गाजामा गरिएको इजरायली कारबाहीमा नौ हजार महिलाको निधन : राष्ट्रसङ्घ

एजेन्सी । सन् २०२३ अक्टोबर ७ मा इजरायलविरूद्ध प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) ले गरेको आक्रमणको बदलामा गाजामा इजरायली सेनाद्वारा चलाएको हवाई तथा जमिनी कारबाहीमा करिब नौ हजार महिलाहरूको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय महिला कार्यक्रम (यूएन वुमन)ले शनिबार जनाएको छ । धेरै महिलाहरू भग्नावशेषमुनि परेको रिपोर्ट गरिएकाले यो आँकडा सम्भवतः कम भएको उक्त निकायले जनाएको छ । गाजामा युद्धका कारण दैनिक औसत ६३ महिलाको मृत्यु हुने गरेको छ । युद्धले गर्दा प्यालेष्टिनी महिलाहरूले परिवारका अन्य सदस्य गुमाउनु परेको र बाँचेका बालबच्चासमेतलाई असुरक्षाको अवस्था सिर्जना भएको यूएन वुमनले जनाएको छ । हरेक पाँचमध्ये चारभन्दा बढी वा ८४ प्रतिशत महिलाले उनीहरूको परिवारले द्वन्द्व सुरु हुनुअघि प्रयोग गरेको आधा वा कम खाना खाने गरेको रिपोर्ट राष्ट्रसङ्घीय निकायले गरेको छ । गाजामा पाँचमध्ये चार अर्थात् ८४ प्रतिशत महिलाले गरेको रिपोर्ट अनुसार उनीहरूका परिवारका सदस्यले गत हप्तादेखि खाना छोड्नु परेको छ । तीमध्ये ९५ प्रतिशत आमाहरू खाना बिना नै बस्ने तथा आफ्ना बच्चालाई खुवाउनका लागि आफूहरूले खानामा सम्झौता गर्ने गरेको यूएन वुमनले जनाएको छ । गाजाको २.३ मिलियन जनसङ्ख्याले केही हप्ताभित्र खाद्य असुरक्षाको गम्भीर स्तरको सामना गर्नुपर्नेछ । गाजा सर्वेक्षणमा १२ मध्ये १० महिला सङ्गठनहरूले आवश्यक आपतकालीन प्रतिक्रिया सेवाहरू प्रदान गर्दै आंशिक रूपमा खाद्यान्न सहयोग वितरण गरेकोे रिपोर्ट गरेका छन् । तत्काल मानवीय युद्धविराम नभएसम्म आगामी दिनमा अझ धेरैको मृत्यु हुने उल्लेख गर्दे उक्त राष्ट्रसङ्घीय निकायले गाजामा आवश्यक पूर्वाधारको विनाश र बम विस्फोट रोक्न र तत्काल गाजामा मानवीय सहायता पु¥याउन आग्रह गरेको छ ।

सार्वजनिक बिदाका कारण चीनको उत्पादन खरिद प्रबन्ध सुचकाङ्क घट्यो

चीन । चीनको उत्पादन क्षेत्रको लागि खरीद प्रबन्धक सूचकाङ्क (पीएमआई) फेब्रअरीमा ४९.१ कायम भएको छ । गत महिना ४९.२ बाट तल झरेको राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) को तथ्याङ्कले शुक्रबार देखाएको छ । जसमा ५० भन्दा माथिको तथ्याङ्कले विस्तारलाई जनाउँछ भने ५० भन्दा तलको तथ्याङ्कले सङ्कुचनलाई जनाउँछ । एनबीएसका वरिष्ठ तथ्याङ्कविद् झाओ किङ्घेले फेब्रअरी १०-१७ चलेको ‘स्प्रिङ फेस्टिभल’को लामो बिदाले गिरावट ल्याएको बताए । उनका अनुसार यस अवधिमा कर्मचारीहरू घर फर्किने भएकोले परम्परागत उत्पादनमा कमी आउँछ । ठूला उद्यमहरूमा अघिल्लो महिनाको तुलनामा विस्तारको दायरामा रहेको उप-सूचकाङ्क ५०.४ पुगेको थियो । यसैबीच, उत्पादनका लागि उप-सूचकाङ्कमा अघिल्लो महिनाको तुलनामा १.५ अङ्कले कमी आई ४९.८ कायम भएको छ । यसले कम सक्रिय उत्पादनलाई सङ्केत गर्दछ । नयाँ मागको उप-सूचकाङ्क अघिल्लो महिनाको समान ४९ कायम भएको छ । यसले अघिल्लो महिनाको तुलनामा फेब्रुअरीमा उत्पादन बजारमा माग घटेको सङ्केत गरेको छ । उत्पादन कम्पनीलगातार बजार विस्तारको सन्दर्भमा भने आशावादी रहेको उत्पादन र व्यापार पूर्वानुमानको लागि उप-सूचकाङ्क ५४.२ कायम भएको छ । अघिल्लो महिनाको तुलनामा ०.२ प्रतिशतले बढी हो । चीनको गैर–विनिर्माण क्षेत्रको पीएमआई फेब्रुअरीमा ५१.४ मा आएको छ, जुन जनवरीमा ५०.७ थियो । रासस

१० हजारभन्दा बढी चिकित्सकले राजीनामा गरेपछि दक्षिण कोरिया तनावमा

काठमाडौं । हजारौं मेडिकल इन्टर्न र अन्य कर्मचारीहरूले जागिर छाडेपछि एक हप्ताभन्दा बढी समयदेखि दक्षिण कोरियाका केही ठूला अस्पताल सञ्चालन प्रक्रिया अवरुद्ध भएको छ । लामो समय यसले निरन्तरता पाए विकराल परिणामहरू निम्तिन सक्ने देखिएको छ । १० हजारभन्दा बढी चिकित्सक र ८० प्रतिशत प्रशिक्षार्थी कर्मचारी जागिर छोडेर हडतालमा गएपछि दक्षिण कोरियाको स्वास्थ्य सेवा ठप्प भएको छ । जसका कारण बिरामीहरू मर्कामा परेका छन् । डाक्टरहरूको व्यापक हडताललाई ध्यानमा राख्दै दक्षिण कोरियाली सरकारले उनीहरूलाई गम्भीर चेतावनी दिएको छ । सरकारले हडतालमा रहेका दक्षिण कोरियाका चिकित्सकलाई समयमै हडतालबाट काममा फर्कन भनेको छ । यदि हडताल जारी राख्ने हो भने चिकित्सकहरूलाई पक्राउ गर्ने र उनीहरूको मेडिकल लाइसेन्स खारेज गर्ने सरकारको चेतावनी छ । दक्षिण कोरियाका स्वास्थ्यमन्त्री चो क्यु–होङले स्थानीय एसबीएस रेडियोसँगको अन्तर्वार्तामा (फेब्रुअरी २९) सम्म हडतालमा रहेका चिकित्सकहरू काममा नफर्किए उनीहरुलाई कानुनी कारबाही गरिने बताएका छन् । दक्षिण कोरियामा बिरामीको अनुपातमा चिकित्सकको संख्या निकै थोरै छ । थोरै संख्या र पाका उमेरका मानिसको बढ्दो जनसंख्याका कारण एक दशकपछि कोरियामा चिकित्सकहरूको ठूलो अभाव हुनसक्ने सरकारको भनाइ छ । कोरियाली सरकारले देशमा लामो समयदेखिको चिकित्सकको अभावलाई सम्बोधन गर्न विश्वविद्यालयहरूमा चिकित्साशास्त्रमा थप विद्यार्थीहरू भर्ना गर्ने प्रस्ताव गरेको थियो । सरकारको सोही प्रस्तावको विरोधमा प्रशिक्षार्थी र आवासीय कामदारले यो अभाव उद्योगव्यापी नभएर आपतकालीन हेरचाहजस्ता विशेष सुविधाहरूमा मात्र सीमित रहेको भन्दै विरोध गरका छन् । उनीहरूले सरकारको यो योजनाले समस्या समाधान नहुने बताएका छन् । उनीहरूले भनेका छन्– चिकित्सकको संख्या बढाउँदैमा न्युन तलबमा बढी कामको संरचनागत समस्या समाधान हुँदैन । दक्षिण कोरियामा चिकित्सकहरूको पारिश्रमिक धेरै छ । तर, लामो समय काम गर्नुपर्ने हुँदा कनिष्ठ चिकित्सकहरूले प्रतिघण्टा पाउने पारिश्रमिक सरकारले तोकेको न्यूनतम तलबभन्दा कम हुन जाने उनीहरूले बताएका छन् । दक्षिण कोरियामा धेरै स्वास्थ्य संस्थाहरू निजी भए पनि सस्ता छन् । तर, आन्दोलनरत चिकित्सकहरूले देशमा आकस्मिक, जीवनरक्षा गर्ने शल्यक्रिया तथा विशेषज्ञ उपचारको शुल्क निकै कम निर्धारण गरिएको र कस्मेटिकजस्ता कम आवश्यक उपचारहरूमा धेरै पैसा भएको गुनासो गरेका छन् । केही ठूला अस्पतालहरूका ४० प्रतिशतभन्दा बढी कर्मचारी प्रशिक्षार्थी तथा कनिष्ठ चिकित्सकहरू हुन्छन् । त्यसैले आन्दोलनका कारणले केही अस्पतालहरूमा शल्यक्रिया गर्ने क्षमता आधाले घटेको छ । सेवामा अवरोध हुँदा पहिले नै मिति तोकिएका धेरै प्रक्रियाहरू स्थगित भएका छन् । आकस्मिक उपचारमा थोरै मात्र अवरोध भएको छ । गत शुक्रबार सात अस्पतालले उपचार गर्न नमानेपछि हृदयाघात भएकी एक वृद्धाको एम्बुलेन्समा नै मृत्यु भयो । चिकित्सकहरू हडतालमा गएपछि बिरामीहरूले चिकित्सक पाएका छैनन् भने काममा खटेका स्वास्थ्यकर्मीहरूलाई भार थपिएको छ । नर्सहरूले शल्यक्रिया कक्षमा डाक्टरहरूले नै गर्नुपर्ने काम आफूहरूलाई गर्न बाध्य पारिएको बताएका छन् । सरकारी प्रस्तावमा आगामी वर्ष विश्वविद्यालयहरूमा भर्ना हुने मेडिकल विद्यार्थीको संख्या ३ हजारबाट बढाएर ५ हजार पु¥याइने उल्लेख छ । हडतालमा रहेका चिकित्सकहरूले धेरै डाक्टर उत्पादन गर्दा सेवाको गुणस्तर खस्किने तर्क गरेका छन् । धेरै चिकित्सक उत्पादन हुँदा कम क्षमता भएकाहरूले पनि लाइसेन्स पाउने सम्भावना हुने उनीहरूको डर छ । यो हडतालले चिकित्सक र सरकारबीचको तनाव चर्किएको देखिन्छ । स्वास्थ्य मन्त्रालयले हडतालमा सहभागी चिकित्सकहरूलाई समयसीमा तोकेर काममा नफर्किए मेडिकल कानुन उल्लंघन गरेको आरोपमा पक्राउ गर्ने चेतावनी दिएको छ । यदि तोकिएको समयमा काममा नफर्किए चिकित्सकहरूको लाइसेन्स कम्तीमा तीन महिनाका लागि निलम्बन गरिदिने स्वास्थ्य मन्त्रालयले  जनाएकाे छ । (बीबीसीबाट अनुवाद)