पछाडि स्कुटरमा बसेँ, हुनेवाला ज्वाइ खोज्न । म पहिला कहाँबाट सुरु गरौं, इन्सुरेन्स, बैकर वा पुँजी बजारमा लगानी गर्नेमध्ये कुन क्षेत्र रोजौं । त्यसमा पनि कुन शाखा जाउँ, कतै आजै पो भेटिने हो कि, पहिल्यै दिन वा महिनै पो लाग्ने हो कि । तर जे होस सबै शाखा चाहि धाउनै परो । वित्तिय ज्ञान पनि वढ्ने आफ्नो काम पनि हुने, मनमनै म सोच्दै थिए । सरुले स्कुटर हाक्दै एक्कासी भनिन्, ममी कहिल्यै घरबाट ननिस्कने मान्छे, आज के काम परो ? कहाँसम्म जाने हो ममी ? कहाँ छोडुम हजुरलाई ? हाम्रो पनि काम हुन्छ नि हो, कहिले काही त । काम छ नि, सानोतिनो । मैले उसलाई यसो भन्दै मुसुक्क हासें । उसले पनि भन्न नहुने, सेक्रेट, अँ बुझ्दैछु ममीको चाला, सेक्रेट । ममीको सेक्रेट । डवल मिनिङमा मलाई जिस्काई उसले । खै के बुझी कुन्नी । तर, मैले भने आजको लागि इन्सुरेन्स, बैंक र सेयर ब्रोकर, यी तीनमध्ये कुनै एक क्षेत्रको एउटा गतिलो शाखामा कामको बहानमा सुटुक्क जाने र केटालाई उसले थाहा नपाउने गरी बिचार गर्ने निक्कै दह्रो टार्गेट वनाईसकेको थिएँ । किनकी यो मिसन नितान्त केटाले पनि थाहा नपाउने गरी, मेरो छोरीको लागि केटा वुझ्ने, आफूलाई मन परेको क्षेत्रको ज्वाइ चियो गर्ने सेक्रेट थियो ।

बैंकर ज्वाईं रोजौं कि अमेरिकाको ग्रीनकार्ड होल्डर ?

भाउजु, हजुरकी छोरी बाइस लागिसकी… बैंकमा काम गर्न पनि थालेकी छे । मेरो आमाजुको छोरा (भान्जा) अमेरिकाको ग्रीनकार्ड होल्डर हुन्, बिहे गर्न केटी खोज्दैछन् । मैले सरुको फोटो पठाएको थिएँ, मन पो पराएका छन् भान्जाले । बिहेलगत्तै उतै लाने रे… अमेरिका जान पाए त के खोज्नु ? गरिदिम बिहे । सरुको भाग्य दह्रो रैछ भने त… । सोच्नु है सोच्नु, यस्तो केटा उम्काउन हुँदैन नि । फेरी नेपालमा बसेर सरुले खासै के नै पो गर्छे र ? त्यसमा पनि छोरी मान्छेले नोकरी गरेर के नै पो हुन्छ र ? म पनि +२ पास भएकै थिएँ… खै, बिहेपछि छोराछोरीकै थाङ्ना र घरको भान्सामै बित्योे जिन्दगी । तपाइले पनि पढेर के नै पो गर्नु भो र भाउजु ? धेरै दिनपछि नन्द हाम्रो घर आएकी थिइन् । उनैले मेरी छोरीको लागि आफ्नो भान्जाको प्रस्ताव ल्याएकी हुन् । उनको भान्जालाई आजै वेलुकीसम्ममा डिसिजन दिनुपर्ने भएपछि मलाई वेचैनी शुरु भयो । आफूले सधैं सानी देखेको छोरीका लागि आज एक्कासी बिहेको प्रस्ताव आउँदा मनमा छटपटि त हुने नै भयो । के गरौं, कसो गरौं, कोसँग सल्लाह गरौं । आफ्नो श्रीमान्सँग सल्लाह गरौं भनेपनि यहाँ हुनुहुन्न । कमाउन विदेशिनुभएको उतै हुनुहुन्छ । दिनभरी छट्पट् छट्पट् भैरह्यो । आखिर म आमा हुँ । छोरीको बिहेको लागि राम्रो प्रस्ताव आएपछि मनमा अनेक तर्कनाले डेरा जमाए । अचानक डोरबेल बज्यो । म झसङ्ग भएँ । सोच्दासोच्दै समय बितेको पत्तै भएन, सात पो बज्न लागिसकेछ । छोरी बैंकवाट थाकेर आइपुगी । मेरो सुद्घि पनि काँ गएको होला, खाना पकाउन पनि बिर्सेंछु….ऊ कति भोकाइ होली… थाकि होली… । ममी, कम्प्युटरमा दिनभरी बसेर काम गरेको कस्तो टाउको पो दुख्यो… एस्सो मिचिदिनुन । छोरीले अबोध बालकले झैं आग्रह गरी । मैले उसको टाउको बिस्तारै मिचिदिन थालेँ तरपनि मनमा भने नन्दकै कुरा याद आइरह्यो । मैले बिवाह सम्वन्धी छोरीको मनसाय वुझ्ने उद्देश्यले बिस्तारै कुरा कोट्याएँ । आजकलका नयाँ जेनेरेशनका युवायुवतीहरु सबै अमेरिका, अस्टे«लिया जान खोज्छन है छोरी ? तिमिलाई विदेश जान मन पर्दैन ? मैले सोधिनसक्दै उसले मेरो कुरालाई बिचैमा रोक्दै भनी “छ्र्या… मलाई त बस्ने गरी विदेश जान फिटिक्कै मन लाग्दैन । बरु सुखदुःख जे हुन्छ नेपालमै गर्ने, एतै राम्रोसँग कमाउने अनि वेलावेलामा घुम्नलाई विभिन्न देश जाने ।” नेपालमा के छ र ? फेरि महँगी पनि त छ यहाँ । एक्लो कमाइले खानै पुग्दैन । भविश्य नै छैन, होइन र ? – मैले उसलाई फेरि प्रश्न गरेँ । “बुढाबुढी दुवैले कमाइयो भने पुगिहाल्छ नि । आजकलको जमानामा कोहि नकमाई बस्छ र ? दुवैले कमाउनु पर्छ अनि त यहिँ नै भै हाल्छ नि अमेरिका ।” छोरीले बडो विश्वासका साथ भनी । सधैँ आफूले केटाकेटी देखेको छोरीले यस्तो गहिरो जवाफ दिएको सुनेर म छक्क परेँ । मैले फेरि पनि छोरीलाई बैंकको जागिर कष्टपूर्ण हुने, भनेको वेला बिदा नपाइने, समयमै पुग्नुपर्ने, राती फर्कन ढिलो हुने लगायतका समस्या इंगित गराएँ तरपनि उसले ती समस्याहरुलाई नजरअन्दाज गर्नुपर्ने तर्क तेस्र्याई । उसले त बैंकको जागीर भनेको त वित्तिय पारदर्शिताको क्षेत्र हो, समय व्यवस्थापनको क्षेत्र हो, राम्रो गरे रिजल्ट राम्रो दिए प्रमोशन पनि चाँडै हुन्छ, समाजको नजरमा मर्यादित पेशा हो । गाह्रो सजिलो भन्ने कुरा त प्यासन नहुन्जेल मात्र हो, कामसँग भिजेपछि सजिलो हुँदै जान्छ, लगाव लागेपछि काम जस्तो नभएर इन्जोए जस्तो हुन्छ । पैसा पनि त अरु क्षेत्रमा भन्दा बैंकिङ्ग मै राम्रो छ, के के हो के के भन्न थाली । “गत सालको वोनस रकमले हजुरलाई मैले सुनको बेरुवा आंैठि किनिदिएको बिर्सिनुभयो ?” उसले पोहोरको कुरा सम्झाउँदै भनी । मैले पनि जिस्किँदै उसलाई भनें – अस्तिको साल त औंठी किनिदिइस् अब यो साउनको वोनसले चैं के किनिदिन्छेस् नि… ? “अँ… यो चोटिको वोनसले त आफ्नै लागि पो किन्छु । अब आफ्नो लागि पनि त सोच्नुपरेन मैले ?” उसले डवल मिनिङमा ‘आफ्नो लागि पनि त’ भनेको सुनेर म ट्वाँ… परेँ । खाना खाएपछि म ओछ्यानमा पल्टिएर सोच्न थालेँ – समय पनि कत्ति चाँडो वित्दो रहेछ, अस्ति भर्खरजस्तो लाग्छ म आफैं वेहुली भएर भित्रिएको… सरु तोते तोते वोल्दै स्कुल गएकी… एस.एल.सी. फस्ट डिभिजनमा पास भएकी… बैंकको नोकरी गर्न थालेकी… यी सवै कुरा हिजोअस्ति कै हुन् जस्तो लाग्छ । आज उसको लागि विवाहको प्रस्ताव पनि आइसक्यो । तर पनि उ केटाकेटी नै जस्तो लाग्छ… र छे पनि । हुन त उसले भनेको एक हिसावले ठिकै पनि हो । आफ्नो देश भनेको आफ्नै हो । अमेरिका त के विदेशका कुनैपनि ठाउँ गएर उतै बसोवास गर्न मन लाग्दैन रे उसलाई । कि उसैले पो कोहि केटा मन पराएकी छे कि ? हुन पनि सक्छ, नभए किन मलाई ‘वुढावुढि दुवै कमाउने भयो भने यहिँ हुन्छ अमेरिका’ भनी त ? किन ‘यो चोटिको वोनस त आफ्नै लागि खर्च गर्ने हो’ भनी त ? किन ‘आफ्नो लागि पनि त सोच्नु पर्यो’ भनी त ? अनि फेरि ‘बुढाबुढी कमाउने भयो भने यहिँ अमेरिका हुन्छ’ पनि पो भन्दै थिई ! हो, उसले पक्कै कोहि मन पराएकै हुनुपर्छ । तर यदी उसका नजरमा कोहि केटा छैनन् भने चैं नेपालमै पनि त जत्ति केटाहरु छन् नि हौ… । विदेश बस्ने केटा किन पो चाहियो । होस्, बरु उसकै जागिर सुहाउँदो क्षेत्रको केटा खोजिदिनु पर्यो । बैंक अथवा इन्स्योरेन्स तिर काम गर्ने केटा कसो नभेटिएला त ! कमसेकम उसलाई र उसको पेसालाई त बुझ्छ । तर होइन, ऊ केटाकेटिनै छे । आजको जमानामा त पैसा नै सबै कुरा हो । पैसा भएको भए यसरी वर्षैंसम्म डेराको घरमा वस्नु पथ्र्यो र ? मेरो श्रीमान पनि पैसै नभएर त होनि खाडि मुलुक जानुभएको । छोरीलाई त बरु अमेरिका जाने कुरा आइरहेको छ । ऊ अहिले बैंकको जगिर राम्रो भन्छे नि । मलाई पो थाहा छ त अस्ति उसले तलव, वोनस र अरु सुविधा गरी वार्षिक ७० हजार रुपैयाँ ट्याक्स कट्यो भनेर अँध्यारो अनुहार लगाएकी थिई । कहिले अफिसमा मेनेजरले गालि गरे, टार्गेट दिए, कोरोनाको वेला पनि नोकरीमा गइरहनु पर्यो भनेर गनगन गरिरहेकी हुन्छे । फेरि नोकरीको त के नै भर हुन्छ र, त्यसमा पनि बैंकको । पत्रपत्रिकामा मर्जको कुरा आइरहेका छन् । भोलि उसले काम गरेको बैंक अर्को बैंकसँग मर्ज भयो र उसलाई जागिरबाट निकाल्यो भने के हुन्छ नि उसको जिन्दगि ? वास्तवमा नन्दले भनेको कुरा ठिक हो । जत्ति गरे पनि महिला भनेको महिलै हो । घरको काम गर्नैपर्छ । बुढी नोकरी गर्छे थाकेकी होली भनेर श्रीमान् पक्कै भान्सामा पस्दैनन् अनि बुहारी थाकेर आइहोली भनेर सासु पनि पक्कै भान्सातिर छिर्ने होइनन् । आखिर बुहारिले नै गर्नुपर्छ यो पुरुषप्रधान समाजमा । नाममात्रको ‘नारीपुरुष बराबरी’ व्यवहारमा त पुरुष नै जहिल्यै माथि । फेरि भोलिका दिनमा पारिवारिक समस्या आएर श्रीमान् श्रीमतीभध्ये कोही एकले नोकरी छोड्नुपर्यो भने के श्रीमानले नोकरी छोड्छन् होला र ? के छोड्थे । उसको त इगोमा हर्ट भै हाल्छ नि…। जत्ति नै गरे पनि मेल इगो विचमा आइ हाल्छ । उ केटाकेटिनै छे, उसले दुनियाँ देखेकै छैन । जत्ति गरेपनि नेपाल कहाँ अमेरिकाजस्तो हुन्छ र ! महँगी दिनप्रतिदिन बढेको बढ्यै छ । आज पो कमाइले पुग्दैछ । अब यसरी नै महँगी बढ्दै जाने हो भने अबको पाँच÷छ वर्षपछि त वुढावुढि दुवैले कमाए भनेपनि पुग्दैन । अमेरिका भनेको अमेरिका हो । कस्ता कस्ता डाक्टर, इन्जिनियर, न्यायाधिसहरु त पेसा छोडर अमेरिका गएका छन् । उसले त भर्खर नोकरी सुरु गरेकी छे त्यसमाथि पनि असिस्टेन्टको नोकरी । रात छिप्पिने क्रममा भएपनि आँखामा पटक्कै निद्रा थिएन । मनमा अनेकौं कुराहरु खेल्दै थिए अकस्मात मोवाइलमा नन्दको एस.एम.एस. आयो । “भाउजु के विचार गर्नुभयो त ? मलाई थाहा छ हजुर छोरी दिन राजी हुनुहुन्छ… केटापक्षका त अन्त पनि केटी हेर्ने कुरा गर्दैछन् तर मैले रोकेकी छु सरुकै लागि भनेर । अब धेरै रोक्न सकिँदैन त्यसैले म्यासेज गरिहाल्नु है… निर्णय दिइहाल्नु है… । नन्दको म्यासेज पढिसकेपछि छोरीको कुरा सम्झें । बुढाबुढीले नै नोकरी गरे यहीँ हुन्छ अमेरिका… फेरि नन्दको कुरा सम्झें । सरुको भाग्य दह्रो रैछ, अमेरिका जान पाउने भई…। यी दुवैथरी कुराहरु मनमा तुफानजस्तै गरी खेलिरहे । “…यहीँ हुन्छ अमेरिका …सरु अमेरिका जान पाउने भई …यहीँ हुन्छ अमेरिका …सरु अमेरिका जान पाउने भई …यहीँ हुन्छ अमेरिका …सरु अमेरिका जान पाउने भई” अब भने मैले मनलाई ढुङ्गाजस्तो दह्रो बनाएँ । मैले अब केही बेरमै मेरी छोरीका लागि बैंकर ज्वाईं वा अमेरिकाको ग्रीनकार्ड होल्डर ज्वाईंमध्ये एउटा रोज्नु थियो । दुवै अपरिचित अनुहारहरु थिए मेरा अगाडि । ति दुईमध्ये एकलाई आफ्नो ज्वार्इं बनाउनु पर्ने थियो । मैले विर्सिदिएँ छोरीको इच्छा र चाहनाहरु किनकि निर्णय मैले गर्नु छ । अनि फेरि बिर्सिदिएँ नन्दले भनेका कुराहरु । छोरी र नन्द दुवैलाई परै राखेर मैले एकल निर्णय गरें । हरेक आमाहरुले आफ्नी छोरीको भविष्यका लागि जस्तो निर्णय गर्छन् मैले पनि त्यस्तै निर्णय गरें र बैंकर ज्वाईं र अमेरिकाको ग्रीनकार्ड होल्डर ज्वाईंमध्ये एउटालाई रोज्दै नन्दलाई एस.एम.एस. पठाएँ ।

बैंकर र कोरोना

‘ओहो ! घिमिरेजी, अफिस जान लाग्नुभएको ? हामी सुरक्षित बसेकालाई तपाईंले कोरोना सार्ने हुनुभो जस्तो छ । सधैं बैंकको जागिर भन्दै लखरलखर अफिस जानुहुन्छ ।’ बिहान नौ बजेतिर अफिस जान बाइक निकाल्दै थिएँ, एक छिमेकीले प्याच्च यसो भनिदिए । उनकी श्रीमतीले पनि त्यही कुरालाई मलजल गर्दै भनिन् – हजुरलाई त आनन्द छ है, सरकारी कर्मचारी भनेर बिदा पाउनु भएकै छ, अरुबाटै पो डर भो त ! उनीहरुले मतिर घृणाले भरिएको नजरले हेर्दै यसो भन्दा बार्दलीबाट उज्यालो अनुहार लगाएर मलाई ‘बाई’ गर्न पर्खेकी श्रीमतीको मुख अकस्मात अँध्यारो भयो । जहिल्यै एकछिन बाइकमा घुमेर मात्र मलाई अफिस जान दिने छोरी आव्यातिर पुलुक्क हेरें । मेरो मन अनयासै अमिलो भएर आयो । थुक घुटुक्क निलें । र, मन नलागे पनि खिस्स हाँसे जस्तो गरेर श्रीमतीलाई ‘बाई’ भन्दै बाइक स्टार्ट गरें । मनमा कुरा खेलिरहे बाटोभरि । हुन त मलाई यी छिमेकीले मात्रै यस्तो व्यवहार गरेका होइनन् । टोलभरिकै मान्छेबाट यस्तै भोग्दैछु । मलाई देख्नासाथ त्यसै परपर हुन खोज्छन् । वास्तवमै उनीहरु मसँग भौतिक दुरी होइन, मलाई तिरष्कार गर्न चाहन्छन् । सामाजिक दुरी अझ भनौं मानवीय दुरी राख्न उद्धत छन् । सिमित समय खोलिने खाद्यान्न पसलमा पनि यस्तै भोग्दैछु । ‘तपाई परै बस्नु है ! बैंकको कर्मचारीलाई नजिक आउन मनाही छ नि !’ किराना पसलेले भनेको यस्ता वाक्य सुन्नु मेरो दैनिकी बनेको छ अचेल । छिमेकी र नजिकका पसलेहरुले मात्रै कहाँ हो र ! कतिपय आफन्त पनि मबाट टाढिन खोज्दैछन् । ‘कस्तो क्षेत्रमा जागिर गरेको तिमीले, कोरोना हट्ने छाँटकाँट छैन, बरु नोकरी नै अरु क्षेत्रमा खोज’ भन्ने ‘सुझाव’ दिन थालिसके आफन्तहरु । । यस्ता सुझाव मेरा लागि सुझावभन्दा पनि मुटु प्वाल पार्ने बाण बन्न थालेका धेरै समय भइसक्यो । नौ बजेर तीस मिनेटमा क्लक इन (सिस्टमबाट हाजिर) गर्दै थिएँ । सहकर्मी दिपकजीले हस्याङ् फस्याङ् गर्दै सुनाए– घिमिरेजी, थाहा पाउनुभयो ? हाम्रै बैंकबाट अर्को बैंकमा गएका आकाशजी थिए नि, उनी त हिजो राति कोरोनाकै कारण वितेछन् । म ट्वाँ परें । साह्रै नमज्जा लाग्यो । कारोबार दश बजेदेखि मात्र शुरु हुने भएकोले आधि घण्टासम्म सबै स्टाफहरु चिया पिउँदै गफ गर्न थाल्यौं । ‘कोरोनाले बैंक र बैंकर परिवारका करिव दुईसय जना मरिसके, पन्ध्र–सोह्र हजार जति अझै संक्रमित छन् भन्ने सुनिन्छ । बैंकिङ क्षेत्र अब के होला ? अर्थतन्त्र के होला ? अब कता जाला ?’ लोन फाँटका विकाशजीले कुरा अगाडि वढाउँदै लगे । त्यत्तिकैमा सीएसडीकी रेसाजीले भन्न थालिन्– ‘आकासजीले त भर्खरै मात्र घर बनाउनु भएको थियो । करिब पचास लाख जति लोन छ भन्ने सुनेको थिएँ । त्यहि घर धितो राखेर अनि जागिरकै इन्कम देखाएर लिनुभएको थियो । त्यसमाथि त झन् भाउजु पनि नोकरी गर्नुहुन्न । परिवारको मञ्जुरी बेगर भगाएर विवाह गरेको हुनाले माइतीले पटक्कै सपोर्ट पनि गरेका छैनन् रे । हो, यस्तो परिवेसमा लोनको के हुन्छ ? यस्तो जोखिमको बेला पनि बैंकले आकाशजीलाई काम गर्न लगायो । अनि अब उनको मृत्यु हुँदा उनीप्रति आश्रित परिवारको भविष्य के हुन्छ ? ऋण तिर्न सकेन भनेर धितो जफत गरी परिवारलाई सडकमा ल्याइदिन्छ हो ?’ रेसाजीको तर्क र उदाहरण असाध्यै अमानवीय र असामाजिक थियो । एउटा सहकर्मीको नामै लिएर उसको मृत्यूको सम्भावना बारे रेसाजी खुलमखुल्ला बहसमा उत्रिएकी थिइन् । उनको कुरा सुनेर दिक्क लाग्यो । तर, कटु सत्य रेसाजी कुराको असाध्यै निकट थियो । त्यसैले होला, रेसाजीलाई कसैले केही पनि भनेन । हामी सबैको नजर एकसाथ म्यानेजर सरतिर सोझिएछ । हाम्रो मौन प्रश्नको जवाफ दिन थाले । मेनेजर सरले आफूलाई थाहा भएसम्म त्यस्तो कुनै नियम बनि नसकेको, तर चाँडै नियम बन्ला भन्ने आशय व्यक्त गरे । ‘अरु कुरा त्यस्तै हो, बचेर काम गर्नु, सेफ्टी फस्ट है, कसैलाई केहि भइहाल्यो भने मलाई कल गर्नु, म पर्सनल्ली मबाट हुने नभए आफैले, माथिबाट हुने काम रहेछ भने माथि कुरा गरेर भएपनि तिमीहरुको सुरक्षा गर्छु ।’ यस्तो डिप्लोम्याटिक जवाफ दिएर म्यानेजर सर आफ्ने केबिनतिर लागे । रेसाजीको गुनासो सकिएको रहेनछ । म्यानेजर सर गइसकेपछि भनिन्– हाम्रो बीएम त काममा चाहिँ अत्ति कडा तर, यस्ता कुरामा चाहिँ साहै नरम है । स्टाफको समस्या साह्रै बुझ्ने के । रेसाजीको ब्यांग्यमा आक्रोस पनि देखियो । दिपकजीले डर देखाउदै भने अँ, काममा लास्टै कडा, यस्तो कडा मेनेजर त कुनै बैंकमा नहोला, अहिले गाली गर्लान्, के के छ पेन्डिङ काम गरिहालुम है । अनि हास्दै सबै जना आ–आफनो डिपार्टमा लाग्यौं । म बैंकको पनि फ्रन्ट लाइनमा अझ भनौं, टेलरमा काम गर्ने स्टाफ । कस्टमरबाट आएको चेक, डिपोजिट भौचर र पैसा नियमित छोइरहनु पर्ने हुन्छ । त्यति मात्र कहाँ हो र, अशिक्षित, जेष्ठ नागरिक, हात काम्ने विरामी, हस्ताक्षर मिलाउन नसक्ने खातावालाले ल्याप्चे राखेका हुन्छन् पैसा भिक्न र राख्न । यस्ता कस्टमरको हात समाएर ल्याप्चे लगाइदिनु पर्छ । बृद्धभत्ता बाढ्ने बेलामा भत्ता लिन आउने हजार जना भन्दा धेरै ल्याप्चे लगाउने खातावालाको हात समाएर चेक बिग्रन्छ वा सहि ठाउमा लाग्दैन भनेर औला छुनु पर्ने हुन्छ । डर त लाग्छ नि मलाई पनि । तर, पेशा र पेशागत धर्म ठूलो कुरा हो । म र म जस्ताले गम्भीर भएर बुझेका छौं र बुझ्नु पनि पर्छ । गुनासो यत्ति हो, खालि हामी बैंकरलाई मलाई गरे जस्तो तितो व्यवहार टोल समाजले नगरे हुन्थो । सातामा आलो पालो र हप्तामा दुई दिन हाम्रो शाखा खुल्ने सिमित समय हुनाले सेवाग्राही भिड झन बढी हुन्छ । भिडभाडमा चेक इन्ट्री गर्दै थिए । बाहिरबाट एक जना बृद्ध महिलाको अवाज मेरो कानमा ठोक्कियो । उनी गार्ड दाइसँग भन्दै थिइन्– बावु ! मेरो छोरा बिरामी छ, हस्पिटलमा छ, हतार छ, भित्र जान दिनु न…।’ गार्ड भन्दै थिए–तपाई भर्खर आउनु भएको, उहाँहरु आधा घन्टादेखि लाइनमै हुनुहुन्छ, उहाँहरु पछि तपाईको पालो हो । गार्डदाइका पनि आफ्नै दुःख छन् । अघिदेखि लाइनमा बसेका कस्टमरलाई पहिला पालो नदिने हो भने त्यहाँ अर्काे समस्या सिर्जना हुन्छ । उनी पहिला आउनेले पहिला सेवा लिन पाउने व्यवस्था मिलाउनै त्यहाँ बसेका हुन् । उनको ड्युटी नै त्यही हो । मलाई हतार छ, मलाई पहिला पैसा निकाल्न वा राख्न दिनुस् भनेर नभन्ने व्यक्ति को नै हुन्छ र ! मान्छे मेसिन होइन, ताकि जे कमाण्ड दियो, त्यही एक्सन होस् । मान्छेले नियमको पालना गर्नुपर्छ । र, उसले विबेक पनि बिर्सन हुँदैन । तर, विबेक प्रयोगमा पनि ओहोदाको भूमिका हुन्छ भन्ने सुनिन्छ धेरैजसो । त्यसैले होला, गार्ड दाइ नियमको कुरा गरिरहेका थिए पटक–पटक । मलाई त्यहाँ केही व्यवहारिक समस्या भयो जस्तो लाग्यो । कार्यकक्षबाट बाहिर आएँ । ती महिला नजिक गएर सोधेँ । ‘बाबु मेरो छोरा हस्पिटलमा छटपटाइरहेको छ, चाढै पैसा लिएर जानुपर्नेछ, कोरोनाले विरामी भएर अक्सिजन सिलिन्डर र दवाइ किन्नु छ ।’ उनी असाध्यै छटपटीमा थिइन् । चाढो पैसा निकालेर जान पाए आफ्नो छोरा बचाउन सकिन्छ भन्ने आश होइन विश्वास थियो उनमा । उनी लाइनमा पालो कुरेर बसेकाहरु, म र गार्ड दाइतिर पालैपालो हेर्दै छिटो पैसा निकाल्ने व्यवस्था मिलाइदिन याचना गरिरहेकी थिइन् । उनको कुरामा कन्भिन्स भएँ । ‘आमालाई धेरै समस्या भएको रहेछ, मानवीय नाताले पनि उहाँलाई पहिला पैसा निकाल्न दिऊँ है, यस्तो समस्या हामी जो कोहीलाई पनि पर्न सक्छ, तपाईहरुले पनि सहयोग गर्नुपर्यो ।’ मैले यसो भन्दा लाइनमा बसेका सबैले हुन्छ भने । ती बृद्धालाई भित्र बोलाएँ । भित्र पस्ने वित्तिकै पटुकाबाट गुजमुज्ज परेको खाली चेक निकालिन् । चेक भर्न आउछ ? मैले फेरि सोधे । आउदैन– उनले भनिन् । उनलाई एक लाख ५० हजार रुपैयाँ झिक्नु पर्ने रहेछ । मैले चेक भर्न जान्ने अर्काे मान्छेलाई (बैंकको कर्मचारी, त्यसमा पनि टेलरले भरसक नभर्नु भन्ने प्रचलन छ, जोखिमका हिसावले ) चेक भराएर खातामा इन्ट्री गर्दै थिए, खाता धेरै दिन नचलाएर इन एक्टिभ (डोरमेट) देखायो । खाता त धेरै दिन भएछ नचलाएको है आमा भन्दै एक्टीभ गर्न अर्को फर्म भराएँ । ल्याप्चे थिच्न लगाएँ । र, उनले भने अनुसार खुजुरा पनि वनाइदिए पचास हजार जतिको । सायद अटो भाडा, दवाई लगायतमा खर्च गर्न सजिलो हुन्छ भनेर चानचुन गरिएको होला मैले दिएको पैसा हातमा लिदै उनी मलाई धन्यवाद भन्न लागिन् । ‘बाबु धन्यवाद ! तपाई त कति सहयोगी, मर्म बुझ्ने, मेरो छोरा जस्तै, यस्तो कोरोनाको बेला पनि नडराइ आउनुभएको छ अफिस । बचेर काम गर्नु है । मेरो छोरा पनि तपाईहरु जस्तै कर्मचारी हो । पुलिसमा छ । काम गर्दा गर्दै कोरोना लाग्यो । तपाई त छोरा जस्तेैे । बाबुलाई नलागोस कोरोना ।’ म पनि उनलाई छोड्न बाहिरसम्म निस्किएँ । लाइनमा लागेकाहरुलाई र मलाई पनि धन्यवाद भन्दै उनी अटो चढेर गइन् । उनको खुसी देखेर मलाई पनि आत्मादेखि नै सन्तुष्टी पलायो । अफिस बिदा भएपछि घर आइपुगें । वाइक रोकेर गेट खोल्दै थिए भित्र राख्न । मन डराइरहेको थियो । छिमेकीले बिहान भनेको सम्झिरेको थिएँ । तर, हिजो अस्तिको जस्तो गरी ‘घिमिरेजी आउनु भयो ? कोरोना त ल्याउनु भएको छैन नि अफिसबाट’ भन्ने आवाज अहिले आएन । अनौठो लाग्यो । घरभित्र छिरें । श्रीमतीले ल नुहाउनु , म नास्ता वनाउछु भनिन् । म नुहाउन लागें । नास्ता खान डाइनिङ टेवलमा वस्दै गर्दा श्रीमतिले सुनाइन्– थाहा छ, त्यो पल्लो घरको छिमेकीको छोरालाई हस्पीटल लगेको छ नि दिउसो । के भएको नि ? मैले प्रश्न गरें । दिउसो खेल्दा लढेको, खुट्टा भाच्चियो सायद । हस्पीटलमा छन् । हत्तनपत्त नास्ता पनि खान छोडेर अस्ति तिमीलाई राख्न दिएको तलब देउ त भन्दै वाइक स्टार्ट गरें । कहाँ जान लाग्नु भएको ? किन चाहियो पैसा ? भन्दै उनी सोध्न थालिन । हस्पीटल, बच्चालाई हेर्न, सहयोग चाहिन्छ कि वुझ्न भन्न लागेँ । उनले फेरि भनिन्, भन्न त नहुने हो, तपाइलाई जहिल्यै प्याच्च प्याच्च भन्नेलाई के सहयोग गर्नु जस्तो लाग्छ एकमनले । तर, अरु त्यस्तै भए भनेर आफु पनि त्यस्तै हुनु भएन, ल लिनु पैसा, अनि पुगेपछि मलाई पनि खबर गर्नु है भनिन् । हस्पीटल पुगेपछि र उनलाई भेटेपछि सबै कुरा थाहा भयो । एउटा खुटा भच्चिएछ छोराको । अरु ठाँउमा पनि चोट लागेको रहेछ । पैसा पनि आवश्यक रहेछ । उनले भने के गर्नु बैंकमा त पैसा छ नि, बंैकरले पनि भनेको हो नि एटिम लिनु भनेर । मोवाइल वैंकिङ सेवा लिनु भनेर । यो वाटो दिनमा दश चोटि हिडिन्छ किन चाहियो भनियो, अहिले आफूले खाता खोलेको बंैक र पैसा भएको बंैक तिन दिनमा (साताको दुइ दिन) निकोर्सि मात्र खुल्ने रहेछ । कोरोनाले र आलोपालो खुल्ने कारणले तर अहिले मलाई पैसा आवश्यक भयो । आफन्तजन, दाजुभाइ पनि यस्तो कोरोना को वेला हड्ने माहौल छैन नभए हेर्न आउथे हस्पीटल भन्दै फोनमा मात्र कुरा गर्छन् । उनी मलिन अनुहार लगाएर भन्दैथिए । ह्या, त्यती सानो कुरा, ल लिनु मसँग अहिले तीस हजार छ, काम चलाम, अरु पैसा मेरो खातामा छ । चाहिए एटिमबाट निकाल्छु । पछि तिर्नु होला भन्दै आश्वासन दिएँ । अनि बाबुलाई दुई तीन दिन राख्नु पर्छ तपाई भाउजु यतै हस्पीटलमा बस्ने होला, खाना के गर्नु हुन्छ ? सुत्न वस्न ओछ्यान तन्ना के छ ? म भरे आउदा खाना र अरु चाहिने सामान ल्याइदिन्छु भन्दै सहयोग गरे । र, दुई दिनसम्म म पनि हस्पीटल र घर गर्दै व्यस्त भए । परेको बेला त हो नि सहयोग गर्ने । दुई दिनपछि बाबुलाई घर ल्याइयो । मसँग कोरोना सर्छ कि भनेर टाढ टाढा हुने उनी केहि दिनपछि घरमै आएर पैसा फर्काउँदै निदाउरो अनुहार लगाएर सोफामा बस्दै भन्न थाले–तपाईलाई मैले कत्ति नराम्रो भने, कत्ति पेच हाने, कोरोना सार्नु हुन्छ भने, तपाईबाटै कोरोना सर्छ मात्र भनिनँ, अरु टोल भरिकालाई पनि तपाईबाटै सर्छ भनेँ । त्यति मात्र कहाँ हो र किराना पसलमा पनि हाम्रो टोलमा घिमिरेजी छन्, बैंकमा काम गर्छन् अति आवश्यकीय क्षेत्र हो, बच्नु है उबाट भनेर नकारात्मक कुरा सुनाए । मलाई माफ गर्नु होला । परेको वेला कोरोनाको डरले कोही आएनन् । तर, तपाईं आउनु भयो र सहयोग गर्नुभयो । तपाई र तपाई जस्ताले मलाई मात्र होइन, लाखौं सेवाग्राहीलाई उनीहरुकै लागि ज्यान जोखिमा राखेर सेवा भावले काम गर्नु भएको छ । अति आवश्यकीय क्षेत्र भनेको मैले बल्ल थाहा पाए । मलाई माफ गरिदिनु होला घिमिरेजी भन्दै उनी पश्चाताप गर्न थाले । मैले पनि कुरा मोड्दै र उसलाई असजिलो नबनाउन ह्या, छोड्नुस यस्तो कुरा, बरु सुन त मिठो चिया बनाउ न वरु चिनी अलि कढा हाल है भन्दै मेरो श्रीमती तिर हेर्दै भने । मिठो खायो भने सम्वन्ध कडा हुन्छ क्या, यसो भन्दै हामी तिनै जना हास्यौं । आज फेरि अफिस जाने बेलामा घरको गेटमा बाइक निकाल्दै स्टाट गर्दै थिए । उने छिमेकी आफ्नो बरन्डाबाट हास्दै भन्न थाले घिमिरेजी बैंक जान लाग्नु भएको ? राम्ररी जानु होला है, आफ्नो त अफिस वन्द छ घर वस्दा वस्दा बोर भइसकें । अनि उनको श्रीमतिले पनि हास्दै भन्न थालिन् उहाँको त अति आवश्यकीय क्षेत्र हो, उहाँ त फ्रन्ट लाइनर हो, सवैको कहाँ भाग्य हुन्छ र फ्रन्टलाइनर भएर सेवा गर्नलाई । उनले यसो भन्दै गर्दा मेरो श्रीमती पनि आज उज्यालो अनुहार लगाएर हास्दै थिइन् । छोरी आव्या पनि वाइ–वाइ बाबा भन्दै हात हल्लाउदै थिइन् । म पनि आज फ्रन्ट लाइनर भएकोमा गर्व गर्दै थिएँ । वास्तवमै सवैले कहाँ पाउछन् र अति आवश्यकीय क्षेत्रमा काम गर्न, फ्रन्ट लाइनर हुन र सेवा गर्न ।

निधारको चोट

निधारलाई छोपेको कपाललाई पन्छ्याउँदै बैनीको देब्रे हातले मेरो तालु थिच्छे । दाहिने हातको साँहिली औलाले केशरी लगाउँदै गर्दा बिचैमा टक्क रोकेर बैनी सोध्छे । “निधारमा त खत पौ रैत त ! केको चोट हो दाई ?” उसको प्रश्न भुईमा झर्न नपाउँदै मैले जवाफ दिएँ । त्यो कुरा पछि गरौंला । पहिले साईतको टिका त लगाऊँ । टिका लगाई सकेपछि बैनीले सोधिन । ‘दाई निधारमा कसरी चोट लागेको ?’ हुँ ! म अनकनिदै थिएँ । मलिन अनुहार पार्दै फेरी भनिन् । “भन्नु न के । नभन्ने भए म त रोहिदिन्छु ।” बैनी घुर्काउन थाल्छे । राती अँध्यारोमा ढाेकामा ठाेकिएर काटेको । मैले जवाफ दिएँ । टिकाको थाली वर तानेर बैनीलाई लगाईदिँदै गर्दा उस्ले मेरो मुखमा फुर्लुक्क हेरी । म मुसुक्क हाँसे । मेरो हात च्याप्प समेतेर उसको टाउकोमा राखीन । “तपाईले मसंग झुट बोले जस्तो छ । यो भन्दा अगाडी त मैले निधारमा खत देखेको थिईन । सानो कमिलाले टोकेको कुरा त शेयर गर्ने मान्छेले यति ठूलो चोट लाग्दा समेत मलाई केही भने जस्तो त लागेन । मेरो कसम खाएर भन्नु त यो खत कसरी बस्यो ?” मैले भने पहिला टिका लगाई दिन त दे । अनि सबै कुरा भनौला । सप्तरंङ्गी टिका, सयपत्री र मखमलीको माला लगाई दिएँ । तिहारको भाई मसला, सानो उपहार र दक्षिणा दिँदै उसको खुट्टामा ढोगें । अनौठो मान्दै उनले भनिन् । ‘यसपाली त अचम्म भयो लौ ! दशैं टिका लगाउँदा समेत बुबा ममीको पाऊमा समेत शिर नझुकाउने मेरो दाई, आज घुँडा टेकेर मेरो खुट्टामा ढोग्दै छ त ?’ ००००० सिस्टम र सिष्टता एउटै आमाबाबुको सन्तान नभएता पनि सम्बन्ध भने निकै नै घनिष्टता थियो । सिष्टताले रक्षा बन्धनका दिन सिस्टमका हातमा राखी बाँधेर पवित्र सम्बन्धलाई जोडेकी थिईन । सिस्टम, सिष्टताको लागि अभिभावक मात्र हैन, सल्लाहकार पनि हो । आफ्नी बैनी संधै राम्रो काम गरोस, कसैले उसलाई औला उठाएर बोल्न नपरोस र सबैबाट प्रशंसा पाओस भन्ने सिष्टमको चाहाना थियोे । सिष्टताले पनि हरेक कुरामा सिष्टमसंग राय लिने गर्थिन । एकले अर्कालाई खुब माया गर्थे उनीहरु । छिनमै रिसाउने छिन भरमै खुशी हुने उनीहरु दुबैको आदत थियो । जिन्दगीका सबै कुराहरु शेयर हुन्थ्यो । एउटालाई चोट पर्दा दुवै संगै रुने गर्थे । कहिले काहीँ झै भगडा गरेता पनि एकले अर्काको पिडालाई बुज्थे उनीहरु । तिहार नजिकिँदै थियो । भाइटिकाको दिनका लागि भनेर सिष्टमले बैनीका लागि केही कपडा किनिदिन्छ । सिष्टताले पनि दाजुका लागि केही कपडाहरु किनिदिन खोज्छिन, तर उसले इकार गर्छ । सिष्टताले ढाकाको टोपी देखाउँदै भन्छे । यो त किन्न सक्छु नि ? उसले मुन्टो हल्लाउँदै अँ, हुन्छ । टोपीका चुच्चाहरु मिलाउँदै सिष्टताले दाजुको शिरमा लगाई दिन्छे । बैनी रोजेको टोपी सिष्टमलाई ठिक्क भएको थियो । चिटिक्क सुहाएको पनि थियो । “आहा कति राम्रो !” पसल्नी साउनी पनि स्वर मिलाउँदै थिई । हिरो छ नि मेरो दाजु भन्दै सिष्टता दाजुका टाउको सुम्सुम्याउँदै थिईन । ‘दाई यस्पाली तिहारमा त तपाईको कपाल हाईलाईट गर्नु पर्छ है ? मेहेन्दी किनौ म लागाई दिन्छु ।’ फुलेको एउटा कपाल तान्दै सिष्टताले भनिन । “अलिअलि कपाल फुलेर के भो त, नहाल्ने मेहेन्दी सेहेन्दी ।” सिष्टमको यस्तो जवाफका कारण चित्त दुखाउँछिन । ‘मैले भनेको त के नै मान्नु हुन्छ र ?’ उमेरले ३० औं बसन्तको यात्रा गरिरहँदा सिष्टमको कपाल फुलेर सेताम्मे थियो । सिष्टतालाई दाजुको सेतो कपाललाई रंग्याउने रहर थियो । यही कुरामा उनीहरु बीच सामान्य वादविवाद भयो । दाजुबैनीको वादविवादलाई यहाँ चित्रण नगरौं । उनीहरु त्यहाँबाट फर्किए । बेलुका घर आएपछि सिष्टताले दिउसोको घटनासंग मेल खाने एउटा पोष्ट फेशबुकमा शेयर गरिन् । जुन पोष्टले सिष्टमलाई बैनीले उसैलाई भनेको जस्तो आभाष हुन्छ । उसले पनि त्यस्तै खालको कमेन्ट गर्छ । सिष्टतालाई दाजुको पछिल्ला ब्यवहारले निकै चित्त दुख्छ । तिहारको केही दिन अघि सिष्टताको मामाले फोन गर्छन र भन्छन । ‘भान्जी यस्पाली तिहारमा म पनि तिम्रो गाँउ जाने हो ममीलाई भन्नु मामा उतै आउनु हुन्छ भनेर । म लक्ष्मीपूजाको दिन यहाँबाट बिहान चिया खाएर आँउछु । तिमी त्यहाँ खाना बनाई राख । देउरालीको मिलन मामा पनि आउनु हुन्छ । त्यहीँ खाना खाएर संगै गाऊँ जाऔला । गाउँ नगएको धेरै भयो । यस्पाली धेरै रमाईलो गर्नु पर्छ ।’ मामा भान्जीको सल्लाह अनुसार लक्ष्मी पूजा दिन बिहानै सिष्टता मामासंगै गाँऊ जान्छिन । गाउँमा देउसी भैलो कार्यक्रमको आयोजना गरिएको हुन्छ । भाइटिकाको दिन विहान अबेरसम्म देउसीभैलो खेल्ने कार्यक्रम थियो । भाइलाई टिका लगाएर मामासंगै फर्किएर दाजुलाई पनि टिका लगाउने उसको सोच थियो । सोचे जस्तो वातावरण मिलेन । उनी त्यस दिन फर्किन सकिनन् । ००००० बैनीले धेरै कर गरेपछि सिष्टमले आफ्नो निधारको चोटको बारेमा बताउन थाल्छ । कुरा पोहोर साल तिहारको हो । भाइटिकाको दिन बिहानै फोन गर्दा तिमीले भनेकी थियौं । दाइ म आउँदिन है । मैले सोधेँ । किन ? कहाँ त्यसो भनेर हुन्छ त ? जस्तोसुकै भए पनि आऊनु भनेर कर गरे । त्यसपछि तिमीले भन्यौं । यसपाली टिका लगाऊन नमिल्ने भयो के, त्यही भएर । नाटक नगर खुरुक्क आउने भन्दा तिमीले हैरान गर्याै । ह्या तपाईं पनि लेडिज प्रोब्लम हो के बुज्नु न । तिमी नआउने बहाना बनाउँदै थियौं । मलाई राम्रोसंग याद थियो । दशैंको बेलामा ‘प्रियिड’ भएकै कारण तिमीले मेरो हातको टिका गुमाएकी थियौं । त्यति बेला भावुक हुँदै भनेकी थियौ, दाईको हातबाट दशैंको टिका लगाउन नपाएता पनि तिहारमा दाजुबैनी भएर खुब रमाईलो गर्नु पर्छ । तिमी आउँदिनौ भन्ने कुरामा मलाई अलिकति पनि विश्वास थिएन । घरमा सार्थकलाई टिका लगाएर आउँदा अलि ढिलै होला भन्ने मेरो अनुमान थियो । तिमी आँउछेऊ भन्नेमा पूर्ण विश्वस्त थिएँ त्यती बेला । त्यसैले टिकाको सबै सरसार्दम, खानेकुरा सबै ठिक पारेर तयारी अवस्थामा बैनीको प्रतिक्षामा बसेको थिएँ । दिन ढल्किदै गयो । साँझसम्म पनि तिमी नआएपछि मेरो मन छट्पटिन थाल्यो । आँखाहरू दोबाटोतिर टोलाऊन थाले । तिमीलाई फोन गरे । फोन उठेन । केही पछि दोहोर्याएर कल गरे । मोबाइल स्विच अफ थियो । आईपुग्नै लागेको भएर मलाई सरप्राइज दिन खोजेको होला भन्ने सोचेर कोठा भित्र छिरे । दियो बत्ती बालेर टिका लगाउने ठाउँ फेरी एकपटक सफा गरे । कोठा टिलिक्क पारेर सजाएको थिएँ । हुनत दिनभरी मेरो अरू काम नै के थियो र । त्यही बेला मोबाइलको घन्टी बज्यो । त्यो तिम्रो कल थियो । हत्तपत्त फोन उठाएर सोधें । कहाँ आईपुगेको ? तिमीले भन्यौं । “म त घरमै छु ।” नजिस्कन म कुरिरहेको छु । यति भन्न नपाउँदै तिम्रो जवाफ आयो । अरे पागल झन मैले बिहानै भनेको हैन त म आउँदिन भनेर । फोन काटियो र लगतै म्यासेन्जरमा भिडियो कल आयो । वास्तवमै तिमी घरमै रहिछौ । ए हस् भनेर फोन काटेँ । एक्कासी मन भक्कानिन थाल्यो । छाती डुम्म फुल्यो । एक छिन अक्क न बक्क परे । सुत्ने बिचार गरेर बाहिर ढोका लगाऊन निस्केको थिएँ । त्यतीबेलासम्म पनि तिम्रो झझल्को छाडेको थिएन । ढोका चुकुल लगाएँ । जुन ढोका तिमी आउने आशा खुल्ला गरेको थिएँ, त्यही ढोका निराश हुँदै बन्द गर्न बिवस थिएँ म । एक्लोपनको महशुष भयो मलाई । त्यही बेला आफ्नो भाग्य धिक्कार्दै ढोकामा टाउको बजार्न पुगेछु । त्यही चोटको हो यो । जति बेला मेरो निधार खाली थियो । ०००००

मास्क लगाएको जोगी र चामल

“अलऽऽऽऽख निरन्जन…।” एकछिन सुनसान । गेटबाहिरबाट आएको थियो त्यो आवाज । प्रत्येक दिनजसो बिहान सवेरै सुनिने यो आवाज पाँच महिनायता सुनिएको थिएन । त्यसैले घरभित्रका सबै आआफ्नै तालमा थिए । ट्याब समातेर अनलाईन कक्षा पढिरहेकी छोरीले गेटतिरकै कोठामा बसेर पनि यो आवाज सुनिन । पढाइमा अलि बढी नै ध्यान दिइछ कि ! भित्र भान्सामा भाँडासँग खेलीरहेकी श्रीमतीले त झनै सुन्ने कुरै आएन । श्रीमान् पनि टेलिभिजनमा अन्तर्वार्ता हेरिरहेको थियो, गेटतिरको आवाज उसको कानसम्म पुग्ने कुनै गुन्जायस थिएन । “अलऽऽऽऽख निरन्जन…।” यसपालि स्वर अलि चर्को थियो । सायद कोही बोलेको हो कि भन्ने सबैलाई लागेको हुनुपर्छ, तर कसैले ठम्याउन सकेनन् । गेटबाहिरैबाट चर्को स्वरमा बोलेको जोगीले पूर्ववत् मौनता प्रदर्शन गर्यो एकछिन । गेटभित्र नजर ओछ्यायो । ढोका भएतिर गहिरो गरी हेर्यो । आँखा तिर्मिराएछन् क्यार, एकपटक आँखा मिच्यो र बन्द रहेको जाली ढोकाबाट भित्रै नजर पुग्ने गरी निकै सचेततापूर्वक दृष्टि घुसार्यो । भित्र कुनै सजीव चित्र सल्बलाएझैँ लाग्यो उसलाई । आफैँमाथि विश्वास गर्न सकेन । अघिल्लो पटकभन्दा अझै गहिरोसँग आँखा गाड्यो र जाली ढोकाको आँखाभन्दा धेरै गुणा सानो जालीबाट भित्रसम्म सीधा हेराइ हेर्यो । अब भने मान्छेकै आकृति भएकोमा ऊ ढुक्क भयो । पहिले उसले गेट बजायो । गेटको फलामे आवाज भित्रसम्म पुग्यो । छिमेकसम्म पनि पुग्यो सायद । छिमेकीहरू पनि आफ्नै गेटको आवाज हो कि भनेर बाहिर बरन्डामा निस्केको देख्न सकिन्थ्यो । टङ्ग्रङ्ङ गेटको आवाज बजिसकेपछि फेरि फलाक्यो “अलऽऽऽऽख निरन्जन…।” यसपालि भने उसले अझै थप्यो –“जय शम्भो ऽऽऽ !” यो अर्को मन्त्र फलाकेपछि यो कुरा ठम्याउन निकै सजिलो भयो कि उसलाई शिवप्रति निकै श्रद्धा छ । अर्थात् बजारमा बग्रेल्ती भेटिने कैयौँ जोगीजस्तै ऊ पनि आफू शिवको दूतका रूपमा भिक्षा माग्न आएको कुरा मान्छेका मनमा पार्न चाहन्थ्यो । तल्लो तलाको जाली ढोकामै आँखा ओछ्याइरहेको उसको ध्यान अचानक भङ्ग भयो । माथिल्लो तलाको बरन्डाबाट एक अधबैँसे महिलाले बाजे लाउनुस् पैसा भनेर दस रुपैयाँको नोट कच्याककुचुक पारेर जोगी भएतिर मिल्काइदिइन् । गेटबाहिरै पुगोस् भनेर फालिएको त्यो नोट गेटभित्रै खस्यो । जोगीले मन नलाईनलाई गेट खोल्यो । अलिअलि भुटभुटाउँदै निहुरेर त्यो पैसा टिप्यो । कच्याककुचुक परेको पैसाको नोट खुत्रुक्क कमण्डलुभित्र हाल्यो । उसको भुटभुटाइ नजिकैबाट यस्तो सुनिन्थ्यो –“हैन, आज चामल कसैले नदिने रहेछन् कि क्या हो ? …” एक्लै यस्तै अनेक कुरा फतफताउँदै बिस्तारै गेटको पलेँटो खोल्यो; बाहिर निस्क्यो र गेट बन्द गर्यो । गत वर्षको एउटा घटनाले उसको मस्तिष्कमा फन्का मार्यो । अघिल्लो वर्ष यही ठाउँमा भिक्षाटनमा आउँदा एउटै घरबाट अगभग एक माना चामल भिक्षा पाएको थियो उसले । एक पाथी चामल बनाएर अर्को हप्तासम्म भिक्षा माग्न नहिँडौँला, किन बित्थैमा कोरोनाको जोखिम मोल्ने ? भन्ने सोचेर भिक्षा माग्न बिहानै निस्केको ऊ यतिबेला असाध्यै निराश भयो । अघिल्ला पाँच/छ घरमा पनि उसलाई कसैले चामल दिएन । जतिले दिए पैसै दिए । एउटा घरमा त ‘यस्तो कोरोनामा पनि जोगी आएकै छ …’ भन्ने आवाजमात्रै बाहिर निस्क्यो । जतिपटक भगवान् शिवको नामको मन्त्र जपे पनि काम लागेन । कचौरामा चामल वा हातमा पैसा लिएर कोही निस्केन । त्यही अगि निस्केको आवाजलाई नै भिक्षा स्वीकार गरेर जोगी अर्को घरतिर लागेको थियो । ‘शिवजीको श्राप लाग्छ भनेर पनि मान्छे डराउन छोड्यो, यो कोरोना त यमराजभन्दा पनि डरलाग्दो बनेर पो आयो गाँठे !’ मनमा यिनै कुरा खेलाउँदै जोगी अर्को घरको गेट ढकढक्याउन पुगिसकेको थियो । गेटको पलेँटो बन्द गर्ने बाटुलो फलामे डन्डी समातिरहँदा पनि उसले जाली ढोकाभित्र फेरि अन्तिम एकपटक नजर फ्याँक्यो । ‘भुइँतलाबाट कोही केही लिएर निस्कन्छ कि !’ उसको झिनो आश अझै मरेको थिएन । नमरेको आश जबरजस्ती आफ्नै गह्रौँ मनले थिचेर मार्यो र बिस्तारै अर्को घरतिर पाइला सार्यो । दस पाइला जति हिँडेपछि उसले अघि कमण्डलुमा राखेको दस रुपियाँको कच्याककुचुक परेको नोट हातले टिप्यो । दुवै हातले त्यसलाई खोल्यो र मिलायो । केहीबेर नोटलाई दुई हातको बिचमा राखेर रगड्यो । खुम्चिएको भाग अलि तन्कियो । नोट सामान्य अवस्थामा आएपछि उसले पर्स निकाल्यो र पर्समा राख्यो । अर्को घर अलि भित्र थियो । त्यहाँसम्म पुग्ने बाटाको दायाँतिर सानो चउर थियो । एकाबिहानै दुई चार जना केटाकेटी चउरमा खेलिरहेका थिए । खेलिरहेको भकुन्डो बाटानिर पुग्यो । एउटा चङ्खे लाग्ने एउटा फुच्चे केटो भकुन्डोका पछिपछि यसरी दगुर्यो कि मानौँ उसले भकुन्डोसँग दौड प्रतियोगिता गरिरहेको छ । बलको पछिपछि दौडिरहँदा केटाले बाटोमा हिँडिरहेको जोगीलाई देख्यो । “ओ केटा हो, हेरो त मास्क लाएको जोगी । ओहोई … मास्क लाएको जोगी … ।” फुच्चे चिच्यायो । उसको चिच्याइले खेलिरहेका सबै केटाकेटीको ध्यान बाटातिर तानिइहाल्यो । जोगीले मास्क लगाएको उसले पहिलोपटक देखेको थियो । पाँच/छ महिना अगाडि आउने कुनै पनि जोगीले मास्क लगाउँदैनथे । यो बिचमा कुनै पनि जोगी उसको घर वरिपरि आएका पनि थिएनन् । उसलाई असाध्यै नौलो लाग्यो । भित्रभित्र हाँस्दै जोगीलाई हेरिरह्यो । त्यो फुच्चेका साथीहरू पनि एकैछिनमा फुच्चेनजिकै आइपुगे । लामो समयपछि जोगी त्यो पनि मास्क लगाएर आएको देख्दा अरू बच्चाहरू पनि छक्क परे । सबै एकै ठाउँमा झुम्मिए र जोगीलाई एकोहोरो हेर्न थाले । जोगी उनीहरूको नजिकै आइपुग्यो । तिनीहरू एकआपसमा कानेखुसी गर्न थाले । जोगीले त्यो फुच्चेले चिच्याएर ‘मास्क लगाएको जोगी’ भनेको अगि नै सुनेको थियो । फुच्चेहरू भएको ठाउँमा आएपछि जोगीले मास्क मुखबाट निकाल्यो र एकपटक हाच्छ्युँ गर्यो । केटाकेटीहरू एकैचोटि “कोरोना … कोरोना…” भन्दै चिच्याएर त्यहाँबाट भागे र चउरतिर गए । तिनीहरू पूर्ववत् भकुन्डो खेल्न थाले । जोगी बिस्तारै अर्को घरतिर लाग्यो । एकैछिनमा पुग्यो पनि । “अलऽऽऽऽख निरन्जन … !” उसैगरी अलि कम उमेरकी महिलाले ढोकाबाटै पाँच रुपियाँको नोट फ्याँकेर भित्र पसिन् र उतिखेरै चुकुल लगाइन् । यो घरमा पनि चामल हात लागेन । जोगीलाई लाग्यो –मान्छेहरूले अब चामल जोगाएर राख्न थाले कि क्या हो ? पैसाभन्दा चामल (अन्न) मूल्यवान् लाग्न थाल्यो कि क्या हो ? यति सोच्दा नसोच्दै गत वर्षको एउटा घटनाले उसको मस्तिष्कमा फन्का मार्यो । अघिल्लो वर्ष यही ठाउँमा भिक्षाटनमा आउँदा एउटै घरबाट अगभग एक माना चामल भिक्षा पाएको थियो उसले । एक पाथी चामल बनाएर अर्को हप्तासम्म भिक्षा माग्न नहिँडौँला, किन बित्थैमा कोरोनाको जोखिम मोल्ने ? भन्ने सोचेर भिक्षा माग्न बिहानै निस्केको ऊ यतिबेला असाध्यै निराश भयो । यिनीहरूले दिएको पाँच रुपियाँ र दस रुपियाँ जोडेर एक पाथी चामल किन्ने पैसा जम्मा गर्दा त म दुई, तीन दिन भिक्षा माग्न हिँड्नुपर्छ भन्ने निष्कर्षमा पुग्यो ऊ, मनमनै । यस्तो सोचिरहँदा उसको अनुहार निकै थकित देखिन्थ्यो । यी कुरा सोचेर यो घरबाट फर्कँदा उसको हिँडाइको गति पनि निकै मत्थर भइसकेको प्रष्ट देखिन्थ्यो । ऊ लुरुलुरु उँधो मुन्टो लाएर हिँडिरहेथ्यो । निलो मास्कले उसरी नै जोगीको मुख ढाकिएको थियो । हिँड्दै हिँड्दै जोगी त्यही सानो चउरनजिक आइपुग्यो । खेलिरहेका केटाकेटी फेरि जहाँको तहीँ उभिएर जोगीलाई हेर्न थाले । जोगी भने आफ्नै रफ्तारमा हिँडिरह्यो । चउरतिरबाट भने उही फुच्चेको आवाज एकोहोरो आइरह्यो, “ओ मास्क लाएको जोगी … !”  [email protected]

श्रीमतीजीको हिम्मत

“हाम्री आयुष्मती सुपुत्री अनामिकाको फलानोका छोरासँग फलानो दिनको शुभ लग्नमा विवाह सुसम्पन्न हुने निश्चय भएकोले……..” मलाई झल्झली सम्झना छ, मेरो विवाह निश्चय हुँदा छापिएको कार्ड अनि पहिलो पल्ट कुनै अपरिचित पुरुषसँग जोडिएको मेरो नाम । हुन त पुरुषसँग मेरोे नाम जोडिएको यो पहिलो पल्ट भने होइन । सानो छँदा भाँडाकुटी खेल्ने क्रममा कैयौं पल्ट केटा साथीको बेहुली भएकी छु । स्कुलमा पनि कक्षा आठ–नौ तिर पढ्दा साथीहरुले मेरो नामसँग अरु कसैको नाम जोडिदिएर डेस्क–बेञ्चमा लेखेकै हुन्थे । तर नितान्त फरक छन् ती नाम र अहिले कार्डमा छापिएको पुरुषको नाम । बुबाले चारैतिर बुझेर अनि धेरै पल्ट सोचेर मात्र आफ्नो मुटुको टुक्रालाई यही पुरुषसँग विवाह गरिदिने निश्चयमा पुग्नुभएको थियो । “कोही केटा मन पराकी छेस् भने भन् है” केटाको परिवार मलाई माग्न आएको साँझ बुवाले मलाई सोध्नु पनि भएको थियो । अहिले लाग्छ बुबाको त्यो प्रश्न बेतुकको थियो सायद । स्कुल अनि कलेज छँदा ‘पढ्नमा मन गर्नु, ठुलो मान्छे हुनुपर्छ, सभ्य र भलाद्मी हुनुपर्छ’ भनेर सिकाउने बुवाले ‘कोही केटा मन पराकी छेस् ?’ भनी सोध्दा बेतुक झैं लागेको थियो मलाई बुबाको त्यो प्रश्न । विवाह पछिका केही महिना त रमाइलै गरी वितेका थिए । पतिनै जीवन र भविष्य हो भन्ने सोचाई राखेको थिएँ । नारी, सरिता, गृहलक्ष्मी र गृहशोभा जस्ता मासिक पत्रिकाहरु पढेर नयाँँ–नयाँँ रेसिपिको साथ उसलाई भोजन पनि गराउँथें । तर कति चाँडै उसमा बदलाव आएको होला । ‘वाह ! कति मिठो पकाएको’ भन्ने वाक्य शुरुशुरुका दिनको जस्तै गरी आज पनि सुन्न लालाइत छु । मात्र एक वाक्य त हो नी । तर अहँ, सायद सम्झौता रहेछ जीवन । कहिलेकाहिँ त यस्तो लाग्छ कि सम्झौता भन्ने कुरा मैले मात्र किन गर्नुपर्ने होला ? सधैं पुरुष नै माथि किन हुन्छ ? नारीले मात्र धर्ती बनेर सहिरहनु पर्ने हो र ? वास्तवमा एउटी नारीले आफ्नो पतिबाट चाहने भनेको अभिभावकत्वको हिसावले आफ्नो पति बुबा जस्तै होस् जसले जुनसुकै समस्यामा पनि ढाल बनेर आफ्नो रक्षा गरोस् भन्ने हो । सानातिना गल्तीहरुलाई नजरअन्दाज गर्दै सुधार्ने मौका देओस्, आमाले झैं हरेक कुराको ख्याल राखोस्, कोमल होस् अनि भावना बुझेर साथीजस्तै गरी जिस्कियोस्, चलोस्, गालि गरिहाले पनि मिठो गालि गरोस् ताकि फकाउन मजा आओस् भन्ने हो । एउटी नारीले पत्नीको रुपमा श्रीमानबाट चाहने यिनै त हुन् नि ससाना कुरा । यही साना–साना कुरा पूरा भए त खुसी भैहालिँदो रैछ नि । सायद मैले पनि आफ्नो श्रीमानसँग यही कुरा चाहेको थिएँ । अस्ति भर्खरकै मात्र कुरा हो ऊसँग बजार जाँदा उसको आँखा र ध्यान चाहिँ सडकको पल्लोपट्टि हिँडिरहेकी केटीमा भएको चाल पाएँ । हेर्नु नराम्रो त होइन तर कुरा नियतको हो । मैले के सम्म गरेको छैन र उसका लागि । खुम्चिएको लुगामा अफिस नजाओस्, उसलाई सवैले राम्रो देखुन् भनेर उसका लुगामा आइरन लगाइदिने गरेकै थिएँ । समयमै धोइदिने गरेकै थिएँ । उफ्… लुगा मात्र कहाँ हो र, कति चोटि त कछाड पनि धोइदिएको छु । कति भाडाको घरमा मात्र बस्नु भन्ने सोचेर ऋण नलाग्ने गरी एउटा सानो घर बनाउनका लागि विवाहमा बुबा–आमाले दिनुभएको सिक्री, औंठि अनि तिलहरी बेचिदिएकै थिएँ । यहाँसम्मकी, बुवाले मलाई आर्थिक समस्या नपरोस् भन्दै सुटुक्क राखिदिएको फिक्स्ड डिपोजिट पनि तोडाइदिएँ । छोरा जन्मेपछि मलाई माया गर्लान् भनेर चित्त बुझाउन नखोजेको पनि होइन तर ऊ भने दिन प्रतिदिन मेरो सहनशिलतालाई कमजोरी ठान्दै मलाई हेप्ने गरिरहेको छ । के उसले आज कमाएको पैसा अनि उसको सफलताको पछाडि मेरो चाहिँ केहि हात छैन् ? अस्ति दिउँसो मैले ‘पाइन्ट लगाऊँ ?’ भनी सोध्दा उसले मलाई कम्ती गिज्याएन । म पाखे देखिन्छु रे, सुहाउँदैन रे, मोटि भएँ रे, केके हो केके । उसका अफिसका महिला कर्मचारीहरु स्मार्ट छन् रे, आधुनिक छन् रे । सायद त्यही भएर नै होला अचेल ऊ म सँग घुम्न त्यति मन पनि गर्दैन । उ पनि म जस्तै बि.बि.एस. त पास हो नि । मलाई जागिर नखाऊ भनेर उसैले हो कर गरेको । जागिर खान दिएको भए म पनि खान सकिहाल्थेँ नि । यदी त्यस्तो हुन्थ्यो भने त म पनि ऊ जस्तै पोस्टमा पुग्न सक्थेँ नै होला । अनि त भै हाल्थेँ नि उसका अफिसका महिला कर्मचारी जस्तै स्मार्ट । म यदी पाखे देखिएको छु भने मलाई यस्तो बनाएको उसैले हो । छोराछोरी हेर, थाङ्ना धोऊ, घर सफा राख, सासु, ससुरा अनि नन्दको विचार गर, एउटा महिलाको कम काम हुन्छ दिनभरी ? उफ् ….रातमा पनि उसको चित्त बुझाउनु रे । तर के गर्नु, यति विधि गर्दा पनि मेरो आफ्नो भन्ने के नै छ र ? माइतीमा हुन्जेल बुवाको छोरी भएर त्यै परिचयमा बाँचियो, बिहे पश्चात् सिउँदो आफ्नो तर सिन्दुर उसको नामको, थर गोत्र उसको नामको, गर्भ आफ्नो तर सन्तान उसैको, यहाँसम्मकि घरको बिजुली, टेलिफोन, केवल, नेट सबै उसैको, मेरो त भन्नु के नै पो रहेछ र । हिजो साँझकै मात्र कुरा हो, थकाइ लागेर यसो पल्टिँदै टि.भि.को रिमोट मात्र के समातेको थिएँ खाउँलाझैं गरेर रिमोट खोस्दै “घरमै बस्यो, काम केही नगर्यो, दिनभरी हल्लियो, फोकटको खायो” भन्दै करायो । म पनि त भन्न सक्थेँ नि यो मेरै माइतीले दिएको दाइजो हो भनेर । तर किन बेकार द्वन्द निम्त्याउनु, चुप लागेँ । मेरो समझदारीलाई उसले दिन प्रतिदिन कमजोरी ठानिरहेको छ । किन घर गृहस्थी सम्हालेकी नारीले इज्जत पाउँदैनन् ? माइतिले पाल्न नसकेकोले गर्दा नारीले पुरुषको सहारा लिन्छन् भनी किन बुझ्छन् पति भनाउँदाहरु ? आज विहान मेरा आँखा चाँडै उघ्रिए । ओछ्यानमै पल्टिएर मनमा कुराहरु खेलाउँदै गर्दा अचानक एउटा निर्णयमा पुगेँ र जुरुक्क उठेँ । सदा झैँ सरिता, गृहलक्ष्मी, गृहशोभा लगायतका नारीप्रधान पत्रिका पढ्न आज मन लागेन बरु एउटा दैनिक पत्रिका किनेर ल्याएँ र भित्री पृस्ठको एउटा विज्ञापनमा टक्क आँखालाई अड्याएँ, जहाँ ‘कर्मचारी आवश्यकता’ भनेर छापिएको थियो । पत्रिकाहरुमा भ्याकेन्सी त सधैँ नै छापिएकै हुन्थे तर सायद मेरा आँखा र हिम्मत मात्र त्यहाँसम्म नपुगेका रहेछन् । वर्षौं देखि दराजमा थन्क्याएर राखेको आफ्नो सबै शैक्षिक प्रमाणपत्रहरु झोलामा राखेर विहानको १० बज्नै लाग्दा घर वाहिर निस्किएँ । म पहिलो पल्ट केही नभनी आत्मविश्वासका साथ हिँड्न लागेको देखेर श्रीमान् अचम्मित भए अनि एकटकले हेरिरहे । उनको आँखामा एउटा प्रश्न प्रष्टै देखियो – “कता जान लागेको ?” म पनि टक्क अडिएँ र उनीसँग आँखा जुधाउँदै आत्मविश्वासका साथ आखैंबाट जवाफ फर्काएँ, “तिम्री पाखे श्रीमती आज अलिकति हिम्मत गरेर इन्टरभ्यु दिन जाँदैछे ।” बिराटनगर–५, हाल तेह्रथु फोन: ९८५२०३६३११

बैंकरका दुःख

“ओ…हो शर्मा जी, कहिले आउनु भो पहाड बाट ? के सारो मोटाउनु भएको ….पेट पनि लागेछ । पहाड त फापेछ, बैंकको जागिर जचेछ हजुरलाई । टन्न कमाउनु भो कि क्या हो ?” वाह् ! नेपाली समाज, अलिकति मोटायो भने कमायो भनिदिन्छन् । दुब्लायो भने चिन्ता पर्यो की भनिदिन्छन् । दुईचार दिन दारी काटेन भने किन बैराग्गेको भनिदिन्छन् । अचेल त बानी परिसकें म । बल्ल बल्ल चार दिनको घर विदा मिलाएर बिराटनगर गएको बसबाट उत्रँदै गर्दा छिमेकी टिकाराम सरसँग ट्याक्क बाटैमा भेट भयो । चार दिनको बिदा पनि के भन्नु र ! बिकट पूर्वि पहाडको दुर्गम शाखा र त्यसको कर्मचारी भएदेखि जानै एक दिन लाग्छ आउन एक दिन । दुई दिन बिदा त बाटैमा सकिन्छ । यो पल्ट पनि घरमा धेरै कहाँ बस्न पाउँछु र ! घर नपुग्दै श्रीमतीजीले भन्छिन्, “यो पल्ट त बिदा टन्न लिनु भाको होला नि…, हेर्नु है… जहिल्यै हतार गर्न पाइँदैन नि, मैले भन्दिएको छु, फेरि म रिसाउँछु नि ।” अनि अठार महिनाको छोरी मलाई देखेर मैसँग डराउँछिन् । “नानु बाबा हो नि, बाबा भन…” सानी छोरी डराएर रुन्छे र पर पर भाग्छे । मन अमिलो हुन्छ… थुक घुटुक्क निल्छु । “यो पल्ट त बिदा टन्न लिनु भाको होला नि ।” फेरी जिज्ञासा आउँछ । पहिलो भेटमै श्रीमतीलाई खिन्न नपारुम भनेर बिस्तरै “अँ…” मात्र भन्छु । “ल आउनुस खाना खाम् । अब यहाँ जाने… यो किन्ने … अँ त्यहाँ पनि जानु पर्छ तपाईंलाई थाहा छ ? फलानोको छोरा त विदेस गयो नि…, तपाईं राम्रो भन्नु हुन्थ्यो नि पर्तिरको छिमेकीसँग अस्ति हाम्रो सिमानामा देबाल लगाउँदा कम्ति झगडा परेन… ए साँच्चि, त्यो अंकिता थि नि… तपाईंले चिन्नु भएन ? नयाँ छिमेकी हुन् क्या, त्यो त भागी नि… ।” बल्ल बल्ल भेट भएको म सँग ऊ महिनौं देखिका उकुसमुकुस एकै सासमा यो सुनाउँ कि त्यो सुनाउँ भन्दै खसी ब्याएको सम्म सुनाउँछिन् । “ल मैले आज हजुरलाई भनेर तिन थोक तरकारी पकाएको छु । पहाडमा तरकारी पाउँदैन के खानु हुन्छ तपाईं ? पुरै दुब्लाउनु भएछ ।” बैंकको जागिर खाए देखि करिब पाँच÷छ महिना पछि घर जाँदा म आफूलाई पूर्ण र बिछट्टै परिवर्तनको वातावरणमा पाउँछु । एउटा मानविय परिवेसमा । चिटिक्क परेको लुगा, टाइ, सुट, कोट, टलक्क जुत्ता, हँसिलो मुहार अनि आत्मविश्वासका साथ ठाँटिएर कार्यालय गएको आजको बैंकिङ युवावर्ग देख्दा जोकोहिलाई पनि लोभ लाग्दो हो । आहा… कति राम्रो नोकरी, कती सुन्दर जागीर, म पनि खान पाए हुन्थ्यो । तर उनीहरुलाई के थाहा… त्यो टाइभित्रको अर्थ, कोट भित्रको अर्थ, अनि टलक्क टल्केको जुत्ता भित्रको पिडा । यो जुत्ताले कैयौं पल्ट मेरा आफ्ना सपना र रहरहरु कुल्चेका छन्, ब्यक्तिगत जीवन र जिन्दगी… मनका हजारौं आकांक्षाहरु दबिएका छन् । कार्यालय र काम ब्यस्तताले के थाहा छिमेकीको विवाहमा सरिक नहुनुको पिडा, आफन्तको मुत्युमा मलामी जान नपाउनुको पिडा, अनि सुटुक्क झिसमिसेमै श्रीमती र छोरीसँग छुट्टिनुको दुःख । फ्रन्ट डेस्कमा बसेर केवाईसी भरिरहँदा पहिलो पल्ट छोरी बामे सरेको फोनबाटै सुनेर चित्त बुझाउनुको दुःख । यो टाइ, सुट र कोटले मेरा एक युगका सपना र रहर उधारै छोडेका छन् । कहिलेकाहिँ त लाग्छ म मान्छे नभएर ढुंगा हुँ, बिहान नौ बजे देखि एकनासले बेलुका अबेरसम्म सेवाग्राहीको काम गर्दागर्दा म मेसिन हुँ, प्रबिधि हुँ, फगत मात्र ढुंगा । कोरोनाको डरले सारा विश्व… मानिस मानिससँग डराएको वेला अति आवश्यकिय सेवा भन्दै कार्यालय खोल्नुुको पिडा । खै बुझेको यो समाजले हामी बैंकरको पिडा । किन कटाक्ष गरेर सोध्छ समाजले बोनस कति खानु भो, व्हेल फेयर कति आयो, तपाईं घमण्डी हुनुहुन्छ, व्यस्त छु भन्नु हुन्छ खालि, …व्यस्त त बहाना हो काम के नै हुन्छ र बैंक मा… । दिनरात उनिहरुकै सेवामा खटिँदा पनि किन बुझ्दैन समाजले । किन बैंकरलाई मिहिनेत अनुसारको इज्जत गर्न हिचकिचाउँछन् । फेरी बैंकमा दिन प्रतिदिन जोखिम पनि त छ नि । अरु क्षेत्रको जस्तो निश्चित कार्यालय समय मात्र काम कहाँ हुन्छ र बैंकमा ! बदलिँदो प्रबिधि र परिवर्तित नितीसँग अपडेट भैरहनु पर्यो । उफ्… गाह्रो छ । समाजको मात्र के कुरा हामी बैंकरहरु ब्यक्तिगत रहर र पारिवारिक इच्छाहरुलाई दवाएर कार्यालयलाई नै घर मान्दै गर्दा र सिनियरलाई अभिभावकको नजरले हेर्दै गर्दा खालि टार्गेट मात्र किन सोधिन्छ ? काम काम मात्र किन भनिन्छ ? काम त गरिहालिन्छ नि गरिएकै छ नि । कहिलेकाहीं सदा भन्दा अलि पर सोचेर के छ घर परिवार को खवर ? बुबा आमा सन्चै हुनुहुन्छ ? भनेर सोध्दा के बिग्रिन्छ र ! बैंकका लाखौं ग्राहकलाई सिस्टमले अटो एस.एम.एस बर्थ डे विस गरिरहँदा सिनियर कर्मचारी र केन्द्रिय कार्यालयको, विभागको डेस्कटप बाट आफ्नो कर्मचारीलाई बर्थ डे विस गर्न मिल्दैन र ! कत्ति खुसी लाग्थ्यो होला… हामी सानालाई त्यति ठुलो मान्छेले बर्थ डे विस गर्दा आखिर कतिनै कर्मचारी हुन्छन् र ! के यसले कार्यक्षमता घटाउँछ हो ? ठुलो मान्छेले सानोलाई सम्झिँदा खुसी नै लाग्छ नि होइन र ! आदर बढ्छ नि होइन र ! संस्था प्रति झन् माया हुन्छ नि… लगाब हुन्छ नि । अनि त संस्थाको विकास सजिलै भै हाल्छ नि । बैंकर भनेको पेलिने बस्तु हो र ! बैंकिंग संस्था भनेको सरकारलाई चाहिएको वेला रकम सहयोग गर्ने दुहुनो गाई मात्र हो भन्ने नसोची अलिकति म, अलिकति समाज, अलिकति सरकार बदलिए त भै हाल्थ्यो नि । कहिलेकाहीं सोच्छु मैले निजी जिन्दगी जिउन पाइन, परिवारलाई खुसी राख्न पाइन, ब्यस्तताले आमा, बाबा, श्रीमती अनि छोरीलाई समय दिन पाइन । बरु जागिर छोडिदिन्छु र राजिनामाको कागज खल्तीमा राखेर कार्यालय हिँड्छु । अनायासै बाटोभरी कुराहरु खेल्छन् – म को हो र आफैंमा । ऊसँग विवाहको कुरा चल्दा केटो बैंकमा नोकरी गर्ने भनेर बैंककै परिचयले विवाह गर्न सजिलो भएको थियो । फेरी पैसा कहाँ थियो र म सँग, यही बैंकबाटै त हो नि ‘स्टाफ होम लोन’ लिएर घर बनाएको । फेरी यही बैंक त हो नि जसले मलाई पेशागत परिचय दिएको छ र बाँच्ने आधारशिला भएको छ । सम्झिन्छु, श्रावण महिना लाग्दा नलाग्दै आउने मेरो एकमुस्ट बोनस र त्यो बोनसमा श्रीमतीको यो पल्ट किन्ने रानीहारको सपना… जसले केही हदसम्म बिर्साइदिन्छ मैले उसलाई समय दिन नसकेको वर्षौंका उसका गुनासाहरु… अनि फेरि सम्झिन्छु, बोनस पछि लगत्तै दशैंमा आउने एकमुस्ट पेश्की जसले बुबा, आमा र छोरीलाई नयाँ लुगा अनि मिठो खाना । फेरी लगत्तै आउने व्हेल फेयर र फोर्स लिभको एकमुस्ट रकम जसले परिवारै नयाँ–नयाँ ठाउँमा घुम्नुको मज्जा दिन्छ र मेरा सबै तिक्ततालाई मेटाइदिन्छ । यही बैंकको नोकरीले त हो नि, जहाँ म मासिक तलब आउने आसमा किराना पसलबाट ढुक्कसँग रासन उठाई परिवार चलाउँछु । बैंक नहुनु हो त मेरो परिचयनै के पो छ र ! बाटोभरी नानाथरी कुराहरु खेलाउँदै गर्दा अनायासै झसङ्ग याद आउँछ सीईओ सर अनि डीसीईओ म्याडमको एउटा इमेल जुन हरेक बर्ष श्रावण १ गते बिहानै मेरो अफिस टेवलको डेस्कटपमा आउँछ, “शर्माजी, बधाइ छ तपाईलाई ! तपाईले हरेक वर्षजस्तै यो आर्थिक बर्षमा पनि सजिलै टार्गेट पुर्याउनु भयो, राम्रो गर्नु भयो, गुड वर्क, किप इट अप”, जसले मेरो बर्षौंको सबै गुनासा र तिक्ततालाई मेटाइ दिन्छन्, अनि मलाई फ्रस्टेशन हुनबाट बचाउँछ र बिच बाटोमै खल्तिको राजिनामा पत्र च्यातिदिन्छु र केही नसोची नयाँ जोसका साथ हतार–हतार अफिस तर्फ लाग्दछु । बिराटनगर–५ हाल मेन्छयायेम्, तेह्रथुम

बैंकर बुहारी र बोनस

“टिरिङ्…टिरिङ्…”, बिहानको ठिक ५ बजे मोवाइलमा अलार्म बज्छ । “ओहो ! अघि भर्खरै मात्र सुतेको जस्तो लाग्छ, कति चाँडै बिहान पो भइसकेछ ।” हत्तनपत्त उठ्दै अनि हल्काराले दलिनमा फ्याँकेको दैनिक पत्रिका बैठकको टेवुलमा राख्दै ऊ नुहाउनका लागि बाथरुम पस्छे । एक्कासी उसलाई मिटिङमा उपस्थित हुन चाँडै अफिस पुग्नुपर्ने कुरा याद आउँछ र टाउको मात्र नुहाएर निस्किन्छे । बैठकमा पत्रिका पढिरहेका ससुरा र मोवाइल चलाउँदै बसिरहेका सासु तथा श्रीमानका लागि भनेर चुलोको एकातिर चिया र अर्को तिर तरकारी बसाउँदै ऊ सुतिरहेका छोराछोरीलाई उठाउँछे र दुध बिस्कुट दिँदै होमवर्क गर्न लगाउँछे । एक्कासी तरकारी डढेको गन्ध उसको नाकसम्म आउँछ र विवस अनुहारमा झन् तनाव थोपरिदिन्छ । ऊ आफैंसँग विस्तारै फत्फताउँछे – “हत्तेरिका, तरकारीको कारणले फेरी सासु कराएको सुन्नुपर्ने भो ।” विहानको घरधन्दा सकिओरी साढे ८ बजिनसक्दै ऊ हतारहतार नजिकैको चोकमा माइक्रो कुर्न पुगिसक्छे । अफिस पुग्ने हतारले माइक्रोको ढोका बाहिरसम्म झुण्डिएको भीडलाई नजरअन्दाज गर्नु उसको विवसता नै बनिसकेको हुन्छ । हतार गरेर पनि केही फाइदा भएन, आजपनि अफिसमा ९ः३५ मा मात्र उसको क्लक इन (प्रवेश) हुन्छ । दुइ दिन भइसक्यो ऊ यसरी ढिलो अफिस आइपुगेको । महिनामा तिन दिन मात्र पनि ९ः३० भित्रै अफिस आइपुगिएन भने एक दिन को बिदा कट्छ । यो अफिसको नियम नै हो । तनाव पनि कति थरिका, अघिल्लो दिनकै मात्र कुरा हो, टेलरमा बस्दा जम्मा १ हजार रुपैयाँको हिसाब नमिल्दा पनि उसलाई कम्ति टेन्शन भएको थिएन । धन्न, सबै स्टाफहरु बेलुका ७ बजेसम्म बसेर भएपनि गल्ती पत्ता लगाइदिएपछि मात्र उसले सन्तोषको सास फेरेको कुराले आज उसलाई अलि चनाखो बनाएको छ । मिटिङ सुरु भयो । मेनेजरसँग आँखा जुधाउन उसलाई डर लागिरहेको छ । त्यो डरका पछाडि दुई ओटा कारण छन् । पहिलो, आफूले अघिल्लो साँझ सवै स्टाफलाई ढिलो गराइदिएको, र दोस्रो यो हप्ता आफूले थोरै संख्यामा मात्र खाता खोलाउन सकेको । बैकहरु धेरै संख्यामा भएको हुनाले ठूलो प्रतिष्पर्धा भइरहेको र आफ्नो बैंकले नाफा कमाएन भने तलव खुवाउन सक्दैन भन्ने कुरा उसले नबुझेकी पनि होइन । तर, सोचेजस्तो कहाँ हुँदो रहेछ र ! मिटिंग सकिएको केही बेरमै उसको पेट नराम्रोसँग दुख्न थाल्यो । “उफ, सेनिटरी प्याड त ल्याउनै पो बिर्सेंछु ।” खुइय सुस्केरा हाल्दै उ मनमनै सोच्न थाल्छे, “सानो शाखा थोरै कर्मचारी, त्यसमा पनि महिलामा म एक्लै । मिटिङका वेला महिलालाई छुट्टै ट्वाइलेट् चाहिन्छ भनी प्रस्ताव राखौं भन्छु, बोल्ने हिम्मत नै आउँदैन । त्यसमाथि आफ्नो त क्यास डिपार्टमेन्ट, एकछिन छोडेर पसल जान पनि नमिल्ने । पुरुष सहकर्मीलाई कसरी प्याड ल्याइदेउ भन्नु ?” जेठ आउन लागिसक्यो, यसरी हेर्दा असाढ मसान्त पनि अब धेरै टाढा छैन । सामान्य वेलाको जस्तो पाँचै बजे अफिसबाट निस्कन के मिल्थ्यो र ! त्यसमाथि पनि भर्खरैको मिटिङमा बिजनेस लाई एग्रेशिभ्ली बढाउने म्यानेजरको योजना सुन्दा त आज घर निस्किनलाई सात बज्ने कुरामा ऊ ढुक्क छे । रात पर्नै लाग्दा ऊ घर पुग्छे । बिहानदेखिका जुठा भाँडा उसलाई नै पर्खेर बसिरहेका हुन्छन् । घर आइपुग्ने हतारले तरकारी किन्न पनि बिर्सिन्छे । गुन्द्रुकको झोल पकाउने दुस्साहस मात्र के गरेकी हुन्छे, सासुको बचनवाणहरु उसका कानमा आएर ठोक्किन्छन् – “कसैको नभाको जागिर, अरुले पनि त जागिर खाएका छन् नि । विहान डढेको तरकारी खुवाइस् अहिले तरकारी विनैको खाना खुवाउन लागिस् ?” ऊ एक्कासी सानो स्वरमा झर्किन्छे – “भैगो त आमा, म भोलिनै राजिनामा दिन्छु ।” ऊ दगुर्दै आफ्नो कोठामा जान्छे र भक्कानिन्छे । उसलाई आफ्नो ममी–बाबाको खुब सम्झना आउँछ । बि.बि.एस पास हुने बित्तिकै बाबाले आफ्नै खुट्टामा उभिनु पर्छ भनी हौसला दिएको, बैंकमा जागिर पाउँदा गर्व महसुस गरेको, छोरीले बिर्सिन्छे कि भनेर ममीले सुटुक्क ब्यागमा प्याड राखिदिएको अनि अफिसबाट फर्किंदा चाहिँ टाउको मिचिदिएको जस्ता सम्झनाले उसको मनलाई अमिलो बनाउँछ । बिहे अघिसम्म पनि ऊ कहाँ यस्ती थिइ र ! अन्य स्टाफभन्दा अगाडि नै अफिस पुग्थी, साँझ अबेरसम्म काम गर्थी । ऊ वास्तवमै उदाहरण थिई । जहिल्यै मेनेजरले उसको तारिफ गर्थे । तर हिजोआज ऊ शिथिल भएकी छे । अफिसबाट ‘कर्मचारी होमलोन’ लिएर घर बनाउँदा पनि र बिजुली–टेलिफोन तथा बच्चाको स्कुल फिमा मज्जाले सघाउँदा पनि घरका सदस्यहरुले कहिल्यै चित्त नबुझाइदिँदा उसलाई नमज्जा लागेर आउँछ । तर जे भएपनि सासु भनेको सासु नै हो, आफूले मान त गर्नै पथ्र्यो । रिसको झोँकमा सासुसँग मुखमुखे लागेको कुरामा भने उसलाई ग्लानी महसुस हुन्छ । यता उसलाई ग्लानी महसुस हुँदै गर्दा उतापट्टि सासुलाई पनि बुहारीले जागिर छोड्ने हो कि भन्ने चिन्ताले सताउन थाल्छ । बुहारीले अघिल्लो साल खाएको वोनसबाट आफूलाई आठ आनाको बेरुवा औंठी किनिदिएको र यसपाली पनि बोनस खाने वेला हुन लागेको कुराले सासुको मानसपटलमा घच्घच्याउन थाल्छ । भोलिपल्ट विहान अलार्मको आवाजसँगै बुहारी उठ्दा त सासुले चिया पकाइसकिछन्, अघिनै तरकारी पनि किनेर ल्याइसकिछन् । एकैरातमा सासुमा आफूप्रतिको धारणामा आएको परिवर्तन देखेर ऊ अचम्मित हुन्छे र अब खाइपाइ आएको जागिर कहिल्यै नछोड्ने निर्णय गर्दै भान्सातिर पस्छे । बिराटनगर–५ हाल तेह्रथुम