काबुलमा भएको घटनाप्रति आयोगको दुःख व्यक्त, नेपाली कामदारको सुरक्षामा गम्भीर हुन आग्रह
काठमाडौं, ७ असार । राष्ट्रिय मानव अधिकार आयोगले अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणमा परी १४ नेपाली नागरिकको मृत्यु र पाँच घाइते भएको घटनाप्रति गम्भीर दुःख व्यक्त गरेको छ । आयोगका सचिव बेदप्रसाद भट्टराईले सोमबार जारी गरेका प्रेस विज्ञप्तिमा वैदेशिक रोजगारीको सिलसिलामा गएका भनिएका ती नागरिकको अवस्थाको बारेमा नेपालका तर्फबाट नियमित र प्रभावकारी अनुगमन हुन नसक्दा तथा सुरक्षाको प्रत्याभूति नभएका देशमा गैरकानूनी तबरबाट उनीहरुलाई पु¥याइँदा जीवनको अधिकार गुम्न गएको देखिएको उल्लेख छ । आयोगले आजै अफगानस्तानस्थित अफगानिस्तान स्वतन्त्र मानव अधिकार आयोगलाई सहयोगको लागि अनुरोधसमेत गरेको छ । अनुरोधमा घटनामा परी मृत्यु भएका व्यक्तिका बारेमा आवश्यक सहयोगसहित जानकारी उपलब्ध गराउन, मृतकको विवरण, शव स–सम्मान परिवारलाई उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गरेको छ । साथै, मृतक परिवारलाई पर्याप्त राहत तथा क्षतिपूर्ति दिलाई घाइतेको प्रभावकारी उपचारका लागि आवश्यक पहल गरिदिनका साथै त्यहाँ रहेका नेपाली नागरिकको मानवअधिकार रक्षार्थ आवश्यक सहयोग गर्न पनि आयोगले अनुरोध गरेको छ । सुरक्षाको प्रत्याभूति नभएका कुनै पनि देशमा नेपाली नागरिकलाई आप्रवासी कामदारका रुपमा पठाउने कार्यलाई व्यवस्थित गर्न तथा रोजगारीका लागि गएका नेपाली नागरिकको शान्ति सुरक्षाको प्रत्याभूतिका लागि कूटनीतिक पहलमार्फत तत्काल प्रभावकारी व्यवस्था मिलाउन आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ । रासस
चोभारमा एनआरएनको वृक्षारोपण
काठमाडौं, ६ असार । गैरआवासीय नेपाली संघ एशिया प्रशान्त क्षेत्रले चोभार डाँडामा वृक्षा रोपण गरेको छ । संघले विगत केहि वर्षदेखि नै चोभार क्षेत्रमा वृक्षारोपण गर्दै आएको थियो । सोही कार्यक्रमलाई निरन्तरता दिदै ४ असार २०७३ का दिन नेपाल जापान दौत्य सम्बन्ध स्थापना भएको ६० औं वर्षगाँठलाई समेत अवसर पारेर पुनः वृक्षारोपण कार्यक्रम गरेको हो । गैरआवासीय नेपाली संघका महासचिव डा. बद्री केसीले सरकार र नीजि क्षेत्रसँग सहकार्य गरेर एनआरएनले नेपालको विकासमा सघाउने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा गृह मन्त्री शक्ति बस्नेतले समग्र क्षेत्रको विकासमा गैरआवासीय नेपालीहरुका साथै आवासीय नेपालीहरुलाई हातेमालो गरेर सहयोग गर्न आग्रह गरेका थिए । नेपालका लागि जापानी राजदूत महामहिम मासाशी ओगावाले जापानले नेपाललाई जहिले सहयोग गर्दै आएको बताएका थिए । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले मुलुकको राजनीतिक अवस्थालाई स्थिर बनाई नेपालको समग्र क्षेत्रको विकास गरी मुलुकलाई आर्थिक समृद्धि तर्फ द्रुत गतिले अघि बढाउन आग्रह गरेका थिए ।
लगानी गर्न अमेरिकाका ३२२ उद्योगले पाए स्वीकृति, करिब ७ अर्ब ३३ करोड बराबरको लगानी गर्ने
काठमाडौं, ५ असार । संयुक्त राज्य अमेरिकाका ३२२ उद्योगले मुलुकको विभिन्न क्षेत्रमा रु सात अर्ब ३३ करोड ३० लाख लगानी गर्न स्वीकृति प्राप्त गरेका छन् । अमेरिकाका सबैभन्दा बढी १४८ उद्योगको लगानी नेपालको सेवा क्षेत्रमा रहेको उद्योग विभागले जनाएको छ । विभागको तथ्याङ्कअनुसार अमेरिकी उद्योगको आकर्षण स्वफ्टवयर क्षेत्रमा देखिन्छ । लगानी गर्न स्वीकृति प्राप्त गरेका अमेरिकी उद्योगमध्ये सेवा क्षेत्रमा १४८ उद्योगको रु दुई अर्ब ६९ करोड ७० लाख, उत्पादनमूलक क्षेत्रमा ७० उद्योगको रु दुई अर्ब १० करोड ३० लाख, पर्यटन क्षेत्रमा ८० उद्योगको रु एक अर्ब दुई करोड १० लाख लगानी रहेको छ । त्यस्तै ऊर्जा क्षेत्रमा तीन उद्योगको रु एक अर्ब २८ करोड ७० लाख, कृषि तथा वनजन्य क्षेत्रमा २० उद्योगको रु २१ करोड २० लाख र निर्माण क्षेत्रमा एक उद्योगको रु एक करोड लगानी छ । विसं २०७३ जेठ मसान्तसम्म स्वीकृत पाएका अमेरिकी उद्योगको उक्त लगानीबाट मुलुकका विभिन्न क्षेत्रमा १६ हजार २९३ रोजगारी सिर्जना हुने विभागले जनाएको छ । विदेशी उद्योग दर्ता प्रक्रियाको सहजताका लागि विभागले अनलाइन सेवा सुरु गर्ने तयारी गरेको र छिट्टै सञ्चालनमा आउने विभागका महानिर्देशक महेश्वर न्यौपानेले बताउनुभयो । विदेशी उद्योग दर्ता प्रक्रियाको सहजतासँगै मुलुकमा विदेशी लगानी बढ्ने क्रम जारी छ । नेपालमा २०४६ सालदेखि हालसम्म विश्वका ८७ देशका जम्मा तीन हजार ५७८ बढी उद्योगले लगानीका लागि स्वीकृति प्राप्त गरेका छन् । त्यसमध्ये सबैभन्दा बढी लगानी भारतीय उद्योगको रहेको छ । भारतपछि दोस्रोमा चीन र तेस्रोमा अमेरिकाका उद्योगले नेपालमा लगानी गरेका बताइएको छ । रासस